Thursday, February 28, 2013

युवा, गाली राजनीति र सेतो ग्रहण


विनोद ढकाल 
गएको साता बुटवलको दृश्य फरक थियो । देशभरीका कुख्यात डनहरु, बहुचर्चित उपनामका नन्दि र भिरङ्गीहरुको भेला भयानक थियो । गाँसका लागि मुस्किल भएको मुलुकमा प्राडो र पँजेरोको कुनै कमी छैन भन्ने विम्ब उक्त दृश्यले देखाइरहेको थियो । नेकपा एमालेको भ्रातृ संगठन युवा संघ नेपालको आठौं राष्ट्रिय महाधिवेशनको दृश्य फरक, जटिल र भयानक देखियो । एमालेका सवै नेताहरु पनि बुटवलको मञ्चमा पुगेकै थिए । उनीहरुले त्यहाँबाट माहौल उचाल्नका लागि आफुमा भएका वयानबाजीका कुनै कसर बाँकी राखेनन् । नेपालमा मौलाइरहेको गाली राजनीतिले त्यहाँ पनि निरन्तरता पायो । विचारभन्दा पनि गाली गरेर राजनीतिमा अगाडी बढ्न सकिन्छ भन्ने नियतलाई कायम राखियो । एकीकृत नेकपा माओवादीलाई सकुञ्जेल गाली गरेर नेताहरु फर्किए । यो निरन्तरता युवा संघ नेपालमा पनि कायम देखियो । युवा संघका अध्यक्ष महेश बस्नेतले पनि माओवादीलाई गाली गर्ने कुनै कसर बाँकी राखेका थिएनन् । 
नेपाली राजनीतिमा बजारीकरण गर्न थालिएको गाली राजनीति र युवा संघ नेपालको नयाँ नेतृत्वको जुन परिणाम बाहिर आयो यसले नेपाली युवा आन्दोलन अथवा युवा राजनीति कतातिर जाँदैछ भन्ने बहसलाई खुल्ला बनाएको छ । वैचारिकशुन्यतालाई कायम राख्दै वलबाहुको राजनीतितिर छिरेको युवा आन्दोलनले युवाका खास मुद्दालाई अव कसरी उठाउला ? भन्ने एउटा प्रश्नपनि छाडेको. छ । खयर, नेकपा एमाले भ्रातृ संगठन युवा संघ नेपालको नयाँ नेतृत्व फेरि पनि महेश बस्नेतको पोल्टामा परेको छ । लोकतान्त्रिक पद्दतीबाट भएको चुनावी प्रकृयामा उनको जीत अनिवार्य स्वीकार्य छ । बस्नेतको जीतसँगै उनको बहुमत प्यानलको जीतलाई पनि नकार्न मिल्दैन । किनकी ती सवै लोकतान्त्रिक पद्दतीबाट निर्वाचित भएर आएको पदाधिकारीहरु हुन् । तर, बस्नेतका पदाधिकारीहरुको राजनीतिक पृष्ठभुमी, तिनको विचारको तह र तिनको नेतृत्वबाट युवा राजनीतिक कतातिर वामे सर्ला ? यो अहिलेको गहन प्रश्नचाँही बनेको छ । यो प्रश्नको बहस युवा संघको आगामी कार्यकालले व्यवाहारिक रुपमा देखाउने क्रियाकलाप, वैचारिक दृष्टिकोण र नयाँ दिशाको यात्रामा भर पर्ने कुरा हो । 
यदि अर्को पार्टीको गुण्डागर्दीलाई शुन्यमा झार्नका लागि फरक पार्टीमा गुण्डाहरु बहुमत रुपमा संस्थागत गराएर राजनीतिको तागतलाई प्रस्तुत गर्ने हो भने यसले कानुनी राज्यको उपहासभन्दा अरु केहीपनि गर्दैन । डा. बाबुराम भट्टराइको मन्त्रीपरिषदले हत्याराहरुलाई आम माफी दिनु र नेकपा एमालेले भ्रातृ संगठनका नाममा विचारशुन्य समुह, झुण्डलाई संस्थागत गर्नुमा केहीपनि फरक छैन । त्यस्तो विजय जहाँ विचारशुन्य र बलबाहु प्रभावी हुन्छ त्यो मुस्तण्डाहरुको महाभेलाभन्दा अरु केही हुनै सक्तैन । यो कुरालाई एमालेले विचार गर्न सकोस् । खासगरी युवा संघका नेता बस्नेतले यो विचारको मन्थन गर्न सकुन् । युवा संघलाई चर्चामा ल्याउने व्यक्ति बस्नेत हुन् तर कुन हिसावबाट चर्चामा आएको थियो ? कुन पृष्ठभुमीबाट चर्चाको शिखरमा पुग्यो ? यो विषयलाई अन्तरसंवाद गर्नु अनिवार्य बनेको छ । 
यदि युवा आन्दोलनको इतिहाँसका फेहरिस्त पल्टाउने हो भने स्वर्णिम कालमा वितेको पाइन्छन् । नेपाली लोकतान्त्रिक आन्दोलनका पर्यायहरुलाई विमर्श गर्ने हो भने गतिलामात्र भेटिन्छन् । युवाआन्दोलको इतिहास लामो छैन । यद्दपि जहाँनिया राणा शासनको दमन शोषण र उत्पीडनका विरुद्ध असंगठितरुपमा पनि युवाहरुले आन्दोलनको जेहाद छेडेका थिए । राणा शासक विरुद्ध प्रथम युवा सहिद लखन थापाको विद्रोह होस् या सुब्बा कृष्णालालले मकैको खेती नामक रचनाबाट गरिएको साहित्यीक विद्रोह तथा कवि भानुभक्तको साहित्यीक जागरण अथवा शुक्रराज शास्त्री, धर्मभक्त माथेमा, दशरथ चन्द र गंगालाल श्रेष्ठको व्रिदोह होस्, सवै राणा शासनको विरुद्धमा र प्रजातन्त्रका लागि असंगिठत रुपले गरिएका आन्दोलनहरुका प्रतिक मानिन्छन् । अरु पनि थुप्रै ब्यक्तिहरुले विभिन्न रुप, शैली र तरिकाबाट आन्दोलनहरु गरेका थिए । प्रचण्ड गोर्खा र जयतु संस्कृतम् जस्ता आन्दोलनका नामबाट केही युवाहरुले संगठित आन्दोलनको आरम्भ गर्ने कोशिष गरेका थिए  । त्यस्ता आन्दोलनहरुको प्रेरणाले नेपाल प्रजापरिषद्, राष्ट्रिय कांग्रेस र नेपाली कांग्रेसको गठन होस् या २००६ सालमा कम्युनिष्ट पार्टीको स्थापना र २००७ सालको क्रान्ति यी सवै तत्कालिन युवाहरुको साहस, अगुवाई र पहलकदमीका गतिला परिणामहरु थिए । 
राजनीतिक ब्यवस्था परिवर्तनका आन्दोलनहरुमा युवाहरु सामेल भए, अगुवाई गरे, सहादत प्राप्त गरे, फाँसीमा परे, जेल बसे, घाईते भए । तर पनि युवाहरुको हक हितकालागी काम गर्ने छुट्टै संगठनहरु थिएनन् । युवाको हक हित र सरोकारका सवालमा काम गर्ने युवा संगठनको महसुश गरेर कमरेड पुष्पलालको अगुवाईमा २००८ सालमा युवक संघको गठन गरियो । २०१० सालमा विपि कोईरालालको अगुवाईमा तरुण दलको स्थापना भयो भने २०११ सालमा अखिल नेपाल विद्यार्थी फेडेरशन, २०१४ सालमा हिरण्यलाल श्रेष्ठको संयोजकत्वमा युवा कम्युनिष्ट लिगको स्थापना गरेर संगठित युवा आन्दोलनको शुरुवात गरिएको थियो । 
२०२८ सालमा झापा विद्रोहकालीन अवस्थामा गठन र परिचालन भएको रेडगार्ड र २०२२ सालमा स्थापना भएको अनेरास्ववियुले गरेको आन्दोलनको जगमा भएको २०३६ को विद्यार्थिआन्दोलनले पञ्चायतको जग हल्लाउने काम ग¥योे । परिणामतः पञ्चायती शासकले २०३६ सालमा जनमत संग्रह गर्न वाध्य भयो  वहुदल पक्षलाई जवर्जस्त हराईए पनि त्यो पञ्चायती ब्यवस्था मक्किसकेको थियो । २०३६ को युवा तथा विद्यार्थी आन्दोलनको बीरासतको जगमा उठेको २०४६ को जनाआन्दोलनमा हजारौं युवाहरु अग्रीम मोर्चामा सामेल भएका थिए । सोही आन्दोलनले पञ्चायती ब्यवस्थालाई सदाका लागि अन्त्य गरेर मुलुकमा वहुदलीय ब्यवस्थाको स्थापनाको आधारभुमि खडा गरेकोे थियो । तर अहिले अवस्था विकलुकल फरक छ । 
संघिय लोकतान्त्रिक गणतन्त्र संस्थागत गर्ने अवसरमा हामी युवा आन्दोलनको गतिलाई नियालिरहेका छौं । यो पल्ट देखिएको युवा संघ पदाधिकारी नेतृत्वले दुईटा कुराको नजिर बनाउन सक्छ । पहिलो, अव युवा संघ भनेको विचारशुन्यहरुको बाहुबलमा संरक्षक भुमिकामा चली मुुलुकमा व्याप्त भ्रष्टाचार, दण्डहिनता, धम्की, असुली, टेण्डरलगायतका ठाउँमा आफ्नो एकल र संस्थागत कव्जा । दोस्रो, विचारशुन्य समुहलाई राजनीतिक रुपमा विकास गरी लोकतान्त्रिक चरित्रको निर्माण गर्ने काम । दोस्रो प्रयासमा युवा संघको सफलता हँुदा एमालेको वैचारिक राजनीतिले दूरगामी असर बनाउन सक्छ तर पहिलोको निरन्तरता पायो भने एमालेको राजनीतिक भाग्यरेखाको आयु घट्दै जाने निश्चितप्रायः छ । युवा संघ युवाहरुको साझा मुद्दाको आधारकेन्द्र बन्नुपर्ने अनिवार्यता अहिलेपनि खड्कीएको छ । किनभने नेपाली युवाको आन्दोलन अहिलेपनि कायम छ । करिव ५० लाख युवा अहिलेपनि रोजगारीका लागि मुलुक बाहिरका श्रमशिविरमा खटिइरहेका छन् । । प्रत्येक दिन रोजगारीको खोजीमा एक हजार सात सयजना युवा विदेशिएको अवस्थालाई सकारात्मक रुपमा लिन सकिदैन । युवाको सहज व्यवस्थापन हुन नसकेका कारण उक्त संख्या अहिले विदेशिन बाध्य भएको हो । कम्तिमा नेपालका ५० लाख युवाशक्ति अहिले मुुलुकबाहिर रहेको विभिन्न तथ्याङ्कले देखाएको छ । यी र यस्ता मुद्दा अहिलेका जुझारु युवा संगठनका प्राथमिक बन्न सक्लान् वा सक्तैदैनन् ? यी मुद्दामा अव युवा संघ नेपाल कसरी अघि बढ्ला ? अनेक प्रश्नहरु अनिवार्य बनेका छन् । 
विगतको कार्यकालमा पनि बस्नेत नेतृत्व युवा संघले नै तीन वर्ष हाँकेको समयले त्यति गतिलो परिणाम दिन सकेन । जुध्ने र लड्ने कामले युवाका सवालहरु स्थापित हुन सक्तैनन् । सीमित राजनीतिक अथवा आर्थिक धेयको परिपूर्ति गर्नु समग्र युवाको हितकर काम पनि होइन । यो देखिएको पनि थिएन । युवा राजनीतिले नै भावी राजनीतिको दिशानिर्देश गर्ने भएकाले मुलुकमा हुर्किरहेको युवा आन्दोलनलाई व्यवस्थापन गर्नुपर्ने दायित्व युवा संघले अव लिन्छ की लिँदैन ? ग्रहण अक्सर कालोको प्रतिविम्बमा बुझिन्छ । ब्रम्हाण्डले परिभाषित गर्ने ग्रहणको विशेषता नै अँध्यारो हो । नेपाली राजनीतिमा बढिरहेको युवा आन्दोलन अथवा युवा राजनीति उज्यालो ग्रहण हो । युवाका कारण लोकतन्त्रप्राप्तिका कयन आन्दोलनहरुमा सफलता मिलेको छ तर स्वयम् युवाचाँही लोकतन्त्र उपभोगका कर्ता बन्न सकेका छैनन्, लोकतन्त्र प्राप्तिका कारणमात्र बने । यसकारण युवाहरु ‘सेतो ग्रहण’मा हुर्किरहेको राजनीतिका काला गोटीहरु भएका छन् । एकीकृत नेकपा माओवादी, नेपाली कांग्रेस अथवा नेकपा एमाले तीनै ठूला राजनीतिक दलहरुले युवालाई उपयोगवादी व्यवाहारिको शिकार बनाएका छन् । मुल राजनीतिक गुटवन्दि, धेय र अवसरका लागि युवाहरुको भविष्यलाई बलबाहुमा लड्ने हतियारका रुपमा परिभाषित गर्न थालिएको छ । अनि, नेपाली राजनीतिमा हुर्किरहेको अपराधीकरणलाई युवाका नाममा संस्थागत गर्ने प्रयास भइरहेको छ । चाहे त्यो माओवादीको नाममा होस्, कांग्रेसको राजनीतिको नाममा होस अथवा एमालेको भविष्यको गुञ्जायससँग जोडिएको होस् । संस्थागत रुपमा हुर्किको यो सेतो ग्रहणलाई भविष्यको उज्यालो बाटो देखाउन अनिवार्य छ । ग्रहण हटाएर सेतो मार्गबाट युवाआन्दोलन, युवाका मुद्दा, युवाका सवाल, युवा अधिकारका विषयलाई बढाउन सके आगामी बाटो स्वर्णिम हुनेछ अन्यथा आजको युवा राजनीतिको भुलले भोलीको पुस्ता राजनीतिक, सामाजिक, आर्थिक ग्रहणमा बस्न बाध्यकारी हुनेछन् । युवा संघ नेपाल उर्फ महेश बस्नेतले पनि यी कुरालाई नजरअन्दाज नगरुन्, गर्ने छैनन् भन्ने विश्वास गरौं । 

हिमालय टाइम्स राष्ट्रिय दैनिकमा सुक्रबार युवा सरोकारको सवालमा मैले लेखेको आलेख 

No comments:

Post a Comment