आज उनीकिन मौन छिन् ? मैले कयौं पटक बोलाइसकें । उनी फेरि पनि मलाई ‘रेसपोन्स’ गरिरहेकी छैनन् । म यहाँ मनैदेखि अनेक कुरा खेलाइरहेको छु । सायद, उनका लागि मसँग कुरा गर्नु एउटा खेल हो । अथवा, एकैछिन् समय विताउने साधन बनिरहेको छु, म । म उनकै मर्जीको सारथीका रुपमा च्याटवक्समा हिँडिरहेको छु । तर, उनी मेरो मर्जीकोसँग किन सहज भएर सहमत हुन सक्तिनन् खै, कुन्नी ? ।
अपराध गरेको अभियुक्त भन्दापनि ठूलो सजायको तिक्तताले मलाई गाँजिरहेको छ । सायद, मैले भन्न हुने थिएन होला उनलाई । तर, भनेर पनि के नै विगारेको हो र ? उनको स्वीकारोक्ति पनि त थियो नी ?
कालो अनि सुनसान रात छ । बजारतिर शुन्यप्रायः छ । केही जँड्याहाका साउतीस्वरका आग्रही हल्लाभन्दा केहीपनि सुन्दिन । म एकाग्र भएर रश्मीको च्याटवक्सतिर नियाँलिरहेको छु । त्यहाँ कुनै म्यासेज झर्दैन । त्यहाँ कुनै वर्षादी हुँदैन, प्रेमिल शव्दको । अपेक्षा छ, हुन्छ म कुरिरहेको छु ।
अघिल्तिरको टेलिभिजनले सैतान भन्ने कार्यक्रमको साप्ताहिक एपिसोड सिध्याउन लागिसक्यो । म एक्लै, अनिदो भएर कुरीरहेको छु । मनमा अनेक कुराहरु खेलीरहेका छन् । शव्द जोडेर, घटाएर कविताको ‘फर्म’मा ल्याउने प्रयत्नमा कलम र कापीको साहरा लिइरहेको छु । तरपनि मेरो मन र हात त्यहि किवोर्डमा छन्, जहाँ उनका अनेक शव्दहरु आउने प्रतिक्षा निरन्तर छ, मनोगत अपेक्षामा रुमल्लिएका प्रेमका अनेक शव्दहरुको छटपटाहटले मलाई औडाहा बनाइरहेको छ ।
‘हेलो’ लामो पर्खाइपछिको एउटा प्रत्युत्तर आयो । मैले त्यत्रो शव्दहरु लेखें । अनेक सोधें ? त्यसका उत्तरहरु एउटा शव्दमा सीमित भएर फर्कियो । यो प्रत्युत्तर कुनै आहटमा आएको थियो ? अथवा कुनै बाध्यतामा खसेको थियो ? सातसमुन्द्रपारीबाट झरेको यो शव्द मेरो लागि अनमोल रत्नसरह थियो । यसले एकैपलमा मेरा औडाहाहरु, मेरा छटपटाहटलाई योगान्तरमा झारिदियो । उकालो लागेको मेरो अनभिज्ञ, अमूर्त प्रश्नोत्तरको गतिलाई रोकिदियो ।
उनीआज अलिक पीडामा छिन् । म उनको भावनाहरु शव्दका मझेरीबाट बुझिरहेको छु । फरक तर कयन अर्थहरु बोकेका हेर्दा अमूर्त लाग्ने हिसावमा उनी मसँग संवादमा सक्रिय भइन् ।
‘जीवन भनेको के हो ?’, दुनियाँमा सवै मानिसहरु किन एकै प्रकारका छन् ? उनका सोचहरु किन साझा भेटिरहेको छु ? तिमी पनि त्यहि भिँडको एकजना हौ । तिमी पनि अलग छैनौं । उ मप्रति केही आशावादी र केही फरक शैलीमा उत्तरका खोजीसँग रुमल्लिन खोजीरहेकी छ ।
साइबर संसारमा छिरेका केही वर्षहरुमा मैले धेरै युवतीहरुसँग प्रेमिल कुराहरु गर्ने प्रयत्न गरेको थिएँ । कतिपय आफैंपनि माया भरिएका शव्दहरुबाट मलाई नजिक तान्न खोज्दथे । अहिलेपनि त्यस्ता पात्रहरु कम छैनन् । तर, यो समाजदेखि टाढा भएर हो या मेरो सोचको सतहसँग समानान्तर भएका कारणले हो, म रश्मीसँगको संवादमा डुबीरहेको छु, पौडीरहेको छु, फेरि डुवीरहेको छु, फेरि उत्रिरहेको छु ।
०००
आज दिन फरक छ । साँझ व्याकुल छ, नशाका लागि । नशा रफ्तारमा छ, शरिरका लागि । शरिर उत्तेजित छ, मदिराका लागि । मदिरा प्यासी छ, प्रकारका लागि । मेरा अगाडी वाइनका दुई ठूला बोतलहरु तयार छन् । हिङ्वा वाइन । नेपालमा बनेको वाइन । हुन त प्रायः ह्विस्किसँग रुमल्लिने म आज वाइनसँग नजिक छु । त्यसको कारणपनि उनीहुन् । उनको वाइनको ह्याविटले मेरो ह्याविटलाई चेन्ज गरिरहेको छ । केवल निरन्तरको संवादले ? घरिघरि उनी भन्छिन्,‘यो संवाद यति नजिक छ की मलाई मायाको अनुभुत हुन थालेको छ ।’ यसअघि नै मैले उनलाई भनिसकेको थिएँ, यो मायाको प्रतिकका रुपमा अघि बढिरहेको छ । साइबरमै पनि संवादका आधुनिक उपकरणहरु कम छैनन् । प्रत्यक्ष जहाँ जसरी भएपनि शव्दचित्रबाट ‘कन्भरसेसन’को पर्याप्त अवसर छ । तर, मैले उनलाई प्रस्ताव गरेको छैन, अनि उनले पनि त्यो प्रविधिलाई सहज ठानेकी छैनन् ।
मैले वाइनको चुस्की फरक ढंगबाट लिएँ । त्यो पहिलो स्वाद पहिलो पटक प्रेमिकालाई चुम्बन गरेभन्दा मिठो, पहिलो पटक आनन्दको अनुभुति गरेभन्दा फरक, पहिलो पटक जमिन छाडेर आकाशमा तैरिएको जस्तो । संवाद जारी छ ।
जीन्दगी एउटा छ, त्यो पनि अमिलो । जीन्दगी अर्को छ, त्यो पनि अमिलो । यी दुई जीन्दगीहरुको मधुर त्यहाँ छ, जतिबेला संवादमा अनेकन दिनचर्याहरुको अभिलेखालय तयार हुन्छ । च्याट बक्समा ५ हजार पटक भन्दा ज्यादा भइसकेको संवादको गणना कतिसम्म पुग्ने हो न उनलाई थाहा छ, न मलाई थाहा छ । त्यसको कुनै सीमा अहिले नै निर्धारण भएको छैन, परिधि पनि अहिले नै तय भएको छैन । गुणन–भाग, जोड–घटाउ, अहँ केहीपनि तय छैन, उनको र मेरो अनुभुतिजस्तै, साझा तर उत्कट प्रेमिल संवादजस्तै ।
सहर साँघुरिएको बेला, सडक जाममा परेका बेला, सवारीका ताँत एकले अकर्बोलाई उछिन्नका लागि तयार भएको बेला, संवाद निरन्तर आफ्नो गतिमा चलिरहेको छ । त्यसको कुनै समय छैन, गन्तव्य पनि कसैलाई थाहा छैन । साइबरको दुनियाँमा चलेको यो संवाद गतिशिल छ रोकिने कुनै लक्षण देखिँदैन ।
‘मैले आज सवै कुरा विर्सिएकी छु । सवैकुरा सम्झिन साध्य छैन । म आफुमा हराएको छु ।’ उनले पछिल्लो पटक च्याटबक्समा झारेको शव्द थियो यो । रात धेरै वितिसकेको छ, जीवन लामो छ । संवादको क्रम चलिरहनेछ । मायाको सीमा नभएजस्तो यो ‘लभ्ली कन्भर्सेसनको पनि सीमा छैन । मैले च्याट बक्समा लेखें,‘समय छ, साइबर लभ अनन्त छ, मानिसको जीवनको परिधिसम्म । आजलाई विट मारौं, अर्कोचोटी कुरा सुरु गरौंला ।’ म झोला बोकेर अफिसतिर हुइाकिएँ, उनी सिरानी च्यापेर विछ्यौनामा पल्टिइन्, सायद ।
No comments:
Post a Comment