Thursday, January 16, 2014

बाबुरामको मुद्दा झोलामा, नारायणकाजी प्रचण्ड चोलामा

फेसबुके नेताका रुपमा परिचित हुन लागेका एमाओवादी नेता डा. बाबुराम भट्टराईका राजनीतिक मुद्दा अध्यक्ष प्रचण्डले झोलामा राखेर नारायणकाजीलाई चोलामा राखेका छन् । 
यो सन्दर्भ विहीबारदेखि सुरु भएको केन्द्रिय समितिको वैठकमा देखियो । प्रचण्डको प्रस्ताव पनि त्यस्तै नै छ । बाँकी यो समाचारमा पढ्नुहोस् । 
....एकीकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पार्टी संगठनमा आफ्नो भुमिका प्रभावकारी बनाउनका लागि नेता नारायणकाजी श्रेष्ठसँग निकटता देखाएका छन् । 
फरक मत राख्ने तयारीमा रहेका नेता बाबुराम भट्टराईलाई संगठनमा कमजोर बनाउँदै उनले श्रेष्ठका विचारमा आफ्नो समर्थन र साझा धारणा प्रतिवेदनबाटै देखाएका छन् । उक्त प्रतिवेदन विहीबारदेखि केन्द्रिय कार्यालयमा सुरु भएको केन्द्रिय समितिको वैठकमा उनले पेस गरेका छन् । 
पार्टी सुद्धिकरण र सुदृढिकरणको आवश्यकता औंल्याएका प्रचण्डले भट्टराइले भनेजस्तो पार्टीको तल्लो तहबाट सुद्धिकरण र नेतृत्वबाट सुदृढिकरण गर्नुपर्ने भनेका छैनन् । उनले पार्टीको शुद्धिकरण नेतृत्वबाट र सुदृढिकरण तल्लो तहबाट हुनुपर्ने उल्लेख गरेका छन् ।
प्रचण्डले पेस गरेको प्रतिवेदनमा भट्टराइले भनेजस्तो पार्टी नेतृत्व दुई कार्यकालभन्दा बढि बस्ननहुने भन्ने विषयलाई समेटेका छैनन् ।
प्रतिवेदनमा भनिएको छ,‘अव पार्टी पूर्णरुपमा संविधानसभामा केन्द्रीत गर्नुपर्छ, सरकारमा जानु हुँदैन ।’
प्रचण्डले राष्ट्रियताको सवालमा पार्टी चुकिसकेको स्वीकार गरेका छन् । 
‘संविधानसभाको निर्वाचन २०७० ः पार्टी निर्माणको ऐतिहासिक आवश्यकता’ शीर्षकको राजनीतिक प्रतिवेदन पेस गरेका हुन् ।  प्रतिवेदनमा पार्टीको आन्तरिक कमजोरीमा टेकेर विपक्षीहरूले षड्यन्त्र गरेको र सो षड्यन्त्रको बारेमा सामान्यसम्म पनि जानकारी नपाउनु पार्टी पराजयको कारण रहेको प्रचण्डको निष्कर्ष छ । ‘गत साल माघमा सम्पन्न महाधिवेशनपछि राजनीतिक रुपमा पार्टी प्रष्ट भए पनि साङ्गठनिकरुपमा प्रष्ट हुन नसक्दा पार्टी पराजित भयो, त्यसमा आन्तरिक कारण नै प्रमुख हिस्सेदार रह्यो ।’, प्रतिवेदनमा उल्लेख छ,‘ संसदीय व्यवस्थाका खेलाडीहरूले गरेका हर खालका गतिविधिलाई नजर अन्दाज गरिएन, सामान्य निर्वाचन जसरी आफ्नो काममा मात्र व्यस्त रह्यो, अन्य दलको गतिविधिलाई नजिकबाट हेरिएन ।’
प्रतिवेदनमा संविधानसभा निर्वाचनमा जाँदा एक वर्षभित्र संविधान निर्माण गर्ने भन्ने प्रतिबद्धता अनुसार आफ्नो तर्फबाट अधिकतम् पहल र प्रयत्न गर्ने र अन्य दललाई पनि सहमतिमा ल्याउन विशेष पहल गर्ने भन्ने कुरा उल्लेख गरिएको प्रवक्ता अग्नि सापकोटाले बताए । 
यस्तै एमाओवादीले केन्द्रीय समिति र राज्य समिति, जिल्ला समिति र स्थानीय समितिहरू भद्दा र अव्यवस्थित भएको भन्दै आकार घटाउने र समितिहरूलाई चुस्त, दुरुस्त बनाउने कार्ययोजना अगाडि सारेको छ । 
कार्ययोजनाअनुसार केन्द्रीय समितिलाई दुई अङ्कको केवल ९९ मात्रै बनाउने, राज्य समितिहरू विघटन गर्ने र जिल्ला समिति मात्र राख्ने भएको छ । हाल एमाओवादीको १४ वटा भूगोल र अन्य गरी १८ वटा राज्य समिति रहेका छन् । यस्तै जिल्ला समिति ५१ जनाको बनाउने र स्थानीय समिति मात्रै २५ सदस्य बनाउने प्रस्ताव गरिएको छ । 
सापकोटाका अनुसार राजनीतिक प्रतिवेदनमा पार्टीमा व्यापक शुद्धीकरण र सुदृढीकरण अभियान सञ्चालन गर्नुपर्ने र पार्टीभित्रको अव्यवस्था र अराजकतालाई नियन्त्रण गर्नुपर्ने उल्लेख गरिएको छ । 

Monday, January 6, 2014

एमाओवादीभित्रको रडाको

अस्तित्वको खोजीमा अझै एमाओवादी फुटको संघारमा पुग्नु अस्वभाविक हुँदैन, यसको अवस्था राप्रपा नेपालभन्दा फरक हुनेछैन ।

एउटा राजनीतिक दललाई शक्तिका रुपमा स्थापित गरेर राख्नसक्नु नै त्यस दलका नेताको गुण हो । जव गुण र दोषको जिम्मेवारीका विषयमा कोही व्यक्तिविशेष उभिन सक्तैन भने त्यसले राजनीतिक दललाई लामो समय टिकाउन सक्तैन । परिवर्तित विश्वसँगै विचारको रुपान्तरणपछिमात्र एउटा शक्ति लामो समयसम्म टिक्न सक्छ । 
यो साताको बहुचर्चित प्रसंग कोट्याउने हो भने एमाओवादीभित्रको विवाद नै हो । युद्धबाट शान्ति प्रकृयामा आएर लोकतान्त्रिक राजनीतिमा प्रवेश गर्दा हतियारको सन्त्रासभित्रै गिरीजाप्रसाद कोइराला आफु हारेर जिताएको पार्टी अहिले तेस्रो हो । यो स्वभाविक चित्र पनि हो । संविधानसभामा समानुपातिक सदस्य पठाउने विषयमा यो पार्टीभित्र देखिएको विवादको मुख्य जड नातावाद र अस्तित्वलाई देखाउने क्रुर घमण्ड नै थियो ।
५४ जनाको समानुपातिक सूचीमा आफ्ना पक्षका व्यक्ति नपरेको भन्दै नोट अफ डिसेन्ट लेखेका नेताद्वय डा. बाबुराम भट्टराई र नारायणकाजी श्रेष्ठलाई अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड पक्षका नेताहरूले ताकत भए पार्टी फुटाउन खुलेआम चुनौती पनि दिए । यस्तो चुनौती बाहिर आएपछि अहिले एमाओवादीभित्र नेतृत्वमै तीव्र टकराव रहेको सार्वजनिक भयो । त्यसो त नोट अफ डिसेन्ट लेखेका दुई नेतालाई प्रचण्डले सूची नसच्चिने भनेपछि अहिले तीन नेताबीचको टकराव तीव्र छ । उक्त विषय अब केन्द्रीय समितिमा छलफल हुने भनिएपनि त्यहाँपनि विग्रहको अवस्था आउने घटनाक्रमहरु विकासका रुपमा देखिएका छन् । नेता भट्टराईले सानेपामा प्रचण्डले आफ्नो असहमतिलाई बेवास्ता गरेको बताएका थिए । उनले प्रचण्डले गल्ती नसच्याएको र यसले उनलाई घाटा पुग्ने सार्वजनिक नै गरे । प्रचण्ड एकपक्षीय रूपमा अघि बढेको उनको अभियोग थियो । पार्टीले संविधानसभामा हारेको जिम्मा पनि प्रचण्डले नै लिनुपर्ने बाबुरामको ठहर छ ।
नेपाली जनताहरु भावुक छन् । भावनामा वग्ने र भविष्यलाई आशावादी रुपमा आफ्नो मत राखेर नेपाली राजनीतिक दिशालाई एकदमै समानतामा उचाल्ने र पछार्ने काम, जनताले गरिरहेका छन् । उनीहरु तत्कालिक संवेदनाका मतदाता भएको यसपल्टको निर्वाचनले पुष्टि गरिदियो । अघिल्लो संविधानसभा निर्वाचनमा शान्ति र न्यायको लागि एमाओवादी नयाँ शक्तिलाई जिताएका जनताले यसपल्ट राप्रपा नेपालजस्तो दललाई पनि फराकिलो बनाइदिए । उनीहरुलाई यो देशमा हर कसैको आवश्यकताको महसुस छ । तर, यो जनताको फैसला नै एमाओवादी फुटको संघारमा पुग्ने अवस्थाको कारक हो । उल्लेखित पहिलो अंशले केही संकेत गरिसकेको छ ।
सडकमा हुने बहस एकथरी हुनसक्छ तर एमाओवादीको धरातलीय यथार्थ फरक छ । अहिले एमाओवादी विभाजनपछिको अवस्थामा छ । अस्तित्वको खोजी गर्दैगर्दा भेट्न नसकेका मोहन वैद्य किरणहरुले पार्टीलाई विभाजन गर्नुप¥यो । स्वभाविक हो, प्रचण्डको कुनै राजनीतिक दिशा थिएन र उनी बाबुरामको भरोसामा उभिन पुगे । किरणहरुले नयाँ पार्टी स्थापना गरे र अहिले आफ्नो राजनीतिक एजेण्डामा उनीहरु सक्रिय छन् । तर, त्यहाँपनि अस्तित्वको आन्तरिक लडाँई तिव्र नै छ । यद्यपि, एमाओवादीभित्रको गतिलाईचाँही यहाँ देखाउन आवश्यक ठहर्छ, सन्दर्भको यो माग पनि हो ।
प्रचण्ड नजिकका नेता गोपाल किराँतीले सार्वजनिक मञ्चमै भनिदिए–‘५४ जनाको सूची सच्चिँदैन, त्यही विषयलाई लिएर बाबुराम र नारायणकाजीले पार्टी फुटाउँछन् भने हिम्मत गरुन्, म स्वागत गर्नेछु ।’ एमाओवादीभित्र आयोगमा बुझाएको समानुपातिक सूचीको नामका विषयलाई लिएर बढेको विवादका कारण केहीले राजीनामा दिइसकेका छन् भने नेताद्वय बाबुराम र नारायणकाजी रुष्ट छन् । किराँतीको सोझो जवाफ थियो–सूची बनाउन बैठकमा नजाने, बहिष्कार गर्ने अहिले सार्वजनिक भइसकेपछि सूची सच्याउन सकिँदैन । यसैलाई लिएर पार्टी फुटाए हुन्छ । फुटेरै जानेलाई नजाऊ भनेर बाँधेर राख्न सकिँदैन ।
अध्यक्षले तयार पारेको सूचीमा असन्तोष जनाउने प्रयास नै गलत भएको उनको तर्क थियो । कुनै पनि हिसाबमा प्रचण्डलाई बदनाम गराउन दुवै नेता लागिपरेको उनको ठहर थियो । उनले यति ठैलो कुरा गरिदिए कि ‘भट्टराई र श्रेष्ठ प्रचण्डको मृत्युमा आफ्नो जीवन खोजीरहेका’ छन् । अघिल्लो संविधानसभा रहँदा पार्टीभित्रको विवाद मिलाउने बहानामा संविधान बन्न नसकेको प्रचण्डपक्षका नेताहरूको विश्लेषण छ । अन्तरसंघर्षका नाममा पार्टीमा सकस पैदा गर्ने काम दुवै नेताले गरेको बताएका किराँतीले पार्टी धेरै वर्ष अन्तरसंघर्षमा रहँदा संविधान बनाउन नसकेको स्वीकार गरे । अन्तरसंघर्षको नाममा पार्टीलाई हैरान पार्ने काम बाबुरामले गरेको किराँतीको विश्लेषण नै थियो ।
वास्तवमा राजनीति शक्तिको केन्द्रविन्दुमा पुग्नका लागि हुने हो । शक्तिका लागि मान्छेहरुले अनेत ताण्डव गर्नु स्वभाविक बनिसकेको पनि छ । एमाओवादीभित्रको स्थापनाकालदेखिको रोग हो, एकले अर्काको अस्तित्वलाई स्वीकार नगर्ने । पार्टी जनयुद्धका नाममा रहँदा अन्य राजनीतिक दलको अस्तित्वलाई स्वीकार गरेनन् र हिंसापीडित बनाए, जव मुलधारको राजनीतिमा आए मुख्य दलको अस्तित्वलाई कुल्चिने प्रयत्न गरे । खासगरी, संसदीय राजनीतिमा पहिलो दल भएर आएपछि त झनै उनीहरुले कसैलाई पनि गनेनन् । राजनीतिमा हर एक मानिसको अस्तित्वको महत्व हुन्छ । लोकतन्त्रमा सवै मान्छेहरुले आफ्नो भुमिकालाई प्रभावकारी देख्छन् । तर, बाह्य रुपमा एमाओवादीले जुन नीति अख्तियार गरेको थियो, अहिले आन्तरिक राजनीतिमा पनि त्यहि नीतिका कारण फुटको संघारमा पुग्नु खासै ठूलो कारणचाँही होइन । अस्तित्वको खोजीमा अझै एमाओवादी फुटको संघारमा पुग्नु अस्वभाविक हुँदैन, यसको अवस्था राप्रपा नेपालभन्दा फरक हुनेछैन । राप्रपा नेपालमा पनि अस्तित्वको खोजीमा पार्टी विभाजन हुने क्रम र मिलाउने प्रयत्न भएका छन् तर असन्तोषहरु ज्यादा छन् । एमाओवादीभित्र पनि त्यस्तै छ । यसबीचमा प्रचण्डले आफ्नो भुमिकाबारेमा खुलस्त भनेका छैनन् । तर, उनले विचार गरिरहेका छन् बाबुराम र नारायणकाजीको राजनीतिक चालको । कम्युनिष्ट पार्टीमा राजनीतिक हैसियतमा रहने नेतृत्वको राग अहिलेपनि उनीबाट हराएको छैन । तर, बाबुरामहरु आन्तरिक लोकतन्त्रको कुरा उठाएर पटक पटक प्रहारको प्रयासमा छन् । एकजना माओवादीले लेखेका थिए–धोवीघाट सम्मेलनले मोहन वैद्यहरु फुटाएर बाबुरामलाई प्रधानमन्त्री बनायो, अव के हुन्छ ? स्वयम् एमाओवादी कार्यकर्ता नै पार्टीको आन्तरिक जीवनबारेमा बुझ्न सामथ्र्य भइसकेको छैन, राजनीतिक अवस्थाका बारेमा अज्ञात छ भने बुझ्नुपर्छ पार्टीको अवस्था ठिक छैन । संगठन कमजोर भइसकेको छ ।
एमाओवादीमा संगठनात्मक समस्या रहेका कारण नै आगामी माघमा संगठनको महाधिवेशन गर्ने निर्णय गरेको थियो । तर, त्यसअघि नै समानुपातिक विवादले आन्तरिक विवाद सतहसम्म छरिएपछि अहिले नेतृत्वमा नै टकराव सुरु भइसकेको छ । समस्याको समाधान अब केन्द्रीय समितिको बैठकबाट हुने, रूपान्तरण र एकताको प्रयास हुने तर, त्यति गर्दा पनि विभाजनको अवस्था आए, फुटेर जानेलाई राख्न नसकिने तर्कहरु आइसकेका छन् । जे होस् शान्तिप्रक्रिया र संविधान निर्माण कार्यलाई अघि बढाउन दर्जन कमजोरी भए पनि जनयुद्धको नेतृत्व गर्दै आएका अध्यक्ष प्रचण्डको नेतृत्व अहिले नै कमजोर बनिहाल्छ भन्ने परिस्थिति पनि नभएको कारण अव एमाओवादीमा दुइटा कुरा हुने निश्चयभावी छ । पहिलो, बाबुरामहरुको राजनीतिक दिशा लागु हुनेछ । यदि भएन भने उनीहरु बाहिरीनेछन् । र, दोस्रो प्रचण्ड वैद्यहरुसँग नजिक हुनेछन् र बाबुरामहरु खुम्चिनेछन् ।

प्लिज कारबाहीमा पार्न अपिल नगर

प्राकृतिक नियममाथि बनेको कानुन र त्यसलाई वंग्याउनसक्ने अधिकतम क्षमता भएकाहरुले कति लाभ उठाएका होलान् ? त्यसको क्षतिपूर्ति कसले दिने ? अधिकार र न्यायको आन्दोलन निक्कै राम्रो हो तर त्यसको व्याख्या फरक ढंगबाट गरिँदा यो आन्दोलनको मनोविज्ञान अलग हुन थालेको महसुस भएको छ ।


अचेल कार्यालयतिर युवतीको सुन्दरता नियाँल्न पनि निक्कै त्रसित भइन्छ । सडकमा राम्रो पहिरन लगाउनेहरुमाथि आँखा डुलाउँदा कानुनी कारवाहीमा परिएला की भन्ने त्रस्त मनस्थितिमा पैदलयात्रा गर्नुपर्ने अवस्था छ । फेसबुक च्याटमा बोल्दापनि निक्कै सम्हालिएर र विचार गरेर प्रतिक्रिया दिनुपर्ने अवस्थिति । मानौ– एकप्रकारको यातनामा उभिनुपरेजस्तो, एकप्रकारको फरक हिंसामा बाँच्नु परेजस्तो । 

अहिले नेपालमा बनेको महिलाहिंसा विरुद्धको कानुनले प्रत्येक केटामान्छेलाई त्रसित बनाउला नबनाउला मलाई थाहा छैन । तर एउटा युवक दिनभरी नै त्रस्त बन्नुपर्ने अवस्थिति छ । सुनेका कुराबाट मनोवैज्ञानिक रुपमा स्वयंयातनाको शिकार कति बनेका होलान् ? जसले यो कानुनका बारेमा सुने । 

कानुन लाग्छ रे–एकैछिन घुरेर पनि कुनै युवतीलाई नहेर्नू । कानुन त्यस्तो बनेको छ रे, कसैलाई बाटोमा नसुसेल्नु । युवतीलाई सार्वजनिक यातनामा नछुनु त्यहाँ, अर्को कानुन छ । निक्कै सम्हालिएर हिँड्नु । कोही नजानी ठोक्किन आइपुगेभने पनि आफु नठोक्किनु, किनभने त्यहाँ हिंसाविरुद्धको कानुन छ । 

एकजना साथीले भने–महिलाको इच्छाविना तपाइले छुनेमात्र होइन हेर्ने काम गर्नुभयो भने पनि कानुन लाग्छ । झुक्किएर छुनुभयो र माफी माग्नुभएन भने प्रहरीको खोरतिर जानुपर्ला ? म त बारम्बार भन्नेगर्छु सुन्दर बन्नका लागि मेकअप नगर युवतीहरु, जसले कानुनको पीडित बनाउने छ निर्दोष युवकलाई । जबरजस्ती कारवाहीका लागि यस्तो अपिल किन गरिरहेका छौ, हज्जारौं खर्चेर लाली पाउडर दलेर ?  

म त यसबेला सोचीरहेको छु– वानेश्वर चोकमा उभिएर एउटा पान चपाउँदासम्म कति युवतीहरुमाथि आँखा डुुलाइन्थ्यो । अनामनगरको चिया पसल वरीपरि कति युवतीहरुमाथि फरक दृष्टि राखिन्थ्यो । धन्न, कानुनबाट उम्किन सफल भइएछ । कहिलेकाँही लाग्छ, यो कानुनले सवैभन्दा बढि मलाई डाम्ने थियो की ? मैले कलेजदेखि कार्यालयसम्म डुलाएका प्रत्येक नजरमा उजुरी परेको भए के हुने थियो ? प्रत्येक उजुरीका आधारमा एकदिनको कैद गर्दा मात्र पनि अहिलेसम्म जन्मकैदको भागी त हुने थिएन ?

‘प्लिज दाई त्यो काम मेरा लागि हुनप¥यो, म त्यसका लागि बरु तपाइसँग सेक्स गर्न तयार छु ।’ यस्ता म्यासेज पनि आउँदा रहेछन्, एकजनाले देखाइदिए मलाई । मैले उनलाई चेतावनी दिएँ– तिमीलाई कानुन थाहा छ ? कारवाहीमा परौला नी । यस्ता म्यासेज पठाउनेहरु युवतीहरुका लागि कानुनले कारवाही गर्ने अधिकार प्रदत्त गरेको छ या छैन ? मलाई थाहा छैन । तर, त्यसको रिप्लाई गर्ने युवक भने पक्का कानुनी फन्दामा पर्नेछ, यत्ति मुलुकले पाएको नयाँ कानुनचाँही पक्का हो ।  

सहर फरक तरिकाले अघि बढिरहेको छ । एकातिर महिलाविरुद्ध हुने यौनहिंसाको अभियान पाँचतारे होटलको हलमा चलिरहने गरेका छन् । अनि, अर्कातिर कामका लागि यौनप्रस्ताव राख्नेहरुको मनोविज्ञान पैसासँग दौडिरहेको छ । यो मनोविज्ञान यदि नकारात्मक रुपमा अघि बढ्यो भने सजायको भागीदार को हुनेछ ? त्यसको छानविनको तौरतरिका कस्तो हुनेछ ? हेर्दा अति सामान्य र ठट्टाजस्तो देखिने यो प्रसंगले एउटा युवकको जीवन र करिअरमाथि नै आघात पार्न सक्दैन र ? कति उदाहरण त देखिएका पनि छन् । मिडियामा छ्यापछ्याप्ती आएका छन् र बाल बाल न्याय पाएर बाँचेका ठूला मानिसहरुको समाचार पनि सुनिएको छ, पढिएको छ । जसले जीवनको गतिलो करिअरलाई विट मारेर नयाँ ढंगबाट जीवन सुरु गर्नुप¥यो । 

प्रत्येक पल यस्तो कानुनहरुले निक्कै चिढ्याउने गर्दछन् । मिडियाकर्मी भएका नाताले मैले कयन युवतीहरुतिर नजर पु¥याए होला, समाचार, लेख, विश्लेषण आदीइत्यादीका लागि । नजरमा दोष हुन्छ की सहानुभुति त्यसबारे निक्र्यौल गर्ने मापदण्ड सरकारले बनाएको छ की छैन ? मलाई यसबारेपनि थाहा छैन । प्रकृतिमाचाँही पक्कै दोष छ । किनभने पुरुष महिलाप्रति आकर्षित हुन्छन् र महिला पुरुषप्रति । आकर्षणको प्राकृतिक नियमलाई नै चुनौति दिने कानुनमा कति पुरुष प्रताडित भए ? हिसावकिताव थाहा छैन । यत्ति हो, बलात्कारजस्तो जघन्य अपराध बाहेकका कुरामाथि मेरो टिप्पणी हो । बलात्कार सामाजिक हिंसा भएका कारणले त्यसबाहेकको सवालको परिदृश्यसँग जोडिएका प्रसंगहरुको उठानमात्र गरेको विनम्रतालाई यहाँनेर राखेको छु । 

प्राकृतिक नियमलाई कतिदिन चुनौति दिने ? प्रकृतिमाथि जुन प्रकारले पक्षपाती ढंगले कानुन निर्माणको काम र कारवाहीको कुरा चलिरहेको छ, यसले आधुनिक समाज निर्माणको साट्टो पाश्चात्य समाजतिर धकेल्छ र कानुन महिलाका लागिमात्र बन्नेछ । यस्तो कानुनले एउटा लिंगलाई अधिकतम न्याय मिलेको महसुस होला तर अर्को पक्ष यातनापीडित त बन्छ नै, उसको भविष्य नै जोखिममा पर्ने गर्छ । यदि राज्यले समानताको नीति लिने हो भने कोही पनि पीडित नहुने मध्यमार्गी कानुन बनाउनु उपयुक्त होइन र ?

गएको साता एकजना राजनीतिकर्मी महिलाले नै आफु हिंसापीडित, यौनहिंसा पीडित हुन नचाहेका कारण सभासद नभएको पत्रकार सम्मेलनमा बताइन् । यदि त्यस्तो हो भने को को यौनहिंसापीडित भएर एउटा ठूलो दलको सभासद भए त ? यसले कुन सन्देशलाई प्राथमिकता दिइरहेको छ । विश्लेषण योग्य पत्रकार सम्मेलन थियो र ? 

दुईलिंगको समाजमाथि लाखौं डलरमा हुने बहसहरु कति तथ्यनजिक छन् थाहा छैन । यदि उनको तथ्यमाथिको बहस भइरहेको भए सायद, लैगिक हिंसाको न्युनिकरणका ताजा उदाहरणहरु केही फेला पर्ने थिए होला । यद्यपि, सामाजिक आन्दोलनमा उठेको महिला अधिकारको कुरा यौनहिंसासँगमात्र जोडेर व्याख्या गरिएका कारण निक्कै युवकहरु प्रताडित छन् । प्राकृतिक नियममाथि बनेको कानुन र त्यसलाई वंग्याउनसक्ने अधिकतम क्षमता भएकाहरुले कति लाभ उठाएका होलान् ? त्यसको क्षतिपूर्ति कसले दिने ? अधिकार र न्यायको आन्दोलन निक्कै राम्रो हो तर त्यसको व्याख्या फरक ढंगबाट गरिँदा यो आन्दोलनको मनोविज्ञान अलग हुन थालेको महसुस भएको छ । केही महिना अघि न्युजडेस्कमा समाचार आयो– जिल्लाको कुनै सरकारी कार्यालयमा हाकीमले यौनचाहना राखेका महिलाले राम्रो ठाउँमा काम गर्न पाए, नराख्नेले नराम्रो ठाउँ पायो भन्ने । यो समाचारमाथि निक्कै बहस गर्नुपर्ने अवस्था आएको थियो । यस्तो कानुन बनीसकेको रहेछ त्यसैले म त यत्ति भन्छु कानुनलाई होइन युवतीहरुलाई– प्लिज कारबाहीमा पार्न अपिल नगर्नुहोस् । तपाइको फेन्सीका सामानले निर्दोष युवक जेल जाला है ।  
   

Saturday, January 4, 2014

सपनाकक्ष र समाचारकक्ष

साइबर लभ–१२ 

भूतहरुसँग साक्षात्कार हुन्छ, देवताहरुसँग बहस हुन्छ । अनेक हुन्छ, सपनाकक्षमा । सपना कक्षभित्र मैले पत्तो लगाएको एउटै स्वप्नतथ्य छ– यहाँ कोही मृत छैन । अनि, कोही भौतिक जीवित रहन्न । सवै बाँचेका छन्, सवैसँग
..................................................................................................................


डिस्को छिर्नु तर खल्तीलाई दोष नलगाउनेगरी । त्यहाँको यौवन पनि किन्नु तर दोषीका रुपमा वगली कहिलेपनि देखा नपरोस् । मात्तिनु मधुशालाको बारमा उभिएर र नाच्नुपनि तर जीवनसँग कहिलेपनि प्रश्नहरु नउठुन् । पात्रको खोजी गर्दै आज दरबारमार्गभित्र एउटा श्लील सहरको अश्लील कोठीमा रक्सी पिउने साहसमा उभिएको छु । छेउमा उभिएकी छ– अनुहारभरी लाली दलेकी एउटी काली । 
एक प्याक रमसँग महमिसाएर टेबुलमा रंगिने प्रयासगरिरहेको छु– त्यो काली पुलुक्क हेर्छे । यदि शेलीले यो यथार्थलाई अगाडीबाट नियाँली भने के गर्छिन् होला ? मनमनै अर्को प्रश्नसँग विवाद गरिरहेको छु र मेरा आँखा पनि कालीतिर तानिएका छन् । तर, आँखाको अपेक्षा यौनसँग पटक्कै छैन– त्यो कालीको जीवनको कथा पाउनसकिन्छ की भन्ने अपेक्षासँगमात्र छ । शेलीलाई मैले काठमान्डूको कथा सुनाइरहँदा कालीको जीवनको बारेमा पनि त भन्नु छ नी । 
०००

मान्छेले सपनाहरु किन्न सक्तैन । त्यसलाई उन्न सक्छ र लगाउने भावनामा डुव्न सक्छ । शेली भन्छिन्,‘म सपनाको देशमा छु ।’ तर, मानिसको यथार्थको कृत्रिम सहरमा छिन् उनी । त्यो उनको सपना होला तर मान्छेले बनाइसकेको यथार्थसँग व्यस्त छिन्, उनी । वायुमण्डलमा उभिने मेरो सपना छ । विज्ञानले कुनैदिन त्यो पुरा गर्ला वा नगर्ला विश्वस्त छैन । तर, मेरो सपनाको कक्ष निक्कै ठूलो छ । झुलुक्क हरियो वत्ती बालेर इन्टरनेटको कक्षमा आएकी शेली एकै छिनमा विलय भइन् । उनी फेरि आउँदैछिन्, थाहा छ किनभने उनले भनिन्,‘आई वील कम सुन ।’ म कम्प्युटरका कि प्याडमा त्यसै हराइरहेको छु । इन्टरनेटको दुनियाँसहरु रमाइरहेको छु । अनि, कि प्याड एकसाथ बजेका गडगडाहटबाट ठान्दैछु, सहकर्मीहरु अभ्यस्त छन्, काममा । हो, यत्ति वेला म कार्यालयको अति व्यस्त समयमा छु । तर, निक्कै उत्साहजनक र राम्रो समयमा पनि । 
‘साइबर लभ किन रोकियो ?’ समाचारकक्षबाट आवाज आयो,‘साइबर लभ हराएजस्तो लाग्यो नी ?’ ....हाँसोका फोहोरा पनि छुटिरहेका छन् । जसले सोधे उनी मान्छेलाई उडाउन माहिर । अनि, जो बोलिरहेको छ, अहिले उनी पनि उस्तै मान्छेलाई उडाउने अत्याधुनिक विमान जस्ती । उनै दिदी, उनको काम र संघर्षसँग जोडिएकाहरु उनलाई दाजु पनि भन्छन् रे । तर, अहिलेसम्म मचाँही दिदी भनिरहेको छु । दाजु यसकारण अखबारको काममा झण्डै दुई दशकदेखि प्राविधिकको रुपमा निरन्तर खटेका कारण । अखबारको हरेक दुखहरु झेलेका कारण उनी दाजु हुन् । अचेलका नवनारीहरुलाई पो हिंसा र अधिकारको बाहना छ, उनी त यस्ता कुरामा ख्याल पनि नगर्ने, माया लागे काममा ज्यान दिने र मन नपरे सातो खाने । त्यसकारण उनी तर दाजु हुन् । उनी पनि भन्दैछिन्,‘...खोई साइबर लभ ?’ साइबर लभ एउटा निरन्तरताको स्तम्भमात्र होइन । यो कथाहरुको थाक हो र जीवनहरुको संवाद पनि हो । यो निरन्तर आइरहेको छ, आइरहन्छ– मैले सटिक जवाफ फर्काएँ । यति भनिरहँदा शेली फेरि अनलाइनमा आइसकिन् । उनी सोध्दैछिन्,‘के हुँदैछ नेपालको नयाँ खबर ?’ नेपाल आफैंमा सपनामा रमाइरहेको छ । यहाँका प्रत्येक मान्छेहरुका फरक सपना छन् । अति विपन्न वर्गका मानिसहरु जो अनुभवकामात्र धनी छन्, संघर्षका सम्पन्न छन् तर अर्थका विपन्नहरु उनका सपनाकक्षहरु निक्कै रसिला पनि छन् । 
मलाई थाहा छैन सपनाकक्षको आकार कस्तो हुन्छ । त्यहाँ कस्ता–कस्ता सपनाहरु सम्पादन हुन्छन् अनि कसरी बाहिर आउँछन् । मलाइ यत्ति थाहा छ– अहिले म समाचार कक्षमा छु । यो समाचारकक्ष हो र यहाँ समाचार सम्पादन हुन्छ । म समाचारको सम्पादनसँगै सपनाहरुको अक्षरहरु कोर्न अभ्यस्त नै छु, आज । रातको १० बजिरहेको छ । कुनै खास समाचारको सम्पादनमा लागिरहेको छु । मेरो कम्प्युटर एक्कासी ठूलो आवाजमा बज्छ । र, अनलाइनमा फेरि शेली लेख्छिन्, ‘कहाँ हराउनुभयो ?’
‘सपनामा’ मेरो सटिक जवाफ छ । ‘कस्तो सपनामा ?’ उनको अर्को प्रश्न तेर्सिन्छ । ‘हरियो सपनामा’ म उत्तरमा कुनै रंगको लेप लगाउने प्रयत्नमा छु । ‘सपनाको रंग हुन्छ र ?’ उसले सोधी । ‘मान्छेको रंगअनुसारका सपना हुन्छन् होला नी ।’ मेरो फरक उत्तर छ । ‘तपाइसँग बोलेर कसले जित्ने र ?’ उसले भनि । ‘प्राय हारहरु मेरा पोल्टामा परिरहन्छन् ।’ मेरो उत्तर थियो शेलीलाई । हुन त उनलाई सपनाको व्याख्या गर्न आउँदैन । उनी बस्तुवादी भएकी हुनाले पनि उनको र मेरो ट्युनिङ त्यति मिल्दैन, सामान्य तथा गहिरो संवादमा । तर, उनी जीवनको एउटा क्षेत्रको पात्र भएकाले पनि उनीसँग बहस त भइ नै रहन्छ । 
सपनाकक्षमा रमाइला र आशलाग्दा अपेक्षाहरुबारे गम्भिर भइन्छ । तर, समाचार कक्षभने कहिले रिस, हाँसो र यथार्थको मन्थनमा गुज्रिन्छ । कहिले सम्पादक कराउँछन्, कहिले उपसम्पादकहरु उफ्रिन्छन् । समाचार सम्पादक केवल आफ्नो गुनासो सम्पादकलाई राख्छ अनि पुरा हुने आशामा बस्छ । यो गोरुको गलामा झुण्डाएको एउटा घन्टीजस्तो । बजे पनि ठिकै, नबजे पनि ठिकै । बजे पनि वेठिक, नबजे पनि वेठिक । तर, सपनाकक्ष निक्कै रसिलो हुन्छ । आशहरुको थुप्रोमा अपेक्षाहरुका आकृति सहज कोरिन्छ । एकैछिनमा चन्द्रमामा पुगिन्छ र त्यहाँ मायालुको पोटिलो गालामा चुम्बन गरेर फर्कन पनि सजिलो हुन्छ । यहाँ एन्जोलिना जोलीहरु काखमा हुन्छन्, प्रियंका चोपडाहरु विस्तरामा पर्खिरहेका हुन्छन् । कहिलेकाँही बाराक ओबामाहरु ह्वाइटहाउसमा कफिका लागि वेट गरेर बसीरहेका हुन्छन् । उनीहरुसँग कफी पिउनुको मजा नै वेग्लै छ, त्यो आनन्द फेरि कति मिठो हुन्छ । जर्ज बुसहरु, भ्लादिमर पुटिनहरुसँग साक्षात्कार हुन्छ र विश्वबजारको बारेमा बहस हुन्छ ।
सपनाकक्ष अनेक कल्पनाका परिदृश्यमा अल्झिएका हुन्छन् । राम्रा नराम्रा । कहिलेकाँही आफ्नो लासको मलामी आफैं हिँडिरहेको देखिन्छ यो कक्षमा । अदभुत कक्ष न यसको आकार पत्तो लागेको छ, न क्षेत्रफलको टुंगो । तर, यसमा धेरै चीज अटिरहेका छन् । राष्ट्रपतिहरु साना र आम मानिसहरुको बस्तीमा भेटिन्छन्, देवकोटाहरु चिहानबाट उठेर बोलाउँछन्, हजुरबाहरु साक्षात प्रकट हुन्छन् र सन्देशहरु दिन्छन् । भूतहरुसँग साक्षात्कार हुन्छ, देवताहरुसँग बहस हुन्छ । अनेक हुन्छ, सपनाकक्षमा । सपना कक्षभित्र मैले पत्तो लगाएको एउटै स्वप्नतथ्य छ– यहाँ कोही मृत छैन । अनि, कोही भौतिक जीवित रहन्न । सवै बाँचेका छन्, सवैसँग । यहाँ कुनै सीमा छैन, कुनै परिधि र कानुन छैन । जो जोसँगपनि बसेका छन् र पिएका छन्, कफी, रम, ह्वस्कि र संवेदनाको आँसु ।
शेलीलाई यति लामो उत्तर पठाएको छु, सपनाकक्षको बारेमा । उनले बुझिन् या बुझिनन् ? मलाई थाहा छैन । 
केहीबेरमा उनी लेख्छिन्,‘तपाइको सपनाकक्षमा मेरो उपस्थिती कत्तिको बलियो छ ? दुनियाँ रहेछ त ?’ निक्कै गम्भिर प्रश्न थियो यो । मैले उनलाई उत्तर दिन सकिन की उनी मेरो स्वप्न कक्षमा अहिलेसम्म आएकी छैनन् । उनीसँगका खास स्वप्नश्लीलताका कुरा मैले गर्न पाएको छैन । उनी केवल सोचहरुमा आएकी छन्, कल्पनाको रुपमा । अनि, सृजनाको आधारविन्दुको एक थोप्लो भएर आइरहेकी छन्, छाउन सकेकी छैनन् । यद्यपि, भौतिक रुपमा भने उनी संवेदनाको नजिक छन् । ‘किन नहुनु तिमी स्वप्नकक्षमा ? तिमी आइरहन्छौ नी ।’, यो उनीसँगको संवादको सामान्य तर पाँचौ झूठ थियो । 

Thursday, January 2, 2014

प्रचण्डपक्षमा नेताहरु उर्लिने, घरभित्र बसेर बाबुराम कुर्लिने ?

२२ वर्षसम्म एमाओवादीको नेतृत्व गरेर आरोह र अवरोहको सामना गरेका पुष्पकमल दाहाल प्रचण्डको यात्रा सामान्य छैन । उनका पक्षमा नेताहरु उर्लिनु स्वभाविक बनिसकेको छ । तर, वैचारिक उचाइबाट प्रशाशनिक निकायको कार्यकारी भएपछि पतन भएका बाबुराम भट्टराई अहिले फेरि बोल्न थालेका छन् । उनी घरमा केही पत्रकार बोलाएर प्रचण्डविरुद्ध कुर्लिन थालेका छन् । हुन त कोही पनि गतिलाचाँही होइनन् तर सहरमा चर्चा छ प्रचण्डपक्षमा नेताहरु उर्लिने र घरभित्र बसेर बाबुराम कुर्लिने कुरा । आखिर के भयो ? 
त्यसका लागि पढ्नुहोस्, यो खबर...

५४ जनाको समानुपातिक सुचीमा आफ्ना पक्षका व्यक्ति नपरेको भन्दै नोट अफ डिसेन्ट लेखेका नेताद्वय डा. बाबुराम भट्टराई र नारायणकाजी श्रेष्ठलाई अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड पक्षका नेताहरुले ताकत भए पार्टी फुटाउन खुलेआम चुनौति दिएका छन् । 
यस्तो चुनौति बाहिर आएपछि अहिले एमाओवादीभित्र नेतृत्वमै तिव्र टकराव रहेको सार्वजनिक हुन थालेको छ । त्यसो त नोट अफ डिसेन्ट लेखेका दुई नेतालाई प्रचण्डले सुची नसच्चिने भनेपछि अहिले तीन नेताबीचको टकराव तिव्र छ । उक्त विषय अव केन्द्रिय समितिमा छलफल हुने भएको छ । 
विहीबारै नेता भट्टराइले सानेपामा प्रचण्डले आफ्नो असहमतिलाई वेवास्ता गरेको बताएका थिए । उनले भने,‘प्रचण्डले गल्ती सच्याएनन्, यसबाट हामी गम्भिर भएका छौं । यो उनको अर्को गल्ती हो ।’ उनले प्रचण्ड एकपक्षीय रुपमा अघि बढेको बताएका थिए । पार्टीले संविधानसभामा हारेको जिम्मा पनि प्रचण्डले नै लिनुपर्ने उनले बताएका थिए । 
उता, प्रचण्ड नजिकका नेता गोपाल किराँतीले सार्वजनिक मञ्चमै भने,‘५४ जनाको सुची सच्चिँदैन, त्यहि विषयलाई लिएर बाबुराम र नारायणकाजीले पार्टी फुटाउँछन् भने हिम्मत गरुन, म स्वागत गर्नेछु ।’ एमाओवादीभित्र आयोगमा बुझाएको समानुपातिक सुचीको नामका विषयलाई लिएर बढेको विवादका कारण केहीले राजीनामा दिइसकेका छन् भने नेताद्वय बाबुराम र नारायणकाजीले बुधबारै लाजिम्पाट पुगी अध्यक्ष प्रचण्डलाई नोट अफ डिसेन्ट बुझाएका थिए । यसप्रति असन्तुष्ट किराँती थप्छन्,‘सूचि बनाउन बैठकमा नजाने, बाहिस्कार गर्ने अहिले सार्वजनिक भईसकेपछि सूचि सच्याउन सकिंदैन । यसैलाई लिएर पार्टी फुटाए हुन्छ । फुटेरै जानेलाई नजाउ भनेर बाँधेर राख्न सकिदैन ।’
अध्यक्षले तयार पारेको सूचीमा असन्तोष जनाउने प्रयास नै गलत भएको उनको तर्क छ । कुनैपनि हिसावमा प्रचण्डलाई बदनाम गराउनका लागि दुवै नेता लागि परेको उनको ठहर छ । उनले भने,‘
भट्टराई र श्रेष्ठले प्रचण्डको मृत्यूमा आफ्नो जीवन खोज्ने गरेका छन् ।’ अघिल्लो संविधानसभा रहँदा पार्टीभित्रको विवाद मिलाउने बाहनामा संविधान बन्न नसकेको प्रचण्डपक्षका नेताहरुको विश्लेषण छ । अन्तरसंघर्षका नाममा पार्टीमा सकस पैदा गर्ने काम दुवै नेताले गरेको बताउँदै किराँती थप्छन्,‘पार्टी धेरै वर्ष अन्र्तसंघर्षमा रहँदा संविधान बनाउन सकेनौ । अन्र्तसंघर्षको नाममा पार्टीलाई हैरान पार्ने काम पहिला देखिनै हुँदै आएको छ । अब यो सहिन्न ।’
एमाओवादीमा संगठनात्मक समस्या रहेका कारण नै आगामी माघमा संगठनको महाधिवेशन गर्ने निर्णय गरेको थियो । तर, त्यसअघि नै समानुपातिक विवादले आन्तरिक विवाद सतहसम्म छरिएपछि अहिले नेतृत्वमा नै टकराव सुरु भइसकेको छ । ‘समस्याको समाधान अव केन्द्रिय समितिको वैठकबाट हुन्छ, रुपान्तरण र एकताको प्रयास हुनेछ । तर, त्यति गर्दा पनि विभाजनको अवस्था आए, फुटेर जानेलाई राख्न सकिँदैन ।’ किराँतीले भने,‘शान्ति प्रक्रिया र संविधान निर्माणको कार्यलाई अघि बढाउन दर्जन कमजोरी भएपनि जनयूद्धको नेतृत्व गर्दै आएका अध्यक्ष प्रचण्डको नेतृत्व अझै आवश्यक छ ।’ 
बाबुराम र नायराणकाजीको अहिलेको रडाको योजनाबद्ध भएको दावी गर्दै ५४ जनाको सूचि त बहाना मात्रै भएको किराँतीको ठोकुवा छ ।