Saturday, January 4, 2014

सपनाकक्ष र समाचारकक्ष

साइबर लभ–१२ 

भूतहरुसँग साक्षात्कार हुन्छ, देवताहरुसँग बहस हुन्छ । अनेक हुन्छ, सपनाकक्षमा । सपना कक्षभित्र मैले पत्तो लगाएको एउटै स्वप्नतथ्य छ– यहाँ कोही मृत छैन । अनि, कोही भौतिक जीवित रहन्न । सवै बाँचेका छन्, सवैसँग
..................................................................................................................


डिस्को छिर्नु तर खल्तीलाई दोष नलगाउनेगरी । त्यहाँको यौवन पनि किन्नु तर दोषीका रुपमा वगली कहिलेपनि देखा नपरोस् । मात्तिनु मधुशालाको बारमा उभिएर र नाच्नुपनि तर जीवनसँग कहिलेपनि प्रश्नहरु नउठुन् । पात्रको खोजी गर्दै आज दरबारमार्गभित्र एउटा श्लील सहरको अश्लील कोठीमा रक्सी पिउने साहसमा उभिएको छु । छेउमा उभिएकी छ– अनुहारभरी लाली दलेकी एउटी काली । 
एक प्याक रमसँग महमिसाएर टेबुलमा रंगिने प्रयासगरिरहेको छु– त्यो काली पुलुक्क हेर्छे । यदि शेलीले यो यथार्थलाई अगाडीबाट नियाँली भने के गर्छिन् होला ? मनमनै अर्को प्रश्नसँग विवाद गरिरहेको छु र मेरा आँखा पनि कालीतिर तानिएका छन् । तर, आँखाको अपेक्षा यौनसँग पटक्कै छैन– त्यो कालीको जीवनको कथा पाउनसकिन्छ की भन्ने अपेक्षासँगमात्र छ । शेलीलाई मैले काठमान्डूको कथा सुनाइरहँदा कालीको जीवनको बारेमा पनि त भन्नु छ नी । 
०००

मान्छेले सपनाहरु किन्न सक्तैन । त्यसलाई उन्न सक्छ र लगाउने भावनामा डुव्न सक्छ । शेली भन्छिन्,‘म सपनाको देशमा छु ।’ तर, मानिसको यथार्थको कृत्रिम सहरमा छिन् उनी । त्यो उनको सपना होला तर मान्छेले बनाइसकेको यथार्थसँग व्यस्त छिन्, उनी । वायुमण्डलमा उभिने मेरो सपना छ । विज्ञानले कुनैदिन त्यो पुरा गर्ला वा नगर्ला विश्वस्त छैन । तर, मेरो सपनाको कक्ष निक्कै ठूलो छ । झुलुक्क हरियो वत्ती बालेर इन्टरनेटको कक्षमा आएकी शेली एकै छिनमा विलय भइन् । उनी फेरि आउँदैछिन्, थाहा छ किनभने उनले भनिन्,‘आई वील कम सुन ।’ म कम्प्युटरका कि प्याडमा त्यसै हराइरहेको छु । इन्टरनेटको दुनियाँसहरु रमाइरहेको छु । अनि, कि प्याड एकसाथ बजेका गडगडाहटबाट ठान्दैछु, सहकर्मीहरु अभ्यस्त छन्, काममा । हो, यत्ति वेला म कार्यालयको अति व्यस्त समयमा छु । तर, निक्कै उत्साहजनक र राम्रो समयमा पनि । 
‘साइबर लभ किन रोकियो ?’ समाचारकक्षबाट आवाज आयो,‘साइबर लभ हराएजस्तो लाग्यो नी ?’ ....हाँसोका फोहोरा पनि छुटिरहेका छन् । जसले सोधे उनी मान्छेलाई उडाउन माहिर । अनि, जो बोलिरहेको छ, अहिले उनी पनि उस्तै मान्छेलाई उडाउने अत्याधुनिक विमान जस्ती । उनै दिदी, उनको काम र संघर्षसँग जोडिएकाहरु उनलाई दाजु पनि भन्छन् रे । तर, अहिलेसम्म मचाँही दिदी भनिरहेको छु । दाजु यसकारण अखबारको काममा झण्डै दुई दशकदेखि प्राविधिकको रुपमा निरन्तर खटेका कारण । अखबारको हरेक दुखहरु झेलेका कारण उनी दाजु हुन् । अचेलका नवनारीहरुलाई पो हिंसा र अधिकारको बाहना छ, उनी त यस्ता कुरामा ख्याल पनि नगर्ने, माया लागे काममा ज्यान दिने र मन नपरे सातो खाने । त्यसकारण उनी तर दाजु हुन् । उनी पनि भन्दैछिन्,‘...खोई साइबर लभ ?’ साइबर लभ एउटा निरन्तरताको स्तम्भमात्र होइन । यो कथाहरुको थाक हो र जीवनहरुको संवाद पनि हो । यो निरन्तर आइरहेको छ, आइरहन्छ– मैले सटिक जवाफ फर्काएँ । यति भनिरहँदा शेली फेरि अनलाइनमा आइसकिन् । उनी सोध्दैछिन्,‘के हुँदैछ नेपालको नयाँ खबर ?’ नेपाल आफैंमा सपनामा रमाइरहेको छ । यहाँका प्रत्येक मान्छेहरुका फरक सपना छन् । अति विपन्न वर्गका मानिसहरु जो अनुभवकामात्र धनी छन्, संघर्षका सम्पन्न छन् तर अर्थका विपन्नहरु उनका सपनाकक्षहरु निक्कै रसिला पनि छन् । 
मलाई थाहा छैन सपनाकक्षको आकार कस्तो हुन्छ । त्यहाँ कस्ता–कस्ता सपनाहरु सम्पादन हुन्छन् अनि कसरी बाहिर आउँछन् । मलाइ यत्ति थाहा छ– अहिले म समाचार कक्षमा छु । यो समाचारकक्ष हो र यहाँ समाचार सम्पादन हुन्छ । म समाचारको सम्पादनसँगै सपनाहरुको अक्षरहरु कोर्न अभ्यस्त नै छु, आज । रातको १० बजिरहेको छ । कुनै खास समाचारको सम्पादनमा लागिरहेको छु । मेरो कम्प्युटर एक्कासी ठूलो आवाजमा बज्छ । र, अनलाइनमा फेरि शेली लेख्छिन्, ‘कहाँ हराउनुभयो ?’
‘सपनामा’ मेरो सटिक जवाफ छ । ‘कस्तो सपनामा ?’ उनको अर्को प्रश्न तेर्सिन्छ । ‘हरियो सपनामा’ म उत्तरमा कुनै रंगको लेप लगाउने प्रयत्नमा छु । ‘सपनाको रंग हुन्छ र ?’ उसले सोधी । ‘मान्छेको रंगअनुसारका सपना हुन्छन् होला नी ।’ मेरो फरक उत्तर छ । ‘तपाइसँग बोलेर कसले जित्ने र ?’ उसले भनि । ‘प्राय हारहरु मेरा पोल्टामा परिरहन्छन् ।’ मेरो उत्तर थियो शेलीलाई । हुन त उनलाई सपनाको व्याख्या गर्न आउँदैन । उनी बस्तुवादी भएकी हुनाले पनि उनको र मेरो ट्युनिङ त्यति मिल्दैन, सामान्य तथा गहिरो संवादमा । तर, उनी जीवनको एउटा क्षेत्रको पात्र भएकाले पनि उनीसँग बहस त भइ नै रहन्छ । 
सपनाकक्षमा रमाइला र आशलाग्दा अपेक्षाहरुबारे गम्भिर भइन्छ । तर, समाचार कक्षभने कहिले रिस, हाँसो र यथार्थको मन्थनमा गुज्रिन्छ । कहिले सम्पादक कराउँछन्, कहिले उपसम्पादकहरु उफ्रिन्छन् । समाचार सम्पादक केवल आफ्नो गुनासो सम्पादकलाई राख्छ अनि पुरा हुने आशामा बस्छ । यो गोरुको गलामा झुण्डाएको एउटा घन्टीजस्तो । बजे पनि ठिकै, नबजे पनि ठिकै । बजे पनि वेठिक, नबजे पनि वेठिक । तर, सपनाकक्ष निक्कै रसिलो हुन्छ । आशहरुको थुप्रोमा अपेक्षाहरुका आकृति सहज कोरिन्छ । एकैछिनमा चन्द्रमामा पुगिन्छ र त्यहाँ मायालुको पोटिलो गालामा चुम्बन गरेर फर्कन पनि सजिलो हुन्छ । यहाँ एन्जोलिना जोलीहरु काखमा हुन्छन्, प्रियंका चोपडाहरु विस्तरामा पर्खिरहेका हुन्छन् । कहिलेकाँही बाराक ओबामाहरु ह्वाइटहाउसमा कफिका लागि वेट गरेर बसीरहेका हुन्छन् । उनीहरुसँग कफी पिउनुको मजा नै वेग्लै छ, त्यो आनन्द फेरि कति मिठो हुन्छ । जर्ज बुसहरु, भ्लादिमर पुटिनहरुसँग साक्षात्कार हुन्छ र विश्वबजारको बारेमा बहस हुन्छ ।
सपनाकक्ष अनेक कल्पनाका परिदृश्यमा अल्झिएका हुन्छन् । राम्रा नराम्रा । कहिलेकाँही आफ्नो लासको मलामी आफैं हिँडिरहेको देखिन्छ यो कक्षमा । अदभुत कक्ष न यसको आकार पत्तो लागेको छ, न क्षेत्रफलको टुंगो । तर, यसमा धेरै चीज अटिरहेका छन् । राष्ट्रपतिहरु साना र आम मानिसहरुको बस्तीमा भेटिन्छन्, देवकोटाहरु चिहानबाट उठेर बोलाउँछन्, हजुरबाहरु साक्षात प्रकट हुन्छन् र सन्देशहरु दिन्छन् । भूतहरुसँग साक्षात्कार हुन्छ, देवताहरुसँग बहस हुन्छ । अनेक हुन्छ, सपनाकक्षमा । सपना कक्षभित्र मैले पत्तो लगाएको एउटै स्वप्नतथ्य छ– यहाँ कोही मृत छैन । अनि, कोही भौतिक जीवित रहन्न । सवै बाँचेका छन्, सवैसँग । यहाँ कुनै सीमा छैन, कुनै परिधि र कानुन छैन । जो जोसँगपनि बसेका छन् र पिएका छन्, कफी, रम, ह्वस्कि र संवेदनाको आँसु ।
शेलीलाई यति लामो उत्तर पठाएको छु, सपनाकक्षको बारेमा । उनले बुझिन् या बुझिनन् ? मलाई थाहा छैन । 
केहीबेरमा उनी लेख्छिन्,‘तपाइको सपनाकक्षमा मेरो उपस्थिती कत्तिको बलियो छ ? दुनियाँ रहेछ त ?’ निक्कै गम्भिर प्रश्न थियो यो । मैले उनलाई उत्तर दिन सकिन की उनी मेरो स्वप्न कक्षमा अहिलेसम्म आएकी छैनन् । उनीसँगका खास स्वप्नश्लीलताका कुरा मैले गर्न पाएको छैन । उनी केवल सोचहरुमा आएकी छन्, कल्पनाको रुपमा । अनि, सृजनाको आधारविन्दुको एक थोप्लो भएर आइरहेकी छन्, छाउन सकेकी छैनन् । यद्यपि, भौतिक रुपमा भने उनी संवेदनाको नजिक छन् । ‘किन नहुनु तिमी स्वप्नकक्षमा ? तिमी आइरहन्छौ नी ।’, यो उनीसँगको संवादको सामान्य तर पाँचौ झूठ थियो । 

No comments:

Post a Comment