अस्तित्वको खोजीमा अझै एमाओवादी फुटको संघारमा पुग्नु अस्वभाविक हुँदैन, यसको अवस्था राप्रपा नेपालभन्दा फरक हुनेछैन ।
एउटा राजनीतिक दललाई शक्तिका रुपमा स्थापित गरेर राख्नसक्नु नै त्यस दलका नेताको गुण हो । जव गुण र दोषको जिम्मेवारीका विषयमा कोही व्यक्तिविशेष उभिन सक्तैन भने त्यसले राजनीतिक दललाई लामो समय टिकाउन सक्तैन । परिवर्तित विश्वसँगै विचारको रुपान्तरणपछिमात्र एउटा शक्ति लामो समयसम्म टिक्न सक्छ ।
यो साताको बहुचर्चित प्रसंग कोट्याउने हो भने एमाओवादीभित्रको विवाद नै हो । युद्धबाट शान्ति प्रकृयामा आएर लोकतान्त्रिक राजनीतिमा प्रवेश गर्दा हतियारको सन्त्रासभित्रै गिरीजाप्रसाद कोइराला आफु हारेर जिताएको पार्टी अहिले तेस्रो हो । यो स्वभाविक चित्र पनि हो । संविधानसभामा समानुपातिक सदस्य पठाउने विषयमा यो पार्टीभित्र देखिएको विवादको मुख्य जड नातावाद र अस्तित्वलाई देखाउने क्रुर घमण्ड नै थियो ।५४ जनाको समानुपातिक सूचीमा आफ्ना पक्षका व्यक्ति नपरेको भन्दै नोट अफ डिसेन्ट लेखेका नेताद्वय डा. बाबुराम भट्टराई र नारायणकाजी श्रेष्ठलाई अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड पक्षका नेताहरूले ताकत भए पार्टी फुटाउन खुलेआम चुनौती पनि दिए । यस्तो चुनौती बाहिर आएपछि अहिले एमाओवादीभित्र नेतृत्वमै तीव्र टकराव रहेको सार्वजनिक भयो । त्यसो त नोट अफ डिसेन्ट लेखेका दुई नेतालाई प्रचण्डले सूची नसच्चिने भनेपछि अहिले तीन नेताबीचको टकराव तीव्र छ । उक्त विषय अब केन्द्रीय समितिमा छलफल हुने भनिएपनि त्यहाँपनि विग्रहको अवस्था आउने घटनाक्रमहरु विकासका रुपमा देखिएका छन् । नेता भट्टराईले सानेपामा प्रचण्डले आफ्नो असहमतिलाई बेवास्ता गरेको बताएका थिए । उनले प्रचण्डले गल्ती नसच्याएको र यसले उनलाई घाटा पुग्ने सार्वजनिक नै गरे । प्रचण्ड एकपक्षीय रूपमा अघि बढेको उनको अभियोग थियो । पार्टीले संविधानसभामा हारेको जिम्मा पनि प्रचण्डले नै लिनुपर्ने बाबुरामको ठहर छ ।
नेपाली जनताहरु भावुक छन् । भावनामा वग्ने र भविष्यलाई आशावादी रुपमा आफ्नो मत राखेर नेपाली राजनीतिक दिशालाई एकदमै समानतामा उचाल्ने र पछार्ने काम, जनताले गरिरहेका छन् । उनीहरु तत्कालिक संवेदनाका मतदाता भएको यसपल्टको निर्वाचनले पुष्टि गरिदियो । अघिल्लो संविधानसभा निर्वाचनमा शान्ति र न्यायको लागि एमाओवादी नयाँ शक्तिलाई जिताएका जनताले यसपल्ट राप्रपा नेपालजस्तो दललाई पनि फराकिलो बनाइदिए । उनीहरुलाई यो देशमा हर कसैको आवश्यकताको महसुस छ । तर, यो जनताको फैसला नै एमाओवादी फुटको संघारमा पुग्ने अवस्थाको कारक हो । उल्लेखित पहिलो अंशले केही संकेत गरिसकेको छ ।
सडकमा हुने बहस एकथरी हुनसक्छ तर एमाओवादीको धरातलीय यथार्थ फरक छ । अहिले एमाओवादी विभाजनपछिको अवस्थामा छ । अस्तित्वको खोजी गर्दैगर्दा भेट्न नसकेका मोहन वैद्य किरणहरुले पार्टीलाई विभाजन गर्नुप¥यो । स्वभाविक हो, प्रचण्डको कुनै राजनीतिक दिशा थिएन र उनी बाबुरामको भरोसामा उभिन पुगे । किरणहरुले नयाँ पार्टी स्थापना गरे र अहिले आफ्नो राजनीतिक एजेण्डामा उनीहरु सक्रिय छन् । तर, त्यहाँपनि अस्तित्वको आन्तरिक लडाँई तिव्र नै छ । यद्यपि, एमाओवादीभित्रको गतिलाईचाँही यहाँ देखाउन आवश्यक ठहर्छ, सन्दर्भको यो माग पनि हो ।
प्रचण्ड नजिकका नेता गोपाल किराँतीले सार्वजनिक मञ्चमै भनिदिए–‘५४ जनाको सूची सच्चिँदैन, त्यही विषयलाई लिएर बाबुराम र नारायणकाजीले पार्टी फुटाउँछन् भने हिम्मत गरुन्, म स्वागत गर्नेछु ।’ एमाओवादीभित्र आयोगमा बुझाएको समानुपातिक सूचीको नामका विषयलाई लिएर बढेको विवादका कारण केहीले राजीनामा दिइसकेका छन् भने नेताद्वय बाबुराम र नारायणकाजी रुष्ट छन् । किराँतीको सोझो जवाफ थियो–सूची बनाउन बैठकमा नजाने, बहिष्कार गर्ने अहिले सार्वजनिक भइसकेपछि सूची सच्याउन सकिँदैन । यसैलाई लिएर पार्टी फुटाए हुन्छ । फुटेरै जानेलाई नजाऊ भनेर बाँधेर राख्न सकिँदैन ।
अध्यक्षले तयार पारेको सूचीमा असन्तोष जनाउने प्रयास नै गलत भएको उनको तर्क थियो । कुनै पनि हिसाबमा प्रचण्डलाई बदनाम गराउन दुवै नेता लागिपरेको उनको ठहर थियो । उनले यति ठैलो कुरा गरिदिए कि ‘भट्टराई र श्रेष्ठ प्रचण्डको मृत्युमा आफ्नो जीवन खोजीरहेका’ छन् । अघिल्लो संविधानसभा रहँदा पार्टीभित्रको विवाद मिलाउने बहानामा संविधान बन्न नसकेको प्रचण्डपक्षका नेताहरूको विश्लेषण छ । अन्तरसंघर्षका नाममा पार्टीमा सकस पैदा गर्ने काम दुवै नेताले गरेको बताएका किराँतीले पार्टी धेरै वर्ष अन्तरसंघर्षमा रहँदा संविधान बनाउन नसकेको स्वीकार गरे । अन्तरसंघर्षको नाममा पार्टीलाई हैरान पार्ने काम बाबुरामले गरेको किराँतीको विश्लेषण नै थियो ।
वास्तवमा राजनीति शक्तिको केन्द्रविन्दुमा पुग्नका लागि हुने हो । शक्तिका लागि मान्छेहरुले अनेत ताण्डव गर्नु स्वभाविक बनिसकेको पनि छ । एमाओवादीभित्रको स्थापनाकालदेखिको रोग हो, एकले अर्काको अस्तित्वलाई स्वीकार नगर्ने । पार्टी जनयुद्धका नाममा रहँदा अन्य राजनीतिक दलको अस्तित्वलाई स्वीकार गरेनन् र हिंसापीडित बनाए, जव मुलधारको राजनीतिमा आए मुख्य दलको अस्तित्वलाई कुल्चिने प्रयत्न गरे । खासगरी, संसदीय राजनीतिमा पहिलो दल भएर आएपछि त झनै उनीहरुले कसैलाई पनि गनेनन् । राजनीतिमा हर एक मानिसको अस्तित्वको महत्व हुन्छ । लोकतन्त्रमा सवै मान्छेहरुले आफ्नो भुमिकालाई प्रभावकारी देख्छन् । तर, बाह्य रुपमा एमाओवादीले जुन नीति अख्तियार गरेको थियो, अहिले आन्तरिक राजनीतिमा पनि त्यहि नीतिका कारण फुटको संघारमा पुग्नु खासै ठूलो कारणचाँही होइन । अस्तित्वको खोजीमा अझै एमाओवादी फुटको संघारमा पुग्नु अस्वभाविक हुँदैन, यसको अवस्था राप्रपा नेपालभन्दा फरक हुनेछैन । राप्रपा नेपालमा पनि अस्तित्वको खोजीमा पार्टी विभाजन हुने क्रम र मिलाउने प्रयत्न भएका छन् तर असन्तोषहरु ज्यादा छन् । एमाओवादीभित्र पनि त्यस्तै छ । यसबीचमा प्रचण्डले आफ्नो भुमिकाबारेमा खुलस्त भनेका छैनन् । तर, उनले विचार गरिरहेका छन् बाबुराम र नारायणकाजीको राजनीतिक चालको । कम्युनिष्ट पार्टीमा राजनीतिक हैसियतमा रहने नेतृत्वको राग अहिलेपनि उनीबाट हराएको छैन । तर, बाबुरामहरु आन्तरिक लोकतन्त्रको कुरा उठाएर पटक पटक प्रहारको प्रयासमा छन् । एकजना माओवादीले लेखेका थिए–धोवीघाट सम्मेलनले मोहन वैद्यहरु फुटाएर बाबुरामलाई प्रधानमन्त्री बनायो, अव के हुन्छ ? स्वयम् एमाओवादी कार्यकर्ता नै पार्टीको आन्तरिक जीवनबारेमा बुझ्न सामथ्र्य भइसकेको छैन, राजनीतिक अवस्थाका बारेमा अज्ञात छ भने बुझ्नुपर्छ पार्टीको अवस्था ठिक छैन । संगठन कमजोर भइसकेको छ ।
एमाओवादीमा संगठनात्मक समस्या रहेका कारण नै आगामी माघमा संगठनको महाधिवेशन गर्ने निर्णय गरेको थियो । तर, त्यसअघि नै समानुपातिक विवादले आन्तरिक विवाद सतहसम्म छरिएपछि अहिले नेतृत्वमा नै टकराव सुरु भइसकेको छ । समस्याको समाधान अब केन्द्रीय समितिको बैठकबाट हुने, रूपान्तरण र एकताको प्रयास हुने तर, त्यति गर्दा पनि विभाजनको अवस्था आए, फुटेर जानेलाई राख्न नसकिने तर्कहरु आइसकेका छन् । जे होस् शान्तिप्रक्रिया र संविधान निर्माण कार्यलाई अघि बढाउन दर्जन कमजोरी भए पनि जनयुद्धको नेतृत्व गर्दै आएका अध्यक्ष प्रचण्डको नेतृत्व अहिले नै कमजोर बनिहाल्छ भन्ने परिस्थिति पनि नभएको कारण अव एमाओवादीमा दुइटा कुरा हुने निश्चयभावी छ । पहिलो, बाबुरामहरुको राजनीतिक दिशा लागु हुनेछ । यदि भएन भने उनीहरु बाहिरीनेछन् । र, दोस्रो प्रचण्ड वैद्यहरुसँग नजिक हुनेछन् र बाबुरामहरु खुम्चिनेछन् ।
No comments:
Post a Comment