Monday, January 6, 2014

प्लिज कारबाहीमा पार्न अपिल नगर

प्राकृतिक नियममाथि बनेको कानुन र त्यसलाई वंग्याउनसक्ने अधिकतम क्षमता भएकाहरुले कति लाभ उठाएका होलान् ? त्यसको क्षतिपूर्ति कसले दिने ? अधिकार र न्यायको आन्दोलन निक्कै राम्रो हो तर त्यसको व्याख्या फरक ढंगबाट गरिँदा यो आन्दोलनको मनोविज्ञान अलग हुन थालेको महसुस भएको छ ।


अचेल कार्यालयतिर युवतीको सुन्दरता नियाँल्न पनि निक्कै त्रसित भइन्छ । सडकमा राम्रो पहिरन लगाउनेहरुमाथि आँखा डुलाउँदा कानुनी कारवाहीमा परिएला की भन्ने त्रस्त मनस्थितिमा पैदलयात्रा गर्नुपर्ने अवस्था छ । फेसबुक च्याटमा बोल्दापनि निक्कै सम्हालिएर र विचार गरेर प्रतिक्रिया दिनुपर्ने अवस्थिति । मानौ– एकप्रकारको यातनामा उभिनुपरेजस्तो, एकप्रकारको फरक हिंसामा बाँच्नु परेजस्तो । 

अहिले नेपालमा बनेको महिलाहिंसा विरुद्धको कानुनले प्रत्येक केटामान्छेलाई त्रसित बनाउला नबनाउला मलाई थाहा छैन । तर एउटा युवक दिनभरी नै त्रस्त बन्नुपर्ने अवस्थिति छ । सुनेका कुराबाट मनोवैज्ञानिक रुपमा स्वयंयातनाको शिकार कति बनेका होलान् ? जसले यो कानुनका बारेमा सुने । 

कानुन लाग्छ रे–एकैछिन घुरेर पनि कुनै युवतीलाई नहेर्नू । कानुन त्यस्तो बनेको छ रे, कसैलाई बाटोमा नसुसेल्नु । युवतीलाई सार्वजनिक यातनामा नछुनु त्यहाँ, अर्को कानुन छ । निक्कै सम्हालिएर हिँड्नु । कोही नजानी ठोक्किन आइपुगेभने पनि आफु नठोक्किनु, किनभने त्यहाँ हिंसाविरुद्धको कानुन छ । 

एकजना साथीले भने–महिलाको इच्छाविना तपाइले छुनेमात्र होइन हेर्ने काम गर्नुभयो भने पनि कानुन लाग्छ । झुक्किएर छुनुभयो र माफी माग्नुभएन भने प्रहरीको खोरतिर जानुपर्ला ? म त बारम्बार भन्नेगर्छु सुन्दर बन्नका लागि मेकअप नगर युवतीहरु, जसले कानुनको पीडित बनाउने छ निर्दोष युवकलाई । जबरजस्ती कारवाहीका लागि यस्तो अपिल किन गरिरहेका छौ, हज्जारौं खर्चेर लाली पाउडर दलेर ?  

म त यसबेला सोचीरहेको छु– वानेश्वर चोकमा उभिएर एउटा पान चपाउँदासम्म कति युवतीहरुमाथि आँखा डुुलाइन्थ्यो । अनामनगरको चिया पसल वरीपरि कति युवतीहरुमाथि फरक दृष्टि राखिन्थ्यो । धन्न, कानुनबाट उम्किन सफल भइएछ । कहिलेकाँही लाग्छ, यो कानुनले सवैभन्दा बढि मलाई डाम्ने थियो की ? मैले कलेजदेखि कार्यालयसम्म डुलाएका प्रत्येक नजरमा उजुरी परेको भए के हुने थियो ? प्रत्येक उजुरीका आधारमा एकदिनको कैद गर्दा मात्र पनि अहिलेसम्म जन्मकैदको भागी त हुने थिएन ?

‘प्लिज दाई त्यो काम मेरा लागि हुनप¥यो, म त्यसका लागि बरु तपाइसँग सेक्स गर्न तयार छु ।’ यस्ता म्यासेज पनि आउँदा रहेछन्, एकजनाले देखाइदिए मलाई । मैले उनलाई चेतावनी दिएँ– तिमीलाई कानुन थाहा छ ? कारवाहीमा परौला नी । यस्ता म्यासेज पठाउनेहरु युवतीहरुका लागि कानुनले कारवाही गर्ने अधिकार प्रदत्त गरेको छ या छैन ? मलाई थाहा छैन । तर, त्यसको रिप्लाई गर्ने युवक भने पक्का कानुनी फन्दामा पर्नेछ, यत्ति मुलुकले पाएको नयाँ कानुनचाँही पक्का हो ।  

सहर फरक तरिकाले अघि बढिरहेको छ । एकातिर महिलाविरुद्ध हुने यौनहिंसाको अभियान पाँचतारे होटलको हलमा चलिरहने गरेका छन् । अनि, अर्कातिर कामका लागि यौनप्रस्ताव राख्नेहरुको मनोविज्ञान पैसासँग दौडिरहेको छ । यो मनोविज्ञान यदि नकारात्मक रुपमा अघि बढ्यो भने सजायको भागीदार को हुनेछ ? त्यसको छानविनको तौरतरिका कस्तो हुनेछ ? हेर्दा अति सामान्य र ठट्टाजस्तो देखिने यो प्रसंगले एउटा युवकको जीवन र करिअरमाथि नै आघात पार्न सक्दैन र ? कति उदाहरण त देखिएका पनि छन् । मिडियामा छ्यापछ्याप्ती आएका छन् र बाल बाल न्याय पाएर बाँचेका ठूला मानिसहरुको समाचार पनि सुनिएको छ, पढिएको छ । जसले जीवनको गतिलो करिअरलाई विट मारेर नयाँ ढंगबाट जीवन सुरु गर्नुप¥यो । 

प्रत्येक पल यस्तो कानुनहरुले निक्कै चिढ्याउने गर्दछन् । मिडियाकर्मी भएका नाताले मैले कयन युवतीहरुतिर नजर पु¥याए होला, समाचार, लेख, विश्लेषण आदीइत्यादीका लागि । नजरमा दोष हुन्छ की सहानुभुति त्यसबारे निक्र्यौल गर्ने मापदण्ड सरकारले बनाएको छ की छैन ? मलाई यसबारेपनि थाहा छैन । प्रकृतिमाचाँही पक्कै दोष छ । किनभने पुरुष महिलाप्रति आकर्षित हुन्छन् र महिला पुरुषप्रति । आकर्षणको प्राकृतिक नियमलाई नै चुनौति दिने कानुनमा कति पुरुष प्रताडित भए ? हिसावकिताव थाहा छैन । यत्ति हो, बलात्कारजस्तो जघन्य अपराध बाहेकका कुरामाथि मेरो टिप्पणी हो । बलात्कार सामाजिक हिंसा भएका कारणले त्यसबाहेकको सवालको परिदृश्यसँग जोडिएका प्रसंगहरुको उठानमात्र गरेको विनम्रतालाई यहाँनेर राखेको छु । 

प्राकृतिक नियमलाई कतिदिन चुनौति दिने ? प्रकृतिमाथि जुन प्रकारले पक्षपाती ढंगले कानुन निर्माणको काम र कारवाहीको कुरा चलिरहेको छ, यसले आधुनिक समाज निर्माणको साट्टो पाश्चात्य समाजतिर धकेल्छ र कानुन महिलाका लागिमात्र बन्नेछ । यस्तो कानुनले एउटा लिंगलाई अधिकतम न्याय मिलेको महसुस होला तर अर्को पक्ष यातनापीडित त बन्छ नै, उसको भविष्य नै जोखिममा पर्ने गर्छ । यदि राज्यले समानताको नीति लिने हो भने कोही पनि पीडित नहुने मध्यमार्गी कानुन बनाउनु उपयुक्त होइन र ?

गएको साता एकजना राजनीतिकर्मी महिलाले नै आफु हिंसापीडित, यौनहिंसा पीडित हुन नचाहेका कारण सभासद नभएको पत्रकार सम्मेलनमा बताइन् । यदि त्यस्तो हो भने को को यौनहिंसापीडित भएर एउटा ठूलो दलको सभासद भए त ? यसले कुन सन्देशलाई प्राथमिकता दिइरहेको छ । विश्लेषण योग्य पत्रकार सम्मेलन थियो र ? 

दुईलिंगको समाजमाथि लाखौं डलरमा हुने बहसहरु कति तथ्यनजिक छन् थाहा छैन । यदि उनको तथ्यमाथिको बहस भइरहेको भए सायद, लैगिक हिंसाको न्युनिकरणका ताजा उदाहरणहरु केही फेला पर्ने थिए होला । यद्यपि, सामाजिक आन्दोलनमा उठेको महिला अधिकारको कुरा यौनहिंसासँगमात्र जोडेर व्याख्या गरिएका कारण निक्कै युवकहरु प्रताडित छन् । प्राकृतिक नियममाथि बनेको कानुन र त्यसलाई वंग्याउनसक्ने अधिकतम क्षमता भएकाहरुले कति लाभ उठाएका होलान् ? त्यसको क्षतिपूर्ति कसले दिने ? अधिकार र न्यायको आन्दोलन निक्कै राम्रो हो तर त्यसको व्याख्या फरक ढंगबाट गरिँदा यो आन्दोलनको मनोविज्ञान अलग हुन थालेको महसुस भएको छ । केही महिना अघि न्युजडेस्कमा समाचार आयो– जिल्लाको कुनै सरकारी कार्यालयमा हाकीमले यौनचाहना राखेका महिलाले राम्रो ठाउँमा काम गर्न पाए, नराख्नेले नराम्रो ठाउँ पायो भन्ने । यो समाचारमाथि निक्कै बहस गर्नुपर्ने अवस्था आएको थियो । यस्तो कानुन बनीसकेको रहेछ त्यसैले म त यत्ति भन्छु कानुनलाई होइन युवतीहरुलाई– प्लिज कारबाहीमा पार्न अपिल नगर्नुहोस् । तपाइको फेन्सीका सामानले निर्दोष युवक जेल जाला है ।  
   

No comments:

Post a Comment