फेसबुके नेताका रुपमा परिचित हुन लागेका एमाओवादी नेता डा. बाबुराम भट्टराईका राजनीतिक मुद्दा अध्यक्ष प्रचण्डले झोलामा राखेर नारायणकाजीलाई चोलामा राखेका छन् ।
यो सन्दर्भ विहीबारदेखि सुरु भएको केन्द्रिय समितिको वैठकमा देखियो । प्रचण्डको प्रस्ताव पनि त्यस्तै नै छ । बाँकी यो समाचारमा पढ्नुहोस् ।
....एकीकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पार्टी संगठनमा आफ्नो भुमिका प्रभावकारी बनाउनका लागि नेता नारायणकाजी श्रेष्ठसँग निकटता देखाएका छन् ।
फरक मत राख्ने तयारीमा रहेका नेता बाबुराम भट्टराईलाई संगठनमा कमजोर बनाउँदै उनले श्रेष्ठका विचारमा आफ्नो समर्थन र साझा धारणा प्रतिवेदनबाटै देखाएका छन् । उक्त प्रतिवेदन विहीबारदेखि केन्द्रिय कार्यालयमा सुरु भएको केन्द्रिय समितिको वैठकमा उनले पेस गरेका छन् ।
पार्टी सुद्धिकरण र सुदृढिकरणको आवश्यकता औंल्याएका प्रचण्डले भट्टराइले भनेजस्तो पार्टीको तल्लो तहबाट सुद्धिकरण र नेतृत्वबाट सुदृढिकरण गर्नुपर्ने भनेका छैनन् । उनले पार्टीको शुद्धिकरण नेतृत्वबाट र सुदृढिकरण तल्लो तहबाट हुनुपर्ने उल्लेख गरेका छन् ।
प्रचण्डले पेस गरेको प्रतिवेदनमा भट्टराइले भनेजस्तो पार्टी नेतृत्व दुई कार्यकालभन्दा बढि बस्ननहुने भन्ने विषयलाई समेटेका छैनन् ।
प्रतिवेदनमा भनिएको छ,‘अव पार्टी पूर्णरुपमा संविधानसभामा केन्द्रीत गर्नुपर्छ, सरकारमा जानु हुँदैन ।’
प्रचण्डले राष्ट्रियताको सवालमा पार्टी चुकिसकेको स्वीकार गरेका छन् ।
‘संविधानसभाको निर्वाचन २०७० ः पार्टी निर्माणको ऐतिहासिक आवश्यकता’ शीर्षकको राजनीतिक प्रतिवेदन पेस गरेका हुन् । प्रतिवेदनमा पार्टीको आन्तरिक कमजोरीमा टेकेर विपक्षीहरूले षड्यन्त्र गरेको र सो षड्यन्त्रको बारेमा सामान्यसम्म पनि जानकारी नपाउनु पार्टी पराजयको कारण रहेको प्रचण्डको निष्कर्ष छ । ‘गत साल माघमा सम्पन्न महाधिवेशनपछि राजनीतिक रुपमा पार्टी प्रष्ट भए पनि साङ्गठनिकरुपमा प्रष्ट हुन नसक्दा पार्टी पराजित भयो, त्यसमा आन्तरिक कारण नै प्रमुख हिस्सेदार रह्यो ।’, प्रतिवेदनमा उल्लेख छ,‘ संसदीय व्यवस्थाका खेलाडीहरूले गरेका हर खालका गतिविधिलाई नजर अन्दाज गरिएन, सामान्य निर्वाचन जसरी आफ्नो काममा मात्र व्यस्त रह्यो, अन्य दलको गतिविधिलाई नजिकबाट हेरिएन ।’
प्रतिवेदनमा संविधानसभा निर्वाचनमा जाँदा एक वर्षभित्र संविधान निर्माण गर्ने भन्ने प्रतिबद्धता अनुसार आफ्नो तर्फबाट अधिकतम् पहल र प्रयत्न गर्ने र अन्य दललाई पनि सहमतिमा ल्याउन विशेष पहल गर्ने भन्ने कुरा उल्लेख गरिएको प्रवक्ता अग्नि सापकोटाले बताए ।
यस्तै एमाओवादीले केन्द्रीय समिति र राज्य समिति, जिल्ला समिति र स्थानीय समितिहरू भद्दा र अव्यवस्थित भएको भन्दै आकार घटाउने र समितिहरूलाई चुस्त, दुरुस्त बनाउने कार्ययोजना अगाडि सारेको छ ।
कार्ययोजनाअनुसार केन्द्रीय समितिलाई दुई अङ्कको केवल ९९ मात्रै बनाउने, राज्य समितिहरू विघटन गर्ने र जिल्ला समिति मात्र राख्ने भएको छ । हाल एमाओवादीको १४ वटा भूगोल र अन्य गरी १८ वटा राज्य समिति रहेका छन् । यस्तै जिल्ला समिति ५१ जनाको बनाउने र स्थानीय समिति मात्रै २५ सदस्य बनाउने प्रस्ताव गरिएको छ ।
सापकोटाका अनुसार राजनीतिक प्रतिवेदनमा पार्टीमा व्यापक शुद्धीकरण र सुदृढीकरण अभियान सञ्चालन गर्नुपर्ने र पार्टीभित्रको अव्यवस्था र अराजकतालाई नियन्त्रण गर्नुपर्ने उल्लेख गरिएको छ ।
No comments:
Post a Comment