Saturday, March 1, 2014

उर्वशी उत्रिएको बखत

साइबर लभ–१४ 
घाम डाँडामा पुगिसक्दा मेरो विहान सुरु हुन्छ । मानिसहरु अफिसका लागि हतारिएका होलान्, विजनेशका लागि अत्तालिएका होलान् तर मेरो विहान भर्खर उदायो । उत्तरी रातसम्म शेलीसँगको च्याट यसको एउटा कारण हुन्छ, अचेल । अनि, आधा कारणचाँही अफिस । समयमा सुत्नु, समयमा उठ्नु, समयमा खाना खानु, समयमा रमाइलो गर्नु आदी इत्यादी शेलीले मलाई भनिरहन्छिन् । तर, मेरो अधिक समय उनको प्रतिक्षामा वित्दा यहाँ त्यो समय वितिसकेको हुन्छ ।
वेडको तल्लो खोपीमा धुवाँको भकारी ठोस बनेर बसेको छ । म त्यो भकारीबाट एउटा लाठी झिक्छु र सल्काएर विहानी सुरुआत गर्छु । अक्सर शेली भन्ने गर्छिन्,‘डन्ट स्मोक मोर, इट इज नट गुड ह्याविट’ । मलाई थाहा छ मेरो स्मोकिङ ह्याविटको कयौं गुना ज्यादा ह्याविट शेलीसँगको च्याट हो । स्मोकिङ सुरु गर्नासाथ शेलीको सम्झना तरंगित हुन्छ र मनमनै भन्छु– शेली कम्तिमा तिम्रो सम्झनाका लागि मैले स्मोकिङ छाड्न सक्तिन ।
०००
भ्यालेन्टाइन डे नजिक आइरहेको छ । र, म शेलीसँग भ्यालेन्टाइनलाई कसरी मनाउने भन्नेबारेमा सल्लाह गरिरहेको छु । उनले भनेकी थिइन्– यो भ्यालेन्टाइन नेपालमा उनी मनाउँदैछिन् मसँग । तर, समयले साथ नदिएर होला जति दिन नजिकीन्छ त्यति छालजस्तो उनको आश्वासनको अर्थहरु हराइरहेको महसुस भइरहेको छ । आजभोली उनी अलि कम बोल्छिन् र भ्यालेन्टाइनका लागि उनले भनेका कुरा सम्झिरहेकी छैनन् ।
दिनको गति मान्छेको जस्तो नहुँदो रहेछ । मान्छे पर्खिन्छ र एकै ठाउँमा उभिइरहेको भेटिन्छ । दिन आयो, गयो । उसले न मलाई पर्खन्छ, न शेलीलाई । यसपटक भ्यालेन्टाइन आयो र गयो । त्यसबीचमा शेली पनि आइनन् । तर, संयोग भन्नुपर्छ, भ्यालेन्टाइन डेमा उर्बशी उत्रिएर आइन्, नेपाल यातायातबाट । मैले नाम सुनेको भयंकर कवीको सामान्य गफ सुन्ने अवसर यसबीचमा गुमाइसकेको थिइन मैले । उर्बशी झर्नु र श्यामलका काव्यपूर्ण शव्द सुन्नु साताको लक्की डेहरु थिए । श्यामल उनी निक्कै सरल र रसिला कुरा गर्ने मान्छे । अनि, उर्बशी उत्तिकै रशिला भावकी । आधा रातसम्मको कर्मको पीडा र अवेर विहानीको रसिलो निद्राका विषयमा उनी अनभिज्ञ छैनन् । सम्बन्धका बारेमा उनीभन्दा बेहत्तर कसले जानेका होलान् र ? उर्बर्शी उत्रिएको वखत श्यामलका गफहरु कानमा गुञ्जिरहेका थिए अनि शेलीका यादहरु विस्तारै विस्तरातिर निदाउन लागेका थिए । शेली आज अनलाइन आइनन्, म विस्तराभित्र सिरानी च्यापेर निद्राभोगमा रुमल्लिन थालेको छु ।
०००
म सहरको चौरस्तामा उर्वशीसँगको प्रणयलाई विचार गरिरहेको छु । तर कता कता उर्बशीभित्र शेली देख्दैछु म । शेलीका सवै कुरा सामान्य हुन् विर्सनयोग्य, बाँकी मात्र त्यो थेगो ‘नाटक’...उनीजस्तै । ऐनामा ओल्टाईपल्टाई थेगोको प्रतिबिम्बहरु हेर्छु ठ्याक्कै उनीजस्तो देख्छु । सम्झिने रोग निको हुँदैन सायद–डाक्टरहरु आन्दोलनमा छन्, अस्पतालहरु बन्द छन् । अनि उर्बशी उनको याद भुलाउँदै शेलीलाई स्थानान्तरण गर्न आएकी छन् । तैपनि म भनिरहेको छु, शेलीलाई –शेली जीवनका अनेक रंगहरुको समायोजन नै संघर्षजस्तो लाग्छ । सहरको कथा एकातिर छ तर मेरो जीवनको भयावह कहानी अर्कातिर छ । उत्तेजीत सहर र मेरो व्यक्तिगत जीवन तिम्रो पहिलो संसारजस्तो कहाँ भयानक छ र ? पहिलो र तेस्रो विश्वको जोडघटाउ प्रविधिको यो प्रारुपमात्र हो, बाँकी त केही पनि छैन ।
उहिले भ्यालेन्टाइन भन्नासाथ म हौसिएर कलेजका कति केटीहरुलाई आइ लभ यु भन्दिन्थे । त्यो ननसेन्स समयमा शव्दको महत्व भन्दा पनि रमाइलोको अनुभुत हुन्थ्यो । कलेजका भित्ताहरुमा कत्ति लेखिन्थ्यो–मेरो भ्यालेन्टाइन ऊ र उनको भ्यालेन्टाइन ....। जीवनको पूर्वाद्धलाई सम्झिने हो भने शेलीसँगको सम्बन्ध अघिका कयन रमाइला पलहरुसँग विताएका कलेजका जीवन थियो । शेली भेटिनुअघिका समयमा पनि कम रमाइलो गरेको होइन । शेलीसँग मेरो प्रत्यक्ष भ्यालेन्टाइन डेको अनुभव अहिलेसम्म पनि छैन । तर, उनीसँगका हरेक दिन भ्यालेन्टाइन जस्तो महसुस हुन्छ ।
तर आजभोली उनी मसँग तर्किने प्रयत्नमा छिन् । उनी दोषहरुको थुप्रो मेरो थाप्लोमा राख्छिन् र गंगा झैं पवित्रताको पगेरी आफु लगाउँछिन् । घरिघरि वेजोड रिस उठ्ने, घरिघरि असीमित माया पलाउने गर्छ । शेली भन्छिन्,‘तपाई अडान नभएको मान्छे, कुरामा ठेगान नभएको मान्छे ।’ हुनसक्छ, सायद । म अडान नभएको मान्छे, कुरामा ठेगान नभएको मान्छे । तर, जीवनको ठेगान भएको र शव्दमा निरन्तर ठोस हुने मान्छे । मसँग कठोर आत्मा छैन किनभने म शेलीहरुका अगाडी झुक्ने गरिरहेको छु । उनका कठोर शव्दवाणलाई कसरी उत्तर दिने ? आज उनको कुराले पिन्च गरेको छ । केही न केही लेख्नैपर्छ । उनको च्याटवक्समा उतार्दैछु – कहिलेकाँही फर्किएर समिक्षा गरौं त आफैंमाथि लाग्छ सायद, आफ्ना कमजोरी भेटिनेछन्, आफुमात्र ठिक र अरुमात्र दोषी देख्ने चश्माको औकात पुष्टि हुनेछ’, मेरो यो कुरा पढेपछि  शेली प्रत्युत्तरमा उत्रिन्छिन्,‘भयो राम्रो कुरा गर्न नजान्ने तपाईका सोचाई जहिले नकारात्मक छन् ।’ शेली नकारात्मक भित्रको मिठास प्रेमको बारेमा खोजी गर्न चहान्न्, म उनलाई व्यक्त गरेर देखाउन जान्दिन । प्रेम बगीरहेको छ, अक्षरमा, आँखामा अनि मुटुमा निरन्तर । यसबारेमा उनी कति बस्तुवादी भएर विचार गर्छिन्, थाहा छैन । सात समुद्र वारीको मेरो हाल यस्तै छ ।
०००
उर्वशी र शेलीको तुलना गरिरहँदा उनीसँग निक्कै साक्षात्कारका समय मिलिरहेको छ । ममा समाहित भइरहेकी उर्वसीसँग सुस्त गतिमा म सोधिरहेको छु– मेरो पहिलो साइबर लभ नै शेली हुन्, जो हरेक बातमा मसँग निरन्तर झगडा गरिरहन्थिन्, अहिले केही साता भयो उनी मसँग वात मारिरहेकी छैनन् तर मैले मेरो आत्मा उनका लागि मारिरहेको छैन ।
यो कुराले उर्वशीलाई कत्तिपनि चिन्तित बनाएको छैन । सहज स्वीकार गरिरहेकी छन् र भन्छिन्– जीवनयात्राका घटनाक्रमहरु हुन् र मपनि एक अविश्मरणीय घटना बन्न चहान्छु, तपाइसँग । आहा, कत्ति कुरा बुझ्ने उर्वशी । उनको नामसँगको सुन्दरता र विचारको सुन्दरता त यतिवेला देखियो । म उनको यो कुराबाट प्रभावित भइरहेको छु । अत्यन्तै प्रभावित जो शेलीसँग कहिलेपनि हुन सकेको थिइन भन्ने यसबेला लागिरहेको छ ।
जीवन शतकको एक चौथाई वितिसकेपछि प्रविधिको दुनियाँमा छिर्दाको लभ नै असीमित स्वादको हुन्छ । त्यसलाई एकै छिन् विर्सेर असीमित खुसीमा उभिने कोशिश गरिरहेको छु म । उर्वशी भन्छिन्– ‘तपाइसँग निक्कै खुसीसँग बस्न चहान्छु, रात काट्न चहान्छु, दिन विताउन चहान्छु, जीन्दगी यात्रा बनाउन चहान्छु ।’ शेलीका सम्झनाका पित्कोहरु केही बाँकी छन्, यी पित्कोहरुले मनमा अनेकन तरंगहरुलाई झन्कार बनाइसकेका थिए । उर्बशी क्षणिक समयमा मसँग निक्कै नजिक भइसकिन्, अनि त्यहि क्षणमा शेली केही पर बसेजस्तो गर्छिन् । अफिस आसपासमा मेरो स्मोकिङ जोन छ । त्यहाँ जाने अफर साथीले गरिरहेको छ । हावा मन्द गतिमा चल्यो, माघको जाडोमा यो सिरेटोले जीउ तताउन अपिल गरिरहेको छ । म सुस्त गतिमा फेरी उही खुट्कीला गन्दै झरें । स्मोकिङ जोनमा पुगें । उर्वशीको म्यासेज मोवाइल सेटमा आयो । चुरोट सल्काएँ– शेली सम्झनामा आइन । उर्वशी म्यासेजमा । आँखाबाट निरन्तर पानी वग्न थाले, म पागल जसरी चिच्याउन थालें । ‘ओई के भयो ? किन चिच्याएको ?’ घचघच्याएर पवनले उठायो । एउटा फरक सपनाबाट व्युँझिएर र टेवलमा रहेको पानीको जग मुखतिर तेर्साएर घट घट घट पानी पिएँ । अनि, पवनलाई भनें– एउटा फरक सपनाबाट व्युँझिएँ । उसले सोध्यो,‘कस्तो सपना ?’ साहित्य अलिक कम रुची राख्ने पवनलाई सवै कुरमा भन्नुको अर्थ थिएन, यत्ति भनें– म अन्यौलमा थिएँ, उर्वशी उत्रिएको वखत ।’

No comments:

Post a Comment