यो संस्कारको सवाल हो । यो अहिलेसम्म हावी भएको राजनीतिको सवाल हो । यो, नयाँ पुस्तालाई पुरानो पुस्ताले कसरी पेलेर राखेको छ, थन्काउने कोसिस गरेको छ भन्ने उदाहरण हो । हामी प्रजातन्त्र र लोकतन्त्रको कुरा गर्ने अनि व्यवाहारका पुरातनवादी सोच र पश्चगामी विचारमा अल्झिनुको कारण के हो ? भन्ने प्रश्न हो ।
कम्युनिष्ट र त्यसमा पनि एमाओवादीको वैठक वा भेलाका समय एउटा तस्बिर निक्कै प्रचारात्मक भयो । नेताहरु माथि र अन्य सदस्यहरु भुइँमा बसेर वैठक गरेको तस्बिर जसरी मिडियाहरुमा छाए कथित प्रजातान्त्रिक व्यक्ति भन्नेहरुको सार्वजनिक अभिव्यक्ति र टिप्पणीहरु आउन थाले–यस्ता कम्युनिष्ट जो समानताको कुरा गर्छन्, हविगत यस्तो छ । त्यो दृश्यले समानताको कुरा गर्ने खासगरी एमाओवादीको ठूलो आलोचना भयो । स्वभाविक थियो बाहिर समानताको कुरा गर्ने अनि वैठकमा असमान व्यवाहार देखाउने । यो चरित्रको कुनै अर्थ हुने कुरै थिएन ।
देख्दा सामान्य लाग्ने तर व्यवाहारलाई केलाउने हो भने विभेद गरेको अनुभुत हुने दृश्यमाथि एकपटक कोर्नुपर्ने हुन्छ । विपरित विचारधाराका मानिसहरुले गरेको व्यवाहारको बारेमा जति आलोचना गर्न सहज छ, आफ्नो व्यवाहारमा त्यस्तै प्रवित्ति खुट्याउँदा उत्ति नै चोट लाग्छ । तर, यहाँ चोटको होइन समानताको कुरा उठाउनुपर्छ, राजनीतिक विभेदको चित्र उतार्नुपर्छ । मन्त्रीपरिषद विस्तार भयो, सरकार करिव करिव गतिशिल भएर चल्ने अवस्था आयो । तर यो अवस्थामा नेपाली कांग्रेसका तर्फबाट मन्त्रीहरु छान्ने र नाम लिने क्रममा एक से एक मन्त्रीहरुको नाम आयो । सवैले फुल मन्त्रीको पद पनि पाए । कसैले उपप्रधानसहितको पाए । कोही वरिष्ठ भए । तर, त्यहि भिँडमा रहेका नेता टेकबहादुर गुरुङले किन फुलमन्त्री पाएनन् ? किन दिइएन ?
बाजुराका कर्णबहादुर थापा उद्योग मन्त्री हुन सक्छन् । उनलाई सम्मानका साथ एमालेले फूल मन्त्री दिनसक्छ भने कांग्रेसभित्र मनाङका टेकबहादुर गुरुङ किन फुल श्रममन्त्री हुन पाउँदैनन् ? उनलाई किन राज्यमन्त्री भनेर सम्बोधन गर्ने ? एकथरी कांग्रेसहरु लाजमर्दो तर्क गर्छन्– भर्खरै चुनाव जितेर आएकोले अन्य मन्त्रीहरुको राजनीतिक हैसियत बराबरको पद लिन मिल्छ ? यो तर्कसँग म सहमत छैन । यो तर्कले कांग्रेसभित्रको तानाशाही र शाही शैलीको झल्को दिन्छ । यसकारण पनि गगन थापाहरुले अब मन्त्री बन्न नपाउने ? गगन थापाहरु प्छिल्लो पुस्ताका नेता भए भन्दैमा उनीहरु डा. रामशरण महतहरुसँग क्याविनेट वैठकमा समान हैसियतमा बस्न नपाउने ? बाबु हवल्दार भयो भनेर छोरा इन्स्पेक्टर हुन पाउने कि नपाउने ? काका किसान भए भने भतिजो कृषि मन्त्रालयको सचिव हुन पाउने कि नपाउने ? अझ राजनीति त सामाजिक उत्तरदायित्व भएका कारणले पनि यहाँ पोर्टफोलियोको मान्यता राख्नु अस्वभाविक हो । अनुभवका कुरा जायज हुनसक्छन् तर अनुभवी भनेर आत्मरतीमा रमाउने र अन्यलाई समानताको पदमा नल्याउने प्रवृत्ति तानाशाहहरुको दरबारीय प्रवित्ति नै हो, यसमा कुनै शंका छैन ।
यो सवाल गुरुङको पक्षपोषणका लागि होइन । उनीसँग सामान्य चिनजान पनि नभएको मान्छेले लेख्नुको अर्थले पनि पुष्टि गर्नेछ । यो संस्कारको सवाल हो । यो अहिलेसम्म हावी भएको राजनीतिको सवाल हो । यो, नयाँ पुस्तालाई पुरानो पुस्ताले कसरी पेलेर राखेको छ, थन्काउने कोसिस गरेको छ भन्ने उदाहरण हो । हामी प्रजातन्त्र र लोकतन्त्रको कुरा गर्ने अनि व्यवाहारका पुरातनवादी सोच र पश्चगामी विचारमा अल्झिनुको कारण के हो ? भन्ने प्रश्न हो । यो प्रश्न हो– अरुलाई तेर्साउने प्रश्नभित्र हाम्रा उत्तरहरु कहाँ छन् ? किन आफैं प्रश्न बनिरहेका छौं, भन्ने पनि ।
निरन्तर राजनीतिमा युवापुस्ताको हस्तक्षेपको विषयमा कुरा गरिरहँदा युवा पुस्ताहरुलाई जिम्मेवारी बोध गर्नुअघि नै जिम्मेबारीबाट किन पन्छाउने ? एकजनाले भने– गुरुङ भर्खर आएका उनलाई मन्त्रालय चलाउने तरिका पनि अलिक थाहा छैन, त्यसकारण राज्यमन्त्री भएका हुन् । फेरि दिग्गज दाईहरु पनि त्यहि क्याविनेटमा हुनुहुन्छ नि ।
यसको अर्थ, जहाँ सुशिल कोइराला, रामशरण महत, मिनेन्द्र रिजाल, महेश आचार्य, विमलेन्द्र निधि, चित्रलेखा यादवहरु छन् त्यहाँ नया युवाले मौकामा समान पदमा बस्न नपाउने हो ? सरकार र मन्त्रीका पदहरु उनका नीजि सम्पत्ति हुन् ? समयमा उनीहरुले पार्टीका लागि योगदान गरेका थिए होला तर त्यसको प्रतिफल उनीहरुले नपाएका हुन् र ? के कांग्रेसमा उनीहरुमात्रै छन्, जसले पार्टीलाई पहिलो शक्ति बनाउनका लागि खटे, सर्वाधिक मत ल्याए, राष्ट्रिय व्यक्तित्वसम्मको परिचय बनाए ती युवालाई कांग्रेसमा स्थान छैन त ? यो राजनीतिक पार्टी हो की सेनाको गण । जहाँ पोर्टफोलियोको कुरा हुन्छ । राजनीतिमा पनि पोर्टफोलियो व्यवाहारमा देखाउन थालेपछि मुलुक अहिले पनि तानाशाही व्यवाहारबाट उन्मुक्त हुन सकेको छैन भन्ने अनुभुति हुनु स्वभाविक हुन्छ । अव नयाँले स्थापन पाउनका लागि के गर्ने ? स्वभाविक प्रश्न बनिरहेको छ ।
यहि प्रवित्ति हावी रहिरहँदा, यहि महत्वकांक्षा र स्वार्थमा अनुभवी नेताहरु रहिरहने हो भने क्षमतावान युवाहरुले मौका पाउने छैनन् । पर्खिनुपर्ने हुन्छ उत्तिकै अनुभवी हुने बेलासम्म । एउटा युग विताउनुपर्ने हुन्छ– अवसरको लागि । गगन थापाले सहि तर्क अघि सारेका थिए– राजनीतिमा पनि उमेरसीमा तोकिनुपर्छ । राजनीतिमा सल्लाहकार बस्ने उमेर हुनुपर्छ । अनिमात्र राजनीति सप्रिनेछ ।
वास्तवमा अहिलेको परिदृश्यहरु हेर्दा त्यस्तै देखिन्छ । सन्दर्भ कांग्रेसबाट उठाएपनि जुनसुकै पार्टीमा दोस्रो तह, युवा नेताहरु पेलिएका छन् । पार्टीहरु नेताहरुको कव्जामा छन् । लोकतन्त्रका लागि भएका दुई जनआन्दोलनदेखि संविधानसभाको दुईटा निर्वाचनसम्म पनि उनै नेताहरुले पार्टीलाई पेवा सम्पत्तिजस्तो बनाएका छन् । अर्को पुस्ता न हस्तक्षेप गरेर अघि आउन सकेको छ, न नेताहरुले अवसर दिनुपर्छ भन्ने सोचेका छन् । यो प्रवित्तिको अन्त्य यहि राजनीतिक आचरणले हुनसक्तैन । यसलाई हस्तक्षेपकारी भुमिकामा युवाहरु नलाग्ने हो भने राजनीतिक पार्टीहरु र नेताका चरित्रहरु परिवर्तन हुने देखिँदैन । अवस्था यस्तो छ की क्षमता भएका र अधिकार राख्ने व्यक्तिहरु अगाडी आउनका लागि पहिलो पुस्ताको राजनीतिक व्यक्ति विस्थापित हुनुपर्ने, अवसान हुनुपर्ने अथवा कोमामा पुग्नुपर्ने अवस्था देखिन्छ ।
यसर्थ, राजनीतिमा पुस्ता हस्तान्तरण र नयाँ पुस्तालाई मौका दिने चरित्रका बारेमा अब सामाजिक अभियानको खाँचो छ । हामीले अघिल्लो संविधानसभादेखि खहिलेको संविधानसभाको निर्वाचनपछि र सरकार बनेपछि पनि पुस्ता हस्तान्तरणको व्यवाहारिक पक्ष नदेखेका कारणले पनि अव हस्तक्षेपकारी भुमिका नै प्रभावकारी हुनेछ । नत्र सडकमा उफ्रिने, भाषणमा गर्जिने, पत्रिकामा लेख्ने कामभन्दा हेही हुनेवाला छैन । परिवर्तनका लागि हस्तक्षेप आवश्यक छ र त्यसले एउटा नजिर बनाउन आवश्यक छ ।
No comments:
Post a Comment