Friday, March 28, 2014

जीवनको भयानक सत्ता मोहजाल

साइबर लभ–१६ 

एक साता वितिसक्यो, शेलीले इमेल फर्काइनन् । गाउँको चौतारामा मोवाइल खेलाएर बसेका ठिटीहरुको इत्रिरहेका दृश्यले शेलीको झझल्को दिन्छ । प्रविधि पुस्ताको खाँचो छैन अब । ‘कहिले फर्किने हो काठमान्डू ?’ नेपथ्यमा कसैको आवाज गुञ्जियो र ढाडतिर धाप मारेर प्रश्न मेरा लागि खसेको संकेत भयो । गर्मी याम सुरु हुन लागेका बेला हावा सामान्य चलिरहेको छ । फागुनको मास काठमान्डू चिसोमा रुमल्लिए पनि तराई पुरै गर्मीले भक्कानिएको छ । मानिसहरु अर्धनग्न बाध्यतामा हराएका छन् । पानीको महत्व बढिसकेको छ । हरिया रुखहरु फुस्रा देखिन थालेका छन्, पातहरु सुकिसकेका छन् । नयाँ पाउलो आउने तयारी भइसकेको छ, सायद । धाप मार्ने व्यक्तितिर फर्किँदा यत्ति दृश्य एक निमेषमा देखा पर्छ, पछाडी उभिएका मित्र हो राजकुमार । ‘केही दिनमा फर्किनेछु, तँ कहिले परदेशतिर हानिन्छस ?’ गाउँले भाषामा सोधें,‘परदेशको बसाइ निक्कै सहज छ हैन त ?’ मलाई थाहा छ खाडीको दुख निक्कै पेचिलो छ । बालुवामा अंगुर फलाउने काम सामान्य होइन । ‘केही दिनमा जानेछु, अनि काठमान्डूको बसाई गज्जब छ हैन त ?’ ग्रामिण बस्तीको साझा सवाल राजकुमारले पनि उठायो । काठमान्डू खाडीको बालुवामा अंगुर फलाउने काम गर्नुभन्दा कठिन भएको उसले विचार गरेको छैन । हप्तादिनको काठमान्डू र वर्षहरु विताउनुपर्ने काठमान्डू फरक छ । यो सहरमात्र फरक हैन, काठमान्डूको विचारको तह, तानाशाही सोच, नाफामुखि विचारले फरक छ । गाउँको कोही सडकमा ठोक्किदा हुने खुशीले पनि त्यसलाई पुष्टि गर्छ । ‘अँ, ठिकै छ, बाँचेको छु वैचारिक पुड्काहरुको सहरमा ।’ मेरो सहज उत्तर थियो राजकुमारलाई । यस्तो कुनै पुलिन्दाको जन्म भइसकेको छैन जसले काठमान्डू र त्यसबाहिरको जीवनको सहजीकरण गरोस् ।
चैतारामा प्रविधिपुस्ताहरु मोवाइलसँग इत्रिरहेका छन्, अझै । स्कूले डाँडामा बसेर चिसो हावासँग रुमल्लिरहेका छन् । मोवाइलका टावरहरु गन्दै भन्दैछन्,‘कनेक्सन नै हुँदैन ।’ अकास्मात भेटिएको राजकुमार अभ्यस्त छ, विदेशी भुमीमा जाने कागजपत्र मिलाउन, ऊ मसँग विदा मागेर घरतिर लाग्यो । म निरन्तर स्कुले डाँडातिर नियालिरहेको छु, घामले क्षितिजको आकार लिने बेला भएको छ, स्यालहरु विस्तारै मकैवालीतिर छिर्ने बेला भयो अनि कोसीतिरबाट चरेर भैंसीहरु गोठ छिर्न लागे । बेला भयो– अब घरतिर लाग्नुको विकल्प छैन, त्यो गुमनाम हुने सहर काठमान्डू विहानको बस चढेर जानु छ ।
०००
मैले धेरैपटक शेलीलाई भनेको छु– काठमान्डू फोहोर छ, विचार र व्यवाहारबाट ज्यादा । तिव्र सहरीकरणको पाटो पूर्वाधार विकासमा भन्दा पनि दैनिक मानवीय चरित्रमा आउन थालेको छ । सडकमा सेक्स डिल हुन थालेका छन् । घर–घरमा उच्च घरानीया वेश्या पुरुषमहिलारु पनि बढ्न थालेका छन् रे । कार चढ्नेहरुको चरित्रको लेखाजोखा गर्न सक्ने अवस्था छैन । रंगमञ्चको अनुहार राम्रो र व्यवाहार पश्चिमा शैलीको भइसकेको छ । विवाह गर्ने–छाड्ने एउटा संस्कृति बनिसकेको छ, सहरको । डिभोर्स सहज सुत्र बनिसकेको छ । मान्छेहरु सेक्सको आशक्तिमा बाँचेको सहर । यहाँ किनेर, वेचेर, फकाएर, महत्वकांक्षा देखाएर सेक्सको ठूलो व्यापार भइरहेको छ । सहरको लभ, माया, जीवन सवै यसैको वरिपरि घुमिरहेको छ । संसार निर्माताहरुको गजवको करामत नै मान्नुपर्छ । अनुहार भएका, नभएका, जवानी भएका काठमामान्डूका सडकमा आशक्तिमा बाँचेका छन् ।      
सहरको कथा अनौठो छ । आफ्नो मौलिकताबाट विस्तारै अलग्गिदैछ, सहर । सडकका जीवनहरुको गती कटौरामा सिक्का थाप्ने यथावत भएपनि नवसामन्तवादको नतमस्तक बन्दैछ, गाडीवाला सहर । ग्ल्यामरको भोकमा दौडिरहेको छ, काठमान्डू । अवसरका लागि सम्झौतामा अलमल गरेको छैन, सहरले । पेचिलो छ, सम्बन्धहरु कायम राख्न, कठिन छ, जीन्दगीको दर्शन बुझ्न । मनोवाद...साम्यवाद, समाजवाद, माक्र्सवाद, लेलिनवाद, राजावाद भन्दा निक्कै भयानक सत्ता रहेछ जीवनको । डरलाग्दो शासन हुन्छ, एक्लो मान्छेका लागि । यो सहरको जीवन र शेलीसँगको केही दिनको संवादअन्तरले मलाई मनोसंवादको चक्रव्युहले घेरिरहेको छ । मेरा डायरीका पानाहरु फरफराइरहेका छन्, खाली पाना । अक्षरहरु कसरी उतार्ने हो ? सोचमग्न छु । कहाँबाट सुरु गरौं ? कसरी कोरौं अक्षरहरुको पंक्तिलाई ? विषय के उठान गरौं, टुंग्याउँ कहाँ लगेर ?
गाउँदेखि देखिने सहर निक्कै समृद्ध छ । त्यहाँका मानिसहरु विकासका हिमायती हुन् । सहरका मान्छेहरु ठूला हुन् । सहरमा बस्नेहरु सुकिला हुन्छन् । सहरमा हुर्किनेहरु अब्बल हुन्छन् । गाउँले देख्छ– अझ पश्चिममा बस्नेहरु त आर्को विश्वबारे जानकार हुन् । अमेरिका, युरोप, जापान आदी इत्यादीमा छिर्नेहरु गाउँभन्दा निक्कै समृद्ध छन् । तर, गाउँ एउटा कृत्रिम भ्रममा अहिले बाँचेको छ । उसलाई बाँच्न बाध्यकारी बनाइएको छ । पुँजीपतिका नाममा सहरीया दलालगिरीहरुले यस्तो बाध्यकारी अवस्था बनाएका छन् । गाउँ सहरभन्दा समृद्ध छ, त्यहाँ उत्पादन हुन्छ, सहरको भोजन उत्पादन हुन्छ । गाउँका मानिसहरु विकासका साझेदार हुन्, त्यहाँ सामुहिक र सामुदायिक विकासको लहर छ, गाउँका मान्छेहरु निक्कै ठूला र जानकार भइसकेका छन्, गाउँमा शिष्टता र आत्मनिर्भरता छ । गाउँमा बस्नेहरु भौतिक मैला छन्, वैचारिक सुकिला छन् । गाउँमा बस्नेहरु अव्बल छन्– सहर उनीहरुको दैनिकको खेती गरिरहेको छ । अझ पश्चिममा बस्नेहरुभन्दा नेपाली माटोमा हुर्किनेहरु सृजनात्मक छन्, गाउँका पाखाको सुगन्धमा हुर्किएको सृजनामाथि अभ्यास गर्नका लागि पश्चिमाहरु बस्ती छिर्छन् । गाउँ भ्रममा बाँच्न बाध्य छ, सहरीयाहरु दिगभ्रमित भएर उत्ताउलिएका छन् ।
मोली, रिकी, ह्यारी, क्रिस्टिनासँगका संवाद र मसँगको संवादमा निक्कै फरक पाउँछिन् होला शेली । उनले नेपाली नामबाट आफ्नो नामलाई पनि अंग्रेजीकरण गरिसकेकी छिन् । किनभने उनी अंग्रेजहरुको साम्राज्यमा बसिरहेकी छन् । ‘तिमी किन मलाई रिप्लाइ गरिरहेका छैनौ ?’ च्याटबक्समा बत्ती बालेर एन्जिला फेरि अकास्मात प्रश्न तेर्साइरहेकी छ । एन्जिला पनि शेलीहरुको सहरकी हो । उसको आशक्ति किन मसँग ? कतै एन्जिलाको उपस्थिति शेलीको प्रतिनिधित्व त हैन, छद्मभेषी रुपमा ? मनोसंवादको एउटा तरंग यतिबेला लागेको छ । अघिल्लो पटक पनि शेलीको पर्खाइमा बसीरहेका बेला एन्जिलाको अकास्मात उपस्थितिले मलाई उत्साही बनाएको थिएन । उसका केही दिनका कुरा गराइहरु नै निक्कै आकर्षकपन देखाउने प्रकारले आइरहेको थियो ।
‘तिमी किन मलाई यत्ति साह्रो म्यासेज पठाइरहेकी छौ ?’ मैले एन्जिलालाई भने,‘आइ एम नट इन्ट्रेस्टेड इन दिस टाइप अफ च्याट, आई वान्ट अनोदर टाइप ।’ सायद मेरो यो भनाईले उसलाई हतोत्साही बनायो होला । ‘ह्वाट डिड आई डू ?’ उसको प्रश्न थियो,‘सरी, डियर आई एम इन टेन्सन’ मेरो सरल उत्तर थियो । त्यसपछि उनले प्रत्युत्तर वा प्रश्न केही पनि गरेकी छैनन् । म शेलीको उत्तरको खोजीमा अल्झिरहेको छु । शेलीको इमेल पर्खाइमा छु । मलाई शेलीका विचारहरुसँग फेरिपनि रुमल्लिने मन छ । काठमान्डू छिर्दा देखिएका मेरो माटोमा हरिया फाँटहरु, सुन्दर संस्कृति, मानवीय चरित्रका विषयमा उनलाई अर्को इमेल कोर्ने सोच पनि बनाएको छु ।
०००
सडक कति लामो छ ? दुरी नापेर यात्रा हुँदैन । कति सडक पार भयो ? ठाउँले संकेत गरिरहेको हुन्छ । जीन्दगी पनि ठ्याक्कै उस्तै, कति लामो छ भन्ने कुनै यकिन भइसकेको छैन । म यात्राका क्रममा छु, अनि शेलीका सम्झनाका केही झझल्कोहरु पनि छन् । साथमा मेरो भिरालो जीन्दगीजस्तो सडकमा अविचलित मान्छेहरुका ताँती सवारीसँगै चलिरहेका छन्– गन्तव्यको खोजीमा ।
‘जसरी पनि तपाई आफ्ना कुरा माथि पार्न खोज्ने हुनुहुँदो रहेछ...तपाईलाई धेरै पटक मैले नोटिस गरिसकेकी छु’ यो प्रतिसंवाद सहितको उत्तर एकाएक च्याट बक्समा खसेको रहेछ । शेलीले फेरि लेखेकी छिन्,‘तपाई हरेक कुरामा आफ्ना तर्कहरु माथि लाद्न खोज्ने स्वभावको हुनुहुँदो रहेछ, हरेक पटक नोटिस गरेको छु ।’ शेलीको म्यासेज आएको थाहा पाउँदा हर्षविभोर र पर्खाइको एउटा ठूलो क्षणको समाप्ती भएको थियो । तर, उनको म्यासेज जब अक्षरहरुसँगै मगजको कुनासम्म पुगेर जुन सन्देश छाडिरहेको थियो लाग्यो जीन्दगी महत्वकांक्षाहरुको थुप्रोमा हुने रहेछ । मान्छेका गुणहरुमात्र लिने र दोषहरुमात्र खुट्याउन थालियो भने पृथ्वीका सात अरब मानिसहरु उनका नजरमा मान्छे नहुन सक्छन् । यस्तो विश्लेषकले एकदिन आफुलाई पनि मान्छे देख्दैन । म अन्तरसमिक्षामा रुमल्लिरहेको छु । म के उत्तर लेखौं ? के प्रत्युत्तर दिऔं, अलमलमा परेको छु । मेरो मोवाइल फोनमा चलेको इन्टरनेटको गति जति सुस्त बनेको छ, मेरो दिमागभित्र त्यहि सुस्ततामा शव्दआकृति बन्ने कोशिश गरिरहेको छ । उनीमात्र मेरो आशक्ति विल्कुल हैनन् । उनीसँगको संवादभित्रको सम्बन्ध मेरो आकर्षण थियो । तर, उत्तरआधुनिक समाजभित्र महत्वकांक्षाहरुको पहाड बोकेर मान्छे हुर्किरहेको हुन्छ भन्ने मलाई के थाहा ? म सगरमाथाजस्तो अटल विश्वासमा उभिइरहेको हुनाले उनी वेगजस्तो ठोक्किने र हराउने क्रम निरन्तर चलिरहेको छ । म अडिग छु, चलायमान छैन र, पनि । ‘ल केही घन्टामा हामी काठमान्डू पुग्दैछौं’, पहाडको टाकुरामा सार्वजनिक बस रोकिँदा म एकपटक फेरि झस्किएको छु । मेरो अन्तर्मनमा कहीँ कतै एउटा वाक्यको लहर बनिरहेको छ– हो रहेछ, जीवनको भयानक सत्ता मोहजाल हो, म त्यहि मोहजालको उन्मादभित्रको पीडित पात्र बनिरहेको छु ।

No comments:

Post a Comment