विनोद ढकाल
विश्वका विकसीत मुलुकहरुको राजनीतिक पृष्ठभुमि, विकासको पृष्ठभुमी र आर्थिक क्रान्तिको धरातलको मुख्य जग नै युवाशक्तिको सहज, स्वभाविक र सरल सक्रियता नै देखिन्छ । चीनमा उदाएको युवा शक्तिका कारण उसले आफ्नो आर्थिक यात्रालाई विश्वको उचाइमा पु¥याएको छ । आप्रवासी युवाहरुको सक्रियताका कारण नै अमेरिका अहिलेपनि विश्वको महाशक्तिका रुपमा कहलिएको छ । जापानी युवाहरुकै मेहनतका कारण अर्थतन्त्रमा उसले आफ्नो स्थानलाई कायम राखेको छ । यी विश्वका ज्वलन्त उदाहरणका रुपमा देखा परेका मुलुकहरुको विकासको मुख्य लक्ष्य युवाको सही परिचालन नै थियो । अहिले पनि यी मुलुकहरुले अर्थतन्त्रमा युवाको पारदर्शी भुमिकालाई कमजोर बनाएका छैनन्, बरु बलियो बनाउँदै गएका छन् । एउटा मुलुकको अर्थतन्त्रको विकासको योजना राजनीतिसँग नङमासुको सम्बन्ध रहने भएकैले पनि उनीहरु प्रयोगका आधारमा सफल बन्दै गइरहेका छन् ।
तर, नेपाली युवाको पहुँच, सक्रियता र विकासका लागि आफ्ना दायराहरु बन्न सकेका छैनन् । नेपाली युवा आन्दोलनको इतिहाँस पुरानो छ तर गलत दिशाको यात्राका कारण हामी सफल हुन सकेका छैनौं । नेपाली समाजका ‘युवा’ भन्नसाथ झगडा गर्ने, गुण्डागर्दी गर्ने, हप्ता असुल्ने, प्रदर्शन गर्ने लगायतका अर्थबाट परिभाषित गर्न थालिएको छ । तर, नेपाली युवाआन्दोलनको सही प्रयोग हुन नसकेका कारण हामी समाजमा यसरी परिभाषित भइरहेका छौं भन्ने आत्मसमीक्षा सवैले गर्न आवश्यक छ । ०६२÷०६३ को आन्दोलनसम्म आइपुग्दा नेपाली युवा राजनीतिक स्वतन्त्रताका लागिमात्र लडेको देखिन्छ । राजनीतिक स्वतन्त्रताप्राप्ति पछि युवाको भुमिकालाई कमजोर र प्रयोगरहित बनाइएको÷बनेको देखिएको छ । ००७ सालमा नेपालमा पहिलो पल्ट आएको प्रजात प्राप्तिको आन्दोलनको शङ्घोष र सफलता, ०३६ सालको विद्यार्थी आन्दोलन, ०४६ सालको पञ्चायती शासन विरुद्धको प्रजातान्त्रिक आन्दोलन र ०६२÷०६३ को गणतान्त्रिक आन्दोलनको जग नै युवाशक्ति थियो । तर, यी बारम्बारका आन्दोलनको सफलतापछि पनि युवा शक्तिको सहि उपयोग, उपभोग र परिचालन किन हुन सकेन ? यो गम्भिर प्रश्न आमसाधारणसम्मले उठाउने गरेका छन् । ००७ सालदेखि पञ्चायतकालिन व्यवस्थासम्म दरबारीयाहरुले युवालाई गुण्डागर्दीमा समावेश गरे । सोही प्रवित्तिको हावीकै कारण ०४६ सालयता नेपाली कांग्रेसले तरुण दलका नाममा मण्डले गुण्डा संस्कृतिलाई कायम राखेको सवैले बुझेकै छन् । ०५२मा तत्कालिन नेकपा माओवादीले क्रान्तिका नाममा युवाका हातका विकासको पहरेदारी र आर्थिक क्रान्तिको रुपान्तरणको जग बसाउनुको साटो बन्दुक बोकायो । ०६२÷०६३ यता वाइसीएलका नाममा उनै मण्डले, कुण्डलेहरुको झुण्डलाई संगठित गरी अपराधउन्मुख बनाइयो । यो प्रवित्तिबाट कोही अछुतो भएन, हाम्रै साथीभाईहरु पनि यस्ता कामबाट कँहीकतै प्रभावित भएको पाइयो । यो एउटा गलत संस्कारको निरन्तरता थियो । अहिलेपनि कतिपय ठाउँमा जारी राखिएको छ । यसको अन्त्यलाई रुपान्तरणसहितको राजनीतिक अभियान वा युवा आन्दोलन नै खाँचो छ । जसबारे हामीले केही योजनाहरु ल्याउने प्रयत्न गरेका छौं । त्यसअघि युवाको सवाल हेर्दा सरल र बुझ्दा गहन बनेको दृष्टान्त राख्नु उपयुक्त हुनेछ । सामान्यतया १६ देखि ४० वर्ष उमेर समुहमाथि उठेको यो प्रश्नका सरल जवाफ छैनन् । यो एउटा आन्दोलन हो र यसलाई व्यावसायिक ढंगबाट व्यवस्थापन गर्न सक्नु यसको सहज उत्तर हुनसक्छ । तर, नेपाली राज्यव्यवस्था अहिलेसम्म त्यसप्रति गम्भिर हुन सकेको छैन ।
युवा राजनीतिबाट अलग भएर यी प्रश्नका सहज उत्तरहरु देखा पर्दैनन् । अहिले भइरहेको भोको राजनीतिको रुपान्तरणविना सवालका सही र प्रयोगात्मक उत्तरहरु आउँदैनन् । राज्यबाट युवालाई एउटा सीमामा घेराबन्दि गर्ने प्रयत्न भएको छ । १६ वर्षमा नागरिकता पाउने तर मताधिकार १८ वर्षमा मात्र दिन पाउने । नागरिकता पाएको मानिसले सरकारी सेवा, व्यावसायीक काम र राज्यसँग सरल सम्बन्ध बनाउँदै रोजगारीको अवसर पाउने गुञ्जायस छैन । हामी यस्तो गैरन्यायिक प्रणालीलाई चिर्न चहान्छौं । राज्यमा पुराना रीतिको उपयोग गर्ने र युवालाई क्षणिक प्रलोभनमा राखेर राज्यसत्ताको पहुँचबाट टाढा राख्ने प्रवित्तिले संगठित हुन सकेका छैनन् । राजनीति फोहोरी होइन, हरेक पेशागत संस्थामा लागेका युवाहरु संगठित हुन चहान्छन् तर जुन चरित्रले जरा गाडेको छ, त्यसको रुपान्तरण सहितको प्रयोग आवश्यक छ । युवा संघमा यस पटकदेखि हरेक पेशासँग आवद्ध भएका आम युवालाई पनि संगठित हुनका लागि अभिप्रेरित गरिएको छ । यो योजनामात्र होइन, कार्यान्वयनको महत्वपूर्ण पाटो हो । २० औं अर्बको मासु आयात गर्ने हाम्रो मुलुक कृषिको प्रचुर सम्भावना बोकेको मुलुक हो । तर, हामी किन गर्न सकिरहेका छैनौं ? हामी व्यावसायीक काममा युवाहरुसँग साक्षात्कार गर्न सकिरहेका छैनौं, हाम्रा नाममा राज्यमा देखिएको बजेटसम्मको पहुँचमा पुगेका छैनौं । कुनै पार्टी विशेषको नाममा एकीकृत कोषजस्तो बनाइएको युवा स्वरोजगार कोष, युवा मन्त्रालय, युवाका नाममा रकम छुट्याउने प्रत्येक निकायसम्म हाम्रो व्यावसायीक सोच, सहज पहुँच छैन । यस्तो अवस्थामा युवाका सवालमा राजनीति गर्ने विभिन्न युवा संगठन वा संस्थाको दायित्व कति गहन छ भन्ने कुरा बुझ्न आवश्यक छ । तर, यो जिम्मेवारीमा एमाले भ्रातृ संगठन युवा संघ नेपाल कति जिम्मेवार हुन सक्ला ? जसले भर्खरै नयाँ नेतृत्व पाएको छ ।
गएको साता बुटवलको दृश्य फरक थियो । देशभरीका कुख्यात डनहरु, बहुचर्चित उपनामका नन्दि र भिरङ्गीहरुको भेला भयानक थियो । गाँसका लागि मुस्किल भएको मुलुकमा प्राडो र पँजेरोको कुनै कमी छैन भन्ने विम्ब उक्त दृश्यले देखाइरहेको थियो । नेकपा एमालेको भ्रातृ संगठन युवा संघ नेपालको आठौं राष्ट्रिय महाधिवेशनको दृश्य फरक, जटिल र भयानक देखियो । एमालेका सवै नेताहरु पनि बुटवलको मञ्चमा पुगेकै थिए । उनीहरुले त्यहाँबाट माहौल उचाल्नका लागि आफुमा भएका वयानबाजीका कुनै कसर बाँकी राखेनन् । नेपालमा मौलाइरहेको गाली राजनीतिले त्यहाँ पनि निरन्तरता पायो । विचारभन्दा पनि गाली गरेर राजनीतिमा अगाडी बढ्न सकिन्छ भन्ने नियतलाई कायम राखियो । एकीकृत नेकपा माओवादीलाई सकुञ्जेल गाली गरेर नेताहरु फर्किए । यो निरन्तरता युवा संघ नेपालमा पनि कायम देखियो । युवा संघका अध्यक्ष महेश बस्नेतले पनि माओवादीलाई गाली गर्ने कुनै कसर बाँकी राखेका थिएनन् ।
नेपाली राजनीतिमा बजारीकरण गर्न थालिएको गाली राजनीति र युवा संघ नेपालको नयाँ नेतृत्वको जुन परिणाम बाहिर आयो यसले नेपाली युवा आन्दोलन अथवा युवा राजनीति कतातिर जाँदैछ भन्ने बहसलाई खुल्ला बनाएको छ । वैचारिकशुन्यतालाई कायम राख्दै वलबाहुको राजनीतितिर छिरेको युवा आन्दोलनले युवाका खास मुद्दालाई अव कसरी उठाउला ? भन्ने एउटा प्रश्नपनि छाडेको. छ । खयर, नेकपा एमाले भ्रातृ संगठन युवा संघ नेपालको नयाँ नेतृत्व फेरि पनि महेश बस्नेतको पोल्टामा परेको छ । लोकतान्त्रिक पद्दतीबाट भएको चुनावी प्रकृयामा उनको जीत अनिवार्य स्वीकार्य छ । बस्नेतको जीतसँगै उनको बहुमत प्यानलको जीतलाई पनि नकार्न मिल्दैन । किनकी ती सवै लोकतान्त्रिक पद्दतीबाट निर्वाचित भएर आएको पदाधिकारीहरु हुन् । तर, बस्नेतका पदाधिकारीहरुको राजनीतिक पृष्ठभुमी, तिनको विचारको तह र तिनको नेतृत्वबाट युवा राजनीतिक कतातिर वामे सर्ला ? यो अहिलेको गहन प्रश्नचाँही बनेको छ । यो प्रश्नको बहस युवा संघको आगामी कार्यकालले व्यवाहारिक रुपमा देखाउने क्रियाकलाप, वैचारिक दृष्टिकोण र नयाँ दिशाको यात्रामा भर पर्ने कुरा हो ।
करिव ५० लाख युवा अहिलेपनि भारत लगायत खाडी मुलुकसहित विश्वभर रोजगारीका लागि अलमलिएका छन् । दैनिक एक हजार सात सय भन्दा युवाशक्ति श्रमका लागि मुलुक छाडीरहेको छ । राजनीतिप्रति उसको वितृष्णा बढिरहेको छ । यो सरल देखिन्छ तर यसले निम्त्याउने जोखिमहरु भ्यानक छन् । राज्यका लागि दक्ष शक्ति मुलुक छाडेर जानुले विकासका कामहरुमात्र होइन, हाम्रो सम्बृद्ध मुलुक बनाउने चाहना पनि कमजोर बन्दै जान्छ । लाखौ युवा मुलुकभित्र वेरोजगारीको समस्यामा भौतारिरहेका छन् । भोको पेटमा राजनीतिक दलमा आवद्ध भएर होल टाइमर भएर खटिएका छन् ।
नेपाली युवा आन्दोलन र त्यसमा आधारित मुद्दालाई कार्यान्वयन गर्नका लागि हयुवा सरोकारका मुद्दामा आधारित योजना के हुन सक्ला ? विचारविमशृ र योजनाको खाँचो छ ।
तरुण साप्ताहिकको नियमित स्तम्भ सरोकारमा प्रकाशित मेरो आलेख
No comments:
Post a Comment