Monday, May 26, 2014

चोट, मुलुकको पीडा र ‘जन्मभूमि’

सामाजिक सञ्जालले मानिसलाई सम्पर्कसूत्रमा बाँधेकै कारण हुनुपर्छ खाडीका मरुभुमी सजाइरहेकाहरुले सोध्छन्– के छ देशको हालचाल ? हालचाल र समाचारको खेती गर्ने भएकाले यी प्रश्नहरु स्वभाविक हुन्छन् ्, मेरा लागि । जे छ राजनीति, हामी त्यसलाई हालचालका रुपमा व्याख्या गर्दछौं । स्वभाविक रुपमा राजनीतिक विषयमा उत्तर दिनु मेरो दैनिकीजस्तै हो । तर, जसले प्रश्न सोध्छन्, उनका कारणले गाउँमा बाली उव्जनी नभएको, डाँडाहरु फुस्रा देखिन थालेको, खेतका गराहरुमा सुख्खायामले डामेर माटो कमजोर भएकोबारे व्याख्या गर्ने फूर्सद हुँदैन । गोरु बाँध्ने ठाउँमा मोटरसाइकल पुगिसकेको तथ्यलाई हर्षले स्वीकार गरेर मान्छेको जीवन बाँच्ने तरिकाको व्याख्या गर्दा हामी प्रफूल्लित मानसिकतामा उभिएका हुन्छौं ।
यो भौतिक सुखका नाममा कमजोर बनिरहेको हाम्रो गाउँको बारेमा हामी किन गम्भिर हुन सकेका छैनौं ? मरुभुमीलाई माटो बनाएर केही रकम आर्जनको बाहनाले हाम्रो माटो मरुभुमी भएको तथ्यलाई कति गहिरोसँग विश्लेषण गरिरहेका छौं ? त्यो भन्दापनि खास कुरोचाँही विग्रिरहेको हाम्रो सामाजिक संरचना र कमजोर बनिरहेको रीति र संस्कृतिका विषयमा हामी कति गम्भिर भइरहेका छौं ? परजीविका रुपमा स्थापित हुन लागेका छौं, हामी । मुलुक परनिर्भरतामा बनिरहेको छ र हामी मरुभुमीलाई आत्मनिर्भरसहितको सम्पन्न बनाउनका लागि खटिइरहेका छौं । यो तथ्यसँग हामी नजिक हुन किन सकिरहेका छैनांै ?
त्यतिमात्र होइन, मुुलुकको अर्को तस्बिर पनि भयानक छ । ‘भीआइपी कमिङ’ –सहरको दुख बनेको छ । भीआइपी नदेख्नु गाउँको पीडा । आशा र अपेक्षाले भरिपूर्ण छ, गाउँ । अनि, भ्रष्टाचार र महँगीको मारमा भीआइपी ह्यांगोभरमा विक्षिप्त छ, सहर । यी दुवै पीडाको महासागर बोकेर मुलुक दैनिक विश्ववजारमा कमजोर र गरिब बनिरहेको छ । हामी गरिबीबीचमा अनेक किसिमका राष्ट्रियताको ठेस लागेर दैनिक लडिरहेका छौं । शरिर हे¥यो घाउ छैन, आत्मामा चोट लागिरहेको छ । जहाँ चोट लागेको छ, ती आत्माहरु न्यायको खोजी गरिरहेका छन्, नवसामन्तीहरुको राज्य सञ्चालन विधिले मुलुक चारैतिरबाट डामिएको छ, ती चोटहरु पनि नागरिकमा देखिन्छन् ।
यो यथार्थ हो, आफ्नो मुलुक बनाउने बेला युवाहरु मरुभुमीको देशमा श्रम खर्चिरहेका छन् । अनि, भुल्नै नसकिने पीडाचाँही गणतन्त्रको नाममा उर्जाशिल हातहरु वेपत्ता, विरगती या सहादत प्राप्त गरेर सक्किए । शव्द र भाषा जे भनेपनि तिनीहरु मुलुकको दुखबाट उम्किए, हराए र विलिन भए ।
युद्धले मुलुकका उर्जाहरुको अन्त्य गरायो । युद्धको उपलव्धि कसैले देख्न पायो भने जम्मा ६०१ जनाले पाए होला । त्यसमध्येमा पनि राजनीतिक पार्टीको हैसियतका आधारमा संविधानसभा र सरकार चलाउनेहरु पाएका थिए । तर, गाउँहरु अहिलेपनि खाली छन् । विकासका नाराहरु सुनेको छ, गाउँले । राष्ट्रियताको सवाल सुनेको छ, गाउँले । तर जतिवेला यथार्थ अगाडी आउँछ चोटहरु फेरि बल्झिन्छन् । नवलपरासीका सुस्ताहरु सुस्केरादिन्ँछन्, हराइरहेका दशगजाका स्तम्भहरु रुन थाल्छन् । अनि, काठमाडौंका सडकमा नागरिकलाई बाटो छेकेर हुइँकिने भिआइपीहरुसँग प्रश्न गर्छन्– के यो मेरो जन्मभूमि हो ? के यो मेरो माटोको यथार्थ यहि हो ?
जुन दरमा युवाहरु मुलुकबाट पलायन हुने क्रम छ, यसको निरन्तरताले जन्माउने गाउँको कथा भयानक हुनेछ । यसले देखाउने संकेत असामान्य छ । यसले पार्ने प्रभाव असोचनिय छ । गाउँमा महिला र बृद्धहरुमात्र हुनेछन्, गाउँमा युवाहरुको रोजगारीको पैसा  केही प्रतिशतमा आउनेछ तर त्यसले मुलुकको हित भन्दा पनि मुलुकको विकासमा प्रभाव पार्ने निश्चितप्रायः छ । यस्तो यथार्थ शव्दचित्रबाट अति कमैमात्र विश्लेषण गरिएको पाइन्छ ।
उल्लिखित विषयको सामान्यीकरण गर्दै आम मानिसले बुझ्नेगरी मुलुकको हरपाटोको दुखलाई ब्युँझाउने काम गरेको छ, चलचित्र जन्मभूमीले । जन्मभूमि निर्माणको प्राविधिक काममै छ । यसले दिन खोजेको सन्देश मुलुकको राष्ट्रियता, युद्धले पिल्सिएको बस्तीकोमात्र छैन, त्यसले प्रभाव पारेको हर पाटोको यथार्थपरक चित्रण छ ।
जन्मभूमिको एक दृश्यमा कलाकार मोहन निरौला । 

आजको पुस्तामा एउटा थेगो राखिदिएको छ, विद्या बालन अभिनित चलचित्र दी डर्टी पिक्चरले – फिल्म जम्मा तीन कुराले चल्छ, इन्टरनेनमेन्ट, इन्टरनेनमेन्ट र इन्टरनेनमेन्ट । तर, त्यो फिल्म चल्ने कुरा हो । यहाँ फिल्मले मुलुकको संयन्त्रलाई झस्काउने सवाल प्राथमिकतामा हुनुपर्छ । फिल्म अब इन्फोरटेन्मेन्टले चल्नुपर्छ भन्ने मान्यताको विकास हुनुपर्छ । कतिपय सन्देशहरु कथाका माध्यमबाट फिल्मले दर्शाउँदा त्यसलाई एउटा फिल्मका रुपमा मात्र चित्रण गरेर बुझ्नु अनुपयुक्त हुनेछ । त्यो चित्रणका रुपमा आफ्नो भुमिको पीडा बोकेर आएको सन्देश लिनुपर्ने हुन्छ, मुलुप्रतिको चिन्तनमा आधारित चलचित्र हिट नभए पनि जीवन्त बनेको हुन्छ, ती फिल्महरु दर्शकका लागिमात्र होइन, मुलुकका लागि सन्देशपरक हुन्छन् । वास्तवमा राष्ट्रभक्तिको सवाल अहिले ओइल्याउन थालेको छ । मुलुकको चिन्ता कम हुन थालेको छ । ग्रामिण बस्तिहरुमा महिलाहरुमात्र देखिन्छन्, यसले समाज सन्तुलन गुमाइरहेको छ । असन्तुलित समाज, असन्तुलित राष्ट्र र चारैतिरबाट हस्तक्षेपको शिकार भइरहेको मुलुकको वेदना, चोट अति सामान्य जनतालाई बुझाउने तरिका फिल्म नै हो । युवाहरु मुलुकबाट पलायनका दिशामा उन्मुख छन् ।
नेपाली समाजको तस्बिर फरक भइसकेको छ । विकासका हिसावमा फरक भएको होइन, हामी अझै धेरै शताव्दिपछिको दुखमा छौं । विश्वमा सँगै रहेका मुलुकहरु विकासको नारा बोकेर शक्तिशाली बनिसकेका छन् । तर, हामी जहाँको त्यहिँ, किन ? खराब राजनीति, युद्धको पीडा, त्यसले निम्त्याएको डोब र अलमल अवस्थामा रहेको राजनीति यसका मुख्य कारण हुन् । यी कारणले उव्जाएको वेरोजगारीे पीडाको विकल्पका लागि युवाको पलायनजस्ता समस्या । यसले कस्तो परिवर्तन भयो ? सामाजिक संरचनामा कति परिवर्तन आएको छ, त्यसको तस्बिर अव आम नागरिकले बुझ्नैपर्ने बेला आइसकेको छ ।
दुई दशकको अन्तरालमा आफ्नो भुमीको यथार्थ के भयो ? राष्ट्रियताको सवालमा कुन ठाउँमा रहेको देश कहाँ पुग्यो ? मुलुकभित्र रोजगारीको सृजनामात्र खोज्दै गरेका युवाहरु कहाँ पुगे ? यी अनेक यथार्थसँग नजिक रहेका मोहन निरौला आफैंले फेरि जन्मभूमिको कथा लेखे र लोकलाई नेपाली समाजको अहिलेको तस्बिर देखाउनका लागि चलचित्रको मार्ग तय गरे । जवकी, उनले दुई शताव्दि अघि पनि जन्मभूमि बनाएका थिए । यी प्रखर चलचित्रकर्मी कहिलेकाँही अनौपचारिक कुराकानीका क्रममा भन्ने गर्छन्, चलचित्रले सन्देश दिनुपर्छ । दुई दशकका बीचमा निक्कै फिल्महरु नेपालीबजारमा आए तर एक या दुई बाहेकका चलचित्रले राष्ट्रियता, जनजीविका र मुलुकको अवस्थालाई चित्रण गरी चिन्तित बनाउन सकेका छैनन् । दर्शकहरुले पनि यी विषयलाई गहन र गहिरोगरी सोच्ने अवसर पाएका छैनन् । यो अवसर हो राष्ट्रको सामाजिक, राजनीतिक परिस्थिति र त्यसले निम्त्याएको जोखिमको बारेमा सोच्ने । अव हर क्षेत्रबाट मुलुकहितका पक्षमा सृजित सृजनाहरुको मुल्यांकन हुनुपर्छ, आत्माबाट ।
अचेल नेपाली दर्शकपनि खाडीमा छन् । जसले बुझ्नुपर्छ मर्म, तिनीहरु पनि विदेशमा छन् । जसले मुलुकको पीडा, गाउँको दुखलाई सामान्यरुपमा बुझेका छैनन्, उनीहरु पनि मरुभुमीको देशमा टमाटर फलाउने काममा छन् । त्यसकारण पनि यो जन्मभूमिको सन्देश उनीहरुमाझ पुग्नुपर्छ, उनीहरु गाउँ फर्किनुपर्छ र कोर्नुपर्छ मुलुक बनाउने बाटो, उत्खनन् गर्नुपर्छ रोजगारीका अवसर र दबाबको काममा सृजित हुनुपर्छ भन्ने नै फिल्मको परोक्ष सन्देश छ र प्रत्यक्षचाँही अहिलेको बस्तुस्थिति । विश्वमा खुला अर्थतन्त्रमा प्रतिष्पर्धा गर्ने बेलामा नेपाली गाउँमा बृद्धका लास बोक्ने युवाहरु पनि भेट्न मुस्किल भएको विषयलाई आम जनमानसले बुझ्ने आधार तय गर्न सकुन्, जसले मुलुकको पीडा जन जनको आखाबाट वग्ने परिस्थिति नहोस् ।

Friday, May 23, 2014

उनको इमेल, मेरो भूगोल र सुसाइड नोट

साइबर लभ–२० 

प्रेममा अर्को हृदयको झन्कार बुझ्न नसक्नु कमजोरी सावित हुनेछ । असली प्रेम गरेका कारण तिम्रा हरेक झन्कारहरु मैले बुझेको छु तर मेरो झन्कारहरुलाई फगत प्रयोगवादी, उपयोगवादी विश्वको एउटा सामान्य विषय लाग्यो होला तिमीलाई । त्यो फगत होइन । तिमी सत्यबाट टाढा भागेकी छौ, म यथार्थहरुको स्वीकारोक्तिमा उन्मुक्त हुँदैछु ।


‘मलाई नसोध कहाँ दुख्छ घाउ...’ ब्याकग्राउन्डमा नारायण गोपाल निरन्तर उही शैलीमा बजिरहेका छन् । सुनसान अन्धकार रातमा केही बटुवा खित्तिएको आवाज पनि आइरहेको छ । ट्याक्सी टुप्पी बालेर हुइँकिरहेका छन् । सिंहदरबारको भित्तो सँधैजसो मलाई नियाँलिरहेको होला । बेगले दौडेका कार मादक पदार्थ सेवन कारबाहीमा पर्ने सशंकीत भावमा होलान् । उराठलाग्दो पैदलयात्रा प्रहरी बिटनजिक पुगेको छ । जँड्याहाहरु भित्तोमा ‘सु....सु...’ गर्न तल्लीन छन् । नशाको आडमा मुलुक हाँक्ने कुरामा अभ्यस्त सुनिन्छन् । मेरो ध्यान शेलीको प्रतिक्रियासँग केन्द्रित छ । सायद, आजराति उनले मलाई प्रतिक्रिया दिएकी होलिन् । म के लेखुँ फेरि उनलाई ? प्रश्नोत्तरमा अलमलमा सडकमा पाइला छिचोल्दैछु ।
‘तपाईंको र मेरो विचार मिल्दैन’, शेलीको इमेल झरेको छ कम्प्युटरको भित्तोमा, ‘विचारको तह मिल्दैन, सहरको रीत मिल्दैन, प्रीत किन मिलिरहेको छ ?’ उसको इमेलको पहिलो सेन्टेन्सले टेन्सन बनायो । ‘समाज र सोसाइटीका कुरा होइनन्, मानिसका मनका विचार र विवेचनाको क्षेत्रको कुरा हो ।’ उसले अगाडि लेखेकी छ, ‘म आजभोलि काममा बिजी छु, मौका मिले च्याटमा कुरा गरौँला, यो नेपाल होइन जतिबेला पनि म अनलाइन आइरहनसक्ने, यहाँ खान काम गर्नुपर्छ, फुर्सद कम हुन्छ । सी यु, बाइ ।’ म निरन्तर मेरा व्यस्ततालाई छिचोलेर, पर सारेर शेलीका लागि अभ्यस्त भइरहेका बखत उसका निकै अमिलो रेस्पोन्स झरेको छ । मानिसहरु निक्कै तरलतामा सोच्छन्, सतहमा बाँचेका हुन्छन् । मानसिकता नै समवेदनाहीन छ, मुलुकप्रति । नेपाल निक्कै फुर्सदिलो मुलुक, यहाँ नाचेर, हाँसेर डुलेर खान पुग्छ । यहाँ काम गर्नुपर्दैन । यहाँ आराम पनि गर्नुपर्दैन । यो बेरोजगारहरुको टापु हो । बेरोजगारहरुको पहाडको थुप्रो हो । त्यसैले यो थुप्रोबाट समुद्रकिनार नजिक पुगेकाहरु भन्छन्, ‘त्यहाँजस्तो यहाँ फुर्सद हुँदैन ।’ यी आम र साझा मान्छेको भिडमा साझा उत्तर, साझा विचार, हेयको दृष्टिले शेलीको जवाफ आएको छ । यो फुर्सदको सदुपयोग कहिल्यै थिएन, व्यस्तताको ढाकछोप पनि थिएन, शेलीसँगको मेरो प्रेम । अहिले पनि उही गतिमा, उही क्षेत्रफलमा, उही प्रकाशमा शेलीसँग म निरन्तर प्रेममा अभ्यस्त छु । उसलाई नेपाली मनबारे मेरो प्रत्युत्तर अनिवार्य छ । मेरा भावनामा विम्ब नहुन सक्छन्, समवेदनाको प्रयोगमा चढाव नहुन सक्छ । मैले नेपाली भूगोलमा भेटेको, देखेको यही कम्प्युटरबाट शेलीका लागि अर्को इमेल लेख्ने कोसिसमा छु । 
हावाको बेग ठूलो छ, बाहिर । झ्यालका पल्लाले हावाको गतिको मापन गरिरहेका छन् । हुत्तिएर कोठाभित्रै छिरौँलाझैँ गरिरहेका छन् । बिजुली धिपधिप गर्दैछ । बेग गर्जेर पानी पर्लाजस्तो छ । कुत्ताहरु फेरि पनि भुक्न छाडेका छैनन्, मान्छेहरु आफ्ना आफ्ना झुपडीमा छिरिसकेका छन् । कोही रातको मजामा रुमल्लिएका होलान्, कोही रातको नशामा डुबेका होलान् । परतिर कोही यातनामा तड्पिएजस्तो आवाज आइरहेको छ । जे होस्, यी सबैतिर ध्यान केन्द्रित छैन, मैले शेलीलाई मेल लेख्नुछ । उसलाई जवाफ दिनुछ, यतिमात्र । 
०००
प्रिय शेली,
मलाई थाहा छैन, तिमीलाई मेरो सम्बोधन पनि नेपाली लाग्नसक्छ । फुर्सदको सम्बोधनजस्तो लाग्ला यो ‘प्रिय ।’ तर, यो निक्कै व्यस्तताको प्रिय हो । यो थकानपछि लेखिएको प्रिय हो । यो व्यस्तता भंग भएपछिको प्रिय होइन । यो व्यस्ततामा तिमीप्रति आशक्ति भएको प्रिय हो । 
जब जीवनमा सयवटा आँसु झार्ने कारण तिमीसँग हुन्छन्, देखाउने प्रयत्न गर तिमीसँग हाँस्ने खुसी हुने कारण हजारभन्दा ज्यादा छन् । तिमी सबैका सामु हर्षविभोर भएर बसिदेऊ, तिम्रा शत्रुहरु कमजोर सावित हुनेछन् । उनीहरु आत्मरति गरिरहँदा आत्मपीडामा पनि जल्नेछन् । तर, तिमी मसँग रिसायौ । मलाई थाहा छ, म तिम्रो असल प्रेमी हुँ । 
मान्छेको जीवन अचम्मको हुन्छ । मैले मृत्युको मुखमा रहेर हाँसो छाड्नेहरु कम देखेको छैन । आँसुसँग लत्पतिएर मृत्युलाई पर्खिरहेकाहरु पनि उत्तिकै देखेको छु । तर अन्त्यमा कति सास आफूले लिएको भनी गन्नेहरुको भिडमा ती सासहरुले कति समवेदनाहरुको भार बोक्यो, कति भावनाहरुको फ्ल्यासब्याक समेट्यो भन्नेहरु पनि देखियो । ती अन्तिम सासहरुको कुनै भूगोल नहुँदो रहेछ । मान्छे त मेरो भूगोलमा पनि मर्छ, तिम्रो भूगोलमा पनि मर्ने रहेछ । मेरो जन्मन्छ, तिम्रोमा पनि जन्मने प्रक्रियाको अन्त्य भएको रहेनछ ।
प्रेममा अर्को हृदयको झन्कार बुझ्न नसक्नु कमजोरी सावित हुनेछ । असली प्रेम गरेका कारण तिम्रा हरेक झन्कारहरु मैले बुझेको छु तर मेरो झन्कारहरुलाई फगत प्रयोगवादी, उपयोगवादी विश्वको एउटा सामान्य विषय लाग्यो होला तिमीलाई । त्यो फगत होइन । तिमी सत्यबाट टाढा भागेकी छौ, म यथार्थहरुको स्वीकारोक्तिमा उन्मुक्त हुँदैछु । मेरो इमेलमा अगाडी लेखेँ, ‘बारम्बार, हरेक बार, निरन्तर, एकतर्फी रुपमा ।’
कसैलाई भेट्नु, प्रेम गर्नु, समवेदना र भावनाको अपेक्षा राख्नुको अर्थ हुँदो रहेछ अरुमा आफू खोज्नु । सम्भवतः प्रेमको फरक पहिचान हुनसक्ने लक्षण यो पनि होला । मैले यस्तो तिमीसँग भोगेको, महसुस गरेको आधुनिक तथ्य हो ।
जीवनको यात्रामा हामी कहाँ आइपुग्यौ । परिचयपछिका कति यात्राहरु सँगै भए । सम्बन्धका मझेरीहरु भौतिक नदेखिएपनि भावनात्मक रुपमा कति फराकिलो थियो ? यी कुराहरु कति एनालाइसीस गरेकी छौ ? मेरो यो फिलिंसलाई कत्तिको बुझेकी छौ ? हामी कति पटक मिसअन्डरस्ट्यान्डिङमा उभिएका थियौँ ? विगततिर एकपटक फेरि फर्किन मन लागेको छ । तिमी आफुपनि यो कुरालाई विश्लेषण गर । म तिम्रो उत्तरको प्रतिक्षामा छु । 
०००
रात बिहानतिर आइसक्यो । दिउँसोको झझल्कोलाई एकपटक फर्किएर हेर्ने मनसाय छ । निद्रा पटक्कै छैन । मन बेचैन छ । हावाका बेगका चालहरु कमजोर हुँदैछन् । सुस्त सुस्त हुन थालेका छन् । आज साँझ मेरो समाचारकक्षलाई सम्झिएँ । मेरो समाचारकक्षमा उत्रिएको त्यो खबरलाई विश्लेषण गरेँ । त्यो प्रेमको अमरत्वलाई कसले स्वीकार गर्ने ? 
नयाँ खबर, ताजा खबर, प्रेम विवाह स्वीकार नहुने अवस्था आएपछि सुसाइड नोट लेखेर जोडीद्वारा आत्महत्या । शेलीका लागि मैले पठाउने अर्को खबर थियो । तर, उसको इमेलको प्रत्युत्तर यो समाचार पक्कै थिएन । मेरो समाजको यो खबर जसले उनको सोसाइटी र मेरो समाजको खाडलको प्रमाण दिने थियो । तर, उनी यो स्वीकार गर्छिन् र ? 
अन्तर्जातीय विवाह गरेर घरबाट भागेका दुई जना एउटै रुखमा झुन्डिएर आत्महत्या गरे । उनीहरुको शव फेला परेको थियो । परिवारले अन्तर्जातीय विवाह स्वीकार नगरेपछि कृष्ण कामी र लक्ष्मीदेवी ओलीले एकै रुखमा झुन्डिएर आत्महत्या गरेको अवस्थामा फेला परे । दुवै जनाले प्रेममा फसेर अन्र्तजातीय विवाह गर्न पुगेको र परिवारले स्वीकार नगर्ने भएपछि आत्महत्यालाई रोज्नु एकमात्र विकल्प भएको उनीहरुसँग फेला परेको सुसाइड नोटमा लेखिएको थियो । त्यो सुसाइड नोट जहाँ प्रेमविरोधीको प्रशंसा छ । जहाँ प्रेमकै लागि नयाँ सीमा छ । प्रेमका लागि निक्कै बाधाहरु रहेको उल्लेख छ । त्यहाँ प्रेम छ, जहाँ मृत्युपनि सहज स्वीकार छ । बाँचेर माया नपाएकाहरु मरेर मायाँ पाउने मानसिकताले आफ्नो हत्या गर्न पुगे, सुसाइड नोटमा छ । प्रेम भौतिक हुनेहरुसँग मात्र हुनेछ र ? प्रेम मृत्युमा पनि रहेछ । के यो सत्यलाई शेली बुझ्ने प्रयत्न गर्थिन् ? उनका लागि रोमियो जुलियटको कथा यथार्थ हुनसक्छ, उनले हेय गरेको यो भूगोलको कथा मन नपर्न सक्छ । शेली के स्वीकार्न सक्छिन् ? शेली मोलीको प्रेम स्वीकार्न सक्छिन्, मैले बुझेको त्यो मोलीको प्रेम । बिछ्यौनामा कोल्टे फेरेर फेरिपनि विचारमा तल्लीन छु, बिहानले छोप्न लागेको छ । आँखा तिरमिर–तिरमिर भएका छन्, निद्राले कतिबेला छोप्यो, सहर अफिस जान हतारमा देखिन्छ । 

Tuesday, May 20, 2014

कस्तो पत्रकारिता सिक्दैछौं ?



बे्किङन्युजका पछि लाग्दा नेपाली पत्रकारिता अतिरञ्जित, भनाइमा आधारित, सतही तर्कको बलमा मात्र चलिरहेको छ / तथ्यको गहिराई, सत्यको खोजी र किटान गरी लेख्नसक्ने हुन सकेको छैन । 


उदेक लाग्छ-जब डेस्कमा बसेर समाचारहरुको संकलन गरी पृष्ठ सजाउने काममा तल्लिन हुनुपर्छ । अन्य अखबारहरु बढ्यो, समाचारको ढाँचा र आकार देखिन्छ, समाचार देखिँदैन । राजनीतिक दलका आन्तरिक कलह, आन्तरिक छलफल र तयारी गरेको निर्णयको बारेमा समाचारहरु पढिन्छ । जण्डिसले दोस्रो सहरमा नागरिकहरु मरिरहेका छन्, त्यसको उपचार र रोकथामको उपायबारे त्यत्ति पढ्न पाइएन आजको अखबारमा । पढ्न पाइयो नयाँ कुरो, नागरिक दैनिकमा अलिक फरक पाएँ । 

नेपाली पत्रकारिताका क्रममा नागरिक दैनिकले जुन समाचार प्रकाशन गरेर दुर्नाम कमाउने र नकारात्मक टिप्पणीको सामना गरिरहेको थियो, सोही समाचारका विषयमा उसले माफी मागेको छ । उक्त पत्रिकाका प्रधानसम्पादकले उही स्थानमा क्षमा दान माग गरेको सन्देश छापे । नेपाली पत्रकारितामा यो विरलै हुने प्राविधिक निर्णय भयोे, सम्पादकले प्रथम पृष्ठको मुख्य ठाउँमा क्षमा मागेको उति साह्रो छापेको पाइँदैन । 

दिलशोभा श्रेष्ठको समाचारको विषयमा नागरिक दैनिकले आफ्नो कमजोरी स्वीकार ग¥यो । प्रहरी, प्रशासन र छानविनको समयलाई पर्खियो । सम्भवतः अव दिलशोभाको छविको बारेमा सारा दुनियाँ भ्रममा छैनन् । किनभने जुन व्यक्तिको बाइलाइन समाचारले दिलशोभाको चरित्रमाथि प्रहार भएको थियो, उनैको बाइलाइनमा दिलशोभा निर्दोष भन्ने समाचार उहि ठाउँमा प्रकाशन भइसकेको छ । दिलशोभाले क्षणिक प्रत्युत्तर दिएकी छन्– अब मेरो मन हलुका भयो । उनको अर्थ हो, नागरिक दैनिकको भुललाई उनले माफ गरेकी छन् । अब कुनै कानुनी प्रकृया अघि बढाउने छैनन् । सम्भवतः उनको भनाइको आशयः त्यहि हुनुपर्छ, पंक्तिकारको अनुमान मात्रै हो । समाचारका कारण दिलशोभालाई निक्कै ठूलो समस्या परेको थियो । समाजसेवाका क्रममा उनले अहिलेसम्म नभोगेको कठिन परिस्थितिको सामना गर्नुप¥यो । 

तर, सँगसँगै उनीसँग नागरिकभन्दा प्रभावशाली मिडिया ‘कान्तिपुर’ प्रतिरक्षामा उत्रिएको थियो । अन्य केही मिडियाहरु पनि प्रतिरक्षामा उत्रिएका थिए । उनीमाथि लागेको अभियोग वा दोष प्रमाणित हुन सक्तैन भन्ने आम मानिसले विश्लेषण गरिसकेका थिए । तर, सो प्रकरणको जुनप्रकारको उचाई थियो त्यसले एउटा पत्रकारलाई भने अतिरञ्जितको शिकारमात्र बनाएन, उसको कमजोरीलाई निमोठेर ठूला ठूला स्तम्भहरु लेखिए । उसलाई धम्कीको शिकार बनाइयो । उसको कमजोरीमाथि पत्रकारिताका पिता ठान्नेहरुबाट भयानक प्रहार भयो । र, ऊ केही समय सम्पर्कविहीन हुनुप¥यो, सामाजिक सञ्जालहरुमा रहन सकेन र फोनहरु प्रयोग गर्न सकेन । त्यसको क्षतिपूर्तिको बहस नगर्दा राम्रो होला । घटनाले एउटा सरल अवतरण गरिरहेको छ । तर के ठूला मिडिया हाउसहरु सूचनाका व्यापारमात्र गर्छन् र ? कि ठूलै प्रयोगमा पनि उत्रिन्छन् ? नेपोलियन वोर्नापार्टले भनेका थिए– एउटा मिडिया भनेको ४० हजार सेना भन्दा पनि ताकतवर हुन्छ । सम्भवतः यहि ताकतको नकारात्मक र सकारात्मक दुवै पक्षको बहसभित्र लुकेको छ व्यापार र प्रयोग । नेपाली पत्रकारिताको व्यापार ९० हज्जार सेनाको भन्दापनि ठूलो ताकतका रुपमा देखाउने प्रयत्न हुँदैछ । 

प्रविधिको विकाससँगै मानव विकासको उचाइपनि विस्तारै बढिरहेको छ । एउटा मान्छे विश्वका कुनैपनि सुचनाबाट निमेषभरका लागि पनि टाढा छैन, अहिले । हात हातमा भएका सेलफोनहरुमा विश्वका दरिला र निमेषका खबरहरु प्राप्त हुन्छन् । यो परिस्थितिमा पुगेको सञ्चारबारे आम नागरिक जानकार छन् । नागरिकसँगै गलत मनसाय भएको सामान्य झुण्ड, प्रयोग गर्न जान्नेहरुको जमात र मिडियाको उपयोगबाट राजनीतिक, सामाजिक र आर्थिक लाभ लिने समुदाय झनै तिव्र रुपमा सक्रिय छन् ।  

सञ्चारगृह विशुद्ध व्यावसायीक प्रतिष्ठान हो । तर, यो व्यावसायीक प्रतिष्ठानको शक्तिको बारम्बार दुरुपयोग हुने गरेको छ । कहिँ पत्रकारहरुलाई अतिरञ्जित पारेर नाफा लिने झुण्ड छन्, कहिँ पत्रकार भएका नाममा नाफा लिने समूह छ । तर, सवैभन्दा ठूलो कारोबारचाँही मिडिया मालिकको नाममा हुने गरेको छ । यसका प्रमाणका आधारहरु प्राप्त गर्न कठिन हुन्छ तर विश्वव्यापी मिडिया प्रयोगको सवालमा यस्तो भएको पाइन्छ । भारतको जी न्युजका सम्पादकसँगै मालिकसम्म एक सय करोडकोको खेलमा जेलसम्म पुगे । नेपालमा रहेको हिमालय टेलिभिजनका सञ्चालक र पत्रकार मिलेर रकम माग गरेको खबर अर्को ठूलो मिडियाको मुख्य खबर बनेको थियो । 

सूचनाका लागि ‘टेलिफोन ह्याकिङ’ र प्रहरीलाई घूस दिएको आरोप लागेपछि बेलायती पत्रिका न्युज अफ द वल्र्डले २०६८ असार २६ मा उसको अन्तिम संस्करण प्रकाशन गरी जाँचका लागि पत्रिका बन्द गरेको थियो । प्रकाशक संस्था न्युज इन्टरनेसनलले यसको अन्तिम संस्करण निकाल्ने घोषणा गरेको थियो । १६८ वर्र्षको इतिहास बोकेको पत्रिकालाई आतंककारी हमलाका पीडित परिवार, मारिएका स्कुले बालिका, राजनीतिकर्मी तथा सेलिब्रिटीहरु गरी करिब चार हजारजनाको गोप्य रुपमा फोन टेप गरेको आशंका गरिएको छ ।

यही विषयलाई लिएर बेलायतका तत्कालिन प्रधानमन्त्री डेविड क्यामरुनले दुइटा सार्वजनिक जाँचको घोषणा गरेका थिए । जसको नेतृत्व न्यायाधीशले गरेका थिए । पहिलो जाँच न्युज अफ द वल्र्डले गरेको टेलिफोन ह्याकिङ र प्रहरीलाई दिएको भनिएको घूस बारेमा भएको थियो भने बेलायती समग्र पत्रकारिताको सिद्धान्तबारेमा दोस्रो जाँच भएको थियो । अष्ट्रेलियली नागरिक मिडिया टाइकुन रवर्ट मुर्डकले चलाएको बेलायती पत्रिकाले अपनाएको समाचार संकलनको तरिका, त्यसमाथि भइरहेको जाँचपड्ताल र पत्रिका बन्दको घोषणाले विश्वको पत्रकारितामा एउटा हलचल नै मच्चाइदिएको थियो । तर बेलायतको जस्तो नेपालमा पत्रकारिताको सिद्धान्तको विषयमा कहाँ कुरा हुन्छ र ? यहाँ शक्तिको आडमा मिडियाहरु टिक्छन् । चाहे समाचारको विश्वसनियतामाथि नै किन प्रश्न नउठोस् । 

विहानै अखबारमा ९२ लाख रुपैंया भेट्टाएर बुझाएको कपोकल्पित उपयोगवादी समाचारले राष्ट्रपतिसम्मलाई झस्क्याउँछ, हतारो बनाउँछ, प्रतिक्रियाका लागि । अनि, दिलशोभा प्रकरणमा पनि यस्तै हतारो गर्छन्, पत्रकारिताका ‘माइबाप’ ठान्नेहरु । ति प्रकरणमा पत्रकारिताको सिद्धान्तका बारेमा किन कसैले लेखेनन् ? प्रत्युत्तर किन दिएनन् ? प्रतिरक्षा किने गरे ? लेखाई, मबाट सुरु हुन्छ र ममै समाप्त हुन्छ । तर, आधुनिक युगको पत्रकारिता त्यो होइन । तिमीबाट सुरु हुने पत्रकारिता तिमीमा सीमित छैन, अब । तिमीबाट सुरु भएको पत्रकारिता अव विश्वका सवै पाठकका सामु छ । तिमीबाट तिमीमा टुंगिदैन । त्यहाँ समाचारको खोजी हुन्छ । सूचनाको जानकारी होइन, समाचारको खोजी हुन थालेको छ । 

एउटा मालिकको गीत गाउने र अर्कोलाई गाली गर्ने प्रवित्ति सामाजिक परिवेश बनिसकेको छ । एउटालाई खराब देखाएर आफु राम्रो देखिने परम्परागत सोचको तिव्रताले राजनीति, समाज र पत्रकारिता धुमिल हुन थालेको छ । नीति, नियम र सिद्धान्त, भावना संवेदना र रक्षाका कुराहरुमा ठूलाठालू पत्रकारहरु कमजोर भएको यसबीचमा पाइएको थियो । दिलशोभा प्रकरणले केही पत्रकारहरुलाई सतहमा खुलेर एकआपसमा लेखयुद्धमा उत्रिएको पनि पाइयो । के हामी यो पत्रकारिता सिक्दैछौं ? हामी तर्कवितर्कको पत्रकारिता सिकिरहेका हौं ? न्याय, मानवअधिकार, जनताको न्युनतम आवश्यकताको पहिचान, भुगोलको दुख, गरिबको यथार्थसम्मको पत्रकारितामा हामी कहिले पुग्नेछौं ? 

पत्रकारिता तथ्यको आधारमा हुन्छ । सत्यको दाबीमा हुन्छ । तर्कको बलमामात्र हुँदैन । बे्रकिङन्युजका पछि लाग्दा नेपाली पत्रकारिता अतिरञ्जित, भनाइमा आधारित, सतही तर्कको बलमा मात्र चलिरहेको छ, तथ्यको गहिराई, सत्यको खोजी र किटान गरी लेख्नसक्ने हुन सकेको छैन । हरेक अखबार, हरेक टेलिभिजन, हरेक अनलाइनहरुको समाचार जम्माजम्मी ‘बताउनुभयो, बताए वा भन्नुभयो’मा सीमित छ । यो पत्रकारिता कहिलेसम्म ? 

Sunday, May 18, 2014

छिमेकी राजनीति, हाम्रो विकास सूचांक

चेतनाको स्तर राजनीतिमा मात्र होइन, आर्थिक रुपमा हुनुपर्छ भन्ने 
मान्यताको विकासका लागि पनि सहि र गैरभ्रष्ट राजनीतिक व्यवस्था आवश्यक छ, जुन मोदीबाट प्रभावित भएको भारतको नयाँ व्यवस्थाले पाठ सिकाउने छ

विनोद ढकाल

जनताको एजेन्डा राजनीतिक दलको जीतको प्रमुख आधार हुन्छ । भ्रष्टाचारले आक्रान्त पारेको राजनीतिक दलहरु त्यसबेला आश्चर्यचकित हुन्छन्, जतिवेला उनीहरुले नसोचेको परिणामको पक्षमा जनताको मतपरिणाम सार्वजनिक हुन्छ । भारतको लोकसभा चुनावको मतपरिणामले दिएको सन्देश नेपाली राजनीतिमा प्रमुख दुई कारणका लागि पर्याप्त देखिन्छ । पहिलो, भ्रष्टाचार राजनीतिको संरक्षणमा भयो भने जनता त्यसको विकल्पका लागि सँधै तयार हुन्छ । राजनीतिक दलहरुले पाँच वर्षको वलमा जति भ्रष्टाचार गर्छन्, त्यसपछि जनताले निर्णय दिन सक्नेछन् । अर्को, फुत्त कुनै खास मुद्दामा आउने तर त्यसको सैद्धान्तिक मान्यता पुष्टि गर्न नसक्ने र महत्वकांक्षा ज्यादा राख्नेको पनि विकल्प जनताले तयार पारिसकेका हुन्छन् । भारतको लोकसभा निर्वाचनको परिणाम आउँदै गर्दा सत्तामा रहेको भारतीय कांग्रेस र सत्ताको तिव्र महत्वकांक्षमा झुण्डिएको आम आद्मी पार्टीको होस उड्यो । जवकी लोकसभामा विपक्षी दलका रुपमा रहेको भारतीय जनता पार्टी एक्लैले स्पष्ट बहुमत ल्यायो र उसको टिमले विपक्षी बन्न तयारहरुले थेग्नै नसक्ने जीत हासिल ग¥यो ।
भारतीय जनता पार्टीद्वारा आगामी सरकारको प्रधानमन्त्रीका लागि अघि सारिएका नेता नरेन्द्र मोदीले भारतीय नागरिकमा अब खुसीका दिन आउन लागेको बताए । उनले आफ्नो ट्विटर अकाउन्टमा लेखेका छन्, ‘अब खुसीका दिन आउँदै छन्, अब भारतीय नागरिकमा खुसीका दिन आउँदै छन् ।’
उनको दलले भारतमा बहुमत हासिल गर्नेतर्फ उन्मुख भइरहेका बेला शुक्रबार मध्याह्न उनले सो प्रतिक्रिया दिएका थिए । उनको दलले विजयउन्मुख भएपछिको पहिलो प्रतिक्रिया भएको भारतीय सञ्चारमाध्यमले जनाएका थिए । ‘भारतले जितेको छ, खुसीका दिन आउँदै छन्,’ मोदीले आफ्नो ट्विटर अकाउन्टमा शुक्रबार मध्याह्न लेखेका थिए । 
उनले गुजरातमा रहेकी आफ्नी आमासँग आशीर्वाद लिन जानुअघि ट्विटर अकाउन्टमार्फत सो प्रतिक्रिया दिएको समाचारमा जनाइएको छ । गान्धीनगर उनको गृहनगर हो । अन्ततः उनले जुन लेखे त्यसको पुष्टि भयो । मोदी बुधबार प्रधानमन्त्री पदको सपथ ग्रहण गर्दैछन् । मोदीसँग राजनीतिक चरित्र छ । उनलाई तीस वर्ष यताकै महानायकका रुपमा परिभाषित गरिएको छ, राजनेताका रुपमा व्यख्या गरिएको छ । भारतीय जनता पार्टीको बर्चश्वसहितको बहुमतका लागि मोदी एक्ला नेता भएको पनि व्याख्या गरियो । अवका उनका बाटाहरु सजिला छैनन् तर उनी अप्ठ्यारो परिस्थितिका साधक हुन् । समस्यामा बसेर समस्या समाधान गर्नसक्ने क्षमता भएका व्यक्ति हुन् । त्यसका लागि उनले बनाएको गुजरात राज्यको विकासको प्रशंशा नै काफी छ । विश्वअर्थतन्त्रमा अघि बढिरहेको मुलुकका लागि विकासविचारी मोदीको जीत र नेतृत्व फलदायीमात्र होइन, विश्वअर्थतन्त्रका लागि पनि निक्कै प्रभावकारी रुपमा व्याख्या गरिन थालिएको छ । ‘मैले अमेरिकासँग कहिलेपनि भिसा मागिन, जव मलाई भिसा आएन मैले प्रण गरें, अमेरिकीहरु भारत आउनका लागि भिसाको लाइनमा बसुन् ।’ यो मोदीको विचार थियो । सम्भवतः यो विचारलाई पुष्टि गर्ने काम उनले गर्दैछन् । किनभने राम्रो दिन आउँदैछ भन्ने उनको राजनीतिक र चुनावी नारा थियो ।
भारतको राजनीतिबाट नेपाल निक्कै प्रभावित हुने गरेको छ । तीनतिर घेरिएको छिमेकीमात्र होइन अनेक हिसावल नजिक रहेको छिमेकी मुलुकका नामले पनि भारतको निर्वाचन र नेतृत्वको प्रभाव नेपालमा प्रत्यक्ष र परोक्ष छ । तर, भारतीय नागरिक जस्तो कहिले हुने हो नेपाल ? भारतको राजनीति जस्तो नेपालमा कहिले हुने हो नयाँ राजनीति र विकासका मुद्दाको प्रधानता ? यी प्रश्न छन् । भर्खरै नेपालको मानव विकास सूचाङ्क सार्वजनिक भयो । 
राष्ट्रिय योजना आयोग र राष्ट्रसंघीय विकास कार्यक्रम (युएनडिपी) द्वारा संयुक्तरुपमा तयार पारिएको सन् २०१४ को नेपाल मानव विकास प्रतिवेदन सार्वजनिक भयो । 
संयुक्त राष्ट्रसंघका सहायक महासचिव एवम् राष्ट्रसंघीय विकास कार्यक्रमका सहायक प्रशासक तथा एसिया–प्रशान्त क्षेत्रीय ब्युरोका निर्देशक हाओलियाङ झु र राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. गोविन्दराज पोखरेलले प्रतिवेदन सार्वजनिक गरे । 
‘भूगोल भन्दा पर मानव सम्भावना खोज्दै’ शीर्षकको प्रतिवेदनले सर्वसाधारणको सीप विकास, क्षेत्रीय एवम् समूहगत विभाजन घटाउँदै कृषि र युवामा भारी लगानी गर्नुपर्नेमा जोड दिएको छ । सुदूर र मध्य पश्चिमका पहाडी भेग र पूर्वाञ्चलका पहाडी इलाकामा बसोबास गर्ने नेपालीमा प्रशस्त सम्भावना भएपनि शिक्षा, स्वास्थ्यलगायत आधारभूत आवश्यकतामा समान पहुँच नहुँदा सन्तुलित विकास हुन नसकेको प्रतिवेदनले जनाएको छ । 
प्रतिवेदनअनुसार मानव विकास सूचकांकमा काठमाडौं जिल्ला प्रथम स्थानमा छ भने सुदूरपश्चिमको बाजुरा सबैभन्दा पछि परेको छ । भौगोलिक असमानतामात्र नभई सामाजिक समूह, लिंग र घरपरिवारको हितका आधारमा पनि विभेद कायम रहेकाले नेपालको विकासमा त्यसलाई बाधकका रुपमा प्रस्तुत गरिएको छ । 
युवा शक्तिले नेपालको आर्थिक विकासमा योगदान गर्न सक्ने प्रशस्त सम्भावना रहेकाले कृषि क्षेत्रको व्यावसायिकीकरण, महिला शिक्षा, सडकजस्ता पूर्वाधारमा पहँुच विस्तार अपरिहार्य भएको प्रतिवेदनले औंल्याएको छ । मानव विकासमा सुधार गर्न प्राविधिक तथा व्यावसायिक शिक्षा पनि उत्तिकै आवश्यक रहेको प्रतिवेदनको निष्कर्ष छ । 
प्रतिवेदन सार्वजनिक गर्र्दै उपाध्यक्ष पोखरेलले सन् २०२२ सम्ममा मुलुकलाई अतिकम विकसित राष्ट्रबाट विकासोन्मुखमा स्तरोन्नति गर्न आर्थिक वृद्धिदर नौ प्रतिशत पु¥याउनु पर्ने तथा अहिलेको प्रतिव्यक्ति वार्षिक आयमा तीन गुणाले वृद्धि गर्नुपर्ने चुनौती रहेका बताए । प्रतिवेदनले औंल्याएका सुधारका क्षेत्रलाई आत्मसात् गर्ने तथा सुझाव योजनामा समाहित गर्ने प्रतिवद्धता पनि उपाध्यक्ष पोखरेलले गरे । हाल नेपालीको वार्षिक आय सरदर सात सय २१ अमेरिकी डलर छ । 
सहायक महासचिव हाओलियाङले जलस्रोतको अधिकतम उपयोग, उत्पादनमूलक क्षेत्रमा अधिक लगानी, पूर्वाधार विकास, शिक्षामा सबैको पहुँच सुनिश्चित गर्दै रोजगारीका थप अवसर सिर्जना गर्नुपर्नेमा जोड दिए । भने, ‘रोजगारी तथा कुल गार्हस्थ्य उत्पादनमा कृषि क्षेत्रको प्रभावशाली योगदान छ, यसैमा सरकारले विशेष ध्यान दिनुपर्छ । कृषिलाई थप उत्पादनमूलक, आधुनिक र रोजगारी दिने क्षेत्रका रुपमा विकसित गर्न धेरैभन्दा धेरै लगानी गर्नैपर्छ ।’
उनले प्रत्यक्ष वैदेशिक लगानी आकर्षित गर्न नेपाल सरकारले सुशासन, विधिको शासन, जवाफदेहिता, करार कार्यान्वयन र श्रम कानुनसम्बन्धी विषयलाई गम्भीर भई तत्काल सम्बोधन गर्नुपर्नेमा जोड दिए । प्रतिवेदन लेखन समूहका प्रमुख एवम् राष्ट्रिय योजना आयोगका पूर्व उपाध्यक्ष पीताम्बर शर्माले मानव विकास सूचकांकका विशेषता, तथ्यांक विश्लेषण, तयारीका आधारबारे जानकारी गराएका थिए । आयोगका सदस्य–सचिव सोमलाल सुवेदी र यहाँस्थित राष्ट्रसंघका आवासीय समन्वयकर्ता जेमी म्याकगोल्डरिकले समान अवसरको सुनिश्चिताबाटै मानव विकासका लक्ष्य प्राप्त गर्न सकिने विचार व्यक्त गरे । 
हामी अहिले पनि मानव विकासको बहसमा अल्झिएका छौं । दक्षिण एसियाका ८ मुलुकमा नेपाल अन्तिम दोस्रो मुलुक हो जहाँ मानव विकासको सूचांक कमजोर छ । त्यसपछि अफगानिस्तान हो । अवको मानव विकास सूचाङ्क र गरिब मुलुकबाट धनी बन्नका लागि के गर्ने ? राजनीतिक संक्रमणका कारण मानव विकास हुन नसकेको प्रतिवेदन सार्वजनिक गर्ने क्रममा पुष्टि सहित व्याख्या गरिएको छ । चेतनाको स्तर राजनीतिमा मात्र होइन, आर्थिक रुपमा हुनुपर्छ भन्ने मान्यताको विकासका लागि पनि सहि र गैरभ्रष्ट राजनीतिक व्यवस्था आवश्यक छ, जुन मोदीबाट प्रभावित भएको भारतको नयाँ व्यवस्थाले पाठ सिकाउने छ । विश्वअर्थतन्त्रका दुई ठूला मुलुकको देखासीकी गरेन भने अवपनि मुलुक कमजोर हुनेछ । हामी यो सूचांक बोकेर टेलिभिजन खोल्नेछौं र नयाँ आर्थिक समृद्ध भारतको स्थिति देखेर चियागफमा अलमलिनेछौं । त्यसकारण भारतबाट सिक्नुपर्ने राजनीतिक, आर्थिक र विकासका अनेक पाटोहरुको बारेमा हामी गम्भिर भएनौं, नेपाली राजनीतिक दलहरु प्रभावित भएनन् भने नेपालको विकासको लक्ष्य कमजोर हुनेछ, नेपाली गरिब हुनेछन् ।  

Friday, May 16, 2014

मेरो समाज, तिम्रो ‘सोसाइटी’

घरिघरि लामखुट्टेले कानमा बजाएको धुन, साङ्लाहरुले फोहोर कोठाभित्र आफ्नो साम्राज्य खोस्रेको समय, छिमेकीको घरमा हाँसोको बहारले मेरो एकत्रित ध्यानलाई चुँडाइरहेको छ । तर रात वेगमा हिँडिरहेको छु । सेकेण्डको सुइरो चलेको थाहा छ– खस्य्राक, खस्य्राक । कति फन्को मारिसक्यो विचरा सुइरोले ? शेलीको प्रत्युत्तर अहिलेसम्म पनि झरेन । यो अटेर रात, विहानको छेऊ नपुग भन्दा पनि झन वेगले हुत्तिन्छ– बुद्धम शरणम् गच्छामीका स्वरहरु मिलाउनुपर्ने थियो होला, वत्ती धिपधिपीएको थाहा छैन तर चन्द्रमा मधुर हुन थाल्यो ।
साइबर लभ–१९ 

‘तिम्रो सोसाइटिमा मोलीको प्रेमको रंग अहिले पनि उत्रिएको छैन । सम्भवतः मोलीको मृत्युसँगै त्यो प्रेमको एउटा रंग धुमिल हुनेछ । तर, मेरो समाजमा हरेक दिन प्रेमको हत्या भइरहेको छ । यस्तो भौतिक र क्रुर समाजभित्रबाट म तिम्रो सोसाइटिमा मनको बह पोखिरहेको छु ।’, मैले शेलीको इनबक्समा अकास्मात लेखिदिएँ,‘आज फेरि प्रेमहत्या भयो, मेरो नेपालमा । तिम्रो पश्चिमा मुलुकमा प्रेमको जयजयकार होला ।’
शेलीको प्रत्युत्तर, उनको व्यवाहार आजभोली त्यति गतिलो छैन । उनी छिनमा आउँछिन् र छिनमा विलाउँछिन् । अध्यारोमा आउने र उज्यालोमा हराउने उनको यो बानी बस्नुले कतै उनी मबाट टाढा हुन खोजेकी त हैन ? भन्ने त्रासको अनुभुत हुन्छ । जस्तो मध्यरातमा मसानघाटमा चलेको हावासँग उव्जिएका अनेक तरंगहरु वरिपरि छन् । जस्तो, सुनसान जंगलमा आफ्नै छायाँले सुशेली मारेर तर्साएको छ । यद्यपि निरन्तर उनलाई म यो खबरको आशयबारे इमले लेखिरहेको छु, इनबक्समा खसाइरहेको छु । 
खबर आयो– जिल्लातिर राम भन्नेल विष्णु भन्ने आफ्नी श्रीमतिको हत्या ग¥यो । मैले यसअघि शेलीलाई भनेको थिएँ– एक प्रेमीले प्रेमिकाको नाक र जिव्रो काट्यो । उनी आतंकित भइन्, रिसाइन र मसँग तर्किने प्रयत्न गरिन् । तर, फेरि आएको यो खबरमा उनको प्रतिक्रिया के हुनेछ ? समाचारका पोर्टलहरुमा लेखिएको छ– श्रीमान्द्वारा श्रीमतिको हत्या । समाचारकक्षमा म उही खबरभित्र घोत्लिरहेको छु । 

कसको नियतमा खोट थियो ? कसको व्यवाहारमा दाग थियो ? प्रेममा भावनात्मक सम्बन्धसँग जोडिएको हुन्छ, बदनियतको कारण ? विष्णुको नियतमा खोट थियो की रामको आवेगमा दोष थियो ? कानुनन् राम दोषी भइसक्यो । तर, विष्णुको व्यवाहार धमिलो थियो । प्रहरी भन्छ– विष्णुको चरित्र ठीक थिएन । रामले विदेशमा कमाएको पैसा अर्कैसँग लागेर सकेको आरोप रामले लगाउने गरेको थियो । विष्णु रामको सम्पत्तीमाथि अर्कोलाई रमाइलो गराउँथी । रामले केही समयअघि प्रहरीमा उजुरी दिँदा प्रहरीले विष्णुलाई नियन्त्रणमा लिएको थियो । पछि प्रहरी चौकीमा गएर ५ वर्षकी बालिकाकी आमा आफ्नी श्रीमती स्वीकारेका थिए रामले ।

रातको गति निक्कै तिव्र छ । जुनेली रातको गति झनै तिव्र हुँदो रहेछ दिनभन्दा । शेलीका इनबक्समा खबरको टुक्राहरु जेडिरहँदा मध्यरात नाघिसकेको पत्तो पाउन मुस्किल । घरिघरि लामखुट्टेले कानमा बजाएको धुन, साङ्लाहरुले फोहोर कोठाभित्र आफ्नो साम्राज्य खोस्रेको समय, छिमेकीको घरमा हाँसोको बहारले मेरो एकत्रित ध्यानलाई चुँडाइरहेको छ । तर रात वेगमा हिँडिरहेको छु । सेकेण्डको सुइरो चलेको थाहा छ– खस्य्राक, खस्य्राक । कति फन्को मारिसक्यो विचरा सुइरोले ? शेलीको प्रत्युत्तर अहिलेसम्म पनि झरेन । यो अटेर रात, विहानको छेऊ नपुग भन्दा पनि झन वेगले हुत्तिन्छ– बुद्धम शरणम् गच्छामीका स्वरहरु मिलाउनुपर्ने थियो होला, वत्ती धिपधिपीएको थाहा छैन तर चन्द्रमा मधुर हुन थाल्यो । मेरा आँखामा चिप्रा टाँसिने प्रयत्न गरिरहेका छन्, शेलीका आँखा कता छन्, मैले पत्तो लगाउन सकिन । मेरा हातहरु कम्प्युटरमा जोतिएका थिए कतिवेला आँखाले आराम खोजेछन् पत्तो लगाउन सकिएन । 
०००
इन्टरनेटको संसारमा अनौठा कुरा पाउनु नयाँ कुरा हुन छाड्यो । विश्वका हरेक कुनामा हुने हरप्रकारका संस्कारको बेलीविस्तार इन्टरनेटले गराउँछ । उदाउँदो पश्चिमा शैलीले काठमान्डूलाई अछुतो कहाँ राखेको छ र ? आधा शताव्दि यहाँ विवाहका लागि उत्तम समय मान्न थालिएको छ । अनि, शेली पनि त्यहि ठान्छिन् होला । मैले सोधेको छैन उनलाई कि विवाहका लागि कुन उमेर ठिक हो ? यो त मुल्यांकन हो, एक नेपाली अभिनेत्रीको विवाहको समय र प्रख्यात अभिनेताको फरक–फरको विवाह तर उस्तै उमेरको घोषणामाथि ।
सम्बन्धको विस्तार भनेको प्रेमको हुन्छ । प्रेम उमेरका आधारमा हुँदैन । बारम्बार म यो कुरामाथि असहमति राख्दै आएको मानिस होइन । तर, सहमतिबीचमा पनि शेलीको सोसाइटीले दिएको सन्देश मेरो समाजका लागि कति प्रभावकारी छ ? म अन्तरमनमा प्रश्न उठाइरहेको छु । 

शेलीको जवाफ हेर्नका लागि इन्टरनेट कोट्याउँदैछु । क्रुर, सेलफिस, डिमान्डेड भइन शेली, सायद । त्यसकारण उनको जवाफ मैले पाउन सकेको छैन, आज । एन्जोलिनाका एसएमएस र इमेलको थुप्रो लागेको छ । जसरी म शेलीलाई सन्देशका थुप्रोहरु पठाइरहेको छु, एन्जोलिनाका थुप्रोहरु त्यसरी लागेका छन् । कुराकानी गर्दैजाँदा मजधारमा भेटिएकी एन्जोलिना, जे भन्यो त्यहि मान्न तयार छिन् । उनका लागि त मैले प्रेमको बहार फरफराए हुन्छ, उनी बस त्यति चहान्छिन् । तर, मेरो मन चैतको काफलमा लागेका कारणले शेलीको विकल्प कहाँ रोज् सक्छु र । ‘वी क्यान च्याट आफ्टर सम वीक, आइएम भेरी फार फ्रम काठमान्डू, इन रिमोट एरिया’, एन्जोलिनालाई मैले यस्तो इमले ठेलें । इन्टरनेटका अन्य पाताहरु पनि पल्टाइरहेको छु । निरन्तर इन्टरनेट ब्वाई जस्तो आझ गुगलका अनेक पाताहरु, लिंकहरुमा आएका अनेक पोष्टहरु खोतलिरहेको छु ।  
०००
कक्षाकोठामा एक शिक्षिका आफ्ना सवै कपडा उतारेर सयौं बिद्यार्थीका अघि गुप्ताङको प्रयोग गरिरहेकी छिन् । उनी भनिरहेकी छिन्– नानीहरु, यसो गर्नुपर्छ, यसो गर्दा आनन्द आउँछ, यसो गर्दा कामुक भइन्छ । अमेरिकाको सिकागोको नर्थवेस्टर्न विश्वविद्यालयमा छात्राहरुको कक्षामा शिक्षिका लाइभ सेक्स प्रर्दशन गरेकी छन् । हातमा नक्कली लिङग लिएकी ती शिक्षिकाले सेक्स गरेझै गरि कक्षाकोठामा टोयसँग प्ले गरिरहेकी छिन् । 

इन्टरनेटको कमाल । त्यो शेलीको सोसाइटीतिरको नयाँ शिक्षा शैली थियो । यस्ती शिक्षिका नेपाल भए त्यसको के हुने थियो । नेपाली समाजले उनलाई नांगो बनाएर सडकमा बहुलाजस्तो राखिदिने थियो, सायद । म पढिरहको छु इन्टरनेटको त्यो सोसाइटीको कथा । अगाडी थपिएको छ– महिलाले यस्तो चतिर्कला देखाइरहँदा त्यहाँ एक बिश्वबिद्यालयकी शिक्षिका र एक सयभन्दा बढी केटीहरु थिए । छात्राहरुको अगाडि सेक्स टोय प्रयोग गरेकी फेन्थ क्रोलले अखबारमा पनि भन्न भ्याएकी रहिछ । उसले भनेकी छ– म यो प्रदर्शनबाट खुसी छु । उनीहरुले मलाई ध्यान दिएर हेरिरेहका थिए र मलाई उनीहरु ध्यानमग्न भएको देखेर आनन्द लागिरहेको थियो ।

म शेलीको जवाफ हेर्नका निम्ति बारम्बार इनबक्स चेक गरिरहेको छु । तर, उत्तर अहिलेसम्म पनि आएको छैन । प्रश्न के थियो विर्सने समय भइसक्यो । तर, शेलीले मेरो कुराको जवाफ फर्काइन । कतै व्यस्त भई या उसको एटिट्युडमा परिवर्तन आयो ? म आज फेरी उसँग संवादहिन कुराकानी गरिरहेको छु । उसलाई अर्को इमले लेखिरहेको छु ।

शेली, मेरो समाजमा श्रीमति हत्याराको कहानी तिमीलाई लेखेको थिएँ । अनि, तिम्रो सोसाइटिमा फेन्थ क्रोलको कहानी पनि पढें । तिमी पढ्न चहान्छौं भने पढ । यस्तो छ तिम्रो सोसाइटी । अनि, अघिल्लो पानामा उत्रिएर हेर्नु, मेरो समाज यस्तो छ । तिम्रो र मेरो विचारको तह फरक हुनसक्छ । तर, संवेदनाको तह त उस्तै होइन र ? यद्यपि, मेरो समाज, तिम्रो सोसाइटी र प्रेम हत्या भनेको फरक फरक घटनाहरु हुन् । यी घटनाहरुमाथिको विश्लेषणले हाम्रो प्रेमिल जीवनमा के असर गर्छ र ? यदि गर्ने भन्ने तिमीलाई लागेको भए, मलाई पत्र कोर । त्यो पत्रको पर्खाइमा म निरन्तर रहनेछु । 

विहानीको घामको किरण देख्न पाइन । शेलीलाई पत्र लेख्दा त्यो रात सकियो अनि अर्को सन्देश छाड्दा विहानी सकियो । दिउँसो सुरु भएको सन्देश मोवाइल फोनमा आइसक्यो । ‘आज जीवन र मृत्यु भन्ने कविता सुन्नु छ, प्रेम र संवेदना भन्ने विश्लेषण सुन्न छ, कतिबेला जाने ?’, विपुलको यस्तो म्यासेज पाएपछि म भौतिक जिन्दगीको यात्रामा हिँडेको छु । सम्भवतः आजको रात शेलीको जवाफ आउनेछ । 

Monday, May 12, 2014

कोइरालाको उर्जाप्रेम

विनोद ढकाल 
मुलुक उर्जा संकटबाट गुज्रिरहेको व्यवाहारिक पक्षमा राज्य कहिलेपनि चेतनशिल हुन सकेन । पहिलो संविधानसभाको निर्वाचन पछि बनेका सरकारहरु आफू टिक्ने काममा अध्यस्त हुँदा नयाँ लगानीको वातावरण बन्न सकेन । राजनीतिक खिचातानीमा दलहरुले मुलुक दलदलमा फँसाएका कारण निकासका लागि दोस्रो संविधानसभाको निर्वाचन भयो र अहिले कांग्रेस सभापति सुशिल कोइराला नेतृत्वको सरकार बनेको छ । 


संगठन र राजनीतिक रुपमा कोइराला सरकार निक्कै कमजोर भएको टिप्पणी स्वभाविक नै हो । राजनीतिक निकासका लागि कोइराला सर्वदलीय सहमतिको खोजीमा छन् । यसरी प्रशासनयन्त्र चल्न कठिन हुने सम्भावना एकातिर होला तर कोइरालाका अन्य प्राथमिकता मध्येको उर्जा प्राथमिकता प्रशंशनीय छ । उनले जुन हिसावले मुलुकलाई उर्जा संकटबाट निकाल्नका लागि काम थालेका छन्, बोलेका छन् सम्भवतः यस विषयमा उनी सफल भएभने यहि नै उनको लोकप्रियताको कारण बन्नेछ । जनताले दैनिक जीवनको पाटोलाई संवेदनशिल र गम्भिर भएर नियाँलिरहेका हुन्छन् । यसबीचमा कोइरालाले जनजीविकाको सवालमा अन्धकारबाट मुक्तिको खोजीमा चालेका पाइला, दिएका निर्देशन र केही हदसम्म बढेका कामहरुले उनको राजनीतिक भविष्यलाई सुरक्षित बनाइरहेको छ । दलभित्रबाट उनको जति विरोध भएपनि जनताबाट प्रशंशा पाउने काम गरेभने उनको राजनीतिक जीवनको उत्तरार्धको समय सुखद र आनन्दमय हुनेछ । 
कोइराला चिन्तित छन्– मुलुक कति समयसम्म अँध्यारो हुने ? कोइराला आशावादी छन्– जडिबुटीको व्यापार र लगानीको वातावरण भए मुलुक विकासको गतिमा चल्नेछ । कोइराला ठान्छन्– विकासका लागि मुलुक अहिलेपनि भर्जिनल्याण्ड हो, यहाँ लगानीका लागि विदेशीहरुको लर्को लागेको छ । कोइराला विश्वस्त छन् आफ्नो प्रशासनयन्त्रमा कि उनी लगानीको वातावरण बनाउनका लागि पहल गर्नेछन् । तर, सवैभन्दा पहिले सुरक्षाको व्यवस्था र त्यसपछि उर्जा संकटको अन्त्यबाट विकासको मुल फुटाउन सकिन्छ, कोइरालालाई यस्तो लागिरहेको छ । जे लागिरहेको छ, त्यो नै व्यवाहारिक सत्य हो र जनअपेक्षा पनि हो । कोइरालाको बोली जति प्रतिशत बुझिएपनि जनताले बुझेका छन्, कोइराला उर्जामा लगानी गर्ने वातावरणतिर लम्किरहेका छन् । उनलाई सहयोग गर्नुपर्ने आम जनताले बुझेका छन् । 
कोइरालाले विकासका लागि उर्जाको लगानीमा कहिलेपनि नजरअन्दाज गरेका छैनन् । सानादेखि ठूला र देशी देखि विदेशीसम्मका उर्जा अपेक्षासँग उनी साक्षात्कारमा छन् । युरोपेली मुलुक नर्वेले सुरक्षा पाए नेपालमा जलविद्युतको क्षेत्रमा लगानी गर्ने जनाएपछि कोइराला त्यो लगानीका लागि सुरक्षा दिन तम्तयार छन् । 
प्रधानमन्त्री कोइराला र नर्वेली प्रतिनिधिमण्डलबीच जलविद्युत् लगानी सम्बन्धमा बालुवाटारमा भेटवार्ता भयो । नर्वेकोे अन्तर्राष्ट्रिय जलविद्युत् क्षेत्रको दक्षिणपूर्वी हेर्ने वरिष्ठ उपाध्यक्ष टिमा लायर उट्ने नेतृत्वको प्रतिनिधिमण्डलले नेपालमा लगानी गर्नका लागि प्रधानमन्त्री कोइरालासँग भेट गरेको थियो । भेटवार्तामा नर्वेली प्रतिनिधिमण्डलले नेपालमा ऊर्जालगायत क्षेत्रमा अपार सम्भावना भए पनि लगानीका लागि अझै उचित वातावरण निर्माण हुन नसकेको गुनासो गरेको थियो । प्रधानमन्त्री कोइरालाले भने दोस्रो संविधानसभाको निर्वाचनपछि नेपाल शान्ति र स्थायित्वतर्फ उन्मुख भएकाले ढुक्क भएर लगानी सुरक्षित गर्ने बताएका थिए । 
नेपालका लागि नर्वेली राजदूत जेल टर्माेड पिटर्सन, हिमाल पावर लिमिटेडका महाप्रबन्धक टम क्रिस्चियन लर्सन र निर्देशक सन्दीप शाहले प्रधानमन्त्रीलाई भेटेका थिए । त्यहाँ प्रधानमन्त्री कोइरालाले स्पष्ट भने– उर्जा लगानीमा जस्तोसुकै सुरक्षा दिनेछु, ढुक्क भएर आउनुहोस् । कोइरालाले यतिमात्र गरेका होइनन्, उनको निर्देशनमा उर्जामा लगानी गर्नेलाई छुटको व्यवस्था पनि गरेका छन् । उनले मुलुक अन्धकारबाट बच्न सक्छ भने १५ वर्षसम्म उर्जामा भएको लगानीमा राज्यमा रकम जम्मा गर्नुपर्छ भन्ने अडान राख्न नहुने समेत जनाए र सहुलियतका विभिन्न आधारहरु तय गर्न निर्देशन पनि दिएका थिए । जसअनुसार वैदेशिक लगानीमा अगाडि बढ्न लागेका ठूला जलविद्युत् आयोजनाका प्रवद्र्धकलाई दिइने भनिएको छुटका विषयमा लगानी बोर्डले सहमतिको आधार तय गरिसकेको छ । विद्युत आयोजनाका लगानीकर्तालाई आयकर छुट, मूल्य अभिवृद्धि कर (भ्याट) छुट तथा भन्सारलगायतका विषयमा छुट दिने तयारी गरेको थियो । बोर्डले ५०० मेगावाटभन्दा ठूला जलविद्युत् आयोजनाका प्रवद्र्धकहरुको मागअनुसार नै ती विषयमा के गर्ने भन्ने सम्बन्धमा सहमतिको प्रारम्भिक आधार तयार पारेको हो । बोर्डका सहसचिव मुकुन्द पौडेलका अनुसार आयोजना सञ्चालनमा आएको १० वर्षसम्म कुनै पनि आयकर नलिने र १० वर्षपछि आगामी १५ वर्षसम्म आयकर ५० प्रतिशत मात्रै लिने भएको छ ।
२०८० सालसम्म उत्पादन सुरु गर्ने आयोजनाको हकमा पनि सोसम्बन्धी छुटको व्यवस्था गरिने छ । यस्तै निर्माण सामग्री आयात गर्दा लाग्ने भन्सारमा अर्थ मन्त्रालयसँगको सहमतिमा करिब ५० प्रतिशत छुट दिने प्रक्रिया अगाडि बढाइने भएको छ । सो सम्बन्धमा ठोस विवरण तयार पार्नका लागि अर्थ मन्त्रालयका उपसचिव चण्डीप्रसाद दाहालको संयोजकत्वमा लगानी बोर्ड र विद्युत् विकास विभागका सिनियर डिभिजन इन्जिनियर सदस्य रहेको एक समिति समेत गठन गरिएको छ । सो समितिलाई तीन दिनभित्र भन्सार छुटको विषयमा के कति छुट दिन सकिने हो सो सम्बन्धमा प्रतिवेदन दिन भनिएको छ । बोर्डले ९०० मेगावाट क्षमताको माथिल्लो कर्णाली, ९०० मेगावाटकै अरुण तेस्रोलगायत आयोजना अगाडि बढाएको छ । ती आयोजनासँग परियोजना विकास सम्झौता(पिडिए)को तयारी समेत गरेको छ । आयकर, भ्याट र भन्सार छुटको विषयमा सहमति हुने वित्तिकै पिडिएको प्रक्रिया अगाडि बढ्ने छ । ती आयोजना भारतीय निर्माण कम्पनीले अगाडि बढाउने तयारीमा रहेका छन् । 
यस्तो तयारी सुखद् हो । लगानीकर्ताको आकर्षणले अहिले दैनिक १२ घन्टाका दरले खेपीरहेको लोडसेडिङको अन्त्यको दिर्घकालिन योजनामा कोइराला सफल बन्न सकुन् । जसले गर्दा उर्जा संकटका कारण संकटग्रस्त बनेको मुलुकको अर्थव्यवस्थामा सुधार आउनसक्ने सम्भावना छ । मुलुकका दुई छिमेकीहरु चीन र भारत संसारका पहिलो र दोस्रो अर्थतन्त्रका प्रभावशाली मुलुकका रुपमा उदाइरहेका बेला ती दुई मुलुकसँगमात्र सीमा जोडिएको नेपालको हविगत कमजोर बन्न हुँदैन । सरकारी लगानी होस् वा विदेशी लगानी त्यसले मुलुकमा उत्पादनको काममा टेवा पु¥याए, नेपाल सुन्दर र विकसित मुलुक हुनेमा शंका छैन । विकासले मुलुकको अर्थतन्त्रबृद्धिमा सहयोग गर्दछ । विकासविना मुलुकको आर्थिकस्तर उकासिनेमा शंका स्वभाविक हो । एउटा संकटले उव्जाएका अनेकौं क्षेत्रको संकटका कारण जनता दिनप्रतिदिन गरिब भइरहेका बेला एउटा संकट टार्दामात्र पनि सवै समस्या हल हुनसक्ने सम्भावनालाई कोइरालाले आत्मसाथ गरेका छन् । कोइरालाको उर्जाप्रेम विभिन्न समस्याको समाधान हुनसक्छ । विद्युतको समस्या भएका कारण मुलुकमा विद्युतिय बस बन्द छन्, पेट्रोलियमको खपत ज्यादा हुँदा संकटको सामना भइरहेको छ । उद्योग, कलकारखाना समयमा नचल्दा नेपाली मजदुर परदेशतिर लागिरहेका छन् । लगानीका लागि मान्छेहरु डराउने गर्दा तरलता पनि जाम भइरहेको स्थिति छ । हरेक घर अँध्यारो हुँदा जनतामा निराशा पैदा भएको छ । यी सवै कुराको अन्त्यका लागि पनि पहिलो पाइला नै उर्जा संकट समाधान नै हुनुपर्छ भन्ने कोइरालाको ठम्याई विल्कुल जायज छ । कोइरालाको उर्जाप्रेम जनताको अपेक्षाको किरण हो, कोइराला सरकारको सफलताको कारण पनि बन्नसक्छ । त्यसकारण उनमा यो उत्साह सदैव जागिरहोस्– उर्जा लगानीमा कोइराला सरकार सफल बन्नुपर्छ । 

Sunday, May 11, 2014

प्रेमिको सम्पत्ती : प्रेमिकाको नाक र जिब्रो

साइबर लभ–१८

प्रेम हत्या हुनसक्तैन । प्रेम समर्पण हुनसक्छ । प्रेम आत्महत्या हुनसक्छ । तर, परहत्या हुने कुरा म मान्दिन । ‘आज एक प्रेमी भनिनेले प्रेमिकोको नाक साक काटिदिएछ’, निक्कै समयपछि अनलाइनमा उत्रिएकी सेलीलाई कुनै औपचारिकता विना यो सन्देश ठेलिदिएँ 


स्वार्थभित्र संवेदनाको राग कति हुन्छ र ? अझ बस्तुगत स्वार्थभित्रको सवालमा भन्ने हो भने संवेदनाको सामान्य राग पनि भेटिन्न । त्यसकारण भौतिक सुखसँग जोडिएको प्रेम अनुराग होइन । शेलीलाई निरन्तर मैले यो सुनाइरहन्छु । अनुराग हुनका लागि बृद्ध मोलीको प्रेमीसँगको जस्तो आकर्षण हुनुपर्छ । न त्यहाँ सेक्सको अपिल छ न सम्पत्तिको । त्यहाँ केवल एकअर्काबीचको भावनात्मक सहयात्राको गुञ्जायसमात्र छ । मृत्यु नजिक हुँदा मोलीलाई किन चाहियो प्रेम ? किनभने उनी सहयात्रीको मायामा केही समय बाँच्ने अपेक्षा राख्छिन्, प्रेमसँग । मृत्युलाई केही वर्ष धकेल्न चहान्छिन्, भावनात्मक, संवेदनात्मक छायाँको ढालले ।

कम्युट्र खुल्लै छ, वर्षा चढ्लाजस्तो बसन्तमै आकाश कालो हुन थालेको छ । दिन घर्किदो छ । झ्यालका पल्लाहरु हावाका झोँकासँग घरिघरि हल्लिन्छन् । सिरर्र हावाले लामो कपाल उडाइरहेको छ, आँखातिर छोप्नेगरी । सहकर्मीहरु कम्यप्युटरमा वेगले आफ्ना औंलाहरु बजारीरहेका छन् । हज्जारौं अक्षरहरुको संयोजनले फेरिपनि एउटा आकारको अखबारको तयारीको काम दैनिकजस्तै चलिरहेको छ । समाचार एक पछि अर्को विषयमा आइरहेका छन् । प्रेमको नयाँ परिभाषाको बारेमा सोचिरहेको बेला मेरा आँखामा फरक समाचार आइलाग्छ– प्रेमीले प्रेमिकाको नाक र जिव्रो काटिदिए ।

आम्मै । यो कस्तो समाचार ? यो कस्तो प्रेम ? यो कस्तो घटना ? यदि प्रेम नै थियो भने किन जिव्रो र नाक काटेर यातना दिनु ? त्यो भन्दा भयानक यातना त प्रेम तोडिदिएको भए हुनेथियो, धोका दिएको भए हुनेथियो नि । घटनाको बोक्रासँग मेरो विश्लेषण र टिप्पणी अन्तरमनमा चलिरहेको छ । ‘दाई यो समाचार हेर्नुभयो ?’ उही विषयको चिर्कटो बोकेर मेरा सहकर्मी नजिक आउँछन् । ‘हेरें, सुने र पढे पनि ।’ मेरो उत्तर थियो ।
‘दाई समाचारको खास कुरो त अर्कै रहेछ नि । प्रेम गर्दा रहेछन् दुवै, प्रेमिकाले प्रेमीसँग पैसा लिएको रहेछ, नदिएपछि यस्तो भएछ ।’
प्रेममा वैभवको कुनै औकात हुँदैन । द्रव्यले प्रेम खरिद गर्न सकिने हुँदैन । ‘त्यसो भए यसलाई प्रेम भन्न मिल्दैन ।’ मैले भने । प्रेम त शेलीसँग मैले गरेको छु । शेलीको अनुहार देखेको छैन, शेलीको रुपको बारेमा थाहा छैन । बस, एउटा शेली भन्ने पात्र छ, उसँग निरन्तर कुराकानी हुन्छ, अनेक कुराकानी भइसक्यो, अनेक जीवनका प्रहरहरुको लहरो गाँसिसक्यो । त्यसकारण यसलाई प्रेम भन्छु । बस, अखबारका लागि आउने समाचारको चिर्कटो सत्य छ भने त्यो प्रेम होइन । त्यो हवस, महत्वकांक्षा र अवसरवादको नमूना थियो, त्यसको परिणाम पनि भयानक भएको पाइयो ।
प्रेम हत्या हुनसक्तैन । प्रेम समर्पण हुनसक्छ । प्रेम आत्महत्या हुनसक्छ । तर, परहत्या हुने कुरा म मान्दिन । ‘आज एक प्रेमी भनिनेले प्रेमिकोको नाक साक काटिदिएछ’, निक्कै समयपछि अनलाइनमा उत्रिएकी सेलीलाई कुनै औपचारिकता विना यो सन्देश ठेलिदिएँ । ‘ओह माई गड । कहाँको के भएको ?’ उसको प्रश्न स्वभाविक थियो । सवै विस्तारमा उसलाई सुनाएँ । ‘केटाहरु यस्तै हुन्छन्, स्वार्थी ।’ घटनाको समिक्षा गर्दै उनको प्रहार मतिर थियो । मैले यहि विषयमा उत्तर दिने के ? ‘कस्तो स्वार्थी ? को स्वार्थी ? त्यो आइमाइले पैसा खाएको नतिरेको र प्रेमका नाममा दिएको धोकाचाँही कारण थिएन ? प्रहार ठूलो थियो कि, त्यसको खास कारण ठूलो हो ?’ मेरो उत्तरसँग प्रश्न पनि थियो ।
‘आई डन्ट नो, केटाहरु स्वार्थी हुन्छन् त्यतिमात्र थाहा छ ।’
‘कसरी स्वार्थी हुन्छन् ?’ मसँग कड्किएकी शेलीसँग उत्तर छैन । ऊ जवाफहिन भइसकेकी छ । ऊसका अगाडी स्वार्थ पुष्टि गर्ने आधारहरु छैनन् । उनीसँग अथाह प्रेम गर्छु भनेर दाबी गरेको मान्छेले ऊसँग केही माग गरेको छैन । डिमान्डेवल छैन, उसको साइबर लभर । मागेको छ भने मात्र संवेदनाहरुको पोको फुकाएर एक मुट्ठी माया, एक पित्को प्रेमिल भावना । कुराकानीको समय लामो भएको छैन तर शेली फेरि हराईन् वर्षामा परेको हिउँजस्तो, तराइमा झरेको असिना जस्तो ।

०००

‘चराहरुले गरेका छन्, मौरीहरुले पनि गरेका छन्, उपियाँहरुले त गरेका छन् । आऊ हामी पनि गरौं, आऊ हामी पनि प्रेममा परौं ।’ हावा कुन दिशातिरबाट चलेको छ, कुनै प्रवाह छैन । मनोरञ्जनको साँझ हुनसक्छ । मन्द नशामा उमालिएको छ मन अनि मन्द नशामा अत्तालिएको छ, तन पनि । शेली, आई मिस यु । शेली आई किस यु । शेली आई वान्ट यु । सवै शव्दहरु झरेका छन् । ओठ बर्बराएर, जिव्रो लरबराएर भएपनि झरेका छन्, आज ।
वडो गजवको छ सहर । यहाँको कहानी फरक छ । यहाँको प्रेमको रहस्य खुल्न निक्कै कठिन छ । मान्छेहरुको कल्पना र सोच्ने शैली भन्दा पृथक छ, सहरको कथा । यहि कथाहरुभित्रको अर्को कथा बनिरहेको छु म अनि मेरी शेली । प्रेमका नयाँ झन्कारहरुको बारेमा ताजा खबरहरु आइरहेका छन् । प्रत्येक खबरको अन्तर्निहित कथा प्रेम सम्बन्ध नै हुन्छ । प्रेममा धैर्यरता पनि निक्कै लामो हुँदो रहेछ, सहरका नयाँ खबरहरुको विश्लेषण गरिरहेको छु । शेलीलाई यस्तो उदाहरण पनि सुनाउनुपर्छ, उनमा रहेको प्रेमको अंकुरको धैर्य गर्ने क्षमता कति छ ? सोध्नेछु । म उसको पर्खाइमा कम्युप्टरको स्क्रिनतिर आँखा नझिम्क्याई बसीरहेको छु ।
जव मान्छे मायाँमा बाँधिन्छ अनि उसका सपनाहरु भन्दा पनि सुन्दर वास्तविकताहरुको महसुस गर्दछ । कल्पनामा रमाउनुको प्रेमको आनन्द काल्पनिक बाट जव यथार्थमा हुन्छ, मान्छेको हौसला र आनन्दको कुनै सीमा हुँदैन । सवै कुरा थाहा पाउने, सवै कुराको जानकारी राख्ने, सवैकुराको ख्याल गर्ने र विनाकारणको आशक्ति देखाउनेहरु पनि प्रेममा हुन्छन् । शेलीसँगको मेरो सामिप्यता, शेलीसँको मेरो आशक्ति कारणशुन्य भएकाले पनि त्यहाँ स्वार्थ छैन, उनले कसरी सोचेकी छिन्, दैव जानुन् ।