Friday, May 23, 2014

उनको इमेल, मेरो भूगोल र सुसाइड नोट

साइबर लभ–२० 

प्रेममा अर्को हृदयको झन्कार बुझ्न नसक्नु कमजोरी सावित हुनेछ । असली प्रेम गरेका कारण तिम्रा हरेक झन्कारहरु मैले बुझेको छु तर मेरो झन्कारहरुलाई फगत प्रयोगवादी, उपयोगवादी विश्वको एउटा सामान्य विषय लाग्यो होला तिमीलाई । त्यो फगत होइन । तिमी सत्यबाट टाढा भागेकी छौ, म यथार्थहरुको स्वीकारोक्तिमा उन्मुक्त हुँदैछु ।


‘मलाई नसोध कहाँ दुख्छ घाउ...’ ब्याकग्राउन्डमा नारायण गोपाल निरन्तर उही शैलीमा बजिरहेका छन् । सुनसान अन्धकार रातमा केही बटुवा खित्तिएको आवाज पनि आइरहेको छ । ट्याक्सी टुप्पी बालेर हुइँकिरहेका छन् । सिंहदरबारको भित्तो सँधैजसो मलाई नियाँलिरहेको होला । बेगले दौडेका कार मादक पदार्थ सेवन कारबाहीमा पर्ने सशंकीत भावमा होलान् । उराठलाग्दो पैदलयात्रा प्रहरी बिटनजिक पुगेको छ । जँड्याहाहरु भित्तोमा ‘सु....सु...’ गर्न तल्लीन छन् । नशाको आडमा मुलुक हाँक्ने कुरामा अभ्यस्त सुनिन्छन् । मेरो ध्यान शेलीको प्रतिक्रियासँग केन्द्रित छ । सायद, आजराति उनले मलाई प्रतिक्रिया दिएकी होलिन् । म के लेखुँ फेरि उनलाई ? प्रश्नोत्तरमा अलमलमा सडकमा पाइला छिचोल्दैछु ।
‘तपाईंको र मेरो विचार मिल्दैन’, शेलीको इमेल झरेको छ कम्प्युटरको भित्तोमा, ‘विचारको तह मिल्दैन, सहरको रीत मिल्दैन, प्रीत किन मिलिरहेको छ ?’ उसको इमेलको पहिलो सेन्टेन्सले टेन्सन बनायो । ‘समाज र सोसाइटीका कुरा होइनन्, मानिसका मनका विचार र विवेचनाको क्षेत्रको कुरा हो ।’ उसले अगाडि लेखेकी छ, ‘म आजभोलि काममा बिजी छु, मौका मिले च्याटमा कुरा गरौँला, यो नेपाल होइन जतिबेला पनि म अनलाइन आइरहनसक्ने, यहाँ खान काम गर्नुपर्छ, फुर्सद कम हुन्छ । सी यु, बाइ ।’ म निरन्तर मेरा व्यस्ततालाई छिचोलेर, पर सारेर शेलीका लागि अभ्यस्त भइरहेका बखत उसका निकै अमिलो रेस्पोन्स झरेको छ । मानिसहरु निक्कै तरलतामा सोच्छन्, सतहमा बाँचेका हुन्छन् । मानसिकता नै समवेदनाहीन छ, मुलुकप्रति । नेपाल निक्कै फुर्सदिलो मुलुक, यहाँ नाचेर, हाँसेर डुलेर खान पुग्छ । यहाँ काम गर्नुपर्दैन । यहाँ आराम पनि गर्नुपर्दैन । यो बेरोजगारहरुको टापु हो । बेरोजगारहरुको पहाडको थुप्रो हो । त्यसैले यो थुप्रोबाट समुद्रकिनार नजिक पुगेकाहरु भन्छन्, ‘त्यहाँजस्तो यहाँ फुर्सद हुँदैन ।’ यी आम र साझा मान्छेको भिडमा साझा उत्तर, साझा विचार, हेयको दृष्टिले शेलीको जवाफ आएको छ । यो फुर्सदको सदुपयोग कहिल्यै थिएन, व्यस्तताको ढाकछोप पनि थिएन, शेलीसँगको मेरो प्रेम । अहिले पनि उही गतिमा, उही क्षेत्रफलमा, उही प्रकाशमा शेलीसँग म निरन्तर प्रेममा अभ्यस्त छु । उसलाई नेपाली मनबारे मेरो प्रत्युत्तर अनिवार्य छ । मेरा भावनामा विम्ब नहुन सक्छन्, समवेदनाको प्रयोगमा चढाव नहुन सक्छ । मैले नेपाली भूगोलमा भेटेको, देखेको यही कम्प्युटरबाट शेलीका लागि अर्को इमेल लेख्ने कोसिसमा छु । 
हावाको बेग ठूलो छ, बाहिर । झ्यालका पल्लाले हावाको गतिको मापन गरिरहेका छन् । हुत्तिएर कोठाभित्रै छिरौँलाझैँ गरिरहेका छन् । बिजुली धिपधिप गर्दैछ । बेग गर्जेर पानी पर्लाजस्तो छ । कुत्ताहरु फेरि पनि भुक्न छाडेका छैनन्, मान्छेहरु आफ्ना आफ्ना झुपडीमा छिरिसकेका छन् । कोही रातको मजामा रुमल्लिएका होलान्, कोही रातको नशामा डुबेका होलान् । परतिर कोही यातनामा तड्पिएजस्तो आवाज आइरहेको छ । जे होस्, यी सबैतिर ध्यान केन्द्रित छैन, मैले शेलीलाई मेल लेख्नुछ । उसलाई जवाफ दिनुछ, यतिमात्र । 
०००
प्रिय शेली,
मलाई थाहा छैन, तिमीलाई मेरो सम्बोधन पनि नेपाली लाग्नसक्छ । फुर्सदको सम्बोधनजस्तो लाग्ला यो ‘प्रिय ।’ तर, यो निक्कै व्यस्तताको प्रिय हो । यो थकानपछि लेखिएको प्रिय हो । यो व्यस्तता भंग भएपछिको प्रिय होइन । यो व्यस्ततामा तिमीप्रति आशक्ति भएको प्रिय हो । 
जब जीवनमा सयवटा आँसु झार्ने कारण तिमीसँग हुन्छन्, देखाउने प्रयत्न गर तिमीसँग हाँस्ने खुसी हुने कारण हजारभन्दा ज्यादा छन् । तिमी सबैका सामु हर्षविभोर भएर बसिदेऊ, तिम्रा शत्रुहरु कमजोर सावित हुनेछन् । उनीहरु आत्मरति गरिरहँदा आत्मपीडामा पनि जल्नेछन् । तर, तिमी मसँग रिसायौ । मलाई थाहा छ, म तिम्रो असल प्रेमी हुँ । 
मान्छेको जीवन अचम्मको हुन्छ । मैले मृत्युको मुखमा रहेर हाँसो छाड्नेहरु कम देखेको छैन । आँसुसँग लत्पतिएर मृत्युलाई पर्खिरहेकाहरु पनि उत्तिकै देखेको छु । तर अन्त्यमा कति सास आफूले लिएको भनी गन्नेहरुको भिडमा ती सासहरुले कति समवेदनाहरुको भार बोक्यो, कति भावनाहरुको फ्ल्यासब्याक समेट्यो भन्नेहरु पनि देखियो । ती अन्तिम सासहरुको कुनै भूगोल नहुँदो रहेछ । मान्छे त मेरो भूगोलमा पनि मर्छ, तिम्रो भूगोलमा पनि मर्ने रहेछ । मेरो जन्मन्छ, तिम्रोमा पनि जन्मने प्रक्रियाको अन्त्य भएको रहेनछ ।
प्रेममा अर्को हृदयको झन्कार बुझ्न नसक्नु कमजोरी सावित हुनेछ । असली प्रेम गरेका कारण तिम्रा हरेक झन्कारहरु मैले बुझेको छु तर मेरो झन्कारहरुलाई फगत प्रयोगवादी, उपयोगवादी विश्वको एउटा सामान्य विषय लाग्यो होला तिमीलाई । त्यो फगत होइन । तिमी सत्यबाट टाढा भागेकी छौ, म यथार्थहरुको स्वीकारोक्तिमा उन्मुक्त हुँदैछु । मेरो इमेलमा अगाडी लेखेँ, ‘बारम्बार, हरेक बार, निरन्तर, एकतर्फी रुपमा ।’
कसैलाई भेट्नु, प्रेम गर्नु, समवेदना र भावनाको अपेक्षा राख्नुको अर्थ हुँदो रहेछ अरुमा आफू खोज्नु । सम्भवतः प्रेमको फरक पहिचान हुनसक्ने लक्षण यो पनि होला । मैले यस्तो तिमीसँग भोगेको, महसुस गरेको आधुनिक तथ्य हो ।
जीवनको यात्रामा हामी कहाँ आइपुग्यौ । परिचयपछिका कति यात्राहरु सँगै भए । सम्बन्धका मझेरीहरु भौतिक नदेखिएपनि भावनात्मक रुपमा कति फराकिलो थियो ? यी कुराहरु कति एनालाइसीस गरेकी छौ ? मेरो यो फिलिंसलाई कत्तिको बुझेकी छौ ? हामी कति पटक मिसअन्डरस्ट्यान्डिङमा उभिएका थियौँ ? विगततिर एकपटक फेरि फर्किन मन लागेको छ । तिमी आफुपनि यो कुरालाई विश्लेषण गर । म तिम्रो उत्तरको प्रतिक्षामा छु । 
०००
रात बिहानतिर आइसक्यो । दिउँसोको झझल्कोलाई एकपटक फर्किएर हेर्ने मनसाय छ । निद्रा पटक्कै छैन । मन बेचैन छ । हावाका बेगका चालहरु कमजोर हुँदैछन् । सुस्त सुस्त हुन थालेका छन् । आज साँझ मेरो समाचारकक्षलाई सम्झिएँ । मेरो समाचारकक्षमा उत्रिएको त्यो खबरलाई विश्लेषण गरेँ । त्यो प्रेमको अमरत्वलाई कसले स्वीकार गर्ने ? 
नयाँ खबर, ताजा खबर, प्रेम विवाह स्वीकार नहुने अवस्था आएपछि सुसाइड नोट लेखेर जोडीद्वारा आत्महत्या । शेलीका लागि मैले पठाउने अर्को खबर थियो । तर, उसको इमेलको प्रत्युत्तर यो समाचार पक्कै थिएन । मेरो समाजको यो खबर जसले उनको सोसाइटी र मेरो समाजको खाडलको प्रमाण दिने थियो । तर, उनी यो स्वीकार गर्छिन् र ? 
अन्तर्जातीय विवाह गरेर घरबाट भागेका दुई जना एउटै रुखमा झुन्डिएर आत्महत्या गरे । उनीहरुको शव फेला परेको थियो । परिवारले अन्तर्जातीय विवाह स्वीकार नगरेपछि कृष्ण कामी र लक्ष्मीदेवी ओलीले एकै रुखमा झुन्डिएर आत्महत्या गरेको अवस्थामा फेला परे । दुवै जनाले प्रेममा फसेर अन्र्तजातीय विवाह गर्न पुगेको र परिवारले स्वीकार नगर्ने भएपछि आत्महत्यालाई रोज्नु एकमात्र विकल्प भएको उनीहरुसँग फेला परेको सुसाइड नोटमा लेखिएको थियो । त्यो सुसाइड नोट जहाँ प्रेमविरोधीको प्रशंसा छ । जहाँ प्रेमकै लागि नयाँ सीमा छ । प्रेमका लागि निक्कै बाधाहरु रहेको उल्लेख छ । त्यहाँ प्रेम छ, जहाँ मृत्युपनि सहज स्वीकार छ । बाँचेर माया नपाएकाहरु मरेर मायाँ पाउने मानसिकताले आफ्नो हत्या गर्न पुगे, सुसाइड नोटमा छ । प्रेम भौतिक हुनेहरुसँग मात्र हुनेछ र ? प्रेम मृत्युमा पनि रहेछ । के यो सत्यलाई शेली बुझ्ने प्रयत्न गर्थिन् ? उनका लागि रोमियो जुलियटको कथा यथार्थ हुनसक्छ, उनले हेय गरेको यो भूगोलको कथा मन नपर्न सक्छ । शेली के स्वीकार्न सक्छिन् ? शेली मोलीको प्रेम स्वीकार्न सक्छिन्, मैले बुझेको त्यो मोलीको प्रेम । बिछ्यौनामा कोल्टे फेरेर फेरिपनि विचारमा तल्लीन छु, बिहानले छोप्न लागेको छ । आँखा तिरमिर–तिरमिर भएका छन्, निद्राले कतिबेला छोप्यो, सहर अफिस जान हतारमा देखिन्छ । 

No comments:

Post a Comment