Sunday, May 18, 2014

छिमेकी राजनीति, हाम्रो विकास सूचांक

चेतनाको स्तर राजनीतिमा मात्र होइन, आर्थिक रुपमा हुनुपर्छ भन्ने 
मान्यताको विकासका लागि पनि सहि र गैरभ्रष्ट राजनीतिक व्यवस्था आवश्यक छ, जुन मोदीबाट प्रभावित भएको भारतको नयाँ व्यवस्थाले पाठ सिकाउने छ

विनोद ढकाल

जनताको एजेन्डा राजनीतिक दलको जीतको प्रमुख आधार हुन्छ । भ्रष्टाचारले आक्रान्त पारेको राजनीतिक दलहरु त्यसबेला आश्चर्यचकित हुन्छन्, जतिवेला उनीहरुले नसोचेको परिणामको पक्षमा जनताको मतपरिणाम सार्वजनिक हुन्छ । भारतको लोकसभा चुनावको मतपरिणामले दिएको सन्देश नेपाली राजनीतिमा प्रमुख दुई कारणका लागि पर्याप्त देखिन्छ । पहिलो, भ्रष्टाचार राजनीतिको संरक्षणमा भयो भने जनता त्यसको विकल्पका लागि सँधै तयार हुन्छ । राजनीतिक दलहरुले पाँच वर्षको वलमा जति भ्रष्टाचार गर्छन्, त्यसपछि जनताले निर्णय दिन सक्नेछन् । अर्को, फुत्त कुनै खास मुद्दामा आउने तर त्यसको सैद्धान्तिक मान्यता पुष्टि गर्न नसक्ने र महत्वकांक्षा ज्यादा राख्नेको पनि विकल्प जनताले तयार पारिसकेका हुन्छन् । भारतको लोकसभा निर्वाचनको परिणाम आउँदै गर्दा सत्तामा रहेको भारतीय कांग्रेस र सत्ताको तिव्र महत्वकांक्षमा झुण्डिएको आम आद्मी पार्टीको होस उड्यो । जवकी लोकसभामा विपक्षी दलका रुपमा रहेको भारतीय जनता पार्टी एक्लैले स्पष्ट बहुमत ल्यायो र उसको टिमले विपक्षी बन्न तयारहरुले थेग्नै नसक्ने जीत हासिल ग¥यो ।
भारतीय जनता पार्टीद्वारा आगामी सरकारको प्रधानमन्त्रीका लागि अघि सारिएका नेता नरेन्द्र मोदीले भारतीय नागरिकमा अब खुसीका दिन आउन लागेको बताए । उनले आफ्नो ट्विटर अकाउन्टमा लेखेका छन्, ‘अब खुसीका दिन आउँदै छन्, अब भारतीय नागरिकमा खुसीका दिन आउँदै छन् ।’
उनको दलले भारतमा बहुमत हासिल गर्नेतर्फ उन्मुख भइरहेका बेला शुक्रबार मध्याह्न उनले सो प्रतिक्रिया दिएका थिए । उनको दलले विजयउन्मुख भएपछिको पहिलो प्रतिक्रिया भएको भारतीय सञ्चारमाध्यमले जनाएका थिए । ‘भारतले जितेको छ, खुसीका दिन आउँदै छन्,’ मोदीले आफ्नो ट्विटर अकाउन्टमा शुक्रबार मध्याह्न लेखेका थिए । 
उनले गुजरातमा रहेकी आफ्नी आमासँग आशीर्वाद लिन जानुअघि ट्विटर अकाउन्टमार्फत सो प्रतिक्रिया दिएको समाचारमा जनाइएको छ । गान्धीनगर उनको गृहनगर हो । अन्ततः उनले जुन लेखे त्यसको पुष्टि भयो । मोदी बुधबार प्रधानमन्त्री पदको सपथ ग्रहण गर्दैछन् । मोदीसँग राजनीतिक चरित्र छ । उनलाई तीस वर्ष यताकै महानायकका रुपमा परिभाषित गरिएको छ, राजनेताका रुपमा व्यख्या गरिएको छ । भारतीय जनता पार्टीको बर्चश्वसहितको बहुमतका लागि मोदी एक्ला नेता भएको पनि व्याख्या गरियो । अवका उनका बाटाहरु सजिला छैनन् तर उनी अप्ठ्यारो परिस्थितिका साधक हुन् । समस्यामा बसेर समस्या समाधान गर्नसक्ने क्षमता भएका व्यक्ति हुन् । त्यसका लागि उनले बनाएको गुजरात राज्यको विकासको प्रशंशा नै काफी छ । विश्वअर्थतन्त्रमा अघि बढिरहेको मुलुकका लागि विकासविचारी मोदीको जीत र नेतृत्व फलदायीमात्र होइन, विश्वअर्थतन्त्रका लागि पनि निक्कै प्रभावकारी रुपमा व्याख्या गरिन थालिएको छ । ‘मैले अमेरिकासँग कहिलेपनि भिसा मागिन, जव मलाई भिसा आएन मैले प्रण गरें, अमेरिकीहरु भारत आउनका लागि भिसाको लाइनमा बसुन् ।’ यो मोदीको विचार थियो । सम्भवतः यो विचारलाई पुष्टि गर्ने काम उनले गर्दैछन् । किनभने राम्रो दिन आउँदैछ भन्ने उनको राजनीतिक र चुनावी नारा थियो ।
भारतको राजनीतिबाट नेपाल निक्कै प्रभावित हुने गरेको छ । तीनतिर घेरिएको छिमेकीमात्र होइन अनेक हिसावल नजिक रहेको छिमेकी मुलुकका नामले पनि भारतको निर्वाचन र नेतृत्वको प्रभाव नेपालमा प्रत्यक्ष र परोक्ष छ । तर, भारतीय नागरिक जस्तो कहिले हुने हो नेपाल ? भारतको राजनीति जस्तो नेपालमा कहिले हुने हो नयाँ राजनीति र विकासका मुद्दाको प्रधानता ? यी प्रश्न छन् । भर्खरै नेपालको मानव विकास सूचाङ्क सार्वजनिक भयो । 
राष्ट्रिय योजना आयोग र राष्ट्रसंघीय विकास कार्यक्रम (युएनडिपी) द्वारा संयुक्तरुपमा तयार पारिएको सन् २०१४ को नेपाल मानव विकास प्रतिवेदन सार्वजनिक भयो । 
संयुक्त राष्ट्रसंघका सहायक महासचिव एवम् राष्ट्रसंघीय विकास कार्यक्रमका सहायक प्रशासक तथा एसिया–प्रशान्त क्षेत्रीय ब्युरोका निर्देशक हाओलियाङ झु र राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. गोविन्दराज पोखरेलले प्रतिवेदन सार्वजनिक गरे । 
‘भूगोल भन्दा पर मानव सम्भावना खोज्दै’ शीर्षकको प्रतिवेदनले सर्वसाधारणको सीप विकास, क्षेत्रीय एवम् समूहगत विभाजन घटाउँदै कृषि र युवामा भारी लगानी गर्नुपर्नेमा जोड दिएको छ । सुदूर र मध्य पश्चिमका पहाडी भेग र पूर्वाञ्चलका पहाडी इलाकामा बसोबास गर्ने नेपालीमा प्रशस्त सम्भावना भएपनि शिक्षा, स्वास्थ्यलगायत आधारभूत आवश्यकतामा समान पहुँच नहुँदा सन्तुलित विकास हुन नसकेको प्रतिवेदनले जनाएको छ । 
प्रतिवेदनअनुसार मानव विकास सूचकांकमा काठमाडौं जिल्ला प्रथम स्थानमा छ भने सुदूरपश्चिमको बाजुरा सबैभन्दा पछि परेको छ । भौगोलिक असमानतामात्र नभई सामाजिक समूह, लिंग र घरपरिवारको हितका आधारमा पनि विभेद कायम रहेकाले नेपालको विकासमा त्यसलाई बाधकका रुपमा प्रस्तुत गरिएको छ । 
युवा शक्तिले नेपालको आर्थिक विकासमा योगदान गर्न सक्ने प्रशस्त सम्भावना रहेकाले कृषि क्षेत्रको व्यावसायिकीकरण, महिला शिक्षा, सडकजस्ता पूर्वाधारमा पहँुच विस्तार अपरिहार्य भएको प्रतिवेदनले औंल्याएको छ । मानव विकासमा सुधार गर्न प्राविधिक तथा व्यावसायिक शिक्षा पनि उत्तिकै आवश्यक रहेको प्रतिवेदनको निष्कर्ष छ । 
प्रतिवेदन सार्वजनिक गर्र्दै उपाध्यक्ष पोखरेलले सन् २०२२ सम्ममा मुलुकलाई अतिकम विकसित राष्ट्रबाट विकासोन्मुखमा स्तरोन्नति गर्न आर्थिक वृद्धिदर नौ प्रतिशत पु¥याउनु पर्ने तथा अहिलेको प्रतिव्यक्ति वार्षिक आयमा तीन गुणाले वृद्धि गर्नुपर्ने चुनौती रहेका बताए । प्रतिवेदनले औंल्याएका सुधारका क्षेत्रलाई आत्मसात् गर्ने तथा सुझाव योजनामा समाहित गर्ने प्रतिवद्धता पनि उपाध्यक्ष पोखरेलले गरे । हाल नेपालीको वार्षिक आय सरदर सात सय २१ अमेरिकी डलर छ । 
सहायक महासचिव हाओलियाङले जलस्रोतको अधिकतम उपयोग, उत्पादनमूलक क्षेत्रमा अधिक लगानी, पूर्वाधार विकास, शिक्षामा सबैको पहुँच सुनिश्चित गर्दै रोजगारीका थप अवसर सिर्जना गर्नुपर्नेमा जोड दिए । भने, ‘रोजगारी तथा कुल गार्हस्थ्य उत्पादनमा कृषि क्षेत्रको प्रभावशाली योगदान छ, यसैमा सरकारले विशेष ध्यान दिनुपर्छ । कृषिलाई थप उत्पादनमूलक, आधुनिक र रोजगारी दिने क्षेत्रका रुपमा विकसित गर्न धेरैभन्दा धेरै लगानी गर्नैपर्छ ।’
उनले प्रत्यक्ष वैदेशिक लगानी आकर्षित गर्न नेपाल सरकारले सुशासन, विधिको शासन, जवाफदेहिता, करार कार्यान्वयन र श्रम कानुनसम्बन्धी विषयलाई गम्भीर भई तत्काल सम्बोधन गर्नुपर्नेमा जोड दिए । प्रतिवेदन लेखन समूहका प्रमुख एवम् राष्ट्रिय योजना आयोगका पूर्व उपाध्यक्ष पीताम्बर शर्माले मानव विकास सूचकांकका विशेषता, तथ्यांक विश्लेषण, तयारीका आधारबारे जानकारी गराएका थिए । आयोगका सदस्य–सचिव सोमलाल सुवेदी र यहाँस्थित राष्ट्रसंघका आवासीय समन्वयकर्ता जेमी म्याकगोल्डरिकले समान अवसरको सुनिश्चिताबाटै मानव विकासका लक्ष्य प्राप्त गर्न सकिने विचार व्यक्त गरे । 
हामी अहिले पनि मानव विकासको बहसमा अल्झिएका छौं । दक्षिण एसियाका ८ मुलुकमा नेपाल अन्तिम दोस्रो मुलुक हो जहाँ मानव विकासको सूचांक कमजोर छ । त्यसपछि अफगानिस्तान हो । अवको मानव विकास सूचाङ्क र गरिब मुलुकबाट धनी बन्नका लागि के गर्ने ? राजनीतिक संक्रमणका कारण मानव विकास हुन नसकेको प्रतिवेदन सार्वजनिक गर्ने क्रममा पुष्टि सहित व्याख्या गरिएको छ । चेतनाको स्तर राजनीतिमा मात्र होइन, आर्थिक रुपमा हुनुपर्छ भन्ने मान्यताको विकासका लागि पनि सहि र गैरभ्रष्ट राजनीतिक व्यवस्था आवश्यक छ, जुन मोदीबाट प्रभावित भएको भारतको नयाँ व्यवस्थाले पाठ सिकाउने छ । विश्वअर्थतन्त्रका दुई ठूला मुलुकको देखासीकी गरेन भने अवपनि मुलुक कमजोर हुनेछ । हामी यो सूचांक बोकेर टेलिभिजन खोल्नेछौं र नयाँ आर्थिक समृद्ध भारतको स्थिति देखेर चियागफमा अलमलिनेछौं । त्यसकारण भारतबाट सिक्नुपर्ने राजनीतिक, आर्थिक र विकासका अनेक पाटोहरुको बारेमा हामी गम्भिर भएनौं, नेपाली राजनीतिक दलहरु प्रभावित भएनन् भने नेपालको विकासको लक्ष्य कमजोर हुनेछ, नेपाली गरिब हुनेछन् ।  

No comments:

Post a Comment