बे्किङन्युजका पछि लाग्दा नेपाली पत्रकारिता अतिरञ्जित, भनाइमा आधारित, सतही तर्कको बलमा मात्र चलिरहेको छ / तथ्यको गहिराई, सत्यको खोजी र किटान गरी लेख्नसक्ने हुन सकेको छैन ।
उदेक लाग्छ-जब डेस्कमा बसेर समाचारहरुको संकलन गरी पृष्ठ सजाउने काममा तल्लिन हुनुपर्छ । अन्य अखबारहरु बढ्यो, समाचारको ढाँचा र आकार देखिन्छ, समाचार देखिँदैन । राजनीतिक दलका आन्तरिक कलह, आन्तरिक छलफल र तयारी गरेको निर्णयको बारेमा समाचारहरु पढिन्छ । जण्डिसले दोस्रो सहरमा नागरिकहरु मरिरहेका छन्, त्यसको उपचार र रोकथामको उपायबारे त्यत्ति पढ्न पाइएन आजको अखबारमा । पढ्न पाइयो नयाँ कुरो, नागरिक दैनिकमा अलिक फरक पाएँ ।
नेपाली पत्रकारिताका क्रममा नागरिक दैनिकले जुन समाचार प्रकाशन गरेर दुर्नाम कमाउने र नकारात्मक टिप्पणीको सामना गरिरहेको थियो, सोही समाचारका विषयमा उसले माफी मागेको छ । उक्त पत्रिकाका प्रधानसम्पादकले उही स्थानमा क्षमा दान माग गरेको सन्देश छापे । नेपाली पत्रकारितामा यो विरलै हुने प्राविधिक निर्णय भयोे, सम्पादकले प्रथम पृष्ठको मुख्य ठाउँमा क्षमा मागेको उति साह्रो छापेको पाइँदैन ।
दिलशोभा श्रेष्ठको समाचारको विषयमा नागरिक दैनिकले आफ्नो कमजोरी स्वीकार ग¥यो । प्रहरी, प्रशासन र छानविनको समयलाई पर्खियो । सम्भवतः अव दिलशोभाको छविको बारेमा सारा दुनियाँ भ्रममा छैनन् । किनभने जुन व्यक्तिको बाइलाइन समाचारले दिलशोभाको चरित्रमाथि प्रहार भएको थियो, उनैको बाइलाइनमा दिलशोभा निर्दोष भन्ने समाचार उहि ठाउँमा प्रकाशन भइसकेको छ । दिलशोभाले क्षणिक प्रत्युत्तर दिएकी छन्– अब मेरो मन हलुका भयो । उनको अर्थ हो, नागरिक दैनिकको भुललाई उनले माफ गरेकी छन् । अब कुनै कानुनी प्रकृया अघि बढाउने छैनन् । सम्भवतः उनको भनाइको आशयः त्यहि हुनुपर्छ, पंक्तिकारको अनुमान मात्रै हो । समाचारका कारण दिलशोभालाई निक्कै ठूलो समस्या परेको थियो । समाजसेवाका क्रममा उनले अहिलेसम्म नभोगेको कठिन परिस्थितिको सामना गर्नुप¥यो ।
तर, सँगसँगै उनीसँग नागरिकभन्दा प्रभावशाली मिडिया ‘कान्तिपुर’ प्रतिरक्षामा उत्रिएको थियो । अन्य केही मिडियाहरु पनि प्रतिरक्षामा उत्रिएका थिए । उनीमाथि लागेको अभियोग वा दोष प्रमाणित हुन सक्तैन भन्ने आम मानिसले विश्लेषण गरिसकेका थिए । तर, सो प्रकरणको जुनप्रकारको उचाई थियो त्यसले एउटा पत्रकारलाई भने अतिरञ्जितको शिकारमात्र बनाएन, उसको कमजोरीलाई निमोठेर ठूला ठूला स्तम्भहरु लेखिए । उसलाई धम्कीको शिकार बनाइयो । उसको कमजोरीमाथि पत्रकारिताका पिता ठान्नेहरुबाट भयानक प्रहार भयो । र, ऊ केही समय सम्पर्कविहीन हुनुप¥यो, सामाजिक सञ्जालहरुमा रहन सकेन र फोनहरु प्रयोग गर्न सकेन । त्यसको क्षतिपूर्तिको बहस नगर्दा राम्रो होला । घटनाले एउटा सरल अवतरण गरिरहेको छ । तर के ठूला मिडिया हाउसहरु सूचनाका व्यापारमात्र गर्छन् र ? कि ठूलै प्रयोगमा पनि उत्रिन्छन् ? नेपोलियन वोर्नापार्टले भनेका थिए– एउटा मिडिया भनेको ४० हजार सेना भन्दा पनि ताकतवर हुन्छ । सम्भवतः यहि ताकतको नकारात्मक र सकारात्मक दुवै पक्षको बहसभित्र लुकेको छ व्यापार र प्रयोग । नेपाली पत्रकारिताको व्यापार ९० हज्जार सेनाको भन्दापनि ठूलो ताकतका रुपमा देखाउने प्रयत्न हुँदैछ ।
प्रविधिको विकाससँगै मानव विकासको उचाइपनि विस्तारै बढिरहेको छ । एउटा मान्छे विश्वका कुनैपनि सुचनाबाट निमेषभरका लागि पनि टाढा छैन, अहिले । हात हातमा भएका सेलफोनहरुमा विश्वका दरिला र निमेषका खबरहरु प्राप्त हुन्छन् । यो परिस्थितिमा पुगेको सञ्चारबारे आम नागरिक जानकार छन् । नागरिकसँगै गलत मनसाय भएको सामान्य झुण्ड, प्रयोग गर्न जान्नेहरुको जमात र मिडियाको उपयोगबाट राजनीतिक, सामाजिक र आर्थिक लाभ लिने समुदाय झनै तिव्र रुपमा सक्रिय छन् ।
सञ्चारगृह विशुद्ध व्यावसायीक प्रतिष्ठान हो । तर, यो व्यावसायीक प्रतिष्ठानको शक्तिको बारम्बार दुरुपयोग हुने गरेको छ । कहिँ पत्रकारहरुलाई अतिरञ्जित पारेर नाफा लिने झुण्ड छन्, कहिँ पत्रकार भएका नाममा नाफा लिने समूह छ । तर, सवैभन्दा ठूलो कारोबारचाँही मिडिया मालिकको नाममा हुने गरेको छ । यसका प्रमाणका आधारहरु प्राप्त गर्न कठिन हुन्छ तर विश्वव्यापी मिडिया प्रयोगको सवालमा यस्तो भएको पाइन्छ । भारतको जी न्युजका सम्पादकसँगै मालिकसम्म एक सय करोडकोको खेलमा जेलसम्म पुगे । नेपालमा रहेको हिमालय टेलिभिजनका सञ्चालक र पत्रकार मिलेर रकम माग गरेको खबर अर्को ठूलो मिडियाको मुख्य खबर बनेको थियो ।
सूचनाका लागि ‘टेलिफोन ह्याकिङ’ र प्रहरीलाई घूस दिएको आरोप लागेपछि बेलायती पत्रिका न्युज अफ द वल्र्डले २०६८ असार २६ मा उसको अन्तिम संस्करण प्रकाशन गरी जाँचका लागि पत्रिका बन्द गरेको थियो । प्रकाशक संस्था न्युज इन्टरनेसनलले यसको अन्तिम संस्करण निकाल्ने घोषणा गरेको थियो । १६८ वर्र्षको इतिहास बोकेको पत्रिकालाई आतंककारी हमलाका पीडित परिवार, मारिएका स्कुले बालिका, राजनीतिकर्मी तथा सेलिब्रिटीहरु गरी करिब चार हजारजनाको गोप्य रुपमा फोन टेप गरेको आशंका गरिएको छ ।
यही विषयलाई लिएर बेलायतका तत्कालिन प्रधानमन्त्री डेविड क्यामरुनले दुइटा सार्वजनिक जाँचको घोषणा गरेका थिए । जसको नेतृत्व न्यायाधीशले गरेका थिए । पहिलो जाँच न्युज अफ द वल्र्डले गरेको टेलिफोन ह्याकिङ र प्रहरीलाई दिएको भनिएको घूस बारेमा भएको थियो भने बेलायती समग्र पत्रकारिताको सिद्धान्तबारेमा दोस्रो जाँच भएको थियो । अष्ट्रेलियली नागरिक मिडिया टाइकुन रवर्ट मुर्डकले चलाएको बेलायती पत्रिकाले अपनाएको समाचार संकलनको तरिका, त्यसमाथि भइरहेको जाँचपड्ताल र पत्रिका बन्दको घोषणाले विश्वको पत्रकारितामा एउटा हलचल नै मच्चाइदिएको थियो । तर बेलायतको जस्तो नेपालमा पत्रकारिताको सिद्धान्तको विषयमा कहाँ कुरा हुन्छ र ? यहाँ शक्तिको आडमा मिडियाहरु टिक्छन् । चाहे समाचारको विश्वसनियतामाथि नै किन प्रश्न नउठोस् ।
विहानै अखबारमा ९२ लाख रुपैंया भेट्टाएर बुझाएको कपोकल्पित उपयोगवादी समाचारले राष्ट्रपतिसम्मलाई झस्क्याउँछ, हतारो बनाउँछ, प्रतिक्रियाका लागि । अनि, दिलशोभा प्रकरणमा पनि यस्तै हतारो गर्छन्, पत्रकारिताका ‘माइबाप’ ठान्नेहरु । ति प्रकरणमा पत्रकारिताको सिद्धान्तका बारेमा किन कसैले लेखेनन् ? प्रत्युत्तर किन दिएनन् ? प्रतिरक्षा किने गरे ? लेखाई, मबाट सुरु हुन्छ र ममै समाप्त हुन्छ । तर, आधुनिक युगको पत्रकारिता त्यो होइन । तिमीबाट सुरु हुने पत्रकारिता तिमीमा सीमित छैन, अब । तिमीबाट सुरु भएको पत्रकारिता अव विश्वका सवै पाठकका सामु छ । तिमीबाट तिमीमा टुंगिदैन । त्यहाँ समाचारको खोजी हुन्छ । सूचनाको जानकारी होइन, समाचारको खोजी हुन थालेको छ ।
एउटा मालिकको गीत गाउने र अर्कोलाई गाली गर्ने प्रवित्ति सामाजिक परिवेश बनिसकेको छ । एउटालाई खराब देखाएर आफु राम्रो देखिने परम्परागत सोचको तिव्रताले राजनीति, समाज र पत्रकारिता धुमिल हुन थालेको छ । नीति, नियम र सिद्धान्त, भावना संवेदना र रक्षाका कुराहरुमा ठूलाठालू पत्रकारहरु कमजोर भएको यसबीचमा पाइएको थियो । दिलशोभा प्रकरणले केही पत्रकारहरुलाई सतहमा खुलेर एकआपसमा लेखयुद्धमा उत्रिएको पनि पाइयो । के हामी यो पत्रकारिता सिक्दैछौं ? हामी तर्कवितर्कको पत्रकारिता सिकिरहेका हौं ? न्याय, मानवअधिकार, जनताको न्युनतम आवश्यकताको पहिचान, भुगोलको दुख, गरिबको यथार्थसम्मको पत्रकारितामा हामी कहिले पुग्नेछौं ?
पत्रकारिता तथ्यको आधारमा हुन्छ । सत्यको दाबीमा हुन्छ । तर्कको बलमामात्र हुँदैन । बे्रकिङन्युजका पछि लाग्दा नेपाली पत्रकारिता अतिरञ्जित, भनाइमा आधारित, सतही तर्कको बलमा मात्र चलिरहेको छ, तथ्यको गहिराई, सत्यको खोजी र किटान गरी लेख्नसक्ने हुन सकेको छैन । हरेक अखबार, हरेक टेलिभिजन, हरेक अनलाइनहरुको समाचार जम्माजम्मी ‘बताउनुभयो, बताए वा भन्नुभयो’मा सीमित छ । यो पत्रकारिता कहिलेसम्म ?
No comments:
Post a Comment