Friday, November 21, 2014

‘जेनियस’को सुसाइड ‘जिन’

वंशानुगत कारणले मानसिक रुपमा नै कुनै न कुनै झन्कार पैदा गरेको हुन्छ, आत्महत्या गर्ने परिवारमा पनि यस्ता सोचहरुको विकास हुँदै आउँछ र परिणाम पनि देखिने अधिक सम्भावना रहन्छ
प्राडा, जाकारी क्यामिन्सकी
मानसिक रोग विशेषज्ञ, हपकिन्स विश्वविद्यालय, अमेरिका 

विनोद ढकाल
एउटा जेनियस डाइरेक्टरको सहज अन्त्यले धेरैलाई दुखि बनायो । भावुक नेपाली चलचित्र र संगित क्षेत्रका लागि यो विश्वासयोग्य कुरा रहेन । स्वभाविक पनि थियो कम अध्ययन र कारणहरु जान्ने यो क्षेत्रका हिरो, हिरोइन, मोडेल, संगितकार र गीतकारका लागि चलचित्र, म्युजिक भिडियो निर्देशक आलोक नेम्वाङको आत्महत्या असहज भयो, विश्वासयोग्य रहेन । एक जेनियस डाइरेक्टर, जसले अधिकमत युवतीहरुलाई फिल्मी क्षेत्रमा प्रवेश गरायो, धेरै केटाहरुलाई सेलिव्रिटी बनायो । उ राम्रो कुरा गथ्र्यो, हँसाउँथ्यो र रमाइलोसँग काम गर्दथ्यो । एक्कासी उसले आत्महत्या गर्ने कारण के थियो त ?
आत्महत्याका अनेक कारण हुनसक्छन् । केही मान्छेहरुले अनुमान र अड्कलका आधारमा धेरै कुरा गरे । तर, अध्ययन र विश्लेषणले अनुमान र अड्कलबाजीलाई गलत सावित पनि गर्न सक्दछ । ‘धेरै पटक मरेर बाँच्नुभन्दा एक पटक बाँचेर मर्नु उपयुक्त हुन्छ’, प्रहरीले भेट्टाएको नेम्वाङको सुसाइड नोटले पनि धेरै कुरा खोल्दछ । कतिपय फिल्मी भँगेराहरुले नेम्वाङ आत्महत्यालाई आफ्नो प्रमोशनको कारण बनाए, आत्महत्यालाई रहस्यमय हत्या पनि भन्दै प्रचारवाजी गरे । तर त्यो आत्महत्या नै थियो भन्ने हरेक टेस्टहरुले प्रमाणित भए नभएको भन्नेबारे नेपाल सरकारको प्रविधि र अनुसन्धानले पनि प्रमाणित गरेन ।
टोखास्थित अपार्टमेन्टमा आत्महत्या गरेको अवस्थामा भेटिएका जेनियस डाइरेक्टर नेम्वाङले आत्महत्या गर्नुको खास कारण उनीसँगै लगिसके । तर, जे भेटियो त्यसको आधारमा हुने अनुसन्धान अनुमानको आधारमा हुनेछ । तर, यो घटनालाई विश्लेषण र विश्वव्यापी अध्ययनका रुपमा पनि हेर्न जरुरी देखिन्छ । ‘अनुसन्धान हुँदैछ, यो आत्महत्या नै भएको ठहरिएको छ, अन्य सहायक कारण देखा परेको छैन’, महानगरीय प्रहरी अनुसन्धान अधिकृतहरुले भनेका छन्,‘अझै हामी बुझिरहेका छौं ।’ प्रहरीका लागि अनुसन्धान गर्ने अन्य पाटोहरु खास छैन । एकथरी अधिकारीहरु भन्छन्,‘यो केस डिसमिस नै हो, किनभने सुसाइड नोटभन्दा प्रभावकारी प्रमाण के हुन सक्छ र ? पोष्टमार्टमले पनि त आत्महत्या भन्यो ।’

करिअरको सुरुआती दिनहरुमा मोडेल, पूर्व मिसनेपाल तथा नायिक झरना बज्राचार्यसँग प्रेम सम्बन्धमा रहेको भनिएका ४१ वर्षीय आलोक पछिल्लो समयमा उनीसँग टाढिएका थिए । ‘यो वियोग पनि उनको आत्महत्याको कारण हुनसक्छ’, उनी नजिकका साथीहरुको अनुमान छ,‘उनका अनेक चाहना र प्रकृतिका विषयमा पनि कुरा भइरहेका छन् तर ति सवै आधिकारीक हुन या होइनन् भन्न सक्ने स्थिति छैन ।’

सात सयभन्दा बढी म्यूजिक भिडियो तथा तीन चलचित्र निर्देशन गरेका आलोकले बहिनी बनाएकी मोडल एलिजा बस्नेतसँग आत्महत्याको पूर्वसमयमा फोनमा कुरा गरे । धेरै निराश पारामा उनले एलिजासँग ‘म केही भइहाले भने मेरो कुकुर र बिरालोलाई मसँगै पठाउन होला’ भने । आलोक र एलिजाबीचको कुराकानी २ मिनेट ४३ सेकेन्डमात्रै देखाएको छ ।

६ वर्र्ष अमेरिकामा उच्च शिक्षा लिएका आलोक बिहेको लागि मानसिक रुपमा तयार थिएनन् । उनका परिवार अमेरिकामा बसेकाले उतैबाट करिअर बढाएका थिए । ललितपुर झम्सिखेल घर भएपनि उनी परिवारसँग बस्न रुचाउँदैनथ्यो । आलोककी दिदी रक्षाले अभिनेता तथा पाइलट बिजय लामासँग बिहे गरेकी छन् । उनकी ७० वर्षीया आमा छिन् भने बाबुको निधन भइसकेको छ । यसबीचमा फिल्मीक्षेत्रमा आलोकको खासै कसैसँग सम्बन्ध भएको उल्लेख भएन ।

आलोकको परिवारका विषयमा बुझ्दा अमेरिकामै रहँदा उनका बुवाले पनि आत्महत्या गरेका थिए । परिवारले धेरै कुरा नखोलेपनि उनका बुवाको पनि आत्महत्या भएको अनुसन्धानका क्रममा बुझियो । यदि पारिवारिक रुपमा यस्ता घटना पहिलेपनि भएका थिए भने विश्वव्यापी अध्ययनहरुले पनि आत्महत्यालाई ‘जिन’को कारण हुनसक्ने प्रमाणित गरेका छन् ।

अमेरिकन चिकित्सक डा. रोबर्ट ग्लाटर्डले फोव्र्स म्यागेजिनका लागि तयार पारेको एउटा आलेखमा भनेका थिए,‘आत्महत्या वंशानुगत हिसावले पनि हुने सम्भावना बढ्दछ ।’ यो त्यसै भनिएको थिएन जोन होपकिन्स विश्वविद्यालयको चिकित्सा विज्ञानका विद्यार्थीहरुको परिक्षणबाट यस्तो देखिएको थियो । ति विद्यार्थीहरुले रगत जाँच गरी यो पत्ता लगाए कि आत्महत्या गर्ने परिवारभित्र वंशानुगत रुपमा यो एक रोगका रुपमा देखा पर्दछ । ‘वंशानुगत कारणले मानसिक रुपमा नै कुनै न कुनै झन्कार पैदा गरेको हुन्छ, आत्महत्या गर्ने परिवारमा पनि यस्ता सोचहरुको विकास हुँदै आउँछ र परिणाम पनि देखिने अधिक सम्भावना रहन्छ’, अन्वेषणकर्ताहरुको तर्कसहित गएको ३० जुलाईमा द अमेरिकन जर्नल अफ साइक्याट्रीमा उल्लेख गरिएको थियो । ‘यो अध्ययनले देखाएको कुरा हो कि आत्महत्या एउटा प्रमुख नागरिक समस्या हो, यो वंशजको आधारमा पनि हुनसक्ने हामीले अध्ययन र प्रयोगले पायौं’, प्रोफेसर डक्टर तथा जोन हपकिन्स विश्वविद्यालयका मानसिक रोग विशेषज्ञ जाकारी क्यामिन्सकीले भनेका छन्,‘हाम्रो अध्ययनले मान्छेहरु पारिवारिक रुपमा पनि यसरी सोचिरहेका हुन्छन् भन्ने भेटियो ।’
 
हट नेपाल म्यागेजिनको मंसिर अंकमा मैले लेखेको आलेख हो ।

Sunday, November 16, 2014

प्रचण्ड गोलचक्कर

  • पार्टी, अन्तरदलीय र संविधानसभाभित्र एकैचोटी प्रभाव देखाउने प्रचण्ड दाउपेचले नयाँ संविधानको गर्भमै हत्या हुनसक्ने संकेत भारी देखिएको छ । 
  • डा. भट्टराई राजनीतिक संवाद समितिको सभापतिमात्र नभई एमाओवादीको नेता पनि बनेका कारण संविधानका विवादीत विषयहरु वार कि पार लाग्न सकेका छैनन्
विनोद ढकाल
नेपाली राजनीतिको नयाँ रुप कुन दिशातिर ढल्किने भन्ने विषय १८ औं सार्क शिखर सम्मेलन अघि नै सक्नुपर्ने अन्तर्राष्ट्रि नैतिक दबाब र मंसिरको पहिलो सातामै टुंगो लाग्नुपर्ने संविधानसभाको कार्यतालिकाको चापमै छ ।
हुन त संविधानसभाको कार्यतालिका नै मिचेर सहमति गर्छु भन्दै बलमिच्याँइका भरमा लागि परेका भट्टराईले आफ्नो भुमिका भन्दा पनि पार्टीको भुमिकालाई पर्खँदा संविधानका विवादीत विषयहरुमा सहमति हुन नसकेको हो । प्रचण्डको निर्देशनका आधारमा समितिको सभापति कम र एमाओवादी नेताको भुमिका प्रभाव बनाएका भट्टराईले सहमति वा असहमतिको प्रस्ताव पेस नगरे आफैं नैतिक घेराबन्दिमा पनि पर्नेछन् । त्यति बुझेका भट्टराइले निकासको सहज अवतरणको प्रयत्न आफ्नै निवासमा पत्रकार सम्मेलन गरेर दिने प्रयत्न पनि गरे । भट्टराइले उपाध्यक्ष नारायणकाजी श्रेष्ठलाई अगाडी सारेर सहमतिका लागि ८ प्रदेशसम्म झर्न सकिने प्रस्ताव गर्न लगाए । तर, प्रचण्डले त्यसलाई स्वीकार गरीनसकेका कारणले एमाओवादीको आधिकारीक धारणा आउन सकेको छैन ।
 

‘प्रचण्ड दुई खेलमा सफल हुन चहान्छन्, खासगरी डा. भट्टराइलाई रोकेर उनलाई असफल बनाउने र आफैं संयोजक रहेको राजनीतिक समितिको औचित्य पुष्टि गर्न चहान्छन्’, उच्च स्रोतले भन्यो,‘त्यतिमात्र नभएर पुरै संविधान निर्माण प्रक्रियाभित्र पनि राजनीतिक रुपमा आफ्नोमात्र भुमिका प्रभावशाली होस् भन्ने उनको मनसाय छ ।’
यसमा प्रचण्डका तीन अभिष्टहरु लुकेका छन् । आन्तरिक विवादको चुरो, संविधानसभामा तेस्रो दलका रुपमा रहेको पार्टी र त्यसको नेता हुनुले पनि प्रचण्डलाई पीर परेको छ । त्यसैले पार्टी, अन्तरदलीय र संविधानसभाभित्र एकैचोटी प्रभाव देखाउने दाउपचेमा छन्, प्रचण्ड । उनको यो दाउपेचले नयाँ संविधानको हत्या गर्भमै हुनसक्ने संकेत भारी देखिएको छ ।  
‘तागत भए डा. भट्टराइलाई राजनीतिक समितिबाट हटाऊ’ भनेर प्रचण्डले दिएको धम्कीमा पनि दुई प्रकारको अभिष्ट देखिएको छ । कांग्रेस–एमालेको प्रस्तावलाई प्रतिवेदनका रुपमा नलगे उनीहरुले भट्टराइलाई हटाए पार्टीको विवाद गौण राखी अन्य एजेन्डाहरु देखाएर कांग्रेस एमालेविरुद्ध मोर्चाबन्दिमा भट्टराईलाई उभ्याउने र पार्टी नेतृत्वमा निर्विरोध उभिने दाउमा प्रचण्ड छन् । ‘एक तहमा बाबुराम फँसीसकेका छन्, उनी प्रचण्डको भनाइका आधारमा राजनीतिक समितिमा विवादीत विषय लैजाने प्रस्ताव गरिरहेका छन्, यसले प्रचण्ड नै बलिया देखिनेछन् । अर्कातिर प्रचण्डसँगको परामर्शकै आधारमा उनले कुनैपनि प्रतिवेदन तयार पारेका छैनन्, राजनीतिक सभापतिका आधारमा नैतिक रुपमा उनी त्यहाँ पनि फँसेका छन् ।’, स्रोतले भन्यो,‘उनले सहमति हुन नसके असहमतिका प्रतिवेदन पनि बुझाउन सक्छन् तर संविधानसभाको कार्यतालिका नै विगारेर सहमतिका नाममा उनी मझदारमा उभिएका छन् ।’
सहमति होस या असहमति डा. भट्टराइको नेतृत्वमा नयाँ संविधानको विवादीत विषय संविधानसभामा प्रवेश गर्नासाथ त्यसमा प्रचण्डको कुनैपनि भुमिका हुनेछैन भने राजनीतिक समिति गठन गरी त्यसको संयोजक रहनुको पनि कुनै औचित्य हुनेछैन । ‘त्यसैले उनी औचित्य पुष्टि गर्न लागि परेका छन्, केही सहमति बन्नसक्ने अवस्था पनि आउने थियो, तर प्रचण्डले डाकेको वैठकमा कांग्रेस एमालेका नेताहरु पुगेनन् ।’, राजनीतिक विश्लेषकहरु भन्छन्,‘उनीहरुले प्रचण्ड संयोजक रहेको राजनीतिक समितिको औचित्य नै नरहेको भन्दै वैठकमा नजाँदा प्रचण्ड संविधानका विवादीत विषयमा सहमति नगर्नेगरी रोल्पालगायतका यात्रामा लागेका थिए ।’
मधेसीलगायत साना गरी २२ दलको नेतृत्व गर्दै प्रचण्डले संविधानसभा, राजनीतिक संवाद तथा सहमति समितिमा भइरहेका राजनीतिक विकासका कामलाई अस्वीकार गर्ने घोषणा गरिरहेका छन् भने कहिले युद्धमा फर्किनसक्ने भाषण गरी मुलधारको राजनीतिलाई प्रभावित बनाइरहेका छन् । प्रचण्ड आफु शक्तिमा आउनका लागि उनले राजधानी बाहिर गएर तयार पारेको यो भ्रम र गोलचक्कर मात्र हो । सहमतीय राजनीतिक यात्रा गर्दै नयाँ संविधानका विवादीत विषयमा समाधान खोज्नका लागि अहिले भट्टराइले देखाइरहेका केही अभ्यासहरुमा उनले प्रचण्ड उभ्याउन सके संवाद समितिमा जुनसुकै प्रतिवेदन तयार भई संविधानसभा छिर्न सक्न, प्रचण्डको अभिष्टलाई मात्र कुर्ने हो भने यो फगत गोलचक्करमात्र सावित हुनेछ ।

Sunday, November 9, 2014

धार्मिक र जातिय मुद्दा

भारतमा रहेका हिन्दु धार्मिक संघ संगठन र ट्रष्टहरुले नेपालमा हिन्दु धर्मको साख जोगाउनका लागि लगानी गरिरहेका छन् भने युरोपियन र अमेरिकनहरुले क्रिश्चियनहरुको संक्रमणलाई प्रभावकारी बनाउनका लागि जनजातीका नाममा रकम खर्च गरिरहेको स्रोतहरुले बताएका छन् ।

विनोद ढकाल
वैज्ञानिक अल्वर्ट आइन्सटाइनले भनेका छन्,‘विज्ञान विनाको धर्म अन्धो हुन्छ ।’ अर्थात् धर्म पनि एउटा विज्ञान हो । पश्चिमाहरु विज्ञान र धर्मलाई एक अर्काको परिपूरक ठान्छन् र आफ्नो विज्ञानलाई प्रभावशाली बनाउनका लागि उनीहरु धर्ममा खर्च गर्छन् । दुनियाँभर चलेका कतिपय युद्धहरु नै धार्मिक छन् । आफ्नो धार्मिक मुल्य र मान्यताका नाममा अहिलेपनि विश्व हिंसामय छ । चाहे बाराक ओबामा मुस्लिमहरुको मुलुकमा आधुनिकताका नाममा गोलीहरुसँग खेलुन्, चाहे मुस्लिमहरुको बाहुल्यता भएको मुलुकहरुले धार्मिक नाममा युद्धलाई जारी राखुन् । तर, सवै धर्म समान छन् र सवै उस्तै हुन् भन्ने परिचयका रुपमा धार्मिक आन्दोलनको विपक्षमा र अधिकारको आन्दोलनको पक्षमा भएको राजनीतिक लडाइ र त्यसले दिएको उपलव्धिको उदाहरण नेपालसँग मात्र थियो । तर, शक्ति र सत्ताको आडमा यो उपलव्धि अहिले धार्मिक विभाजनका रुपमा अघि ल्याउने प्रयत्न हुँदैछ, जुन निक्कै डरलाग्दो र भयानक परिणामको बाटोतिर जाने संकेत देखा परेको छ । आशा गरौं– नेपाली राजनीति धार्मिक विषयमा विषयान्तर नभएर राजनीतिक रुपमा नै समाधान हुनेछ । तर, त्यसअघि अहिले भइरहेका कसरतहरुको परिणती के हुनसक्छ ? नजरअन्दाज गर्न मिल्दैन ।
अघिल्लो संविधानसभाले संविधान जारी नगर्नुको मुख्य पीडा अवको संविधानसभाले भोग्नुपर्ने लक्षणहरु राजनीतिक रुपमा देखा पर्न थालेको छ । अघिल्लो संविधानसभा गठनपछि कायम भएको धर्मनिरपेक्षताको विरोधमा उठेको सानो झुण्ड राजनीतिक रुपमा संविधानसभा भित्र र राजनीतिक घेराका रुपमा संविधानसभा बाहिर पनि बलियो शक्तिका रुपमा स्थापित भएको छ । त्यतिमात्र होइन, छिमेकी मुलुक भारतको राजनीतिक परिवर्तनले पनि हिन्दुवादी मुद्दालाई बलियो बनाउनका लागि बल त पुगेको छ नै त्यहिँमाथि क्रिश्चियनहरुको धार्मिक अतिक्रमणको विरोधमा हिन्दुहरुको अभियान पनि सक्रिय हुन थालेको छ ।
जनगणनाका हिसावमा मात्र सोच्ने हो भने हरेक वर्ष हिन्दु धर्म मान्नेहरुको संख्या घट्न थालेको छ । यसले पनि विश्वको एकमात्र हिन्दु मुलुकका रुपमा लामो समयसम्म रहेको नेपालको आन्तरिक पहिचानका लागि पनि हिन्दुवादीहरुको एकता निक्कै मजवुद भयो । र, परिवर्तनका नाममा राजनीतिक दलहरुले बल पु¥याएको धार्मिक अतिक्रमणको प्रतिरक्षाका लागि अर्को धार्मिक संगठन सुदृढीकरणको अभियान बलियो रुपमा देखा पर्न थालेको छ ।
संक्रमणकालिन राजनीतिक अवतरण सहज र सरल बनाउनका लागि मुलधारका राजनीतिक दलहरुले पहल नगर्दा अधिकारका मुद्दा हर कोणबाट फरक र सांगठनिक रुपमा अघि बढेको छ । शान्ति प्रकृया, शान्ति सम्झौताका नाममा एकीकृत नेकपा माओवादीले यथास्थितिमा राखेको मुलुकको संविधानसभाको गति अब फरक ढंगले अघि बढिसकेको छ, यसको निराकरण भनेको समयमा संविधान जारी गर्नु हुनेछ । अन्यथा, यी मुद्दाहरु संक्रमणकालिन राजनीतिको फरक ढंगबाट उठ्ने खतरा अझ प्रगाढ बनिरहेको छ ।
जातीय राज्यको कुरा गरेका कारण अघिल्लो संविधानसभा विघटन भएको थियो । एकीकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले जातीय राज्यको पक्षमा उभिएर आन्दोलनका लागि समर्थन गरेका कारण नै अघिल्लो संविधानसभाले संविधान जारी नगरी अवसान व्यहोर्नुपरेको थियो । त्यसपछि भएको तरल राजनीति र अर्को संविधानभा स्थापित भयो । यो संविधानसभामा पनि जातिय मोर्चाको नाममा सुरु भएको फरक आन्दोलन र थपिएको धार्मिक मुद्दाका कारण संविधानसभा अप्ठ्यारोमा पर्न थालेको छ ।
राजनीतिक दलहरुले स्थापित गराएको संविधानसभाका मुद्दा एकातिर छन् र संविधानसभा बाहिरको राजनीति अर्कोतिर छ । संविधानसभाभित्र विवादीत विषय जतिसुकै भएपनि संविधानसभा बाहिर भिडन्त हुने खालको डरलाग्दो तयारी हुन थालेको छ । जब जब संविधान जारी गर्ने समय नजिकिन थाल्छ यस्तो तयारीमा दलगत समर्थका रुपमा दुई पक्षको भिडन्तको तयारी हुन्छ । खासगरी अहिले प्रतिपक्षमै रहेको एमाओवादीले जातीय राज्यको कुरा गर्ने संगठनलाई सहयोग गर्न खोजिरहेको छ भने उता धार्मिक विषयलाई लिएर उठेको नयाँ शक्तिलाई राप्रपा नेपालको सहयोग देखिन थालेको छ ।
नेपालको संविधानसभालाई असफल बनाउनका लागि हिन्दुवादी र क्रिश्चियन तथा गैरहिन्दुहरुले आफ्नो मुद्दा स्थापित गराउनका लागि खुमबहादुर खड्का, कमल थापा, पद्मरत्न तुलाधरको मुकुन्डोमा आन्दोलन चर्काउने तयारी गरेका छन् ।
यता संविधानसभामा विवादीत विषयमा सहमति नजुटाइरहेका बेला बहुमतीय प्रणालीको तयारी हुनेक्रममा पनि एमाओवादीले भिडन्तको चेतावनी दिएको छ । नेपाली जनताको नाममा कुनैपनि सहमति हुन सकेको छैन, जनताको राजनीति छाडेर विदेशीको राजनीतिमा लागेका छन्, कोही हिन्दु धर्म र कोही जातीयताको कुरामा क्रिश्चियनहरुको डलरका आधारमा अहिले संविधानसभा विटुलो बनाउने प्रयत्नमा छन् । राजनीतिक हिसावले टुंगो लगाउनुपर्ने विषयलाई अहिले विषयान्तर गरी आन्दोलनको तयारी भएको छ यसमा प्रचण्डहरुको पनि सहयोग रहेको छ ।
धार्मिक आन्दोलनका परिक्षणका रुपमा राजधानीमा सरकारले गरेको अनशनको हस्तक्षेपपछिको मुलुकभरी भएको भिडन्त एउटा तथ्यका रुपमा अघि आयो भने कांग्रेसका प्रभावशाली नेता खुमबहादुर खड्काको सेप्रेट भेलाले पनि यसमा जोड दिएको छ । खासगरी अहिलेको भारतीय संस्थापनले हिन्दुवादीहरुलाई सहयोग गरेको बताइन्छ भने दरबारीया शक्तिहरुले पनि धार्मिक आन्दोलनमा सहयोग गरेको बुझिएको स्रोतहरुका अनुसार भारतमा रहेका हिन्दु धार्मिक संघ संगठन र ट्रष्टहरुले नेपालमा हिन्दु धर्मको साख जोगाउनका लागि लगानी गरिरहेका छन् भने युरोपियन र अमेरिकनहरुले क्रिश्चियनहरुको संक्रमणलाई प्रभावकारी बनाउनका लागि जनजातीका नाममा रकम खर्च गरिरहेको स्रोतहरुले बताएका छन् । तर, राजनीतिक दलहरुले यी गैरराजनीतिक विषयहरुलाई नियन्त्रण गरी राजनीतिक विषयमा सहमति जुटाउनुको साटो दुई ध्रुवमा बाँडिएको फरक आन्दोलनलाई मौन र खुला समर्थन गर्नाले यो संविधानसभा पनि विघटन हुने खतरा बढेर गएको छ ।
सार्क शिखर सम्मेलनको पूर्वसन्ध्यामा मुलुकमा हुन लागेको भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको प्रवेश धार्मिक रुपमा नै हुन लागेकाले पनि हिन्दुवादीहरुले अहिले आन्दोलन चर्काउन थालेको कतिपयको विश्लेषण रहेको छ । मोदी जनकपुरमा हुन लागेको धार्मिक कार्यक्रममा सहभागी भएर राजधानी आउने कार्यक्रम रहेको छ । अहिले भारतीय संस्थापनको पनि सहानुभुती रहेका कारणले आन्तरिक धार्मिक संगठनहरु ब्ढेका छन्, राजनीतिक दलहरुको सहयोग छ भने विभिन्न हिन्दुवादी संगठनहरुले पनि सहयोग गरेका छन् । यो तयारीले नेपाली संविधानसभा पुरै प्रभावित हुनेछ, यसले मुलकलाई सवैतिरबाट प्रभावित बनाउनेछ । यस्ता आन्दोलनका लागि नेपालमा रकम जम्मा नहुने भएकाले यी ध्रुविकृत संगठनहरुका लागि अदृश्य रुपमा विदेशी लगानी आउने गरेको छ । यहि मौकामा राजनीतिक दलहरु पनि मौन बसिदिदा मुलुक संकटमा फँस्दै गएको छ ।
धार्मिक सुरक्षा, जातिय उत्थान र संवैधानिक अधिकारको कुरा गर्दा धार्मिक विषय र त्यसमा रहेको आस्थाको विषयलाई हतियार बनाउने कोशिश भइरहेको छ । जुनसुकै राजनीतिक दलका नाममा होस् वा राजनीतिक आवरणमा धर्मको राजनीतिले समाज विखण्डनतिर लम्किने छ । व्यक्तिसँग मौलिक अधिकारका रुपमा उसले के मान्ने र के नमान्ने भन्ने अधिकार कायम छ । विश्वव्यापी मान्यता अनुसार एकले मानेको आस्थालाई अर्काले सम्मान गर्नुपर्ने राजनीतिक, सामाजिक मान्यता पनि कायम छ । तर, सुरक्षा वा अधिकारका नाममा अहिले प्रचण्डहरु, खुमबहादुरहरु यसलाई राजनीतिक रंग दिइरहेका छन् । यस्तो राजनीतिले आशा गरेको नयाँ संविधान समस्यामा फँस्नसक्ने निश्चितप्राय छ ।
यसकारण यो डरलाग्दो राजनीतिक तयारीबाट जोगिनका लागि, जोगाउनका लागि आगामी संविधान समयमा जारी गर्नैपर्छ । तर, अहिले राजनीतिक विषयभन्दा बाहिरको घेरामा उठिरहेको बहसलाई सम्बोधन वा किनारा होइन, सहज अवतरणको बाटोका रुपमा लिनुपर्छ । नयाँ संविधानमा धार्मिक र जातिय विषयलाई थाँती राखेर हर नागरिकको अधिकार र न्यायको पक्षको सम्बोधन हुनुपर्छ । त्यो प्रत्येक नेपालीको समान उत्थानको पक्षमा अविभाजित मतका रुपमा मुलधारका राजनीतिक दलहरुको समान धारणाले मात्र पुरा गर्न सक्दछ ।

Friday, November 7, 2014

आलोकको आत्महत्या

मसँग कला, साहित्य र सृजना सवै छ तर त्यो पनि धेरै होइन भने के हो त ? मृत्यु ?


विनोद ढकाल


‘के तिमी साच्चै म¥यौ ? कोही पनि आत्महत्यासँग सम्झौता गर्दैनन्, किनभने तिनीहरु मर्न चहान्छन्, त्यसो भए तिनीहरु किन मर्न चहान्छन् ? किनभने तिनीहरु पीडा रोक्न चहान्छन् ।’ टिफानी डि बारटोलोले हाउ टु किल अ रकस्टारमा लेखेकी छिन् । अनि, आलोक नेम्वाङले लेखेको सुसाइड नोट यस्तो छ,‘हरेक दिन मरेर बाँच्नुभन्दा एक दिन बाँचेर मर्छु ।’ आलोकको नोटसँग बारटोलोको भनाई निक्कै नजिक छ । सारमा के हो भने आलोक पीडालाई रोक्न चहान्थे, सायद । 
विषय नपाएर भौतारिएको एउटा लेखकजस्तो होइन । विषय भएर नलेखिएको कथा पनि होइन । वकम्फुस्से जमातले कुरा काट्न सक्छ– जव आलोक म¥यो अनि लेख्ने विषय पायो । त्यस्तो जमातसँग मेरो कुनै गुनासो छैन । तर, यत्ति हो आलोकहरुले आलोकको हत्या किन गरिरहेका छन् ? अनि, यस्तो हत्याको कारणहरुको मनोदशा र मनोवृत्ति अहिले कस्तो भइरहेको होला ? उनीहरुको कुनचाँही पीडा वा कस्ता पीडाहरु मृत्युभन्दा भयानक थिए र उनीहरु मृत्युलाई सहज देख्न थाले ? आलोक आत्महत्याका कारण अनेक किसीमका अड्कलवाजीमा अडिएका छन् । कारण जस्तो भएपनि यसको सारमा एउटै उत्तर हुन्छ, उनी मृत्यु सहज देख्न थालेका थिए । त्यसकारण उनले मृत्युलाई सहज स्वीकार गरे । 
आलोकको आत्महत्याको समाचार जव विहीबार राती फेसबुके र ट्वीटरेहरुको एकाउन्टमा भटाभट आउन थाल्यो र त्यहाँ उल्लेख भएका अनेकथरीका स्ट्याटसहरुले यो आलेखका लागि मलाई उत्प्रेरित ग¥यो । तर, बाँच्नेहरुले के गरे त ? आत्महत्या गर्नेहरुलाई यस्तो पनि लाग्छ,‘आत्महत्या ठूलो समाधान हो, लामो र कालो अनि भयानक रातभन्दा ।’
स्वभाविक हो, आत्महत्याको अवस्थासम्म पुग्ने एउटा मानिस स्वस्थ्य त पटक्कै हुँदैन । यस्तो कुरा तितो र नमिठो लाग्नसक्छ, तर यो यथार्थलाई अंगीकार नगरी पनि हुँदैन । तर, कल्पना गर्न कठिन तथ्य अतिरञ्जित हुने नै भयो की यति हँसिला आलोकको मनमा कति पीडा थियो ? बाहिर खुसी देखिने एउटा कलाकारभित्रको पीडा धेरै गहिरो कसरी भयो ? तर, जो जीवनसँग दिक्क छ, उ दबाब र पीडाहरुको गहिरो बन्धनमा हुन्छ । कुनै न कुनै अभावको गहिरो समस्यामा हुन्छ । यस्ता मानिसहरु जसले आफ्नो आवश्यकता र समस्यालाई व्यक्त गर्न पनि सक्तैनन् र कसैसँग भन्न पनि सक्तैनन्, उनीहरुका लागि बुझिदिने समाजको खाँचो हुन्छ । 
आलोकको मृत्युमा जो–जो भक्कानिएर रोइरहेका छन्, उनले आलोक जीउँदो रहँदा कति नजिक भएर प्रश्न गरे ? उनको समस्या र सहाराको विषयलाई कसले कति बुझेको थियो ? आलोकले नभनेपनि मनैबाट कसले बुझिदियो ? हुन त सृजनशिल मान्छेले यसरी पनि सोच्दछ की,‘मसँग कला, साहित्य र सृजना सवै छ तर त्यो पनि धेरै होइन भने के हो त ? मृत्यु ?’ सम्भावित आलोकको स्वयम्हत्या चाँही ‘यसो’ पनि हुनसक्छ ।  
कसका आँखा कति रसाए ? कसले कति माया गरेका थिए, आलोकलाई ? कालो चश्मा खोलेर आँखा पुच्छ्नेहरुमध्ये को थिए, आलोकको आत्महत्याको कारण ? अनि, कसका बारेमा विक्षिप्त भएर देखियो सुसाइड नोट पनि । धेरै फिल्मकर्मी र पत्रकारहरुको सामाजिक सञ्जालमा देखियो–आलोक एक सच्चा र सृजनशिल मिडिया तथा फिल्मकर्मी थिए । उही आलोक जसले जीवनको महत्वलाई कम बुझ्यो र पासो लगाएर वित्यो । धेरैलाई यो कुराको विश्वास पनि लागेन रे कि आलोकले आत्महत्या गरेका थिए । 
जव आलोकहरु भिन्न कारणले आत्महत्याको नियतीमा पुग्दछन् अनि चलचित्र उद्योगमा सृजनाहरुको स्वयम्हत्या भइरहन्छ र यथास्थितिबाट चलचित्र उद्योग माथि उठ्ने खास कारण पाउनेछैन । आधुनिक समाजको यथार्थलाई पर्दामा होस् या सृजनामा उतार्नका लागि गरिने प्रयोगमा कोही सफल हुन सक्छन्, कोही असफल हुन सक्छन् । सफलता र असफलताको एक चरणलाई मान्छेले स्वीकार गर्न सक्छ । तर, जीवनको व्यक्तिगत उतारचढावमा मान्छे हर पल मरिरहेको हुन्छ र ऊ भौतिक रुपमा पनि मर्दछ ।
आत्महत्याको खास कारणको प्राविधिक खोजविन भइरहेका बेला यो आलेखप्रति चित्त नबुझाउने समुदाय पनि हुनसक्छ । तर, आत्महत्याको प्रमाण सुसाइड नोटभन्दा के हुनसक्छ र ? जे होस् नेपाली चलचित्र उद्योगमा अलौकिक प्रयास थाल्ने आलोकको परलोक यात्रा शान्तिपूर्ण होस्, उनका सम्झनयोग्य सृजनाहरुले बारम्बार सम्झना गराउनेछ, आलोकको । तथापी, अन्त्यमा आत्महत्या स्वीकार्य नै हुन्छ । त्यो मानिसको स्वविवेकी निर्णय हो । उनको जीवन, उनको निर्णय । अलविदा आलोक ।   

Tuesday, November 4, 2014

खुलामञ्चमा ३ प्रचण्ड

पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेपाली राजनीतिमा ०६४ सालयता अनिवार्य आवश्यकताका रूपमा छाइरहेको नाम हो। शान्ति प्रक्रिया, विद्रोही नेता, प्रधानमन्त्री, संयन्त्र संयोजक अनेक नाममा। तर, त्यही प्रचण्ड खुलामञ्चमा उत्रिएको बखत उसको समय कसरी घर्किरहेको छ? विश्लेषण सुरु भइसकेको छ। प्रचण्ड आत्मरतिमा रमाउनु एउटा कुरा हो, तर राजनीतिक रूपमा आमजनताले प्रचण्डप्रति देखाएको परिदृश्यहरूले आफैं पुष्टि गर्दछ।
प्रचण्ड–१
खुला राजनीतिमा आएपछिको पहिलो आमसभामा बोल्न पुगेका प्रचण्डलाई प्रत्यक्ष हेर्न हजारौं मानिस खुलामञ्च पुगेका थिए। प्रचण्ड नामको त्यो उचाइको कुरा सुन्न नेकपा माओवादीको सभामा अनेक दल र निर्दलीय मानिसहरूको सहभागिता उल्लासपूर्ण थियो। वास्तवमा विश्लेषकहरूलाई लाग्थ्यो, प्रचण्डले गरेको क्रान्तिले नयाँ आयाम थपेको छ। र, उनको त्यो काठमाडौंको आमसभाको पहिलो सम्बोधनमा उल्लेख गरेको भाषण। ‘कि यो देशमा जंगबहादुर कि बुद्धको आवश्यक छ,’ प्रचण्डले त्यसैबेला दिएको भाषण। यसले दुनियाँ हल्लाएको थियो।
लामो जनयुद्धबाट फर्किएका प्रचण्डको यस्तो भनाइले अब माओवादीले मुलुक परिवर्तन गर्छ भन्ने आभास ल्यायो। त्यसअनुसारको निर्वाचनमा माओवादी ठूलो शक्तिका रूपमा स्थापित पनि भयो। तर, ती सबै भ्रम छरिएको रहेछ भन्ने आममानिसले बुझे । जसरी जनयुद्धका नाममा सयौं कार्यकर्ता, बेपत्ता र मृतकका परिवारलाई पनि प्रचण्ड भ्रम छर्न सफल भएका थिए।
घटनासँग चरित्र पनि उदांगिन्छ। चरित्रलाई आत्मसात गरेर आफ्नो फरक अभियानलाई सक्रिय बनाउने हो भने त्यो पेसा र कर्तव्यको इमान्दारिताको प्रतीकका रूपमा देखापर्दछ। आफ्नो चरित्रबारे आफैं पत्तो नपाउने र आत्मसमीक्षा गरी जनताको साना विषयमाथि गहन नहुने प्रवृत्तिले आफूलाई त हानि गरेकै हुन्छ, त्यसको प्रभावको पीडा अरुले पनि भोग्नुपर्दछ। अभियान होस् अथवा राजनीति, आफ्नो इमान्दारितामा अडिग नरहने हो भने त्यसप्रतिको विश्वास पनि कायम हुन सक्तैन।
नेपाली राजनीतिमा प्रचण्ड त्यो अनुहार लिएर हिँडेका छन्। बेइमानीको अभियानका रूपमा उनलाई नेपालीले राजनीतिलाई स्वीकार गर्न थालेका छन्। राजनीतिक क्रमशः झूट, हल्ला र षड्यन्त्रको पार्यायवाची शव्दका रूपमा जनजिब्रोमा झुन्डिन थालेको छ। खासगरी जनआन्दोलन ०६२/६३ पछि मुलुकले भोगेको राजनीतिक झूटले जनता आजित भएका छन्। उनीहरू निर्वाचनको अपेक्षामा छन्, तर त्यसले निकास दिन्छ भन्ने विश्वासमा देखिँदैनन्। खासगरी मतदाता नामावली संकलनको तथ्यसँग तुलना गर्ने हो भने करिब ५० लाख मानिस निर्वाचनबाट उपलब्धि हुनेमा विश्वस्त हुन सकेका थिएनन्। अहिले मुलुक त्यहि पथमा हिँडेको छ।
 
प्रचण्ड–२
निर्वाचनबाट ठूलो दलका रूपमा स्थापित भएपछि प्रचण्ड मुलुकका शक्तिशाली प्रधानमन्त्री भए। प्रधानमन्त्रीका रूपमा एकैचोटि आएका प्रचण्ड यस हकमा प्रधानमन्त्री भए कि उनी विद्रोही शक्तिका नेता पनि थिए। उनले हतियार पूर्णरूपमा बुझाइसकेका थिएनन् र यता सत्ताको चाबी पनि आफूसँग राखेका थिए। दुई सुरक्षा शक्तिको घेरामा सुकिलो र झरझर अनुहार लिएर प्रचण्ड जहाँ जान्थे, एउटा भयानक शक्तिशाली नेता हिँडेको भान हुन्थ्यो। समय र परिस्थिति तथा भष्मासुर नियतले प्रचण्डको पतन सुरु भयो, त्यही कालमा। उनले तत्कालीन प्रधानसेनापति चलाउने काम गरेकै कारणले उनी पुनः एक विद्रोही नेताका रूपमा मात्रै सडकमा आए।
केही समयअघि भयानक स्वरूपका बारेमा कुरा गरेका प्रचण्ड फेरि खुलामञ्चको खुड्किलो उक्लिए र तत्कालीन प्रधानसेनापति रुक्मांगद कटवाल तथा प्रधानमन्त्री माधवकुमार नेपालसँग खनिए। उनले माधव नेपाललाई विष वृक्षसम्म भने। उनले आन्दोलनको घोषणा गरे र मुलुक ठप्प बनाउने प्रयत्न गरे। ६ दिनसम्म उनको त्यो आन्दोलन निरन्तर चलेको थियो, तर सफल हुन नसकेपछि फेरि फिर्ता लिए। यो राजनीतिक झूट र षड्यन्त्रको निरन्तरता हुनसक्ने खतरा नजिक नपुगेका नेपालीजनको ठहरलाई सावित गर्दै प्रचण्ड गलत राजनीतिसँगै अघि बढ्न थाले।
प्रचण्ड नेपाली राजनीतिमा इमान्दारिताको मार्गबाट हिँड्न सकेनन्। संविधानसभा निर्वाचन भयो, बैठक भयो, समिति बने, राज्यको बजेट ६ वर्षसम्म त्यसका लागि खर्च भयो। तर, काम भने बेरुजुमै सिद्धियो, अन्ततः संविधानसभा ध्वस्त भयो। जनताको अभिमतको दुरुपयोग भयो। जनताको अधिकार जनताले नै उपभोग गर्न पाएनन्। यो इमान्दारिता राजनीतिक दलहरूले गुमाए। त्यसमा पनि प्रचण्डको भूमिका रहेको थियो। उनले जुन हिसाबले संघीयताका विषयमा आमसञ्चारमा आउने गरी बोले, त्यसले मुलुकको तत्कालीन राजनीतिक वातावरण बिगारेको थियो।
 
प्रचण्ड–३
राजनीतिक उतार–चढावका बीच दोस्रो संविधानसभा निर्वाचन, त्यसले स्थापित गरेको राजनीतिक अवस्था र त्योसँगै बदलिएको मूलधारको राजनीतिक प्रचण्ड। यतिबेलासम्म आइपुग्दा प्रचण्ड एउटा निहत्था कुटिल व्यक्तिभन्दा केही सावित हुन सकेनन्। किनभने आन्तरिक रूपमा पार्टी विभाजन, राजनीतिक रूपमा दलीय असफलता र जनताले गरेको निर्णयले कमजोर तथा निर्धो प्रचण्ड देखियो। राजनीतिक रूपमा आफूलाई कमेरो दलेको जन्तु सावित गर्नु उनको बाध्यता पनि हो। त्यसकारण उनी अहिले २२ दलीय मोर्चा र राजनीतिक समितिको संयोजकका रूपमा छन्। फेरि, उनी खुलामञ्चमा देखिए। तर, उनको चरित्रमा परिवर्तन आएन। उनी दुईतिरको नाउमा खुट्टा राखेर हिँडेका छन्।
परिस्थिति यति बिग्रिएर आयो कि त्यही खुलामञ्च जहाँ एक्लो माओवादीले शक्ति प्रदर्शन गर्दा, प्रचण्ड प्रमुख अतिथि हुँदा मानिसको लाम र जाम हुन्थ्यो। जहाँ पहिलो प्रचण्ड देखापरेको थियो, तेस्रो प्रचण्ड पुग्दा कुनै उल्लास थिएन। भाडाका सीमित मानिसहरूबीच प्रचण्ड बोल्नुपर्ने अवस्था आयो। समय कति परिवर्तित भयो, राजनीति कति परिवर्तित भयो, सम्भवतः प्रचण्डले त्यो समीक्षा गरेका होलान्।
आफ्ना राजनीतिक लाइनका आधारमा हुने गरेका कार्यक्रम मात्र होइनन्, वक्तव्यबाजी पनि बेइमानहरूको लोकसभा जस्तो महसुस हुन थालेको छ। ताली फरक फरक तालमा बज्छन्। जुलुस फरक हिसावले पनि देखिन्छन्। भ्रष्टाचार, दूराचार र लज्जाको शिर बोकेर आफ्नो औकातको मूल्यांकन सीमित कार्यकर्ताको भीडलाई देखाउने राजनीतिक दुश्चरित्रमा फेरि पनि कुनै बदलाव आउन सकेको छैन। आफ्नो गल्ती र कमजोरीलाई नदेखेर अरुलाई दोष देखाउने परिपाटीको निरन्तरताले नेपाली राजनीति बढेको छ। आफूभित्रको कमजोरी नियाल्ने हिम्मत कुनै राजनीतिक दलले देखाउन सकेका छैनन्। कसले कति बिगार्योि हैन, किन बिग्रिएको र कसरी सप्रन सक्छ, नेपाली राजनीति, नेपाली जनताको संविधानसभा कसरी सम्पन्न हुन सक्छ भन्ने समीक्षा अहिले पनि हुन सकेको छैन। जसले नेपाली जनताको पसिना र रगतबाट बनेको संविधानसभा भवनभित्र पसेर अर्बौं कुम्ल्याएका थिए, फेरि पनि उनीहरू हाँसेर उभिएका छन्। नेपाली जनताले खर्च गरेको अर्बौं रुपैयाँ कुम्ल्याएर त्यसको हिसाव किताव नगरी उम्किएकाहरू फेरि पनि त्यही प्रकृतिको लोभमा फसेका छन्। आफू अक्षम भएका कारण गर्न नसकेको र सरकारी कोषबाट लिएको रकम फिर्ता गर्न तयार भएको कुरा गर्न उनीहरूले सकेका छैनन्।
त्यही खुलामञ्चमा उत्रिएका प्रचण्डको खुला राजनीतिक चरित्र, खुला राजनीतिक बनोट र उनले देखाएको राजनीतिको परिदृश्य सबैका सामुन्ने छ। तर, अझै पनि उनीबाट केही आशा गरिएको छ? अन्य राजनीतिक दलहरूले पनि गरेका छन्। त्यसकारण नयाँ संविधान जारी गर्ने विषयमा उनलाई छुटाएर राजनीति अगाडि बढाउनु उपयुक्त नहुने ठानेरै उनलाई मूलधारमा ल्याउने प्रयत्न भएको हो। नत्र, उनको राजनीतिक प्रतिकूलता हेर्ने हो भने प्रचण्डको आवश्यकता जनताले नठानेको प्रतिविम्बित भइसकेको छ।

Monday, November 3, 2014

सार्क सम्मेलनमा नेपालको प्रस्ताव

काठमाडौं सिगारिन थालिएको छ । राजधानीका सडकहरु बनिरहेका छन् । सुरक्षा र ट्राफिक व्यवस्थापनको तयारी पनि सकिएको छ । नेपाल प्रहरीले सुरक्षा सवै प्रबन्धहरुको तयारी गरेको छ । सार्क शिखर सम्मेलनको तयारीका रुपमा यी कामहरु भइरहेका हुन् । आधुनिक नेपालको निर्माणमा बढेका हर हातहरुले शिखर सम्मेलनको तयारीमा साथ दिएका छन् ।  
मुलुक आन्तरिक राजनीति र नयाँ संविधानका विषयमा केन्द्रित रहेको छ । तर, केही दिनपछि राजधानीमा नयाँ विचार र नयाँ अन्तर्राष्ट्रिय समझदारीको सम्मेलन पनि हुनेछ । अहिलेसम्म खास विदेश नीति तयार नभइसकेको मुलुकका लागि यो सम्मेलनले नयाँ हिसावको दिशाबोध गर्न र गराउनका लागि सहयोगी भुमिका निर्वाह गर्नेछ । जहाँ विश्वमा हर प्रकारले ख्याती पाएका मुलुकहरुको सहभागीता रहनेछ । विश्व अर्थतन्त्र र नयाँ राजनीतिमा उदाएको भारत, पाकिस्तान, अफगानिस्तान, माल्दिभ्स, श्रीलंका, भुटान, वंगलादेशका सरकार प्रमुखहरु १८ औं सार्क शिखर सम्मेलनमा सहभागीताका लागि काठमाडौं आउँदैछन् । त्यो सँगै पर्यवेक्षकका रुपमा रहेको चीन, जापानका प्रतिनिधिहरुको पनि उपस्थिति रहनेछ । 
चीनका राष्ट्रपति सी चिन फिङले भ्रमण गरेका दक्षिण एसीयाका मुलुकहरु र चीनकै पनि परोक्ष सहभागीता रहने शिखर सम्मेलनले तय गर्ने नयाँ आर्थिक कार्यक्रमबाट नेपालले कति लाभ लिनसक्ने भन्ने कुरालाई ध्यानमा राखेर दक्षिण एसीयामा नयाँ शान्ति शक्तिका रुपमा आफुलाई उभ्याउनका लागि पहल गर्नुपर्ने देखिन्छ । यो मामलामा मुलुकका राजनीतिक दलहरु र सरकार पनि सक्रिय रुपमा देखा परी आगामी कार्ययोजना र विदेश नीति तथा निर्यातको व्यापारका विषयमा छलफल अगाडी बढाई सकारात्मक रुपमा अघि बढ्नुपर्छ भन्ने मान्यता स्थापित हुनैपर्छ । 
विश्व आतंकवादविरुद्ध लडिरहेको अवस्था छ । सार्क शिखर सम्मेलन राजधानीमा हुन लाग्दा आतंकवादबाट प्रताडित मुलुकहरुको जमघट पनि यहिँ हुन लागेको छ । र, यसअघि नै सार्क शिखर सम्मेलन आतंकवादविरुद्धको अभियान र दक्षीण एसीयाली मुलुकको विकासकेन्द्रित हुने सहमति भइसकेको हुनाले पनि काठमाडौं सम्मेलन प्रभावकारी बनाउनुपर्ने दायित्व नेपाल सरकारसँग रहेको छ ।  
विश्वलाई चकित पार्नेगरी गिरीजाप्रसाद कोइरालाको नेतृत्वमा शान्ति प्रकृयामा प्रवेश गरेको नेपालको उदाहरण विश्वभरी दिइने गरिएको छ । आतंकवादविरुद्धको अभियानमा दक्षिण एसीयामा सुशिल कोइरालाको सरकारले राख्ने समस्या समाधानको प्रस्ताव नै हर मुलुकका लागि स्वीकार्य हुनसक्छ । त्यसकारण यो शिखर सम्मेलन नेपाली राजनीति भन्दा पनि दक्षिण एसीयामा भइरहेको आतंकवादविरुद्धको अभियान र शान्ति मार्ग, दक्षिण एसीयाको आर्थिक विकास र स्तरोन्नतीका पक्षमा बढ्नका लागि नेपाल सरकारको प्रस्ताव नै प्रभावकारी हुनेछ । 
आधुनिक युग यता दक्षिण एसीयाका देशका जनताले राष्ट्रिय स्वाधिनता तथा मुक्तिमा एकले अर्काो सम्मान गरी पारस्परिकरुपमा समर्थन गरेको संयुक्तरुपमा एसीयाको चेतना पुर्नस्थापना गरिएको छ । नयाँ शताव्दिमा प्रवेश भएदेखि दक्षिण एसीयामा शान्ति तथा समृद्धितिर उन्मुख रणनैतिक सहयोगात्मक साझेदारी सम्बन्धको स्थापनाको विकास पनि भएको छ । 
ठूला मुलुकहरुको छहारीमा विश्वमा दक्षिण एसीयाको पहिचान फरक हिसावले भएको छ । ती मध्येको एक महत्वपूर्ण प्रवित्ति भनेको एसीयाले विश्वमा लिएको स्थान झन् झन बढि बढ्दै आउनु हो । विश्वको अन्तर्राष्ट्रियकरणको प्रकृयामा महत्वपूर्ण शक्तिका रुपमा भारत अर्थतन्त्रलाई प्रबद्र्धन गर्ने मुख्य शक्ति बन्न थालेको छ जो दक्षिण एसीयाली सहयोग संगठनको सदस्य राष्ट्र पनि हो ।
दक्षिण एसीयाली मुलुकहरुले घनिष्ट विकास साझेदारी गरेर संयुक्त रुपमा राष्ट्रिय पुनर्उत्थानलाई व्यवाहारमा उतार्नुपर्छ । विकास सवैकोे साझा रणनीतिक लक्ष्य हो । स्वदेशका जनतालाई अझ सुविधा, शान्ति र आनन्दमय जीवन दिनु नै कुनैपनि मुलुकको महत्वपूर्ण जिम्मेवारी रहेको छ । संयुक्त विकासमार्फत आपसी हितयुक्त सहयोगलाई गहन पारेर शान्तिपूर्ण विकास, सहयोगात्मक विकास र उदार विकासलाई व्यवाहारमा उतार्न प्रयास गर्नुपर्छ । 
जनता–जनताबीचको मित्रता मुलुक मुलुकबीचतको सम्बन्धका लागि धेरै महत्वपूर्ण छ । सार्ककका मुलुकहरुका लागि यी आवश्यक कुरा हुन् । हर पक्षले युवा, संस्कृति, शिक्षा, पर्यटन, धर्म, मिडिया, रेडियो र टेलिभिजन, क्षेत्रीय सहर र पा्रन्त आदी क्षेत्रमा सहयोगलाई सुदृढ स्वीकार गर्नुपर्छ । 
भारतका महान् साहित्यकार रविन्द्रनाथ टैगोरको गभनाई छ– सुर्य गुमाएकाले आँसुु खसेभने ताराहरु पनि गुमाउने अवस्था आउँछ । हामी घमण्डी नहुने हो भने महानताको नजिक पुग्न सक्नेछौं । विफलताको परीक्षामा गल्तीलाई जित्नुहुन्न, तर सत्यले जित्नुपर्छ । हामीले गलत दष्टिले विश्वलाई हेरेका छौं, त्यसैले विश्ले धोका दिएको सोचिरहेका छौं । जीवन ग्रीष्मको फूलजस्तो प्रकाशपूर्ण छ, मृत्यु शरदको पातजस्तो इत्यादी । त्यसकारण पनि सार्क मुलुकहरु एक भएर एसीयाको नेतृत्वगर्नका लागि हर मुलुकसँग भएका फरक स्रोत र शत्तिको उपयोग गरी अघि बढ्नका लागि काठमाडौं सम्मेलन सफल हुनुपर्छ । शान्त स्थिर समृद्धि विकसित दक्षिण एसीया क्षेत्रीय मुलुक तथा जनताका हितसित अनुकुले हुनेछ । दक्षिण एसीयाली मुलुकसँग मैत्रीपूर्ण अग्रगामी विकासका साझा एजेन्डा नेपालको प्रस्ताव रहनुपर्दछ ।
विश्वका विभिन्न मुलुकका राष्ट्रप्रमुखहरु नेपालमा सुरक्षाका कारणले आउने गरेका छैनन् । अनि नेपालसँग कुनैपनि आर्थिक सम्झौता हुन नसक्ने भएकाले पनि उनीहरुको ध्यान काठमाडौं केन्द्रित रहने गरेको छैन । तर, यो शिखर सम्मेलनपछि नेपालले आफ्नो विकास र दक्षिण एसीयामा बलियो उपस्थिति देखाउनका लागि पनि नयाँ प्रस्तावहरु ग्र्न आवश्यक छ । सरकारले प्रस्ताव गर्ने एजेन्डा नपाउन सक्छ तर यो सम्मेलनमा कस्ता एजेन्डाहरु विकास र नेपालको पक्षमा हुनसक्छन् भन्ने वृहत्तर छलफल गरी सरकार अघि बढ्नुपर्छ ।  
अतः दक्षिण एसीयाली मुलुकका सरकार प्रमुखहरुको भ्रमणले नेपालका लागि खासगरी निर्यातको प्रस्ताव राख्ने ठूलो अवसर हुनेछ । त्यसमा जलविद्युत निर्यात र जडिबुटीको प्रबद्र्धनसहितको व्यापार मुख्य प्रस्ताव हुनसक्छ । त्यसकारण पनि नेपालले विकासका पक्षमा, व्यापारका पक्षमा आफ्ना दुई एजेन्डालाई सर्वस्वीकार्य हुने तरिकाले प्रस्तावका रुपमा राख्न आवश्यक देखिन्छ ।