Friday, November 21, 2014

‘जेनियस’को सुसाइड ‘जिन’

वंशानुगत कारणले मानसिक रुपमा नै कुनै न कुनै झन्कार पैदा गरेको हुन्छ, आत्महत्या गर्ने परिवारमा पनि यस्ता सोचहरुको विकास हुँदै आउँछ र परिणाम पनि देखिने अधिक सम्भावना रहन्छ
प्राडा, जाकारी क्यामिन्सकी
मानसिक रोग विशेषज्ञ, हपकिन्स विश्वविद्यालय, अमेरिका 

विनोद ढकाल
एउटा जेनियस डाइरेक्टरको सहज अन्त्यले धेरैलाई दुखि बनायो । भावुक नेपाली चलचित्र र संगित क्षेत्रका लागि यो विश्वासयोग्य कुरा रहेन । स्वभाविक पनि थियो कम अध्ययन र कारणहरु जान्ने यो क्षेत्रका हिरो, हिरोइन, मोडेल, संगितकार र गीतकारका लागि चलचित्र, म्युजिक भिडियो निर्देशक आलोक नेम्वाङको आत्महत्या असहज भयो, विश्वासयोग्य रहेन । एक जेनियस डाइरेक्टर, जसले अधिकमत युवतीहरुलाई फिल्मी क्षेत्रमा प्रवेश गरायो, धेरै केटाहरुलाई सेलिव्रिटी बनायो । उ राम्रो कुरा गथ्र्यो, हँसाउँथ्यो र रमाइलोसँग काम गर्दथ्यो । एक्कासी उसले आत्महत्या गर्ने कारण के थियो त ?
आत्महत्याका अनेक कारण हुनसक्छन् । केही मान्छेहरुले अनुमान र अड्कलका आधारमा धेरै कुरा गरे । तर, अध्ययन र विश्लेषणले अनुमान र अड्कलबाजीलाई गलत सावित पनि गर्न सक्दछ । ‘धेरै पटक मरेर बाँच्नुभन्दा एक पटक बाँचेर मर्नु उपयुक्त हुन्छ’, प्रहरीले भेट्टाएको नेम्वाङको सुसाइड नोटले पनि धेरै कुरा खोल्दछ । कतिपय फिल्मी भँगेराहरुले नेम्वाङ आत्महत्यालाई आफ्नो प्रमोशनको कारण बनाए, आत्महत्यालाई रहस्यमय हत्या पनि भन्दै प्रचारवाजी गरे । तर त्यो आत्महत्या नै थियो भन्ने हरेक टेस्टहरुले प्रमाणित भए नभएको भन्नेबारे नेपाल सरकारको प्रविधि र अनुसन्धानले पनि प्रमाणित गरेन ।
टोखास्थित अपार्टमेन्टमा आत्महत्या गरेको अवस्थामा भेटिएका जेनियस डाइरेक्टर नेम्वाङले आत्महत्या गर्नुको खास कारण उनीसँगै लगिसके । तर, जे भेटियो त्यसको आधारमा हुने अनुसन्धान अनुमानको आधारमा हुनेछ । तर, यो घटनालाई विश्लेषण र विश्वव्यापी अध्ययनका रुपमा पनि हेर्न जरुरी देखिन्छ । ‘अनुसन्धान हुँदैछ, यो आत्महत्या नै भएको ठहरिएको छ, अन्य सहायक कारण देखा परेको छैन’, महानगरीय प्रहरी अनुसन्धान अधिकृतहरुले भनेका छन्,‘अझै हामी बुझिरहेका छौं ।’ प्रहरीका लागि अनुसन्धान गर्ने अन्य पाटोहरु खास छैन । एकथरी अधिकारीहरु भन्छन्,‘यो केस डिसमिस नै हो, किनभने सुसाइड नोटभन्दा प्रभावकारी प्रमाण के हुन सक्छ र ? पोष्टमार्टमले पनि त आत्महत्या भन्यो ।’

करिअरको सुरुआती दिनहरुमा मोडेल, पूर्व मिसनेपाल तथा नायिक झरना बज्राचार्यसँग प्रेम सम्बन्धमा रहेको भनिएका ४१ वर्षीय आलोक पछिल्लो समयमा उनीसँग टाढिएका थिए । ‘यो वियोग पनि उनको आत्महत्याको कारण हुनसक्छ’, उनी नजिकका साथीहरुको अनुमान छ,‘उनका अनेक चाहना र प्रकृतिका विषयमा पनि कुरा भइरहेका छन् तर ति सवै आधिकारीक हुन या होइनन् भन्न सक्ने स्थिति छैन ।’

सात सयभन्दा बढी म्यूजिक भिडियो तथा तीन चलचित्र निर्देशन गरेका आलोकले बहिनी बनाएकी मोडल एलिजा बस्नेतसँग आत्महत्याको पूर्वसमयमा फोनमा कुरा गरे । धेरै निराश पारामा उनले एलिजासँग ‘म केही भइहाले भने मेरो कुकुर र बिरालोलाई मसँगै पठाउन होला’ भने । आलोक र एलिजाबीचको कुराकानी २ मिनेट ४३ सेकेन्डमात्रै देखाएको छ ।

६ वर्र्ष अमेरिकामा उच्च शिक्षा लिएका आलोक बिहेको लागि मानसिक रुपमा तयार थिएनन् । उनका परिवार अमेरिकामा बसेकाले उतैबाट करिअर बढाएका थिए । ललितपुर झम्सिखेल घर भएपनि उनी परिवारसँग बस्न रुचाउँदैनथ्यो । आलोककी दिदी रक्षाले अभिनेता तथा पाइलट बिजय लामासँग बिहे गरेकी छन् । उनकी ७० वर्षीया आमा छिन् भने बाबुको निधन भइसकेको छ । यसबीचमा फिल्मीक्षेत्रमा आलोकको खासै कसैसँग सम्बन्ध भएको उल्लेख भएन ।

आलोकको परिवारका विषयमा बुझ्दा अमेरिकामै रहँदा उनका बुवाले पनि आत्महत्या गरेका थिए । परिवारले धेरै कुरा नखोलेपनि उनका बुवाको पनि आत्महत्या भएको अनुसन्धानका क्रममा बुझियो । यदि पारिवारिक रुपमा यस्ता घटना पहिलेपनि भएका थिए भने विश्वव्यापी अध्ययनहरुले पनि आत्महत्यालाई ‘जिन’को कारण हुनसक्ने प्रमाणित गरेका छन् ।

अमेरिकन चिकित्सक डा. रोबर्ट ग्लाटर्डले फोव्र्स म्यागेजिनका लागि तयार पारेको एउटा आलेखमा भनेका थिए,‘आत्महत्या वंशानुगत हिसावले पनि हुने सम्भावना बढ्दछ ।’ यो त्यसै भनिएको थिएन जोन होपकिन्स विश्वविद्यालयको चिकित्सा विज्ञानका विद्यार्थीहरुको परिक्षणबाट यस्तो देखिएको थियो । ति विद्यार्थीहरुले रगत जाँच गरी यो पत्ता लगाए कि आत्महत्या गर्ने परिवारभित्र वंशानुगत रुपमा यो एक रोगका रुपमा देखा पर्दछ । ‘वंशानुगत कारणले मानसिक रुपमा नै कुनै न कुनै झन्कार पैदा गरेको हुन्छ, आत्महत्या गर्ने परिवारमा पनि यस्ता सोचहरुको विकास हुँदै आउँछ र परिणाम पनि देखिने अधिक सम्भावना रहन्छ’, अन्वेषणकर्ताहरुको तर्कसहित गएको ३० जुलाईमा द अमेरिकन जर्नल अफ साइक्याट्रीमा उल्लेख गरिएको थियो । ‘यो अध्ययनले देखाएको कुरा हो कि आत्महत्या एउटा प्रमुख नागरिक समस्या हो, यो वंशजको आधारमा पनि हुनसक्ने हामीले अध्ययन र प्रयोगले पायौं’, प्रोफेसर डक्टर तथा जोन हपकिन्स विश्वविद्यालयका मानसिक रोग विशेषज्ञ जाकारी क्यामिन्सकीले भनेका छन्,‘हाम्रो अध्ययनले मान्छेहरु पारिवारिक रुपमा पनि यसरी सोचिरहेका हुन्छन् भन्ने भेटियो ।’
 
हट नेपाल म्यागेजिनको मंसिर अंकमा मैले लेखेको आलेख हो ।

No comments:

Post a Comment