मसँग कला, साहित्य र सृजना सवै छ तर त्यो पनि धेरै होइन भने के हो त ? मृत्यु ?
विनोद ढकाल
‘के तिमी साच्चै म¥यौ ? कोही पनि आत्महत्यासँग सम्झौता गर्दैनन्, किनभने तिनीहरु मर्न चहान्छन्, त्यसो भए तिनीहरु किन मर्न चहान्छन् ? किनभने तिनीहरु पीडा रोक्न चहान्छन् ।’ टिफानी डि बारटोलोले हाउ टु किल अ रकस्टारमा लेखेकी छिन् । अनि, आलोक नेम्वाङले लेखेको सुसाइड नोट यस्तो छ,‘हरेक दिन मरेर बाँच्नुभन्दा एक दिन बाँचेर मर्छु ।’ आलोकको नोटसँग बारटोलोको भनाई निक्कै नजिक छ । सारमा के हो भने आलोक पीडालाई रोक्न चहान्थे, सायद ।
विषय नपाएर भौतारिएको एउटा लेखकजस्तो होइन । विषय भएर नलेखिएको कथा पनि होइन । वकम्फुस्से जमातले कुरा काट्न सक्छ– जव आलोक म¥यो अनि लेख्ने विषय पायो । त्यस्तो जमातसँग मेरो कुनै गुनासो छैन । तर, यत्ति हो आलोकहरुले आलोकको हत्या किन गरिरहेका छन् ? अनि, यस्तो हत्याको कारणहरुको मनोदशा र मनोवृत्ति अहिले कस्तो भइरहेको होला ? उनीहरुको कुनचाँही पीडा वा कस्ता पीडाहरु मृत्युभन्दा भयानक थिए र उनीहरु मृत्युलाई सहज देख्न थाले ? आलोक आत्महत्याका कारण अनेक किसीमका अड्कलवाजीमा अडिएका छन् । कारण जस्तो भएपनि यसको सारमा एउटै उत्तर हुन्छ, उनी मृत्यु सहज देख्न थालेका थिए । त्यसकारण उनले मृत्युलाई सहज स्वीकार गरे ।
आलोकको आत्महत्याको समाचार जव विहीबार राती फेसबुके र ट्वीटरेहरुको एकाउन्टमा भटाभट आउन थाल्यो र त्यहाँ उल्लेख भएका अनेकथरीका स्ट्याटसहरुले यो आलेखका लागि मलाई उत्प्रेरित ग¥यो । तर, बाँच्नेहरुले के गरे त ? आत्महत्या गर्नेहरुलाई यस्तो पनि लाग्छ,‘आत्महत्या ठूलो समाधान हो, लामो र कालो अनि भयानक रातभन्दा ।’
स्वभाविक हो, आत्महत्याको अवस्थासम्म पुग्ने एउटा मानिस स्वस्थ्य त पटक्कै हुँदैन । यस्तो कुरा तितो र नमिठो लाग्नसक्छ, तर यो यथार्थलाई अंगीकार नगरी पनि हुँदैन । तर, कल्पना गर्न कठिन तथ्य अतिरञ्जित हुने नै भयो की यति हँसिला आलोकको मनमा कति पीडा थियो ? बाहिर खुसी देखिने एउटा कलाकारभित्रको पीडा धेरै गहिरो कसरी भयो ? तर, जो जीवनसँग दिक्क छ, उ दबाब र पीडाहरुको गहिरो बन्धनमा हुन्छ । कुनै न कुनै अभावको गहिरो समस्यामा हुन्छ । यस्ता मानिसहरु जसले आफ्नो आवश्यकता र समस्यालाई व्यक्त गर्न पनि सक्तैनन् र कसैसँग भन्न पनि सक्तैनन्, उनीहरुका लागि बुझिदिने समाजको खाँचो हुन्छ ।
आलोकको मृत्युमा जो–जो भक्कानिएर रोइरहेका छन्, उनले आलोक जीउँदो रहँदा कति नजिक भएर प्रश्न गरे ? उनको समस्या र सहाराको विषयलाई कसले कति बुझेको थियो ? आलोकले नभनेपनि मनैबाट कसले बुझिदियो ? हुन त सृजनशिल मान्छेले यसरी पनि सोच्दछ की,‘मसँग कला, साहित्य र सृजना सवै छ तर त्यो पनि धेरै होइन भने के हो त ? मृत्यु ?’ सम्भावित आलोकको स्वयम्हत्या चाँही ‘यसो’ पनि हुनसक्छ ।
कसका आँखा कति रसाए ? कसले कति माया गरेका थिए, आलोकलाई ? कालो चश्मा खोलेर आँखा पुच्छ्नेहरुमध्ये को थिए, आलोकको आत्महत्याको कारण ? अनि, कसका बारेमा विक्षिप्त भएर देखियो सुसाइड नोट पनि । धेरै फिल्मकर्मी र पत्रकारहरुको सामाजिक सञ्जालमा देखियो–आलोक एक सच्चा र सृजनशिल मिडिया तथा फिल्मकर्मी थिए । उही आलोक जसले जीवनको महत्वलाई कम बुझ्यो र पासो लगाएर वित्यो । धेरैलाई यो कुराको विश्वास पनि लागेन रे कि आलोकले आत्महत्या गरेका थिए ।
जव आलोकहरु भिन्न कारणले आत्महत्याको नियतीमा पुग्दछन् अनि चलचित्र उद्योगमा सृजनाहरुको स्वयम्हत्या भइरहन्छ र यथास्थितिबाट चलचित्र उद्योग माथि उठ्ने खास कारण पाउनेछैन । आधुनिक समाजको यथार्थलाई पर्दामा होस् या सृजनामा उतार्नका लागि गरिने प्रयोगमा कोही सफल हुन सक्छन्, कोही असफल हुन सक्छन् । सफलता र असफलताको एक चरणलाई मान्छेले स्वीकार गर्न सक्छ । तर, जीवनको व्यक्तिगत उतारचढावमा मान्छे हर पल मरिरहेको हुन्छ र ऊ भौतिक रुपमा पनि मर्दछ ।
आत्महत्याको खास कारणको प्राविधिक खोजविन भइरहेका बेला यो आलेखप्रति चित्त नबुझाउने समुदाय पनि हुनसक्छ । तर, आत्महत्याको प्रमाण सुसाइड नोटभन्दा के हुनसक्छ र ? जे होस् नेपाली चलचित्र उद्योगमा अलौकिक प्रयास थाल्ने आलोकको परलोक यात्रा शान्तिपूर्ण होस्, उनका सम्झनयोग्य सृजनाहरुले बारम्बार सम्झना गराउनेछ, आलोकको । तथापी, अन्त्यमा आत्महत्या स्वीकार्य नै हुन्छ । त्यो मानिसको स्वविवेकी निर्णय हो । उनको जीवन, उनको निर्णय । अलविदा आलोक ।
No comments:
Post a Comment