Tuesday, November 4, 2014

खुलामञ्चमा ३ प्रचण्ड

पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेपाली राजनीतिमा ०६४ सालयता अनिवार्य आवश्यकताका रूपमा छाइरहेको नाम हो। शान्ति प्रक्रिया, विद्रोही नेता, प्रधानमन्त्री, संयन्त्र संयोजक अनेक नाममा। तर, त्यही प्रचण्ड खुलामञ्चमा उत्रिएको बखत उसको समय कसरी घर्किरहेको छ? विश्लेषण सुरु भइसकेको छ। प्रचण्ड आत्मरतिमा रमाउनु एउटा कुरा हो, तर राजनीतिक रूपमा आमजनताले प्रचण्डप्रति देखाएको परिदृश्यहरूले आफैं पुष्टि गर्दछ।
प्रचण्ड–१
खुला राजनीतिमा आएपछिको पहिलो आमसभामा बोल्न पुगेका प्रचण्डलाई प्रत्यक्ष हेर्न हजारौं मानिस खुलामञ्च पुगेका थिए। प्रचण्ड नामको त्यो उचाइको कुरा सुन्न नेकपा माओवादीको सभामा अनेक दल र निर्दलीय मानिसहरूको सहभागिता उल्लासपूर्ण थियो। वास्तवमा विश्लेषकहरूलाई लाग्थ्यो, प्रचण्डले गरेको क्रान्तिले नयाँ आयाम थपेको छ। र, उनको त्यो काठमाडौंको आमसभाको पहिलो सम्बोधनमा उल्लेख गरेको भाषण। ‘कि यो देशमा जंगबहादुर कि बुद्धको आवश्यक छ,’ प्रचण्डले त्यसैबेला दिएको भाषण। यसले दुनियाँ हल्लाएको थियो।
लामो जनयुद्धबाट फर्किएका प्रचण्डको यस्तो भनाइले अब माओवादीले मुलुक परिवर्तन गर्छ भन्ने आभास ल्यायो। त्यसअनुसारको निर्वाचनमा माओवादी ठूलो शक्तिका रूपमा स्थापित पनि भयो। तर, ती सबै भ्रम छरिएको रहेछ भन्ने आममानिसले बुझे । जसरी जनयुद्धका नाममा सयौं कार्यकर्ता, बेपत्ता र मृतकका परिवारलाई पनि प्रचण्ड भ्रम छर्न सफल भएका थिए।
घटनासँग चरित्र पनि उदांगिन्छ। चरित्रलाई आत्मसात गरेर आफ्नो फरक अभियानलाई सक्रिय बनाउने हो भने त्यो पेसा र कर्तव्यको इमान्दारिताको प्रतीकका रूपमा देखापर्दछ। आफ्नो चरित्रबारे आफैं पत्तो नपाउने र आत्मसमीक्षा गरी जनताको साना विषयमाथि गहन नहुने प्रवृत्तिले आफूलाई त हानि गरेकै हुन्छ, त्यसको प्रभावको पीडा अरुले पनि भोग्नुपर्दछ। अभियान होस् अथवा राजनीति, आफ्नो इमान्दारितामा अडिग नरहने हो भने त्यसप्रतिको विश्वास पनि कायम हुन सक्तैन।
नेपाली राजनीतिमा प्रचण्ड त्यो अनुहार लिएर हिँडेका छन्। बेइमानीको अभियानका रूपमा उनलाई नेपालीले राजनीतिलाई स्वीकार गर्न थालेका छन्। राजनीतिक क्रमशः झूट, हल्ला र षड्यन्त्रको पार्यायवाची शव्दका रूपमा जनजिब्रोमा झुन्डिन थालेको छ। खासगरी जनआन्दोलन ०६२/६३ पछि मुलुकले भोगेको राजनीतिक झूटले जनता आजित भएका छन्। उनीहरू निर्वाचनको अपेक्षामा छन्, तर त्यसले निकास दिन्छ भन्ने विश्वासमा देखिँदैनन्। खासगरी मतदाता नामावली संकलनको तथ्यसँग तुलना गर्ने हो भने करिब ५० लाख मानिस निर्वाचनबाट उपलब्धि हुनेमा विश्वस्त हुन सकेका थिएनन्। अहिले मुलुक त्यहि पथमा हिँडेको छ।
 
प्रचण्ड–२
निर्वाचनबाट ठूलो दलका रूपमा स्थापित भएपछि प्रचण्ड मुलुकका शक्तिशाली प्रधानमन्त्री भए। प्रधानमन्त्रीका रूपमा एकैचोटि आएका प्रचण्ड यस हकमा प्रधानमन्त्री भए कि उनी विद्रोही शक्तिका नेता पनि थिए। उनले हतियार पूर्णरूपमा बुझाइसकेका थिएनन् र यता सत्ताको चाबी पनि आफूसँग राखेका थिए। दुई सुरक्षा शक्तिको घेरामा सुकिलो र झरझर अनुहार लिएर प्रचण्ड जहाँ जान्थे, एउटा भयानक शक्तिशाली नेता हिँडेको भान हुन्थ्यो। समय र परिस्थिति तथा भष्मासुर नियतले प्रचण्डको पतन सुरु भयो, त्यही कालमा। उनले तत्कालीन प्रधानसेनापति चलाउने काम गरेकै कारणले उनी पुनः एक विद्रोही नेताका रूपमा मात्रै सडकमा आए।
केही समयअघि भयानक स्वरूपका बारेमा कुरा गरेका प्रचण्ड फेरि खुलामञ्चको खुड्किलो उक्लिए र तत्कालीन प्रधानसेनापति रुक्मांगद कटवाल तथा प्रधानमन्त्री माधवकुमार नेपालसँग खनिए। उनले माधव नेपाललाई विष वृक्षसम्म भने। उनले आन्दोलनको घोषणा गरे र मुलुक ठप्प बनाउने प्रयत्न गरे। ६ दिनसम्म उनको त्यो आन्दोलन निरन्तर चलेको थियो, तर सफल हुन नसकेपछि फेरि फिर्ता लिए। यो राजनीतिक झूट र षड्यन्त्रको निरन्तरता हुनसक्ने खतरा नजिक नपुगेका नेपालीजनको ठहरलाई सावित गर्दै प्रचण्ड गलत राजनीतिसँगै अघि बढ्न थाले।
प्रचण्ड नेपाली राजनीतिमा इमान्दारिताको मार्गबाट हिँड्न सकेनन्। संविधानसभा निर्वाचन भयो, बैठक भयो, समिति बने, राज्यको बजेट ६ वर्षसम्म त्यसका लागि खर्च भयो। तर, काम भने बेरुजुमै सिद्धियो, अन्ततः संविधानसभा ध्वस्त भयो। जनताको अभिमतको दुरुपयोग भयो। जनताको अधिकार जनताले नै उपभोग गर्न पाएनन्। यो इमान्दारिता राजनीतिक दलहरूले गुमाए। त्यसमा पनि प्रचण्डको भूमिका रहेको थियो। उनले जुन हिसाबले संघीयताका विषयमा आमसञ्चारमा आउने गरी बोले, त्यसले मुलुकको तत्कालीन राजनीतिक वातावरण बिगारेको थियो।
 
प्रचण्ड–३
राजनीतिक उतार–चढावका बीच दोस्रो संविधानसभा निर्वाचन, त्यसले स्थापित गरेको राजनीतिक अवस्था र त्योसँगै बदलिएको मूलधारको राजनीतिक प्रचण्ड। यतिबेलासम्म आइपुग्दा प्रचण्ड एउटा निहत्था कुटिल व्यक्तिभन्दा केही सावित हुन सकेनन्। किनभने आन्तरिक रूपमा पार्टी विभाजन, राजनीतिक रूपमा दलीय असफलता र जनताले गरेको निर्णयले कमजोर तथा निर्धो प्रचण्ड देखियो। राजनीतिक रूपमा आफूलाई कमेरो दलेको जन्तु सावित गर्नु उनको बाध्यता पनि हो। त्यसकारण उनी अहिले २२ दलीय मोर्चा र राजनीतिक समितिको संयोजकका रूपमा छन्। फेरि, उनी खुलामञ्चमा देखिए। तर, उनको चरित्रमा परिवर्तन आएन। उनी दुईतिरको नाउमा खुट्टा राखेर हिँडेका छन्।
परिस्थिति यति बिग्रिएर आयो कि त्यही खुलामञ्च जहाँ एक्लो माओवादीले शक्ति प्रदर्शन गर्दा, प्रचण्ड प्रमुख अतिथि हुँदा मानिसको लाम र जाम हुन्थ्यो। जहाँ पहिलो प्रचण्ड देखापरेको थियो, तेस्रो प्रचण्ड पुग्दा कुनै उल्लास थिएन। भाडाका सीमित मानिसहरूबीच प्रचण्ड बोल्नुपर्ने अवस्था आयो। समय कति परिवर्तित भयो, राजनीति कति परिवर्तित भयो, सम्भवतः प्रचण्डले त्यो समीक्षा गरेका होलान्।
आफ्ना राजनीतिक लाइनका आधारमा हुने गरेका कार्यक्रम मात्र होइनन्, वक्तव्यबाजी पनि बेइमानहरूको लोकसभा जस्तो महसुस हुन थालेको छ। ताली फरक फरक तालमा बज्छन्। जुलुस फरक हिसावले पनि देखिन्छन्। भ्रष्टाचार, दूराचार र लज्जाको शिर बोकेर आफ्नो औकातको मूल्यांकन सीमित कार्यकर्ताको भीडलाई देखाउने राजनीतिक दुश्चरित्रमा फेरि पनि कुनै बदलाव आउन सकेको छैन। आफ्नो गल्ती र कमजोरीलाई नदेखेर अरुलाई दोष देखाउने परिपाटीको निरन्तरताले नेपाली राजनीति बढेको छ। आफूभित्रको कमजोरी नियाल्ने हिम्मत कुनै राजनीतिक दलले देखाउन सकेका छैनन्। कसले कति बिगार्योि हैन, किन बिग्रिएको र कसरी सप्रन सक्छ, नेपाली राजनीति, नेपाली जनताको संविधानसभा कसरी सम्पन्न हुन सक्छ भन्ने समीक्षा अहिले पनि हुन सकेको छैन। जसले नेपाली जनताको पसिना र रगतबाट बनेको संविधानसभा भवनभित्र पसेर अर्बौं कुम्ल्याएका थिए, फेरि पनि उनीहरू हाँसेर उभिएका छन्। नेपाली जनताले खर्च गरेको अर्बौं रुपैयाँ कुम्ल्याएर त्यसको हिसाव किताव नगरी उम्किएकाहरू फेरि पनि त्यही प्रकृतिको लोभमा फसेका छन्। आफू अक्षम भएका कारण गर्न नसकेको र सरकारी कोषबाट लिएको रकम फिर्ता गर्न तयार भएको कुरा गर्न उनीहरूले सकेका छैनन्।
त्यही खुलामञ्चमा उत्रिएका प्रचण्डको खुला राजनीतिक चरित्र, खुला राजनीतिक बनोट र उनले देखाएको राजनीतिको परिदृश्य सबैका सामुन्ने छ। तर, अझै पनि उनीबाट केही आशा गरिएको छ? अन्य राजनीतिक दलहरूले पनि गरेका छन्। त्यसकारण नयाँ संविधान जारी गर्ने विषयमा उनलाई छुटाएर राजनीति अगाडि बढाउनु उपयुक्त नहुने ठानेरै उनलाई मूलधारमा ल्याउने प्रयत्न भएको हो। नत्र, उनको राजनीतिक प्रतिकूलता हेर्ने हो भने प्रचण्डको आवश्यकता जनताले नठानेको प्रतिविम्बित भइसकेको छ।

No comments:

Post a Comment