Thursday, August 30, 2012

यहाँ नेता, त्यहाँ मजदुर


डि. विनोद

एकीकृत नेकपा माओवादीको युवा संगठनमा आवद्ध अशुतोष ढुङ्गेल एक वर्ष अघि बैदेशिक रोजगारीका लागि कतार पुगे । राजनीति गरेर घरपरिवार र आफ्नो आवश्यकता पुरा नभएपछि उनी रोजगारीका लागि कतार पुगेका हुन् । सुनसरीको इटहरीमा पार्टीको सक्रिय कार्यकर्ताका रुपमा उनले पाँच वर्ष विताएका थिए । अहिले कतारको आबु हामुर अद दहावमा बसेर मजदुरी गरिरहेका ढुङ्गेल भन्छन्–‘लामो समय संगठनमा बसेपनि हातमुख जोर्नका लागि कामै गर्नुपर्ने हुन्छ । त्यसकारण म खाडीमा आएको हुँ ।’
देशमा रोजागरीको अवसर पाउन छाडेपछि युवाहरु खडी लगायतका मुलुकहरुमा रोजगारीको अवसर खोज्दै जानु सामान्य भइसकेको छ । मुलुकमा बसेर नाराबाजी र विरोधमा सरिक भएर छाक टार्ने समस्या पुरा नहुने भएपछि राजनीतिक दलको सक्रिय कार्यकर्ताहरु पनि  विदेशिन थालेका छन् । ‘राजनीतिले घर चल्दो रहेनछ, त्यसैले काम गर्न यता आइयो ।’ उनले भने,‘अव केही समय काम गरेर पैसा कमाइयो भने राजनीति पनि गरौंला । तर, मेरो लक्ष्य फर्किएर व्यावसाय गर्ने हो ।’ उनी माओवादीको भ्रातृ संगठन योङ् कम्युनिष्ट लिग (वाइसीएल)को विभिन्न पदमा रहेर राजनीति गरिरहेका थिए । ‘राजनीति गरेर केही भएन अवसरपनि नपाउने भएपछि म वैदेशिक रोजगारीका लागि कतार आएको हुँ ।’ उनी इमेलमार्फत लेख्छन्–‘राजनीतिले हिजोपनि केही दिएन, आज त झन देशको हालत विग्रिएको छ । अव व्यक्तिगत आवश्यकता पुरा गर्नका लागिपनि म यहाँ काम गरिरहेको छु ।’
परदेशमा राजनीति भन्दापनि श्रमका विषयमा बढि चर्चा हुन्छन् । कुनै दल विशेषको नभएर नेपाली मुलको र आफ्नो श्रमको बारेमा अनुभव साटासाट गर्दा औधी रमाइलो लाग्ने उनले बताए । ‘परदेशमा देशको माया पनि औधी हुन्छ । अनि यहाँ श्रम गरेर परिवारको आवश्यकता पुरा गर्नपनि पाइएको छ, खुसी नै छु ।’ उनी लेख्छन्–‘वेरोजगारीको समस्या उच्च भएपछि यहाँ आउनुको विकल्प थिएन ।’
त्यस्तै मोरङ बेलबारीका बाबुराम फुयाँल चार वर्ष अघि विद्यार्थी राजनीति छाडेर वैदेशिक रोजगारीका लागि युएइको दुवई पुगे । लामो समयसम्म विद्यार्थी राजनीति गरेर पनि केही उपलव्धी नहुने भएपछि पैसो कमाएर भविष्यको जोहो गर्नकै लागि उनी दुवई पुगेका हुन् । ‘चारवर्षसम्म आन्दोलन र सभामा सरिक हुँदा मेरो केही हुने थिएन । यहाँ आएर मेहनत गर्दा केही रकम कमाएको छु, सुरक्षित राखेको छु ।’ उनी भन्छन्,‘यस अवधिमा नेपाल दुई पटक आएँ राजनीतिक अवस्था त जहाँको त्यहिँ छ । म पनि त्यतै रुमल्लिरहेको हुने थिएँ । तर, अहिले आफ्नो व्यक्तिगत जीवनमा सामान्य सुधार भएको महसुस गरेको छु ।’
राजनीतिमा भविष्य नदेखेपछि विदेशीनेहरुको लहड नै चलेको छ । मुलुकको अस्थिर व्यवस्थामा रोजगारीको अवसर नपाएका कारण उनीहरु विदेशीएका हुन् । ‘कुनै न कुनै सीप सिकेर विदेश आएर काम गर्दा आफ्नो भविष्यमात्र बन्दैन, राजनीति गर्नु र मुलुक विकास कसरी गर्नुपर्ने रहेछ भन्ने देखेर पनि जानिदो रहेछ ।’ फुयाँल भन्छन्,‘युवाले नै मुलुक बनाउने हो तर हामीलाई अवसर छैन, अरुको देश निर्माणका लागि भएपनि आउनु परेको छ ।’
वर्षिक चार लाखको संख्यामा विदेशीने युवाशक्तिहरु पारिवारिक आवस्थालाई आर्थिक रुपमा उकास्नका लागि परदेशीने गरेका छन् । ती मध्ये धेरैजसो कुनै न कुनै राजनीतिक दलसँग आवद्ध भएर लामो समय काम गरेकै हुन्छन् । केही साता अघिमात्र प्रेसको मजदुरीका लागि बहराइन पुगेका सप्तरीका खगेन्द्र पौडेल भन्छन्,‘यहाँ राजनीतिक दलको कार्यकर्ता भएर भविष्य बलियो देखिदैन । त्यसकारण विदेशीनुपरेको हो ।’ नेपालमा गरिने मजदुरीमा पारिश्रमिक पनि कम पाउने र राजनीतिमा लाग्दा व्यक्तिगत जीवनस्तरमा परिवर्तन आउने नदेखेपछि उनीपनि विदेशीएका हुन् । ‘स्वदेशमा उचित रोजगारीको अवसर पाए कसलाई पो अर्काको मुलुक जाने रहर हुन्छ र ?’ उनी भन्छन्,‘बाध्यताले नै मानिसलाई परदेशको झोला बोक्न बाध्य बनाउँछ ।’
म्यानपावर कम्पनी चाहारेर होस अथवा विदेशमा रहेका आफन्तचिनेजानेका व्यक्तिहरुसँग भिसा माग गरेका होस, युवाहरु ब्ैदेशिक रोजगारको आकर्षणमा लागि परेका छन् । सरकारले पनि वैदेशिक रोजगारीलाई उच्च महत्वका राखेका कारण कोरियादेखि, इजरायल, मलेशियासम्म पनि युवाहरु जाने क्रम वर्षेनी बढेको छ । एपीएस पास गरेर कोरिया पुगेका दिपक भारती भन्छन्,‘मुलुकमा अवसरको गुञ्जायस रहेन । शैक्षिक वेरोजगारीको पनि उत्तिकै संख्या बढ्न थालेपछि इपीएस पास गरेर कम लगानीमा राम्रो आम्दानीका लागि म यहाँ आएको हुँ ।’ उनी लोकतान्त्रिक आन्दोलनका क्रममा विभिन्न दलका विद्यार्थी संगठनमा रहेर सडक आन्दोलनमा उत्रिएका थिए । ‘मुलुकमा राजनीतिक दलमा आवद्ध भएर दैनिकी परिवर्तन नहुने रहेछ, व्यक्तिगत भविष्य राम्रो भएमात्र राजनीति गर्नपनि स्वाद आउने भएकाले म आफ्नो भावी दिनहरु सुरक्षित बनाउन कोरिया आएको हुँ ।’ करिव एक वर्ष अघि कोरिया पुगेका भारती भन्छन्,‘राजनीतिक दलनै छाडेर आएका निक्कै साथीहरु सँगै काम गरिरहेका छन् ।’
राजनीतिमात्र हैन नेपालमा सञ्चालन गरेका व्यापारव्यावसाय, न्युन आम्दानी हुने स्वदेशी रोजगारी छाडेरपनि युवाहरु विदेश पलायन हुने क्रम बढिरहेको छ । निम्त स्तरका युवाहरु खाडी, अध्ययनमा चाख राख्नेहरु कोरिया वा युरोप र लगानी गरेर राम्रो आम्दानी गर्न सक्नेहरु विभिन्न मुलुक जाने गरेका छन् । ‘राजनीति, मोफसलका अन्य कामहरुलेमात्र मानिसका व्यक्तिगत अपेक्षाहरु पुरा हुँदैनन् । ऋण बोकेको पविारको दायित्व पुरा गर्नका लागि पनि वैदेशिक रोजगारीमा जानुको विकल्प छैन ।’ केही महिना अघि दुवई पुगेका मोरङ्का अम्बिका भण्डारी भन्छन्,‘कहीँ अवसर नपाएपछि राजनीतिक दलमा आवद्ध भएर बसेका निक्कै साथीहरु दुवईमा भेटेको छु ।’
नेपाली युवाशक्तिको माग खाडी तथा अन्य मुलुकमा बढ्न थालेपछि नेपाली भुमी छाड्नेहरुको संख्या बर्षेनी बढिरहेको छ । यतिसम्मकी घरको समस्या टार्नका लागि आफ्नो उमेर बढाएर, कागजपत्र मिलाएर जानेहरुको संख्यापनि कम छैन । ‘युवालाई अवसरको खाँचो हो, मुलुकमा अवसर सृजना हुन नसकेपछि विदेशिनु बाध्यता बनेको छ । मुलुक बनाउने शक्ति अहिले बाध्यताको झोला बोकेर समाज, राजनीतिक दल र मुलुक छाडेर परदेशीन बाध्य भएका हुन् ।’ युवा अधिकारकर्मी प्रदिप परियार भन्छन्,‘जसका कारण मुलुकमा विप्रेषण भित्रिएको छ र मुलुकपनि चलिरहेको छ ।’
सरकारी तथ्याङ्कबाहेक वैदेशिक रोजगारीका बारेमा अध्ययन गर्नेहरुका अनुसार विश्वभर रोजगारीकै लागि ५० लाख नेपाली युवाहरु विदेशिएका छन् । अधिकांश राजनीतिक दल परित्याग गरेरै रोजगारीका लागि विदेशिएको अध्ययनले देखाएको छ । अध्ययनकर्ता रमेश पण्डित भन्छन्,‘नेपालमा रोजगारी नपाउँदा राजनीतिक दलको युवा, विद्यार्थी अथवा पार्टीको कुनै न कुनै अंगमा संलग्न भएका युवाहरु नै परदेशिएका हुन् ।’ त्यसो त खाडी लगायतका विभिन्न मुलुकमा पनि राजनीतिक दलहरुले आफ्ना सम्पर्क समिति गठन गर्नुले पनि यसलाई पुष्टि गरिरहेको छ । तर, परदेशको काममा राजनीति विचार प्रधान हुँदैन, श्रमलाई प्राथमिकता दिएर फुर्सदका समयमा मात्र उनीहरुले सामान्य औपचारिक कार्यक्रमहरु ग्र्ने गरेको कतारको दोहास्थित सञ्चारकर्मी रवि रोषी बताउँछन् । ‘राजनीतिक दलm छाडेर यहाँ श्रम गर्न आउनेहरु व्यापक छन् । हामीले कुराकानीका क्रममा यस्ता निक्कै पात्र भेटेका छौं ।’ रोषी भन्छन्,‘मुलकमा रोजगारी नपाएपछि उनीहरु यसरी खाडी आइरहेका छन् ।’
 
१५ वर्षमै वैदेशिक रोजगारीमा 

कलिलो अनुहार, कोमल हातखु्ट्टा, पढ्ने औधी रहर पनि छ उनमा । जुँगाको रेखी पनि नबसेका उनी बालबालिकाको सुचीमा पर्छन् । तर, घरमा जेठोबाठो भएका कारण व्यवाहारिक समस्या सुल्झाउने जिम्मेवारी पनि उनको काँधमा आइप¥यो । त्यहि समस्या सुल्झाउने बाध्यता नै वैदेशिक रोजगारीको एउटा विकल्प बन्यो । सल्यान मार्के–९ का प्रमेश बुढा कक्षा आठमा अव्वल नम्बर ल्याएर तृतीय भए । तर, उनी कक्षा नौको किताव किन्नुको साटो राहदानी बनाउने चक्करमा परे । उमेर बढाएर नागरिकता लिए र राहदानी बनाएर वैदेशिक रोजगारीका लागि हानिए, कतार । 
२०५४ साल चैत २८ गते जन्मिएका हुन् उनी । त्रिभुवन उच्च माध्यमिक विद्यालयमा कक्षा आठबाट पास भएर नौमा जाँदा तृतीय भएका थिए । तर घरको आर्थिक समस्याका कारण उनले आफ्नो शिक्षालाई निरन्तरता दिन सकेनन् । अनि, उनको परिवारको हातमुख जोर्ने समस्याको सहयोगीपनि कोही भएन । जसका कारण उनी कतार पुगेका छन् ।
‘उमेर बढाएर नागरिकता बनाएपछि राहदानी लिन सजिलो भयो र यहाँ आएको हुँ ।’ उनले भने,‘घरको पारिवारिक समस्या समाधान गर्ने कुनै उपाय नभएपछि परदेश आएको हुँ ।’ १६ नपुगी नागरिकता बनाउन पाइँदैन भने १८ नपुगी वैदेशिक रोजगारीमा जान पाउने प्रावधान नै छैन । अन्तर्राष्ट्रिय बालअधिकार कानुनले पनि यसलाई बर्जित गरेको छ । विदेशमा त के देशमा पनि १६ नपुृगी काम गराउने अधिकार पाइँदैन । तर, उनी छ महिना अघि नै कतार पुगेका थिए । ‘घरको ऋण धेरै छ । तिर्ने कुनै उपाय थिएन । आफ्नै काकाले कतारमा राम्रो काम छ भनेपछि म यहाँ आएको हुँ ।’ उनले भने,‘ऋणको बोझ हलुका बनाएपछि नेपाल फर्किएर पढ्ने रहर छ ।’ उनी सनैयास्थित एक कम्पनीमा वेल्डरको काम गर्छन् उनी । दिनमा दुइघन्टा ओभरटाइम गर्दा १२ सय रियालसम्म तलब पाउने गरेको उनले बताए । सानो भएका कारण कतारमा रहेका नेपाली कामदारले उनलाई माया गर्छन् । उनी तानुवा –व्यक्तिगत) भिसामा कतार पुगेका हुन् ।
(कतारबाट रवि रोषीको सहयोगमा)

काममा जानेलाई टिप्स


श्रम तथा रोजगार मन्त्रालय र अन्तर्राष्ट्रि आप्रवासन संगठन (आइ.ओ.एम.) को संयुक्त प्रयास तथा वैदेशिक रोजगार प्रबद्र्धन बोर्डको कृयाशीलतामा बोर्डमै रहने गरी आप्रवासी स्रोत केन्द्रको स्थापना भएको छ । वैदेशिक रोजगारीमा जानेहरुको परामर्शका लागि यो स्रोत केन्द्र उपयोगी छ । यदि तपाई वैदेशिक रोजगारीका लागि जानुहुँदैछ भने स्रोतकेन्द्रमा सम्पर्क गर्नुहोला । तपाइले यस्ता सेवा पाउनुहुनेछ ।

– वैदेशिक रोजगारीमा जान चाहने वा जाने कामदारहरुलाई उचित परामर्श र सही सूचना उपलब्ध हुन्छ ।
– व्यक्तिगत तथा इमेलका माध्यमबाट पनि परामर्श हुन्छ । इमेलको पहुँच नभएका कामदारहरुको हितलाई ध्यानमा राखी टेलिफोनबाट समेत परामर्श सेवा दिने व्यवस्था छ ।
–आप्रवासनमा जान चाहने कामदारहरुको वैदेशिक रोजगार सम्बन्धी सही तथा भरपर्दो सूचनाका लागि पैसा नलाग्ने टोलफ्रि नम्बरमा सम्पर्क गर्न सकिने छ ।
–कानुनी तथा प्राविधिक जानकारी लिन सकिन्छ । सूचना प्रवाहलाई टेलिफोनबाट प्रभावकारी सेवा पाउन कामदारले केन्द्रबाट ‘अटो एनसरिङ मेसिन’को सहयोग पाउँछन् ।
–सुरक्षित वैदेशिक रोजगारका लागि काम गरिरहेका सरकारी, गैरसरकारी तथा अन्तराष्ट्रिय गैरसरकारी संस्थाहरुसँग पनि परामर्श गर्न सकिन्छ ।

Tuesday, August 28, 2012

ध्रुवीकरणको सन्देश

विनोद
राजनीति नामको फिल्म बनाउने रहर जागेर आएको छ । एकजनन निर्देशक मित्रले गन्थनका क्रममा भने । राजनीति के हो ? यसको अर्थ के हो ? र, यसलाई कसरी प्रस्तुत गर्ने ? नेपाली राजनीतिमा यसलाई कसरी खेलको रुपमा प्रयो गरिएको छ अथवा के नेपालको सत्ताराजनीतिको नाममा भइरहेका गतिविधि खासमा राजनीति हो त ? यसलाई प्रष्ट पार्नैपर्ने हुन्छ । हुन त एकथरीले राजनीतिलाई पेसा समेत भन्ने गरेका छन् । तर, कस्तो पेसा हो ? त्यसबारेमा व्याख्या गर्ने शव्दहरु उनीहरुले फेला पारेका छैनन् । तर, नेपाली सत्ताउद्योगमा फस्टाएको राजनीति नामको पेसालाई षडयन्त्रको गञ्जागोल अर्थ बनाइएको छ । राज्यमा कुनै नीति छैन । नीति ल्याउने स्पष्ट मार्गलाई लत्याएर अध्यादेश ल्याउने हल्ला बलियो बनाइयो । नीति भएको राज्यमा राजनीति हुने हो । तर, हाम्रो मुलुकमा कहाँ कस्तो नीति ? विदेश नीति के ? राज्य सञ्चालनका आधारभुत नीति के के हुन् ? प्रधानमन्त्री र मन्त्रीपरिषदको आधारभुत नीति कस्तो रहनुपर्ने हो ? कर्मचारीतन्त्रको नीति कस्तो हुनुपर्ने हो ? केही स्पष्ट छैनन् ।
राज्य हाँक्ने ठाउँमा पुगेपछि युद्धमा पिल्सिएका घाउहरुको वेवास्था भएको छ । क्रान्तिमा यस्ता सामान्य घटना हुन्छन् भन्ने तर्कले आफ्ना भ्रष्टाचारहरु लुकाउने प्रयत्न भइरहेका छन् । रातो बंगलाका वरीपरि क्रान्ति ठूला कुरा हुन्छन् । तर, जसले क्रान्तिका नाममा पीडा भोगेका छन्, उनको परिवारमा अहिलेसम्म खुसी कसरी मनाइन्छ भन्ने विश्वासको मार्ग जागेको छैन । क्रान्तिपछि शान्ति र त्यसपछि विग्रहको बाटोमा नेपाली राजनीति उद्दत छ । यसबीचमा आशाको केही दियो बलेर शान्तिपूर्ण मुलुक र गरिखान पाउने अवस्थाको लागि नागरिक अपिल बढिरहेको छ । त्यसलाई पनि गम्भिर रुपमा वास्ता गरिएको छैन । क्रान्तिपुरुष बन्ने सपनालाई छाडेर भ्रष्टाचारको बबन्डरमा रमाएका छन्, क्रान्तिकारी दलहरु । अनि, त्यसैमाथि राजनीतिक टिप्पणी र ध्रुविकरणका कुराहरुले व्यापकता पाएका छन् । व्याख्या गरिनसक्नुको फोहोरी राजनीति भएपनि पछिल्लो पटक राजनीतिमा केही आशा गर्नसकिने संकेतहरु देखा परेका छन् । त्यसलाई पनि नकारेर जानचाँही नमिल्ने अवस्था छ अहिले । एमाओवादी अध्यक्ष संयोजक रहेको संघिय लोकतान्त्रिक गणतान्त्रिक गठबन्धनले अन्य राजनीतिक दलहरुसँग संवाद गरि निकास दिने जिम्मा पुष्पकमल दाहाल प्रचण्डलाई दिएको छ । ध्रुवीकरण भएको नेपाली राजनीतिक परिवेशमा गठबन्धको यो निर्णयसँगै फेरिपनि सहमतिको संकेत देखिदा अव राजनीतिले निकासको खुड्कीलो चढ्ने हो की ? भन्ने आशा देखिएको हो । तर, यतिवेलै भर परिहाल्ने अवस्थाचाँही छैन ।
राष्टिय राजनीति प्रचण्डको वरीपरिमात्र घुम्छ भन्ने अवस्था नभएपछि यस्ता गठबन्धनका नाममा राजनीति बढिरहेको थियो । तर, यस्ता नाफामुखि गठबन्धनहरुपनि लामो समय टिक्न नसक्ने आत्मसमीक्षा भएकै कारण संवादका चर्चाहरु बाहिर आएका होलान् । र, यो राम्रै कुरा पनि हो । संविधानसभा विघटनपछि कुन राजनीतिक दलको हैसियत कस्तो भन्ने अवस्था पनि छैन । त्यहिँमाथि माओवादीको विभाजनपछि राष्टिय राजनीतिको केन्द्रमा प्रचण्डमात्रै छन् भन्ने मुर्ख विचारहरु प्रधान हुन नसक्ने सवैले बुझ्न थालेका हुन् । विभाजन अघि प्रचण्ड नै शान्ति प्रकृया र संविधान निर्माणको उत्तराधिकारी हुन् भन्ने सवैले मानिरहँदा उनको गैरजिम्मेवारपूर्ण भाषण र ठूलो गल्तीका कारण संविधानसभा भंग भएको थियो । त्यसलाई सवैले समीक्षा र मुल्यांकन पनि गरेका छन् । उनका कुरामा विश्वास गर्न छाडेका अन्य राजनीतिक दलहरुले संवाद थाल्ने विषयलाई कसरी विश्लेषण गर्लान त्यो अर्को कुरा हो । तर, अव जुनसुकै अवस्थामा भएपनि दलहरुको संवाद र सहमति अनिवार्य आवश्यकताका रुपमा अघि बढेको बेलामा आएको निर्णयलाई स्वागत गर्नैपर्ला । यद्यपि, प्रचण्ड वा उनको गठबन्धन अहिलेको सर्वोपरि होइन । निम्न राजनीतिक हैसियत बोकेको यस्तो गठबन्धन लामो समयसम्म टिक्नेमा पनि शंका नै थियो ।
फेरिपनि केन्द्रिय राजनीतिमा नागरिक नै सर्वोपरि छन् । नागरिकको ताजा जनमतविना कुन राजनीतिक दल कति ठूलो भन्ने ठहर गर्न मुस्किल छ । क्षेत्रीय र जातिय विचारहरु बलियो हुँदै गएको अवस्थामा राजनीतिक दर्शन बोेकेका पार्टीहरु सोचेजति बलिया छ्रैनन् । न त क्षेत्रीय या जातिय विचारका राजनीतिक दलहरु । त्यसकारण सर्वपक्षीय, सर्वदलिय सहमति नै अहिलेको निकासको मुख्य बाटो हो । यो बाटोमा सवै दलहरु हिँड्नुको विकल्प छैन । कहिलेकाँही धम्कीपूर्ण शैलीमा उत्रने प्रचण्डले पनि यो कुरा बुझेका छन् । क्रान्ति गर्न जति उनका लागि सहज भयो त्यसको व्यवस्थापन उनका लागि त्यति नै जटिल भएको दुनियाँका सामु छर्लंग छ । क्रान्तिमा नफुटेको दल व्यवस्थापनका अवस्थामा आउपछि फुट्यो, युद्धमा बलियो देखिएको प्रचण्डपथ शान्ति प्रकृयाका सुरुआती दिनहरुदेखि नै हटाइयो । यो, प्रचण्डले आत्मसमीक्षा गरेकै विषय हो ।
राजनीतिक निकास र सहमतिका लागि नेकपा माओवादीले गरेको सर्वपक्षिय छलफलका क्रममा जुन प्रकारले उनले सडकमा उत्रनका लागि धम्कीपूर्ण शैलीका भाषापनि प्रयो गरे, त्यो अहिले पर्याप्त छैन । उनका सेनालाई उनले नै वेवारिशेजस्तो बनाइसकेका छन्, कार्यकर्तालाई देखाउने भाँडो बनाएका थिए । कति कार्यकर्ता उनका छन् ? भन्ने निक्र्यौल गर्दा अहिले उनी कमजोर सावित हुन्छन् ।
फेरिपनि राजनीति विग्रहलाई मिलाउने आधार भनेको सहमतिय बाटो नै हो । यो सहमतिय मार्ग सत्ताका लागिमात्र नभएर राजनीतिक गतिरोध अन्त्य, जनताको जनजीविकाको सवाल र आगामी मार्गचित्र कोर्नका लागि नभए अव कुनैपनि आन्दोलनका फुस्रा कुराको केही दम हुनेवाला छैन । राजनीतिमा ठोस सहमतिको आधार नकोरी आफ्नो व्यक्तिगत र दलगत स्वार्थलाईमात्र मध्य नजर गर्दा मुलुक समस्यामा पर्दछ । अझ शान्ति प्रकृयाको लिगबाट हिँडिरहेको मुलुकमा जवसम्म स्थिर राजनीतिको मार्ग भेटिन्न त्यतिवेलासम्म देखिने स्वार्थहरुले अनिर्णयको बन्दि बनाउने गरेको छ । जुन नेपाली नागरिकजनले अहिले भोगीरहेका छन् । विकासका कार्यक्रम र साक्षरताका कार्यक्रम नपाएका नागरिकका लागि राजनीतिक निकासबाटै भावी दिनका भाग्यरेखा कोरिने हुन् ।
यसर्थ, गठबन्धले सार्वजनिक गरेको सहमतिय यात्राको सवाल स्वागतयोग्य छ । तर, यो वैठक र माइन्युटमा सीमित राखेर ध्रुविकरणको राजनीतिलाई बढावा दिने हो भने विजयकुमार गच्छादार, महन्थ ठाकुर, राजकिसोर यादवलाई बोकेर हिँडेका प्रचण्ड कुन हदसम्मको खाल्डोमा पुग्नेछन् भन्ने समयले देखाउने छ । सीमित क्षेत्रीयतावादी मुद्दाका झुठा तस्विरका आडमा नयाँ क्रान्तिको ध्वाँस दिने प्रचण्डको क्रान्तिकारीताको कुनै अर्थ हुनेछैन । अन्ततः मुलुकमा निकासका लागि शान्ति र सहमति नै आवश्यक छ । अर्को कुनै मागृ छैन । संविधानसभापछिका संसदमा दलीय समीकरणका कुरा हुन् वा संसद भंगपछिका दलिय समीकरणका ताण्डवहरु । ति सवै नेपालीजनका लागि भाग्योदय हुन नसकेको सवैले बुझेकै, देखेकै र भोगेकै विषय हुन् । सहमतिय बाटोमा राजनीतिक यात्रा सुरु हुन सके नेपालीपनि विकास र निकासको अग्रगतिमा लम्किन सहज हुने थियो । 
तरुण साप्ताहिकको स्तम्भ सरोकार मा प्रकाशित लेख

भ्रष्टाचारीलाइ स्याउँ स्याउँ ती किरा परोस

विनोद
सुन्दर समाजको लागि लोकतान्त्रिक व्यवस्था जति सहज छ लोकतान्त्रिक समाजका लागि भ्रष्टाचार त्यति नै जोखिम पनि हुन्छ । नेपाली समाजले लोकतान्त्रिक व्यवस्थामा भ्रष्टाचार शुन्य मुलुकको अपेक्षा गरेका थिए । तर, हरेक नाममा राजनीतिक दलहरुको भ्रष्टाचारी व्यवाहारका कारण नागरिकहरु एदास हुन थालेका छन् । भ्रष्टाचारशुन्य मुलुकका लागि राजनीतिक दलहरुले पनि नागरिकको विश्वास जित्ने खास नीतिनियम र त्यसको व्यवाहारिक कार्यान्वयनमा ध्यान दिन सकेनन्, इच्छाशक्ति देखाएका छैनन् । राजनीतिक संक्रमणका नाममा बढेको चलखेलकाबीच भ्रष्टाचारको गहिरो घाउबाट मुलुक अहिलेपनि पिल्सिरहेको छ । विकास निर्माण र रोजगारीको व्यवस्था गर्नुको साटो राज्यसत्तामा शासन गर्ने कुनै पनि राजनीतिक दलहरुले भ्रष्टाचारलाई बढावा दिएकै कारण मुलुकको अर्थतन्त्र कमजोर भएको हो । हामी कुशल राजनीतिज्ञभन्दा पनि कुसल भ्रष्टाचारीहरुको शासनमा पिल्सिरहेका छौं ।
जव जयप्रकाशप्रसाद गुप्ता राजनीतिक समीकरणको बलियो आधारमा बाहलावाला सुचना तथा सञ्चारमन्त्री रहँदारहँदैपनि सर्वोच्च न्यायालयले कारवाहीका लागि फैसला गरेको थियो । मुलुकमा भ्रष्टाचार र त्यसलाई आत्मसाथ गर्नेहरुको मनमा ढ्याङ्ग्रो बजाएकै हो । त्योसँगै बाबुराम प्रधानमन्त्रीत्वको यो सरकार शक्तिको आयतनलाई अदालतसम्म नपु¥याउने शक्तिका रुपमा परिभाषित भइरहेको थियो । सर्वोच्चको नाकमा केही मधेसवादी दलहरुले विरोधका झुत्राहरु तेर्साएपनि त्यसको कुनै असर भएन । भ्रष्टाचारकै अर्को नमुनाका रुपमा सरिता गिरीलाई क्याविनेटबाट हटाउने प्रधानमन्त्री बाबुरामको कदमलाई क्रान्तिकारी नै मानिएको थियो । तर, जव जव भ्रष्टाचारका गन्धहरु उत्पात रुपमा माओवादीको पछ्यौरी हुँदै पुरै पार्टीमा नै लाग्यो सरकारले आफ्ना कर्तुतहरुको पर्दाफास गर्ने कुनै झिनो संकेत दिएन । अरु त अरु सरकारी ढुकुटीबाट गएको माओवादी लडाकुको रकममा भएको भ्रष्टाचारसम्बन्धि मुद्दा भृकुटीमण्डपमा प्रधानमन्त्रीलाई कुर्ची हान्नेसम्मको परिवेशमा परिणत भयो । तर, बाबुराम मौन रहे । उनका क्रान्तिकारीताका आडम्बर व्यवाहारहरु प्रष्टिदै गए । आफ्नो आङ्मा भैंसी नदेख्ने र अर्काको आङ्को जुम्रा मार्ने चरित्र नेपाली राजनीतिमा मौलाउँदै गएको छ । कसैका आङ्मा जुम्रापनि रहनुहुन्न भन्ने नागरिकहरुको माग हो । तर, नागरिकहरुको यस्तो अपेक्षालाई कुनै राजनीतिक दलहरुले मनन गरेका छैनन् । राज्यकोषबाट माओवादी लडाकुका नाममा निकासा भएको रकममा व्यापक भ्रष्टाचार भयो । त्यसबारेमा एमाओवादीले छानविन समिति बनायो तर आफ्नै राजनीतिक दल भएका कारण यति गहिरो विषयमा बाबुरामले सरकारी निकायलाई हात हाल्नबाट रोकेका छन् । जसरी भारतमा अन्ना हजारे भ्रष्टाचार विरोधी आन्दोलनमा उत्रिएका छन् त्यसरी नेपालमा भ्रष्टाचारको विरोधमा उत्रिने त्यस्तो शक्ति त देखा परेको छैन । तर, सरकारी निकायको दृष्टिलाई पनि कालो चश्मा लगाएर अन्धो लबनाउने प्रयत्न भइरहेको छ, शक्तिको आडमा, सत्ताको आडमा ।
यहि मुद्दामा कोही चोखो देखिने अवस्था छैन । भ्रष्टाचारको खरो भएर उत्रिएको क्रान्तिकारी पार्टी एमाओवादी अहिले भ्रष्टाचारको सवैभन्दा गहिरो दलदलमा छ । उसको विवाद फुट र अहिलेको नियती पनि सम्पत्ति र राज्यको ढुकुटी रित्याएर नेताको मनोपोलीकै कारण हो । तर, माओवादी बाहेकका नेपाली कांग्रेस र एमालेले पनि अहिले भ्रष्टाचारको विषयलाई राजनीतिकरण गर्ने प्रयत्न गरेकै छन् । यद्यपि, न्यायालयको फैसलाको विरोधमा कोही पनि उत्रिनु जायज हुँदैन । भ्रष्टाचारलाई संरक्षण गर्ने काम कुनै दलका नाममा हुनु राम्रो होइन । अदालतको मान र मर्यादालाई कायम राख्ने हो भने कुनै पनि आवरणमा त्यसले गरेका निर्णयहरुको विरोध व्यक्तिगत वा संस्थागत गर्नु उपयुक्त हुँदैन । चाहे खुमबहादुर खड्काको विषयलाई लिएर कांग्रेसले गर्न लागेको विरोधको निर्णय होस अथवा अरु केही । जव जव प्रजातन्त्र र लोकतन्त्र प्राप्तिका समयहरुलाई नागरिकले उपभोग गरिरहेका छन्, अनेक बाहनामा । तव तव देशमा भ्रष्टाचारका घटनाहरु उही क्रममा तिव्र रुपमा बढिरहेका छन्, प्रजातन्त्रपछिका वर्षहरुमा कांग्रेस, एमाले वा राप्रपा र तानाशाही व्यवस्थामा ज्ञानेन्द्र सरकारका वेला जे जति भ्रष्टाचार भए तिनको हिसाव कितावको किनारा लाग्नु अहिलेको आवश्यकता हो । तर माओवदाीले मच्चाएको भ्रष्टाचारको आतंकलाई पनि यसैवेला नजरअन्दाज गर्न मिल्दैन । उसले पनि भ्रष्टाचार गरेवापतको सजाय राज्यको कानुनबाट नै पाउनुपर्दछ ।
भ्रष्टाचारका कारण हामी यति कमजोर भएका छौं की सुशासनको विषयमा नागरिक बहस छाडेका छौं । हिजो एक राजनीतिक दलबाट करोडौं असुलेका नेता आज जात वर्ग र लिङ्गको नाममा अर्को राजनीतिक आवरणमा बच्ने कोसिस गरिरहेको छ । आज एउटा राजनीतिक दलका नाममा भ्रष्टाचारको नाङ्गो नाच देखाउने भोली अर्को राजनीतिक मुद्दामा आफुलाई बचाउने कोसिस गर्छ । भ्रष्टाचारीहरुका एजेन्टलाई पक्राउ गरी त्यसको तीनपुस्ते लिने हो भने कसले कति र कहाँ सम्पत्ति कुम्ल्याएको भन्ने प्रष्ट हुन्छ । त्यसका लागि कुशल प्रशासकको पनि आवश्यकता छ । अनि, नागरिक दवाव त अनिवार्य नै ।
कर्मचारीतन्त्र, राजनीतिज्ञ र नागरिक सवै भ्रष्टाचारशुन्य हुनु सुन्दर मुलुकको आवश्यकता हो । तर, हामी आफ्नो मानसिकतालाई पनि भ्रष्ट बनाइरहेका छौं । कसैको आवश्यकता धेरै र कसैको कम हुँदैन । नियम कानुन र त्यसको पालना सहज र सरल गर्नका लागि सवैले नागरिक तहबाट आन्दोलन गर्नु जरुरी छ । कमिसनका चर्चाहरु चल्छन्, यदि कसैलेपनि कमिसन नदिने हो भने कसले यो मुलुकमा विकासका कार्यक्रम रोक्न सक्छ ? कसले यो मुलुकमा सुशानलाई कमजोर बनाउन सक्छ । अपराध बलियो हुने र नागरिक कमजोर हुने क्रम बढ्नुको चरित्र यहि हो । भ्रष्टाचारका लागि सामान्य कानुनी सजाय होइन, कठोर सजायको आवश्यकता छ । त्यसकारण नागरिक तहबाट भ्रष्टाचार विरुद्धका बलिया कमद चाल्नका लागि सवै एकजुट हुनैपर्छ ।
समाजमा अपराध गर्नेहरुलाई कुनै स्थान हुँदैन । तर, भ्रष्टाचारको हिलो छ्यापिएकाहरु ससम्मान घुमिरहेका हुन्छन् । त्यसको विरोधमा एउटा पंक्ति खरो भएर उत्रिने गरेका छन् । लोकतन्त्रको सवैभन्दा ठूलो रोग नेताहरुको व्यक्तिगत महत्व्कांक्षा हो । जव राजनीतिज्ञ मुलुक,समाज छाडेर व्यक्तिगत महत्वकांक्षाको शिखर चढ्न थाल्दछ, नेता धनी र जनता गरिव हुने क्रम बढिरहन्छ । राजसंस्था आफु मखमलमा जुत्ता पुछ्ने र जनताचाँही च्यादर नपाउने नियतीका कारण सदाका लागि अन्त्य भएको थियो । यहि सुविधाभोगी जीवन अहिले हर दलका हर नेतामा देखिन्छ । पुष्पकमल दाहाल प्रचण्ड देखि झलनाथ खनालसम्मको जीवनशैली उही छ । त्यसकारण राजनीतिज्ञहरुलाई चेतना भया, भ्रष्टाचारले बनाएको जीवनशैली जतिसुकै उचाइमा पुगेपनि आखिर त्यसले एकदिन जमिनमा उत्रिनै पर्ने हुन्छ । भ्रष्टाचारशुन्य शासनव्यवस्था भएमात्र मुलुकले विकासको गति लिन सक्छ, त्यसकारण भ्रष्टाचारीलाई किरा परोसमात्र होइन, स्याउँ स्याँउती किरा परोस ।

तरुण साप्ताहिकको स्तम्भ सरोकार मा प्रकाशित लेख

एफएम सेलिब्रिटि




काठमाडौं स्थित एउटा चलेको एफएम रेडियोमा समाचार र केही ‘टक सो’ सञ्चालन गर्ने श्रीकृष्ण न्यौपानेलाई झापाको दमकका फ्यानले निरन्तर फोन गरिरहन्छन् । उनको स्वर र शैलीबाट प्रभावित ती फ्यानले दमकका लागि निम्तोमात्र दिदैनन् घरमा बस्ने र दमक घुम्नका लागि मोटरसाइकल नै दिनेसम्मको प्रस्ताव पनि राख्छन् । ‘मेरो फ्यानक्लव त छैन । तर, आम स्रोतले यसरी खोजेरै फोन गर्ने र प्रस्ताव गरेको घटनाबाट म उत्साही भएको छु । पत्तै नपाई फ्यानहरु बटुलिन थालेका छन् ।’ न्यौपाने भन्छन्,‘मिडियामा काम गरेर पनि यति गहिरो फ्यानचाँही भेटेको पहिलोचोटी हो ।’ न्यौपाने मिडियामा काम गर्ने र त्यसमा पनि समाचारमा काम गर्नेको फ्यान नै हुन्छन् भन्नेमा विश्वस्त थिएनन् । जव उनलाई दमक लगायतका देशका विभिन्न ठाउँबाट युवायुवतीले फोनगरेर ‘तपाइको फ्यान’ भन्न थाले अनि उनले आफूलाई ‘सानोतिनो सेलिब्रेटी’ नै ठानेका छन् । भन्छन्,‘अटोग्राफ माग्ने र प्रशंशा गर्नेमात्र फ्यानजस्तो लाग्थ्यो । हैन रहेछ ।’ अहिले फेसबुकमा उर्लिएको फ्रेण्ड रिक्वेस्टलाई तह लगाउनका लागि उनले फ्यान पेज नै खोल्ने तयारी गरिसकेका छन् । ‘यतिधेरै रिक्वेष्ट आउन थाले की अव फ्यान पेज नखोली नहुने भयो ।’ उनी भन्छन् ।
म्युजिक, मोडलिङ, फिल्मसँग आवद्ध भएकाहरुसँगै चम्किएका अलगधारका सेलीब्रेटी हुन् मिडियामा कार्यरतहरु पनि । प्रत्यक्ष वा परोक्ष रुपमा आफ्ना फ्यानहरुको चाहनालाई पुरा गर्नुपर्ने दायित्व चुनौति बन्ने गरेको छ । सञ्चारक्षेत्रका पुराना हस्तिका जति फ्यान छन् त्यति नै, नयाँ पुस्ताका फ्यानहरु पनि छन्, जो ‘लोकल सेलीब्रेटी’ बनीरहेका छन् । राजधानी र मोफसलमा चलेका मिडियामा कार्यरत अव्वल युवा सञ्चारकर्मीका फ्यान यतिविध्न बढ्न थालेका छन् की त्यसले काममा उर्जा थपेको बताउँछन्, कार्यरतहरु । हुन त फ्यान निर्धारणका कुनै न्युनतम आधारहरु बनेका छैनन् । प्रशंशकहरुको भीँडलाई नै फ्यान भन्ने गरिएको छ । तर, मिडिया खुल्ने र फरक किसिमका कार्यक्रमहरु प्रस्तुतीकरणसँगै त्यसका प्रशंशकहरुको भीँडपनि ज्यादा हुने गरेको छ । धरानको दन्तकाली एफएममा कार्यरत अर्पण ढकाल अहिदे दंग हुनुको कारण पनि उनका फ्यान बढ्नु हो । संगित र चलचित्र सम्बन्धि कार्यक्रम सञ्चालन गर्ने उनले विराटनगरको स्टेजमा उद्घोषण गरेपछि त झनै मख्ख छन् । ‘खुसी लाग्छ, मिडियामा काम गरेर पनि फ्यानहरुसँगको भेटघाट, उनीहरुले गर्ने प्रशंशा सुनेर ।’ भन्छन्,‘यस्तो हुँदा केही गर्न सकिएला भन्ने सोच आउँछ ।’
मिडियासँगै बढेका कार्यक्रम प्रस्तोताहरु, तिनका सञ्चालकहरुको आवाजमा नतमस्तक हुनेहरु पनि कम हुँदैनन् । भेटेर गफमात्र होइन, मित्रतासँगै मिडियामा आफ्नो उपस्थिती चाहने महत्वकांक्षा बोकेका फ्यानहरुपनि हुन्छन् । यस्तै कार्यक्रम सञ्चालिनका चन्दा खड्काका फ्यानहरु पनि उनका लागि विभिन्न उपहार लिएर आउने गरेका छन् । ‘लोकल रेडियो, लोकल सेलीब्रेटी । पूर्वाञ्चलमा राम्रै प्रशंशकहरु भेटिएका छन् ।’ खड्का भन्छिन्,‘काम गरेपछि प्रशंशकहरु बढ्ने रहेछन् । मेरा पनि कार्यक्रम सुनेर प्रशंशा गर्नेहरु टन्नै छन् ।’
साना मिडिया र समाचार क्षेत्रमा काम गरेर फ्यानहरु बढ्लान भन्ने अपेक्षा नयाँ पुस्ताले सोचेकै थिएनन् । फ्यान बटुल्न त ठूला मिडियाका ठूलै मान्छे हुनुपर्छ भनेर ठान्नेहरु आफ्नो सोचाइमा परिवर्तन भएको बताउन थालेका छन् । ‘रिपोर्ट, समाचार सुनेर प्रतिक्रिया दिनेमात्र होइन प्रभावित भएर भेट्न आउनेहरुपनि उत्तिकै हुन्छन् । स्थानियस्तरमा पनि यस्ता व्यक्तिहरु मैले निक्कै पाएको छु ।’ सप्तकोशी एफएम, इटहरीमा कार्यरत संजिव भट्ट भन्छन्,‘अरु केही गर्न नसकेपनि कार्यक्रमबाट प्रशंशकहरु बटुल्ने काममा सफल भएजस्तो लाग्न थालेको छ ।’ हुन त राम्रो काम गरे विभिन्न क्षेत्रमा कार्यरत युवाशक्तिहरुका फ्यानहरु उत्तिकै हुन्छन् । राजनीतिमा गगन थापा, सुरक्षामा रमेश खरेल, वैंकिङमा अनिल शाहका फ्यानहरु टन्नै छन् । समाचार र प्रस्तुतीकरणमा रविन्द्र मिश्रका फ्यानहरुपनि विश्वभर रहेका छन् । उनीहरु जस्तै अलगधारको फ्यानहरु बटुृलेर स्थानिय होस वा राष्ट्रिय रुपमा सेलिब्रेटी बन्ने बनाउने क्रमभने अनेक कोणहरुबाट भइरहेको छ । ‘प्रायःगरी सिनेमा तथा संगितक्षेत्रका प्रशंशकहरुकोमात्र संख्या उच्च हुने गरेका कारण उनीहरुको फ्यान हुन्छन् जस्तो लाग्थ्यो तर हर क्षेत्रमा यस्तो हुने कुरा सवैले विश्वास राख्नुपर्ने रहेछ ।’ उनीहरुको भनाई छ ।

यो समाचारीय आलेख शुक्रबार साप्ताहिकमा प्रकाशित हो ।

घर-घर शव पुर्‍याउन टेन्डर

विनोद ढकाल
मलेसियामा सवारी दुर्घटनामा मृत्यु भएका आफन्तको लास कहिले आइपुग्ला भन्ने जानकारीका लागि एक युवा वैदेशिक रोजगार प्रवर्द्धन बोर्डको कोठाचोटा चहारिरहेका थिए। संवाददाता वैदेशिक रोजगारीका क्रममा मृत्यु भएका नेपालीहरूको अभिलेखका लागि बोर्डको सम्बन्धित शाखामा छिर्ने क्रममा थियो। 'तपाईँलाई जानकारी भए मलाई पनि मृतकहरूको रेकर्ड दिनुहोला है?' हतारमा रहेको ती युवाले संवाददातासँग भने, 'मेरो मान्छेको लास नेपाल ल्याएपछि घरसम्म पुर्‍याउनका लागि निवेदन दिन आएको हुँ।' ती युवाले बोर्डमा मृतकको नाम दर्ता गरी घरसम्म पुर्‍याइदिनुपर्ने निवेदन दिएपछि सम्बन्धित मुलुकबाट लास झिकाएर मृतकको ठेगानामा पुर्‍याउने काम सक्रियतापूर्वक थालिएको छ। यसरी आफन्तको लास घरमा पुर्‍याउन आवेदन दिनेहरूको संख्या बढ्न थालेको छ। वैदेशिक रोजगार बोर्डले घर-घरमा लास ढुवानीका लागि टेन्डरै आह्वान गर्ने अवस्था आइपुग्यो। यसै आर्थिक वर्षदेखि ढुवानीका लागि उसले कोटेसन माग गरी सम्बन्धित संस्थाको सूचीकरण पनि गरेको छ। यसअघि ढुवानीको काम बोर्ड आफैँले गर्दै आएको थियो।
भैरहवा-११, रुपन्देहीका विजयकुमार यादवको वैदेशिक रोजगारीका क्रममा मलेसियामा मृत्यु भएको थियो। उनको शव यसै वर्ष नेपाल आयो र १७ हजार रुपैयाँ खर्चेर परिवारले घरमा लगेर अन्तिम संस्कार गरेको थियो। विदेशबाट लास काठमाडौँ आएपछि वैदेशिक रोजगार प्रवर्द्धन बोर्डले मृतकको परिवारसँग सम्पर्क गरी लासलाई सम्बन्धित ठाउँमा पुर्‍याएको थियो। वैदेशिक रोजगारीका क्रममा विभिन्न कारणबाट मृत्यु भएका व्यक्तिहरूको लास अन्तर्राष्ट्रिय विमानस्थलसम्म झिकाएर घरघरमा पुर्‍याउने कामलाई बोर्डले अझ प्रभावकारी बनाउने लक्ष्य लिएको छ। 'मृतकको लासलाई हामीले जतिसक्दो चाँडो सम्बन्धित परिवारको जिम्मा लगाएर अन्तिम संस्कारका लागि पुर्‍याउने व्यवस्थाका गरिरहेका छौँ।' बोर्डका एक अधिकारी भन्छन्, 'यस्तो व्यवस्था भएपछि अहिले मृतकहरूको परिवारले लास घरमा पुर्‍याउने झन्झट बेहोर्नुपरेको छैन। तर, त्यसका लागि हामीलाई निवेदन दिनुपर्ने कानुनी प्रकृया चाहिँ आवश्यक छ।'
महाभारत-१, धनकुटाका नरबहादुर राईको कतारमा मृत्यु भएको थियो। उनको शव पनि यसै वर्ष नेपाल आएको थियो। पच्चिस हजार रुपैयाँ खर्चेर काठमाडौँबाट घरसम्म उनको शव पुर्‍याइएको थियो। शनिश्चरे-३, मोरङका विजय मोक्तानको पनि काम गर्ने क्रममा साउदी अरबमा मृत्यु भएको थियो। चौबिस हजार रुपैयाँ खर्च गरेर उनको शव सम्बन्धित ठेगानामा पुर्‍याइएको थियो।
नेपालबाट विदेशमा गएर काम गर्ने श्रमशक्ति विभिन्न धार्मिक समुदायका हुन्छन्। त्यही अनुरूप मृतकहरूको अन्त्यष्टि प्रक्रिया फरक-फरक हुन्छन्। काठमाडौँको आर्यघाट हिन्दुहरूका लागि सहज भए पनि अन्य धर्म र संस्कृतिका परिवारका लागि सहज नहुने भएपछि घर-घरमै लास पुर्‍याउने काम थाल्नु अनिवार्य थियो। यसलाई बोर्डले केही वर्षयता निरन्तरता दिएको छ। यसअघि अन्तर्राष्ट्रिय विमानस्थलमा कुरेर आफैँले लानुपर्ने व्यवस्था दियो। बोर्डले यसको जिम्मा लिए पनि लास ढुवानी अत्यन्तै कठिन कार्य भएको छ। शव ढुवानीको भनेजस्तो साधन उपलब्ध हुन नसक्ने कठिनाइका कारण बोर्डसँग रहेको सवारी साधनले नै अहिले पनि ढुवानीको काम जारी राखेको छ।
वैदेशिक रोजगारीमा गएका युवाहरूको संख्या जसरी बाक्लिएको छ, त्यसरी नै विभिन्न कारणले मृत्यु हुनेको संख्या पनि बढिरहेको छ। सरदर दैनिक तीन जना आप्रवासी नेपाली कामदारको मृत्यु हुने गरेको छ। यो मृत्युदर अन्य मुलुकको तुलनामा खाडी मुलुकमा ज्यादा छ। वैदेशिक रोजगारीसम्बन्धी अध्ययन गरिरहेका रमेश तुफानका अनुसार विदेशमा मर्ने नेपाली कामदारको संख्या बढेको छ। 'श्रम स्वीकृति लिएर गएका र मृत्यु भएका निवेदनको आधारमा सम्बन्धित मुलुकमा रहेको कुटनीतिक नियोगसँगको सहकार्यमा लास नेपाल झिकाउने काम हुन्छ। लासलाई झिकाउने काम झन्झटिलो भएकाले यसमा सबै कानुनी प्रक्रिया पूरा गर्ने प्रचलन छ,' बोर्डका एक अधिकारी भन्छन्, ' र पनि, लास ल्याउने र घरघरमा पुर्‍याउने काम बाक्लैसँग हुन थालेको छ। सम्बन्धित परिवारका लागि सहानुभूतिको काम हो यो।'
एम्बुलेन्स जति छन्, त्यसको तुलनामा शववाहन निकै कम छन्। झन्डै दिनहुँजसो विदेशबाट आउने लासलाई सम्बन्धित ठाउँमा पुर्‍याउन शववाहन नपाउने अवस्था आएपछि वैदेशिक रोजगार प्रवर्द्धन बोर्ड समस्यामा थियो। त्यतिमात्र होइन, सम्बन्धित ठेगानामा शव पुर्‍याउन बोर्डका सवारी साधन प्रयोग भइरहेका थिए। न त बोर्डसँग शववाहन राख्ने कुनै सरकारी प्राधिकार नै छ। विदेशमा मृत्यु भएका नेपाली कामदारका आफन्त बोर्डका कोठाचोटा दिनहुँजसो धाउने गर्छन् र आफन्तको शव सम्बन्धित ठेगानामा पुर्‍याइदिन आग्रह गर्छन्। 'सरकारी कामको नियम हुन्छ। नियम पुर्‍याउन अन्य विभिन्न विषयको कोटेसन मागी सूचीकरण गर्ने क्रममा लास ढुवानीको विषयलाई किन नराख्ने भन्ने विचार गरेर चारजना बोर्डका अधिकारीहरूको छलफलबाट विज्ञापन गरेका छौँ,' बोर्डकी निर्देशक गिरिजा शर्मा भन्छिन्, 'यसो गर्दा एउटै विज्ञापन खर्चमा हामीले विभिन्न विषयको सूचीकरण गर्ने क्रममा लास ढुवानीको काममा पनि सुविधा होला भन्ने ठानेका छौँ। यो नै वैधानिक र मितव्ययी बाटो पनि हो।' आर्थिक वर्ष ०६७/६८ मा बोर्डले एक सय २२ लासलाई सम्बन्धित परिवारलाई जिम्मा लगाएको थियो।
ढुवानीलाई सूचीकरण माग
वैदेशिक रोजागरीका क्रममा विभिन्न मुलुकमा पुगेर ज्यान गुमाएकाहरूको लास ढुवानीका लागि संस्था दर्ताको सूचीकरण सुरु भएको छ। बोर्ड एक्लैले विमानस्थलमा आउने लासको ढुवानी गर्न समस्या भएपछि यस आर्थिक वर्षबाट ढुवानीका लागि सूचीकरण माग गरिएको छ। बोर्डको अधिनमा रहने गरी ढुवानी खर्च लिएर सम्बन्धित निकायको नियमअनुसार सूचीकृत संस्थाले ढुवानी गर्ने प्रबन्ध सुरु गरिएको छ। बोर्डका केही सवारी चालकले नै यसअघि लासलाई सम्बन्धित ठेगानामा पुर्‍याउने गरे पनि यस आर्थिक वर्षदेखि सूचीकरण गरेरै इच्छुक र भरपर्दो संस्थालाई जिम्मा दिन लागिएको हो।
वैदेशिक रोजगार प्रवर्द्धन बोर्डमा रहेको कल्याणकारी कोषबाट रकम खर्च गरी यस्तो ढुवानीकर्तालाई दिने व्यवस्था छ। सरकारी नियमलाई लागु गर्न र व्यवस्थित कामका लागि यस्तो गरिएको बोर्डले जनाएको छ। 'मृतकका आफन्तहरूको आर्थिक स्थिति कमजोर भएको हुँदा र समयमा घरघरमा लास पुर्‍याउन नसक्दा हुने बिजोग बुझेरै बोर्डले यस्तो नियम बनाएको हो,' बोर्डका कर्मचारी भन्छन्, 'यसो हुँदा पीडित परिवारलाई अझ लास ढुवानीको पीडा पनि नहुने भयो।' त्यसै कामका लागि बोर्डसँग पर्याप्त सवारी साधन र शववाहन पनि नभएका कारण सूचीकरणबाट नयाँ संस्थाको माग गरिएको हो। शव बाहनबाट सम्बन्धित ठाउँमा शव पुर्‍याएबापत बोर्डले भाडा रकम निर्धारण गरेको छ। आर्यघाट लगेबाहेक शव पुर्‍याउने ठाउँको दूरीका आधारमा बोर्डले ढुवानी रकम तोकेको छ। आधारभूत रुपमा १५ देखि २५ हजार रुपैयाँसम्म छ भने विशेष परिस्थितिमा १७ देखि ४० हजार रुपैयाँसम्म दिनसक्ने व्यवस्था बोर्डले गरेको छ।
कसरी पुग्छ घरसम्म?
विदेशमा आफन्तको मृत्यु भएको पुष्टि हुनासाथ नेपालमा रहेको परिवारले वैदेशिक रोजगार प्रवर्द्धन बोर्डमा लास झिकाउन निवेदन दर्ता गर्दछन्। निवेदनका आधारमा बोर्डले सम्बन्धित मुलुकको कुटनीतिक नियोगमा पुष्टिसहित लास नेपाल फर्काउन पत्र लेख्ने गर्छ। लास आउने मिति पुष्टि गरी बाकसमा आएको लासलाई कुन ठाउँसम्म कहिले पुर्‍याउने भन्ने जिम्मेवारी बोर्डबाट लास ढुवानीको काम गरेका कर्मचारी वा ठेकेदार कम्पनीले जिम्मा लिने गर्छन्। हाल यो काम बोर्डकै कर्मचारीहरूबाट नै भइरहेको छ। सम्बन्धित ठाउँमा पुर्‍याउने जिम्मा लिएको ठेकेदारले परिवारलाई जिम्मा लगाएको आधिकारिक सरकारी पत्र बोकेर बोर्डमा अभिलेखका लागि दर्ता गराउँछन्। 'सम्बन्धित ठाउँमा पुर्‍याएको सरकारी पत्र नआउन्जेल हामी ढुक्क हुन सक्तैनौँ। सरकारी कामको विश्वसनीयता र भरपर्दो सेवाका लागि पनि हामीले यो नियमलाई जारी राखेका छौँ,' बोर्डकी निर्देशक शर्मा भन्छिन्। अति कम खर्चमा पशुपति आर्यघाटसम्म पुर्‍याउनेदेखि पूर्वमा झापा र पश्चिममा कैलालीलगायत जिल्लाका गाउँ-गाउँमा लास पुर्‍याइसकेको आधिकारिक तथ्यांक बोर्डसँग छ। 'हामीकहाँ सम्पर्कमा आउने र निवेदन परिसकेका व्यक्तिहरूको काम गरिरहेका छौँ।'
ढुवानीमा लाखौँ खर्च
बर्सेनि लास ढुवानीका लागि बोर्डमा रहेको कल्याणकारी कोषको लाखौँ रकम खर्च हुन थालेको छ। यसका बिल र भौचर नियमन गर्न कठिन भइरहेको छ। विमानस्थलबाट आर्यघाटसम्म एक हजार रुपैयाँबाहेक अन्य क्षेत्रमा लास ढुवानीको रकम ठाउँ हेरेर तय गरिएको छ। कम्तीमा १२ हजारदेखि बढीमा ४० हजार रुपैयाँसम्म एक लास ढुवानीमा खर्च हुँदै आएको छ। यस्तो रकमलाई खर्चको कानुनी स्वरूप दिन कोटेसन आह्वान भएको बोर्डको दाबी छ। 'सरकारी खर्चको विवरण तय गरी बोर्डको बजेटलाई पारदर्शी देखाउन पनि कोटेसन आह्वान आवश्यक थियो,' बोर्ड अधिकारी भन्छन्, 'यसो गर्दा सरकारी नियम पालना गर्नुपर्ने हुन्छ।' बोर्डले लास ढुवानीको जिम्मा तीनजना कर्मचारीलाई दिएको थियो। ढुवानीबापतको रकम ती कर्मचारीले लिने गरेका थिए। 'अरू कुनै माध्यम थिएन र भरपर्दो अवस्था नभएकाले यो परम्परा थियो। तर, अब तोडिएको छ। सबै काम नियमअनुसार हुन्छ,' बोर्ड अधिकारी भन्छन्।
विदेश जानेलाई टिप्स
-काम गर्न जाने मुलुकको नेपाली राजदूतावास, श्रम सहचारी, संघ गैरआवासीय नेपाली एवं नेपाली संघ संस्था आदिको सम्पर्क ठेगाना, फोन नम्बर साथमा राख्नुपर्छ। अप्ठ्यारो पर्दा सजिलो हुन्छ।
-विदेशमा रहँदा नेपाली राजदूतावास, नेपाली संघसंस्था र आफ्नो घरपरिवारको नियमित सम्पर्कमा रहनुपर्छ। यसो गर्दा अप्ठ्यारो पर्दा उद्धारका लागि मद्दत माग्न सजिलो हुन्छ। मानसिक तनाव न्यून गर्न सकिन्छ।
-काम गरिरहेको वा काम गर्न गएको कम्पनी छोडी अन्यत्र काम गर्न जानुहुँदैन। कतिपय देशमा यस्तो गर्नु गैरकानुनी हुन्छ र जेल सजाय पनि हुनसक्छ।
-करार अवधि सकिएपछि स्वदेश फकिर्एर पुन बिमा गराई श्रम स्वीकृति लिएर जानुपर्छ। अन्यथा, दुर्घटना पर्दा बिमा र अन्य आर्थिक सहायताको सुविधा पाइँदैन।
-सम्झौता गरेको भन्दा फरक कम्पनीमा, फरक काममा, कम पारिश्रमिकमा काम लगाएको छ भने तुरुन्त नेपाली दूतावास, वैदेशिक रोजगार विभागमा उजुरी गर्नुपर्छ। आफू खुसी अन्यत्र काम गर्न जानुहुँदैन।
-कोठामा बस्दा वा सुत्दा एसीको सही प्रयोग गर्नुपर्छ। थाहा नभएको कामकुरा सिकेर र जानेर मात्र गर्नुपर्छ।
-कमाएको पैसा बैंकिङ च्यानलबाट पठाउनुपर्छ। व्यक्तिगत तबरवाट र हुण्डीबाट पठाउँदा जोखिम हुन्छ।
-खाडी मुलुकमा पानमसला, परागलगायत सुर्तीजन्य पदार्थ, मदिरा लैजान र सार्वजनिक स्थानमा प्रयोग गर्न प्रतिबन्ध छ। यस्ता सामान लुकाई लगेमा, बिक्री गरेमा वा प्रयोग गरेमा कडा सजाय हुन्छ।
-सम्बन्धित देशको ट्राफिक नियम बुझ्ने र पालना गर्नुपर्छ।

 This story @ http://www.nagariknews.com/diaspora/asia-prabas/44841-2012-08-16-10-08-27.html 

दलालको अखडा

विनोद ढकाल
काठमाडौं–वैदेशिक रोजगारीमा पठाउने नेपाल ओभरसिज इम्प्लोइमेन्ट व्युरो प्रालिले कामदारलाई समस्या पारेकै कारण उसको सञ्चालन गर्ने इजाजतपत्र खारेजी भयो । त्यतिमात्र होइन सो कम्पनीले वैदेशिक रोजगार विभागले कुनैपनि प्रकारका कारोबार गर्न नपाउने गरी सर्वत्र सर्कुलर जारी गरेको छ । एक नम्बर इजाजतपत्र पाएको कम्पनीले नै ठगी गरेपछि विभागले उसको इजाजतपत्र खारेज गरेको थियो । त्यसो त यसरी इजाजतपत्र खारेजी भएको म्यानपावर कम्पनी एउटामात्र हैन । झण्डै तीन सयको संख्यामा यस्ता म्यानपावर कम्पनीहरु छन् । ८ सय ५० नम्बर इजाजत पाएको वेल म्यानपार कम्पनीलाई पनि ठगीको उजुरी परेपछि कारवाही स्वरुप उसको सञ्चालन गर्ने अधिकार खारेज भएको थियो । इजाजत नम्बर १५ लिएको मिलन इन्टरनेशनल, ३० नम्बर इजाजत लिएको अल अजिमा इन्टरप्राइजेज लगायतका धेरैको वैदेशिक रोजगारसम्बन्धि इजाजत विभागले हरण गरेको थियो । व्यावसायीक रुपमा काम गर्ने भनेर पनि ठगी धन्दालाई बढावा दिएपछि यस्ता कम्पनीको इजाजत जफत गरिएको विभागले जानाउने गरेको छ । तर, जति इजाजत जफत गरेपनि म्यानपावर कम्पनीको संख्या घट्न सकेको छैन, बरु विभिन्न फरक नाममा इजाजत लिनेको संख्या बढ्न थालेको छ । यस्ता दलाल कम्पनीहरुले पछिल्ला चरणमा जनशक्तिको दलालीमा ठूलो फाइदा देखेपछि व्यावसायीक काम गर्ने बाहनामा इजाजत लिनेको संख्या बढ्ने गरेको हो । तर, जसरी कम्पनीहरु ब्ढिरहेका छन्, त्यसरी ठगी बढिरहेको छ । त्यतिमात्र नभएर ठगीका धन्दा पनि फरक फरक तरिकाले परिवर्तन हुन थालेका छन् । जसले गर्दा जसरी पनि वैदेशिक रोजगारका लागि आकर्षित हुने युवाशक्ति नै पीडामा पर्ने गरेका छन् ।
वैदेशिक रोगारका लागि विदेश पठाउने दलाल कम्पनीहरुले नेपाली कामदारहरुलाई भावनात्मक बाध्यताको बन्धक बनाउने गरेका छन् । आफ्नो दुनो सोझ्याउनका लागि लाखौं कामदारलाई स्वदेश तथा विदेशमा अलपत्र पार्ने त्यस्ता कम्पनीलाई कारवाही गरेको सूचना बाहिर आएपनि सञ्चालकहरु हर प्रकारले वैदेशिक रोजगारीका नाममा ठग्ने पेसामा सक्रिय हुने गरेका छन् । वैदेशिक रोजगार विभागले जम्मा ४३ वटा म्यानपावर कम्पनीलाईमात्र देशभर शाखा खोल्नसक्ने अनुमति दिएको छ । तर, काठमाडौं बाहिर एक हजार भन्दा बढि त्यस्ता शाखा कार्यालयको नाममा सञ्चालनमा छन् । अहिले इजाजत पाएका सात सय ३५ म्यानपावर कम्पनी सञ्चालनमा छन् । तर, प्रत्येक वर्ष बढ्ने ठगीका कारण त्यस्ता म्यानपावर कम्पनीहरुको इजाजतपत्र खारेजी हुने गरेको छ । तथापी, म्यानपावर कम्पनीको संख्या घट्ने गरेको छैन । ‘एउटा नामको खारेजी हुनेवित्तिकै उसले अर्को नामको म्यानपावर कम्पनी सञ्चालनमा ल्याउने गरेको छ ।’ वैदेशिक रोजगार विभाग स्रोत भन्छ,‘त्यस्ता व्यक्तिहरुलाई कारावही हुँदैन, धरौटी सकिएपछि नयाँ म्यानपावर खोलेर फेरि कारोबार गर्छन् ।’ संस्थाको नाममात्र कालोसुचीमा रहने गरेको छ । तर, सञ्चालकले अनेक प्रलोभन र दवावमा विभागमा आफ्नो प्रभाव जमाएका कारण म्यानपावर कम्पनीहरुको संख्या घटेको छैन । अझ, अहिले म्यानपावर कम्पनी सञ्चालनका लागि एजेन्टहरुले मान्छे थुपार्ने नयाँ तरिका अपनाएका छन् । उनीहरु बेरोजगार युवालाई विदेशमा राम्रो कामको प्रलोभन देखाएर सिधा ठगी गर्छन् । ‘विदेश गएर राम्रो रकम कमाउने प्रलोभन तथा आफ्नै सफलताको झुठो कथा सुनाएर पनि एजेन्टहरुले सिधा युवाहरुलाई ठगी गर्न सिपालु भएका छन् ।’ ठगीको पीडामा परेका कविर कार्की भन्छन्,‘कतार जाने क्रममा म यसरी ठगीमा परेको हुँ । तीनवटा कम्पनीले हाम्रो पैसामा दलाली गरेका हुँदा रहेछन् । नेपालमा दुई चरणमा अनि कतारमा एक चरणमा यस्तो दलालीको सिकार मै पनि भएको हुँ । तर लगानी उठाउने बाध्यताका कारण दुख सहेर भएपनि केही वर्ष काम गरेर फर्किएको हुँ ।’
वैदेशिक रोजगारीमा जाने युवाहरुको राहदानी आफ्नो कव्जामा राखेर पहिला पैसा तान्ने र पछि अलपत्र पार्ने कम्पनीहरु ज्यादा छन् । पैसा लिएपछि भिसाका लागि झुलाएर ठगी गर्नेहरुको संख्या ज्यादा देखिन्छ । आफ्ना आफन्तलाई पनि पठाउन लागेको भन्ने बाहनामा लाखौं उठाएर सम्पर्कविहीन हुने तथा पठाउँदा पनि अर्को कम्पनीमार्फत पठाउने काम अहिले भइरहेको छ । उपत्यका बाहिरका विभिन्न ठाउँमा आफ्नो नामको म्यानपावर कम्पनी खोलेर मान्छेहरु भेला पारी काठमाडौंमा इजाजतपाएका अन्य म्यानपावरलाई मान्छे दिने दलाली अहिलेपनि कायम छ । वैदेशिक रोजगारीका विषयमा प्रशासनिक निगरानी नगरेका कारणपनि अनेक ढङ्गबाट ठगीका घटनाहरु बढ्ने गरेका छन् । कम्तिमा एक अर्व १० करोडभन्दाको वार्षिक ठगि बढ्नुको कारण संस्थागत नाममा व्यक्ति एजेन्टका रुपमा विभिन्न जिल्ला–जिल्लामा पुगेर ठूला सपना बाँड्नु पनि रहेको विभाग अधिकारीहरु बताउँछन् । अनि, वैदेशिक रोजगार भन्नसाथ मख्ख पर्ने युवाहरुको आफ्नै कारणपनि उनीहरु समस्यामा पर्ने गरेको अधिकारीहरुको भनाई छ । ‘हो, व्यावसायका नाममा विभिन्न कानुनी प्रकृया पुरा गरेर आएका म्यानपावर कम्पनीले दर्ता पाउने गरेका छन् । उनीहरुले गरेको ठगी धरौटि दिएर भएपनि हामीले पीडितलाई दिलाउने गरेका छौं । तर, कामदार आफैंले पनि धेरै कुरा विचार गर्नुपर्छ ।’ विभागका निर्देशक काशीराज दाहाल भन्छन्,‘विदेश भन्नासाथ उसको इजाजतपत्र, त्यो कम्पनीको अवस्थाका बारेमा बुझ्न प¥यो । प्रकृयाका विषयमा बुझ्ने सरकारी निकाय छ । त्यसलाई पनि सोध्नप¥यो ।’
खाडी मुलुकमा कामदार पठाउने २० भन्दा बढि म्यानपावर कम्पनीहरुलाई सम्बन्धित मुलुकका दुतावासले कालोसुचीमा राखेको जानकारी विभागमा पठाइएको छ । तर, वैदेशिक रोजगार विभागले ति कालोसुचीमा रहेका म्यानपावर कम्पनीका सञ्चालकलाई कारवाहीको दायरामा ल्याउन सकेका छैनन् । हर प्रकारले खोजी गरेको बताइएपनि ठगी गर्ने त्यस्ता कम्पनी र व्यक्तिलाई कारवाही गरिएको सुचना नागरिकले पाउन सकेका छैनन् । इजाजतपत्र खारेज गरिएका कम्पनीका नामहरु विभागमा रहेपनि त्यसका संचालकहरुले फरक नामबाट अर्का म्यानपावर कम्पनी खोलेर ठगीको धन्दा चलाउने क्रम पनि निरन्तर चलिरहेकै छ । विभागले अहिले विभिन्न नामका दुई सय ६५ म्यानपावर कम्पनीको इजाजतपत्र खारेज गरी कालो सुचीमा राखेको छ । तर, त्यसका सञ्चालकहरुलाई कालोसुचीमा राख्ने सरकारी संयन्त्रको कमजोरीका कारण ठगी बढिरहेको बताउँछन् अधिकारीहरु । ‘काम गर्ने क्रममा अनेक प्रकारका प्रभावहरु आउँछन्, भएका छन् । त्यस्ता कुराहरुबारे सवै गम्भिर नभए यो क्रम न्युनिकरणमा पनि समस्या हुनेछ ।’ विभागका एक अधिकारी भन्छन्,‘वैदेशिक रोजगारीको कामलाई सवैले सिन्डिकेट बनाएका छन् । यो दलालीको ठूलो अखडाजस्तो भएको छ ।’
तीन चरणको दलाली
वैदेशिक रोजगारीमा विभिन्न चरणका दलाली हुने गरेका छन् । एउटा गाउँको युवा खाडी मुलुकसम्म लेवरको रोजगारीमा पुग्नका लागि तीन चरणको वैधानिक र एजेन्टको अवैधानिक दलालीको सिकार बनाइन्छ । गाउँमा पुगको एजेन्टले विदेश पठाउने बाहनामा एउटा समुहको ठेक्का लिन्छ । उसले सात देखि १० जनाको समुह म्यानपावर कम्पनीको शाखामा ल्याएवापतको निश्चित कमिसन पाउने गरेको छ । एक जना बराबर कम्तिमा ५ हजार र बढिमा १० हजारसम्मको कमिशन एजेन्टले पाउने गरेको छ । वैदेशिक रोजगारीका लागि जाने तयारी गरेका युवा समुहले म्यानपावरको शाखामा आफ्नो कागजपत्र र राहदानी बुझाएपछि सवै रकम बुझाउनुपर्छ । न्युनतम ८० हजार तोकिएको मुलुकका लागि एक लाख ५० हजारसम्म तिर्नुपर्छ । त्यसपछि सो शाखा कार्यालय वा म्यानपावरले काठमाडौंमा रहेको म्यानपावर कम्पनीसँग डिमान्ड अनुसारको कामदारको समुह बुझाउने गर्दछ । काठमाडौंमा कार्यालय राखेको म्यानपावरले विदेशी कामदारको दलाली गर्ने कम्पनीलाई भनेजति कामदार पठाउनुपर्छ । उसले खाडी मुलुकका कम्पनीमा त्यसरी कामदार पठाएपछि विदेशी दलाल कम्पनीले विभिन्न कम्पनीहरुमा काम लगाइदिने गर्दछन् । त्यसवापत त्यो कम्पनीले पनि दलालीको रकम लिने गरेको बुझिएको छ । पीडित कामदारहरु मध्ये खाडी पुगेर फर्किएका जीवन भण्डारीका अनुसार विदेशको दलाल कम्पनीले आफुले चाहेको कम्पनीमा लेवरका रुपमा पठाउने गर्दछ । अत्यन्त न्युन पारिश्रमिकमा काम गर्नुपर्ने बाध्यता हुन्छ । नेपालमा ठूलो लगानी गरेर विदेश गएपछि त्यहाँ काम नगरी फर्कनुको अर्थ हुँदैन । त्यसकारण पीडित भएरपनि लामो समय काम गरी पैसा नकमाई फर्कने साथीहरु पनि छन् । उनी भन्छन्,‘म पनि पैसा नकमाउने मध्येमा पर्छु ।’
कहाँ छ कमजोरी ?
वैदेशिक रोजगारमा हुने ठगीका विषयमा हेर्ने प्रशाशनिक संयन्त्र भएपनि त्यो प्रभावकारी हुन सकेको छैन । उजुरी वैदेशिक रोजगार विभागमामात्र दर्ता हुने भएका कारण विभिन्न जिल्लाहरुमा हुने ठग िर दललीका कामलाई प्रशासनले निस्तेज पार्न सकेको छैन ।
वैदेशिक रोजगारको विषयमा काममा जाने युवा आफैंलेपनि राम्रोसँग नबुझ्ने गरेका कारण संस्थागत रुपमा हुने दलालीले पनि प्रश्रय पाएको छ भने उपयुक्त कानुनको अभावमा पनि इजाजत खारेज भइसकेपछि पनि त्यस्ता म्यानपावर कम्पनीका सञ्चालकहरुमाथि कारवाही नहुनु अर्को समस्या हो । क्षतिपूर्तिलेमात्र कारवाही पुरा नहुने हुँदा त्यस्ता कम्पनीका सञ्चालकलाई कडा कानुन बनाएर कारवाहीको दायरामा ल्याउने प्रयत्न सरकारी संयन्त्रले गर्नुपर्दछ । स्रोतका अनुसार यसरी हुने ठगी र नाम छलेर अन्य म्यानपावर कम्पनी दर्ता गर्नका लागि व्यावसायीका नाममा आएका ठगहरुले विभागका कर्मचारीलाई आर्थिक प्रभाव समेत देखाउने गरेका छन् । उपल्लो तहका व्यक्तिहरुको दवाव तथा राजनीतिक दवावमा पनि दर्ता हुने त्यस्ता कम्पनीहरुले ठगीका शिलशिलालाई फरक फरक नामबाट निरन्तरता दिइरहेका छन् ।
जिल्लामा हुने ठगि नियन्त्रणका लागि उदयपुर जिल्ला प्रशासन कार्यालयमा वैदेशिक रोजगार सम्बन्धि जानकारीका लागि डेस्क स्थापना गरिएको छ । जसका कारण उदयपुरमा दलालहरु लुकेर काम गर्नुपर्ने बाध्यतामा छन् । तर, त्यसबाहेकका जिल्लाहरुमा खुलम खुल्ला रुपमा ठगीलाई वैधानिकरण गरिएको भेटिन्छ । ‘नियन्त्रणका लागि सवैको सहकार्य आवश्यक हुन्छ । जिल्ला तहमा पनि विभागका विभिन्न विशेष डेस्कहरु हुनुपर्छ, विभागको कामलाई विकेन्द्रिकरण गर्नुपर्छ भन्ने काम हामीले गरेका छौं ।’ निर्देशक दाहालले भने ।

Tuesday, August 14, 2012

छरपस्ट समस्या र नेताहरुको ताण्डव

विनोद ढकाल
राष्ट्रियता र गणतन्त्रका खोक्रो नारा कुनै मञ्चमा केही मिनेट खोकेको शव्दहरुको विरोधाभाष अर्थ दिने गञ्जागोलभित्र मान्छेहरुको पसल थापेर भेटिन्न । जुन काममा हाम्रा अघिल्ला पुस्ता, हामी र आउने पुस्तामा पनि कायम रहने संकेतहरु देखिन थालेका छन् । ६० वर्षदेखि प्रजातन्त्र, लोकतन्त्र र गणतन्त्रका राजनीतिक ध्वाँसमा बाँच्न बाध्य यो तेस्रो विश्वले विकासका गति कहिले देख्ने हो ? भेडाबाख्रा बजारमा बेचेजस्तो युवा श्रमशक्तिलाई खाडीमा बेचेर तिनको कमिसनबाट चलेको मुलुकमा अचम्मको राष्ट्रियताको नारा घन्किरहेको छ तर राष्ट्रियताको न्युनतम आधार के हो ? भन्नेबारेको चेत आम साधारणमा बुझ्ने बुझाउने पराक्रम बढेको छैन । र, केहीले बुझेर पनि यतैकतै रुमल्लिरहेका छन् । खाडीबाट आफ्नै मित्रले नेपालको राजनीतिक अवस्था सुनेर प्रश्न गर्छन–‘नेपाल कहिले सुध्रिने ? नेपाली कहिले सुध्रिने ?’ उनलाई नेपालबारे चिन्ता छ तर नेपाली भनेर चिनाउन पनि अड मान्न थालिसकेका छन् । जुन मुलुकको नाम उनले बाल्यकालमा सुनेका थिएनन् आज अवसरका लागि त्यहि मुलुकमा बसेर आफ्नै मुलुकबारे समीक्षा गरिरहेका छन् । यस्तो अवस्थाबाट हामी गुज्रिरहेका छौं । आफ्ना कर्महरु गरिरहेका छौं । पानीको धनी मुलुक भनेर हुइयाँ हाक्छौं, पानीकै समस्या छ । जलविद्युतको ठूलो आयोजना सञ्चालनको क्षमता भएको मुलुक भन्छौं, अन्धकारमा बाँच्नुपर्ने बाध्यतालाई झेलीरहेका छौं । कृषि प्रधान मुलुक भनेर गफाडीको भेला गर्छाै, आधारभुत खाद्यान्न अर्कै मुलुकबाट आयात गरिरहेको पीडालाई भुलिरहेका छौं । युवा स्वरोजगारका कार्यक्रमको कुरा गर्छौ, चार लाख युवा विदेसिनेमात्र हैन, अर्थतन्त्र नै उनैले धानेको विवरण पेस गर्छौ । पश्चिमा मुलुकको समाचार पढेर दङ्ग पर्ने हामी, उनीहरुभन्दा अगाडी स्वतन्त्र र विकासको कार्यक्रम बुझेरपनि अर्काले उत्पादन गरेको क्रितिम सामानको उपयोगका लागि मरिहत्ते गरिरहेका छौं । हामी कति पछि छौं ? कहाँ छौं ? कसरी बाँचीरहेका छौं ? कसरी चलिरहेका छौं भन्ने समिक्षा गर्ने वेला भएको छ ।

नासाले मंगलग्रहको विगत, भविष्य र त्यहाँको अस्तित्वबारेमा जानकारी पत्ता लगाउनका लागि पठाएको यन्त्रमानव यसैसातामात्र त्यस ग्रहमा उत्रिएर जानकारी पठाइरहेको छ । तर, बालुवाटार, सिंहदरवार, लाजिम्पाट, बल्खु, सानेपा, निर्मलनिवासले पठाएका यन्त्रमानवभन्दा माथि उठ्न सकेको छैन हाम्रो जीवन । खासगरी भारतले संचालन गर्ने यन्त्रमानवजस्तो भएको छ ध्वाँसको राजनीति । सत्ता सम्हाल्ने प्रधानमन्त्री बाबुराम भट्टराइले दिएको अभिव्यक्तिलाई हेर्ने हो भने त राज्य नै अर्कैको रिमोटबाट चलिरहेको यन्त्रमात्र हो । त्यसभित्रका अनेक डिफेक्ट भइरहेका छौं, हामी र हाम्रा अनेक कर्महरु ।

काठमाडौं फेरिपनि अस्तव्यस्त छ । अनेक प्रकारका बन्द र हड्तालको चपेटामा फेरिपनि काठमाडौंवासी प्रताडनाको भागीदार बनीरहेका छन् । यो प्रताडना पुरै मुलुकभित्र क्षयरोगजस्तो बनिसकेको छ केही सातामा । विचार, असहमतिका आवाजहरु राख्ने गुञ्जायस छैनन् । सवैका आफ्ना स्वार्थकेन्द्रित आन्दोलनमा सर्वसाधारण फेरिपनि समस्या झेल्नका लागि तयार हुनुपरेको छ । सरकारको राजीनामाको एउटा पक्षको आन्दोलन, यातायातमा ट्राफिक प्रहरीले गरेको अनावश्यक जरिवानाको विरोधमा अनि ग्याँसको मुल्यबृद्धि र सम्बन्धित विषयमा एकैचोटी सुरु गरिएको भिन्न प्रकारका हड्तालको समस्या जनसाधारणको टाउकोले खेप्नु परेको छ । जुन जनसाधारणले यी सवै पक्षका व्यापारव्यावसाय र राजनीतिलाई आत्मसाथ गरी मुलुक थेगिदिनु परेको छ उनीहरुकै तिव्र स्वार्थको पीडा पनि खेप्नु परेको छ ।

हामी अनिश्चित राजनीतिक अवस्थाबाट गुज्रिरहँदा अधिकारका माग यहि सरकारसँग माग गरिरहेका छौं, जसलाई सरकार मान्न हामी तयार छैनौं । बन्द हड्ताल र फेरिपनि उही प्रकृतिको राजनीतिक रङ्ग छरिएका काममा हामी अभ्यस्त भइरहेका छौं । युवा शक्ति मुलुक निर्माणका लागि सृजनशिल भएर लाग्ने काम छाडेर हामी राजनीतिक दल र तिनका नेताहरुको स्वार्थका लागि सडकमा उत्रिएर नागरिकलाई दुख दिनुले के अर्थ राख्दछ ?

यहाँ दोष अर्काको टाउकोमा थुपारेर आफु चोखो हुने चरित्र स्थापित गराउने दम्भ बढ्न थालेको छ । जनसाधारणको ठाउँमा उभिएर आफैंमाथि समिक्षा नगरी प्रशासन, राज्यलाई दोष दिने र त्यसैबाट अधिकार खोज्नका लागि नागरिकलाई दुख दिने चरित्र हावी भएको छ । बन्दको संस्कृतिलाई बाँच्न पाउने, बोल्ने पाउने र हिँड्न पाउने तथा खान पाउने अधिकारसमेतलाई कुल्चने परम्पराको भ्रष्ट बाटोलाई अँगाल्ने संस्कृतिलाई पछ्याउने चरित्र स्थापित गराउने कोसिस भइरहेको छ । विरोध गर्ने संस्कृति र लोकतन्त्रलाई सम्मान गरेर आवाज सुन्ने परम्परा हामीले विर्सिएका छौं । नागरिकको आवश्यकता एकातिर, देशको तत्कालिन समस्या अर्कातिर र राजनीतिक दलहरुको ध्रुविकरण फरक बाटोबाट देखिन थालेको छ । सडकमा नागरिक सार्वजनिक यातायात, ग्याँस र भ्रष्टाचार शुन्य मुलुकको खोजी गरिरहेको छ । राज्य यी विषयहरुमा तदारुकताकासाथ देखा पर्न सकेको छैन । सत्तामा बसेका र विरोध गर्ने प्रतिपक्षि पार्टीहरु तिव्र राजनीतिक ध्रुविकरणमा लागेका छन् । कोही संघिय लोकतान्त्रिक गठबन्धनको तयारीमा छन् कोही सरकार गिराउ अभियानको गठबन्धनमा । कोही जनजातीहरुको एकल राजय स्थापनाका लागि राजनीतिक दल खोल्ने अभियानमा अनि धेरैचाँही आफ्ना स्वार्थको खोजीका आन्दोलनमा मात्र । मुलुक के हो ? राष्ट्रियताको न्युनतम आधार के हो ? र कसरी मुलुकलाई सुन्दर लोकतान्त्रिक मार्गमा हिँडाउन सकिन्छ भन्ने साझा स्वार्थका संगठन, राजनीतिक दलहरुको मोर्चा र विरोधका पनि तरिकाहरु हामीले अहिलेसम्म देख्न सकेका छैनौं । हामी ढुङ्गामुडा, सडक बन्द, दैनिक उपभोग्य सामग्री हड्ताल र जातिय मुक्तिका लागि आन्दोलनका नाममा गलत बाटोलाई अबलम्बन गरिरहेका छौं ।

अहिले नबुझे कहिले बुझ्ने ? सभ्य राजनीति र विकासको तिव्रताका लागि अहिले नजुटे कहिले जुट्ने ? न्युनतम योग्यता मानवअधिकार, तिनको रक्षा र विश्वमा नेपाली राष्ट्रियता र भ्रष्टशुन्य मुलुक निर्माणका लागि कहिले जुटने ? हामी कसैका कठपुतली, आफ्नै अधिकारका नाममा छेडिएका सीमित व्यक्तिको स्वार्थका कठपुतली बनिरहेका छौं । यो विषयलाई कहिले ‘रियलाइज’ गर्ने ? मुलुकका हर क्षेत्रमा हे¥यो, हर क्षेत्रमा बुझ्यो, हर क्षेत्रमा छि¥यो समस्या छरपस्ट देखिन्छ । कुनै समाधानउन्मुख गतिमा छैन । र, तिनै मुद्दामा भएका आन्दोलनहरु, सहमतिहरुचाँही गैरजिम्मेवार ताण्डवका रुपमा देखिन्छ । यी सवै समस्याहरुको साझा र सरल आन्दोलन तथा समाधानका विषयमा कहिले सोच्ने हो ? राज्य, नागरिक र सम्बन्धित संस्था÷संगठनका तर्फबाट हामी किन सोच्न सकिरहेका छैनौं ? अव नागरिक तहमा नै एउटा साझा छलफलको टड्कारो आवश्यकता देखिएको छ । पहिलो विश्व मंगलग्रहको विगत कोट्याउनका लागि अनुसन्धान र शोधमा विश्वमा तहल्का मच्चाइरहेका बेला हामी आफ्नै अधिकार र इतिहाँस खोज्ने ढर्रामा यतैकतै अल्मलिरहेका छौं ।
-गत सोमबार तरुण साप्ताहिकमा छापिएको नियमित स्तम्भ सरोकारको लेख ।

Thursday, August 9, 2012

मुस्कान पैंचो पाए त

यी आवाजहरु हुन् इशाराबाट,
मेरो अबोध मुस्कान र त्यो बालापन
कसैले पैंचो दिन सक्छन् भने ।
म त्यसैमा साउन रुझेजसरी
निर्थुक्क भिज्न चहान्छु
मुस्कानहरु छाडेर, अवोध भएर
बाध्यतालाई कुल्चिएर, पीडाहरु विर्सिएर //

पटमुर्खहरुको घनाबस्तीबाट कथित विद्वानहरु
मेरो किशोरअवस्थालाई झण्झटीलो मान्छन्
उनले गिज्याएका हाँसोहरु मुस्कान हुन्
मैले छाडेका खुसीहरु रुन्चे हाँसो भन्छन्
म यो सहरी भड्काउमा इशारा छाड्दैछु
दिन सक्छौ भने देऊ
एकमुट्ठी मुस्कान
एक चिम्टि बालापन
म त्यसैलाई मेरो ढीकुटी ठान्नेछु
त्यसैमा भरिन चहान्छु
मस्कानहरु छाडेर, अवोध भएर
थाप्लो नजिकको मस्तिष्कलाई भुलाएर //

पीपलका पातहरु बुढा भए
सालका बोक्राहरु सुकीसके
प्रविधिको अतिक्रमणवादी क्रान्तिले
मेरो सुन्दर विगतको मुस्कान क्रितिम बनिसक्यो
घडि कसैले रोक्नसक्छ भने
त्यहाँ नेर रोकेर मलाई
मुस्कान र्पैचो देऊ //
त्यो मुस्कान पैंचो पाए त
भविष्यलाई शुन्यमा झार्नसक्थें होला
धर्तीमा फेरिपनि बालापनसँगै
सुन्दर समाजका लागि
विपी, मदन, मनमोहन, गणेशमानका
स्वस्थ्य जीवन पनि त हुने थियो नि !।//

छोरो रुँदै गोरखपुर रेलैमा

सिरहाका जितेन्द्र झा यसै वर्ष रोजगारीका लागि कतार गएका छन्। दुई वर्षको सम्झौता गरेर उनी निर्माण मजदुरका रूपमा कतार गएका हुन्। घरको आर्थिक अवस्था सुधार्नु उनको मुख्य उद्देश्य हो। भन्छन्, 'पढेर पनि नेपालमा रोजगारीका लागि भौँतारिनुपर्ने अवस्था भएपछि वैदेशिक रोजगारीका लागि जान लागेको हुँ।' बिहीवार उनले दुई वर्षका लागि मुलुक छाडेका छन्। तर, काम राम्रो भए र भनेजस्तो पारिश्रमिक पाए पाँच वर्षभन्दा ज्यादा कतारमै काम गर्ने उनको योजना छ। 'यहाँ अझ पाँच वर्षसम्म पनि केही नहुने देखियो,' उनी भन्छन्, 'त्यसकारण राम्रो आम्दानी हुने काम पाए पाँच वर्षसम्म कतारमा बस्ने योजना छ।' करिब एक लाख ५० हजार रुपैयाँ खर्चेर उनी कतार हिँडेका हुन्।

नेपाल सरकारले वैदेशिक रोजगारीका लागि एक सय आठ मुलुक खुला गरेको छ। श्रम स्वीकृति लिएर विश्वका विभिन्न मुलुकमा कामदार जानसक्ने भए पनि हालसम्म १२ वटा मुलुकमा मात्र उच्च संख्यामा कामदार जाने गरेका छन्। झाजस्तै नवलपरासीका कृष्णप्रसाद पोखरेल पनि यसै वर्ष दुबई उडेका छन्। 'दुबईमा राम्रो पैसा पाइन्छ भन्ने सुनेर त्यता लागेको हुँ,' उनी भन्छन्, 'नेपालमा अवसरको कमी भएपछि विदेश जानैपर्‍यो।'
कम लगानी र धेरै आम्दानीका कारण खाडी मुलुक तथा जापान, दक्षिण कोरिया, मलेसिया, इजरायल आदिलाई नेपाली युवाले श्रम गन्तव्य बनाउने गरेका छन्। पछिल्लो समयमा कोरिया, इजरायल र जापानमा पनि नेपाली कामदारको संख्या बढ्न थालेको छ। खाडी राष्ट्रहरू कतार, साउदी अरब र युएईलाई त त्यहाँ कार्यरत नेपाली कामदारहरूले 'मिनी नेपाल' भनेर नामकरणसमेत गरेका छन्। ग्रामीण क्षेत्रका युवा वैदेशिक रोजगारीमा साह्रै आकर्षित छन्।
वैदेशिक रोजगारीमा जाने युवाहरूको संख्या प्रत्येक वर्ष बढिरहेको छ। वैदेशिक रोजगार विभागमा श्रम स्वीकृति लिएर जानेहरूको प्रत्येक वर्षको बढ्दो तथ्यांक यसको प्रमाण बनिरहेको छ। आर्थिक वर्ष ०६८/६९ को तथ्यांकअनुसार तीन लाख ८४ हजार छ सय ६५ जना नेपाली श्रमशक्तिले मुलुक छाडेका छन्। यी सबै कामदार युवा उमेर समूहमा पर्ने वैदेशिक रोजगार विभागले जनाएको छ। आर्थिक वर्ष ०६७/०६८ मा तीन लाख ५४ हजार सात सय १६ जनाले मुलुक छाडेका थिए। अघिल्लो वर्षको तुलनामा यस वर्ष २९ हजार नौ सय ४९ जना बढी यस आर्थिक वर्षमा रोजगारीका लागि विदेश पलायन भएका छन्। आव. ०६७/०६८ मा मलेसियामा मात्र एक लाख पाँच हजार नौ सय छ जना पुगेका थिए। त्यस आर्थिक वर्षमा नेपालीलाई सबैभन्दा बढी रोजगारीको अवसर दिने मुलुक मलेसिया थियो। तर, ०६८/०६९ मा कतारमा ठूलो संख्यामा पुगेका नेपाली पुगेका छन्। 'सन् २०२२ को विश्वकपको आयोजनाको कामका लागि पनि कतारमा कामदारको उच्च माग छ,' विभागका अधिकारीहरू भन्छन्।
आर्थिक वर्ष ०६८/६९ मा मात्र नौ सय ९६ महिला तथा एक लाख चार हजार छ सय ८५ जना पुरुष गरी एक लाख पाँच हजार छ सय ८१ जना कतार, ८० हजार दुई सय १८ पुरुष तथा दुई सय ३७ जना महिला गरी ९८ हजार तीन सय ६७ जना साउदी अरब, ४९ हजार ९ सय ५९ पुरुष तथा चार हजार पाँच सय २३ महिला गरी ५४ हजार चार सय ८२ युएई गएका छन्। अन्य खाडी मुलुकको तुलनामा यी तीन मुलुक नेपाली युवाको प्रिय श्रम गन्तव्य भएका छन्। तीनै मुलुकमा निर्माण कम्पनीमा पुरुष तथा घरेलु कामदारका लागि महिलाको माग बढेको हो। खाडीकै कुवेतमा यसै आर्थिक वर्षमा १२ हजार ८० जना पुरुष तथा १२ हजार चार सय ९५ जना महिला पुगेका छन्। यहाँ हाउसमेडको कामका लागि महिलाको संख्या उच्च रहेको देखिन्छ। बहराइनमा पाँच हजार तीन सय ३३ पुरुष तथा पाँच सय ३२ महिला, ओमानमा दुई हजार आठ सय ६८ पुरुष तथा दुई सय ९५ महिला, लेबनानमा ३८ पुरुष र चार सय ७२ महिला गरी पाँच सय ७४ जना पुगेका छन्।
खाडीबाहेकका देशमा पनि रोजगारीका लागि जानेको संख्या कम छैन। मलेसियामा आव. २०६८/६९ मा मात्र ९६ हजार एक सय ५७ जना पुरुष, दुई हजार दुई सय १० जना महिला गरी ९८ हजार तीन सय ६७ जना नेपाली कामदार पुगेका छन्। केही वर्षयता कतार पनि राम्रो श्रम गन्तव्य भएको छ। यीबाहेक दक्षिण कोरियामा इपिएसमार्फत पाँच हजार तीन सय १५ जना पुरुष तथा तीन सय १२ जना महिला यसै वर्ष पुगेका छन्। इजरायलमा कमैमात्र डिमान्ड आउने भएका कारण यस वर्ष एक सय दुई जना पुरुष तथा चार सय ७२ जना महिला गरी पाँच सय ७४ जना नेपाली पुगेका छन्। पछिल्लो पटक अफगानिस्तानमा पनि श्रम स्वीकृति लिएर नेपाली कामदार जाने क्रम बढेको देखिन्छ। यसअघि युद्धका कारण रोक गरिएको अफगानिस्तानमा पछिल्ला वर्षहरूमा रोजगारी खुला गरिएको छ। आव. २०६८/६९ मा आठ सय २२ जना पुरुष तथा एक जना महिला गरी आठ सय २३ जना अफगानिस्तान पुगेका छन् भने जापानमा एक हजार ३६ पुरुष र एक सय आठ महिला गरी एक हजार एक सय ४४ जना पुगेका छन्।
वैदेशिक रोजगार विभागसँग श्रम स्वीकृति लिएर जानेको आधिकारिक तथ्यांक हो यो। यसबाहेक भारतको मुम्बई तथा दिल्लीको बाटो प्रयोग गरेर जाने महिला तथा पुरुषको संख्या पनि उच्च हुने गरेको छ। झन्डै चार लाख नेपाली श्रमशक्ति प्रत्येक वर्ष विदेश पलायन भइरहेको अनुमान गरिन्छ।
वैदेशिक रोजगारीमा जानेका पीडालाई समेटेर गाइएको गीत 'आमा रुँदै गाउँबेसी मेलैमा, छोरो रुँदै गोरखपुर रेलैमा' अचेल रेडियोतिर त्यति बज्दैन। तर, यस देशका असंख्य छोराहरू 'रुँदै' विदेश गइरहेका छन्।

 चार वर्षअघि कुवेत पुगेकी थिइन्, निर्मला चौधरी। दुई वर्ष त्यहाँ काम गरिन्। कुवेतका ती दुई वर्ष सोचेजस्ता सहज र फलदायी नभए पनि सहनै नसक्ने दुःख उनले भोग्नुपरेको थिएन। तर, जब कुवेती घरमालिकले साउदी अरबको खुरायात भन्ने ठाउँ (रियाददेखि दुई सय किलोमिटर टाढा) रहेका आफन्तको सेवा गर्न निर्मलालाई पठाएपछि उनका दुःखका दिन सुरु भए। त्यस घरका सात जना बच्चाहरूको स्याहार गर्नु त थियो नै, अन्य घरायसी कामको बोझ यति धेरै थियो कि बिहान ५ बजेदेखि राती ३ बजेसम्म अविरल (२२ घण्टा) काममा खटिनुपर्थ्यो उनले। पेटभरि खान पनि नपाउने। तलब त माग्नै नहुने।
'मैले सबै पीडा सहेर पनि काम गरिरहेकी थिएँ। पैसाको निकै आवश्यकता परेपछि एक दिन तलब मागेँ,' उनी फोनमा भन्छिन्, 'घरमालिक्नीले पिठ्यूँमा चक्कु रोपिदिइन्। त्यो घाउको खत मेरो शरीरमा अझै पनि छ।' कुटपिट त उनीमाथि बेहिसाब चल्थ्यो। शारीरिक र मानसिक यातनाको त्यो झल्कोले अहिले पनि उनको मन बेलाबखत असन्तुलित हुन्छ।

साउदीको त्यो परिवारले उनलाई दमाम शहरमा किनमेल गरेर भारी बोकाउन सँगै ल्याएको थियो। त्यही मौकाको सदुपयोग गर्दै निर्मला भागिन्। उनी सम्झन्छिन्, 'यातना सहन नसकेर नै भागेकी थिएँ। एक्लै सडकमा भौँतारिंदै गर्दा एकजना पाकिस्तानी परिवारको सम्पर्कमा पुगेँ। त्यही परिवारले मलाई १० महिना आश्रय दियो।' उनी पाकिस्तानी परिवारप्रति आभारी पनि छिन्, जसले साउदी अरबको रियादमा रहेको नेपाली दूतावासमा सम्पर्क गरेर निर्मलाको उद्दारका लागि मद्दत गर्‍यो।

गएको २६ जुलाईमा उनी साउदी अरबस्थित नेपाली दूतावसमा पुगेकी थिइन्। साउदीमा रहेको संरक्षण गृहमा छिन् उनी। उनलाई नेपाल फर्काउने तयारी भइरहेको छ। उनलाई एनआरएन साउदी इकाइले उद्दार गरेको थियो।
 
 
शुक्रबार साप्ताहिकमा प्रकाशित खबर हो । यसलाई नागरिकन्युज डट कममा पनि पढ्न सकिन्छ ।