Thursday, August 30, 2012

यहाँ नेता, त्यहाँ मजदुर


डि. विनोद

एकीकृत नेकपा माओवादीको युवा संगठनमा आवद्ध अशुतोष ढुङ्गेल एक वर्ष अघि बैदेशिक रोजगारीका लागि कतार पुगे । राजनीति गरेर घरपरिवार र आफ्नो आवश्यकता पुरा नभएपछि उनी रोजगारीका लागि कतार पुगेका हुन् । सुनसरीको इटहरीमा पार्टीको सक्रिय कार्यकर्ताका रुपमा उनले पाँच वर्ष विताएका थिए । अहिले कतारको आबु हामुर अद दहावमा बसेर मजदुरी गरिरहेका ढुङ्गेल भन्छन्–‘लामो समय संगठनमा बसेपनि हातमुख जोर्नका लागि कामै गर्नुपर्ने हुन्छ । त्यसकारण म खाडीमा आएको हुँ ।’
देशमा रोजागरीको अवसर पाउन छाडेपछि युवाहरु खडी लगायतका मुलुकहरुमा रोजगारीको अवसर खोज्दै जानु सामान्य भइसकेको छ । मुलुकमा बसेर नाराबाजी र विरोधमा सरिक भएर छाक टार्ने समस्या पुरा नहुने भएपछि राजनीतिक दलको सक्रिय कार्यकर्ताहरु पनि  विदेशिन थालेका छन् । ‘राजनीतिले घर चल्दो रहेनछ, त्यसैले काम गर्न यता आइयो ।’ उनले भने,‘अव केही समय काम गरेर पैसा कमाइयो भने राजनीति पनि गरौंला । तर, मेरो लक्ष्य फर्किएर व्यावसाय गर्ने हो ।’ उनी माओवादीको भ्रातृ संगठन योङ् कम्युनिष्ट लिग (वाइसीएल)को विभिन्न पदमा रहेर राजनीति गरिरहेका थिए । ‘राजनीति गरेर केही भएन अवसरपनि नपाउने भएपछि म वैदेशिक रोजगारीका लागि कतार आएको हुँ ।’ उनी इमेलमार्फत लेख्छन्–‘राजनीतिले हिजोपनि केही दिएन, आज त झन देशको हालत विग्रिएको छ । अव व्यक्तिगत आवश्यकता पुरा गर्नका लागिपनि म यहाँ काम गरिरहेको छु ।’
परदेशमा राजनीति भन्दापनि श्रमका विषयमा बढि चर्चा हुन्छन् । कुनै दल विशेषको नभएर नेपाली मुलको र आफ्नो श्रमको बारेमा अनुभव साटासाट गर्दा औधी रमाइलो लाग्ने उनले बताए । ‘परदेशमा देशको माया पनि औधी हुन्छ । अनि यहाँ श्रम गरेर परिवारको आवश्यकता पुरा गर्नपनि पाइएको छ, खुसी नै छु ।’ उनी लेख्छन्–‘वेरोजगारीको समस्या उच्च भएपछि यहाँ आउनुको विकल्प थिएन ।’
त्यस्तै मोरङ बेलबारीका बाबुराम फुयाँल चार वर्ष अघि विद्यार्थी राजनीति छाडेर वैदेशिक रोजगारीका लागि युएइको दुवई पुगे । लामो समयसम्म विद्यार्थी राजनीति गरेर पनि केही उपलव्धी नहुने भएपछि पैसो कमाएर भविष्यको जोहो गर्नकै लागि उनी दुवई पुगेका हुन् । ‘चारवर्षसम्म आन्दोलन र सभामा सरिक हुँदा मेरो केही हुने थिएन । यहाँ आएर मेहनत गर्दा केही रकम कमाएको छु, सुरक्षित राखेको छु ।’ उनी भन्छन्,‘यस अवधिमा नेपाल दुई पटक आएँ राजनीतिक अवस्था त जहाँको त्यहिँ छ । म पनि त्यतै रुमल्लिरहेको हुने थिएँ । तर, अहिले आफ्नो व्यक्तिगत जीवनमा सामान्य सुधार भएको महसुस गरेको छु ।’
राजनीतिमा भविष्य नदेखेपछि विदेशीनेहरुको लहड नै चलेको छ । मुलुकको अस्थिर व्यवस्थामा रोजगारीको अवसर नपाएका कारण उनीहरु विदेशीएका हुन् । ‘कुनै न कुनै सीप सिकेर विदेश आएर काम गर्दा आफ्नो भविष्यमात्र बन्दैन, राजनीति गर्नु र मुलुक विकास कसरी गर्नुपर्ने रहेछ भन्ने देखेर पनि जानिदो रहेछ ।’ फुयाँल भन्छन्,‘युवाले नै मुलुक बनाउने हो तर हामीलाई अवसर छैन, अरुको देश निर्माणका लागि भएपनि आउनु परेको छ ।’
वर्षिक चार लाखको संख्यामा विदेशीने युवाशक्तिहरु पारिवारिक आवस्थालाई आर्थिक रुपमा उकास्नका लागि परदेशीने गरेका छन् । ती मध्ये धेरैजसो कुनै न कुनै राजनीतिक दलसँग आवद्ध भएर लामो समय काम गरेकै हुन्छन् । केही साता अघिमात्र प्रेसको मजदुरीका लागि बहराइन पुगेका सप्तरीका खगेन्द्र पौडेल भन्छन्,‘यहाँ राजनीतिक दलको कार्यकर्ता भएर भविष्य बलियो देखिदैन । त्यसकारण विदेशीनुपरेको हो ।’ नेपालमा गरिने मजदुरीमा पारिश्रमिक पनि कम पाउने र राजनीतिमा लाग्दा व्यक्तिगत जीवनस्तरमा परिवर्तन आउने नदेखेपछि उनीपनि विदेशीएका हुन् । ‘स्वदेशमा उचित रोजगारीको अवसर पाए कसलाई पो अर्काको मुलुक जाने रहर हुन्छ र ?’ उनी भन्छन्,‘बाध्यताले नै मानिसलाई परदेशको झोला बोक्न बाध्य बनाउँछ ।’
म्यानपावर कम्पनी चाहारेर होस अथवा विदेशमा रहेका आफन्तचिनेजानेका व्यक्तिहरुसँग भिसा माग गरेका होस, युवाहरु ब्ैदेशिक रोजगारको आकर्षणमा लागि परेका छन् । सरकारले पनि वैदेशिक रोजगारीलाई उच्च महत्वका राखेका कारण कोरियादेखि, इजरायल, मलेशियासम्म पनि युवाहरु जाने क्रम वर्षेनी बढेको छ । एपीएस पास गरेर कोरिया पुगेका दिपक भारती भन्छन्,‘मुलुकमा अवसरको गुञ्जायस रहेन । शैक्षिक वेरोजगारीको पनि उत्तिकै संख्या बढ्न थालेपछि इपीएस पास गरेर कम लगानीमा राम्रो आम्दानीका लागि म यहाँ आएको हुँ ।’ उनी लोकतान्त्रिक आन्दोलनका क्रममा विभिन्न दलका विद्यार्थी संगठनमा रहेर सडक आन्दोलनमा उत्रिएका थिए । ‘मुलुकमा राजनीतिक दलमा आवद्ध भएर दैनिकी परिवर्तन नहुने रहेछ, व्यक्तिगत भविष्य राम्रो भएमात्र राजनीति गर्नपनि स्वाद आउने भएकाले म आफ्नो भावी दिनहरु सुरक्षित बनाउन कोरिया आएको हुँ ।’ करिव एक वर्ष अघि कोरिया पुगेका भारती भन्छन्,‘राजनीतिक दलनै छाडेर आएका निक्कै साथीहरु सँगै काम गरिरहेका छन् ।’
राजनीतिमात्र हैन नेपालमा सञ्चालन गरेका व्यापारव्यावसाय, न्युन आम्दानी हुने स्वदेशी रोजगारी छाडेरपनि युवाहरु विदेश पलायन हुने क्रम बढिरहेको छ । निम्त स्तरका युवाहरु खाडी, अध्ययनमा चाख राख्नेहरु कोरिया वा युरोप र लगानी गरेर राम्रो आम्दानी गर्न सक्नेहरु विभिन्न मुलुक जाने गरेका छन् । ‘राजनीति, मोफसलका अन्य कामहरुलेमात्र मानिसका व्यक्तिगत अपेक्षाहरु पुरा हुँदैनन् । ऋण बोकेको पविारको दायित्व पुरा गर्नका लागि पनि वैदेशिक रोजगारीमा जानुको विकल्प छैन ।’ केही महिना अघि दुवई पुगेका मोरङ्का अम्बिका भण्डारी भन्छन्,‘कहीँ अवसर नपाएपछि राजनीतिक दलमा आवद्ध भएर बसेका निक्कै साथीहरु दुवईमा भेटेको छु ।’
नेपाली युवाशक्तिको माग खाडी तथा अन्य मुलुकमा बढ्न थालेपछि नेपाली भुमी छाड्नेहरुको संख्या बर्षेनी बढिरहेको छ । यतिसम्मकी घरको समस्या टार्नका लागि आफ्नो उमेर बढाएर, कागजपत्र मिलाएर जानेहरुको संख्यापनि कम छैन । ‘युवालाई अवसरको खाँचो हो, मुलुकमा अवसर सृजना हुन नसकेपछि विदेशिनु बाध्यता बनेको छ । मुलुक बनाउने शक्ति अहिले बाध्यताको झोला बोकेर समाज, राजनीतिक दल र मुलुक छाडेर परदेशीन बाध्य भएका हुन् ।’ युवा अधिकारकर्मी प्रदिप परियार भन्छन्,‘जसका कारण मुलुकमा विप्रेषण भित्रिएको छ र मुलुकपनि चलिरहेको छ ।’
सरकारी तथ्याङ्कबाहेक वैदेशिक रोजगारीका बारेमा अध्ययन गर्नेहरुका अनुसार विश्वभर रोजगारीकै लागि ५० लाख नेपाली युवाहरु विदेशिएका छन् । अधिकांश राजनीतिक दल परित्याग गरेरै रोजगारीका लागि विदेशिएको अध्ययनले देखाएको छ । अध्ययनकर्ता रमेश पण्डित भन्छन्,‘नेपालमा रोजगारी नपाउँदा राजनीतिक दलको युवा, विद्यार्थी अथवा पार्टीको कुनै न कुनै अंगमा संलग्न भएका युवाहरु नै परदेशिएका हुन् ।’ त्यसो त खाडी लगायतका विभिन्न मुलुकमा पनि राजनीतिक दलहरुले आफ्ना सम्पर्क समिति गठन गर्नुले पनि यसलाई पुष्टि गरिरहेको छ । तर, परदेशको काममा राजनीति विचार प्रधान हुँदैन, श्रमलाई प्राथमिकता दिएर फुर्सदका समयमा मात्र उनीहरुले सामान्य औपचारिक कार्यक्रमहरु ग्र्ने गरेको कतारको दोहास्थित सञ्चारकर्मी रवि रोषी बताउँछन् । ‘राजनीतिक दलm छाडेर यहाँ श्रम गर्न आउनेहरु व्यापक छन् । हामीले कुराकानीका क्रममा यस्ता निक्कै पात्र भेटेका छौं ।’ रोषी भन्छन्,‘मुलकमा रोजगारी नपाएपछि उनीहरु यसरी खाडी आइरहेका छन् ।’
 
१५ वर्षमै वैदेशिक रोजगारीमा 

कलिलो अनुहार, कोमल हातखु्ट्टा, पढ्ने औधी रहर पनि छ उनमा । जुँगाको रेखी पनि नबसेका उनी बालबालिकाको सुचीमा पर्छन् । तर, घरमा जेठोबाठो भएका कारण व्यवाहारिक समस्या सुल्झाउने जिम्मेवारी पनि उनको काँधमा आइप¥यो । त्यहि समस्या सुल्झाउने बाध्यता नै वैदेशिक रोजगारीको एउटा विकल्प बन्यो । सल्यान मार्के–९ का प्रमेश बुढा कक्षा आठमा अव्वल नम्बर ल्याएर तृतीय भए । तर, उनी कक्षा नौको किताव किन्नुको साटो राहदानी बनाउने चक्करमा परे । उमेर बढाएर नागरिकता लिए र राहदानी बनाएर वैदेशिक रोजगारीका लागि हानिए, कतार । 
२०५४ साल चैत २८ गते जन्मिएका हुन् उनी । त्रिभुवन उच्च माध्यमिक विद्यालयमा कक्षा आठबाट पास भएर नौमा जाँदा तृतीय भएका थिए । तर घरको आर्थिक समस्याका कारण उनले आफ्नो शिक्षालाई निरन्तरता दिन सकेनन् । अनि, उनको परिवारको हातमुख जोर्ने समस्याको सहयोगीपनि कोही भएन । जसका कारण उनी कतार पुगेका छन् ।
‘उमेर बढाएर नागरिकता बनाएपछि राहदानी लिन सजिलो भयो र यहाँ आएको हुँ ।’ उनले भने,‘घरको पारिवारिक समस्या समाधान गर्ने कुनै उपाय नभएपछि परदेश आएको हुँ ।’ १६ नपुगी नागरिकता बनाउन पाइँदैन भने १८ नपुगी वैदेशिक रोजगारीमा जान पाउने प्रावधान नै छैन । अन्तर्राष्ट्रिय बालअधिकार कानुनले पनि यसलाई बर्जित गरेको छ । विदेशमा त के देशमा पनि १६ नपुृगी काम गराउने अधिकार पाइँदैन । तर, उनी छ महिना अघि नै कतार पुगेका थिए । ‘घरको ऋण धेरै छ । तिर्ने कुनै उपाय थिएन । आफ्नै काकाले कतारमा राम्रो काम छ भनेपछि म यहाँ आएको हुँ ।’ उनले भने,‘ऋणको बोझ हलुका बनाएपछि नेपाल फर्किएर पढ्ने रहर छ ।’ उनी सनैयास्थित एक कम्पनीमा वेल्डरको काम गर्छन् उनी । दिनमा दुइघन्टा ओभरटाइम गर्दा १२ सय रियालसम्म तलब पाउने गरेको उनले बताए । सानो भएका कारण कतारमा रहेका नेपाली कामदारले उनलाई माया गर्छन् । उनी तानुवा –व्यक्तिगत) भिसामा कतार पुगेका हुन् ।
(कतारबाट रवि रोषीको सहयोगमा)

काममा जानेलाई टिप्स


श्रम तथा रोजगार मन्त्रालय र अन्तर्राष्ट्रि आप्रवासन संगठन (आइ.ओ.एम.) को संयुक्त प्रयास तथा वैदेशिक रोजगार प्रबद्र्धन बोर्डको कृयाशीलतामा बोर्डमै रहने गरी आप्रवासी स्रोत केन्द्रको स्थापना भएको छ । वैदेशिक रोजगारीमा जानेहरुको परामर्शका लागि यो स्रोत केन्द्र उपयोगी छ । यदि तपाई वैदेशिक रोजगारीका लागि जानुहुँदैछ भने स्रोतकेन्द्रमा सम्पर्क गर्नुहोला । तपाइले यस्ता सेवा पाउनुहुनेछ ।

– वैदेशिक रोजगारीमा जान चाहने वा जाने कामदारहरुलाई उचित परामर्श र सही सूचना उपलब्ध हुन्छ ।
– व्यक्तिगत तथा इमेलका माध्यमबाट पनि परामर्श हुन्छ । इमेलको पहुँच नभएका कामदारहरुको हितलाई ध्यानमा राखी टेलिफोनबाट समेत परामर्श सेवा दिने व्यवस्था छ ।
–आप्रवासनमा जान चाहने कामदारहरुको वैदेशिक रोजगार सम्बन्धी सही तथा भरपर्दो सूचनाका लागि पैसा नलाग्ने टोलफ्रि नम्बरमा सम्पर्क गर्न सकिने छ ।
–कानुनी तथा प्राविधिक जानकारी लिन सकिन्छ । सूचना प्रवाहलाई टेलिफोनबाट प्रभावकारी सेवा पाउन कामदारले केन्द्रबाट ‘अटो एनसरिङ मेसिन’को सहयोग पाउँछन् ।
–सुरक्षित वैदेशिक रोजगारका लागि काम गरिरहेका सरकारी, गैरसरकारी तथा अन्तराष्ट्रिय गैरसरकारी संस्थाहरुसँग पनि परामर्श गर्न सकिन्छ ।

No comments:

Post a Comment