Wednesday, October 17, 2012

मुग्लानेका दशैं

विनोद
काठमाडौं लगायत मुलुकका सवै ठाउँ दशैंको चटारोले अभ्यस्त भइसकेका छन् । खासगरी मुलुकका ग्रामिण इलाका र उपत्यका बाहिरका सहरहरुमा दशैं कसरी मनाउने भन्ने योजना बनीसकेको छ ।
उमेरसमुह अनुसार नै दशैंलाई मिलन उत्सवका रुपमा मनाउने पछिल्ला वर्षहरुको टे«न्डसँगै यसवर्षको दशैं सुरु भइसकेको छ । तर, दशैंलाई अझ बलियोसँग मनाउने ठूलो जनशक्ति मुलुक बाहिर छन् । जो, दशैंकै अवसर पारेर त्रिभुवन अन्तर्राष्ट्रिय विमान स्थलमा पाइला राख्न नपाउँदा दुखि छन् । तर, मुलुकबाहिरपनि उनीहरुले दशैंलाई फरक ढङ्गबाट मनाउने तयारी भने गर्न छाडेका छैनन् ।
विश्वका एक सय आठ मुलुकमा पुगेका नेपालीहरुले त्यस देशमा रहेको कानुनी, सांस्कृतिक र परम्परागत नियमलाई नमिचि आफ्नै पारामा दशैंको खुसीयाली बाँड्ने गरेका छन् । यसपल्टपनि यस्तै योजनाहरु बनाएका छन् विभिन्न मुलुकमा छरिएका नेपालीहरुले ।
नजिकिएको विजयादशमीलाई इन्टरनेटका पानामा सजाय जसरी मुग्लान छिरेकाहरुले पनि फरक–फरक ढङ्गले मनाउने भएका छन् । ‘अचेल चाडवाड त देशमा भन्दा यहाँ पो अलि बढि मनाउन थालेजस्तो छ । सांस्कृतिक कार्यक्रम, कलाकारहरुको घुइँचोपनि यतै हुने गरेको छ ।’ कतारको निर्माण कम्पनीमा कार्यरत सप्तरीका रामेश्वर साहका अनुसार दशैंका विभिन्न कार्यक्रमहरु तयार भइरहेका छन् । ‘त्यहि पनि नेपालमा बसेर मनाएजस्तो त हुँदैन तर दशैंमा विभिन्न समितिले आयोजना गरेका कार्यक्रममा रमाउने त छँदै छ, हामीले पनि सामुहिक योजना बनाएका छौं ।’ साह इमेलमा लेख्छन्–‘दशैं यहाँ भव्य रुपमा मनाउने तयारीमा लागेका छौं । दुर्गा थापेर टिका लगाएर त मनाउन पाइँदैन तर पूर्वदेखिका पश्चिमसम्मका साथीहरु मिलेर खसी काटेर खाने योजना बनाएका छौं ।’
उनी कार्यरत निर्माण कम्पनीमा रहेका नेपाली कामदारहरु मिलेर कम्तिमा छ सय रियाल अर्थात् १२ हजार रुपियाँ पर्ने खसी किन्ने योजना छ । भन्छन्–‘अरु त यहाँ के नै गर्न पाइन्न, पुजाआजा र टिकाकोकुरा सम्भव भएन, खाएर सवैजना मिलेर रमाइलो गर्ने तयारीचाँही भव्य भइरहेको छ ।’
गाउँघर र आफ्ना आफन्तसँग नभेटी मनाएको दशैं खल्लै हुन्छ । तरपनि दशैंभन्नासाथ आउने नयाँ उमङ्गलाई रमाइलोसँग मनाउने योजनामा छन्, दुवईमा मार्केटिङमा कार्यरत खगेन्द्र दङ्गाल । ‘कम्पनीका धेरैले विदा पाएका छैनौं, तर दशैंलाई खल्ला नबनाउनका लागि एउटा रमणीय ठाउँमा गएर पिकनिक गर्ने योजना बनाएका छौं ।’ उनले भने,‘यहाँको फुजैराह स्टेट प्राकृतिक रुपमा सुन्दर भएकाले त्यहाँ गएर पिकनिक गर्ने योजना छ ।’ फुजैराह संयुक्त अरव इमिरेट्स (युएइ)को प्राकृतिक स्रोतसाधनको धनी राज्य हो । पर्यटकीय राज्यका रुपमा पनि विकसित भइरहेको छ । युएईका छ राज्यमध्ये यो निक्कै सुन्दर छ । दङ्गालको समुहको सम्पर्कमा रहेका नेपालीहरु दुवई, आवुधावी, सारजाह, अजमान, रास अल खेइमा र फुजैराहमा छरिएका रहेकाले दशैंलाई संयुक्त रुपमा मनाउने योजना बनाएका छन् ।
मलेशियामा रहेका गिरीश पोखरेल साथीहरुसँग मिलेर एक रात सँगै विताउने भएका छन् । दशैंका लागि उनीहरुले केही वाइनसँगै साथीहरुको गफगाफलाई मिसाउने तयारी गरेका छन् । ‘निक्कै लामो व्यवस्ततामा यहाँ रहेका साथीहरुसँग भेट हुन पाउँदैन, दशैंमाचाँही निक्कैजना भेला भएर स्याम्पियन लिने तयारी भइरहेको छ ।’ पोखरेलले भने,‘यहाँको दशैं घरको जस्तो कहाँ हुन्थ्यो र यसो मन बहलाउने बाहना पनि त चाहियो नि ?’
इजरायलमा दशैं त्यति महत्वकासाथ मनाउनका लागि साथीहरुसँगको भेट सहज छैन । त्यसकारण एकै ठाउँमा जम्मा भएका केही साथीहरु मिलेरै ‘गेट टुगेदर’ गरेर दशैं विताउने तयारीमा जुटेकी छिन् पार्वती पराजुली । इन्टरनेट च्याटमा लेख्छिन्,‘अव यहाँ साथीहरु अली कम छन् त्यसकारण हामी जति छौं त्यति भेला भएर मनाउने तयारी गरिरहेका छौं ।’ जेरुसेलमस्थित अस्पतालमा कार्यरत रुब्बु थापाको पनि दशैंको खास योजना छैन । उनी इन्टरनेटमार्फत लेख्छिन्,‘यसपालीको दशैंमा नेपाल आउन पाइएन, विदा नभएका कारण मनाउन पाइएन । यहाँपनि दशैंका लागि छुटी छैन । त्यसै वित्ने भयो ।’ उनले केहीसाथीहरुसँग मिलेर डिनर गर्ने तयारी गरेकी छन् । भन्छिन्,‘डिनरसम्म गरिन्छ होला ।’
कोरियामा दशैंका फरक–फरक तयारीहरु भइरहेका छन् । कोही डान्स पार्टीको मज्जामा झुम्मिने तयारीमा जुटेका छन् भने धेरै समुद्र तटमा ग्यादेरिङ्को योजना बनाइरहेका छन् । कोरियामा कार्यरत बसन्त लुइँटेल भन्छन्,‘यसपालीचाँही ‘बिच पार्टी’ हुनेछ । साथीहरु भेला भएर हामी त्यहिँ नाच्ने गाउने र एकआपसमा शुभकामना आदानप्रदान गर्ने तयारीमा छौं ।’ पछिल्लो समयमा कोरियामा युवापुस्ता बढीरहेका कारण उनीहरु कोरियन म्युजिक र नेपाली दशैंको रिमिक्सको तयारीमा पनि लागेका छन् । भन्छन्–‘फुर्सद एक दिन हुन्छ अहिलेसम्म कोरियन म्युजिकको स्वाद राम्रोसँग लिन पाएको छैन, कोरियन म्युजिकसँगै दशैं उत्सव मनाउने तयारी गरिरहेका छौं ।’
एक धागो कम्पनीमा कार्यरत दिपक भारतीका अनुसार दश जनाको समुह मिलेर खसी किन्ने योजना बनेको छ । उनले भने,‘जसरी पनि मनाउनुपर्ने भएपछि यहाँ कार्यरत साथीहरुले यस्तो सल्लाह गरेका छन् । रमाइलै गर्ने तयारीमा जुटेका छौं ।’ युरोप तथा अमेरिकामा भने दशैं नेपाली पारामै मनाउने परिवारहरु ज्यादा छन् । अमेरिकामा ज्यादातर नेपालीहरु परिवारसहित नै रहेका कारण टिका लगाउने र कुनै राम्रो ठाउँमा पारिवारिक भ्रमण गरेर मनाउने चलन बढ्न थालेको छ । क्यालिफोर्नियामा रहेका विराटनगरका मञ्जिभ भट्टराई भन्छन्–‘यहाँ नेपालीहरुको समाजले सामुहिक रुपमा दशैं मनाउँछ । संस्कृतिलाई फरक ढङ्गबाट मनाउने गरिन्छ, सवै सहभागी हुन्छन् ।’ जमरा राख्ने, टिका लगाएर भ्रमणमा जाने योजना व्यापक हुने गरेको छ ।  विदेशमा रहेका नेपाली र भारतीयहरुले विजयादशमीलाई मनाउने गरेका छन् । युरोपका सवै देशहरुमा छरिएर रहेका नेपालीहरुसहित अमेरिका, क्यानडा, रुसमा पनि दशैं मनाइन्छ ।

स्टेरिङ घुमाउँनेका दशैं


डी. विनोद

 एक महिना अघिदेखि यातायातमा दशैं लागिसकेको छ । सवैका रुट र दिनहरु तय भइसकेका छन् । रमाइला, उरन्ठ्याउला संवादमात्र हैन लामो यात्रा काट्नका लागि दशैंसम्बन्धित गीतहरु पनि तयार भइसकेका रहेछन् । गएको वर्ष दशैंको उन्माद हाँसोलाई परिवारसँग विताएका गोरखाका जीवन विश्वकर्माले यसपाली पूर्वमा आफ्नो दशैं वित्ने अड्कल काटेका छन् । उनी काठमाडौंदेखि झापासम्म चल्ने रात्रीबसका चालक हुन् । भन्छन्,‘खै कहाँ वित्ने हो दशैं, नवमीको दिन पालो पर्लाजस्तो छ झापातिर नै यसपाली रमाइलो गर्नुपर्ला ।’ दशैंका नवरात्रीहरु स्टेरिङ् घुमाएरै विताउने गरेका छन् उनले । गत वर्ष बाहेकका अघिल्ला वर्षहरु र यसवर्षपनि उनी नागबेली बाटोमा स्टेरिङ् घुमाएर सर्वसाधारणलाई गन्तव्यमा पु¥याउने कर्तव्यमा जुट्नेछन् । ‘अहिलेदेखि नै यात्रुको यस्तो चाप छ, हरेक दिन विराएर पालो आउँछ यसपाली दशमीको दिनपनि पालो आउलाजस्तो छ ।’
राजधानीबाट बाहिरीने र राजधानी भित्रिने सवारी साधनका चालक र सहचालकहरुको दशैं यात्रुसँगको संवादमा सीमित रहने गरेको छ । ‘सेवामुलक काम नै हो, हामी एकआपसमा रमाइलो गरेर दशैंलाई मनाउने गर्दछौं, मौका मिले घर पुगिन्छ, नमिले आपसमा खुसी बाँडेर दशैं मनाइन्छ ।’ विराटनगरका लागि सवारी चलाइरहेका विक्रम राई भन्छन्,‘मौका मिले दशमीको दिन घरमा टिका थापी आशिर्वाद लिएर फेरि यात्रुको सेवामा नै फर्किनुपर्ने चटारो हुन्छ ।’
यातायात मजदुर, व्यावसायीको आम्दानीको वेलापनि चाडवाड भएका कारण उनीहरुले यस्ता अवसरमा आफ्नो प्रायः समय सवारीसाधनमा नै दिने गरेका छन् । बाइरोडको बाटोमा मोटर गुडाउँदै होस वा धादिङ्को उकालोमा स्टेरिङ घुमाउँदै सवै सकस भुलेर दशैंका गीतमा झुम्मिएर उनीहरुको नवरात्री कट्ने गरेको छ । ‘अष्ठमी कहाँ हुन्छ, नवमी कहाँ पुगिन्छ भन्ने त ठेगान हुँदैन । तर, दशमीका दिन घर पुग्ने चटारो हुन्छ पुग्न नसके आफुभन्दा ठूला गुरुजी, साहुजीको हातको टिका थापेर पनि दशैं मनाइन्छ ।’ राइले आफ्नो सहयोगी सहचालकतिर इङ्गीत गर्दै भने,‘कान्छा र मेरो दशैं एकै ठाउँमा होलाजस्तो छ ।’
एकातिर बाध्यताले दशैंमा घर पुग्न नसक्नेहरुको कथा छ अर्कातिर दशैंमा सवारी नै नचलाएर दशैं मनाउनेहरुको पनि जमात छ । राजधानीबाट छुट्ने अरनिको यातायातदेखि राजधानीमामात्र चल्ने सवारीसाधनमा कार्यरतहरुले नवरात्रीका दुई दिन सवारी चलाउँदैनन् । तर, आवश्यक परेको खण्ड रिजर्भमा जाँदा दशैं कहाँ मनाइन्छ टुंगो हुँदैन । अरनिको यातायातमा कार्यरत टपेन्द्र वीसी भन्छन्,‘नवमीको दिन सवारी चल्दैन, दशमीको दिन टिका लगाएपछि घुइक्याँउने गरेका छौं ।’
अन्य समयमा भन्दा दशैंको मौकामा अझ धेरै चालक तथा सहचालकहरुले दशैं घरमा मनाउन पाउँदैनन् । राजधानीमा थपिने सवारीसाधन, यहाँ चल्ने भाडाका सवारीसाधनका चालकहरुसमेत व्यस्त रहनेहुँदा बसाइको टुंगो पनि हुँदैन । ट्याक्सी चालकहरुलाई पनि भ्याइनभ्याई हुन्छ । ट्याक्सी चालक दिलिप घर्ती भन्छन्–‘यसपाली घर नजाने भएको छु । राजधानीमा सार्वजनिक सवारीसाधन चल्दैनन् त्यसबेला हाम्रो माग बढ्छ । पैसा कमाउने बेला भएकाले मैले ट्याक्सी चलाएरै दशैं विताउने योजना बनाएको छु ।’ यसपटक उनले टिका थाप्न नहुने भएपछि दशैंलाई आम्दानीको बाटोका रुपमा विताउने तयारी गरेका छन् । थप्छन्,‘टिका थाप्न पनि हुँदैन, त्यसैले अर्को साल मनाउनेगरी यसपटक घर नगएको हुँ ।’ घर्तीले गत दशैं बाग्लुङ्स्थित घरमा मनाएका थिए ।

यात्रुको सेवा, मालिकको आग्रह र आफ्नो कर्तव्यका लागि ‘गुरुजी’हरुले व्यक्तिगत चाहनालाई विर्सने गरेका छन् । धेरै घरजान नपाउँदा भावुक छन् तर सेवा गर्न पाउँदा र व्यावसायीक आम्दानी हुँदा चित्त बुझाउन बाध्य पनि छन् ।

 खोई त टिकेट?

 दशैं सुरु हुनु एक महिना अगावै यातायात व्यावसायीहरुले टिकट बुकिङ्ग खुला गर्छन् । व्यावसायीले सर्वसाधारणको सजिलोका लागि टिकट बुकिङ्ग खुला गरेपनि खुलेकै दिनदेखि सवारीसाधनहरुमा टिकट नभएको जानकारीले सर्वसाधारण हैरान हुन्छन् । विराटनगरका लागि टिकट खरिद गर्न बोधराज आचार्य खुलेकै दिन बसपार्क पुगेका थिए । तर, अहिलेसम्मपनि उनले टिकट पाएका छैनन् । भन्छन्,‘यसवेला त टिकट किन्नका लागि पनि ठूलै मान्छेको सोर्स लगाउनुपर्ने रहेछ । मैले अहिलेसम्मपनि पाएको छैन ।’

टिकटको सहजताका लागि महानगरीय ट्राफिक प्रहरीले नागरिक साहयता कक्ष पनि सञ्चालन गरेको छ । तर, वसपार्कमा राखिएका त्यस्ता कक्षबाट पनि टिकट खरिदका लागि सर्वसाधारणलाई सहजता नभएको गुनासो गर्छन्, अरविन्द सुवेदी । सुवेदीले नेपालगञ्जका लागि नयाँवसपार्कमा टिकट बुकिङ्ग गर्न धाएको एक साता भयो तर पाएका छैनन् । ‘नेपालगञ्ज जाने सवै सवारी साधनमा टिकट छैनन् अव कसरी जाने हो तनावमा छु ।’ उनले भने,‘प्रहरीले पनि सहयोग गरेको छैन, यातायात व्यावसायी र मजदुरले त झनै सहयोग गर्दैनन् ।’ उनी टिकट बुकिङ खुला गर्ने चलनसँग नै दिक्क छन् । भन्छन्,‘यो चलनका कारण नै टिकटमा असहजता भएको हो ।’

दशैंमा टिकटको ट्राफिक देखाउँदै बसपार्क लगायतका क्षेत्रमा सक्रिय भएका दलालहरुले बढि रकम लिएर टिकट विक्रि गर्नेगरेका छन् । यातायात व्यावसायीसँग रहेको पछिल्लो तथ्याङ्क अनुसार राजधानी बाहिरका लागि मात्र एक लाख ५० हजारभन्दा बढि टिकट विक्रि भइसकेको छ । तर, यातायातका साधनको संख्याको तुलनामा यो टिकट पर्याप्त होइन । कम्तिमा १० लाख मानिसहरुले टिकट बुकिङ गराउँदामात्र थपिएका भनिएका सवारीसाधनको आवश्यक पर्दछ । यद्यपि, बसपार्क लगायतका क्षेत्रमा एक हजार रुपियाँ पर्ने टिकटको दुई हजारभन्दा बढिसम्म लिएर बेच्ने गरेको सर्वसाधारणको आरोप छ । ‘मलाई झापाको एक्काइस सय रुपियाँ दिजए टिकट मिलाउने एकजना दलालले आश्वासन दिए । तर, मैले टिकट लिइन ।’ विक्रम कार्कीले भने,‘यो त ज्यादै हो नी प्रहरीकहाँ उजुरी गर्दापनि त्यतिधेरै चासो हुँदैन ।’ कार्कीका अनुसार साहयता डेस्कका प्रहरीलाई समेत दलालहरुले प्रभावमा राखेका छन् ।

नेपाल स्वतन्त्र यातायात मजदुर युनियनका सचिव भिम राइ ज्वालाका अनुसार सवारीसाधनमा दशैंका समयमा आफ्नो कुनै सीप नचल्ने बताउँछन् । काठमाडौंबाट छुट्ने सवारीसाधनमा हुने यात्रु चाप, व्यावसायी र मजदुरहरुको कार्यकलापबारे आफु जानकार हुन नसकेको उनले बताए । भने,‘यसवेला सवै वर्ष टिकटको अभाव हुने गरेको छ । तर, जसरी पनि यात्रुहरु जाने गरेका छन् ।’

इातायात मजदुर र व्यावसायीले टिकट बुकिङ भएको बाहनामा महँगो भाडा लिएर सवारी रिजर्भ गर्न लगाउने तथा कालोबजारीमा टिकट बेच्ने समेत गर्छन् । ‘चलनचल्तीको भाडाभन्दा अलि ज्यादा रकम लिने प्रवित्तिपनि बढेको छ । अन्य समयमा भएको कन्सेसनलाई पनि दशैंको बेला उठाउने गरेका छन् ।’ राइले भने,‘यसबारेमा लामो दुरीका यातायातका साधनहरुको मनोपोली नै हुने गरेको छ ।’

चाडको मुखैमा परदेशतिर

डी. विनोद
कैलाली अत्तरियाकी मनिसा दमाई केहीदिनमा लेवनानका लागि मुलुक छाड्दैछिन् । दशैंको मुखमा मुलुक छाड्दा साथीभाइसँगको रमाइलो गर्ने अवसर पनि छाडिरहेकी छन् । तर, भविष्यका लागि रोजगारीमा जानैपर्ने भएकाले उत्तिसारो दुखी पनि छैनन् । भन्छिन्,‘साथीभाइसँगको जमघटबाट टाढा हुँदा मनमा न्यास्रो लागेको छ । तर, बाध्यतालाई पनि नजरअन्दाज गर्न नसकिँदो रहेछ ।’
दमाई यसअघिपनि लेवनानमा घरेलु कामदारका रुपमा कार्यरत थिइन् । बीचमा नेपाल फर्किएकी उनी फेरि घरेलु कामदारकै लागि लेवनान जाने विमान उड्ने प्रतिक्षामा छिन् । भन्छिन्,‘अव दशैं, तिहार र आफ्ना आफन्त छाडेर जानुपरेको छ, केही उदासीनता भएपनि दुखै मान्न भएन ।’
दशैंका मुखमा वैदेशिक रोजगारीका लागि विमान पर्खनेहरुको लाम लामै छ । मनमा उदासी, परिवारसँगको विछोड र बाध्यताको झोला बोक्ने धेरैजना दुखी छन् । कास्की, ह्याङ्जा–१ का टंक श्रेष्ठ मंगलबार कतार उडेका छन् । दशैंको औपचारिक सुरुआत घटस्थापनाकै दिन मुलुक छाड्नुपर्दा उनी उदास मुद्रामा भेटिएका थिए । भन्छन्,‘लामो समय टिकट पर्खियौं तर दशैंपछिको मिलेन । दशैं सुरु भएकै दिन हिँड्नुपर्दा परिवारका अन्य सदस्यको अपेक्षा र खुसीमा सहभागी हुन सकिएन ।’ पहिलो चोटी वैदेशिक रोजगारमा जान लागेका उनले थपे,‘रहरले हैन करले जान लागेको हुँ । चाडवाडका बेला साथीभाई, घरपरिवारसँग विताउने समय हेल्परको काममा सुरु गर्ने रहर कसलाई पो हुन्छ र ? यो बाध्यता हो ।’ छोराछोरी, परिवारका अन्य सदस्यको आशाको केन्द्र भएकाले उनीहरुसँगको समय दशैंमा विताउन नपाउँदा दुखी भएको बताउँछन्, श्रेष्ठ ।
सुख, शान्ति र सम्बृद्धिको शुभकामना लिने र दिनेबेला बाध्यताले जकडिएका नेपाली श्रमिक भने दुख गर्नका लागि खाडी लगायतका मुलुक जान बाध्य भएका छन् । मनभरी धन कमाउने आश बोकेर चाडवाडलाई पनि विट मार्दै कर्तव्यको बाटो लम्किनेहरुको कथा भावनात्मक नै हुन्छ । आर्थिक समस्यामा गुज्रिरहेको परिवारको आवश्यकताका लागि कतारै जान तयार भएका मोरङ भाउन्नेका अनुज विश्वकर्माले गहभरि आँशु पार्दै भने,‘आवश्यकताको सिकार बनीरहेका छौं हामी । साथीभाई, गाउँ र छिमेकलाई दशैंमा शुभकामना भन्न नपाई नै मुलुक छाड्नु परेको छ ।’ १८ वर्षको कलिलै उमेरमा विदेशी विमानस्थलमा टेकेका विश्वकर्मा भन्छन्,‘सवैलाई खुसीसाथ दशैं मनाउनु भनेको छु अवका केही वर्षपछिका दशैं खुसीसाथ मनाउने अपेक्षामा विदेशिन लागेको हुँ ।’ कतारका लागि १० जनाको टोलीमा उनीपनि सहभागी छन् । भन्छन्,‘सवैको पीडा उस्तै हो, हामी घरमा खुसी छाडेर बाध्यताको भारी बोकेर हिँडिरहेका छौं ।’
लामो समय काठमाडौंमा बसेपछि दशैंको मुखैमा विदेश उड्न लागेका संखुवासभा, सिद्धकाली–१ का रुद्र कार्की चिन्तित छन् । श्रीमति र छोराछोरीलाई मोरङको उर्लाबारीमा छाडेका उनी घरपनि नफर्कि मुलुक छाड्नुपर्ने अवस्थामा पुगेका छन् । भन्छन्,‘दशैंमा बालबच्चको टुंगो छैन, चाडवाडको बेला एक्कासी उड्न परेपछि दुखी छु । तर, आफैं पैसा कमाउनका लागि वैदेशिक रोजगारीमा जाने तयारी गरेका कारण दशैंमा भएपनि जानैपर्छ ।’ उनले श्रीमति छोरछोरीको यसपालीको दशैं खल्लो बनाएको दोषपनि आफैंमाथि लिएका छन् । तर, आगामी दशैंमा बालबच्चको खुसी लिएर दशैंलाई उत्सवका रुपमा मनाउने मनोकांक्षापनि राखेका छन् । भन्छन्,‘यसपाली दुख पाइयो, आगामी वर्षहरुमा खुसीहरु लिएर आउनेछु ।’
कतार उड्ने टिकट आउने साँझविहानमा गौशालामा रहेको शुभतारा गेष्ट हाउसमा बसेका पोखराका २१ बर्षिय नारायण थापामगर घरका जेठा छोरा हुन् । दशैंको मुखमा परदेश जानुपर्दा आफु दुखी भएपनि परिवारको दायित्वका लागि हिँड्न लागेको बताउँछन्, उनी । भन्छन्,‘घरको दुखलाई निराकरण गर्नका लागि पनि मेरो दायित्वलाई विर्सिन हुँदैन । यसपाली दुख भएपनि आगामी दिनको सुखका लागि म विदेश उड्न लागिरहेको हुँ ।’ 
प्रत्येक वर्ष उड्ने चार लाख नेपाली युवायुवतीहरुका लागि कुनै चाडवाडपनि छेकबार बन्दैन । आवश्यकताका लागि चाडपर्वहरु बाध्यताका दिवारहरु बन्ने गरेका छैनन् । एक पटकको उदासी अर्को पटकका वर्षहरुमा खुसीसाथ मनाउने आत्मविश्वास, अभिलासा र परिवारलाई सान्त्वना दिएर मुलुकबाट पाइला उठाउनेहरुको जमात ठूलै छ । यस्तै विचार बोकेर खाडी मुलुक जाने तयारीमा रहेका मोरङ् इटहराका इन्द्र खड्का भन्छन्,‘परिवारसँग नहुँदा मन बेखुसी छ । तर, बाध्यताले मनको बेखुसीपनलाई पेल्यो ।’
दशैंमा विदेश छाडेर नेपाल फर्किनेहरुको ताँत जुन उमङ्गमा विमानस्थलको अन्तर्राष्ट्रिय कक्षबाट बाहिरीरहेको छ, त्यति नै निरास र उदासिना सहित आँखाभरी आँशु र आफन्तका विलापसँगै विदेशका लागि अन्तर्राष्ट्रिय कक्षभित्र भित्रिनेहरुको पनि भीँड देखिएको छ । 

न्युजरुममा दशैं

ढकाल बी





कान्तिपुर टेलिभिजनमा कार्यरत पत्रकार राधाकृष्ण धितालले यसपालीको दशैं काठमाडौंमा नै मनाउने भएका छन् । झापाका धितालले दशैं आफन्तसँग मनाउने रहर भएपनि सञ्चारकर्मी भएकैले समाचार जनतासम्म पु¥याउनुलाई प्राथमिक ठानेका छन् । ‘आफन्तसँग मनाउन नपाएपनि साथीहरुसँग मनाएरै भएपनि यसपालीको दशैं समाचारकक्षमा नै सकिनेछ ।’ उनले भने,‘अन्य साथीहरुलाई समय दिने र समाचारलाई पनि निरन्तर जनतासम्म पु¥याउनुपर्ने भएकैले दशैंमा घर जान नपाएको हो ।’

काठमाडौंमा सञ्चालित धेरै सञ्चारगृहमा कार्यरतहरु राजधानी बाहिरका छन् । उनीहरुले दशैंमा आफन्तको आशिर्वाद लिन छाडेरै भएपनि सेवालाई निरन्तर जारी राखेका छन् । विद्युतिय सञ्चारमाध्यममा कार्यरत यी सञ्चारकर्मीहरु नियमित रुपमा आफ्नो कर्मममा जुटिरहेका हुन्छन् । ‘समाचार कक्षमा र त्यहाँबाट पाएको फुर्सदमा काठमाडौंमा रहेका साथीहरुसँग रमाइलो गरेर विताउने योजना छ ।’ धितालले भने ।

कञ्चनपुरको महेन्द्रनगर घर भएकी गीता कँडेललेपनि यसपालीको दशैं समाचारमुलक जानकारी, समाचार वाचन गर्ने र आफु कार्यरत मिडियामा रहेका साथीहरुसँग खुसी साटेर मनाउने योजना बनाएकी छिन् । उज्यालो नेटवर्कमा कार्यरत कँडेल भन्छिन्,‘योजना नै त छैन, तर समाचारकक्षमा व्यस्त भएर यसपालीको दशैं वित्नेछ ।’ विगत वर्षहरुमा घरजान नपाएका साथीहरुलाई मौका दिएर यसपालीको दशैं कार्यालयमा नै मनाउने योजनामा छिन् । ‘घरजान नपाउँदा थोरै उदासी छ तर कर्तव्य र सहजीकरणका लागिपनि आफ्नो दायित्वलाई विर्सन भएन । त्यसकारण समाचारमै व्यस्त भएर यसपालीको दशैं विताउनेछु ।’ उनले भनिन् ।

सेवामुलक संस्थामा कार्यरत निक्कै व्यक्तिहरुले आफ्नो खुसी भन्दापनि जनताको न्युनतम आवश्यकतालाई पुरा गर्नुपर्ने दायित्व बोध गरेका छन् । सुरक्षाजस्तै सञ्चारपनि अहम् आवश्यकता भएका कारण आफ्ना खुसीलाई छाडेर सञ्चारकर्मीहरु आफ्ना स्रोता तथा दर्शकको आवश्यकता पुरा गर्न लागि परेका छन् । रेडियो कान्तिपुरमा कार्यरत चितवनकी कृष्णा पौडेल भन्छिन्,‘यसपालीको दशैंमा रेडियोमा ताजा जानकारी दिएर विताउने हो ।’ घर जान नपाउँदा दुख लागेपनि खुसी नै भइन्छ । तर नवमी र दशर्मीको दिनको काठमाडौं देख्दा दुख लागेर आउने गरेको उनले बताइन् । उनी यसअघिका दशैंमा पनि समाचारकक्षमा व्यस्त भएर बसेकी थिइन् । भन्छिन्,‘कर्तव्य हो, पुरा गर्नैैप¥यो नि ।’ दशैंमा उनको योजना केही छैन । नियमित काममा विहान ११ बजेदेखि बेलुकी ७ बजेसम्मको सेवा नै गर्ने छ । अनि, सामान्य तरिकाले खुसी बाँड्ने बताउँछिन् ।
सञ्चारकर्मी आम मानिसको वकालत गर्ने व्यक्ति हो तर आम मानिस होइन भन्ने मान्यतालाई आत्मसाथ गर्ने कारणहरु यस्तै वेला देखिने गरेका छन् । ‘चाहनालाई थाँती राखेर कर्तव्यलाई पालना गर्नुपर्ने बाध्यता यहिबेला त आइलाग्छ । हामीले पुरा गर्नैपर्ने हुन्छ ।’ मैत्री रेडियो नेटवर्कमा कार्यरत शोभिता रिसाल भन्छिन्,‘निरन्तर समाचार दिएर यसपालीको दशैं जनसेवामा समर्पित गर्ने हो ।’
नेपालवाणी नेटवर्कमा कार्यरत महेश लिम्बुपनि यसपाली दशैंमा घर नजाने भएका छन् । भन्छन्,‘घरजाने मौका मिल्दैन, यहाँ कार्यक्रम र स्रोताको आवश्यकता पुरा गर्नुपर्ने आवश्यकता छ ।’ वाणीमा सांगितिक कार्यक्रम चलाउने उनका लागि दशैंभन्दा अहिलेसम्म कमाएका स्रोता र उनीहरुको चाहना प्रधान भएको छ । ‘फोनिन होस वा अन्य कार्यक्रम उत्पादनमा समय खर्चिने भएकाले दशैं स्पेसल कार्यक्रम नै हुन्छ, त्यसकारण घर जान पाइन्न ।’ मोरङ घर भएका लिम्बु भन्छन्,‘सञ्चारकर्मीका लागि स्रोता नै पर्वजस्तो हो ।’ राष्ट्रपतिदेखि सामान्य नागरिकसम्मको दशैंका खबर संप्रेषण, प्रशारण गर्नका लागि सञ्चारकर्मीहरु खट्नुपर्ने हुन्छ । सञ्चार, समाचार मानिसको आधारभुत आवश्यकता बनिसकेको छ । त्यसकारण पनि कर्तव्यमा खटिइरहनुपर्ने हुन्छ । ‘आफ्नो यो वर्षको दशैं विर्सिएर जनताहरुलाई सँधैको दशैं दिनका लागि खट्नु हाम्रो दायित्व हो ।’ लिम्बुले भने ।

अन्य साथीलाई पालो दिएर तिहारमा विदा लिने तयारीमा लागेका छन् एभिन्युज टेलिभिजनमा कार्यरत पत्रकार लक्ष्मीप्रसाद पोखरेल । भन्छन्,‘दशैंमा समाचार कक्षमा व्यस्त रहने, यहि साथीहरुसँग मनाउने हो । तर, तिहारमा विदा लिने तयारी भइरहेको छ ।’

झण्डै १३ वटा टेलिभिजन तथा ४० वटा रेडियो एफएममा कार्यरत पाँच सय भन्दा बढि सञ्चारकर्मी आफ्नो कर्तव्यमा दशैंका वेला पनि खटिरहेका हुन्छन् । अन्य समयको तुलनामा यो संख्या कम भएपनि दशैंका लागि उल्लेख्य मान्नुपर्दछ ।
-कात्तिक २ गते शुक्रबारमा प्रकाशित


Sunday, October 14, 2012

लिलिपुटहरुको मन्त्रीमण्डल !

विनोद ढकाल
‘यस वर्ष लोडसेडिङ घटाउन कात्तिक १५ पछि साताको दुई दिन सरकारी विदा दिने तयारी भएको छ ।’ मन्त्रीमण्डलको वैठकपछि गजक्क ठाँटिएर निस्किएको मन्त्री भन्छन्,‘त्यसका लागि सरकारले तयारी गरिरहेको छ ।’ सरकारी कार्यालयमा विद्युतको चरम दुरुपयोग हुने गरेको खुलासापनि थियो यो । यस्तै अर्कामन्त्री जुँगा मसार्दै निस्किन्छन् र संवाददाताहरुको माइक नजिकै मुख खोल्छन्–‘सहमति भएपछिमात्र प्रधानमन्त्रीले राजीनामा दिनुहुन्छ, यहि सरकार निरन्तर चलिरहन्छ ।’ आफ्नो जागिर जोगाएको खबर पनि बडो खुसीसाथ सुनाउँछन् ।
यस्तो खास विषय जसले मुलुकको स्वरुप परिवर्तनमा नयाँ कुरा ल्याउने कुनै चर्चा सुनिदैन । ५० लाख युवा मुलुकबाहिर छन् तिनलाई भित्राउनका लागि रोजगारी, भएका युवाहरुलाई नयाँ रोजगारीका लागि काम गरेको सुन्न पाइँदैन । यहाँसम्मकी इतिहाँसको जगेर्ना गर्दै सहिदहरुको सम्मानमा खास कार्यक्रम गर्ने कुनै नयाँ चर्चापनि सुनिदैन । यहि मन्त्रीमण्डल जसले यसै साता गर्नैपर्ने निर्णय गरेन ।
प्रजातान्त्रिक लडाइमा ब्राम्हण भएकै कारण राणा शासकहरुले सजाय दिएका तर नमारिएका राहरि शर्माको विहीबार निधन भयो । उनको निधनसँगै अव राणा शासन र प्रजातान्त्रिक आन्दोलनको जीवित इतिहाँस सकिएको छ । ६० वर्ष अघिको एउटा नेपाली समाजको राजनीतिक अवस्थिति र योगदानहरुको जीवित चर्चा पनि समाप्त भएको छ ।
प्रजातान्त्रिक आन्दोलनको अग्रगतिमा लागेको तत्कालिन नेपाल, त्यसले निम्त्याएको शिक्षाको लामो लहर, जनआन्दोलनको चेष्टा, जीउँदो इतिहाँस अव नामेट भयो । हरेक परिवर्तनका पात्रहरुको सक्रियतालाई सम्मान गरिएकै कारण तत्कालिन क्रान्तिकारी प्रजा परिषदमा सरिक शर्माको देहान्त हुनु स्वभाविक थियो तर देहान्तपछि राज्यले गरेको अवमुल्यनलाई स्वभाविक रुपमा लिनै हुँदैन ।
जङ्गबहादुरले सुरु गरेको निरङ्कुश राणा शासनको अन्त्यको इतिहाँस निर्मातामध्येका एक थिए शर्मा । भारत जतिवेला स्वतन्त्रताका लागि भित्रभित्रै आन्दोलनको तयारीमा जुटिरहेको थियो त्यसबखतदेखि नै नेपाली सीमालाई जोगाइराख्ने हिम्मत जङ्गबहादुरले गरेका थिए । लिखित इतिहाँसकाअनुसार इष्ट इन्डीया कम्पनीले नेपाललाई प्रलोभन देखाउने प्रयत्नहरु गरेकै हो । तर, बेलायत दुतावास खुलीसकेको नेपालमा राजदुतलाई बोलाएरैपनि जङ्गबहादुरले आफ्नो मुलुकका बारेमा पाठ पढाएरै पठाएका थिए । यद्यपि, उनले आन्तरिक प्रजातन्त्रलाई भने बन्धक बनाएका थिए । यो शिलशिलालाई सत्ता सञ्चालनको एक सय चार वर्षको इतिहाँस कायम भयो । त्यो इतिहाँस मेटाएर मुलुकमा प्रजातन्त्रको सास फेराउन योगदान गर्ने दशरथ चन्द, धर्मभक्त माथेमा, गंगालाल श्रेष्ठ, सुक्रराज शास्त्री, टंकप्रसाद आचार्यसँगै शर्माको पनि उत्तिकै योगदान थियो । त्यहि योगदान नै उनको राष्ट्रियसम्मानको कदका लागि निक्कै उचाइमा थियो । जुन नयाँ अजङ्गबहादुरको सरकारले ध्यान दिन सकेन ।
सत्तापाएपछि को जङ्गबहादुर र को अजङ्गबहादुर ? जङ्गबहादुरको गतिलो इतिहाँसलाई नामेट बनाएर उनले गरेका केही हिंसात्मक इतिहाँसलाई विम्व बनाएर नेपाली समाजको पुस्तालाई विरोधाभाष शिक्षा दिने तथाकथित लोकतन्त्रवादीहरु, लोकतन्त्रलाई समाप्त गरी संघियता र स्वतन्त्रताका नाममा सत्तालाई पेवा ठान्ने कथित गणतन्त्रवादी र मधेसीहरुबीच कसरी भिन्नता पहिल्याउने ? यो बहस एकातिर छ । तर, यसबीचमा योगदानलाईमात्र सम्झिने प्रयत्न गर्दामात्र पनि जनतामा आशाका केही दियो बल्नेथिए । तर, अव यहि सरकारलाई मान्नैपर्ने कुनैपनि गुञ्जायस बाँकी रहेन । यद्यपि, राजनीतिक नालायकीयात्र यहि क्रममा चलिरहेकै छ ।
बाबुराम सरकार वैचारिक, नैतिक र सामाजिक रुपमा पनि लिलिपुटहरुकोमात्र मन्त्रीमण्डल बन्यो । यीनिहरुको कद यतिसम्म सानो देखियो कि प्रजातन्त्र, लोकतन्त्र र गणतन्त्रको सम्मान गर्ने उचाई यीनको हैसियतभन्दा निक्कै माथि छ । यीनको व्यवाहारले युद्धको हुंकार र हल्लाले जन्माएको राजनीतिक कुसंस्कारमा हुर्किएका विचारशुन्य, विवेकशुन्य मानिसहरुको झुण्ड सरकारमा रहेको पुष्टि हुन्छ । अनि, विपक्षी भनेर दावी गर्ने कांग्रेस, एमालेपनि त्यहि संस्कारका पछ्यौटेका रुपमा देखा परे ।
देशले प्रजातान्त्रिक आन्दोलनको जीउँदो इतिहाँसलाई गुमाइरहँदा देशका प्रधानमन्त्री पशुपतितिर गएनन्, भारतपरस्त नेतालाई भेट्नका लागि पुगिरहेका थिए । अनि, उनको मन्त्रीमण्डलमा सामेल राजकिशोर यादव भन्दैथिए–‘शर्माको निधनबारे थाहै भएन ।’ कति लाचार छ सरकार, कति गैरजिम्मेवार छ ? अर्का मन्त्री पोष्टबहादुर बोगटी भन्दैथिए–‘परिवारसँग छलफल गरेर शर्मालाई कस्तो सम्मानदिने भन्नेबारे निर्णय हुनेछ ।’ यस्ता विचारकागरिवहरु मन्त्रीमण्डलमा छन्, अनि त्यहि सरकारले हामीमाथि शासन गरिरहेको छ । अर्को अजङ्गबहादुर तरिकाले । न उसँग राष्ट्रियताको कुनै चिन्ता छ, न नैतिकताको चिन्ता न त जनताको अपेक्षा पुरा गर्ने अभिभाराको दायित्वबोध ।
यहाँ खास सहिदहरुको अवमुल्यन भइरहेको छ । सहिदप्रतिको सम्मानलाई आत्मा छुनेगरि व्याख्या गर्ने सरकारको अभाव खड्कीएको छ । सहि अर्थमा सहिदहरु वेवारिशे बनाइएका छन्, अनि मन्त्रीपरिषद अपराधीको मुद्दाफिर्ता गर्ने, कायम विभिन्न अस्पतालहरुका नाम फेर्ने, सहर, राजमार्ग र सडकका नाम फेर्ने असम्बन्धित विषयमा निर्णय गरिरहन्छ ।
चेतनाको स्तर सवैको समान हुनुपर्ने आवाज उठाएर सँधैका लागि आफ्नो आवाज गुमाउनका लागि जीवनलाई तिलाञ्जली दिन लागि परे, उनको आज अवमुल्यन भइरहेको छ । जसले जनहितका लागि निरङकुश साशनको पदलाई होइन मृत्युलाई स्वीकार गरे । उनीहरुको मृत्युलाई निक्कै सस्तो बनायो, यो मन्त्रीमण्डलले ।
यहि मन्त्रीमण्डलले सहिदगेटबाट राजा त्रिभुवनको शालिक हटाउने निर्णय पनि गरेको थियो । जसको चर्को विरोध भएपछि निर्णय कार्यान्वयन हुन सकेन । यस्ता इतिहाँसहरुलाई मेटाउने काममा सरकारका सुरुआती दिनहरुबाटै सक्रियता देखिएकै हो । । इतिहाँस कमजोर बनाएर वर्तमानलाई तहसनहस बनाउने अपरिपक्वताको उदाहरणका निम्ति चर्चालायक धेरै काम यहि मन्त्रीमण्डलले गरेको छ । नेपाली गाउँघरमा सुनिने÷देखिने गरेको साढेको कथा बनाउने नियतमा रहेर अहिले यी भिन्न प्रकारका निर्णयहरु भइरहेको छ । साढेले कसैलाई पनि आक्रमण गर्न पाएन भने भित्तामा सिँगौरी खेल्छ । अहिले सरकारले त्यसै गरिरहेको छ ।
यसर्थ, सरकारलाई जनताले स्वीकार गर्नसक्ने, सम्मान गर्नसक्नेगरि सञ्चालन हुँदामात्र भावी राजनीतिका लागि पनि सहज बाटो बनाउने कर्ममा एमाओवादी र मधेसी लाग्न सकुन् ।

Wednesday, October 10, 2012

मनमा कोरिया, आँखामा कोरिया


डी. विनोद
झापा महारानी झोडाका देवेन्द्र कार्कीले लगातार तीनवर्षसम्म कोरियन भाषा सिकेका थिए । सरकारले लिने गरेको इपीएस परिक्षामा तीनै पटक सहभागी भए तर उत्तीर्ण हुन सकेका छैनन् । यद्यपि, उनले कोरियाको सपना त्यागेका छैनन् । भन्छन्,‘कोरियाका लागि निक्कै प्रयास गरिरहेको छु ।’ उनका समकक्षीहरु धेरै कोरियामा नै छन् । उनी कोरिया पुगेर मेहनतसहित पैसा कमाउन चहान्छन् । जसले उनको निम्नमध्यम वर्गीय परिवारको आर्थिक अवस्थामा पनि सुधार होस । अहिले इटहरीमा सुजुकी सो रुममा कार्यरत कार्की थप्छन्–‘यहाँ पनि अवसर छ तर काम गर्ने वातावरण छैन । त्यसकारण मैले कोरियन भाषाको परिक्षा दिएको थिएँ । अहिलेपनि अध्ययन गरिरहेको छु । मौका परे परिक्षा दिनेछु ।’
कार्कीजस्तै भाषा सिकेर कोरिया, इजरायल, जापान, युरोप लगायतका मुलुकमा पैसा कमाउने हजार सपना देख्नेहरु धेरै छन् । नेपाल छाडेर खाडी मुलुक र मेलेशियासँगै कोरिया र इजरायलमा रोजगारीको लाममा लाग्ने थुप्रै युवाहरु छन् । काठमाडौं लगायतका विभिन्न सहरहरुमा खुलेका हिब्रु, कोरियन भाषाका संस्थाहरुमा अहिले उनीहरु भाषा सिकीरहेका छन् । यहाँसम्मकी अहिले केही संस्थाहरुमा अरबी भाषाको पनि अध्ययन गराउने तयारी भइरहेको छ । तर ज्यादातर युवाहरु कोरियन भाषामा आकर्षित भएका छन् । कोरिया पुगेपछि सामानय कामदेखि कृषिका काममा नेपालीलाई खटाउने चर्चाका कारण युवाहरु कोरियाका लागि आकर्षित भएका छन् । कोरियन भाषा सिकिरहेका काठमाडौं पुतलीसडक बस्ने बविन अधिकारी भन्छन्–‘चार पटक भयो इपीएसमा भाग लिएको, पास हुन सकेको छैन । तर, कोरिया नगई नछाड्ने अडानले अहिलेपनि कोरियन भाषा पढिरहेको छु ।’ अधिकारी त कतिपय कुराकानी कोरियन भाषामा गर्नपनि थालेका छन् । भन्छन्–‘कोरियन भाषामा यस पटक उत्तिर्ण भएर जाने लक्ष्य छ । कतिपय साथीहरु हिब्रु भाषापनि सिकीरहेका छन् ।’
कम लगानी र राम्रो आम्दानीको गन्तव्य तथा सरकारले नै श्रम सम्झौता गरेका कारण कोरियाका लागि युवाहरुको संख्या उल्लेख्य हुने गरेको छ ।
कोरियाको स्कान सहरस्थित एक धागो कम्पनीमा कार्यरत दिपक भारती भन्छन्–‘मेहनत ज्यादा गर्नुपरेपनि सरकारले नै सम्झौता गरेका कारण जोखिम ज्यादा हुँदैन । तर, नेपाली सहरमा भन्दा यहाँ ज्यादा नङ्ग्रा खियाउनुपर्दछ ।’ कामकै बोझका कारण कतिपय नेपाली युवाहरुले आत्महत्या गर्नेसम्मका खबरहरुपनि सार्वजनिक भइरहेको छ । तर, मेहनत गर्ने अठोट लिएर कोरियाको तयार गरिरहेका र कोरिया छिरेकाहरुका लागि भने त्यति ठूलो चुनौति होइन । ‘आफ्नो ठाउँमा आम्दानीको गतिलो बाटो नभएपनि वैदेशिक रोजगारीको तयारी स्वभाविक भएको छ । त्यसमध्येपनि राम्रो आम्दानी हुने कोरियामा छिर्नु धेरैको लक्ष्य हुन्छ ।’ भारतीले भने ।
नेपाली सडकमा बरालिएका युवाहरु कोरिया पुगेपछि काममा मात्र अभ्यस्त हुन्छन् । काम गर्नुको महत्वबारे उनीहरुले बुझेका छन् । साताको एकदिन विदालाई मनाउने र अन्य दिन कामको महत्वलाई बुझेर पैसा कमाउने लक्ष्यभन्दा अरुकेही पनि छैन, उनीहरुमा । स्कान सहरकै एक मोटरपार्टस कम्पनीमा कार्यरत सन्तोष वन इन्टरनेट मार्फत भन्छन्–‘यो काम गर्नेहरुको सहर रहेछ । कोरियन हुन वा विदेशी कामदार सवै एकसाथ मेहनत गर्छन् । पैसा पनि रामै्र आम्दानी हुन्छ ।’

सरकारले इपीएस प्रणालीमार्फत कोरियामा नेपाली कामदार पठाउने सम्झौता खुलाएकै वर्षदेखि कोरियाका लागि युवाहरुको संख्या अत्यधिक बढेको छ । प्रत्येक वर्ष कोरियन सरकारले नेपाली युवाहरुको संख्या थप गर्ने र माग गरेभन्दा ज्यादा कादारपनि लग्न थालेपछि युवाहरुको आकर्षण बढेको छ । गतवर्षमात्र १० हजारका लागि खुलाएको परिक्षामा पास भएका १५ हजार नेपाली कामदारलाई कोरिया सरकारले लगेको थियो ।
त्यसो त कोरिया सरकारले सन् २०१३ पछि १० भन्दा कम कामदारलाई रोजगारी दिएका साना तथा मझौला उद्योगले थप विदेशी कामदार ल्याउन पाउने प्रावधान राखेपछि नेपालीको भाग्य अझ बलियो हुने विश्वास पनि गरिएको छ । 
कोरियाका अधिकांश सना उद्योगमा नेपाली, भियतनामी तथा कम्बोडियन कामदारको छनोट बढी हुने गरेको छ । तर यो नियम पुषपछिमात्र लागु हुने बताइएको छ ।
कोरियाको रोजगार तथा श्रम मन्त्रालयले विदेशी कामदारका लागि आवश्यक पर्ने प्रवासी मजदुरको कोटा निर्धारण गर्ने क्रममा यस्तो जानकारी दिएको थियो ।
प्रवासी मजदुर जनशक्ति नीति ब्युरोको गत महिनाको अन्तिम साताको निर्णय अनुसार अनुमति प्रणाली (ईपीएस)मार्फत २०१३ का लागि ६२ हजार प्रवासी मजदुर भित्राउने घोषणा गरिसकेको छ । यसमध्ये १० हजार कोरियामा काम गरेर दक्षता हासिल गरेका पुराना कामदारको श्रमअवधि थपिने जनाइएको थियो भने गएका वर्षका तुलनामा कोरियाले ५ हजार बढी कामदार भित्राउने भएको छ । कोरिया सरकारको मागअनुसार नेपाली युवाशक्तिले आगामी वर्ष आफ्ना कोरिया पुग्ने सपना पुरागर्न सक्ने अनुमान गरिएको छ ।


महिलासँगै पुरुषपनि इजरायलतिर

मोरङका अभय कार्की अहिले हिब्रु भाषा सिकिरहेका छन् । कृषिसम्बन्धि काममा सीप भएका कार्की इजरायल जाने मनस्थितिमा छन् । काठमाडौंमा बसेर तीन महिनादेखि हिब्रे भाषाको अध्ययन थालेका कार्की भन्छन्–‘अहिले पुरुषहरुपनि इजरायलमा कामका लागि जान थालेका कारण म पनि तयार हुन लागेको हुँ ।’
कार्कीजस्ता निक्कै युवाहरु अहिले हिब्रु भाषाको अध्ययन गरिरहेका छन् । नेपाली युवायुवतीका लागि इजरायल राम्रो गन्तव्य भएका कारण उनीहरु भाषा सिकेर इजरायलको श्रमस्वीकृति लिने तयारीमा छन् । नुवाकोटका प्रदिप अधिकारी भन्छन्,‘अहिले एक दर्जन साथीहरु एउटा कक्षामा बसीरहेका छौं, इजरायलमा राम्रो आम्दानी हुने भएकाले हामीले यो भाषा सिकीरहेका हौं ।’ नेपाली कामदारका लागि इजरायलमा कम्तिमा ६० हजारदेखि एकलाखसम्म आम्दानी हुने उनीहरुको अनुमान छ । ‘साथीहरुले कमाइरहेका छन्, उनीहरुलाई देखेर नै हामीपनि भाषा सिकीरहेका हौं ।’ अधिकारीले भने,‘मौका आएपछि हामी इजरायलका लागि आवेदन गर्नेछौं ।’
श्रम सम्झौता अनुसार इजरायल सरकारले केयरगिभरका लागि नेपाली महिलाको माग बढाएपछि हिब्रु सिक्ने महिलाहरुको संख्या ह्वात्तै बढेको थियो । काठमाडौं लगायतका ठाउँमा खुलेका भाषा कक्षाहरुमा महिलाहरुको संख्या उल्लेख्य हुने गरेको थियो । तर, अहिले महिलासँगै पुरुषका लागिपनि इजरायल सरकारले श्रम स्वीकृति दिनथालेपछि इजरायल छिर्ने पुरुषहरु बढ्न थालेका छन् । ‘जसरी खाडीमा महिलाको संख्या बढ्न थालेको छ, त्यसरी नै आएका कोटामा पुरुषहरु इजरायल जाने क्रमपनि बढेको छ ।’ वैदेशिक रोजगार विभागका एक अधिकारीले भने,‘तर, पुरुषभन्दा महिलाकै लागि अहिले अवसर ज्यादा छ ।’
इजरायलका आश्रम र घरहरुमा नेपाली महिलाहरु घरेलु कामदारका रुपमा कार्यरत छन् । ०६५ सालयतामात्र श्रम स्वीकृति लिएर झण्डै तीन हजार महिला घरेलु कामदारका लागि इजरायल पुगेका छन् । वैदेशिक रोजगार विभागका अनुसार महिलाको तुलनामा पुरुषको संख्या आधामात्र छ । श्रमस्वीकृतिको तथ्याङ्क अनुसार एक हजार पाँच सय ५७ पुरुष श्रम स्वीकृति लिएर इजरायल छिरेका छन् । विभागका अनुसार आर्थिक वर्ष ०६५÷६६ मा एक हजार दुई सय ५१ पुरुष र दुई हजार एक सय २७ महिला इजरायल पुगेका थिए । ०६६÷६७ मा ८२ पुरुष र दुई सय ३४ महिला पुगेका थिए भने ०६७÷६८ मा एक सय २२ पुरुष र एक सय ५१ म्हिलामात्र रोजगारीका लागि श्रमस्वीकृति सहित इजरायल पुगेका थिए । गत आर्थिक वर्ष ०६८÷०६९ मा एक सय दुई पुूरुष तथा चार सय ७२ महिला इजरायल पुगेका छन् । ‘इजरायलमा कामदारको माग हुने गरेको छ । तर, त्यो निश्चित कोटामा मात्र आउने भएका कारण अन्य मुलुकको तुलनामा कमैमात्र हुने गरेको छ ।’ विभागका अधिकारी भन्छन्,‘खाडी मुलुकको मागजस्तो आउने गरेको छैन तर श्रमस्वीकृतिमा पुगेकाहरुले राम्रोसँग काम गरिरहेका छन् ।’
त्यसो त भारतीय राहदानीको प्रयोगमा दलालहरुले विभिन्न मार्गबाट नेपाली महिलाहरुलाई इजरायल पु¥याउने गरेका तथ्यहरुपनि सार्वजनिक भएका थिए । विभिन्न गिरोहले भारतको सिक्किम, दार्जीलिङग लगायत ठेगानामा राहदानी बनाएर नेपाली कामदार पठाउने गरेका छन् । यसरी अवैधानिक बाटो हुँदै म्यानपावर व्यावसायी र दलालहरुले मोटो रकम लिएर नेपालीलाई इजरायल पठाउने गरेका छन् । त्यसरी काममा गएका निक्कै महिलाहरु अहिलेपनि इजरायलमा कार्यरत रहेका छन् । ‘नेपाली कामदारलाई तालिम विना नै पठाएको भन्दै इजरायल सरकारले कमैमत्र जनशक्ति उठाउने गरेको थियो । अहिले तालिम दिने व्यवस्था भएपछि माग बढाउँछ भन्ने आश्वासन पाएका छौं ।’ वैदेशिक रोजगार विभाग अधिकारी भन्छन्,‘यस विषयमा इजरायल सरकारसँग अनुरोध पनि भइरहेको छ ।’

काममा जानेलाई टिप्स

–केही सीप सिकेर, आफूले गर्ने, गर्न सक्ने र जान्ने कामका वारेमा बुझेरमात्र वैदेशिक रोजगारीका लागि जाने तयारी गर्नुहोला । पाउने तलवका वारेमा राम्रोसँग जानकारी लिएरमात्र रोजगारीका लागि तयार हुनुपर्दछ ।

–लाग्ने खर्च, प्राप्त हुने आम्दानीकाबारेमा तुलनागरि लाभ हुने काममा मात्र जानु उपयुक्त हुन्छ । अन्यथा विदेशमा दुख पाइन्छ ।
– वैदेशिक रोजगारीका लागि घरपरिवारको सल्लाह पनि आवश्यक हुन्छ । सल्लाहविना गरेको काम सफल नहुने भएकाले परामर्श गरी सहमतिमा मात्र जानुपर्दछ ।
–बैदेशिक रोजगार बिभागवाट श्रम स्वीकृति लिएरमात्र बैदेशिक रोजगारमा जानुपर्दछ । बैदेशिक रोजगारमा जाँदा दुर्घटनामा परी मृत्यू वा अंगभंग हुन सक्दछ । विमा गर्दा कामदारलाई र परिवारलाई आथिर्क सहयोग प्राप्त हुने भएकाले विमा अनिवार्य गर्नुहोला ।
–बैदेशिक रोजगारमा जाँदा विस्वासिलो र भरपर्दो मेनपावर कम्पनी माफर्त जानुपर्छ । व्यवसायिक वा भिजिट (पर्यटक) भिसामा जानु हुदैन । जानी–जानी गलत कागजात बनाई जानु हुँदैन ।
–वैदेशिक रोजगारमा जाँदा शारिरीकरुपमा मात्र तयार भएर हुँदैन । स्वास्थ्यमा समस्या नभएर जानेभन्दापनि सल्लाहअनुसार मानसिक रुपमा तयार भएरमात्र रोजगारीका लागि जानुपर्दछ ।

–बैदेशिक रोजगारमा जानका लागि पैसा बुझाएपछि व्यहोरा खुलाई भरपाई लिनु पर्दछ । कति खर्च लाग्छ राम्ररी बुझनुपर्छ । कुनै एजेन्ट वा कम्पनीले भरपाई दिन आनाकानी गरेमा ठगिकै नियत भएको बुझ्नुपर्छ । तत्काल विभाग वा वैदेशिक रोजगार प्रबद्र्धन बोर्डमा सम्पर्क गरी कानुनी सहयोग लिनुपर्दछ ।
– गैर कानुनी रुपमा भारत वा अन्य मुलुकका विमानस्थलबाट जाने प्रस्ताव मान्नु हुँदैन । स्वदेशी विमानस्थलवाटमात्र जानु पर्दछ । अन्य छिमेकी देशको बाटो गरेर जाँदा बेचिने वा ठगिने खतरा ज्यादा हुन्छ ।
–आफू जाने देशको भौगोलिक स्थिति, हावापानी रहन, सहन, धर्म, कानून, काम गर्ने वातावरण आदि वारेमा सामान्य जानकारी लिनुपर्छ । यसका लागि विभाग वा अन्य सरकारी निकायले दिने तालिम लिनु अनिवार्य हुन्छ ।
–बैदेशिक रोजगारमा जाँदा आवश्यक सवै कागजातहरुको एक एक प्रति आफू र परिवारको साथमा राख्नुपर्छ । ताकी भोली समस्या पर्दा त्यसलाई सहज रुपमा निकाल्न सकियोस ।
–बैदेशिक रोजगारको क्रममा ठगिमा परे बैदेशिक रोजगार बिभागमा उजुरी गर्नुपर्दछ । विदेशमा सम्बन्धित मुलुकमा रहेको नेपाली दुतावासमा उजुरी दिनुपर्दछ ।
–बैदेशिक रोजगार सम्वन्धी कुनै पनि सूचना जानकारीका वारेमा बुझ्नु परेमा बैदेशिक रोजगार बिभाग र बैदेशिक रोजगार प्रवद्र्धन वोर्डको सचिवालयको ठेगानामा सम्पर्क गरी बुझ्न सकिन्छ । त्यस्तै सरकारले निषेध गरेको देशमा रोजगारीका लागि जान हुँदैन । ठगिसहित समस्यामा परिन्छ ।

Sunday, October 7, 2012

सहानुभुतिको कारण के हो ?



विनोद 
तथ्य १, रौतहटको गौरमा सुरक्षासम्बन्धि कार्यक्रममा आएका सत्ता गठबन्धन दल सद्भावना पार्टीका रौतहट अध्यक्षले भारतीय गाडीको प्रयोग गरे । उक्त गाडीमा नम्बर प्लेट थिएन भने नेपालमा प्रयोग गर्ने प्राधिकारसम्बन्धि कुनै कानुनी प्रावधानपनि अपनाइएको थिएन । बरु, कानुनलाई चुनौति दिदै आफ्नो गाडीको नम्बर प्लेटमा पद र पार्टीको नाम लेखेका थिए । नेपालका चर्चित प्रहरी वरिष्ठ उपरिक्षक रमेश खरेल सहभागी कार्यक्रममा जाँदा उनले यस्तो गाडीको प्रयोग गरेका थिए । रौतहट प्रहरी प्रमुख ठूले राइले उनको गाडीमा पद र पार्टीको नामबारे अनविज्ञता प्रकट गरे, जवकी कार्यक्रम स्थलमा पार्किङ् गरिएको गाडी सवैको ध्यानाकर्षणको विषय बनेको थियो । 

तथ्य २, सीमावार्ती जिल्लाहरुमा आधाभन्दा ज्यादा भारतीय गाडीहरु दौडिरहेका हुन्छन् । खासगरी, सुनसरी, सप्तरी र सिरहाका क्षेत्रमा भारतीय नम्बरप्लेटका गाडी हरदिन नेपाली नम्बरप्लेट भएका गाडीको दरभन्दा ज्यादा चलाइन्छ । तिनीहरुमा अस्थायी नम्बरप्लेटपनि राखिएको हुँदैन । प्रशासनले पनि त्यस्ता गाडीहरुको नेपाली सडकमा कुद्ने आधिकारीकताबारेमा खोजी गरेको छैन । 

तथ्य ३, सशस्त्र प्रहरी सीमा सुरक्षा बलका वेसक्याम्पहरुमा ७० प्रतिशतभन्दा ज्यादा भारतीय नम्बरप्लेटका गाडीहरु छन् । प्रहरीहरुले उक्त गाडीको प्रयोग गर्दै आइरहेका छन् । खासगरी तराइका सीमा क्षेत्रमा भएका बेसक्याम्पमा यस्ता गाडीहरु चलाउने गरिएको छ । नम्बरप्लेटको ठाउँमा (एपीएफ) लेखेर चलाउने गरेको लामो समय भएको छ तर सरकारले ध्यान दिएको अवस्था छैन । प्रशासनले छुने विषयभित्रपनि पर्दैन ।  

तथ्य ४, नेकपा–माओवादीले अवैधानिक रुपमा आउने भारतीय सवारी साधनलाई नेपाली सडकमा प्रवेश रोक लगाउने निर्णय गरेको छ । उसले भारतीय नम्बरप्लेटका सवारीसाधन कानुनी प्रकृयाविना नै नेपाली भुमीमा चल्नु गैरकानुनी भएको भन्दै कार्यकर्तालाई रोक्न निर्देशन दियो । प्रत्येक जिल्लामा सर्कुलरमात्र जारी गरेन, राष्ट्रिय मिडियाबाट आह्वान पनि गरेको थियो । 

तथ्य ५, नेकपा–माओवादीको निर्णय विरोधमा उत्रिने मधेसवादी दलहरुको घोषणा । भारत–मधेस सम्बन्ध विग्रिने भएकाले तत्काल माओवादीलाई उसले गरेका निर्णयहरु फिर्ता गर्नका लागि आह्वान । अन्यथा प्रतिकारमा उत्रिने चेतावनी ।

तथ्य ६, प्रधानमन्त्री डा. बाबुराम भट्टराइद्वारा नेकपा–माओवादीले गरेका आन्दोलनका कार्यक्रमहरुको प्रतिरोध गर्न प्रशासनिक निकाय र प्रहरीलाई निर्देशन । यस्तै, यस्तै । 

यी छवटा उदाहरीणय तथ्यहरुबाट प्रष्ट छ नेकपा–माओवादीले उठाएको मुद्दा गलत होइन यद्यपि एक राजनीतिक पार्टीको निर्णयलाई कुटनीतिक सम्बन्ध विग्रनसक्नेगरीको हर्कतहरु गर्ने अधिकार राज्यले स्वीकार्न सक्तैन । तर, राज्य कहाँ छ ? अनि, मधेसवादी पार्टीहरुको नियत के हो ? यी प्रश्नहरुपनि गहन रुपमा विश्लेषण गर्नैपर्ने अवस्था छ । 
यो सरकार कतिसम्म नालायक भयो भने क्याविनेटमन्त्रीले मञ्च, सडक र पार्टीको आधिकारीक दस्ताबेजबाट नेकपा–माओवादीको आन्दोलनले मधेस–भारत सम्बन्ध विग्रियोे भन्ने स्टेटमेन्ट जारी गरिरहेका छन्, तिनलाई कारवाही त पर जाओस प्रष्टीकरणसम्म सोधेको छैन । माओवादी आन्दोलनले कुटनीतिक समस्या निम्त्याएको हो भने त्यो नेपाल–भारत सम्बन्धमा पर्छ । मधेस र भारतको स्वतन्त्र सम्बन्धको कुरा गर्ने अधिकार मधेसी नेताका नाममा क्याविनेटमा हुकिर्एका भ्रष्टहरुलाई कसले दियो ? बाबुरामको क्याविनेटले कुटनीतिक, आथिर्क, सामाजिक र राजनीतिक रुपमा सहादत पाइसकेको र पूर्णरुपमा गैरन्यायिक, गैरराजनीतिक र गैरमर्यादामा क्याविनेटलाई हुर्काइरहेको छ ।
एक भाषको भरमा शरतसिंह भण्डारीलाई क्याविनेटमा टिक्न नदिने प्रधानमन्त्री बाबुराम आज किन फरक झुण्डहरुको उग्रतालाई मौन रुपमा स्वीकार गरिरहेका छन् ? बाबुरामको नियतमाथि नै प्रश्न गर्ने की नगर्ने ?
राजनीतिको अर्थ राज्यको नीति बनाउने, त्यसमा चल्ने नै हो । तर, मधेसका नाममा भइरहेको राजनीतिले राज्यको नीतिलाई मिचेर मधेस र भारतीय सम्बन्धको विषयलाई उठान गरेको छ । उसले अहिले जारी गरेका स्टेटमेन्टहरुले भारतसँग स्वतन्त्र सम्बन्धको व्याख्या गरिरहेको छ । तर, राज्यले यसलाई गम्भिरताका साथ लिएको छैन । मधेस होस वा तराई, हिमाल होस वा पहाड यी विषयमा केही विवाद र मतभेद छन् भने त्यो आन्तरिक मामलाको विषय हो । अनि, त्यसलाई राज्यले सम्बोधन गर्ने हो । तर विदेशी मामलासँग जोडिएको विषयलाई पनि कुटनीतिक ढाँचामा रक्षागर्ने जिम्मेवारीपनि सरकारको हुन्छ । तर, किन ? स्वतन्त्र सम्बन्धको व्याख्या गर्ने अधिकार जमाउने दुश्प्रयास भइरहेको छ त ? नागरिकतहबाट सरकारका नाममा उठ्नै पर्ने प्रश्न हो । 
मधेसवादीहरुको बक्तव्यवाजीले भारतीय एजेन्टका रुपमा मधेसी राजनीति हुर्किरहेको भन्ने आभाष दिइरहेको छ । ओठे तर्कहरु कागजी र व्यवाहारिक रुपमा पनि पुष्टि हुने अनेक उदाहरणहरु देखिएका छन् । विरगञ्जमा रहेका भारतीय महावाणिज्यदुत एसडी मेहताले मधेसी र केही मधेसीमुलका एमाले नेतालाई बोलाएर मधेस टुक्रिदा मुटु छिया–छिया भएको भन्ने भनाइको पनि मधेसवादीले विरोध गरेका थिएनन् । यसले पनि मधेसीदलहरु राष्ट्रियतालाई लोप्पा खुवाएर भारतीयप्रति साहानुभुत किन छन् ? यो पनि प्रश्न बनेको छ । मेहताको उक्त अभिव्यक्तिले निम्त्याएको राष्ट्रियतामाथिको प्रश्नबारे राज्यतहबाट छलफल भएको थियो । तीन मुख्य राजनीतिक दलका नेताले राजदुतलाई बोलाएर कारवाहीका लागि अपिल गरेका थिए । तर, त्योभन्दा कम नहुनेगरि मधेसीले गरिरहेको अभिव्यक्ति, वक्तव्यवाजीबारे राज्य, राजनीतिक दलहरु किन उदार देखिएका छन्, खासगरी सत्तानेतृत्वमा रहेको एकीकृत माओवादी र प्रधानमन्त्री बाबुराम ।   
आन्तरिक राजनीतिमा भारतको हस्तक्षेपकारी भुमिका अहिलेपनि चलिरहेको छ । तर, राजनीतिक संयन्त्रमा हुने हस्तक्षेप र राज्यको सतहसम्म हुने हस्तक्षेप फरक किसीमका हुन् । राज्यको सीमादेखि नेपाली भुमिमा भारतका अनेक प्रकारका उदण्डताहरुलाई न्युनिकरण गर्नेतर्फ राज्यको ध्यान किन खिचिन नसकेको हो । बरु, त्यस्ता हस्तक्षेप र गैरकानुनी कामलाई निरन्तरता दिने ठाउँ बनाउनका लागि राजनीतिक चरित्रहिन वक्तव्यवाजी जारी रहेको छ । खुलासीमाको अर्थ कानुन मिचेर राजधानी छिर्ने व्यवस्था मिलाउनु होइन । कानुनी दायरामा रहेर दुई मुलुकको सहज सम्बन्ध कायम राख्नुचाँही कुटनीतिक मर्यादा हुन्छ । त्यो राज्यतहमामात्र नभएर नागरिक तहमा पनि कायम रहनुपर्छ भन्ने नै हो ।
अन्नतः सवै राजनीतिक दलहरुले कुटनीतिक मर्यादामा रहेर आफ्ना अभिव्यक्ति र राजनीतिक कार्यक्रमलाई कायम राख्नु नै मुलुकको हितका लागि जायज हुनेछ । राज्यले गैरजिम्मेवारी छाडेर आफ्नो दायित्वलाई प्रभावकारी बनाउनुपर्दछ । यसर्थपनि भारतीय हस्तक्षेप्रति सहानुभुति पालाउने कारण बाबुराम सरकार र मधेसी दलहरुले दिन सकुन । अन्यथा, राजनीतिक, सामाजिक र कुटनीतिक विषयको अपव्यख्या, बेइज्जत हुनेगरि राजनीतिक कर्महरु नबढुन् ।  



Wednesday, October 3, 2012

अवसरको सुनखानी

डी. विनोद
पढ्ने र गर्नेहरुका लागि जापान गतिलो गन्तव्य बन्दै गइरहेको छ । प्राविधिक शिक्षासँगै रोजगारीको अवसरका लागि युवापुस्ता जापानतिर आकर्षित भएका छन् । मध्यमवर्गीय परिवारका युवाजनशक्ति प्राविधिक शिक्षा सहित रोजगारीको पनि अवसर पाइने भएकाले जापान छिर्नका लागि प्रयत्नरत छन् । त्यसका लागि युवाले जापानिज भाषाको अध्ययन गरि आफ्नो उच्च शिक्षासँगै रोजगारीको पहल गरिरहेका छन् ।

काठमाडौंका अनिल क्षत्री भन्छन्–‘जापानमा प्राविधिक शिक्षाको राम्रो ज्ञान दिइन्छ । इन्जिनियरिङ् सम्बन्धि शिक्षासँगै रोजगारीको पनि सम्भावना रहेका कारण जापान जाने तयारीमा छु ।’ क्षेत्री अहिले जापानिज भाषा सिकीरहेका छन् । जापान जानका लागि नेपाली उच्च शिक्षामा ल्याएको नम्बरभन्दापनि जापानिज भाषाको दख्खल नै प्रभावकारी हुने गरेको छ । जसले राम्रोसँग जापानीज भाषा सिकेर परिक्षामा राम्रो गर्दछन् उनीहरुको जापान छिर्ने सपना लगभग पुरा हुन्छ ।

संघर्ष, मिहेनत र लगनशिलतालाई भाषा सिकाउनेक्रममै महत्वका साथ जानकारी गराइन्छ । जापानीज ‘कल्चर’बारे राम्रो जानकारी राख्नेहरुको सम्मान हुने गरेको छ । रहनसहनसँगै जापानीज कल्चरलाईपनि बुझ्नु नेपाली विद्यार्थीको लागि आवश्यकीय हुने गरेको छ । ‘भाषा र कल्चरसम्बन्धि जानकारी राम्रोसँग लिएर जापान छिरे रोजगारीका लागि पनि समस्या हुँदैन ।’ वागबजारमा रहेको आकाशी जापानीज भाषा स्कूलका ओमहरि प्रजापति भन्छन्,‘मिहेनत, संस्कृतिको सम्मान गर्ने र सामान्य बोलीचालीका लागि जापानीज भाषामा दख्खल राख्नेका लागि त्यहाँ कामको पनि समस्या हुँदैन ।’

युवाहरु व्यस्त जापानी जीवनशैलीमा आफूलाई ढाल्नपनि लागि परेका छन् । स्टुडेन्ट, बिजनेस र वकिर्ङ भिसामा धेरैको संख्यामा नेपाली युवा जापान लाई गन्तव्य बनाउने लर्को लामै छ । ‘जापानमा बसेका नेपाली युवाको व्यावसाय, उच्च शैलीको काम र मिहेन तगर्ने शैलीबाट प्रभावित भएर जापान जाने तयारीमा लागेको छु ।’ विराटनगरका विशाल शर्मा भन्छन्,‘त्यसका लागि राम्रो जापानीज भाषा स्कूलको खोजीमा छु ।’ अधिकांश युवा टोकियो लगायतका मुख्य सहरमा व्यापार व्यवसायमै आफूलाई स्थापित गराउने धुनमा लागेका दृष्टान्तहरुले पनि जापानप्रतिको मोह युवापुस्तामा पलाएको छ । ‘जापान लक्ष्य बनाएर आउने युवा सफल भएको’ जापानमा कार्यरत युवा प्रविण अधिकारीले बताए ।

स्टुडेन्ड भिसामा जापान पुग्नेहरुलाई केही समय कठिन परिश्रम गर्नुपर्ने हुन्छ । तर, अध्ययन सकेपछि रोजगारी, व्यापार व्यावसायको मनग्गे अवसर रहेका कारण नेपाली युवाहरु सफल बन्दै गइरहेका छन् । खेलाडी, कलाकार, पत्रकारदेखि विभिन्न पेसाकर्मी युवासँगै सर्वसाधारणहरु अहिलेपनि जापानका विभिन्न सहरमा आफ्नै पेसा व्यावसायमा व्यस्त छन् । युवापुस्ताहरुका लागि जापानमा कम अवसर छैन भन्ने उदाहरण नेपालका चचिर्त फुटबलर वसन्त गौचन, वसन्त थापा, संगीत शाक्यले जापानमा श्रम गर्नु पनि हो । सेलिब्रिटीदेखि सर्वसाधारणसम्मको आकर्षणको केन्द्र बनेको जापान नेपाली युवादम्पत्तीकै लागिपनि फाइदामुलक भएको छ । ‘धेरै युवापुस्ता जोडी सहित कार्यरत छन् । रेष्टुरेन्ट, क्याफे, गाडी कम्पनीमा काम मनग्गे पाइने गरेको छ ।’ जापानका कार्यरत जीवन कार्की भन्छन्,‘भाषा सिकेपछि सामान्य कामका लागि समस्या हुँदैन । अध्ययन पुरा गरेपछि राम्रै आम्दानीका लागि पनि समस्या हुँदैन ।’ जापानीजहरु नेपाली संस्कृति र कलाप्रति आकर्षित भएकै कारणपनि नेपालीहरुले जापानमा आफूलाई सुरक्षितमात्र ठानेका छैनन् भाग्यमानीपनि ठान्ने गरेका छन् । त्यसैलेपनि जापान जाने युवाहरुको संख्या बढेको बताइन्छ । त्यसो त नेपाली राजदुताबासको सक्रियतामा जापानको औधोगिक शहर नागोयामा नेपाली गाउँको प्रस्ताव भइसकेको छ । नेपालीको संख्या बढ्दै गइरहेको उक्त सहरमा जापानमा कार्यरत नेपालीहरु, अध्ययनमा रहेका विद्यार्थीहरुका लागि सहयोगका लागि पनि यस्तो प्रस्ताव गरिएको थियो । ‘त्यहाँको कल्चर र सहयोगी भावनाले हाम्रो आशालाई अझ जगाएका कारण जापान जाने लक्ष्य बनाएका हौं ।’ जापानका लागि भाषाको तयारीकक्षा गरिरहेका भक्तपुरका हरिप्रसाद श्रेष्ठले भने,‘पढ्ने र श्रम गर्ने नै लक्ष्य हो ।’

जापानमा हालसम्म कम्तिमा १० हजार युवा शिक्षा र रोजगारीमा अभ्यस्त रहेको बताइन्छ । जापानमा रहेका नेपालीको आधिकारिक तथ्याङ्क जारी नभएपनि कम्तिमा १५ हजार नेपालीले जापानमा आफ्नो अध्ययनसहित श्रम खर्च गरिरहेको अनुमान गरिएको छ । भाषा राम्रोसँग सिकेर श्रम गर्न तत्पर रहे जापान जान इच्छुकका लागि कुनै समस्या नहुने आकाशी जापानिज स्कूलकी प्रिन्सिपल योशी इमीले बताइन् । उनी भन्छिन्–‘भाषाको राम्रो ज्ञान र ‘कन्भरर्सेसन’ मा राम्रो भए जापानमा बसेर पार्ट टाइम काम गर्दै पढ्न सकिन्छ भने पढाईपछि पनि रोजगारीका लागि समस्या हुँदैन ।’

मिहेनतीलाई जापानले माया गर्छ

ताकुनोसुके नोजाकी
(टोक्यो म्यानेजर)
युनिटास जापानीज स्कूल


जापानमा विभिन्न विषय अध्ययन गराउने युनिटास (नेपालीमा सहकार्य) स्कूलले तेइक्यो विश्वविद्यालयको शैक्षिक कार्यक्रमहरु सञ्चालन गर्दै आएको छ । नेपाल लगायतका एसीयाका विभिन्न मुलुकका विद्यार्थीहरुलाई प्राविधिक तथा विज्ञासम्बन्धि अध्ययन गराउँदै आएको स्कूलका टोकियो म्यानेजर ताकुनोसुके नोजाकी गएको साता नेपाल आएका थिए । नेपाली विद्यार्थी छनौटका लागि नेपाल आएका नोजाकीसँग शुक्रबारले कुरा गरेको थियो । 

–खासगरी एसियाका निक्कै देशका विद्यार्थीहरुले जापानलाई आफ्नो अध्ययनको गन्तव्य बनाउने गरेका छन् । अध्ययनसकेपछि त्यहिँ काम गर्ने र त्यहाँ सिकेको कुराहरु आफ्ना मुलुकमा व्यावसायीक रुपमा सञ्चालन गरेको पनि हामीले पाएका छौं । तर, जापानमा रोजगारीका लागि कुनै समस्या छैन । लगनशील भएर काम गर्ने, अध्ययनलाई प्रभावकारी रुपमा पुरा गर्ने विद्यार्थीका लागि कुनै समस्या छैन । तर, भाषाबारे कमजोर विद्यार्थीका लागि केही समय समस्या हुने गर्दछ । केही महिनामा उ जापानीज भाषामा संवाद गर्नसक्ने भएपछि कुनै समस्या हुँदैन ।
मुलुक छाडेर जाने नेपाली युवाका लागि प्राविधिक शिक्षा र जापानीज भाषाबारेको ज्ञान प्रमुख हुने गरेको छ । हामीले हाम्रो स्कूलमा पढ्न आउनेका लागि पार्ट टाइम जवको व्यवस्थ ागर्नलाई भरपूर सहयोग गर्छौं । हाम्रो सहयोगबाहेक काममा टिक्ने, गर्नेनगर्नेचाँही काम गर्नेको क्षमतामा भरपर्ने कुरा हो । नेपाली विद्यार्थीहरु जापान छिरेपछि उनीहरुले पहिलो रेष्टुरेन्ट लगायतका क्षेत्रमा बढि काम पाउँछन् । किनभने उनीहरु जापानिज भाषामा त्यति धेरै दख्खल हुँदैनन् र कम संवाद गर्नुपर्ने ठाउँमा काम गर्न बाध्य हुन्छन् । तर, एक वर्षपछि उनीहरुलाई जुनसुकै ठाउँमा कामका लागि समस्या हुँदैन ।
हामी नेपाली लगायतका अन्य मुलुकका विद्यार्थीहरुलाई विशेषगरी चिकित्सा विज्ञानको अध्यापन गराउँछौं । तर, नेपालीहरुले त्यसमा भन्दापनि बढि ट्राभल्स एण्ड टुरिजम र होटल म्यानेजमेन्टमा आफुलाई अव्वल देखाउने गरेका कारण नेपालीको संख्या त्यस विषयमा बढि हुने गरेको छ । जसका कारण उनीहरुले जापानका विभिन्न ठाउँमा रहेका राम्रा होटलहरुमा काम गरिरहेका छन् भने मुलुक फर्किएर पनि टुरिजम सम्बन्धि व्यवावसाय गरिरहेका छन् ।
विजनेश स्टडी गरेर काम गर्ने, टेक्निकल विषय अध्ययन गरेर चलेका मोटरकम्पनीमा काम गर्ने नेपाली विद्यार्थीहरुपनि हामीले उत्पादन गर्ने क्रम बढिरहेको छ । हामीले यसवर्ष पासआउट गरेका नेपाली विद्यार्थीहरु धेरैजना होटल म्यानेजमेन्टमा रहेका छन् । उनीहरुले जापान र अन्य मुलुकमा पनि सोही क्षेत्रमा रोजगारी पाउने निश्चित छ ।
नेपालमा सोचेजस्तो जानासाथ रोजगारीका पूर्ण ग्यारेन्टि हुँदैन । रोजगारीको ग्यारेण्टिका लागि कामदारले विश्वास जित्न सक्नुपर्छ । जापानमा रहेका विभिन्न क्षेत्रमा पहिलो केही घन्टामात्र रोजगारी पाइन्छ । सोही ठाउँमा विश्वास जित्दै गएमात्र निरन्तर रोजगारी पाउने अवसर हुनसक्छ । केही घन्टाबाट सुरु गरेर कामदार वा विद्यार्थीको मिहेनत हेरेर उसका लागि समय बढाउँदै लग्ने गरिन्छ । जापानीज भाषा जति जान्यो उसका लागि त्यति नै अवसर हुन्छ । अभिभावदन र संस्कार भएको व्यक्तिले चाँडो विश्वास जित्न सक्छ । नेपाली र जापानीज कल्चर हावापानी फरक हुने भएकाले पनि छ महिना सोचेजस्तो सहज हुँदैन ।

Tuesday, October 2, 2012

बालविवाह : गैरअनिवार्यताकौ निरन्तरता



विनोद ढकाल
रौतहटको चन्द्रनिगाहपुर–२ मा डोम समुदायका एक व्यक्तिले आफ्नी चार बर्षकी छोरीको विवाह यसै वर्षै वर्ष गरेका छन् । बाराको पथलैया घर भएका उपेन्द्र मल्लिकका चार बर्षकै छोरा मुकेश मल्लिकसंग चार बर्षिया वालिका पुनम मल्लिको विवाह भएको हो । विवाहका लागि छोरीका बुवा मङ्र मल्लिकले केटा पक्षलाइ १० हजार नगद र एक साइकल दाइजो दिने सम्झौता गरेका थिए ।
५० भन्दा बढी जन्ति लिएर व्यान्डवाजा सहित आएका चार बर्षिय बेहुला मुकेश मल्लिको विवाहका लागि चन्द्रनिगाहपुरमा बस रिर्जव गरेर आएका थिए । राति अवेर जन्ति आइपुग्दा बेहुली पुनम भने आमाको काखमा निदाइरहेकी थिइन । जन्ति आए पछि आमाले पुनमलाई उठाएर सिगारपटार गरी बेहुली बनाएकी थिइन् ।
एक बर्ष अघि पनि सोहि गाउमा सात बर्षिया बालिकाको बिवाह भएको थियो । तराइमा वसोवास गर्दै आएका डोम, चमार, मुसहर समुदायमा छोराछोरीको सानै उमेरमा विवाह गरीदिने चलन अहिलेपनि कायमै छ । अशिक्षा तथा चेतनाको कमीका कारण तराईका दलित लगायतका समुदायमा अहिलेपनि बालविवाह न्युनिकरण हुन सकेको छैन ।
मुलुकी ऐन विवाहवारी महलमा १० बर्षभन्दा कम उमेरका वालवालिका लाई विवाह गरीदिए ६ महिना देखि ३ महिना सम्म कैद र १० हजार जरिवानाको व्यवस्था छ । १८ वर्षभन्दा कम उमेरका किशोरकिशोरीको विवाह गर्न नहुने अन्तर्राष्ट्रिय मान्यतापनि छ ।  यो त एउटा उदाहरण मात्र हो रौतहटकोे बिभिन्न गासिवमा यस बर्ष विवाहको लगनसँगै धेरै वालवालिकाहरुको विवाह भएको थियो ।
जिल्लाको ग्रामिण भेगमा वालबिवाह रोकिएको छैन । बाल विवाह बढ्नु विडम्बना भएको स्थानिय जनज्योती उच्च माबिका शिक्षक यादव पुरी बताउँछन् । रौतहटस्थित रेडियो नुनथरका समाचार संयोजक फणी महत भन्छन्–‘ग्रामीण बस्तीका दलित समुदायमा अहिले वालविवाह न्युनिकरण हुन सकेको छैन । परम्पराको नाममा पनि यसरी बालविवाह भइरहेको छ ।’
पर्सा उदयपुरघुर्मीकी शायमा खातुनको विवाह हुँदा उनी १४ वर्षकी थिइन् । परिवारमा उनी दुई वर्षकै हुँदा विवाहको दुलहा तयार गरिएको थियो । जसका कारण १४ वर्षको उमेरमा उनले विवाह गर्नुपरेको थियो । बाबुआमाको मित्रताको स्वार्थमा आतुनले सानै उमेरमा विवाह गर्नुप¥यो । जेठी बुहारी भएकीले घरको सबै काम उनको जिम्मेवारीमा पर्छ । खाना बनाउने, खुवाउने, जुठा भाँडा, लत्ताकपडाको सफाई र बच्चाको हेरचाह उनैले गर्नुपर्छ । उनका उमेरका कतिपय साथीहरु पढिरहेका, खेलिरहेका र बाबुआमाको माया–ममता पाइरहेका छन् ।
पर्साको कुल जनसङख्यामा करिब १५ प्रतिशत रहेका पर्साका अधिकांश इस्लाम धर्मावलम्बीहरु छोरीलाई सानैमा गौना र विवाह गरिदिन्छन् । मुस्लिम बालिकाहरुले पढ्ने उमेरमै बुर्का ढेर सासू–ससुरा, नन्द–आमाजू, देवर–जेठाजु, श्रीमान, नातेदारहरुसँग गर्नुपर्ने व्यवहारको सामना गर्नुपर्छ । उनीहरु समय नपुगी आमा बनीरहेका पनि छन् । १४ वर्षकै उमेरमा बच्चा जन्माउँदा उनलाई केही भएन । अधिकारकर्मीहरु मुस्लिम महिलाका लागि वालविवाह ठूलो यातनाजस्तो भएको बताउँछन् ।
यस्तै, पर्सा सखुवा प्रसौनीमा प्रहरीले विवाहमण्डपमै हस्तक्षेप गरेर बालविवाह रोकेको थियो । प्रसौनी–७ थापा टाँडी टोलका १६ बर्षीय हरिकृष्ण बैठा र शिवबर्वा–३ की १३ बर्र्षीया बालिकाको विवाहमा प्रहरीले हस्तक्षेप गरेको थियो ।
सखुवा प्रसौनी–६ मा रहेको मोतीनमाई मन्दिरमा गरिएको वैवाहिक कार्यक्रममा पुगेको प्रहरीले विवाहका लागि उमेर नपुगेको भन्दै केटाकेटी दुवैलाई विवाहमण्डपबाटै उठाइएको थियो । बालविवाह भइरहेको सूचना पाएपछि इलाका प्रहरी कार्यालय एकटाङगाबाट तत्कालिन सई कृष्णप्रसाद लामिछानेको नेतृत्वमा टोली मण्डपमा पुगेको थियो । विवाहमा ८० जना उपस्थित थिए ।
प्रहरीले सम्झाएपछि विवाहमा राजी भएका परिवारले उनीहरुको उमेर पुगेपछिमात्र विवाह गराउन राजी भए । ‘दाइजोका कारण पनि कलिलैमा विवाह हुने गरेको छ,’ अधिकारकर्मीहरु भन्छन्,‘ अभिभावक पनि थोरै दाइजो दिएर सानै उमेरमा छोरीको विवाह गराउने काममा लागेको पाइएको छ ।’ पर्सामामात्र एक वर्षमा ३० वालविवाह हुने गरेको तथ्याङ्क राखिएको छ ।
त्यसैगरी, सुर्खेत रजेनाकी १३ वर्षीया अनुराधा नेपाली को २०६५ चैत २ गते गुमीका धनबहादुर मिजारसँग बिहे भयो । तर, उनीहरुको दाम्पत्य जीवन धेरै दिन चलेन । विवाहको पाँच दिनपछि जिल्ला प्रहरी कार्यालय पुगेका धनबहादुर र अनुराधाले एउटा कागजमा सही गरे, जसमा लेखिएको थियो–‘हामी दुवैजना विवाह गर्ने उमेर नपुगुन्जेलसम्म अलग–अलग बस्न मञ्जुर छौं ।’
पन्ध्र वर्षको उमेरमा गाउँकै एक युवकसँग विवाह गरेकी लेखपराजुलकी रामकुमारी पछभैया (नाम परिवर्तन) को विवाह पनि एक साता टिकेन । स्थानीय गाउँ बाल संरक्षण समितिले बालविवाहविरुद्ध आवाज उठाएपछि उनको जोडी अलग्गिन बाध्य भयो ।
सुर्खेतमा २०६५ सालयता बालविवाह गरेका र गर्ने क्रममा रहेका ४० जोडीलाई आ–अफ्ना घरमा पुनमिर्लन गराउन त्यहाँको वाल समुह सक्रिय भयो । पछिल्लो समय भइसकेका विवाहलाई छुट्याउनुभन्दा हुनै नदिनेतर्फ जोड दिइएको छ । वालविवाह मुक्त गाउँका रुपमा घोषणा गरिएका सुर्खेतमै विभिन्न क्षेत्रमा बाल विवाह पनि भयो । धुमधामसंग विवाह नभएपनि अर्को गाविसमा लगेर बाजागाजा नबजाई, लुकिछिपी वालविवाह हुने गरेको पाइएको हो । जिल्लामा सवैभन्दा पहिलो बालविवाह मुक्त भनिएकोे लेखफर्सा गाविसमा दुई बर्र्षको अवधिमा झण्डै डेढ दर्जन बालविवाह भयो । २०६७ सालमा बालविवाह मुक्त घोषणा गरिएको थियो ।
नेपाली समुदायमा खासगरी परम्परागत ढर्राका कारण बालविवाह बढ्दो छ । अनि, चेतनाको कमीका कारणपनि वालविवाहलाई निरन्तरता दिइने गरिएको छ । अहिले सहरी क्षेत्रमा उमेर नपुगेका किशोरकिशोरीहरुले पनि स्वइच्छाले विवाह गरिरहेका छन् । त्यसको कारणचाँही यौन आकांक्षा र प्रेमसम्बन्धबारेको अपूर्ण जानकारी हो । ‘सेक्स आकर्षणका कारणपनि सहरीक्षेत्रमा उमेर नपुगेका किशोरकिशोरीको विवाह भएको हामीले पाएका छौं, उनीहरुको गर्भ रहेका कतिपय किशोरीहरुपनि आउने गरेका छन् ।’ सेक्सोलोजिष्ट डा. सुवोधकुमार पोखरेलले भने,‘स्कूले किशोरीहरुको संख्या केहीमात्रामा बढेको पाइन्छ ।’
बाल विवाहमा विश्वका दश राष्ट्रमध्ये नेपाल आठौं नम्बरमा छ । विविध कारणले बाल विवाह अहिलेपनि देशका जिल्लाहरुमा कायम छन् । भारत, पािकस्तान बंगलादेशपछि नेपालको सूची कायम छ । नेपाली समाजमा अहिलेपनि वाल विवाह ५५ प्रतिशतले हुने गरेको छ । १८ वर्षमुनिका किसोरकिसोरीको विवाहलाई बालविवाहको सुचीमा राखिएको छ । अहिलेपनि सामाजिक परम्परा, सांस्कृतिक चलन र गरिवि वालविवाहका प्रमूख कारण बनेका छन् । वालविवाहलाई मानवअधिकारको दृष्टिबाट हिंसाका रुपमा पनि परिभाषित गरिएको छ । खासगरी बालविवाहमा वालिकाहरु हिंसापीडित हुने गरेका छन् । बालिकाहरुको विवाह उनीहरुभन्दा दोव्वर उमेर भएका युवाहरुसँग हुने गरेको तथ्याङ्क ठूलो छ । बाध्यता, परम्परा, भावनात्मक ‘व्ल्याकमेल’ र वालिकाको चाहना छनौट गर्ने क्षमता नभएका कारणले वालविवाह बढेकोे समाजशास्त्रीहरुको अनुसन्धानले देखाएको छ ।
यो दवावमुलक हिंसाका रुपमा परिभाषित गरिएको छ र यो गैरअनिवार्यताको निरन्तरता पनि रहिआएको छ । नेपाल सहित भारत, पाकिस्तान, बंगलादेश, गुनियाँ, बुर्किना फासो, अफ्रिकामा ज्यादा हुने गरेका छन् । वालविवाहको ज्यादातर असर कम उमेरका वालिकाहरुमा पर्ने गरेको छ । उनीहरुबाट जन्मलिने बच्चा र स्वास्थ्यमा पनि यसको असर देखिन्छ, सामाजिक असर त भइहाल्यो । यौनकार्यका लागि पनि बालिकाहरुलाई चाँडै विवाहको लागि दवाव पर्ने गरेको पाइएको छ । यसले स्वास्थ्यमा नकारात्मक प्रभाव राख्दछ । बालिकाहरु, मानसिक, शारिरीक र यौनीक रुपमा पनि पूर्ण तयार भइसकेका हुँदैनन् । वालविवाहका कारण हुने समस्याले ११ देखि १३ वर्षसम्मका वालिकाहरुको मृत्यु ज्यादातर हुने गर्दछ । नेपाल लगायत भारतमा पनि यस्तो समस्या समानरुपमा देखिएको छ ।
बालविवाहले स्वास्थ्यमा मात्र नभएर त्यसले हिंसाका विभिन्न चरणहरु पनि निम्त्याउने गरेको छ । दिल्लिमा अध्ययनरत विद्यार्थी अरुण कुमारको खोजका आधारमा भारत तथा नेपालका समस्या उस्तै छन् । वालविवाह भएका घरहरुमा घरेलु हिंसापनि ज्यादा हुने गरेको छ । अपरिपक्व उमेरमै विवाह भएका कारण घरेलु काममा बालिकाहरु अट्नुपर्ने, चाँडो गर्भधारण गर्नुपर्ने हुन्छ । निरक्षर परिवारमा ज्यादातर वालविवाह मौलाएकैले पनि त्यस्ता परिवारमा शारिरीक यातना र अपराधहरु पनि बढिरहेका छन् । कतिपय वालिकाहरु एचआइभी÷एड्सको संक्रमणमा पनि परेका छन् । उनीहरुसँग विवाह गरेका पुरुषहरु पहिले नै यौनकार्यमा विभिन्न ठाउँमा संलग्न रहने गरेका कारण उनीहरुबाट संक्रमण हुने गरेको विभिन्न अध्ययनहरुले देखाएको छ ।
न्युन शिक्षा र उच्च हिंसा, सानै उमेरमा विवाह गर्दा देखिएका प्रमुख कारण मानिएका छन् । अरुण कुमारको अध्ययनका आधारमा नेपाली तराइको समुदाय र भारतीय समुदायमा यस्तो कार्यको न्युनिकरण हुन सकेको छैन । गरिवीपनि बालविवाहको प्रमुख कारण हो । विश्वमा एक करोड बढि बालिका तथा किसोरीहरुको विवाह १८ वर्षपुग्नु अगाडी नै भएको अन्तर्राष्ट्रिय अध्ययनहरुले देखाएका छन् । यो विवाह गर्ने विश्वव्यापी मान्यता विपरित भइरहेको छ । मानव अधिकारको विश्वव्यापी नीति १९४८ अनुसार पूर्ण उमेरपछिमात्र विवाह गर्नुपर्दछ । यस्तो उमेर २० वर्षमाथिको उमेर समुहमा हुनुपर्ने उल्लेख थियो । जसअनुसार नेपाल सरकारले ‘बेहीबारी २० वर्ष पारी’ भन्ने अभियान पनि चलाएको थियो, जुन प्रभावकारी हुन नसकेको ठहर विभिन्न घटनाहरुले अहिलेपनि सावित गरिरहेको छ । सवै प्रकारका महिला हिंसा सम्बन्धि सम्मेलन १९७९ का अनुसार वालविवाहका लागि कानुनी प्रभावकारीता कमजोर भइरहेको छ । सवैको विरोधमा उत्रिनु आवश्यक भएको छ ।
विवाह दर्तालाई अनिवार्य गर्नपनि उक्त सम्मेलनले भनेको थियो । १९९४ मा भएको विश्वव्यापी निर्णय अनुसार विवाहको न्युनतम उमेर १८ वर्ष तोकिएको थियो । जुन नेपाल सहितका विभिन्न मुलुकमा कार्यान्वयनमा कमजोरी भइरहेको छ । वालविवाह नियन्त्रणको जिम्मेवारी सरकारकै हो । मानव अधिकारको रक्षा गर्दै सरकार यस्तो काममा प्रतिबद्ध हुनु आवश्यक छ ।