Wednesday, October 17, 2012

चाडको मुखैमा परदेशतिर

डी. विनोद
कैलाली अत्तरियाकी मनिसा दमाई केहीदिनमा लेवनानका लागि मुलुक छाड्दैछिन् । दशैंको मुखमा मुलुक छाड्दा साथीभाइसँगको रमाइलो गर्ने अवसर पनि छाडिरहेकी छन् । तर, भविष्यका लागि रोजगारीमा जानैपर्ने भएकाले उत्तिसारो दुखी पनि छैनन् । भन्छिन्,‘साथीभाइसँगको जमघटबाट टाढा हुँदा मनमा न्यास्रो लागेको छ । तर, बाध्यतालाई पनि नजरअन्दाज गर्न नसकिँदो रहेछ ।’
दमाई यसअघिपनि लेवनानमा घरेलु कामदारका रुपमा कार्यरत थिइन् । बीचमा नेपाल फर्किएकी उनी फेरि घरेलु कामदारकै लागि लेवनान जाने विमान उड्ने प्रतिक्षामा छिन् । भन्छिन्,‘अव दशैं, तिहार र आफ्ना आफन्त छाडेर जानुपरेको छ, केही उदासीनता भएपनि दुखै मान्न भएन ।’
दशैंका मुखमा वैदेशिक रोजगारीका लागि विमान पर्खनेहरुको लाम लामै छ । मनमा उदासी, परिवारसँगको विछोड र बाध्यताको झोला बोक्ने धेरैजना दुखी छन् । कास्की, ह्याङ्जा–१ का टंक श्रेष्ठ मंगलबार कतार उडेका छन् । दशैंको औपचारिक सुरुआत घटस्थापनाकै दिन मुलुक छाड्नुपर्दा उनी उदास मुद्रामा भेटिएका थिए । भन्छन्,‘लामो समय टिकट पर्खियौं तर दशैंपछिको मिलेन । दशैं सुरु भएकै दिन हिँड्नुपर्दा परिवारका अन्य सदस्यको अपेक्षा र खुसीमा सहभागी हुन सकिएन ।’ पहिलो चोटी वैदेशिक रोजगारमा जान लागेका उनले थपे,‘रहरले हैन करले जान लागेको हुँ । चाडवाडका बेला साथीभाई, घरपरिवारसँग विताउने समय हेल्परको काममा सुरु गर्ने रहर कसलाई पो हुन्छ र ? यो बाध्यता हो ।’ छोराछोरी, परिवारका अन्य सदस्यको आशाको केन्द्र भएकाले उनीहरुसँगको समय दशैंमा विताउन नपाउँदा दुखी भएको बताउँछन्, श्रेष्ठ ।
सुख, शान्ति र सम्बृद्धिको शुभकामना लिने र दिनेबेला बाध्यताले जकडिएका नेपाली श्रमिक भने दुख गर्नका लागि खाडी लगायतका मुलुक जान बाध्य भएका छन् । मनभरी धन कमाउने आश बोकेर चाडवाडलाई पनि विट मार्दै कर्तव्यको बाटो लम्किनेहरुको कथा भावनात्मक नै हुन्छ । आर्थिक समस्यामा गुज्रिरहेको परिवारको आवश्यकताका लागि कतारै जान तयार भएका मोरङ भाउन्नेका अनुज विश्वकर्माले गहभरि आँशु पार्दै भने,‘आवश्यकताको सिकार बनीरहेका छौं हामी । साथीभाई, गाउँ र छिमेकलाई दशैंमा शुभकामना भन्न नपाई नै मुलुक छाड्नु परेको छ ।’ १८ वर्षको कलिलै उमेरमा विदेशी विमानस्थलमा टेकेका विश्वकर्मा भन्छन्,‘सवैलाई खुसीसाथ दशैं मनाउनु भनेको छु अवका केही वर्षपछिका दशैं खुसीसाथ मनाउने अपेक्षामा विदेशिन लागेको हुँ ।’ कतारका लागि १० जनाको टोलीमा उनीपनि सहभागी छन् । भन्छन्,‘सवैको पीडा उस्तै हो, हामी घरमा खुसी छाडेर बाध्यताको भारी बोकेर हिँडिरहेका छौं ।’
लामो समय काठमाडौंमा बसेपछि दशैंको मुखैमा विदेश उड्न लागेका संखुवासभा, सिद्धकाली–१ का रुद्र कार्की चिन्तित छन् । श्रीमति र छोराछोरीलाई मोरङको उर्लाबारीमा छाडेका उनी घरपनि नफर्कि मुलुक छाड्नुपर्ने अवस्थामा पुगेका छन् । भन्छन्,‘दशैंमा बालबच्चको टुंगो छैन, चाडवाडको बेला एक्कासी उड्न परेपछि दुखी छु । तर, आफैं पैसा कमाउनका लागि वैदेशिक रोजगारीमा जाने तयारी गरेका कारण दशैंमा भएपनि जानैपर्छ ।’ उनले श्रीमति छोरछोरीको यसपालीको दशैं खल्लो बनाएको दोषपनि आफैंमाथि लिएका छन् । तर, आगामी दशैंमा बालबच्चको खुसी लिएर दशैंलाई उत्सवका रुपमा मनाउने मनोकांक्षापनि राखेका छन् । भन्छन्,‘यसपाली दुख पाइयो, आगामी वर्षहरुमा खुसीहरु लिएर आउनेछु ।’
कतार उड्ने टिकट आउने साँझविहानमा गौशालामा रहेको शुभतारा गेष्ट हाउसमा बसेका पोखराका २१ बर्षिय नारायण थापामगर घरका जेठा छोरा हुन् । दशैंको मुखमा परदेश जानुपर्दा आफु दुखी भएपनि परिवारको दायित्वका लागि हिँड्न लागेको बताउँछन्, उनी । भन्छन्,‘घरको दुखलाई निराकरण गर्नका लागि पनि मेरो दायित्वलाई विर्सिन हुँदैन । यसपाली दुख भएपनि आगामी दिनको सुखका लागि म विदेश उड्न लागिरहेको हुँ ।’ 
प्रत्येक वर्ष उड्ने चार लाख नेपाली युवायुवतीहरुका लागि कुनै चाडवाडपनि छेकबार बन्दैन । आवश्यकताका लागि चाडपर्वहरु बाध्यताका दिवारहरु बन्ने गरेका छैनन् । एक पटकको उदासी अर्को पटकका वर्षहरुमा खुसीसाथ मनाउने आत्मविश्वास, अभिलासा र परिवारलाई सान्त्वना दिएर मुलुकबाट पाइला उठाउनेहरुको जमात ठूलै छ । यस्तै विचार बोकेर खाडी मुलुक जाने तयारीमा रहेका मोरङ् इटहराका इन्द्र खड्का भन्छन्,‘परिवारसँग नहुँदा मन बेखुसी छ । तर, बाध्यताले मनको बेखुसीपनलाई पेल्यो ।’
दशैंमा विदेश छाडेर नेपाल फर्किनेहरुको ताँत जुन उमङ्गमा विमानस्थलको अन्तर्राष्ट्रिय कक्षबाट बाहिरीरहेको छ, त्यति नै निरास र उदासिना सहित आँखाभरी आँशु र आफन्तका विलापसँगै विदेशका लागि अन्तर्राष्ट्रिय कक्षभित्र भित्रिनेहरुको पनि भीँड देखिएको छ । 

No comments:

Post a Comment