Friday, July 11, 2014

रिहानाको आगमन

रिहाना यी सवै कुरालाई छिचोलेर फरक समुदाय, फरक धर्म तर मानवता एक हुनुपर्छ भन्ने सोच राख्छिन् । यो उनको साझा सोच हो या मसँगको आकर्षण त्यसको सुइँको मैले पाएको छैन । 

साइबर लभ–२२

जव काठमान्डू रुझ्ने गर्छ समय–समयमा, सहरका हर कुनामा देखिन्छ एउटा सुन्दर आकृति । मान्छेहरु हतारमा हुन्छन् तर त्यो हतार पनि सुन्दर देखिन्छ । मान्छेहरु व्यग्र प्रतिक्षामा उभिएका हुन्छन्, उनका अनुहारमा चुहिने हर थोपाहरु सुन्दर देखिन्छन् । सुन्दरताको वर्णन गर्नेहरुका आँखाको अर्को व्याख्या हुने गर्दछ । तर, रुझेको काठमान्डू वास्तवमै सुन्दर देखिन्छ– शेलीको आकृतिजस्तो । रमादान सुरु भएको छ, विश्वभरी । मुस्लिम समुदायको यो ठूलो पर्वमा विश्वभरमा मुस्मिलमहरु एक हुन्छन् । रमाउँछन्, मिठो खान्छन् र मिठो मायाको सन्देश पनि छाड्छन् । मुस्लिमको यो चाडको कुनै अर्थ छैन, शेलीका लागि । ‘ह्याप्पी रमादान, हाउ आर यु डियर ?’, कोलकत्ताबाट रिहानाको म्यासेज भर्खरै आयो । विश्वसमुदाय एक छातामुनिको घर भइसकेको छ । स्वभाविक उत्तर दिनु थियो,‘ह्याप्पी रमादान, आई एम फाइन एन्ड हाउ एबाउट यु ?’ मेरो उत्तरसँगै प्रश्न अति सामान्यसँग रिहानाका लागि पठाएँ । रिहाना एक म्युजिक भिडियो डाइरेक्टर बताउँछिन्, मलाई । उनको भिडियो मैले देख्न पाएको छैन । उनी बलिउडतिर छिर्ने प्रयत्नमा छिन् । उनी हर पटकको च्याटमा मसँग कुरा गर्छिन् । ‘यु आर फेमस जर्नालिष्ट अफ नेपाल, आई अन्डरस्ट्यान्ड द्याट’, उनका हरेक म्यासेजमा बारम्बार दोहोरिने यो सेन्टेन्स हो । र, ‘आई म नट फेमस, जस्ट राइटिङ एभ्री डे’, मैले बारम्बार दिने उत्तर हो, यो ।
काठमान्डू विश्वमा भिज्न थालेको छ । हर कोही काठमान्डूलाई नेपाल भनेर चिन्न थालेका छन् । यहाँका मन्दिर र मस्जिदहरुमा घुम्ने रहर रिहानाको पनि छ । उसलाई म घुमाउने र राम्रो ठाउँहरु देखाउने वाचा बारम्बार अरुबेला जस्तै गरिरहेको छु । रिहाना कति गहिरोसँग मलाई सोच्छिन्, त्यो एउटा कुरा भयो तर रिहाना पनि एन्जिलाजस्तै हुन्, इन्टरनेट दुनियाँमा मेरा लागि, मात्र समय विताउने र शेलीको पर्खाइको दुरी कम गर्ने । भ्mयालमा पानीका थोपाहरु वेगले लागिरहेका छन्, समाचारकक्ष गुम्म छ । अनि, रिहानासँग मेरो कुराकानी निरन्तर चलिरहेको छ, शेलीको खोजखबर छैन, आज पनि ।
०००
जव उमेर हुन्छ, मान्छेका मनमा हर कोहीका लागि प्रेमका रंगिन सपनाहरुको फूलबारी गोडमेल हुन थाल्छ । त्यहाँ हज्जारौं फूलका फरक व्याख्या आउन थाल्छन् । गुलाफका रंगहरुको अर्थ खुल्न थाल्छ । काँडाका दोषहरु खुट्याएर पातका गुणहरुको व्याख्या हुन्छ । जीवनको रंगिन समय, जीवनको उम्लिँदो उमेरमा म पनि यस्ता व्याख्याहरुबाट पर भाग्न सक्तिन । कहिलेकाँही इन्टरनेटी दुनियाँमा मैले यस्ता हसिन व्याख्याहरुलाई संप्रेशषण गरेकै कारण रिहाना मसँग केही दिनदेखि क्लोज भएकी छन् । ‘योर राइटिङ अलवेज क्याच मी, हाउ क्यान यु राइट दिस ?’, उनको बेलामौका दोहोरिने अर्को प्रश्न यस्तो पनि हुन्छ । अनि, ‘जस्ट इट वज ट्रुथ एन्ड सिम्पल वर्डस, नट माई गुड राइटिङ’, अलि अलि विग्रिएको अंग्रेजीमा उत्तर दिने मेरो शैली पनि कहिलेकाँही दोहोरिन्छ । मान्छे भाषासँग कति नजिक हुन्छ ? भाषाले मान्छेलाई प्रभाव पार्छ की मान्छेको मनले प्रभाव पार्छ ? उनले बारम्बार मेरो लेखाईको प्रशंशा सँगै वंगाली शव्द प्रयोग गर्छिन्– अमी तोमके भालोबासी । उनले यसको अर्थ लामोसमयसम्म पनि मलाई बताएकी छैनन् । उनलाई थाहा छ, म शेलीको पर्खाइमा छु र उनीसँग अतिरिक्त समय विताइरहेको छु । उनका शव्दहरुमा गहनता छन् या उनी पनि समय विताइरहेकी छन् । ‘म तिमिलाई प्रेम गर्छु ।’, उनको वंगाली भाषाको अर्थ थियो । उनले मलाई सम्झाउने प्रयत्न गरीन् । अनि, म बारम्बार शेलीसँग प्रेम गर्ने कुरा उनलाई दोहो¥याइरहेको छु । रिहानालाई शेलीसँगको वार्ताक्रममा एन्जिालाले मसँग गरेको यथार्थ पनि भनिसकेको छु । रिहाना यी सवै कुरालाई छिचोलेर फरक समुदाय, फरक धर्म तर मानवता एक हुनुपर्छ भन्ने सोच राख्छिन् । यो उनको साझा सोच हो या मसँगको आकर्षण त्यसको सुइँको मैले पाएको छैन ।
भोक लाग्दा जसरी खानाको महसुस हुन्छ, जीवनको यो क्षेत्रको यात्रामा प्रेमको पनि उत्तिकै महसुस हुँदो रहेछ । सायद शेलीका लागि यी सामान्य हुन् । किनभने उनले प्रेम र सम्बन्धका नाता जोडिन्, तोडिन्, जोडिन् अनि खेलिन् । क्यारामबोर्डका गोटी फँयाके सरह हो, उनका लागि प्रेम वा तासका पत्ताहरु साटेर जितेको या हारेको खल्लो बाजी जस्तो हो मैले पत्ता लगाउन सकेको छैन । जब प्रेमका लागि समर्पण र त्यागको भावना आउँछ, मान्छेमा फरक किसिमको पागलपन चढ्छ । त्यो फरक किसिमको पागलपनदेखि म अछुतो रहन सकिन । तर, त्यो फरक पागलपन बहुलाउने कारण बन्नेतिर दौडिरहेको छ । म निरन्तर त्यसयात्रामा जानेर पनि नजानी दौडिरहेको छु ।
जव मेरा अगाडी रगताम्य लासहरु लडिरहेका थिए, मान्छेका चित्कारहरु कानमा झन्कार बनेर आइरहेका थिए । त्यसबेला शेलीले मेरो मुलुक छाडीसकेकी थिइन् । समय निक्कै परिवर्तन भइसकेको छ । अव हराएका मानिसहरु इतिहाँसका अज्ञात सहिद भइसकेका छन्, मारिएका मान्छेहरु सहिद भइसकेका छन् । एन्जिला र रिहानाका समयहरु आइसकेका छन् । शेलीका भुमिकाहरु प्राथमिक हुन थालेका छन् । जीवनको फरक रंगहरु फरक हिसावमा देखिन्छन्, जहाँ रिहानाको आगमन पनि हुने गर्दछ ।

०००
समाचारकक्ष शुन्य छैन । मान्छेहरु आइरहेका छन् । कोही समस्या लिएर आउँछन्, कोही समस्या समाधानका लागि आउँछन् । दिन सँधैजस्तो वितिरहेको छ । सँधैजस्तो दिन दौडिरहेको छ । असारको झरी निरन्तर चलिरहेको छ । पूर्वतिरबाट हावा चिसो भएर आएको छ, ज्यान निक्कै तातेको छ । मौसमी रोग हो या समस्या शरिरभित्र गहिरो गरी बसेको छ । थर्मामिटरको पारो एक सय भन्दा माथि पुगेको छ । सहकर्मीहरु भन्छन्– ज्वरो निक्कै छ ।
शरिर किन तातेको छ र पसिना किन वगेको छ ? यो अर्थपूर्ण ठानेको छैन, मैले । बस, रिहानाको गफसँग तिम्रो सम्झना निरन्तर आइरहेको छ । सम्भवतः तिमीसँगको सम्पर्कविच्छेद भएको लामो समय भएकाले हुनसक्छ, मेरा शरिरका कोषहरु तातेका छन् । करोडौं कोषहरुमा तिम्रा स्मरणहरुको आवश्यक महसुस भएको छ । ‘मैले समर्थन गरेको टिमले हारेछ’, नेपथ्यबाट आवाज आयो,‘थुइक्का, कस्तो टेन्सन भयो ।’ कोही बोलिरहेको छ छायाँमा । कोही समस्या सुनाइरहेको छ छायाँमा । तर, निरन्तर तिम्रो पखाईमा अभ्यस्त छु म शेली ।
तिमीलाई गरेका मौन र मनस्पर्शहरु निक्कै पे्रमपूर्ण छन् । यो एन्जिला र रिहानासँग गरेको अनौपचारिक कुराकानीको पाटो होइन । विशुद्ध मेरो प्रेमको झझल्को हो । तिमी निष्ठुरी बन्न सक्छौ होला तर म सधैं स्पर्शको घेराभित्र नै रहनेछु । हरेक मुस्कानहरुको मुल्य हुँदैन । हरेक मुल्यमा मुस्कान किन्न पाइँदैन । हरेक मुल्यहरुले उदासिनता खरिद गर्न सक्तैन, हरेक उदासिनताहरु मुल्यमा विक्रि हुन सक्तैनन् । जीवनको उदासिनताको विषयमा तिमी मुल्य रोज्न सक्छौ । म मुल्यका लागि कृत्रिम हाँसो उत्पादन गर्न सक्तिन । खाडल तिम्रो विश्व र मेरो विश्वमा धेरै छ तर तिमी र ममा समान विचारको प्रवाह थियो । मेरो अठोट वा तिम्रो घमन्डका कारण यो समानतामा बाधा पुगेको छ । ‘आइ एम रियल्ली अपसेट विद यु, शेली ।’
तिमीले रेस्पोन्स नगर्दा कस्तो नरमाइलो लाग्ने । केही नगरौं जस्तो, केही गरौं जस्तो । फेरि इन्टरनेटमा छिरेर तिमी के मा व्यस्त छौं, जानौं जस्तो । इनबक्स कोट्याएर कतै तिम्रो म्यासेज आयो कि भनेर घरि घरि जाँचौ जस्तो । खाली इनबक्स देखेपछि फेरि मन उदासिन बन्थ्यो । अनि, फेरि इमेल पो लेख्यौ की भन्ने लागेर इमेलतिर चेक गर्न पुग्छु । त्यहाँ पनि म्यासेज नपाएपछि तिमीसँग कता कता रिस उठेजस्तो, फेरि माया लागेजस्तो पनि । यसरी नै मेरा दिनहरु वितिरहेका थिए । वितिरहेका छन् । मनको फरक कुनामा फेरि आशा र भरोसाका झन्कारहरु पनि पैदा भइरहेका छन् । रिहाना र एन्जिलाका म्यासेजको कुनै अर्थ छैन । उनीहरु समयमा आइरहन्छन्, झकझक्याउँछन् र जान्छन् । उनीहरु छन् र तिमीसँगको मेरो प्रेमको अर्थ अझ गहिरो बनिरहेको छ । तर, फगत तिमी कहाँ हरायौ, मलाई किन विर्सियौ भन्ने प्रश्नहरुको घेराबन्दिमा म अल्झिरहेको छु । त्यहाँबाट निस्कने उत्तर पाएको छैन । त्यो उत्तर– तिम्रो रेस्पोन्स नै हो । तिम्रो रेस्पोन्स कुरिरहेको मान्छे म ।
सायद संसारमा इन्टरनेट नभएको भए तिम्रो र मेरो सम्पर्क हुने थिएन । यो सहज सम्पर्कबाट बनेको असहज संवेदनाको सम्बन्धले निरन्तरा पाउनु पनि निक्कै कठिन हुने रहेछ । यो निरन्तरता नपाउँदा झन कठिन हुने रहेछ । फुटबलको मैदानजस्तो होइन रहेछ सम्बन्ध, सम्बन्ध त जीन्दगीको मैदान हो जहाँ हरेक उतारचढावका धक्का लाग्दा पनि बाँच्नु छ, हिँड्नु छ र प्रेमलाई निरन्तरा दिनु छ । तर कसरी ? प्रश्नहरुको घेराबन्दिमा शेलीको उत्तरको व्यग्र प्रतिक्षा छ । शेली कहिले आफ्ना शव्द बोकेर उक्लिन्छिन् यो इन्टरनेटी दुनियाँमा थाहा छैन, रिहाना आइसकेकी छिन् ।

No comments:

Post a Comment