जस्टिफाई हुन नसकेको कथाहरुको त्यान्द्रोका रुपमा विर्खेलाई चिन्छस्, बजारमा आएको छ ।
कलाकारहरु : सुवास थापा, आयुषा राई, विनिता खड्का, बलदीप राई, शिशिर भण्डारीलगायत
निर्देशक : अराज केशव
नेपाली सिनेमा उद्योगमा खसीको टाउको देखाएर वाख्राको मासु वेच्ने चलनको प्रतिविम्ब विर्खेलाई चिन्छस्ले पनि छाडेको छ । हावा तालमा बनेको यस्तो फिल्मले दर्शकको अपेक्षाहरुमाथि तुसारापात गरेको छ । दर्शकले विर्खेलाई चिन्छस् भन्ने गीत र प्रोमोको आधारमा फिल्म हेर्न सिनेमा घर छिर्नुको उपलव्धि निराश बनेर फर्किनु हुनेछ । नामले समसामयीक कमेडी र ग्रामिण जीवनको बारेमा फिल्म बनेको छ, भन्ने आम सोचाई हुन्छ । जब दर्शक सिनेमा घरमा प्रवेश गरेर फिल्ममा उत्रिन्छन्, अनि उनीहरुको अपेक्षा विस्तारै कमजोर र गलत सावित हुँदै जान्छ । यसमा निर्देशक दोषी त छँदै छन्, यस्तो स्क्रिप्टमाथि लगानी गर्ने निर्माता मुर्खभन्दा अरु केही पनि सावित हुँदैन ।
फिल्मको ओपनिङ औसत राम्रोसँग गरिएपनि अन्त्यको चाँजोपाँजो निक्कै कौतुहलहिन छ । कथाको सिक्वेन्सहरु मिलेका छैनन्, प्लटहरुमा स्क्रिप्ट राइटर दुखी भएर लेखेको भान हुन्छ । यस फिल्ममा कलाकारलाई गाली गर्न मिल्दैन ।
पात्रको परिचय विस्तारै खुलाउँदै जानुपर्ने भएपनि परिचय खुलाउने कुनैपनि आधार बनाइएको छैन । मुख्य पात्र विर्खे बाहेकका सहायक पात्र कसैको पनि परिचय खुलाउन निर्देशकले आवश्यक नठानेको देखिन्छ । तर, परिचय खुलाउनका लागि सामान्य हिसावले कुनै खास दृश्यहरुको समावेश गराउने आवश्यकता यो फिल्ममा देखियो । विर्खे पढ्नमा कमजोर, गाउँको अल्लारे ठिटो र अलिक लठेप्रो किसिमको रहेको भन्ने देखाउन खोजिएको छ । उसका गाउँका हर्कतहरुलाई उतार्ने प्रयास भएको छ । तर, ती ठ्याक्कै मौलिक बनाउने कुरामा भने निर्देशक चुकेका छन् ।
यस फिल्मका कास्टिङ डाइरेक्टरको नजर कमजोर भएको पनि पाइयो । फिल्ममा नायिक दर्शकको मनछुने र चिन्नसक्ने किसिमले पस्किनु पर्दछ । फिल्मकी नायिका विनिता खड्काको परिचय नायिकका रुपमा स्थापित गराउन नै सकिएको छैन । उनलाई पहिलो पटक परिचय खुलाउने क्रममा दर्शकले नायिकाका रुपमा चिन्न कठिन हुन्छ । ‘पैसा हालेका कारण खेलाएको होला’ भन्ने जस्ता सिनेमा चल्दै गरेका क्रममा नायिकाको खुला आलोचनामा दर्शक उत्रिन सक्नु भनेको कास्टिङ डाइरेक्टरको कमजोरी हो भन्ने सावित हुन्छ ।
विर्खेका बाबु (लाहुरे)को हत्या किन र के कारणका लागि गरियो ? केही खुलाइएको छैन । हत्या गर्ने समुहको उद्देश्य के थियो भन्नेबारेमा पनि खुलाइएको छैन । गाउँमा हुने विवाहमा जानका लागि तयार भएका विर्खेका बाबु लाहुरेलाई कुनै अपरिचित समुहले किन लग्यो ? त्यो कस्तो समुह हो र त्यसको उद्देश्य के थियो भन्नो प्रष्ट छैन । लाहुरेलाई एक्कासी मार्नुको पछाडीको कारण पनि खुलाइएको छैन । त्यो समुहले लाहुरेलाई मार्नुको पछाडीको पृष्ठभुमीको बारेमा पनि राम्रोसँग नखुलेका कारणले अप्रसंगका कुराहरु बढि जोडिएका छन् ।
विर्खेलाई केन्द्रित गरेर फिल्म बनाउने कोशिश गरेपनि कतिपय विषयहरु जोड्ने कामको कुनै तालमेल छैन । सहर आउनासाथ सिनेमा उद्योगलाई छुने प्रयत्न भएको छ । तर, विर्खे त्यहाँभित्र अचानक पुग्नुको कारणको जस्टिफाई फिल्मले गर्न सकेको छैन । विर्खे त्यो उद्योगबाट उछिट्टिएर भरिया र भरियाबाट सडकमा बस्ने मजदुर किन भयो ? जेल पुगेर राजनीतिक दलको कार्यकर्ता भएको विर्खे आन्दोलनको अगुवाई गरिरहेको सन्दर्भलाई छाडेर एकैचोटी भरियामा झारिएको छ । आन्दोलन र पैसा बुझेको विर्खे कसरी सडकको भरिया भयो ? निर्देशकले जस्टिफाई गर्न सकेका छैनन् ।
सहर छिरेपछि विर्खेको साथी फरार भएर कहाँ गयो ? विर्खेले ती फटाहालाई किन खोज्ने कोशिश गरेन ? कथाको ढाँचा मिलाइएको छैन । अचानक आउने घटनाक्रममा विर्खे जोडिएपनि ती घटनाक्रमको अन्त्य सहज हुन सकेको छैन । यस्तो घटनाक्रमले दर्शकलाई उत्सुक बनाउन सक्तैन । छरपस्ट विसयबस्तु विस्कुन सुकाएजसरी छरिएका छन्, तर ति विषयबस्तु समेट्ने कोशिश गरिएको छैन । परिचयविना नै उदाएका पात्रहरुको अन्त्य गरिएको छ, अर्थहिन हिसावले ।
मेरिना नामकी नायिका (आयुसा राई) किन आइन र उनको भुमिका के हो ? भन्ने कुरा प्रष्ट खुलाइएको छैन । एनजिओमा काम गर्ने महिला हुन् भन्ने कुराको हेक्का राख्न सकिएपनि त्यो स्पष्ट छैन र उनको भुमिका फिल्ममा आवश्यक पनि देखिएको छैन । यस्ता पात्रहरु निर्माताका लागि व्यवभार र फिल्म भद्दा बनाउने कारणभन्दा अरु केही पनि हुन सक्तैनन् ।
विर्खेले नेतालाई थप्पड हानेका कारण जेल परेको हुन्छ । त्यसक्रममा प्रहरीले उसको थर विर्खबहादुर घर्तीमगर भनेर बोलाउँछन् । फिल्ममा उनका बुवा, आमा, प्रमिका कसैसँग जर्नर नमिल्ने सम्बोधनले त्यताको पाटोमा पनि कमजोरी देखिन्छ । फिल्ममा देखिने दाह्री माइला (सुरवित पण्डित), लाहुरे (सुरेश उप्रेती) लगायतको भुमिकामा खोट लाउनपर्ने कारण छैन । नायक सुवास थापाको अभिनय पनि औसत नै छ । तर, नायिक आयुषा राइको अभिनयमा खोट देखिन्छ ।
विर्खेको क्यारेक्टरलाई जस्टिफाई गर्ने प्रयासका रुपमा नेपाल–भारत सम्बन्धलाई छोएर आतंकवादी समुहलाई नेपाल प्रहरीको खोजी र त्यसलाई विर्खेको सहयोगमा निस्तेज पारेको देखाइएको छ । प्रहरी कस्टडीमा रहेको विर्खेमा अचानक शक्तिशाली हुने रहर पलाएको सम्म ठिकै छ तर ति आतंकवादीहरु किन र केका लागि थिए भन्ने कुराको परिचय नै छैन । पात्रहरु आउँदै जाँदै गर्दा उनीहरुको भुमिका स्पष्ट बनाउन नसक्नु फिल्मको सवैभन्दा ठूलो कमजोरी हो ।
फिल्मभरी हेर्नलायक र सम्झनलायक त्यस्ता घटनाहरु केही छैनन् । टाइटल गीतचाँही सम्झनयोग्य छ । समग्रमा फिल्म हेर्न पुगेका दर्शक उत्साही हुनसक्ने ठाउँ देखिँदैन । छायांकन, सटहरु अन्य नेपाली फिल्महरु जस्तै औसतमात्र छन् ।
No comments:
Post a Comment