Sunday, September 28, 2014

अनशन, नन्दप्रसादको निधन र दशैं

काठमान्डु गाउँ पुगिसकेको छ । खुसीयाली मनाउने र आफन्त भेट्ने ध्याउन्नमा खाडी मुलुकहरु पुगेको आधा नेपाल पनि गाउँतिर पुगिसकेको छ । दशैं आयो, खाउँला पिउँला भन्ने भनाई पुरा गर्नका लागि मुलुक उत्सवमा जमिसकेकेको छ । तर, गोरखाको फुजेल भन्ने ठाउँको एउटा कुनोको दशैं कस्तो होला र ? तत्कालिन नेकपा माओवादीले अपहरण गरी ०६१, २४ जेठमा हत्या गरिएका कृष्णप्रसाद अधिकारीको गाउँमा दशैंको रौनक कस्तो होला ? अनि, त्यसले देखाएको न्यायविहीन नेपालको दशैं कस्तो होला ?  विश्वइतिहाँसमा न्यायको लागि अनशन बसीरहँदा राज्यले ध्यान नदिएर मृत्युवरण गर्नुपर्ने कथा कोरिएको फुजेलको दशैंमा खुसी छैन, सायद । त्यहाँ उदासिनता र निराश छाएको होला । 

जुन मुलुकमा न्याय हराएको छ, त्यहाँ दशैंको उत्सवमा रमाउनुको अर्थ के हुन सक्छ र ? दशैं त्यतिवेला सुखद हुन्छ, जतिवेला न्यायका लागि लडेकाहरुको अनुहार मलिन्द्र देखिँदैन र नन्दप्रसाद अधिकारीहरुले भोकै मर्नुपर्दैन । लोकतान्त्रिक आन्दोलनमा लडेका राजनीतिक कार्यकर्ता र नेताहरु शान्तिपूर्ण आन्दोलनका बारेमा निक्कै बोल्ने गरेका छन् । शान्तिपूर्ण आन्दोलनको कडीका रुपमा उभिएका नेपाली कांग्रेस, नेकपा एमालेलगायतका दलहरुको सत्ताका बेलामा न्याय नपाएर मृत्युवरण गरेका नन्दप्रसादले कहिले न्याय पाउने ? उनकी श्रीमति गंगामाया अहिले पनि न्यायका लागि भोकहड्तालको क्रममा ११ महिनादेखि अस्पतालमै रहेकी छिन्, अव उनको माग पुरा हुने कि नहुने ? राज्य बोलेको छैन । 

भोक हड्ताल असामान्य आन्दोलन हो । यो आजको आन्दोलन पनि होइन । परम्परागत रुपमा चलिआएको पशुहत्याको विरोधमा अधिकारवादीहरु सडकमा उत्रिन थालिसकेका छन् । तर, जहाँ राज्यले मानवहत्याको फरक कोणलाई समातेको छ, त्यसका लागि अधिकारवादीहरु कहाँ छन् ? नन्दप्रसाद मृत्यु एउटा मानवहत्याको पराकाष्ट हो । जहाँ पशुहरुको अधिकारका लागि नारा र जुलुसहरु लाग्ने गरेका छन्, यसपालिको दशैंमा नन्द्रसादको अधिकारका लागि त्यहाँ फरक नाराजुलुसहरु किन लाग्न सकिरहेका छैनन् ? 
अन्यायको विरोधका लागि अनशनमा मानव उत्रिने गरेको विशवइतिहाँस छ । यो इतिहाँसमात्र नभएर पौराणिक कालमा पनि शान्तिपूर्ण आन्दोलनको एउटा महत्वपूर्ण पक्षका रुपमा लिइएको छ । क्रिश्चियनहरुले आयरल्यान्डमा गरेको भोक हड्ताल ऐतिहाँसिक थियो । त्यसबेला यो हड्तालको नाम ट्रोस्काध वा सेआलाचनका नाममा परिचित थियो । सांस्कृतिक रुपमा पनि भोकहड्तालमा उत्रिनुलाई शान्तिपूर्ण आन्दोलनको सवैभन्दा महत्वपूर्ण र खतरनाक आन्दोलनका रुपमा व्याख्या भयो । कुनैपनि मानिसलाई मृत्युका लागि अनुमति दिनु विश्व मानवअधिकारको विरुद्धमा उत्रिनु भन्ने भएकाले पनि भोकहड्ताल वा अनशनमा उत्रिएकाहरुको जीवनरक्षामा ध्यानु दिनुपर्छ भन्ने विश्वव्यापी मान्यता स्थापित भएको थियो । एउटा गलत दिशाको निर्णयलाई सही दिशामा उतार्नका लागि गरिने शान्तिपूर्ण तर निक्कै भयानक आन्दोलनका रुपमा आमरण अनशनको व्याख्या आयरल्यान्डबाट नै स्थापित भएको थियो । आयरल्यान्डका एक पुराना व्यक्ति जो क्रिश्चियन धर्मका गुरु सेन्ट प्याट्रिक थिए उनले यो अनशनको आन्दोलनलाई महत्वका साथ अघि बढाएका थिए । त्यसपछिका कालखण्डमा शान्तिपूर्ण आन्दोलनमा लागेका भारतका पिता मानिने महात्मा गान्धीलगयातले पनि यसलाई निरन्तरता दिएका थिए । भारतमा सन् १८६१ मा अनशनको सुरुआत भएको थियो । भनाई छ भोक हड्तालको सुरुआत भारतमा रामायण कालखण्डदेखि नै भएको थियो । भरतले राजा रामलाई अयोध्यामा शासन गरानउका लागि यस्तो अनशन सुरु गरेका थिए भन्ने त धर्मग्रन्थमा नै उल्लेख थियो । 

२० औं शताव्दि आएपछि बेलायती शासकहरुको बन्दिमा परेका हिन्दुहरुले अनशन सुरु गरेको उल्लेख छ । त्यतिमात्र होइन पश्चिमा मुलुकहरुमा पनि एली पाउल भन्ने व्यक्तिले अमेरिकी संविधानका लागि आमरण अनशन सुरु गरेका थिए । भर्जिनियाँमा उक्त भोक हड्तालमा सरिक भएका पाउलको माग न्यायका लागि थियो । दुनियाँको इतिहाँसमा कुरा गर्ने हो भने पनि चाल्र्स रोबर्ट भन्ने अमेरिकि नागरिकले एक सय २३ दिनभन्दा बढि अनशन बसेका थिएनन् । उनको यो अनशनपछिका दुनियाँभरी कतिदिनसम्म भोक हड्ताल वा अनशनका लागि मानिस बस्न सक्छ भन्ने फरक बहस पनि सुरु भएको थियो ।

अनशनबारे एतिहाँसिक उदाहरणहरु कम छैनन् । विश्वका विभिन्न मुलुकहरुमा शान्तिपूर्ण न्यायका लागि भएका अनेक घटनाहरु छन् । तर, विश्वप्रजातान्त्रिक काल र २१ औं शताव्दिमा प्रवेश गरेको नयाँ विश्वमा अनशन वा हड्तालकै कारण मानवको मृत्यु भएका कम घटना मध्ये पर्दछन् नन्दप्रसाद अधिकारी । र, नेपालको सन्दर्भमा भने उनी सम्भवतः पहिलो व्यक्ति हुन् । उनले ३ सय ३० दिन अनशन बसे । 

राजनीतिक दबाब, राज्यको गतिशिलहिनता, न्यायको विषयमा राजनीतिक दलहरुको मौनता र स्वार्थका कारण फुजेलका नन्द्रसादहरुको अनशन र त्यसले मृत्युसम्मको अवस्थाको सृजना गर्न बाध्य बनायो । मुलुक पुरै खुसी र बर्षको एक पटक आउने चाडका लागि बहुसंख्यक मानिसहरु हाँस्ने बेलामा फुजेलसँगै मुलुकलाई नमिठो लाग्नेगरी न्याय खोज्दाखोज्दै मानिसको निधन भयो । यो घटनाले राज्यसंयन्त्रमा रहेका व्यक्तिहरुलाई कतिसम्म पोलेको होला थाहा छैन, तर सामाजिक प्राणी भएकै नाताले सामाजिक सञ्जालसम्म रहेका हर व्यक्तिको आत्मा पोलेको उनीहरुले राज्यप्रति देखाएको रोष र रिसले देखाउँछ । 

हिन्दुहरु, विशेषगरी नेपाली हिन्दुहरुले दुष्टको नाश र खुसी पाएको अपराधबाट न्याय पाएको खुसीमा दशैं मनाउने गरेको तथ्यलाई नकार्न सकिन्न । अन्यायको अन्त्यको अवसरका रुपमा मनाइने पर्वको मुखैमा न्याय नपाएर एउटा अधिकारी ढल्नु भनेको सारा मुलुकका लागि दुख तुल्याउने विषय हो । यो राज्यप्रणाली, यसका शासकहरु र अधिकारको नाममा सकडमा उत्रिने फरक मानवझुन्ड, झन्डा फहराएर पार्टी कार्यालयमा क्रान्तिकारी कुरा गर्ने नेताहरुले कसरी अन्यायको विरुद्धबाट प्राप्त उपलव्धिका रुपमा व्याख्या गरिएको दशैं मनाउन सक्लान् ? के उनीहरुको खुसीमा नन्दप्रसादका ११ महिनासम्मको तपस्या र वीर अस्पतालमा उनको लडिरहेको शव तस्बिरका रुपमा उत्रिदैन होला ? 

विश्वशान्ति र न्यायका लागि अहिले राष्ट्रसंघ महासभाको वैठक जारी रहँदा प्रधानमन्त्री सुशिल कोइराला पनि त्यहाँ सहभागी भएका छन् । विश्व मानवअधिकारको पक्षमा उनले मत जाहेर गर्दैछन् । त्यस्तै विश्वशान्तिका लागि महासभाले नयाँ ढंगको विचार र घोषणाको तयारी गरिरहेका बेला मुलुकमा भएको घटनाले प्रधानमन्त्री कोइरालालाई कति पोल्नेछ ? अनि, यहाँ रहेका अन्य नेताहरुलाई कति पोल्यो होला ? यसर्थ, राजनीतिक संक्रमण र एउटा राजनीतिक दलको अडानका कारण अन्यायविरुद्धको आन्दोलनमा उत्रिएकाहरुले न्याय नपाउने भन्ने हुँदैन । यो विषयमा राज्य बलियो भएर कसैको मृत्युलाई सामान्य ठानी राजनीतिक सहमति र संविधानका नाममा अन्यायको पक्षपोषण गर्न मिल्दैन । यसर्थ, न्यायका लागि जीवित गंगामायाले छोरा कृष्णप्रसाद अधिकारीका हत्याराहरु जेल पुगेको देख्न पाउने व्यवस्था राज्यले गरोस् र न्याय बाँचेको देशका रुपमा व्याख्या होस् । अनि, हर दशैंका समयहरु सुखमय र हँसिलो रुपमा नेपालीले मनाउन पाउने अवस्था राज्यले बनाउन सकोस् । 

No comments:

Post a Comment