Wednesday, July 18, 2012

'परिश्रम गर्न जानियो '


१५ महिना अघि नेपाल छाड्दा विदेशको काम कस्तो न होला भन्ने रहरले भुइमा खुट्टा थिएन दिनेश विष्टको । सप्तरी फत्तेपुर घर भएका विष्ट अहिले कतारमा नियमित र राम्रोसँग काम गरिरहेका छन् । एक सेल्स कम्पनीमा काम गरिरहेका उनको अनुभव उनकै शव्दमा : 

अहिले म यहाँको पिएसएस भन्ने एक मार्केटिङ कम्पनीमा काम गरिरहेको छु । यसले हरप्रकारका सामानहरु विक्रिवितरण गर्दछ । यहाँको कार्यकारी वितरकको पदमा रहेर काम गरिरहेको छु । तलव पनि सन्तुष्टि छ । म व्यक्तिगत तानुवा भिसामा आएका कारण मैले विभिन्न दलाल कम्पनीहरुको समस्या खेप्नु परेको छैन । एक हजार पाँच सय रियालजति कमाउन सकिन्छ । त्योभन्दा बढि पनि कमाउन सकिन्छ । यहाँ निक्कै नेपालीहरु काम गरिरहेका छन् । दोहाको उमसलाला भन्ने ठाउँमा बसिरहेको छ । यहाँ आएको १५ महिना भयो । भिसा र टिकट गरेर ५० हजार रुपियाँ नेपाली खर्च गरेर आएको हुँ । म्यानपावर कम्पनीमार्फत आएको भए त एक लाखभन्दा ज्यादा खर्च हुने रहेछ ।
मैले यहाँ १५ महिना काम गर्दा जानेको मुख्य कुरा मेहनत गर्न हो । मेहनत गर्नेलाई पुरस्कार र कानुन मिच्नेलाई कडा दण्ड दिने कतारको नियम छ । यहाँ आउनेहरुले कतारको कानुनको बारेमा जान्नु निक्कै आवश्यक छ । नेपाली कानुनजस्तो छैन । अवसर दिने र मेहनत पनि कडा गर्नुपर्ने यहाँका कम्पनीहरुको नियम हुन्छ । तेस्रो मुलुकको भएका कारण केही समस्या महसुस गरेतापनि विस्तारै कतारको अनुभवी कामदार हुँदा यहाँ सम्मान गर्ने प्रचलनपनि रहेछ । भाषा, कतारको धार्मिक संस्कृति, परम्परा र यहाँको राज्यको नियमलाई सम्मान नगर्ने, नेपालको जस्तो संगठित रुपमा असन्तुष्टि राख्नेहरुका लागि ठाउँ रहेनछ । समस्या परेपनि सम्बन्धित कम्पनी अथवा नेपाली दुतावास हुँदै नियमसंगत गयोभने न्याय पाउनसकिने व्यवस्था हुनसक्छ । अन्यथा यहाँ अरु कुनै विकल्पले काम गर्न सक्तैन ।
दलालहरुले विभिन्न कम्पनीहरुको नाममा ठगेर नेपाली मजदुर पठाएका कारण समस्यामा पर्दा रहेछन् । तर, काम बुझेर, विश्वासिलो मानिसमार्फत आए काम पाउन र तलवमा पनि समस्या हुँदैन । हचुवाका भरमा लोभमा फँसेर आउने समस्यामा पर्छन । म सेल्समा काम गर्ने भएका कारण सडकमा पनि गाडी लिएर हिँड्नुपर्छ यहाँको सडक नियमपनि राम्रोसँग बुझ्नुपर्दछ । अन्यथा सवारी दुर्घटनामा निक्कै नेपाली परेर घाइते भएका छन् । यहाँको वातावरण अनुकुल हुन असहज हुन्छ त्यसकारण वातावरण र कामबारे प्रष्ट जानकार भएर आउनु राम्रो कुरा रहेछ । मलाई सुरुमा एडजष्ट हुन निक्कै कठिन भएको थियो, अहिले त बानीपरिसकेको छु ।

No comments:

Post a Comment