Saturday, September 15, 2012

प्रधानमन्त्रीको आत्मरती

विनोद ढकाल

सत्ता जादुको छडी हैन जसले सवै समस्यालाई निराकार बनाइदिन्छ । तरल राजनीतिमा सत्ता शक्तिको दुरुपयोगको स्थान पनि होइन । परम्परागत राजनीतिको क्रमभङ्गता गर्ने एमाओवादीको ‘बोके गफ’ सुनेको धेरै वर्ष भएको छैन । यस्ता केटाकेटी तर्क गरेर सरकारको नेतृत्व गर्दाको व्यवाहारलाई दाँजेर हेर्ने हो भने एमाओवादी पनि उही परम्परागत राजनीति र त्यसमा पनि अति भ्रष्ट राजनीतिको गतिलो नमूनाका रुपमा उदायो । अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले राजनीतिक रुपमा बढ्न नदिएका कारण बाबुराम भट्टराईजस्ता व्यक्तिले पनि गतिला काम गर्न पाएनन् भन्ने एउटा जमातका लागि त बाबुराम सरकार नै इतिहाँसको सवैभन्दा ठूलो भुलका रुपमा परिचित भयो । स्व. नेता गिरीजाप्रसाद कोइरालाको नेतृत्वको सरकारले नारायणहिटबाट बहिर्गमन गरेको राजसंस्था, उनको नेतृत्वमै प्राप्त लोकतन्त्रभन्दा अहिले नेपाली जनतासँग अरु केही छैन । कोइरालाकै बलमा जवरजस्त गरिएको संविधानसभा उनी जीवित रहुन्जेल बाध्यात्मक परिस्थितिमा राखिएको थियो तर उनको मृत्युपर्यन्त त्यसलाई पनि विघटन गर्न बाबुराम सरकारकै घोषणा आउने परिस्थिति बन्यो । संसद विघटन गरेको आरोपमा जुन शक्तिहरुले लोकतन्त्र प्राप्तिअघि अध्यादेश र कानुनका गलत उपयोग गरेर सत्तालाई नीजि सम्पत्ति बनाएका थिए त्यो शक्तिकेन्द्रमा जति साधारण मानिस पुग्दापनि अहंकारी बन्ने तथ्यका उदाहरण बनीरहेका छन्–बाबुराम । अव नेपाली जनतासँग केही बाँकी छ भने त्यो लोकतन्त्र हो, त्यो पनि छिमेकी मुलुकको स्वार्थसँग सम्झौता भइसकेको छ । नेपालीले उपभोग गरेको लोकतन्त्र नेताको भ्रष्ट नीति लागु गर्ने परिस्थितका लागिमात्र रहेको पनि विस्तारै बुझ्न थालिएको छ ।

सपना बाँड्न सजिलो छ तर त्यसलाई यथार्थमा कार्यान्वयनका लागि निक्कै कठिन हुन्छ । सपना बाँडेर राजनीतिको यात्रामा सत्ताशक्तिमा पुगेको एमाओवादी र त्यसका उपाध्यक्ष बाबुराम सपनाहरु भत्किएको चाल पाइरहँदापनि अनेक प्रकारका सपनाहरु बाँडीरहेका छन् । अनि, आफ्ना स्वार्थ, दलीय स्वार्थका हिसावमा काम गरिरहेका छन् । केही जातिवादी, क्षेत्रीयवादीको झुण्डको बलमा सरकारको नाम दिएर आफ्ना अधिनायकवादी सोच, विचार र निर्णयलाई कार्यान्वयन गरिरहेको उनको कार्यशैलीले देखाउँछ । शक्तिशाली ठाउँमा रहेका उनलाई सामान्य नागरिकले आम रुपमा केही गर्न सक्तैन, आलोचना बाहेक । तर, उनी अरुको आलोचनालाई आफु विरुद्ध षडयन्त्र गरेको र निकृष्ट सोचको संज्ञापनि दिन्छन् । किनभने उनी दार्शनिक पनि हुन् । तर, दार्शनिकहरुको काम दर्शन लेख्ने हो, सत्ता हाँक्ने होइन रहेछ भन्ने आत्ममुल्याङ्क उनले गरेकै हुनुपर्छ यो एक वर्षको अवधिमा ।
एनले गरेका एकल निर्णयका केही ‘रिसेन्ट’ उदाहरणहरु छन् । जसका कारण उनी मुलुकका शक्तिशाली प्रधानमन्त्रीका रुपमा सावित हुन खोजिरहेका छन्, पदको दुरुपयोगबाट । केही निर्णयहरु परम्परागत छन् केही परम्परा तोड्दै गरेका । यी दुवैमा उनी विरोधाभाष छन् । तर, उनको दावीचाँही सवै सहि नै भएको भन्ने हो । अरुका विचारचाँही निकृष्ट भएको भन्ने उनको सोच अहिले सार्वजनिक रुपमा सुन्ने, पढ्ने र हेर्ने व्यवस्थापनि छ ।
भर्खरै कुवेरसिंह राना प्रहरी महानिरीक्षकमा नियुक्त भए । लामो राजनीतिक चलखेल र संघर्षकाबीच उनी महानिरीक्षक पदमा नियुक्त भएका हुन् । नियमअनुसार आफु महानिरीक्षक भएकोमा उनले घमण्ड पनि गरे । नेपाल सरकारलाई धन्यवाद दिए । बाबुरामको सरकार जसले मुख्यसचिवमा कनिष्ठ सचिवको नियुक्त गरेका थिए । अनि, महिला सचिव विन्द्रा हाडालाई महालेखा परिक्षकको कार्यालयमा सरुवा गरेका थिए । जुन मुद्दाको जवाफ सर्वोच्चमा पठाउनुपर्ने बाध्यता उनले खेपे पनि । मुख्यसचिवमा बढुवाप्रकयालाई मिचेका बाबुरामले प्रहरीमा भने नियमीत बढुवालाई कायम राख्ने  तर्कको निर्णयपनि गराए । तर मुख्यसचिव नियुक्तिसँग जोडेर हेर्दा बाबुरामको आफ्नो महत्वकांक्षाबाट अभिप्रेरित निर्णयमात्र थियो भन्ने बुझ्न जटिल छैन । 
यी दुई उदाहरणले कर्मचारीतन्त्र र प्रहरी राजनीतिबाट प्रभावित भएको पुष्टि भएको छ । कर्मचारीतन्त्रले काम गर्न दिएन भनेर गुनासो गर्ने राजनीतिक दलहरुले आफ्नो फाइदाका लागि कर्मचारी र प्रहरी प्रमुखको नियुक्ति गर्दा कसले काम गर्न दियो÷दिएन ? भन्ने प्रश्नको जवाफ के हुनसक्छ यो जनसाधारणले ठम्याउनसक्ने विषय बनिसकेको छ । कर्मचारी र प्रहरीमा आफ्नो स्वार्थ सिद्धि गरेर अहिले असफलताको यात्रामा लागिरहेका बाबुरामले फेरिपनि आफुले काम गर्न नपाएको गुनासो गरेका छन् । उनले अव विपक्षी दलहरुले काम गर्न नदिएको आरोप लगाएका छन् । उनले गैरन्यायिक ढंगबाट ल्याएका अध्यादेश लगायतका विषय कार्यान्वयन गर्न नदिएको आरोप कांग्रेस एमालेलाई लगाएका छन् । 
बाबुरामले आफ्नो अक्षमताको आत्मुल्याङ्कन गरेका छैनन् । सार्वजनिक फोरममा हर प्रकारले आफ्नो अक्षमताको दोष अरुलाई दिने गरेका छन् । पेट्रोलियमको भाउ बढाएर जनताले थेग्नै नसक्ने महँगीको निर्धारणपनि उनले गरेका छन् । जनतामुखि सरकार भन्दापनि पार्टी र परिवारमुखि सरकार सञ्चालनले जनसतह अहिले उनीसँग रुष्ट छ । उनले आफ्नो कमजोरी स्वीकार गरेर सत्ता छाडी सहमतिका लागि विकल्प दिनुको साटो अरुलाई दोष दिएर आत्मरती दर्शाएका छन् । यस्तो समस्या सार्वजनिक पदको ठूलो हैसियतमा रहेका बेलामात्र नभएर उनकै पार्टी एकीकृत माओवादीभित्र पनि उनले कायम राखेका थिए । जसका कारण जनार्दन शर्माले उनलाई गाली नै गरेका थिए । त्यतिमात्र होइन, मजदुर नेता शालिकराम जम्मकट्टेलले पनि उनको अक्षमताको दोष अरुलाई लगाउने लगायतका कामको खण्डन गरेका थिए ।

संविधानसभाको अवसानपछि उनको सरकारले एक्लौटी रुपमा गरेका निर्णयहरु निरन्तर जनताको ढाड सेकिरहेको छ । सहमतीय राजनीतिको बाटोलाई छाडेर अधिनायकवादी शैलीलाई पछ्याएको सरकार–राष्ट्रपति सम्बन्ध, सरकारमा सहभागी दलको वेग्लै गठबन्धन र विपक्षी दलहरुको सम्बन्ध पनि चिसिएको छ । आफु सत्ता नछाड्ने र सहमतिको लिङ्गेरिङमा अरुलाई व्यस्त राखेर मुलुकलाई आर्थिक, सामाजिक संकटमा राख्ने काममा बाबुराम सरकार अग्रणी देखिएको छ । भलै समय र परिस्थितको भुमिका पनि उनको अक्षमताको कारण होला तर यस्तो समयमा प्रधानमन्त्रीको जिम्मेवारीमा पुगेका उनले मुलुकमा भइरहेका हर प्रकारका कमजोरको अपजस बोक्नुपर्दछ । हैन भने आफ्नो कमजोरीलाई स्वीकार गरी स्थिर राजनीतिक प्रणालीका लागि सहमतिको वातावरण बनाएर पद त्याग गर्नु उचित हुन्छ । 

No comments:

Post a Comment