Monday, September 24, 2012

गिर्दो राजनीतिक व्यवस्था र पुष्पाको उचाई


विनोद ढकाल

अहिले दुइथरीका सडकसंवाद चलिरहेका छन् । विहीबार पछिका दिनहरुमा नयाँ सरकार कसको नेतृत्वमा बन्ने राजनीतिक चर्चा ‘चिया बहस’ हुन थालेको छ । राजनीति र त्यसबारेमा चासो राख्ने व्यक्तिहरु तथा विभिन्न दलका कार्यकर्तामाझ यो चर्चा व्यापक भएको छ । नयाँ सरकार कहिले बन्ला र कसले त्यसको नेतृत्व गर्ला भन्ने आफ्ना व्यक्तिगत टिप्पणी गर्नेहरु कम छैनन् । त्यस्तै सहरको अर्को चर्चा बनेको छ यसपालीको सीएनएन हिरो नेपाली बन्छन् की बन्दैनन् भन्ने । सामाजिक कार्यकर्ता, आम साधारणको चर्चाको विषयचाँही नेपाली समाजसेवी पुष्पा बस्नेत सीएनएन हिरोको रुपमा छनौट भएको छ । सडक टिप्पणीहरु कुनैपनि विषयका लागि असरदार नहुन सक्छ । तर, यस्ता टिप्पणीले जनसाधारणको मत÷अभिमत कसरी परिवर्तित हुँदै भन्ने भेऊ दिन्छ । संविधानसभाको विघटनपछिका राजनीतिक गतिविधि त्यसमा छचल्किएका आसाधारणका टिप्पणीहरु आशावादी छैनन् । तर, पुष्पालाई यस पटकपनि सीएनएन हिरो बनाउन सकिने विषयमा भने आशावादी चर्चाहरु कायम छन् । राजनीतिक दलका नेताहरुको ‘फेलर’ कर्महरुको बारेमा आलोचनात्मक टिप्पणी र पुष्पाको समाजसेवाको सफलतासहितका सकारात्मक टिप्पणीहरु सहरमा सुनिन थालेका छन् । जे होस् नेपाली राजनीतिको अहिलेको मोड आम नागरिकको टिप्पणीले तत्काल प्रभाप ापार्न सक्तैन । राजनीतिक दल र तिनका नेताहरुको डिसिजनका आधारमा राजनीतिक दिशा तय हुन्छ । सडकमा राजनीतिमाथिको आलोचनालाई रगड्नुले तत्काल केही परिवर्तन भइहाल्छ भन्ने आशा गर्न सकिन्न । तर, पुष्पालाई हिरो बनाउनका लागिचाँही सडक टिप्पणी गर्नेहरुको भोट नै आवश्यक हुन्छ । जुन प्रभावकारी बन्ने निश्चितप्रायः छ । राजनीतिक व्यवस्था गिर्दो भएकाबेला पुष्पाबारेका चर्चाका कारण उनको उचाइचाँही चुलिँदो छ । उनको कामबाट चुलिएको उचाइ अव चर्चामा झनै उक्लिँदो छ ।
‘कर्म गर फलको आशा नगर ।’ यहि वाणीलाई आत्मसाथ गर्ने निक्कै कमैमात्र मानिसहरु छन् । सामाजिक सेवामा सक्रिय हुनुलाई आलोचनात्मक नजरबाट हेर्ने स्वार्थी समाज, सहरका लागि उदाहरणका कारणहरु नेपाली भुमिबाट नै प्रत्येक वर्ष उदाइरहेका छन् । भट्टीमा हज्जारौं खर्च गरेर गरिवि, अशिक्षा र सेवामुखि काममाथि तुच्छ टिप्पणी गर्ने समाजमा सेवा गर्ने हातहरु नै सफलताका प्रतिक बन्न सक्छन् भन्ने उदाहरणहरु प्रतिवर्ष देखिन थालेका छन् । समाजमा अनेक गतिला काम गर्नेहरु नै विश्वव्यापी ताजका लायक हुन् । अनुराधा कोइरालाले गरेको सेवा र उनको आँटका कारण सीएनएन हिरो बनेकी थिइन् । यो खुसी र यसको श्रेय नेपालीले पाए, जहाँबाट नेपालीको शिर उठ्ने वातावरण बन्यो । विश्वबजारमा गुमनाम भएका नामहरु सामाजिक सेवाका क्षेत्रमा आफ्नो अविरल यात्रा पुरा गर्नेहरुले उठाइरहेका छन् । चरीमाया तामाङ् अर्की विश्वप्रसिद्ध उदाहरण हुन् । जसले बेचिएका चेलीहरुको पुनस्थापना र न्यायका लागि समाजमा लडिरहेकी छिन् ।
फेरि, नेपालीहरुको खुसी र साहसका लागि अर्को नाम चयन भएको छ । पुष्पा, जो कारागारमा रहेका बालबालिकाका लागि समर्पित एक महिला हुन् । जीवन अरुका लागि बाँचेर सिक्नुपर्ने उदाहरणकी पात्र हुन् । उनी अमेरिकी टेलिभिजन च्यानल सीएनएनले विश्वमा खोजिरहेको ‘हिरो’को उत्कृष्ट दशमा छनौट भइन् । यो मात्र पनि खुसीको सानो विषय होइन । नेपाली समाजमा भएका सेवामुखि हातहरु आफ्नै मुलुकले चिन्न नसकेपनि विश्वमा उनको कदर असामान्य गतिविधिबाटै हुने उदाहरण हामीले देखिसकेका छौं, अनुराधा कोइरालाको जीतबाट । अव, पुष्पाको छनौटले नेपाल सामाजिक क्षेत्रमा पनि अगाडी रहेको उदाहरण विश्वमा व्यापक भएको छ ।
उनको समाजसेवाबारे नेपाल सरकारले कहिलेपनि कदर गर्न सकेन । राजनीतिक दल, तिनका कार्यकर्ता र वरीपरि घुम्ने ‘चाटुकार’हरुका लागिमात्र बनेको सरकारले सामाजिक हित, संरक्षण र त्यसमा लागेका गतिला अनुहारहरुको कदर गर्न सकेन । तर, विश्वबजारमा अविरल सेवा गर्नेहरु सम्मानका ‘मौताज’ हुन्छन् भन्ने विषयको प्रमाण बनीसकेकी छिन् पुष्पा । अव उनलाई जीतको खाँचो छ । उनका आँखामा हर्षका आँशु छचल्किनु स्वभाविक हो । जुन समाज र सहर स्वार्थहरुलेमात्र भरिएको छ । जुन मुलुक राजनीति, सामाजिक र आर्थिक संकटबाट गुज्रिरहेको छ त्यहाँ बसेर अरुको सेवामा आफ्नो जीवन समर्पण गर्नेहरु सरकारको नजरमा सम्मान हुने लहरमा पर्न सकेन । तर, पहिलो विश्वले त्यस्ता व्यक्तिको खोजी गरी उत्कृष्ट दशमा पार्नुले सत्ताको लडाइ, सत्ताको मातमा उम्लिएको राजनीतिक दल र तिनका नेताहरुले चिन्न नसकेको अनुहारलाई विश्वउत्कृष्टताको वरियतामा राखेर झापड लगाएको छ । छनौटकर्ता सीएनएन टेलिभिजनले जारी गरेको विज्ञप्तिमा भनिएको छ–‘पुष्पाको समाजसेवा, उनले २१ बर्षको उमेरदेखि घरै छाडेर सातबर्षसम्म गरेको सेवामुखि काम नै उनको छनौटको मुख्य आधार हो ।’
सीएनएन हिरो–२०१२ का प्रतिस्पर्धीमध्ये विश्वव्यापी मत पाएका दसमा पर्ने पुष्पा सबभन्दा कान्छी समाजसेवी हुन् । उनी सीएनएनले सार्वजनिक गरेको सूचीमा सबभन्दा अगाडि छिन् । परिवार छाडेर सात वर्षदेखि अपराधको सजाय भोगीरहेका महिलाका सन्तानको हेरचाह गर्नु चानचुने कुरा होइन । नेपाल सरकारले त्यस्ता बालबालिकाको सुरक्षा, शिक्षादिक्षाका लागि खास कार्यक्रम गरेको छैन । कार्यकर्ताको भरणपोषण, अरबौं भ्रष्टाचारका निम्ति तयार पारिएको रकम राज्यसँग हुन्छ तर त्यस्ता पीडितका लागि सरकारी कोषमा रकम तय गरिँदैन । यद्यपि, राजनीतिमा नालायकीपन बढेपनि पुष्पाजस्ता दिलदार सेवकहरु समाजमा हुनुले बालबालिकाहरुको सेवा भइरहेको छ । जसको परिणाममा आज विश्वव्यापी रुपमा उनको नाम उत्कृष्ट दशको पहिलो नम्बरमा दर्जियो ।
अल्पविकसीत मुलुकमा रहेरपनि सामाजिक सेवामा उत्कृष्ट कर्म गर्नेहरु विश्वमा चम्किने अवसरहरु बारम्बार आइरहेका छन् । हरेक वर्ष कुनै न कुनै माध्यमबाट समाजमा आफ्ना सेवामुखि हातलाई कर्मठ बनाएका निडर, साहसीक महिलाहरु सम्मानित, पुरस्कृत हुने अवसर पाइरहेका छन् । यो अवसरलाई हर सकारात्मक सोच राख्ने नेपालीहरुले प्रयोग गर्न आवश्यक छ । यो पुष्पाको साहसीक कामको इज्जतमात्र होइन, मुलुकलाई सम्मान दिलाउने अवसर पनि हो । विश्वमा नेपालजस्तो सानो मुलुक मानचित्रमा खोज्दापनि भेटिन्न तर पुष्पाजस्ता साहसीक मानिसहरुको कर्मले नै मानचित्रमा खोज्न बाध्य पारिरहेको छ । नेपाली धर्तीमा हुर्किएको सामाजिक हातलाई नै फेरिपनि जीताउने अवसर आम नागरिकसँग छ । इन्टरनेटमा पहुँच पुगेका हर कोहीले जीताउन सक्ने अवसर प्राप्त भएको छ । त्यसकारण पुष्पालाई जीताउन लागि परौं ।
उत्कृष्ट १० को नतिजा सार्वजनिक गर्नेबित्तिकै सीएनएनले बिहीबारैबाट विश्वव्यापी मतदान पनि खुला गरेको छ । जसले बढी मत ल्याउँछ उसैलाई आगामी डिसेम्बर २ मा सीएनएन हिरो–२०१२ घोषणा गरिनेछ । मतदान नोभेम्बर २८ को मध्यरातसम्म गर्न पाइने छ । ‘सीएनएन हिरो डटकम’ खोलेर पुष्पालाई सोझै मत हाल्न सकिन्छ । सीएनएनको नियमअनुसार एक दिनमा एक जनाले एउटा इमेलबाट दसवटा मत हाल्न पाउँछ । फरक फरक इमेल भएपनि भोट गर्न पाउनेछ । एकै जनाले एकै दिनमा सयौं मत पुष्पालाई दिन सक्नेछ । फेसबुक र ट्वीटरको प्रयोग गरेर पनि मत हाल्न पाइने छ ।
सोमबारको तरुण साप्ताहिकमा प्रकाशित नियमित स्तम्भ सरोकार

No comments:

Post a Comment