विनोद ढकाल
एउटा मान्छे हुन्छ, एउटा योद्धा हुन्छ । मान्छे मर्छ, स्वास्नी विधवा हुन्छे, छोराले वरखी बार्छ । योद्धा मर्छ, राष्ट्र विधवा हुन्छ, इतिहाँसले बरखी वार्छ । – स्व. मदन भण्डारी ।
नेपाली राजनीतिमा इतिहाँसले कति बरखी बारेको छ त्यो थाहा छैन । तर, १७ हजार परिवारका छोराले वरखी बारेकोचाँही केहीमात्रमा देखियो, धेरैमात्रामा सुनियो र त्योभन्दा पनि ज्यादा पढियो । द्वन्द्वको आलो घाउमा रुमल्लिएका कतिपय कथाहरुसँग आँखाका परेली र मनका तरेली पनि भिजाइयो । ‘हेडसर’ हाम्रो परिवारमा बाबाका लागि सम्बोधन गर्ने नाम हो । उनको जीवनको एउटा पाटोमा युद्धको चोटसँग साक्षात्कार पनि गरियो । द्वन्द्वको प्रभावबाट उन्मुक्त हुन पाइएन । आफुभित्रबाट सुरु भएको यो चोटको अर्काे कथा द्वारिका तिम्सिनाको हत्या पनि हो । सप्तरीको फत्तेपुर गाविस वडा नम्बर ९ मा बसेर नेपाली समाजका लागि राजनीति थालेका उनी दुध बेचेर परिवार चलाउँथे । उनी दुध पु¥याउन जाँदा तत्कालिन शाही सेनाले सोधपुछका लागि लगेको थियो । उनको ट्यामी (दुध बोक्ने भाँडो) केहीदिनमा फर्केर घर पुग्यो । तर, अहिलेसम्म तिम्सिनाको सासको त कुरै छाडौं लासपनि पुगेको छैन । माओवादीहरुले नै उनको हत्या भएको पुष्टि गरे, राज्यले अहिलेसम्म पनि गरेको छैन ।
मुलुकको समग्र युद्धविश्लेषण गर्दा यो सामान्य घटना लाग्न सक्दछ । तर, यो वडा नम्बर ९ का लागि राज्यको भन्दा विशाल, भयानक र डरलाग्दो घटना थियो । उनका छिमेकीका लागि कयन वर्षहरुसम्म आलै रहने युद्धको डोभ हो । त्यो समाजले प्रत्यक्ष साक्षात्कार गरेको मुल घटना हो । समाजले त्यो परिवारभित्र देखेका उतारचढाव र त्यो परिवारले भोगेको कष्टहरुको स्मरणको कथा हो । यो त्यो समाजका लागि भयंकर इतिहाँस हो । अनि, परिवारका लागि प्रलय गएको घटना । यस्तो प्रलय जसले परिवारको छतमात्र उडाएन, आम्दानीको स्रोत, भरोसाको आड, घरको मेरुदण्ड भत्काएको डरलाग्दो विगत हो । स–साना बालकालिका छोराछोरीमाथि परेको युद्धको चोट थियो, बालअधिकारका कुरा गरिरहँदा परिवारभित्र युद्धको भुमरीलाई छिचोल्नुपर्ने बाध्यताको स्वरुप थियो । अनि, कथित मानवअधिकारको गम्भिर उल्लङ्घन त हुँदै हो ।
नेपाली समाजमा यस्ता कथाहरु कयन छन् । धेरै मानिसहरु द्वन्द्वको अविश्मरणीय यातनाको भागीदार भएर पनि बाँचेका छन् । त्यो संस्मरणसँग अहिलेपनि साक्षात्कार गरिरहेका छन् । त्यो भावनालाई खुलामञ्चमा पोख्ने अधिकारचाँही उनले पाएका छैनन्, भलै द्वन्द्वको नमूनाका रुपमा उठेको राजनीतिक आन्दोलनका धोकेबाजहरु अहिलेपनि खुला राजनीतिमा संभ्रान्त अनुहारहरुमा देखिइरहेका छन् । हिंसात्मक द्वन्द्वको एउटा कालखण्डसँग कयन परिवारहरुका वेदना जोडिएका छन् । ती वेदनाहरु संवेदना भएर अभिव्यक्त गर्ने अवसर अहिलेसम्म पनि पाउन सकेको अवस्था छैन । युद्धको डोभमा रुमल्लिएको मुलुकमा त्यस्ता चोटका भागीदारहरु अहिलेपनि कोही अपांग, कोही विधवा, कोही टुहुरोको अवस्थामा पुगेका छन् । विगत, वर्तमान र भविष्यलाई युद्धको चोटसँगको सान्दर्भिकतासँग विश्लेषण गरेर बसेका छन् । कतिपय मानसिक रोगीको सिकार भएका छन् । धेरैको मनमा उठेका कयन प्रश्नहरुको उत्तर प्रचण्डका गालामा लागेका थप्पडका डामहरुसँग रुमल्लिएका छन् ।
यो युद्धको चोटमाथि एउटा फोहोरी राजनीति अहिलेपनि हावी भइरहेको छ । मानिसका संवेदनाहरु, पीडाहरु, नेपालीका मन र मस्तिष्कका चाहनाहरु अहिले अवहेलनामा परेका छन् । अधिकारका नाममा गरेका आन्दोलनहरु, युद्धहरु, छर्रा बोकेका शरिरहरुको वेवास्ता भएको छ । शरिरभित्र युद्धको छर्रा बोकेका मानिसहरुको पीडा नेपाली राजनीतिको गुञ्जायस हुन सकेको छैन । युद्धको नाममा अवसरको खेती गर्नेहरु, तिनका परिवार, तिनका भाइभारदार र सामाजिक अपराधी, तस्कर, अवसरवादीहरुका लागि युद्धले उठाएको राजनीतिको लाभ छ । युद्धबाट प्राप्त प्रजातन्त्रको लाभांश दलित, उत्पीडित, गरिव, जनजाती, मधेसी, ब्राम्हणक्षेत्री जस्ता आम साधारणका हातमा छैनन् । उनले पाएका छैनन्, भेट्टाएका छैनन् । अझै विभिन्न प्रकारका गुनासा गर्दै माग गरिरहेका छन् । यी अनुभवहरु खोज्न जानु पर्दैन रुकुमदेखि सल्यानसम्म, झापादेखि सप्तरीसम्म, महेन्द्रनगरदेखि नुवाकोटसम्म र बाँदरमुडेमा हुर्किरहेका संवेदनायुक्त मानववस्तीसँग छ । त्यो बस्तीमा पुगेर सोध्दा हुन्छ कुन कुन युद्धको डोभ अहिलेपनि कायम छ ? उत्तरहरु आँसु, वेदना, ¥यालसिंगान, उजाडिएका सिउँदो, अलमलिएका किशोर, विद्यालय छाडेका नाबालक, अपांग भएका युवा देख्दा नै आउँछ । गाउँ र वस्तीमा अहिलेपनि संवेदनाका थाकहरु छन् । युद्धको बधशालामा पेलिएका व्यक्तिको परिवारका सदस्यहरुसँग पीडाका भकारी छन् । खुसीका कुनै अंश भेट्न सकिँदैन, व्यक्त गर्ने अवसरको कमी पनि छ ।
युद्धका अनेक पीडाहरुको अभिव्यक्त हरेक प्रकारबाट भइरहेको सन्दर्भमा शव्दचित्रबाट पनि गर्ने प्रयत्न भएकै हो । तत्कालिन शाही सेनाले चलाएको अपरेशनमा मानिसहरुले खेपेको युद्धपीडाको अभिव्यक्ति लोकतन्त्रको सम्मान नै हो । कर्णेल कुमार लामा बेलायतमा बन्धक बनाइनु अपराध होइन, मुलुकले उनीममाथि छानविन गरेन, अर्को मुलुकले उनीमाथि कारवाही नै अगाडी बढायो । त्यसका प्राविधकि, राजनीतिक, सामाजिक कारण होलान् त्यो फरक सन्दर्भ हुन्छ । तर, कथा एउटै हो युद्धको डोभ, त्यसले चलाएको बधशालाका विशेषण्को उपज पनि मान्न सकिन्छ ।
सायद आजबाट मानिसका पीडाको अभिव्यक्ति बोकेर शव्दचित्र, चलचित्र ‘बधशाला’ बजारमा आउँदैछ । यो नेपाली समाजसँग जोडिएको कथाको अंश हुनुपर्दछ । ‘बधशाला’ तत्कालिन राज्यले दिएको यातनाको कथा हो । बधशाला व्यक्त हुन नसकेका भावनाको दर्पणका रुपमा पनि आएको छ । यो चलचित्रको मुल उद्देश्य नाफा कमाउने भन्दापनि युद्धमा राज्यले दिएको पीडालाई अभिव्यक्त गर्ने माध्यमका रुपमा ल्याउने प्रयास थियो । निर्देशक मनोज पण्डितसँग यसैको स्क्रिप्ट तयार गर्नेक्रममा कयन पटक मानिसका संवेदनाका बारेमा चर्चा भएको थियो । युद्ध अपराधीहरुको बारेमा बारम्बार छलफल भएकै हो । युद्धको अपराध गर्नेहरु कुनै एक पक्षसँगमात्र हुँदैन, संवेदनाहिन राज्य अवसरवादी नेतृत्वसँग पनि हुन्छ भन्ने कुराको मनथन भएको छ । पूर्वमा कोसीले कति निर्दोषका लाससँग साक्षात्कार गरेको थियो ? खोला किनारमा युद्ध र भिडन्तका नाममा कति निर्दोषहरु बाँधिएर गोलीको शिकार बनाइयो ? कति महिलाहरुको सिंदुरलाई सस्तो बनाइयो भन्ने कुराको हिसावकिताव हुन सक्तैन । एउटा राज्यका लागि यो सामान्य विषय लाग्न सक्छ तर एउटा विपन्न परिवारको सदस्यका लागि कति भयानक र जीवनपर्यन्तसम्मको कथा हो भन्ने विषयको लेखाजोखा हुँदैन ।
जव–जव राज्य मानिसको संवेदनामाथि राजनीति गर्दछ । उसको संवेदनालाई हिनताको नजरले हेर्छ । उसको अधिकारलाई कुण्ठित बनाउने प्रयास गर्छ । आम मानिसको अभिव्यक्तिको अधिकारलाई सेन्सरका नाममा छोप्ने प्रयास गर्छ अनि एउटा वागी अथवा विद्रोहीको भावना जागृत हुन्छ । निषेधको राजनीति, निषेधको प्रशासनयन्त्रले नै मुलुकमा आम मानिसलाई विद्रोही बनाउँदै लैजान्छ । मुट्ठीभर व्यक्तिहरु जव आर्थिक, राजनीतिक र सत्ताको लोभमा मानिसको संवेदनालाई सम्झौतामार्फत विक्रि गर्न जव उत्रिन्छन् उनको भविष्य पनि गतिलोचाँही हुँदैन । अहिलेको सान्दर्भिकता भनेकै अझै हामी दरबारीया, एकतन्त्रीय र निषेधको राजनीतिबाट उन्मुक्त हुन सकेका छैनौं । सारा दुनियाँलाई थाहा छ मदन भण्डारीको हत्या भएको थियो । उनको हत्यालाई अभिव्यक्तिका रुपमा बजारमा ल्याउन खोज्दापनि यहि राज्यको नेतृत्वमा रहेको एमाले सरकारले सेन्सर ग¥यो । उनको हत्यालाई निकृष्ट बनाउने प्रयत्न गरेको थियो । फेरि सारा दुनियाँ अहिलेपनि दश बर्षे हतियारको युद्धका बारेमा अहिले संश्लेषण गरिरहेका छन् । यसको समीक्षा गरिरहेका छन् । तर, त्यहि विद्रोह उचाल्ने प्रचण्डहरुले सत्ता हातमा लिएपछि आफ्ना अभिव्यक्तिहरुलाई शव्दचित्रमार्फत जनतालाई देखाउने, बुझाउने प्रयासका बाधक बनिरहेका छन् । यो अधिकार यीनलाई कसले दियो ? तानाशाही, निरंकुश र अंकुश लगाउने वैचारिक र व्यवाहारिक काममा अभ्यस्त भएका यस्तो नेतृत्व, यस्तो सरकारलाई लोकतान्त्रिक मान्न सकिँदैन जसले जनताको संवेदनाहरुमाथि सेन्सर गरिरहेको छ । जसले मानिसका अभिव्यक्तिमाथि आफ्नो मुढेबलको प्रशासनयन्त्रको दुरुपयोग गरिरहेको छ । समाजका अपराधीहरुको अपराधलाई संरक्षण गर्ने, भ्रष्टाचारको संरक्षण गर्ने, नातावादको कामलाई व्यापक दिने तर आम जनताको भावनामाथि सेन्सर गर्ने लोकतन्त्रको खोल ओढेर तानाशाहको व्यवाहार देखाउने दलिय संयन्त्र, दलिय व्यवाहारको विरोध गर्नु उपयुक्त हुन्छ की हुँदैन ? अव हामीले आफ्ना पीडाहरु सडकमा, सहरमा, शव्दमा, अक्षरमा, चित्रमा, चलचित्रमा भन्न पाउने कि नपाउने ? खुलेआमा छाडा गालीगर्ने राजनीतिको हिम्मत राख्ने यी राजनीतिक दलहरु र तिनका नेतृत्वमा रहेका मुट्ठीभर अवसरवादीहरुको दिल किन जल्छ, जनताको संवेदना सार्वजनिक हुँदा ? यो प्रश्न पाठक, दर्शक र आम नागरिकका लागि फ्याँकेर विट मार्छु ।
No comments:
Post a Comment