विनोद ढकाल
भनिन्छ, भावनामा बगेर राजनीतिक निर्णय हुँदैन । संवेदनालाई पोल्टामा राखेर परिवर्तनको गीत पनि गाउन सकिन्न । विश्वका भिन्न मुलुकका क्रान्तिहरु हेर्ने हो भनेपनि त्यहाँ संवेदनाका गुञ्जायसहरु जीवित राखिएका थिएनन् । नेपालपनि यी र यस्ता अवस्थासँग लामो समय साक्षात्कार गरेको मुलुक हो । प्रजातन्त्रका लागि कयन पटक आन्दोलन, सहादत र परिवर्तन पाउँदै, गुमाउँदै आएको मुलुक हो । हुन त नेपालीसँग अव गुमाउनका लागि केही पनि छैन । प्राप्त लोकतान्त्रिक गणतन्त्र संस्थागत गर्नुको साटो फेरि पनि छ वर्ष पछि धकेलिएका छौं हामी । तर, यी छ वर्षको समीक्षा सकारात्मक रुपमा किन हुन सकेन ? एउटा आम नागरिक बाँच्नका लागि अहिलेपनि सडकमैदानमा कडा संघर्ष गरिरहेको छ । यो छवर्षको अवधिमा नेपाली राजनीतिक दलका मुर्धन्य खेलाडीहरुले किन नागरिकको अपमान गरेका होलान् ? यस्तो मनोवाद स्वभाविक रुपमा चल्न थाल्छ, जव सतहको खास नागरिकको संघर्षसँग साक्षात्कार हुन्छ ।
दश कक्षासम्म पढेका हरिनारायण चौधरी आफ्नी श्रीमति, आमा र छोरीका लागि खुट्टाले लेखेर इटहरीको सडकमा लोकतन्त्रको मर्दन गरिरहेका छन् । उनी राम्रोसँग बोल्न सक्तैनन्, केही अक्षरहरु लेखेर सडकयात्रीले दिएको रकमले गुजारा चलाउँछन् । उनले दिनमा दुई सय रुपियाँ त्यसरी जम्मा पार्नपनि मुस्किल पर्दछ । तर उनको त्यो बाध्यता हो, कठोर बनीसकेको नेपाली समाजसँग जुध्नका लागि उनी सडकमा उत्रिएका हुन् । उनलाई नेपाली नाम चलेका मानिसँग दाँज्नैपर्दा झमककुमारी घिमिरेसँग समान राख्न सकिन्छ । झमकको अवस्था र उनको शारिरीक अवस्थामा कुनै फरक छैन । फरक छ त यत्ति हो झमककुमारी चर्चामा आएकी छन् तर हरिनारायण पर्चामा आउन सकेका छैनन् । उनको रहरपनि होइन पर्चामा आउने । उनको रहर हो आफु र आफ्ना परिवारका सदस्य जोगाउने । उनको रहर हो सुनुसरीको झुमकामा डेरा भाडा पाँच सय रुपियाँ तिर्ने र दैनिक छाक टार्ने । उनको समस्या हो, ८० वर्षकी आमाको उपचार गर्ने र दैनिकी चलाउने । स्तम्भकारसँगको संवादनका क्रममा हरिनारायण निकै भावुक थिए । ‘यसरी कसैले सोधेको थिएन, कसैले यो सडकमा सोध्दैन । दया लाग्नेले १०÷५ रुपियाँ छाडेर जान्छ, कतिपयले दिदैनन् पनि ।’ उनले मनको वेदना यसरी पोखेका थिए । हुन त नेपाली राजनीतिको प्रभावबाट मुक्त हुन नसकेको, संवेदनाहिन बन्दै गएको समाजका अगाडी हरिनारायणको कथाव्यथा सामान्य नै लाग्न सक्छ । तर, उनका लागि त्यो भयानक कथा हो । संघर्षको मैदानमा पीडासँग प्रतिष्पर्धा गर्ने हरिनारायणका लागि नेपाली राजनीतिको कुनै अर्थ पनि छैन । परिवर्तनले उनको जीवनलाई के दिन सक्छ ? जव लोकतन्त्र प्राप्त भयो उनका बुबा पाण्डव सिंह चौधरीको मृत्यु भयो । उनका जेठा दाई पागल भए उनको पनि मृत्यु भयो । जमिन्दार परिवारमा जन्मिएपनि जन्मसिद्ध शारिरीक रुपमा कमजोर भएका उनको सम्पत्तिमाथिको हक उनका माइलादाजुले खोसे । बाबुले कमाइदिएको सम्पत्ति थामिनसक्नु छ तर उनले उपभोग गर्न पाएका छैनन् । माइला दाइले धोका दिएर आमासहित उनलाई घरनिकाला गरिदिए । यहि लोकतान्त्रिक व्यवस्था हो, जहाँ उनी यसरी प्रताडित भएर सडकपेटीमा आफ्नो सृजनालाई विक्रि गरिरहेका छन्, मनभित्र अनेक वेदनाहरु बोकेर । तर, यहि व्यवस्थामा हुर्किएका फरक–फरक अनुहारहरु हुन् उनको सृजनामाथि पनि दया गर्दैनन्, उनको वेदना कसले सुनिदिने ? उनका लागि राज्य कहाँ छ ? अपांगता भत्ताका लागि रातो कार्ड बनाएको चार वर्ष भयो । तर, अहिलेसम्म उनको नामको भत्ताले कुन कर्मचारीको घर चलेको छ ? त्यो पनि थाहा छैन । यो, लोकतन्त्रमा हुर्किएका हरिनारायणको मौजुदा जीवनसँग अनेक अनुभव छन् । परिवर्तनको ढोल पिटिन्छ तर उनको कानसम्म त्यो ढोलको गुञ्ज आउन सकेको छैन, उनले लोकतन्त्र छुने, महसुस गर्ने कुरा त परै जओस् । यी एक पात्र हुन् तर यस्ता पात्रहरु मुलुकमा अनेक छन् जसले राजनीतिक परिवर्तनको त कुरै जाओस परिवारदेखि समाजको साहाराको महसुस सम्म गर्न सकेका छैनन् ।
यस्तै परिवर्तनको हौवासँगै २०६४ सालमा भएको संविधानसभाको चुनावको उपलव्धी केही पनि हुन सकेन । राजनीतिलाई व्यावसायका रुपमा अवलम्बन गरेका सीमित मानिसहरुको उद्योग मुनाफामा चल्यो, नेपाली जनसतहले त्यसको भार खेप्यो । उपलव्धि कमजोर रह्यो । एउटा उद्योगले पनि मुनाफा कमाएअनुसार उत्पादन बजारमा पठाउँछ तर हामीले भोगेको राजनीतिक उत्पादनशुन्य तर मुनाफाकेन्द्रितमात्र रह्यो । त्यसबखत चुनावका लागि खर्च भएको अरबौं रकमको हिसावकिताव, संविधानसभामा छ सय एक जनाले विभिन्न बाहनामा पचाएको अरबौं रकम अनि त्यसका लागि खर्च भएका रकमहरुको हिसावकिताव छैन । यदि असफल संविधानसभामा रकम खर्च गर्नुको उपलव्धी केही थिएन भने त्यो रकम राज्यको विकासका लागि खर्च गर्दा अथवा सरकारी लगानीको कुनै खास जलविद्युत उत्पादन गरेको भए नेपालीजन राजनीतिक अन्धारसँग लोडसेडिङको अन्धकारपनि झेल्न बाध्य हुने थिएनन् । छ वर्षमा संविधान आउन सकेन, शान्ति आउन सकेन तर त्यसका लागि खर्च गरिएको रकम पावर हाउस निर्माणमा खर्च गरेको भए त्यो पक्कै आउने थियो र ०७० को सुरुआती दिनदेखि व्याप्त अन्धकारबाट आमसाधारणले मुक्ति पाउने थिए । नेपाली जनताले यो कालखण्डमा धेरैकुरा गुमाएका छन् । सवैको चर्चा गरेर साध्य हुने अवस्था पनि छैन । कुनै खास उपलव्धी र प्रशंशायोग्य काम केही पाइएको छैन । लोकतन्त्रको छ वर्षमा कसले के पायो ? कुन नेताले कस्तो गाडी चढ्यो ? उनकी श्रीमतिले कति महँगा साडी लगाइन् ? कसको बैंकखातामा कति रकम जम्मा भयो ? सीमित मानिसहरु कसरी धनाड्यवर्गमा पुगे ? औंला भाँचेर विश्लेषण गर्न सकिने अवस्थामा हामी पुग्यौं । तर, कति युवाहरु मुलुकबाहिर पुगे, कति जनताका खेतमा उव्जनी हुन सकेन, कति जमिनहरु बाँझै छन् ? यसको विश्लेषण गरी त्यसले निम्त्याउनसक्ने दुष्परिणामका बारेमा हामी सजग सतर्क हुन सकेका छैनौं ।
हरिनारायणका वेदना, युद्धमा मारिएका १७ हजार परिवार, जनआन्दोलनमा प्रभावित पारिएका लाखौं समुदायका अपेक्षाहरु समृद्ध मुलुक नै हो । नयाँ व्यवस्था र त्यसले विकासको अग्रगति लिएर दिनुपर्ने सुलभताको अपेक्षा नै हो । तर, फेरिपनि चक्रव्युहको राजनीतिको बाटो कता हो भन्ने अलमल र अन्योलग्रस्त टिप्पणीमा अभ्यस्त हुने अवस्था छ । यो संगिन अवस्थामा असफल राजनीतिक व्यवस्थालाई पार लगाउनका लागि प्रधानन्यायाधिश खिलराज रेग्मीको नेतृत्वमा नयाँ सरकार बनेको छ । चुनावकेन्द्रित गरेर बनेको यो सरकारले चक्रव्युहबाट बाटो पहिल्याउने हुँकार छाडिन थालेको छ । हेरौं, यो सरकारले कस्तो बाटो र कसरी पत्ता लगाउन सक्नेछ । अव हरिनारायणहरुको न्यायका लागि कस्तो व्यवस्था सृजना गर्ने पथमा यो मन्त्रीपरिषद् दौडने छ । किनभने निर्दलीय व्यवस्थाले चुनावको आह्वान गरेर निकास दिएको इतिहाँस नेपालीजनसँग छैन । राजा महेन्द्रले पनि चुनाव गराएका थिए, तत्कालिन राजा ज्ञानेन्द्रले पनि चुनावको आह्वान गरेका थिए । ती कुनै पनि चुनाव हुन सकेनन् । राजाहरुले दलहरु असफल भएको घोषणा गरेरै यस्तो आह्वान गरेका थिए, यहाँ त दलहरु आफैं असफल भएको घोषणा गरी लिखितम् गरेर सत्ता बुझाएका छन् । अव यी नागरिकतहबाट, प्रशासनिक तहबाट गठित सरकारले के गर्ला त ? यावत् र उल्लेखित समस्याको सम्बोधनको मार्गनिर्दिष्ट गर्न सक्ला ? उत्तरको खोजी छ ।
wa
ReplyDelete