Sunday, March 31, 2013

मदिरा, मेनका र होस्टल

विनोद ढकाल
सायद, फागुनको अन्तिम साता थियो । तिनकुनेको रेष्टुरेन्टमा कफीसँग रमाइरहेको पंक्तिकारको छेउमा सात जनाको एक विद्यार्थी समुह आइपुग्यो । पंक्तिकार कफीको पर्खाइमा थियो, र ती सातजनाको संवादतिर ध्यानकेन्द्रितमा पनि । तीन जना किशोरीसहित बसेको त्यो टोलीले ‘हार्ड ड्रिंक्स’ माग्यो । कफि पिउँदासम्म उनीहरुको कुराकानीको संक्षिप्त सार निक्लियो । उनीहरु मदिरामा लिप्त हुने, मेनकाको नृत्य जसरी उन्माद रमाउने र होस्टल फर्किने चर्चामा थिए । न कुनै बन्धन, न कुनै चिन्ता । मात्र, मनोरञ्जनको दुनियाँमा रमाउने उनीहरुको चाहना अतृप्त थियो ।
पूर्वीय ग्रन्थले त्यसै उल्लेख गरेको थिएन मदिरा र मेनकाका चर्चा । मदिरा अर्थात् नशाका कुरा र मेनका अर्थात् युवतीका कुरा । यहि ग्रन्थका विविध पक्षमा अहिले काठमाडौं हराइरहेको छ । र, यसको एउटा पाटोमा नयाँ पुस्ता पनि रुमल्लिरहेको छ । भविष्यको चिन्ताविनै मजधारमा अलमलिएको छ । रेष्टुरेन्टमा मदिराको लत, कलेजमा ड्रग्सका कयन काण्डहरुमा मुछिएको छ । यो स्वभाविक कुरा होइन । अहिले लागुऔषध अपराध व्युरोको रेकर्डलाई हेर्ने हो भने पनि घटना वर्षैपिच्छे भयानक र भयावह हुँदै गइरहेको छ । अव यो अवस्थालाई नियन्त्रण गर्ने अथवा न्युनिकरण ? यसबारेको चर्चामा राज्य, अभिभावक र सम्बन्धित पक्ष उभिनु आवश्यक छ ।
नियन्त्रणका लागि नियमबन आवश्यक हुन्छ । न्युनिकरणका लागि जनचेतना । कतिपय समस्याहरु नियमबनबाट नियन्त्रण गर्दा भन्दा चेतनाबाट न्युनिकरण गर्दै लैजानुमा उपयुक्त देखिन्छन् । झनै मानिसका दैनिक कार्ययोजनाजस्तै बनेका कतिपय कुरालाई त निषेध गर्ने जमर्कोले त्यसको न्युनिकरण सम्भव छैन । काठमाडौंमा चलेका कयन राम्रा पाठशालाहरुको एउटा कथा छ । ती पाठशालाहरु विभिन्न बाहनामा वैज्ञापनिक दुनियाँमा छिरेर भएपनि चलिरहेका छन् । तिनले बर्षेनी कस्ता र कति राम्रा विद्यार्थीहरुको उत्पादन गरिरहेको छ त्यो एउटा कुरा । तर, पाठशालासँग जोडिएको होस्टेलले काठमाडौंको मुहारमा कुन छाप छाडिरहेको छ त्यो विश्लेषण गर्नैपर्ने वेला भइसकेको छ ।
गुरुकुल पौराणिक पाठशालाको नाम थियो । ग्रन्थहरुमा हामीले पढेका पनि छौं ती पाठशालाहरुसँग जोडिएका आवासको नै अंग्रेजी नाम होस्टल हो । पाठशालासँग जोडिएका अनेक आवासहरुमा शिक्षाका अतिरिक्त कक्षा हुनुपर्छ यो मान्यताले होस्टेलको विकास हुने हो । होस्टेल राज्यनीति सिकाउने संस्थासम्मका रुपमा परिभाषित भएका छन् । सामान्यतया अहिलेपनि गाउँघरतिर होस्टेल बसेर पढ्नेहरुको शैक्षिक समय व्यापक हुने भएकाले उनीहरु ‘ट्यालेन्ट’ हुन्छन् भन्ने चर्चा चलिरहन्छ । झन् राजधानीका होस्टेलहरुमा बस्नेका चर्चा कम्ति हुँदैन । तर, आजभोली होस्टेल शिक्षाको दिप लिएर अघि बढ्ने भन्दा पनि अपराधको अखडाका रुपमा परिभाषित हुन थालेका छन् । काठमाडौंका धेरै ठाउँमा खुलेका होस्टलहरु ड्रग्स, सेक्स र रंगिन दुनियाँमा भुल्ने अखडा बन्न थालेका छन् । यो प्रहरीले गरेको अध्ययनले पनि देखाएको छ ।
केही महिनाअघि बानेश्वरस्थित होस्टलबाट महानगरीय प्रहरीले तीनजनालाई ब्राउन सुगरसहित पक्राउ गरेको थियो । महानगरीय प्रहरीवृत्त नयाँ बानेश्वरले छ महिनामा विभिन्न अपराधबारे गरेको अनुसन्धानमा झण्डै ५० प्रतिशत अभियुक्तहरु होस्टलमा बस्ने, होस्टलबाट नै विभिन्न गैरकानुनी काम गर्ने फेला पारेको थियो । प्रहरीे तथ्याङ्कअनुसारे ६ महिनामा पक्राउ गरिएका तीन हजार ६ सय जना मध्ये एक हजार चार सय ४० होस्टेलमा बस्ने युवायुवती छन् । पक्राउ परेकामध्ये दुई सय ८८ जना विरद्ध विभिन्न अभियोगमा प्रहरीले मुद्दा नै चलाएको थियो । ज्यान मार्ने उद्योग, लागूऔषध, चोरीजस्ता अपराधमा होस्टेलमा बस्ने विद्यार्थीहरुको संलग्नता देखिएको प्रहरी अधिकारीहरुले बताएका छन् । लागूऔषध नियन्त्रण व्युरो नयाँबानेश्वरका अनुशार पनि पछिल्लो समय लागु औषध कारोवर तथा प्रयोगकर्तामा पनि होस्टेलका विद्यार्थीहरुको संख्या बढिरहेको छ ।
प्रहरी तथ्याङ्क यस्तो आएपछि गत पुसदेखि जिल्ला प्रशासन कार्यालय काठमाडौंले होस्टेल सञ्चालन तथा व्यवस्थापन सम्बन्धि मापदण्ड–२०६९ लागु गरेको थियो । प्रमुख जिल्ला अधिकारी संयोजक रहने ७ सदस्यीय जिल्ला अनुगमन समितिले होस्टेल नियमित अनुगमन गर्नुपर्ने व्यवस्था गरेपछि फागुनको अन्तिमसम्म अनुगमन हुन सकेको थिएन । मापदण्डअनुसार कम्तीमा ५० जना बस्ने भएपछि मात्र होस्टेल खोल्न पाईने, गैर विद्यार्थीलाई होस्टेलमा राख्न नपाईने, होस्टेलमा सुरक्षा गार्ड, वार्डेन व्यवस्था र सेवा शुल्क, गोपनियता, अनुशासन, आचारसंहिता लागु गर्नुपर्छ ।
नयाँबानेश्वर प्रहरी वृत्तका डिएसपी भिमप्रसाद ढकालका अनुसार होस्टलमा आपराधिक कृयालापमा संलग्न रहेका र विभिन्न अवैधानिक काम हुन थालेपछि अनुगमनको प्रस्ताव गरिएको थियो । अहिले उपत्यकामा सरदर पाँच सय होस्टल सञ्चालनमा रहेका छन् । तर ती मध्ये डेढ सयमात्र दर्ता र मापदण्डमा रहेको पत्ता लागेको छ । 
काठमाडौंका सहायक प्रमुख जिल्ला अधिकारीको संयोजकत्वमा छात्रवास (होस्टेल) सञ्चालन तथा व्यवस्थापनसम्बन्धी मापदण्ड मस्यौदा समितिले बनाएको मापदण्डअनुसार अनुगमन थमलिसबेबमे छ । काठमाडौंका प्रमुख जिल्ला अधिकारी चूडामणि शर्माको संयोजकत्वमा रहेको समितिमा स्थानीय विकास अधिकारी, जिल्ला शिक्षा अधिकारी, घरेलु अधिकृत, काठमाडौं प्रहरी परिसर प्रमुख, नेपाल होस्टेल व्यवसायी संगठन सदस्य र सहायक प्रमुख जिल्ला अधिकारी सदस्यसचिव रहेको अनुगमन समिति छ ।
होस्टेल एसोसिएसनकी अध्यक्ष किरण राजभण्डारीका अनुसार छात्रवास व्यवस्थित सञ्चालन गर्न अनुगमन सुरु गर्न लागिएको हो । केही छात्रवास सञ्चालकहरू मापदण्ड पूरा गर्नुको साटो ‘पेइङ गेस्ट’ राखेको भन्दै तर्किन थालेपछि अनुगमन सुरु गरेको राजभण्डारीले बताइन् । उनका अनुसार देशभरका हजारभन्दा बढी छात्रवासलाई एउटै छातामा ल्याएर सबैका समस्या समाधान गर्ने योजना छ ।
छात्रवासहरूमा लागुऔषध सेवन, गुण्डागर्दी र आपराधिक गतिविधि बढेको पाइएपछि अनुगमन सुरु गरिएको काठमाडौं प्रहरी परिसरका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक रणबहादुर चन्दले बताए । उनका अनुसार अनुगमनबाट छात्रावास, अभिभावक, विद्यालय सबैलाई फाइदा पुग्ने योजना बनाइएको छ ।
नेपाली जमातमा प्रहरीले हात हालेको ठाउँमा प्रहरीको स्वार्थमात्र देख्ने गरिन्छ । तर, वास्तवमै काठमाडौंका होस्टलहरुमा हुने गरेका गतिविधिहरुको कुनै सीमा छैन । कयन अपराधका सृङ्खलाहरुको सुरुआत नै त्यहाँबाट हुने गरेको छ । लगाम विनाको घोडाको उपद्रो र अभिभावकत्व विनाको स्वतन्त्रतामा रमाउने नाममा एउटा पुस्ता अपराधको दलदलमा लागिरहेको छ । यसको समाधानका लागि अभिभावक, प्रशासन र आम साधारण जुट्नु आवश्यक छ । जसले सहरलाई अनुशाशित बनाउन सिकाओस् ।

०६९, १९ चैतमा तरुण साप्ताहिकको नियमित स्तम्भ सरोकारमा प्रकाशित लेख हो ।

No comments:

Post a Comment