डी. विनोद
वैदेशिक रोजगारीका लागि दैनिक मुलुक छाड्नेहरुको लर्कोमात्र छैन । खाडीमा ज्यान गुमाएर नेपाल भित्रिने लासको पनि अनुपात बढ्न थालेको छ । वैदेशिक रोजगार प्रबद्र्धन बोर्डको तथ्यांकलाई मुल्यांकन गर्ने हो भने सरदर तीनजना नेपालीको लास दैनिक रुपमा नेपाल भित्रिने गरेको छ । तर, कतिपय लासहरु कानुनी अड्चनका कारण अलपत्र अवस्थामा नै रहने गरेको छ । खासगरी, प्रशासनिक कडाई भएको खाडी मुलुक साउदी अरबमा निक्कै नेपालीको लास लामो समयसम्मपनि रहने गरेको छ । विभिन्न कारण देखाएर स्थानिय प्रशासनले ती लासहरु नेपाल पठाउने अनुमति दिदैन ।
साउदी अरबको तायफमा मृत्यु भएकी मोरंगकी हरिमाया सुन्दासको लास अहिलेसम्मपनि नेपाल आउन सकेको छैन । १ डिसेम्बर २०११ मा मृत्युवरण गरेकी हरिमायाका परिवारले अहिलेसम्म पनि उनको लास पाउन सकेका छैनन् । साउदीस्थित प्रहरीले उनको मृत्युको कारणबारेको प्रतिवेदन अहिलेसम्म नबुझाएका कारण उनको शव नेपाल पठाउन नसकिएको रियादस्थित नेपाली दुतावासले जनाएको छ ।
रोल्पाका भुपेन्द्र खत्रीको लास पनि अहिलेसम्म नेपाल आउन सकेको छैन । २२ अगष्ट, २०१२ मा उनको साउदीमा मृत्यु भएको थियो । खत्रीका स्पोन्सरको असहयोगका कारण उनको लास रोकिएको बताइएको छ । दुतावासले उनको लास नेपाल पठाउनका लागि दमामको प्रहरी र गभर्नरसँग आग्रह गरेको छ तर अहिलेसम्म त्यसको आधिकारीक जवाफ पाएको छैन ।
चितवनका सुखराम महताको मृत्यु गत जनवरी ५ तारिकमा भएको थियो । उनको लास पनि नेपाल आउन सकेको छैन । उनको लाससँगै बाँकी तलवको पनि कुनै जानकारी छैन । उनले काम गरेको कम्पनीको ढिलासुस्तीका कारण उनको लास परिवारले पाउन नसकेका हुन् । नेपाल भित्रिन नसकेका यी तीन लासमात्र होइनन् । यस्ता ३३ लास वैधानिक र चार अवैधानिक सुचीमा राखिएका छन् । जुन साउदीका अस्पतालहरुमा अलपत्र पारेर राखिएका छन् । त्
त्यतिमात्र हैन साउदीमा मृत्यु हुनेका खास कारणहरु त्यहाँको प्रशासनले दिएको छैन । बरु मृतक परिवारको ढिलाइका कारण लास नेपाल जान नसकेको प्रतिक्रिया दिदै आएका छन् । साउदिस्थित नेपाली दुतावासले मृतकबारे १६ मार्चसम्ममा राखेको तथ्यांकअनुसार अहिलेसम्म वैधानिक रुपमा पुगेर मृत्युवरण गरेका र दुतावाससम्म सवै लास नेपाल पठाउन नसकिने कारणमा परिवारको कागजी प्रकृया र उनीहरु कार्यरत कम्पनीको कमजोरी देखाइएको छ । मृत्युको कारणबारेपनि साउदी प्रशासनले स्पष्ट जानकारी दुतावासमा दिने गरेको छैन ।
कस कसका लास रोकिए साउदीमा ?
नवलपरासीका नगन्द्रिबहादुर ठकुरी, जल मोहमद राइन, देवराज राई, काभ्रेका जोगबहादुर तामागं, ऋषिराम बराइमगर ( तनहुँ), बोटबहादुर दिशामगर (पाल्पा), मन्तबहादुर गुरुङ, मनबहादुर बाँस्कोटा (झापा), भीमबहादुर लामिछाने (इलाम) , नेत्रबहादुर बराल (कास्की), नोटबहादुर गाहा (पाल्पा), मदन प्रधान (स्यांजा), सन्चबहादुर बाइबा (रसुवा), प्रविणकुमार चौधरी (सुनसरी), टोकबहादुर गुरुङ (तनहुँ), वसिर राइन (धनुषा), सरस्वती घिमिरे (नवलपरासी), चुडामणि न्यौपाने (सुनसरी), खम्बासिंह तामांग (सिन्धुली), सुजन पौडेल (मकवानपुर), राम थजली (म्याग्दी), दुर्गाकुमारी गुरुङ (लम्जुङ), जीतबहादुर दमाइ (तेह्रथुम), बेवल यादव (महोत्तरी), कसिम मियाँ धोवी (सिरहा), अशेश्वर मण्डल (धनुषा), रमेश कहर (रुपन्देही), डिलबहादुर थापा (चितवन), प्रेमबहादुर खड्का (दैलेख) ।
चार इलिगल लास
अवैधानिक रुपमा साउदी पुगेर मृत्युवरण गरेकाहरुको लासलाई पनि इलिगलकै संज्ञामा राखिने गरिएको छ । दुतावासले दिएका पछिल्लो जानकारीअनुसार अहिले साउदीमा चारवटा इलिगल लास पत्ता लागेका छन् । रोल्पाका विकास राइको दमाममा मृत्यु भएको थियो । उनको लास पनि नेपाल आउन सकेको छैन । रुकुमका पूर्णबहादुर बुढा, मौसम सुव्वा, प्युठानका कविराम पुनको पनि अवैधानिक रुपमा मृत्यु भएको छ । दुतावासले जारी गरेको सूचना अनुसार उनीहरुको लास नेपाल पठाउनका लागि आवश्यक सरकारी अनुसन्धान र वैधानिकताको प्रयास भइरहेको छ ।
ठगहरुले विल्लिवाठ बनाइदिए
नेपाली सेनामा १९ वर्ष विताएर सेवा निवृत्त भएका रामेछाप खन्यापानी–७ का उद्धवबहादुर मगर वैदेशिक रोजगारीका शिलशिलामा अफगाननिस्तान पुगेका थिए ।
सुनधारामा रहेको सुपरस्टार म्यानपावर कम्पनी मार्फत ०६३ मंसिरमा चार लाख ८० हजार रुपियाँ तिरेर म अफगाननिस्तान जान तयार भएँ । मसँगै नेपालका ४८ जना सोही म्यानपावर कम्पनीमार्फत उति नै रकम तिरेर अफगाननिस्तानका लागि हिँडेका थिए । हामीलाई उक्त म्यानपावर कम्पनीका सञ्चालक प्रेमबहादुर गुरुङले भारतको नयाँ दिल्लि हुँदै अफगाननिस्तान लैजान लागेका थिए । सेक्युरिटी गार्डको जागिरका लागि हामी गएका थियौं । कम्तिमा १८ सय अमेरिकी डलर तलव हुने लोभ र डाइनोकोप कम्पनीमा जागिर हुन्छ भन्ने बाहनामा हामीलाई लगिएको थियो । दिल्लिको केही दिनको बसाइपछि हामीलाई काबुल पु¥याइयो । कावुलको मुस्तफा होटलमा राखियो । हामीसँग १५ दिनको भिसा थियो, त्यहिँ पुगेर भिसा थप्ने आश्वासनमा हामी पुगेका थियौं । १६ दिनसम्म होटलमा बस्दापनि भिसा थपिएन । एक भारतीयसँग हामी त्यहाँ पुगेका थियौं । केही दिनमा भिसा त थपियो तर हामी काम गर्ने कम्पनीसम्म पुगेका थिएनौं । हामीले कामका लागि ¥याख¥याख पारेपछि हामीलाई काबुलबाट जललावाद भन्ने ठाउँमा पु¥याइयो । त्यहाँ टिनले घेरेको छाप्रामा लगेर अफगानीको घरमा राखियो । खाना पनि विहान एक समय दिन्थ्यो र राती रोटीजस्तो परिकारसँग एक कप रातो चियामात्र दिन्थ्यो । कामको कुनै टुंगो थिएन । जुन कम्पनीका लागि भनेर हामी गएका थियौं त्यो कम्पनीको सामान्य बोर्डपनि देख्न पाइनौं । भन्नैपर्दा हामी बन्दिजस्तो बसीरहेका थियौं । लामो समयसम्मपनि काम हुन नसकेपछि हामीले प्रेमबहादुरलाई टेलिफोन गरेर समस्या सुनायौं । बस्नखान पनि समस्या थियो । केही दिनमा हामीलाई जागिर लगाउने आश्वासन दिएका भरतचन्द्र अधिकारी अफगानिस्तानमा हामी भए ठाउँमा आइपुगे । उनले काम सुरु भएको छ महिनासम्म सात सय डलर र त्यसपछि १८ सय डलर तलव हुने आश्वासन दिएर नेपाल फर्किए । उनको आश्वासन अनुसार काम गर्न पाइन्छ भन्ने सोचमा हामी बसीरह्यौं । तर, दिनहरु वित्दै गयो, हामी उही टहरामा पीडाको जीवन विताइरहेका थियौं । अफगानीले लगाएको काम गर्ने र उही खानामात्र पाउने काम भयो । हाम्रो पासपोर्टपनि हामीसँग थिएन, नेपाल कसरी फर्किने भन्ने चिन्तापनि बढ्न थाल्यो । अव यहिँ फँसेको हो की भन्ने चिन्ताले पनि सताउने गरेको थियो । एकजना लेवनानी नागरिकको सहयोगमा हामीले त्यहाँस्थित भारतीय एजेन्टसँग सम्पर्क गरी पासपोर्ट हातमा पार्ने काम ग¥यौं । हामीले काम नपाउने कुरा प्रष्ट भएपछि फेरि नेपाल फर्किने खर्च प्र्रेमबहादुरसँग माग्यौं । उसले ३५ सय डलर पठायो । तर, ४८ जना नेपाल फर्कनका लागि त्यति रकमले पुग्दैनथ्यो । भिसा रिन्यु गराउँदैमा खर्च पुग्दैनथ्यो । पछि त्यहाँ काममा पुगेका नेपाली सेना लगायतका चिनेका नेपालीहरुसँग रकम चन्दामा उठाएर हामी दिल्लि फर्कियौं । दिल्लि हुँदै केही दिनमा नेपाल फर्कियौं । छ महिनासम्म उक्त ठाउँमा छाप्राको बास बस्दा निक्कै दुख भयो । नेपाल आएर प्रेमबहादुरलाई हामीले खोज्यौं पनि तर उ भाग्यो । हामीले पत्ता लगाउन सकेनौं ।
वैदेशिक रोजगारीको ठगीमा त्यहाँमात्र परिन म । फेरि इराक जानका लागि पहल गरेको थिएँ । एक पटक ठगीमा परेका कारण केही सजग थिएँ । तर, शान्तिनगरमा रहेको दन्तकाली म्यानपावरले इराकमा राम्रो जागिर लगाउने आश्वासनमा चार लाख रुपियाँ माग्यो । पठाउँछ जस्तै लागेर रकम पनि दिइयो । त्यसबेला हामी १८ जना थियौं । इराक जानकै लागि फेरि दिल्लिमा १८ दिन बसियो, तर इराकका लागि कुनै पहल भएन । अफगाननिस्तानजस्तै इराकका लागि पनि समस्या हुन्छ भन्ने लागेपछि म १९ औं दिनमा नेपाल फर्किएँ । डीवी पुलामीको म्यानपावरले हामीलाई फेरि ठगेको थियो । रकम उठाउनका लागि फर्किएर म्यानपावर खोज्दा त्यो पनि भागेछ ।
काममा जानेलाई टिप्स
–काम गर्न जाने मूलुकको नेपाली राजदूतावास, श्रम सहचारी, संघ गैर आवासीय नेपाली एवं नेपाली संघ संस्था आदिको सम्पर्क ठेगाना फोन आफ्नो साथमा राख्नु पर्छ । अप्ठ्यारो र कठीनाई पर्दा सम्पर्क गर्न सजिलो हुन्छ ।
–बिदेशमा रहदा नेपाली राजदूतावास, नेपाली संघसंस्था र आफ्नो घर परिवारको नियमित सम्पर्कमा रहनु पर्दछ । यसो गर्दा अप्ठारो पर्दा उद्दार गर्न सजिलो हुन्छ । मानसिक तनाव न्यून गर्न सकिन्छ ।
–काम गरिरहेको वा काम गर्न गएको कम्पनी छोडी अन्यत्र काम गर्न जानु हुदैन । कतिपय देशमा यस्तो गरेमा गैर कानूनी भइन्छ, जेल सजाय पनि हुन सक्दछ ।
–करार अवधि सकिएपछि स्वदेश फकिर्एर पुन बीमा गर्राइ श्रम स्वीकृति लिएर जानु पर्छ, अन्यथा दुर्घटना पर्दा बीमा र अन्य आर्थिक सहायताको सुविधा पाइदैन ।
–सम्झौता गरेको भन्दा फरक कम्पनीमा, फरक काममा, कम पारिश्रमिकमा काम लगाएको छ भने तुरुन्त नेपाली दूतावास, बैदेशिक रोजगार बिभागमा उजुरी गर्नुपर्छ । आफू खुसी अन्यत्र काम गर्न जानु हुँदैन ।
–कोठामा बस्दा वा सुत्दा ए.सी.को सही किसिमवाट प्रयोग गर्नु पर्दछ । थाहा नभएको काम कुरा सिकेर जानेर मात्र गर्नु पर्दछ ।
–कमाएको पैसाको फजुल खर्च गर्नु हुंदैन, बचाएको पैसा बैंकिङग च्यानलवाट पठाउनु पर्छ, व्यक्तिगत तवरवाट र हुण्डीवाट पठाउदा जोखिम –खतरा) हुन्छ ।
–खास गरी खाडि मुलुकमा जाँदा पान मसाला, पराग, मर्चा तथा अन्य सुतिर्जन्य पदार्थ, मदिरा लैजान र र्सार्वजनिक स्थानमा प्रयोग गर्न प्रतिवन्ध छ । यस्ता सामान लुकाई लगेमा, विक्रि गरेमा वा प्रयोग गरेमा कडा सजाय हुन्छ । जाँड रक्सी र लागू पदार्थ जस्ता कुलतमा लाग्नु हुँदैन ।
–सम्वन्धित मुलुकको, कम्पनीको नीयमको पालना गर्नुपर्छ, अरुको धर्म संस्कृतिको सम्मान गर्नु पर्दछ । अनावश्यक झै झगडा र अरुको उक्साहटमा हडतालमा उत्रनु हुँदैन ।
–सम्वन्धित देशको ट्राफिक नियम वुझ्ने र पालना गर्नु पर्दछ ।
No comments:
Post a Comment