विनोद ढकाल
लामो समयसम्म मण्डला नाट्यघर अगाडी मानिसको हुल व्यापक थियो । स्तम्भकारले सोध्यो,‘यो के को हुल हो ? कस्तो भिँड हो ?’ पत्रकार एमपी सुव्वादे भने,‘मण्डलामा नाटक हेर्नेको हुल हो । ‘डिग्रि माइला’ हेर्नेको जमात हो ।’ नेपालीजनपनि नाटकका निक्कै पारखी हुन् । दिनभरी मुलुकमा फस्टाएको राजनीतिक दलको नाटक हे¥यो, समिक्षा ग¥यो अनि साँझ परेपछि मण्डला थिएटरतिर छि¥यो । मुलुकमा कुनै कमजोर नाटक चलिरहेको छैन । अनि, राजनीतिमा होमिएका धुरुन्धर नाटकबाजहरुको कथा पनि कम रोचक छैन । कति ‘डिग्रि माइलाहरु’को भविष्यमाथि तुसारो लगाएर राजनीतिक उन्माद छन् यी खेलाडी तिनको नाटक नै नेपालीजनका लागि काफि हुनुपर्ने हो । जे होस्, हामी दैनिक चल्ने यस्तो ‘झुर राजनीतिक नाटक’बाट वाक्क पनि भइसकेका रहेनछौं । हरेक कुरा टुलुटुलु हेरेर स्वीकार्नुको विकल्प हामीसँग छैन ।
नेपाली राजनीतिक नाटकमै यो साता दुई प्रकरणहरु निक्कै चर्चामा रहे । पहिलो, पूर्वमुख्यसचिव लोकमानसिंह कार्कीलाइृ अख्तियार दुरुपयोग अनुसन्धान आयोगको प्रमूखमा नियुक्त गर्ने र दोस्रो लामो समयसम्म नेकपा एमालेमा रहेका नेता रामचन्द्र झाको एमाले छाड्ने निर्णय र एमाओवादी प्रवेश गर्ने योजना । यी बाहेक हरेक दिन सानतातिना राजनीतिक क्लाइमेक्सपनि चलिरहेका हुन्छन् । एमाले नेता ओलीका तुक्का र एमाओवादी अध्यक्ष प्रचण्डका झुठा र फुस्रा कुराको कति चर्चा गर्ने । राजनीतिक दलले हस्ताक्षर गरेर बनाएको सरकारमा होस वा संवैधानिक निकायमा त्यहाँ नियुक्त गरिने पदाधिकारीको सिफारिस यीनले नै गरिरहेका छन् । खास अर्थमा खिलराजलाई ‘फ्ल्याटरन स्क्रिन’ बनाएर रिमोटलाई अनेक कोणबाट आफुलेमात्र चलाउने यीनको प्रपञ्चअनुसार नै कार्कीको नाम अघि आएको हो । खासगरी एकीकृत नेकपा माओवादीका अध्यक्ष प्रचण्डको प्रस्तावका कार्कीको नाम अघि सारियो । जो जनआन्दोलनका समयमा प्रशासनयन्त्रको मुख्यसचिव थिए, जनआन्दोलन दवाउने कर्मको निर्णायक ठाउँमा बसेका थिए । आफैं अख्तियार दुरुपयोगमा परेका व्यक्तिपनि रहेछन् । हाल सर्वोच्च अदालतले तत्काल उनको नियुक्तिलाई रोक्नका लागि आदेश दिएपछि केही समयका लागि यो प्रसंग रोकिन्छ भन्ने आशा छ । यद्यपि, सर्वोच्चमा रिट भएकै समयमा पनि प्रधानमन्त्रीको कुर्सी देखेपछि हतारिएका रेग्मी र संविधानलाई तिलाञ्जरी दिएर हुकुमी प्रवित्तिमा हिँडेका राजनीतिक दलहरुको कुनै भर छैन । कार्की प्रकरण यो साता पनि चर्चामा रहला । यसबारे नागरिक तहबाट विचरण भइ नै रहेको छ, त्यसअलावा केही हुन सकेको छैन ।
एक राजनीतिक पार्टीमा लामो समय संघर्ष गर्ने र अर्को पार्टीमा प्रवेश गरेर भविष्यका खोक्रा कुरा गर्ने । पार्टी फुटाउने, आफैं नयाँ पार्टी बनाउने र राजनीतिक चर्चा कमाउनका लागि विभिन्न हुर्मतलिने कामपनि गर्ने । मातृका यादवले पार्टी फुटाएका हुन् वा मणि थापाहरु निकालिएका हुन् । मोहन वैद्यहरुले पार्टी विभाजनको घोषणा गरेका हुन् अथवा राधाकृष्ण मैनालीहरु पार्टीमा प्रवेश गरेका हुन् । अथवा पछिल्लो समयमा रामचन्द्र झाले एमाले छाडेर माओवादी प्रवेशका लागि गरेका चालहरु हुन् । यीनलाई कसरी सम्बोधन गर्ने ? पूर्व अञ्चलाधिश पदमबहादुर विष्टका छोरा सुवर्णशम्शेर विष्टले यस्ता गतिविधिका बारेमा भन्ने गर्दथे,‘छाडेको पार्टीले गद्दार भन्ने र नयाँ पार्टीले हृदय परिवर्तन भन्ने दुई तर्कमा राजनीति चलेको छ ।’ नेपाली राजनीतिको कथा यसरी नै निरन्तर चलिरहेको सवैले देखेकै छौं । तासमा जोक्कर साट्ने खेल निक्कै रोचक हुन्छ । जव राजनीतिक दलमा यसरी जोक्कर साटिन्छन्, अनि राजनीतिक दलको यो खेललाई कस्तो संज्ञा दिने ? गद्दारी वा हृदय परिवर्तन ? पक्कैपनि एमालेले यसलाई गद्दारीको संख्या देला र एमाओवादीले हृदय परिवर्तनको संज्ञा । तर, नेपाली राजनीतिमा चलिरहेको यो रंगमञ्चको कथा कहिलेपनि टुंगो लाग्ने अवस्था आउने छैन । आजसम्म विश्वका अन्य मुलुकहरुमा को नेता कुन राजनीतिक दलमा प्रवेश गरे, कुन राजनीतिक पार्टी खोले भन्नेबारेमा त्यति सुनिएको छैन । खासगरी विकसित मुलुकहरुमा यो प्रकृयाको बारेमा सुन्न आएको छैन । स्थिर राजनीतिक व्यवस्थाबाटै विकासका मुलु फुटेका, खोज र अनुसन्धानबाट नयाँ काम गरिएको चर्चा सुनिएको छ । तर नेपालमा अहिले यो अवस्था छैन । नेपालमा अहिलेपनि अधिकार र न्यायको आन्दोलन चलिरहेको, नयाँ संविधान निर्माणका लागि राजनीतिक कर्म चलिरहेका कारणले पनि सोचेअनुसारको काम हुन सकेको छैन । तर, यहि नाममा वितेका वर्षहरुमा पनि उपलव्धिका मुना समेत देख्न पाइएन । अन्ततः राजनीतिक असफलताको चर्चाअनुसार कथाले साकार रुपमा पायो, नयाँ प्रधानमन्त्रीका नाममा खिलराज रेग्मी र मन्त्रीमण्डलमा प्रशाशनयन्त्रका अनेक पूर्वकर्मचारीहरु । यद्यपि, राजनीतिक दलका रवैयामा कुनै सुधार आएनन्, तिनमा कार्यरतहरुमा पनि कुनै परिवर्तन भेट्टिएन ।
परिवर्तनको आन्दोलनमा हिँडेका कयन युवाहरुले राजनीतिक परिवर्तनसँग खोजेको अवसर, रोजगारीको गन्ध अहिलेसम्म पनि पाउन सकेका छैनन् । हातमा डिग्रि छ तर रोजगारीको अवसर कहिँ कतै छैन । रोजगारीका मुहान खुल्ला हुँदा लाखौं युवाहरु एक पदका लागि हातमा डिग्रि लिएर लामबद्ध हुने गरेका छन् । यो परिस्थितिबाट गुज्रिएको मुलुकमा अहिलेपनि राजनीतिक दल र तिनले देखाउने गरेका अनेक किसिमका ताण्डवहरु नै प्रधान हुने गरेका छन् । पछिल्लो पटक प्राप्त लोकतन्त्रको सात वर्षमा शुन्यताको उपलव्धिको पछि हामी अहिलेपनि अभ्यस्त भइरहेका छौं । र, फेरिपनि उही राजनीतिक नौटंकीको गुलाम भएर दौडिरहेका छौं । परिवर्तनका जग खन्नेहरुको अवहेलनालाई स्वीकार गरी त्यसको नेतृत्वका नाममा भविष्य नै अन्धकारमा पारिरहेको राजनीतिक व्यवस्थाको पछि अहिलेपनि फुर्सदिलो बनेर दौडिरहेका छन् । फेरिपनि केही समयसम्म यो राजनीतिक नाटकको रंगमञ्चमा उही कलाकारहरुको बर्चश्व भइरहेको छ । यो निरन्तरताको क्रमभंगता नभएसम्म यसरी नै बारम्बार हामी नयाँ पुस्ताले दुख भोगिरहनुपर्नेछ ।
यसकारण, आगामी असार अथवा मंसिरसम्ममा राजनीतिक धरातल नै परिवर्तन हुने भनेर जुन अन्तिम समयको माग भएको छ अव नेपालीजनसँग त्यो समयसीमाभन्दा अरु केहीपनि बाँकी छैन । त्यति समय पर्खनैपर्ने हुन्छ त्यसपछिको समयलाई पर्खिनु मुर्खताभन्दा अरु केही पनि हुने छैन । यो नै नेपाली जनताले राजनीतिक दलका लागि कोरेको सीमारेखा अझ भनौ लक्ष्मणरेखाका रुपमा लिनुपर्दछ, त्यसलाई प्रमाणित पनि गर्नैपर्दछ । अन्यथा राजनीतिक दलको क्लवमा सदस्य परिवर्तनका खेल र त्यहि क्लवले नेपाली जनताको भविष्यका बारेमा ‘बाल निर्णय’ गर्दैजाने र बुज्रुक समुदाय चुप लागेर बस्ने हो भने परिवर्तनका अंकुर देख्न पाइने छैन । त्यसकारण यो निर्णय नै निर्णायक बनाऔं ।
तरुण साप्ताहिकको नियमित स्तम्भ सरोकारमा १२ चैत, सोमबार प्रकाशित लेख हो ।
No comments:
Post a Comment