Wednesday, March 27, 2013

हावातालमा विदेशतिर


डी. विनोद 
ताप्लेजुङकी सृजना पाण्डे वैदेशिक रोजगारीका लागि कतार जाने तयारीमा छिन् । घरेलु कामदारका लागि उनी कतार जान लागेकी हुन् । व्यक्तिगत भिसामा कतार जान लागेकी उनलाई सरकारले लागु गरेको उमेरहदबारे त्यत्ति जानकारी छैन । ‘सुनेकी छु तर श्रम स्वीकृतिका लागि अहिलेसम्म केहीपनि भनेको छैन । म प्रकृयामा छु ।’ 
पाण्डेसँगै वैदेशिक रोजगारीका लागि खाडीका विभिन्न मुलुक जान खोज्नेहरुको लर्को वैदेशिक रोजगार विभागको कार्यालयमा दैनिकजसो देखिन्छ । तर उनीहरु सरकारी नियमभन्दा पनि ‘कुरो मिलाएर’ जाने विषयमाचाँही ढुक्क छन्, पुगेपछिका जोखिमबारे सतर्क हुन सकेका छैनन् । साउदी अरब जाने तयारीमा रहेकी सुनसरीकी लक्ष्मी तामाङले भनिन्,‘नियम त्यति थाहा छैन तर पैसा कमाएर फर्किने सोच र जाँगर छ । तालिम दिन्छ रे त्यहाँ थाहा होला नी ?’ वैदेशिक रोजगारीको शिलशिलामा घरेलु कामदारका लागि खाडी लगायतका मुलुकमा महिलाहरुमाथि शोषण हुन थालेपछि सरकारले उमेरहद कायम गरेको थियो । आर्थिक वर्षको सुरुदेखि नै वैदेशिक रोजगार विभागले ३० वर्ष नपुगेका महिलाहरुलाई खाडी लगायतका मुलुकमा जान प्रतिवन्ध नै गरेको छ । तर धेरै यसबारे अनभिज्ञ छन् । 
घरेलु कामदारकै रुपमा रोजगारीमा गएर ज्यान गुमाउने र समस्यामा पर्नेहरु कम छैनन् । जसका कारण उनका परिवारपनि समस्यामा पर्ने गरेका छन् । घरेलु कामदारका लागि साउदी अरब पुगेकी नवलपरासीकी सरस्वती घिमिरेको मृत्यु भएको एक वर्ष पुग्न लाग्यो । तर अहिलेसम्मपनि उनको मृत्युको कारण खुल्न सकेको छैन । साउदीमा रहेका नेपाली कामदारले उनको मृत्युको कारण माग गरेपनि साउदी प्रशाशनले प्रष्ट रुपमा खुलाएको छैन । त्यतिमात्र होइन बरु विभिन्न कारण देखाएर घिमिरेको लास अहिलेसम्म पनि नेपाल पठाएको छैन । सरकारको यो नियमबन लागु हुनुपूर्व नै घिमिरे साउदी पुगिसकेकी थिइन् । 
त्यसो त लम्जुङकी दुर्गाकुमारी गुरुङको हत्याको कारण पनि खुलाउन सकिएको छैन । उनको कालगतीको मृत्यु भएको भन्दै साउदी सरकारले उल्टै उनका आफन्तसँग विभिन्न कागज माग्ने काम गरिरहेको छ । वैदेशिक रोजगारीमा साउदी लगायत कुवेत, कतार, बहराइन, लेवनान लगायतका मुलुकमा रहेका महिलाहरुमाथि भएको हिंसा र हत्याको विषयमा नेपाल सरकारले प्रभावकारी काम गर्न सकेको छैन । बरु, त्यसो हुन नदिने मुलुकमा नै नियम जारी गरी परिपक्व वैदेशिक रोजगारीमा पठाउने कामलाई लागु गरिएको बताइने गरेको छ ।
साउदी अरबको तायफमा मृत्यु भएकी मोरंगकी हरिमाया सुन्दासको पनि मृत्युको कारण खुलेको छैन । उनको मृत्यु भएको झण्डै दुई वर्ष पुग्न लागेको छ । उनी पनि घरेलु कामदारका रुपमा साउदी अरबमा केही वर्षदेखि कार्यरत थिइन् । उनी सरकारी नियमले छुन नसकेपछि विदेश गएर मृत्युवरण गर्नुपरेको थियो । 
घरेलु कामदारका लागि खाडीका अन्य मुलुक जाने महिलाहरुको पनि मृत्युका कारण खुल्न सकेका छैनन् । अन्य मुलुकको प्रशासनिक संयन्त्रको असहयोगका कारण हत्याको कारण अहिलेसम्म पनि प्रष्ट रुपमा खुलाउन नसकिएको सम्बन्धित मुलुकमा रहेका नेपाली दुतावासहरुले प्रष्टीकरण दिदै आएका छन् । विभागले उमेर हेरेर महिलाका लागि श्रम स्वीकृति दिन थालेको आठ महिना वितेको छ । यद्यपि, वैदेशिक रोजगारीमा जाने महिलाको संख्यामा भने कमी आएको छैन । श्रमशोषण, हत्या र यातनाका बारेमा बारम्बार चर्चा भइरहँदा पनि कमी आउन नसक्नु व्याप्त वेरोजगारी रहेको विज्ञहरुले बताउँदै आएका छन् । यस आर्थिक वर्षको फागुन मसान्तसम्म वैदेशिक रोजगारीका लागि मुलुक छाडेका चार लाख ३५ हजार चार सय ७७ जना मध्ये १९ हजार नौ सय ८० महिला रहेका छन् । ‘यातना, हत्या र पीडाको शिकार भएपनि महिलाहरु रोजगारीमा जाने क्रम रोकिएको छैन ।’ वैदेशिक रोजगार प्रबद्र्धन बोर्डका अधिकारी अशोक गौतमले भने,‘नियम लागु भएको छ सो अनुसार काम पनि भइरहेको छ । तर, महिलाहरुको संख्यामा केही कमी देखिएन ।’
साउन महिनामामात्र दुई हजार सात सय ६१ महिला वैदेशिक रोजगारीका लागि विभिन्न मुलुक पुगेका थिए । भदौमा २१ सय ७६, असोजमा २२ सय ६६, कात्तिकमा १८ सय ६९, मंसिरमा ३२ सय ७८, पुषमा १९ सय ४२, माघमा २१ सय ४५ र गतमहिनामात्र ३५ सय ३७ जना वैदेशिक रोजगारीमा पुगेका छन् । ‘वैदेशिक रोजगारीमा जानका लागि प्रतिवन्ध गर्न मिल्दैन बरु त्यहाँ जाँदा अपनाउनुपर्ने सतर्कताका बारेमा हामीले बारम्बार कार्यक्रम गरिरहेका छौं ।’ गौतमले भने,‘सरकारी नियमसँगै चेतनाको कामपनि गरिरहेका छौं तथापी महिलाहरु रोजगारीको शिलशिलामा पुगिरहेका छन् ।’ पुरुषको तुलनामा महिलाको संख्या निक्कै कम हो । तर, नेपाली समाजमा महिलाहरु पनि वैदेशिक रोजगारीमा गएको यो संख्या उच्च हो । त्यसो त अहिलेपनि विभिन्न मुलुकमा जानका लागि तीन सय १६ जना महिला श्रम स्वीकृति पर्खिएर बसेका छन् । 

मालिकको जुठो खानुपर्ने !

सुनसरीको भरौल–१, कालाञ्जारका किर्तन चौधरी काठमाडौंमा ट्याक्सी चलाउँछन् । वैदेशिक रोजगारको शिलशिलामा चार वर्ष साउदी अरबमा बसेका थिए । ड्राइभिंगको भिसा लिएर साउदी पुगेका चौधरीको अनुभव 


काठमाडौंको भिमसेन गोलामा रहेको शाह म्यानपावरमा ९५ हजार रुपियाँ तिरेर ड्राइभिङका लागि म साउदी अरब गएको थिएँ । सन् २००७ मा मैले मुलुक छाडेको थिएँ । त्यहाँ रहेको एसीसी कम्पनीमा ड्राइभिङको कामको सम्झौतापत्रमा हस्ताक्षर गरेर गएको थिएँ । तर, साउदी अरब पुगेपछि भनेको कम्पनीमा काम गर्न पाइएन । आठ सय रियाल तलव दिने भनिएपनि ६ सय मात्र दिएर सम्झौता गरेभन्दा फरक कम्पनीमा जागिर खान बाध्य हुनुपरेको थियो । 
गएको तीन महिनासम्म मैले ड्राइभिङको साटो लेवरको काम गर्नप¥यो । आएपछि काम गर्नैपर्छ भन्ने लाग्यो र त्यो काम पनि गरियो । तर, जुन कामका लागि म गएको थिएँ त्यो नपाएपछि तीन महिनामा मैले कम्पनी मालिकसँग गुनासो गरें । त्यसपछि उनले ड्राइभिङको काम त दिने भए । तर, त्यो काम उनको आफ्नै घरमा गर्नुपर्ने रहेछ । साहुको नाम थाह भएन तर त्यहाँका अरबी साहुका परिवार, बहिनीहरु, छोराछोरीका लागि गाडी चलाउने काममा लागें । तलव छ सयदेखि बढेको थिएन । उनका परिवारले पनि कम्तिमा एक हजार हुनुपर्ने भनेर मलाई सुझाव दिन्थे । तर, काम गरुञ्जेल कहिलेपनि तलव बढेन । मसँग छ जना अन्य नेपाली पनि गएका थिए । उनीहरुको हालतपनि मेरोजस्तै थियो । घरमा काम गर्न लेवर भन्दा सजिलो थियो । तर, तिनीहरुले ड्राइभरलाई राम्रो व्यवाहार गर्दैन थिए । खानाकै लागि निक्कै कठिन हुन्थ्यो । पहिला अरबीका पुरुषहरुले खाने र त्यसैमा उनीहरुका श्रीमतिले खाने गर्दथे । त्यसपछिमात्र त्यहि भाँडोबाट ड्राइभरले खानुपर्ने बाध्यता थियो । 
मलाई त्यसो गर्न मनपरेको थिएन अनि तलव पनि नबढाएपछि म त्यो घरबाट भागें । रियाद सहरै म अवैधानिक कामदारका रुपमा रहन पुगें । मैले त्यो घरमा १५ महिना काम गरेको थिएँ । भागेर गएपछि म अल पाद धोसरी भन्ने कम्पनीमा ड्राइभरको रुपमा काम गर्न थालें । एउटा ठूलो ट्रक चलाउँथें । त्यसवापत मलाई महिनाको १३ सय रियाल तलव आउँथ्यो । त्यो चाँही केही चित्तबुझ्दो थियो । तर, इलिगल भएकाले मैले लुकेर काम गर्नुपर्ने बाध्यता थियो । उक्त कम्पनीमा काम गरेको केही महिनामा मैले डोजर चलाउन सिकें । त्यसपछि डोजर चलाउने कामपनि गर्न थालें । १४ घन्टा डोजर चलाउने काम गर्दा कम्तिमा १८ सय रियाल तलव हुन थाल्यो । काम गर्दै जाँदा १५ महिनासम्म मैले डोजर चलाएँ । सोही बेला इलिगल कामदारका लागि आममाफीको घोषणा भएको थियो । नेपाली दुतावासले पनि कागजपत्रका आधारमा मुलुक पठाउने काम थालेको थियो । जोखिममा लामो समयसम्म काम गर्ने रहर पनि थिएन । दुतावासमा सम्पर्क गरी आफ्ना कागज देखाएर म मुलुक फर्किएँ । त्यसपछि अहिलेसम्म कुनै देश गएको छैन । चार वर्ष साउदीमा बस्दा नै म हायलकायल भइसकेको थिएँ ।

काममा जानेलाई टिप्स 
श्रम तथा रोजगार मन्त्रालय र अन्तर्राष्ट्रि आप्रवासन संगठन (आइ.ओ.एम.) को संयुक्त प्रयास तथा वैदेशिक रोजगार प्रबद्र्धन बोर्डको कृयाशीलतामा बोर्डमै रहने गरी आप्रवासी स्रोत केन्द्रको स्थापना भएको छ । वैदेशिक रोजगारीमा जानेहरुको परामर्शका लागि यो स्रोत केन्द्र उपयोगी छ । यदि तपाई वैदेशिक रोजगारीका लागि जानुहुँदैछ भने स्रोतकेन्द्रमा सम्पर्क गर्नुहोला । तपाइले यस्ता सेवा पाउनुहुनेछ । 
– वैदेशिक रोजगारीमा जान चाहने वा जाने कामदारहरुलाई उचित परामर्श र सही सूचना उपलब्ध हुन्छ । 
– व्यक्तिगत तथा इमेलका माध्यमबाट पनि परामर्श हुन्छ । इमेलको पहुँच नभएका कामदारहरुको हितलाई ध्यानमा राखी टेलिफोनबाट समेत परामर्श सेवा दिने व्यवस्था छ । 
–आप्रवासनमा जान चाहने कामदारहरुको वैदेशिक रोजगार सम्बन्धी सही तथा भरपर्दो सूचनाका लागि पैसा नलाग्ने टोलफ्रि नम्बरमा सम्पर्क गर्न सकिने छ । 
–कानुनी तथा प्राविधिक जानकारी लिन सकिन्छ । सूचना प्रवाहलाई टेलिफोनबाट प्रभावकारी सेवा पाउन कामदारले केन्द्रबाट ‘अटो एनसरिङ मेसिन’को सहयोग पाउँछन् । 
–सुरक्षित वैदेशिक रोजगारका लागि काम गरिरहेका सरकारी, गैरसरकारी तथा अन्तराष्ट्रिय गैरसरकारी संस्थाहरुसँग पनि परामर्श गर्न सकिन्छ । 

No comments:

Post a Comment