Thursday, April 18, 2013

व्यापारभन्दा संगत ठूलो


डी. विनोद

सामान्य हिसावले नै गर्जो टार्न र समय विताउन सके उनका लागि त्यहि नै ठूलो व्यापार हो । पुल्चोक हाइटमा सानो कटेरोमा १४ वर्षदेखि पसल चलाइरहेका छन्, उनले । पसल सानोबाट ठूलो बनाउने उद्देश्यका अनेक व्यापारी भएपनि उनलाई त्यो रहर छैन । पुल्चोकै घर भएका दुर्गाबहादुर श्रेष्ठलाई स्टोभको ठाउँमा ग्याँस राख्ने धोको पनि छैन । भन्छन्,‘यहि सजिलो पनि छ अनि मलाई अरु राख्ने बढाउने रहर पनि छैन ।’
०५६ सालमा आमा कान्छी श्रेष्ठले सुरु गरेको चियापसल अहिले उनले निरन्तरता दिएर चलाइरहेका छन् । ०६१ साल साउन २ गते आमाको निधन भएपछि श्रीमति तरीमैचा श्रेष्ठको साथमा उनले निरन्तर पसल चलाइरहेका थिए । श्रीमति तरीमैचाको गत वर्ष अर्थात् ०६८ चैत २ गते निधन भएपछि उनी एक्लै छन् । ‘जीवन संघर्ष हो, साथ दिने वितेपनि चलाइरहेको छु, यसरी नै चलाउनेछु हातगोडा नगलेसम्म’, उनी भन्छन्,‘बाँच्नका लागिमात्र होइन समय विताउनका लागि पनि मैले यो कामको निरन्तरता दिनै परेको छ ।’ रात्री पाठशाला नक्सालमा पढेका उनका एक छोरा र एक छोरी छिन् । यहि पसलको आम्दानीको लगानी गरेर छोरा सुरेन्द्रलाई वैदेशिक रोजगारमा पठाएका थिए । अनि, छोरीको पनि विवाह गरेका थिए ।
जीवन होस् या व्यापार सरलतामा सहजता खोज्छन् उनी । पुल्चोक इन्जिनियरिंग क्याम्पसमा काम गरेको घमण्ड उनको हालको व्यावसायमा देखिन्न । कम बोल्छन् तर निरन्तर सेवा गर्नुलाई उनी आफ्नो धर्म पनि ठान्दछन् । भन्छन्,‘जागिर खाइयो तर व्यावसायमा हात नहाली भएन ।’ छ दशकको उमेरमा आमाले समय विताउन खोलेको सामान्य चियापसलमा अहिलेपनि स्टोभलाई पम्प हालिरहेका छन् उनी ।
‘अहिले केही घटेको छ नत्र दिनमा एक हजार रुपियाँ बचाउन सकिन्थ्यो ।’ भन्छन्,‘अहिले त पसलको व्यापार भन्दा पनि संगत सम्झिएर निक्कै खुसी लाग्छ ।’
पसलको स्वरुप हेरेर निक्कै कमैलेमात्र पत्याउँछन्, उनले नेपाली कांग्रेस नेता स्व. गिरीजाप्रसाद कोइराला, हालका सभापति सुशिल कोइरालालगायतलाई आफ्नै हातले बनाएको चिया खुवाएका छन् । भन्छन्,‘यहाँ आउने नेताजीहरु धेरैलाई चिया खुवाएको छु । अनि, कलाकारहरु भुवन केसीदेखि सामान्य गायकलाई पनि खुवाएको छु ।’ जनआन्दोलनका समयमा उनका पसलमा कोइरालालगायतका नेताहरु चिया पिउनकै लागि आउँथे । ‘मर्निगं वाक आउने यहाँका स्थानीयहरु, गुम्बा मन्दिर घुम्न आउने युवायुवतीहरु मेरा ग्राहक हुन् ।’ उनी थप्छन्,‘अनेक किसिमका मानिसहरुलाई चिया खुवाएको छु ।’ उनले नेताहरुलाई आफ्नो हातको मिठास चखाएपनि कहिलेपनि राजनीतिक दलमा आवद्ध हुने सोच बनाएनन् । ‘काम गरी खाने मान्छेले काम गरेको राम्रो, राजनीतितिर मेरो ध्यान गएन ।’
टाइपराइटर चलाउन खप्पिस दुर्गाबहादुरले झण्डै १४ वर्ष पुल्चोक इन्जिनियरिंग क्याम्पसमा टाइपिस्टको काम पनि गरेका थिए । ‘कम्प्युटरको जमाना थिएन त्यसबेला । ०३५ सालदेखि ०४९ सालसम्म मैले टाइपिस्टको अस्थाई जागिर पनि खाएँ ।’ उनले भने ।
सेन्ट जेभियर्स स्कूलमा तीन वर्ष क्यान्टिन चलाएपनि त्यो ठाँटले पसल चलाउने उनको महत्वकांक्षा छैन । नातावादमा चल्ने समाज भएकैले पनि उनले स्कूलका सञ्चालक परिवर्तन हुनासाथ क्यान्टिन छाड्नुपरेको अनुभव सुनाए । ‘श्रीमति पनि त्यसबेला विरामी भइन र मैले त्यहाँ छाडिदिएँ ।’ उनले भने,‘ म कर्मचारी थिएँ । व्यापारतिर त्यति ध्यान दिएको थिइन । तर, जागिरबाट अवकास पाएपछि त्यसै बस्ने रहर आएन । घरसल्लाह गरेर मैले सेन्ट जेभियर्समा क्यान्टिन खोलेको थिएँ ।’
सार्वजनिक ठाउँमा उभिनुको मज्जा नै धेरैजनासँगको परिचय हुनुलाई उनी स्वीकार्छन् । बन्द कोठामा जीवन विताउनेहरु भन्दापनि सार्वजनिक भएर जीवनलाई संघर्षमा परिणत गर्न सक्नु वेग्लै हुने उनको अनुभव छ । उनको आफ्नै तर्क छ,‘मानिस सार्वजनिक प्राणी हो । त्यसकारण किन नभएको ठाँट देखाउने ? त्यसैले चौतारो पारेर अहिलेसम्म पसल चलाइरहेको हुँ ।’
‘छहारीको आडमा बस्दा जीवन टहलाउन सहज हुन्छ भन्ने ठानेर नै पिपलबोट मुनिको यो ठाउँको पसलमा म दिनभर खटिरहेको छु ।’ पिपलको रुखतिर इंगित गर्दै उनले भने,‘ओहोरदोहोर गर्ने विभिन्न प्रकारका मानिसहरुको कुराकानी र गफगाफ सुनेर दिन विताउने गरेको छु ।’ 
खाली दिमाग शैतानका घर भन्ने उखानको पयार्य बन्नुभन्दा पनि व्यस्त तर सरल बन्नु उपयुक्त ठान्दछन् उनी । ‘मेरो घरमा कोही पनि वेरोजगार नबसोस् भन्ने सोचको विकास भएको थियो । म अहिलेपनि आमाले खोलेको यो पसलमा अभ्यस्त भइरहेको छु ।’ उनले भने । दुर्गाबहादुर कहिलेकाँही भावुक पनि हुन्छन् । उनी आफ्नो जीवनको विगतसँग घोत्लिँदा दुखी पनि हुन्छन् । भन्छन्,‘जीवनमा त्यति नमिठा घटनाहरु त भएका छैनन् । तर, आमाको निधनले मलाई दुखी बनाएको थियो । जसोतसो त्यो दुख भुल्ने कोसिस गर्दागर्दै श्रीमतिको पनि निधन भयो । जीवनसाथी निधन पनि थपिएपछि झन दुखी बनिँदो रहेछ ।’

No comments:

Post a Comment