Wednesday, April 3, 2013

मलेशियामा अवसरैअवसर

डी. विनोद
वैदेशिक रोजगारीका लागि कामदार ढुवानी गर्ने मुलुकको सुचीमा नेपाल अगाडी देखिएको छ । विश्वका एक सय आठ देशमा अहिले रोजगारीका लागि सरकारले खुल्ला गरेको छ । मानव ढुवानीकर्ताको सुचीमा रहेको नेपालले खाडी बाहेकको मलेशियाका लागिमात्र आठ लाख नेपाली पठाइसकेको झण्डै डेढ दशकको तथ्याङ्कले देखाएको छ ।
मलेशिया पछिल्ला समयमा नेपालीका लागि अवसरको खानी बन्दै गइरहेको छ । मलेशियामा नेपाली अखबार तलाइरहेका पत्रकार रमेश तुफानका अनुसार मलेशियामा हुने कृषि विकास, निर्माणका काम र अहिले घरेलु कामदारका लागि नेपालीहरुको माग बढिरहेको छ । रोजगारीको अवसर दिएको मलेशियामा विगत १४ वर्षदेखि नेपाली कामदारले पनि आफ्नो श्रम गन्तव्यका रुपमा मलेशियालाई लिएका छन् । २०५५ सालमा ८९ जना नेपाली श्रमिक श्रमस्वीकृति लिएर पुगेका मलेशियामा आजभोली झण्डै दैनिक पाँच सयको संख्याले उक्त मुलुक टेक्ने गरेको तथ्यांक वैदेशिक रोजगार विभागसँग छ ।
निर्माण कम्पनीदेखि घरेलु कामदारसम्मको माग भएको मलेशियामा अध्ययन गर्न गएको नेपाली सरकारी टोलीले पनि मलेशिया अझ राम्रो श्रम गन्तव्य वनदै गएको प्रतिवेदन सरकारलाई बुझाएको थियो । विगत १४ वर्षको तुलनामा मलेशियामा ०६७ सालमा सवैभन्दा ज्यादा नेपाली पुगेका थिए । ०६७ मा एक ला १३ हजार ९ सय ८२ जनाले रोजगारी पाएको सरकारी तथ्यांकले देखाएको छ ।
नेपालमा द्वन्द्व सुरु भएको वर्षहरुमा भने नेपालीको उच्च संख्या मलेशिया जाने गरेको थिएन । विभागको तथ्यांकअनुसार ०५६ र ०५७ सम्म कमैमात्र नेपाली मलेशिया पुगेका थिए । ‘यी दुई वर्षमा जम्मा तीन सय २२ जनामात्र मलेशिया पुगेका थिए ।’ विभागले तयार पारेको एक प्रतिवेदनमा उल्लेख छ ।
न्युनतम तलव नौ सय रिंगिट बनाउने मलेशिया सरकारको निर्णयसँगै कामदार आफैंले लेवी तिर्नुपर्ने नियमपनि आएपछि केही ठाउँमा रहेका कम्पनीहरुमा सामान्यतया समस्या आएपनि त्यसलाई सहजीकरण गर्न सकिने अधिकारीहरुले बताउँदै आएका छन् । काम गर्ने ठाउँमा देखा पर्ने सानातिना समस्याले मलेशियामा पाएको अवसर गुम्न नसक्ने तुफानले बताए ।
वैदेशिक रोजगारको सम्भावना र अवसरबारे अध्ययन गर्न श्रम तथा मन्त्रालयका सह–सचिव विनोद केसी सहितको टोलीले मलेशियामा पर्याप्त अवसर रहेको निक्र्यौल गरेको थियो । त्यसकारण पनि खाडी बाहेक मलेशियालाई नेपाली श्रमबजारको गतिलो गन्तव्यका रुपमा व्याख्या पनि गरिएको छ । गत साउनमा मलेशियाका विभिन्न ठाउँमा पुगेपछि केसीले तयार पारेको प्रतिवेदनमा पनि निर्माण कम्पनीमात्र नभएर घरेलु कामदारका लागि पनि नेपाली श्रमशक्ति पठाउन सकिने उल्लेख गरिएको थियो । उक्त प्रतिवेदन टोलीले सरकारलाई बुझाइसकेको छ ।
टोलीले बढ्दो जीवनस्तर र कार्यव्यस्तताका कारण मलेसियामा घरेलु कामदारको माग बढीरहेको जनाएको थियो । नेपाल सरकारले घरेलु कामदारको बैदेशिक रोजगार व्यवस्थापन सम्बन्धी कार्यविधि जारी गरी नेपाली राजदुतावास भएका साउदी अरेविया, कतार, कुवेत र यूएई मा लागू गरिसकेको छ । उक्त कार्यविधिका आधारमा मलेशियामा पनि पठाउन सकिने सुझाव पनि दिएको छ । नेपाली दुतावासबाट यस्ता कामदारको व्यवस्थापनका सम्बन्धमा छलफल गरी त्यस्ता कामदारको स्टान्डर्ड कन्ट्र्याक्ट, न्यूनतम तलव, कार्यस्तर तथा सुरक्षात्मक उपायहरुको बारेमा दुतावाससंग छलफल भई सिफारिश प्राप्त भएको अवस्थामा उनीहरुको निम्ति मलेसिया पनि एउटा महत्वपूर्ण गन्तव्य बन्न सक्ने प्रतिवेदनमा उल्लेख छ । दुई देशबीच श्रम संझौताले यसलाई सुव्यवस्थित रुपमा अगाडि बढाउने गरी प्रावधान राख्ने र एमओयु पश्चात व्यवस्थित मापदण्डका आधारमामात्र नेपाली घरेलु कामदार मलेसियामा वैदेशिक रोजगारीमा पठाउने प्रक्रिया अवलम्बन गर्न सकिने पनि जनाइएको थियो । अहिले मलेशियाका लागि पनि नेपाली घरेलु कामदार जाने क्रम सुरु भइसकेको वैदेशिक रोजगार विभागले जनाएको छ ।


'दुवईको कमाइले जग्गा जोडियो'

तेह्रथुम, सिम्ले– ६ का रणधीर कुरुम्वाङले १२ वर्ष संयुक्त अरब इमिरेट्स (युएइ)को दुवइमा काम गरे । उनको अनुभव ः

सन् २००० मा काठमाडौंको शान्तिनगरमा रहेको एभरेष्ट म्यानपावर कम्पनीलाई ३५ हजार तिरेर म दुवईका लागि गएको थिएँ । त्यहाँ रहेको गिफ्ट आइल्याण्ड भन्ने इरानी गार्मेन्ट कम्पनीमा जागिरका लागि पुगेको थिएँ । यहाँबाट गएको तीन महिनासम्म लगातार काम गर्दापनि तलव दिएन । मसँग ७५ जना अन्य नेपाली पनि थिए । कसैलाई पनि उक्त कम्पनीले तलव दिएको थिएन । त्यसपछि हाम्रो कम्पनी म्यानेजरसँग तलवको विषयमा झगडा परेको थियो । झगडा परेपछि दुवई प्रहरीले सोधपुछका लागि हामीलाई एक रात राख्यो । हामीले तलव नदिएका कारण तलव माग्दा झगडा परेको भन्यौं । त्यसपछि विहान छाड्यो । हामी कम्पनी फर्कियौं तर तलव पाएनौं । फर्किएको केही दिनमा कम्पनीले हामीलाई रिलिज (अन्य काम गर्ने छुट) दियो । तलव नपाउने कम्पनीमा बस्नुभन्दा अन्यत्र काम गर्नु राम्रो ठानेर हामी आ–आफ्नो बाटो लाग्यौं ।
तीन महिनापछि म एमके ग्रुप लुलु हाइपर मार्केटमा सेल्सम्यानका रुपमा काम गर्न थालें । अहिलेसम्म पनि सोही कम्पनीमा काम गरिरहेको छु । त्यहाँ नियमित रुपमा महिनाको नौ सय दिनारमा काम गर्न थालियो । अहिले त्यहाँ काम गरेको १२ वर्ष नाघेको छ । विभिन्न समयमा विभिन्न अवसर पारेर तलव बढाउँदै गएका कारण अहिले मेरो तलव २३ सय ५० दिनार छ । हरेक वर्ष उक्त कम्पनीमा तलव बढाउने नियम पनि छ । नियमित रुपमा तलव बढाउँदै गइरहेको छ । हरेक वर्ष एक सय ५० दिनार तलव बृद्धि हुन्छ, खानाको दुई वर्षमा खानाको एक सय दिनार थप हुन्छ । पाँच वर्ष नाघेकाहरुको २ सय दिनार अनि १० वर्ष नाघेकाहरुको तीन सय दिनार थप हुन्छ । मेरो दश वर्ष नाघेका कारण तीन सय दिनार खानाको थपिएर आउने गरेको छ । मैले त्यो तीन महिना बाहेक दुवईमा कुनै दुखको काम गर्नुपरेको छैन । त्यसबेलादेखि सेल्समा निरन्तर काम गरिरहेको छु । बरु काम गर्ने क्रममा विभिन्न प्रकारका घटनाहरु देखियो । नेपाली समाजमा पनि आवद्ध भएका कारण त्यहाँ दुख परेका नेपालीहरुको सहयोगको काममा पनि सक्रिय छु । दुवईमा कमाएको पैसाले सुनसरीका तरहरामा केही जग्गा किनेको छु । घरखर्चपनि चलिरहेको छ । राम्रैसँग काम गरिरहेको छु । सुरुमा जस्तो अहिले मलाई भाषाको समस्या छैन । बरु अरु नेपाली समस्यामा परेको देखेको छु ।
तीन महिना अघिमात्र एक महिला समस्यामा परेर सेल्समा आएकी थिइन् । नेपाली महिला त्यहाँ रहेको अमेरिका भन्ने कम्पनीको केएफसीमा काम गर्दिरहिछ । उसको त्यहाँ काम गर्ने इजिप्टको एक केटासँग प्रेमसम्बन्ध रहेछ । सोही सम्बन्धका कारण उनी गर्भवती पनि भएकी रहिछ । पागलजस्तो भएर समस्याबारे सुनाइन् । मैले र केही नेपाली साथीहरुले उनलाई दुतावाससम्म पु¥याएर समस्या समाधानका लागि पहल पनि गरेका थियौं । तर, उनले मानिन् । त्यहाँ रहेका सात जना ट्याक्सी ड्राइभर नेपालीले उनलाई सहयोग गर्ने भनेका थिए । तर, उनीहरुको पनि केही सामान लिएर उनी हिँडेको भन्ने सुनियो । पछि उनी हाम्रो सम्पर्कमा पनि आइनन् । यो घटनाबाहेक अन्य केही घटनापनि त्यति नराम्रो भएको छैन । विदेश बस्न रमाइलो लागेको छैन । अहिले विदामा नेपाल आएको हुँ । केही वर्षमा आफ्नै ठाउँमा व्यापारव्यावसाय गर्ने सोच बनाएको छु ।

'भाषा नजान्दा औषधि किन्न सकिँन'

चार वर्ष कतारमा बसेर रेष्टुरेन्टमा कुकको काम गरेका गल्मी, तुराङ–६ दमारका खगराज अर्यालले अहिले काठमाडौंमा आफ्नै रेष्टुरेन्ट चलाएका छन् । उनको विदेश बसाइको अनुभव उनको शव्दमा ः

म सन् २००६ सेप्टेम्बरमा गाउँको चिनजानको मान्छेले पठाएको व्यक्तिगत भिसाको आधारमा कतारको दोहा पुगेको थिएँ । होटलसम्बन्धि काम गर्न जान्ने भएकाले त्यहाँ रहेको नेपालीको हिमालय रेष्टुरेन्टमा कुकको काम गर्नका लागि म पुगेको थिएँ । म जाँदा कम्तिमा एक लाख रुपियाँ खर्च भएको थियो । मैले महिनामा एक हजार रियल पाउने गरेको थिएँ । तलव सात सय रियाल दिने सर्तमा गएको थिएँ । पुगेका केही महिनासम्म सात सय रियाल तलव पाइयो । त्यसपछि एक हजार पाउने गरेको थिएँ ।
कतार बसेर पैसा त कमाउन सकिएन । तर, त्यहाँको वातावरण र कामको बारेमा जानकारी लिएर आइयो । आफुले लगानी गरेको रकममात्र उठाउन पाइयो । कतारमा यतिधेरै गर्मी की भित्र बसेर गर्ने काम भएका कारण मलाई गर्मीको निक्कै समस्या भयो । किचनमा काम गर्दा पसिनाले निथ्रुक्क भिजिन्थ्यो । नेशनल ठाउँमा रहेको कमल थापको होटलमा १७–१८ जना नेपाली हामी कार्यरत थियौं । कुकको प्रमूखका रुपमा म पुगेको थिएँ ।
कहिलेकाँही सातामा एक दिन विदा हुन्थ्यो । मलगायतका केही साथी विमानस्थलमा घुम्नका लागि पुगेका थियौं । त्यहाँ निक्कै नेपालीहरु विचल्ली भएको अवस्थामा पुगेका हुन्थे । उनीहरुसँग फोन गर्नका लागि मोवाइलमा पैसा पनि नहुने रहेछ । मैले नै कतिपय दुखी नेपालीको सम्पर्क आफ्नो मोवाइलबाट गराइदिएको थिएँ । यहाँबाट जाँदा गलत सम्झौता गरेका कारण त्यहाँ पुगेर भनिएको कम्पनीमा पुग्न नपाएका, काम गर्न नपाएकाहरुको भीँड ज्यादा देखियो ।
नेपालीहरु विदेश भन्नासाथ हिँडीहाल्ने गर्छन् । तर, त्यहाँ गएर कस्तो काम कुन कम्पनीमा भन्ने पत्ता लगाउन नसक्दा समस्यामा परेको देखियो । भाषाको कमी, कामबारे तालिम नहुनेले दुख पाउँछन् । मैले पनि भाषाको कारणले केही समस्या झेलें तर विरामी भएर निक्कै समस्या भयो । भाषाका नजान्दा औषधि पनि भनेको किन्न पाइन । त्यहाँ कमाएको रकम लगानी गर्नभन्दा पनि ऋण तिर्न र घरयासी व्यवाहार चलाउनमा नै सकियो । त्यहाँको काममा टिक्न नसक्ने भएपछि म सन् २०१० मा नेपाल फर्केर आएँ ।

काममा जानेलाई टिप्स

यदि तपाई वैदेशिक रोजगारीमा जानु हुँदैछ भने निम्म कुराहरुमा ध्यान दिनुहोस ।
–    खर्च र आम्दानीको राम्रो जानकारी लिएरमात्र वैदेशिक रोजगारीमा जानुहोस ।
–    वैदेशिक रोजगारीमा जानुअघि अभिमुखिकरण तालिम अनिवार्य रुपमा लिनुहोस ।
–    जानी जानी गलत कागजात, व्यावसायीक वा भिजिट भिसामा वैदेशिक रोजगारीमा जानु खतरा हुन्छ । त्यसकारण यस्तो जोखिम उठाउन हुँदैन ।
–    वैदेशिक रोजगारीमा जाँदा आवश्यक सवै कागजातको एक–एक प्रति आफु र परिवारको साथमा अनिवार्य हुनुपर्दछ । यसले समस्या पर्दा सहयोग पु¥याउँछ ।
–    वैदेशिक रोजगारीमा जानु आफ्नोमात्र नभएर परिवारको पनि सल्लाह अनिवार्य हुन्छ । घरपरिवारसँग सल्लाह गरी मानसिक रुपमा रोजगारीमा जानका लागि तयार हुनुपर्दछ ।
–    विदेशमा रहँदा नेपाली दुतावास, घरपरिवार, नेपाली संघसंस्थासँग नियमित सम्पर्कमा रहनुपर्दछ । यसो हुँदा समस्यामा परेका बेला उद्दारका लागि सहज हुन्छ ।
–    आफ्नो करार अवधि सकिएपछि स्वदेश फर्किएर विमा र पुनःश्रमस्वीकृति गरेर फर्किनु पर्दछ । यसो हँुदा विमा रकम र क्षतिपूर्ति सहयोग पाउन समस्या हुँदैन ।
–    विदेशमा कोठामा सुत्दा एसीको प्रयोगपनि सही किसिमले गर्नुपर्दछ । नजानेको कुरा सिकेर जानुपर्दछ । विदेशको वातावरणबारे पहिले नै ज्ञान राख्नुपर्दछ ।
–    खासगरी खाडी मुलुक जाँदा पान पराग, पान मसला, चुरोट, सुर्ती प्रतिबन्ध छ । यसलाई लैजानु हुँदैन र प्रयोग गर्नु हुँदेन । मदिरा पनि प्रतिबन्धित छ ।
शुक्रबारमा मेरो स्तम्भ विदेशको काममा प्रकाशित सामग्री

No comments:

Post a Comment