Wednesday, May 15, 2013

जेलको चिसो छिँडी रुङ्नेहरु


डी. विनोद 

राप्कोट स्याङजाका राजकुमार काफ्ले महिलासँग सम्बन्ध राखेको अभियोगको मुद्दामा अहिले साउदीको अरबको मलाजस्थि जेलमा छन् । वैदेशिक रोजगारीका लागि साउदी पुगेका उनलाई महिलाहरुसँग अनैतिक सम्बन्ध राखेको अभियोगमा साउदी प्रहरील पक्राउ गरेको थियो । उनका परिवारले छुटाउनका लागि कुटनीतिक पहल गरिरहेका छन् । साउदीस्थित दुतावासले पनि उनीमाथि लागेको अभियोग हटाउनका लागि पहल गरिरहेको छ । तर, साउदीमा प्रतिबन्ध गरिएको महिलासँगको अनैतिक सम्बन्धमा उनको संलग्नता देखिएको भन्दै स्थानीय प्रहरीले उनीमाथि मुद्दा चलाएको थियो ।

साउदीमा रहेका झण्डै पाँच लाख नेपालीले रोजगारीमा पुगेर रकम कमाउने काममात्र गरेका छैनन् । त्यहाँको कानुनबारे राम्रो जानकारी नपाएका कारण विभिन्न अभियोगहरुमा जेल बस्न बाध्य हुनु परेको छ । खासगरी घरमा श्रीमति छाडेर जानेहरु विभिन्न मुलुकबाट गएका महिला कामदारसँगको अनैतिक सम्बन्धका कारण जेलमा बस्न बाध्य छन् ।  

यस्तै अभियोगमा अल हायरस्थित जेलको चिसो छिँडीमा रात काटिरहेका छन् चितवनको जगतपुरका सुनील मल्ल । उनलाई पनि अनैतिक सम्बन्ध राखेको अभियोग लागेको छ । उनी आफुलाई फँसाइएको बताएपनि साउदी प्रहरी त्यसो मान्ना तयार छैन । उनीसँगै उक्त अभियोगमा फैजु रहमान, रिसिराम चालिसे, चीतवनकै गीतानगरका केशव अर्याल, ललितपुर चौघरका सम्बल तामांग पनि अलहायर जेलमा छन् । दुतावासले उनीहरुमाथि रहेको अभियोगबारे बुझ्ने प्रयास गरेको छ । त्यस बाहेक साउदीमा रहेका नेपाली संघसंस्थाले पनि उनीहरुको अभियोगबारे बुझ्ने प्रयत्न गरिरहेको त्यहाँस्थित दुतावासले जनाएको छ ।

साउदीका विभिन्न जेलमा रहेका ८२ जनाभन्दा बढिको नाम दुतावासमा पुगिसकेको छ । उनीहरुमाथि अनैतिक सम्बन्धको अभियोगमात्र छैन । हत्या, मादकपदार्थ सेवन गरेको, चोरी गरेको, दुर्घटना गराएकोलगायतका अभियोग पनि लागेको छ ।

मलाजस्थित जेलमा रहेका दलबहादुर कामीलाई हत्या अभियोग छ । स्थानीयको हत्या गरेको अभियोगमा उनी जेलमा छन् । उनको रिहाइका लागि पनि नेपाली दुतावासले प्रयास गरिरहेको जनाएको छ । उनीमात्र होइन हत्या गरेकै अभियोगमा जीतबहादुर परियार पनि उनीसँगै थुनामा छन् । उनले कसको गरेको हत्या भन्नेबारेचाँही साउदी प्रशासनले खुलाइसकेको छैन । 
नेपालमा प्रहरी रिपोर्ट बनाएर स्वच्छ छवीको प्रमाणपत्र लिएपनि वैदेशिक रोजगारीका क्रममा विभिन्न अपराधमा फँस्नेहरु कम छैन । सामान्यतया दुर्घटनाको अभियोग लगाइएकाहरुका लागि पहल गर्न सहज भएपनि हत्यालगायत उक्त मुलुकमा बर्जित काम गरेका अन्यलाई भने नेपाली प्रशासनले छुटाउनका लागि पनि मुस्किल हुने गरेको छ । वैदेशिक रोजगारीमा जाँदा उक्त मुलुकको कानुनको बारेमा बुझ्नु अनिवार्य हुने भएपनि धेरै नेपाली कामदारमा त्यो कमजोरी रहेकाले पनि उनीहरु थुनामा पर्ने गरेका छन् । 

नेपालको स्थायी ठेगाना खुल्न नसकेका मेघनाथ भुसाल कम्पनीमा पैसा चोरीको अभियोगमा जेल हालिए । कम्पनीले उनीमाथि रकम चोरीको अभियोग लगायो र साउदी प्रहरीले मलाज जेल चलान गरेको थियो । त्यस्तै इलेक्ट्रीक केवल हराएको अभियोगमा विष्णु कुमार र कुल बहादुरले पनि जेलको बाटो तताउन परेको थियो । 

यस्ता थुपै्र प्रकारका अभियोगमा नेपालीहरु जेल पर्ने गरेका छन् । यी आपराधिक मुद्दामा जेल चलान नै गरिएका र मुद्दाको तयारी भएका केही उदाहरण हुन् । उनीहरुको बचाउका लागि दुतावासले सरकारसँग बारम्बार आग्रह गरीरहेको छ । यसबाहेक दैनिक ६० जना नेपाली साउदी प्रहरीको कष्टडीमा पुग्छन् । नेपालबाट वैधानिक रुपमा साउदी पुगेपनि त्यहाँ अवैधानिक हुने कारणले पनि नेपालीको यत्रो संख्या दैनिकजसो पक्राउ पर्ने गरेको साउदीस्थित नेपाली राजदुत उदयराज पाण्डेले बताएका छन् । 

पछिल्लो पटक साउदी सरकारले भगुवा कामदार लिने कम्पनीलाई एक लाख रियाल जरिवाना र मालिकलाई दुई वर्ष जेल सजायको नियम ल्याएपछि अवैधानिक रुपमा काम गरिरहेका कम्तिमा ६० देखि ७० हजार नेपाली कामदार अहिले समस्यामा परेको उनले बताए । नेपाल सरकारले उनीहरुको सुरक्षाका लागि साउदीसरकारसँग फेरिपनि आममाफीको प्रस्ताव नगरे नेपाली कामदारहरु अलपत्र पर्ने क्रम बढिरहने पाण्डेले बताएका छन् । उनले विभिन्न अभियोगमा जेलमा रहेका नेपालीको उद्दारका लागि पनि दुतावास सक्रिय भएको बताए । 

बानीले पुरायो जेल

सामान्यतय आदतकै कारण बन्दि बन्नेहरु कम हुन्छन् । तर, कतिपय मुलुकमा नेपालीहरुको आदतका कारण उनीहरु आफैं बन्दि बन्ने गरेका छन् । खासगरी खाडी मुलुकका कतार र साउदी अरबमा सुर्तीजन्य, नशाजन्य पदार्थको सार्वजनिक प्रयोगलाई निषेध गरिएको छ । तर, नेपाली कामदारको आदतले उक्त कानुन तोडिने गर्दा उनीहरु जेलसम्म पुगेका छन् । 
साउदीमा कार्यरत रामबहादुर तमांगको मादक पदार्थ सेवन गर्ने लतले उनलाई जेलसम्म पु¥याएको छ । उनको यो आदतकै कारण साउदीको मलाजस्थित जेलमा बस्न बाध्य छन् । ‘साउदीको कानुन थाहा नपाउँदा समस्या भएको हो ।’ उनलाई उदृत पीडित परिवारले जनाएका छ ।
उनीसँगै उही अभियोगमा सुवास तामांग पनि जेलमा छन् । ‘मादक पदार्थ सेवन गर्ने बानी आफैंमा राम्रो होइन त्यहिँमाथि साउदी अरबको कानुन नबुझी नेपालजस्तो जहाँ पायो त्यहाँ गल्ती गर्दा नेपाली समस्यामा छन् ।’ एक दुतावास अधिकारीले भने,‘यहि अभियोगमा साउदीमा कार्यरत सोम राम, शेरबहादुर भण्डारी, काशीराज राईलगायत अहिले पनि जेलमा छन् ।’
मादक पदार्थ सेवन गरेकै अभियोगमा मात्र तीन दर्जनभन्दा बढि युवाहरु जेलमा रहेको आधिकारिक जानकारी दुतावासमा पुगेको छ । दुतावास अधिकारीले भने,‘यी बाहेक अरु ठाउँका जेलमा पनि नेपाली रहेको सुनिएको छ तर त्यसको आधिकारिकता पुष्टि हुन सकेको छैन ।’ साउदी अरबमा सार्वजनिक ठाउँमा मादकपदार्थ सेवन गर्नु कानुनविरोधी काम हो । 


काममा जानेलाई टिप्स

यदि तपाई वैदेशिक रोजगारीमा जानु हुँदैछ भने निम्न कुराहरुमा विशेष ध्यान दिनुहोला । 

–विभिन्न मान्यताप्राप्त संस्थाबाट सम्बन्धित मुलुकको कामका बारेमा अभिमुखिकरण तालिम लिएर मात्र जानु पर्दछ । 
–छापिएका विज्ञापनहरुको आधिकारिकताका बारेमा वैदेशिक रोजगार विभाग, वैदेशिक रोजगार प्रबद्र्धन बोर्डमा जानकारी राखेर मात्र रोजगारीका लागि जानुपर्दछ । 
–भिसा र कामको सम्पूर्ण कागजात सम्बन्धि पूर्ण जानकारी पछि मात्र लागत खर्च दिनुपर्दछ । (सरकारी निकायले तोकेअनुसार त्यो भन्दा बढि दिन हुँदैन ।’
–मलेशियामा जान खोज्ने कामदारहरुले कमाइलाई सुरक्षित गर्न त्यहाँ सञ्चालन हुने विभिन्न प्रकारका चिट्ठा कार्यक्रम खेल्नु उपयुक्त हुँदैन । टोटो नाममा खेलाइने चिट्ठामा रकम लगानी गर्दा कमाई गुम्ने खतरा हुन्छ । 
–काममा पुगेको सम्बन्धित मुलुकको श्रम सम्बन्धि कानुनी व्यवस्था जानु अघि बुझ्नु उपयुक्त हुन्छ । गएपछि अलपत्र नपर्नका लागि उक्त जानकारी आवश्यक छ । 
–अनिवार्य अभिमुखिकरण तालिम सहित आफु रोजगारीका लागि जान लागेको मुलुक, कामको प्रगति, दुतावासबारे जानकारी राखौं । 
–गैरआवासीय नेपाली संस्था भए नभएको बारेमा जानकारी राखौं, स्वास्थ्य राम्रो बनाएरमात्र जाऔं । झुठो स्वास्थ्य रिपोर्ट बनाउँदा जोखिम हुने हुँदा इजाजतपत्र पाएको स्वास्थ्यसंस्थामामात्र राम्रो चेकजाँच गराई रोजगारीमा जानु अघि चिकित्सकसँग सल्लाह गरौं । 
–वैदेशिक रोजगार विभाग, वैदेशिक रोजगार प्रबद्र्धन बोर्ड, परिवारका सदस्यहरुसँग सल्लाह र परामर्शबाटमात्र वैदेशिक रोजगारीका लागि तयार हुनुपर्दछ । 

No comments:

Post a Comment