Friday, May 24, 2013

छरपष्ट राजनीति, वेतुकको कथा


विनोद ढकाल 

चित्रण १
एनेकपा माओवादी युद्ध छाडेर सडकमा आएपछि आधुनिक समाजमो सवैभन्दा चर्को विरोधीका रुपमा उत्रियो । लेखक खगेन्द्र संग्रौलालाई अगाडी सारेर ‘ग्लयामरको चर्को प्रतिरोध आन्दोलन पनि तताएको थियो । फलतः एउटा सुन्दरी प्रतियोगिता रोकिएको थियो । यो प्रसंग यसकारण पनि आलेखमा अनिवार्य छ की विषय रेखा थापाजस्तो हट केक लाई एमाओवादीमा टिका लगाएर व्यापक स्वागत गरिएको छ । निशव्द छन् तथाकथित सुन्दरीप्रतियोगीताका विरोधी तत्कालिन एमाओवादी महिला नेतृहरु पनि । 
चित्रण २
रेखा थापा । छविराज ओझासँग सम्बन्धविच्छेद भएकी एउटी महिला । नेपाली चलचित्र उद्योगमा राम्रो नाम कमाएकी एक अभिनेतृ । नेपालको सन्दर्भमा चलेकी ‘सेलिव्रिटि’ । अनेक परिचय रेखाका लागि उपयुक्त छन् । उनको नयाँ परिचय पनि थपिएको छ, एकीकृत नेकपा माओवादी कार्यकर्ता । अहिले योङ कम्युनिष्ट लिगमा उनको खुवै चर्चा छ । तत्कालिन सभासद् तथा वाइसीएलका उपत्यका इञ्चार्ज चन्द्रबहादुर थापालाई उनले भाइटिका लगाएको र अहिले पार्टी प्रवेश गरेको विषयको पनि । सहरमा चन्द्रबहादुर थापा बाहेक रेखा थापासँग भाइटिका लगाउन चहाने अनेक थापाहरु सडकमा छन् । रेखाले किन सडकका थापाहरुसँग टिका लगाइनन् ? प्रश्नको चक्रव्युहबाट उत्तर खोज्ने अभिमन्यु कोही हुनसक्ला । सायद, यसको जवाफ छविराज ओझालाई थाहा होला । तर, सामान्यतया सरसर्ती विश्लेषण गर्ने हो भने ‘शक्तिकेन्द्र सम्बन्ध’को नीतिको एउटा साधारण उदाहरण थियो, त्यो । अन्य अनेक उदाहरण पनि छन्, शक्तिकेन्द्रमा पुग्ने महत्वकांक्षामा मान्छे कति हदसम्म लाग्छ भन्ने । 
बहस र विस्तार 
एमाओवादी उपाध्यक्ष डा. बाबुराम भट्टराई क्याविनेटले चलचित्र विकास बोर्डको अध्यक्ष नियुक्त गर्ने समयमा निक्कै कलाकारहरु शक्तिकेन्द्र नजिक धाएका थिए । पप्पु मरवैता अध्यक्ष नियुक्त हुनुभन्दा अघि विभिन्न प्रकारका आन्दोलन र अनशनका नाटकीय चरित्रले कलाकारको पगरी लगाउनेहरुको अनुहारलाई उतारेकै हो । महानायक भनिएका राजेश हमालसम्मको अनुहार आन्दोलनमा देखिएको थियो । त्यसअघि, क्याविनेट वैठक अघि संघिय लोकतान्त्रिक गणतान्त्रिक गठबन्धनमा भएको संवादाको  एउटा अर्को नाटक यतिवेला राख्नैपर्ने हुन्छ । एकीकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले अभिनेत्री रेखा थापालाई विकास बोर्डअध्यक्ष बनाउनका लागि तत्कालिन सञ्चारमन्त्री राजकिशोर यादवले आग्रह गरेका थिए । जवाफमा राजकिशोरले भनेका थिए,‘चलचित्र विकास बोर्ड कुनै ‘...स्टार’ थन्काउने ठाउँ हैन । अन्य निकायमा आफ्ना मान्छे नियुक्त गरेर थाकेको एमाओवादीको भागमा चलचित्र विकास बोर्डमा नियुक्त गर्ने राजनीतिक भागवण्डाको अधिकार पनि थिएन । कुरा सेलायो, सकियो । एउटा चलेको साप्ताहिक अखबारअनुसार सोही समयमा मधेसी जनाधिकार फोरम लोकतान्त्रिकका केन्द्रिय सदस्य गणेश लामालाई भेट्न पनि भ्याइन्, रेखा थापाले । उनको धेय थियो, विजयकुमार गच्छादारसँग सम्बन्ध स्थापित गरेर विकास बोर्ड अध्यक्ष हुने । तर, भागवन्डाका आधारमा गच्छादारको पनि त्यहाँ केही सीप चल्नेवाला थिएन र चलेन पनि । 
उल्लिखित घटनाक्रम चलचित्र विकास बोर्डको राजनीतिक नियुक्तिका लागि रेखा थापाले कतिसम्म प्रयास गरिन् भन्ने देखिएका उदाहरण हुन् । यी बाहेक उनले कति प्रयास गरिन्, कस्ता–कस्ता मान्छेहरुसँग भेटिन र कुन कुन शक्तिकेन्द्रसम्म पहुँच बनाउने प्रयत्न गरिन् भन्ने नेपाल टेलिकमको कल डिटेलमा होला । थापामात्र किन ? यहि पदका लागि निक्कै कलाकार भन्न रुचाउनेहरुको अभ्यास लामो थियो । उनीहरु खुलेर कार्यकर्ता हुन सकेनन्, भएकाहरु खुल्न चाहेनन् । यसका विविध कारण हुनसक्ला । 
रेखा थापाको यो पार्टी प्रवेश गर्ने काम साँच्चै माओवादीको विचारसँग प्रभावित भएर हो अथवा अवसरका लागि हो ? भन्ने विरोधाभाष चर्चा सहरमा उल्लेख्य रुपमा चलिरहेका छन् । यसलाई ‘रेखा थापाको तातो बहस’ नामाकरण गरिसकिएको छ ।
क्लाकारिता र राजनीतिको अन्तरसम्बन्ध कति छ थाहा छैन । कुनै कुनै अर्थमा यी दुई र फरक धारको परोक्ष सम्बन्ध हुनसक्ला । तर, जसरी अहिले खुलेर देखिन थालेको छ, यो नेपाली कला उद्योगका लागि र राजनीतिका लागि पनि हानिकारक देखिएको छ । नेपालीले विर्सेका छैनन्, तत्कालिन राजा ज्ञानेन्द्रले आह्वान गरेको चुनावी प्रचारका लागि मनिषा कोइराला काठमाडौंमा खटिएकी थिइन् । यो दुश्प्रयासको नमुनाले न राजाको क्रेज बढाएको थियो, न तत्कालिन चुनावको मान्यता नै रह्यो । ठ्याक्क यहि पथबाट एमाओवादी आफ्नो चुनावी सभा र विरोधका कार्यक्रममा कार्यकर्ता भुलाउनका लागि कतै रेखा थापाहरुको प्रयोग गरिरहेको त छैन ? राजनीतिक कोणबाट पनि दृष्टिगत गर्न आवश्यक छ । कलाकारले विश्लेषण गर्नुपर्ने अनिवार्यता कति छ, त्यो व्यक्तिमा नीहित सवाल भयो । 
एउटा राम्रो कलाकारको ‘स्टारडम’ जीवन्त राख्नका लागि उसको कलाकारिताको संघर्ष नै काफी छ । नेपाली चलचित्र क्षेत्रमा रेखा थापाको स्टारडम एउटा उचाइसम्म पुगेको महसुस गर्नुमा आपत्ति हुने थिएन । तर, अहिले आफ्नो कलाकारिताको हैसियत गिरेको हो भन्ने प्रमाण उनी आफैंले अनेक कामहरु गरेर प्रमाणित गरिरहेकी छन् । त्यसकारण उनी आफ्नो नयाँ पहिचानको खोजीमा पार्टीविशेषमा प्रवेश गरिन् । उनीसँग एमाओवादी प्रवेश गर्ने नेतृ उर्मिला अर्यालले पार्टी परिवर्तन गर्नु त्यति नयाँ कुरा होइन । उनको जीवन नै यस्तैमा वितेको छ । तर, शक्तिको आडमा आफुलाई यहि क्षेत्रमा टिकाइराख्ने अथवा सभासद् हुने अभिलासामा पार्टी प्रवेश गर्नेहरुको लस्करले उसको एउटा परिचयलाई जीउँदो कदापी राख्न सक्तैन । मलाई सम्झना छ– जव माधव नेपाल सरकार गिराउनका लागि माओवादीले वेतुकको आन्दोलन छेडेको थियो त्यसबेला रेखा थापाले प्रचण्डसँग कम्मर मर्काएको चर्चा वेतोडले चलिरहेको थियो । लगत्तै माओवादीले विराटनगरमा गरेको सभामा तत्कालिन एमाओवादी नेता सीपी गजुरेलको सम्बोधनका क्रममा पनि उनी त्यहाँ कम्मर लर्काउन पुगेकी थिइन् । त्यसैबेला पत्रकारद्वय सुविद गुरागाँई, नविन गड्तौला र मैले उनीसँग लामो समय कुराकानी गरेका थियौं । उनको माइतीघर सलकपुरमा कालो चिया पिएर उनीसँगको कुराकानी लामो भएको थियो । स्मरणका लागि उनले खैरो रंगको टिसर्ट र कालो हाफपाइन्ट लगाएको पहिरनबारे भन्नु सावितीका लागि सान्दर्भिक होला । त्यसबेला उनले भनेकी थिइन्,‘कलाकारको पार्टी हुन्न । म माओवादी होइन, बन्न पनि सक्तिन ।’ उनको त्यो भनाईमा दम नरहेको अहिले सावित भएको छ । यद्यपि, मानिस स्थिर र स्वतन्त्र भएर बस्न सक्तैन । यो तथ्यसँग उनले पनि सामिप्यता देखाइन् । उनी एमाओवादीको विचारसँग सहमत हुनु नयाँ कुरा होइन । सहरमा निक्कै रेखा थापाहरु छन् । जो, शक्तिकेन्द्रहरुको शरणमा पुगेर महत्वकांक्षाको ‘इम्प्लिमेन्ट’ गर्न चहान्छन् । मौका थोरैले पाउने गर्छन । यो ‘मौका’ कसरी आइलाग्छ ? कसरी पाइन्छ ? कसरीको जवाफ जनताले थाहा पाउनुपर्ने अनिवार्यता भइसकेको छ । 
प्रचण्ड गसिप
मानिस चर्चाको यतिविध्न लुव्धो हुँदो रहेछ की त्यसले अनेक हत्कण्डालाई विभिन्न प्रकारबाट जारी राख्दछ । एमाओवादी अध्यक्ष प्रचण्डलाई थाहा छ, राजनीतिमा गसिप अनिवार्य हुनुपर्छ । उनी यो योजनाबाट सदाबाहर चर्चामा आइरहने व्यक्ति पनि हुन् । चाहे रेखा थापासँग नाचेको विषय होस् अथवा भैंसीको पुच्छर समाएर पुजा गरेका कथा हुन् । यी दुई चरित्र चलचित्रक्षेत्र र राजनीति क्षेत्रमा गसिपलाई प्रेम गर्ने व्यक्ति हुन् । जंगबहादुरदेखि बुद्ध बन्नेसम्मका घोषणा हुन् अथवा राजनीतिक छलका कथाहरु हुन्, प्रचण्ड कहिलेपनि मिडियाबाट टाढा भएका छैनन् । 
मानिस शक्तिकेन्द्रको नजरमा त्यतिवेलासम्म रहन्छ जतिवेलासम्म सहरमा उसको चर्चा हुन्छ । प्रचण्डको दिमाग र रेखा थापाको मनोवैज्ञानिक तिक्ष्णता समानजस्तै छ । कति कलाकारहरु खासगरी हिरोइनहरु जवानी सकिनासाथ चलचित्रबाट सकिएका छन् । रेखा त्यो लहरमा उभिने मान्छे होइन । अनेक रुपमा मिडियाको नजरमा छाइरहने मान्छे हो । उनका विभिन्न प्रकारका हत्कण्डाहरु प्रचण्डभन्दा कम छैनन् । छविराज ओझासँगको विवाह, सम्बन्ध र छोडपत्र होस् अथवा राजनीतिक दल प्रवेशका कुरा हुन् । मिडियालाई गाली गर्ने चालचलन होस् वा अन्य प्रकारका हर्कतहरु सदावहार रुपमा उनलाई चर्चामा राख्ने विषय बनेका थिए । ठिक प्रचण्ड समान । त्यसकारण पनि प्रचण्डको पार्टी र रेखाको लामै समयसम्म ताजा हुनसक्ने सम्भावना कोर्न सकिन्छ ।
जेहोस् एक परिवर्तनका अनेक कोणहरु देख्न पाइन्छ । सिद्धान्त परिवर्तन नभई व्यवाहार परिवर्तन भएको राजनीतिक दल र व्यवाहार यथावत राखेर सिद्धान्त परिवर्तन गर्ने कलाकार । यस्तै हुन्छ सायद, अस्रेल्ल राजनीति भएको मुलुकको वेतुकको कथा ।  

No comments:

Post a Comment