Thursday, May 23, 2013

खाडी अर्थात् पीडाको खाडल

डी. विनोद
दाङको तुलसीपुरकी फूलमाया तामाङ हाउसमेडको कामको लागि साउदी अरब पुगेकी थिइन् । काममा लाग्नासाथ विरामी भएकी फूलमाया विरामी भएपछि अहिले रियादस्थित नेपाली दुतावासको शरणमा छिन् । उनलाई नेपाल पठाउनका लागि दुतावासले गरेको पहल प्रकृयामा छ ।
दुई वर्ष अघि रोजगारीको खोजीमा साउदी अरबको रियाद पुगेकी उनी घरेलु कामदारका क्रममा पुगेकी थिइन् । तर, कामको चापका कारण उनी विरामी परिन । अहिले उनी दुतावासमा छिन् । रियादस्थित नेपाली दुतावासले जनाएअनुसार उनको नेपाल फिर्तिका लागि आवश्यक प्रकृयाकोक्रम चलिरहेको छ ।
रोजगारीको खोजीमा साउदी अरब लगायत खाडीका कतार, ओमान, बहराइन, युएई पुग्ने महिला कम छैनन् । श्रमस्वीकृति लिएर पुगेपनि विभिन्न प्रकारको समस्याको शिकार भएका उनीहरु नेपाल फर्किने तयारीमा छन् । कतिपय दुतावाससम्म पुग्नका लागि पहल गरिरहेका छन् भने धेरैजसो दुतावासको शरणमा पुगिसकेका छन् । दुतावासकै शरणमा रहेकी अर्की महिला हुन्, धनकुटाकी विमला राई । उनीपनि हाउसमेडको कामको लागि २०११ मा साउदी अरब पुगेकी थिइन् । ‘साउदीमा यस्ता धेरै महिलाहरु दुतावासको शरणमा छन् । झण्डै पाँच सयभन्दा बढि महिलाहरु अहिलेपनि मुलुक फर्किने धुनमा छन् ।’ दुतावासको सेफ हाउसमा राख्नसक्ने बाहेकका महिलाहरु पनि मुलुक फर्किनका लागि दुतावासको कोठाचोटा धाइरहेका छन् ।
पर्वतकी सोमकुमारी श्रेष्ठ हुन् वा चितवनकी सावित्रि सापकोटा उनीहरु पनि मुलुक फर्किने ध्याउन्नमा रहेका छन् । दुतावासका एक अधिकारीका अनुसार नेपाली महिलालाई साउदीमा राम्रो व्यवाहार नभएका कारण निक्कै महिलाहरु फर्किनेक्रममा लागि परेका छन् ।
साउदीमात्र होइन यस्ता पीडा सहेर कतारलगायतका मुलुकमा पनि महिलाहरु दुतावासको शरणमा पुगेका छन् । बैदेशिक रोजगारीका सिलसिलमा कतारमा घरेलु कामदारको रुपमा ३० महिनादेखि कार्यरत मोरङग मधुमल्ला–१ की २३ बर्षिया बलिमाया राई गत साता दुतावासको शरणमा पुगेकी थिइन्  । उनी एक प्यालेष्टाईनीको घरमा ८ सय रियाल तलबको सर्तमा घरेलु कामदारको रुपमा काम  गर्दे आईरहेकी थिईन् । उनी एक पटक घर फर्केर फेरि काम गर्न पुगेकी थिइन् । तर, उनले समयमा तलब नदिने र घरमा जति काम गरेपनि गाली खानुपर्ने बाध्यता व्यहोर्नु प¥यो । उनले भनिन्,‘काम ज्यादा गर्नुपर्ने तर समयमा तलव नदिएपछि म भागेर दुतावासको शरणमा आएकी हुँ ।’
उनलाई आफ्नै भिनाजु भगीरथ पौडेलले घरेलु कामदारको रुपमा कतार पु¥याएका थिए । भिनाजुले आपूm कार्यरत अफिसका मेनेजरका घरमा ल्याएका थिए । काम सजिलो र घरमा बच्चामात्र हेर्ने काम भनेर पु¥याएपनि सबै काम गर्नुपर्ने पिडीतले दुतावासमा गुनासो गरिन् । उनले दश महिनासम्म तलव पाएकी थिइनन् । उनलाई पुन घरमा काम गर्न बोलाएपनि अव काम गर्न घरमा नजाने र नेपाल फिर्ता जाने सोचकासाथ दुतावासको शरणमा आएको उनले बताइन् । उनी मुद्दिर भन्ने व्यक्तिको घरमा कामदारका रुपमा थिइन् । उनी रोजगारीका लागि कतारबाहेक अन्य मुलुक नपुगेको बताइन् ।
कतारमा यस्ता पीडित नेपाली युवती निक्कै रहेको त्यहाँस्थित राजदुत मायाकुमारी शर्माले बताएकी छन् । कतार लगायत सोही दुतावासले नियाँलिरहेको ओमान, बहराइन लगायतका मुलुकमा पनि नेपाली युवतीहरु समस्यामा रहेको खबर आउने गरेको उनले बताइन् । सम्बन्धित मुलुकहरुमा विभिन्न माध्यमबाट पीडित महिलाहरुको जानकारी लिने काम प्रकृयागत ढंगबाट भइरहेको शर्मालाई उदृत गर्दै कतारस्थित पत्रकार रवी रोषीले जनाएका छन् ।
एक सय १४ दालाल पहिचान
नेपाली महिलालाई वैदेशिक रोजगारीका लागि व्यक्तिगत भिसामा बोलाएर खाडी लगायतका मुलुकमा अलपत्र पार्ने एक सय १४ जना दलाल सक्रिय रहेको खुलेको छ । ‘दलाल अरुपनि हुनसक्छन् तर दुतावासले पहिचान खुलाएका ती दलालहरुको बारेमा परराष्ट्र मन्त्रालयसम्म जानकारी पठाइएको छ ।’ साउदीअरबस्थित नेपाली रादुत उदयराज पाण्डेले भने,‘उनीहरुलाई कारवाही गर्ने र दलालीलाई बन्द गराउने हो भने नेपाली महिला साउदीलगायतका खाडी मुलुकमा समस्यामा पर्ने छैनन् ।’
साउदी अरवमा उद्दार गरिएका घरेलु कामदार महिलाहरुको उजुरीको आधारमा ती दलालहरुको पहिचान भएको थियो । दुतावासले पठाएको जानकारीकै आधारमा सरकारले एक छानविन समिति गठन गरि कार्वाहीको प्रकृया सुरु गरेको थियो । दलालहरुले महिला कामदार पठाउन नेपाल सरकारले स्वीकृत नदिएका साउदी अरेविया, ओमान, वहराइन जस्ता देशमा घरेलु कामदारको रुपमा पठाउने गरेका छन् ।
दलालहरुले एयरपोर्टमा ‘सेटीङ’ मिलाएर, भारतको बाटो प्रयोग गरेर एवं गलत कागजपत्रको प्रयोग गरेर नेपाली महिलाहरुलाई ति देशहरुमा गैरकानुनी रुपमा पठाउने गरेको अध्ययनले देखाएको छ । घरेलु कामदारको रुपमा साउदी अरव लगायतका देशहरुमा पुगेका नेपाली महिला कामदारहरु मानव वेचविखन तथा ओसारपसारमा पर्ने, मानसिक तथा शारिरीक हिंसामा पर्ने, अनिच्छुक गर्भधारण गर्नुपर्ने लगायतका समस्या भोग्दै आएका छने । अवैध रुपमा दलाल मार्फत पुगेका यस्ता महिलाहरु कहाँ कुन अवस्थामा हुन्छन् भन्ने एकिन तथ्याङक समेत सम्वन्धित देशका दुतावासहरुसँग हुन नसक्ने समस्या पनि कायम छ ।
गत २२ महिनामा साउदी अरव स्थित नेपाली दुतावासले समस्यामा परेका ६ सय ३५ घरेलु महिला कामदारलाई उद्दार गरेको थियो । १३ हजार ४१ जनालाई साउदी जेलबाट उद्दार गरिएको तथ्याङक समेत साउदी दुतावासले दिएको छ । अवैध रुपमा महिला कामदार साउदी अरेविया पठाउने काम नरोकिएपछि दुतावासले नेपाली महिला कामदारलाई साउदी अरेवियामा व्यवस्थित गर्न सकिने प्रस्ताव सहित एक समझदारीपत्रको मस्यौदा नेपाल सरकारलाई पठाएको छ ।
कतारको जेलमा २७ नेपाली
बैदेशिक रोजगारीका लागि कतार आएर कानून विपरित काम गरेका २७ नेपालीहरु त्यहाँको जेलमा छन् ।
कतारस्थित नेपाली दुतावसका अनुसार लागुऔषध सम्बन्धमा ८ जना, चोरीको अभिगोगमा ८ जना, ज्यानमुद्दा अभियोगमा ३ जना, बलात्कारको अभियोगमा ३ जना, मदाक पदार्थको अभियोगमा ३ जना, झैझगडा तथा कुटपिटको अभियोगमा १ जना, नक्कली मुद्राकोे अपचलन (कारोबार)मा १, जना गरी २७ जनाले जेल जिवन विताईरहेका छन् ।
सन २००४ देखि २०१८ सम्ममा उनीहरु जेलमा रहने कतारको कानुनमा उल्लेख गरिएको छ । उनीहरुको सजाय ३ महिनादेखि १५ वर्षसम्म रहेको छ । नेपाली महिला भने जेलमा नरहेको नियोगले जनाएको छ । गत वर्षको नोभेम्बरमा दुतावासको टोलीले जेलमा रहेका नेपालीसँग भेटेको थियो ।
युएईमा एक वर्षमा ५५ को मृत्यु,
करिब २ लाख ५० हजारभन्दा बढिको संख्यामा नेपाली रहेको युएइमा एक वर्षमा ५५ जना नेपालीको मृत्यु हुने गरेको छ । शारजाह, अजमान, अबुधावी, अलाएन, फुजेराह र रसअल खैमाहबाट भिजिट भिषा निकालेर युईए जाने नेपाली बढिरहेको पनि बताइएको छ ।
युएइस्थित नेपाली राजदूतावास अबुधावीको तथ्यांङकअनुसार नेपालीहरुको मृत्यु दरमा विगतका बर्षमा भन्दा कमी भएको छ । युएईको सरकारी बिभागदेखि लिएर निजी कम्पनीहरुको हरेक क्षेत्रमा नेपाली कामदारहरु कार्यरत छन् । २०१२ को तथ्यांङकअनुसार यएईमा ५५ जना नेपालीहरुको मृत्यु भएको राजदूतावास अबुधावीका अधिकारी लोकबहादुर क्षेत्रीले जानकारी दिए । ड्यूटीमा काम गर्दागर्दै २ जना, ट्राफिक दुर्घटनामा १० जना, अन्य ३ जना, सामान्य ३५ जना र आत्महत्यामा ५ जना नेपाली रहेको बताइएको छ । मृत्यु भएका ५५ मध्ये ५४ पुरुष र एक महिला थिए ।
सन् २०१० को तथ्यांङकमा मृत्यु हुनेमा ८८ जना रहेका थिए  भने सन् २०११ मा घटेर ६७ जनामा झरेको थियो । कतिपय नेपालीहरु विभिन्न अभियोगमा सजाय भोगेर अझैसम्म जेलमा रहेका छन्, भने जेलमा परेका २ जनामध्ये अमरबहादुर बमलाई दुबईमा र दुर्गाबहादुर सुनारलाई शारजाहमा फांसीको सजाय समेत सुनाइएको थियो । अमरबहादुरको बचाउका लागि विभिन्न संघसंस्थाहरुले पहल गरेका थिए ।

साउदीबाट फर्किनेहरुको ताँती

साउदी अरब सरकारले अवैधानिक प्रवासी कामदारलाई राख्ने स्थानीय कम्पनीलाई कारवाही गर्ने निर्णय गरेपछि अवैधानिक रुपमा काम गर्ने नेपाली वैधानिक हुने र घर फर्किने प्रकृया सुरु भएको छ ।
साउदी प्रशासनले अवैधानिक रुपमा रहेको नेपाललगायतका मुलुकका कामदारहरुलाई १० मे देखि १४ जुलाईसम्म दुई महिनाको समय दिएर वैधानिक हुन वा घर फर्किनका लागि समय दिएकाले पनि नेपालीहरुको घुइँचो दुतावासमा बढेको छ । साउदी अरवका राजदुत उदयराज पाण्डेले त्यहाँको सरकारको उक्त आह्वानपछि नेपालीहरुको घर फर्किने क्रम बढेको बताएका छन् । कतिपय नेपालीहरुले वैधानिक हुनका लागि पनि सल्लाह लिन थालेका छन् । यस अवधिमा साउदी अरबमा अवैधानिक रहेका कामदारलाई आममाफी दिने घोषणापनि त्यहाँको सरकारले गरिसकेको छ ।
साउदी सरकारको उक्त निर्णयसँगै त्यहाँस्थित नेपाली दुतावासले पनि नेपालीलाई वैधानिक प्रणालीमा आउनका लागि आह्वान गरेको थियो । दुतावासका अनुसार साउदी सरकारको निर्णय र दुतावासको आह्वानका कारण झण्डै ७० हजार अवैधानिक रुपमा रहेको नेपाली कामदार लाभान्वित हुने अनुमान गरिएको छ ।
सो क्रममा दुतावासमा नेपालीहरुले कानुनी दायरमा आउने र नेपाल फर्किने विषयमा सम्पर्क र प्रकृया सुरु गरिसकेका छन् । झण्डै १७ हजार नेपाली हालसम्म दुतावासको सम्पर्कमा आइसकेका छन् । अवैधानिक कामदारका रुपमा रहेका तर वैधानिक राहदानी भएका नेपालीहरुले स्पोन्सरसिप परिवर्तन गरी काम गरिरहेको कम्पनीमा आफ्नो रोजगारी यथावत गर्नसक्ने वातावरण पनि तयार भएको दुतावासले जारी गरेको विज्ञप्तिमा जनाइएको छ ।
साउदी अरब पुगेर रोजगारदाता कम्पनीमा नपुगी अन्यत्र गएका नेपाली कामदारले दुतावासमा आउट पास अथवा ट्राभल भिसा बनाएर साउदी सरकारबाट इक्सिट पाससमेत लिनसक्के प्रावधान दुईमहिनासम्म रहेको दुतावासले जारी गरेको विज्ञप्तिमा जनाइएको थियो ।
परदेशबाट घरमा सन्देश
युवराज घिमिरे
हाल मलेशिया

मेरो मोरंगको डाँगीहाटमा रहनुभएका बुवालाई चिन्ता नलिइ बस्नका लागि अनुरोध गर्छु । अवको दुई महिनामा नेपाल फर्किने तयारी गरेको छु । त्यहिँ आएर राम्रो काम गर्ने योजना पनि बनाएको छु ।
खगेन्द्र पौडेल
हाल बहराइन

सप्तरीको कमलपुरमा रहेको मेरो परिवारलाई चिन्ता नलिनका लागि आग्रह गर्दछु । आबुधावीमा रहेका दाईलाई ढुक्क भएर काम गर्नको लागि आग्रह गर्छु । केही वर्ष अझै काम गरेर म फर्किनेछु । चिन्ता नलिई बस्नुहोला सवैले ।

सुमीना थापा
हाल इजरायल

मेरो भाई काठमाडौं आएको छ । उसँग सम्पर्क गर्न खोज्दा हुन सकेन । विराटनगरमा रहनुभएका आफन्तहरुलाई सम्झिएको छु । यहाँ काम गर्न मुस्किल छ, केही महिनामा फर्किने सोचपनि बनाएकी छु ।

बसन्त लुइँटेल
हाल कोरिया

सप्तरीको फत्तेपुरमा रहेका मेरा परिवारलाई सम्झिाएको छु । यहाँ काम गर्न मुस्किल छ, त्यहि पनि त्यहाँ आएर काम गर्ने वातावरण छैन । घरमा खेतीपाती राम्रै गर्नुहोस भन्ने बुबालाई भन्न चहान्छु ।

डिल्ली भण्डारी
हाल कतार

झापाको बाह्रघरेमा रहेका मेरा श्रीमति, छोराछोरीलाई सम्झिएको छु । यहाँ निक्क्ै सम्झीरहेको छु । दुख नमानी बस्नु म चाँडै फर्किएर आउँदैछु । बुबाआमा आराम हुनुहुन्छ होला भन्ने विश्वास राखेको छु ।       

No comments:

Post a Comment