Thursday, May 9, 2013

सुडकेसमा पीडा बोकेर फर्किनेहरु

डी. विनोद  
वैदेशिक रोजगारीका लागि दैनिक विदेशिने महिलाहरुको संख्यापनि उत्तिकै मात्रामा बढ्न थालेको छ । खासगरी न्युन आयस्तर भएका नेपाली महिलाहरु खाडी मुलुकमा बाहिरिने क्रम बढ्न थालेको छ । तर, ती मुलुकमा उनीहरुले पैसा कमाउनुको साटो पीडा बोकेर फर्किने गरेका छन् ।
विदेशमा निक्कै पैसा कमाउने सपना लिएर कुवेत पुगेकी भोजपुर आम्तेक–५ की पृष्ठ राईले वैदेशिक रोजगारीका क्रममा मानसिक सन्तुलन गुमाइन् । उनी नेपाल फर्केको तीन वर्ष वितिसकेको छ तर अहिलेसम्म पनि निको हुन सकेको छैन । औषधिउपचारमात्र नभएर उनको मानसिक सन्तुलन ठिक बनाउनका लागि धामीझाँक्री समेत लगाइसकिएको छ । तर, निको हुन सकेको छैन ।
राइकोमात्र यस्तो पीडा होइन, धेरै महिलाहरुले विभिन्न प्रकारका यातना भोगेपछि उनीहरु विभिन्न प्रकारका रोगको शिकार समेत भइसकेका छन् । सवैभन्दा ज्यादा मानसिक रोगको पीडा बोक्नुपर्ने बाध्यता रहेको अनुभवीहरु बताउँछन् । रोजगारीकै लागि कुवेत पुगेर फर्किएकी लक्ष्मी राइले विदेशमा नेपालमाभन्दा बढि दुख गर्नुपर्ने बताइन् । उनले भनिन्,‘पैसा कमाउने रहरमा गएपछि निक्कै मिहेनत गर्नुपर्छ, काम राम्रो भएनभने विभिन्न प्रकारका यातनाको शिकार पनि भइन्छ ।’
भोजपुर जिल्लाबाट मात्र करिब एक हजार पाँच सयभन्दा बढी महिला वैदेशिक रोजगारीमा गएका छन् । अभाव, अशिक्षा र बेरोजगारीका कारण पछिल्लो समयमा धेरै महिला वैदेशिक रोजगारीमा जाने क्रम बढेको छ ।

    अधिकांश पुरुष र महिला वैदेशिक रोजगारीमा गए पनि महिलाहरू भने यौन हिंसाको सिकार भएको गुनासो र उजुरीहरु वैदेशिक रोजगार विभागमा पर्ने गरेका छन् । विदेशमा रहँदा पनि जोखिमपूर्ण काम गर्नुपर्ने र घरको काममा जाँदा घरेलु तथा यौन हिंसाका दुव्र्यहार भोग्नुपर्ने बाध्यता रहेको वैदेशिक रोजगारीमा गएकाहरूले गुनासो पनि गर्दै आइरहेका छन् ।
सानैदेखि गीत गाउने र घरपरिवारलाई सुखशान्ति दिने सपना बोकेर विदेसिएकी सीता राईले विदेशमा जति दुख भोगिन् विमानस्थलमा उनले त्योभन्दा ठूलो यातना पाइन् । विदेशबाट फर्किएकै दिन स्वदेशकै विमानस्थलमा पैसासहित इज्जत लुटिएपछि उनको जीवन थप अन्धकार बनेको छ ।     उनी अहिले पनि तनावमा दिन बिताइरहेकी छिन् । आर्थिक अवस्था न्यून रहेको सीताको परिवारलाई यस घटनापछि थप चिन्ता बढेको छ ।
गत वर्षको चैतमा मात्र २१ हजार सात सय ६९ महिला वैदेशिक रोजगारीका लागि नेपाल छाडेका थिए । जसमा १२ हजार ८ सय ७९ जना खाडी मुलुकमा घरेलु कामदारका लागि पुगेका विभागले जनाएको छ । विदेशिने महिलाको संख्या उच्च दरमा रहेकाले सरकारले रोकथाम र नियन्त्रणका लागि पहल गरिरहेको वैदेशिक रोजगार विभागका महानिर्देशक विनोद केसीले जनाएका छन् ।
अन्तर्राष्ट्रियस्तरमा नेपालले सम्बन्धित रोजगारदाता मुलुकलाई प्रभावित बनाउन नसकेका कारण पनि नेपाली महिलाको समस्यालाई चाहेजति सहयोग गर्न नसकेको महानिर्देशक केसीले बताए । उनले महिलाको हकमा नियमवन र सावधानीका कुरामा विभाग गम्भिर रहेको पनि बताए । उनले भने,‘महिलाहरुलाई रोजगारीमा रोक्नुपर्छ भन्ने हाम्रो मान्यता होइन तर उनीहरुको सुरक्षाका लागि नयाँ नीतिको कुराहरु उठिरहेका छन् । हामी गम्भिर छौं ।’
उता, विदेशमा पीडा खेपेका ३० जना महिलाको भएको उद्दारले पनि विदेशमा उनीहरु सुरक्षित नभएको पुष्टि गरेको छ । माइती नेपालको क्षेत्रीय कार्यालय नेपालगन्जले गएको एक र्षको अवधिमा भारत र खाडी मुलुकबाट ३० नेपाली पीडित महिलाको उद्दार गरेको थियो । क्षेत्रीय संयोजक केशव कोइरालाका अनुसार त्यस अवधिमा भारतबाट २७ र खाडी मुलुकबाट तीन चेलीको उद्धार गरिएको थियो । भारतमा माइती नेपालको सक्रियता माइती इन्डिया गठन गरिएपछि दुवै संस्थाको साझा प्रयास र सहकार्यबाट बेचबिखनमा परेका नेपाली चेलीको उद्धार गर्न सहज भएको थियो ।
त्यसैगरी, गएको एक वर्षको अवधिमा जोखिमपूर्ण यात्रामा रहेका ३१३ महिला तथा बालबालिकाको उद्धार गरी परिवारसँग पुनःमिलन गराइएको थियो भने करिब १३ हजारलाई बेचबिखन र बसाइसराइबारे परामर्श दिइएको थियो ।
सो संस्थाको क्षेत्रीय कार्यालयमा परिवारको सदस्य हराएको भन्ने ४६१ निवेदन दर्ता भएकामा ३५ जनामात्र फेला पर्नुले नेपालमा महिला तथा बालिकाको बेचबिखन रोकथाम ठूलो चुनौतीका रुपमा रहिआएको संयोजक कोइरालाले बताए ।

महिलाको सुरक्षा नै चिन्ता

महिलाको सुरक्षा नै चिन्ता

विनोद केसी, महानिर्देशक
वैदेशिक रोजगार विभाग
वैदेशिक रोजगारीका लागि नेपालको कानुनले दिएको अधिकार सवैले प्रयोग गर्नुपर्छ । तर, रोजगारीका लागि विभिन्न मुलुकहरुमा महिलालाई लैजाने बाहनामा ठगी गर्ने र उनीहरुलाई समस्यामा पार्ने उजुरी विभागका कम परेका छैनन् ।
सरकारले ३० वर्ष ननाघेका महिलालाई खाडीका केही मुलुकमा घरेलु काममा जानका लागि नियमबन गरेको हो । ती मुलुकमा महिलाहरुमाथि भएको हिंसाको घटनाहरुबारे गरेको अध्ययनपछि यसो गरिएको हो । साउदी अरब, ओमान, लेवानलगायतका मुलुकमा नेपाली महिलाका लागि सुरक्षामा समस्या हुनसक्ने भएकाले पनि नियम ल्याइएको हो । तर, नियम र आफुले लिने जानकारीका बारेमा पनि रोजगारमा जाने महिलाहरु गम्भिर हुन आवश्यक देखिन्छ । कुरा नबुझी र सरकारले बनाएको नियमको बारेमा रोजगारीमा जानेले राम्ररी बुझ्नु जरुरी छ ।
जुन देशमा महिला नागरिकलाई मतदान गर्ने अधिकार छैन, त्यहाँ नेपाली महिलाहरुको सुरक्षा हुन्छ भन्ने कुरामा विश्वास गर्न अलि कठिन हुन्छ । तर, सम्झौता, सरकारको नियमअनुसार खतरा नहुनसक्ने परामर्श लिने काममा महिलाहरु पछि परेको देखिन्छ । अहिले महिलाका लागि कम्तिमा २१ दिनको तालिम, विमा अनिवार्य गरिएको छ । त्यो कुरामा सवैले ध्यान दिन आवश्यक छ ।

साउदीमा अवेलासम्म तबेलामा
नलपरासीको रामनगरका मोहन चौधारीले जिवनयापनका लागि लामो समयदेखि वैदेशिक रोजगारीमा अभ्यस्त भए ।
भारतको मुम्वाइदेखि साउदी अरेवियाको कठोर गर्मि भोगेको छु । घरको आर्थीक अवस्था राम्रो नभएकै कारण विद्यालयको अध्ययन छोडेर रोजगारीको सिलसीलामा सन्१९९९ मा मुम्वाइ गएँ ।
गाँउकै एक जना दाइको सल्लाहमा जिवनमा पहिलो पटक विदेशी भुमीमा पसिना वगाउन जादै थिए । रेल चढेर मुम्वाइ जाँदा मनमा अनेक कुरा खेलेका थिए । पैसा कमाएर परिवारमा खुसी ल्याउने सपनाका साथ मुम्वाइको एक हार्डवेयरमा काम गरे । सुरुका दिन त काम गर्न जानिन । भोजपुरी भाषा मेरो मातृभाषा र गाँउमै हिँन्दी भाषा पनि जानेकाले भाषागत रुपमा त समस्या भएन । दिनमा १४ घन्टा सम्म काम गर्थे म, त्यस पसलमा । त्यसरी मैले ८ वर्ष त्यस पसलमा काम गरे तर मेरो कमाइले घरमा घरखर्च वाहेक केहि उपलव्धी हुन सकेन ।
दिनहु वढेको महँगीको मारमा थिएँ म । ८ वर्षकै अवधिमा म विवाह वन्धनमा वाधिएको थिएँ । त्यसै वेला एक जना शेखर नाम गरेका गाँउकै दाइसंग भेट भयो, भारतमै । उनी त्यति खेर वैदेशिक रोजगारीमा मान्छे पठाउँदा रहेछन् । उनका कुरा सुनेर म पनि साउदी अरब जान राजी भएँ । मेरो गरिवी माथी खेल्न सीपालु ती दाइको विश्वासमा मैले साउदीमा महिनाको ३० हजार कमाउने कल्पनामा मुम्वाइको काम छोड्र घर आएँ । २००७ मा साउदी त जाने भए तर मैले नेपालको विमानस्थलवाटो नभइ भारतकै विमानस्थलवाट जानु पर्ने वताएपछि म पहिला त मानिन तर मेरो पार्सपोर्ट र पैसा हात पारीसकेका थिए उनले । म मजवुर भएको त्यो क्षण अहिले पनि मेरा मनसपटलवाट हट्न सकेको छैन । डिसेम्वर १६ मा म साउदीका मुम्बइको विमानस्थलमा प्लेन चडढनु अघि अफिसव्वाइको काममा भनिएको थियो । रियाद विमानस्थल उत्रिदा म एक्लै थिएँ । विमानस्थलको ३ घन्टा कुराइपछि मलाइ गाडीमा हालेर एक घरमा लगियो जहाँ ऊँट पालिएको थियो ।
अलखर्च भन्ने ठाउँका एक शेखले घरमा मलाइ काम गर्न भनेर ल्याएका रहेछन् । पहिलो दिनमै ऊँट भएको ठाउमा त राखियो तर कामकावारेमा केह भनिएको थिएन । म त्यस दिन ऊँट चराउने काम रहेछ भनेर रोएको थिएँ ।  दिनपछि अर्का घरमा लगीयो र त्यहीँ मलाई काम लगाइयो । त्यहाँ घोडाको हेरचाह गर्नुपर्ने रहेछ । धोडाको हेरचाहका साथै घर को रेखदेख गर्नुपर्ने काममा म लागें । घरमा कोहि हँुदैन थिए खाली धोडामात्रै । दैनिक १८ घन्टासम्म ड्युटी ले लखतरान हुँदा वोल्ने कोही साथी भएपनि केही राहत हुन्थो जस्तो लाग्थ्यो । कहिलेकहिले त आधानिद्रामै धोडा कराउँदा तवेला जानुको विकल्प थिएन । साचै नै ति दिन सम्झदा अझै आसु आउँछ । ५ महिनासम्म त म त्यस घरवाट वाहिर निस्कन त के मान्छेको अनुहार देख्न पनि पाइन । ५ महिनाको अवधीमा महिनामा त्यस घरका शेखका साहयक मेरा लागी चामल दाल र तरकारी ल्याउँथे । रात दिन परिवारको सम्झना आउँथ्यो । ३ वर्षकी छोरी र श्रीमतीको यादमा रुने गर्थें । आमाको आवाजले सँधै सताउँथ्यो । भारतमै काम गर्दा ताका वुवाको निधन भइसकेको थियो । वुढि आमा, श्रीमती र छोरीको पालन पोषणको जिम्वेवारी थियो तर म आफै बाध्यतामा थिएँ । पाँच् महिनासम्म तलवको नाममा केहीपनि पाइएन । पाँच महिनापछि त्यहि शेखको साहयकले गाडीमा हालेर वजार लग्यो । त्यसै दिन सेलरीका रुपमा आएको केहि रियलले मोवाइल किने भने वाचेको पैसा घर पठाएँ ।
त्यसको दुई महिना पछि म त्यो घरवाट भाग्न सफल भएँ । गाउँकै चिनजानका याम ढकालको सहयोगमा म भागेर उनकै कोठामा वसे र त्यहि दिनवाट साउदीमा म पुर्ण अवौधानीक भएको थिएँ । भाग्न त भागीयो तर फेरी काम खोज्नकै चटारो । ढकालकै साहयतमा एक महिना पछि एक इलोक्टोनिक पसलमा काम गर्न थाले दिनको ४० रीयलमा । ५ महिनापछि काम नभएको भन्दै कामवाट निकालीएँ । अवौधानीक कामदार भएकाले म कानुनी रुपमा कमजोर थिएँ । फेरी ढकालकै कोठामा वसीयो २० दिनसम्म ।  २० दिन पछि एक फर्निचर कम्पनीमा काम पाइयो । वेसीक ९०० रीयलमा कामको सम्झौता भयो । तर, ४५ दिनपछि त्यो कम्पनी नै वन्द भयो । सरकारी मान्छेले कम्पनीमा ताला लगाएछन् । उता नेपालमा आमाको स्वर्गारोहण भएछ । तनावमा थिएँ म । त्यती वेरसम्ममा मैले घरमा ऋण तिर्नमात्रै सकेको थिएँ तर कमाइ भने हुन सकेको थिएन । तिनै ढकालको साहयतामा एक कम्पनीमा अढाइ महीनाका लागी काम गरें । त्यसपछि एक पेपर कम्पनीमा काम गरे १३ महिना । पुलीसवाट वचेर हिडनुपर्ने वाध्यता अनि कामवाट निकालीँदाको पिडा । कुनै वेला विदेश गएर परिवारमा खुसी छर्ने मेरा सपना माथी तुसरापात भइसकेको थियो । १३ महिना पछि एक साथीका सहयोगमा प्रहरीको सम्पर्कमा गइयो तर प्रहरीले २२ सय रियल नलिइ पक्राउ नगर्ने वतायो । साउदीमा के नियम छ भने अवौधानीक रुपमा वस्ने विदेशी कामदारले कम्तीमा ३ महिना जेल वस्नु पर्ने हुदो रहेछ । मेरो पनि घर फर्किन जेल जानुको विकल्प थिएन् । २२ सय तरेर जेल त गइयो तर त्यहाँ झन सास्ती । रातमा १ रोटी र १ वोतल पानी पाइन्थ्यो । वेलावेलामा जेल सर्नु पर्दाका तनाव र जेलका सुरक्षाकर्मीको मानसीक यातना थियो । २०१० मा जेल जिवन पार गरेर काठमाडांै आएँ । नवलपरासीमा २ वर्ष कृषी पेशा गरें तर परीवार पाल्न कठिन भएपछि मेरो विकल्प फेरि पनि वैदेशिक रोजगारी नै भयो ।
त्यतीवेला नै गाउँकै विष्णु चौधारीले मलेसियाको एक कम्पनीमा राम्रो काम छ भने र म मलेसीयाको  प्रक्रियामा लागें । काठमाडौको आइसन वारीसन मेनपावरवाट गत भदौमा शाहलमको युनियन स्यागो नामको गाडिको फिल्टर कम्पनीमा काम गर्न आएको छु । यहाँ आउदाका सास्ती पनि कम पाइएन । एक हप्तामा फ्लाइट भन्दै मेनपावरले वोलाएर करीव २ महिना होटलमा वस्नुपर्दाको सस्ती खेपियो । एक लाख ४० हजार तिरेर म्यानपावर धाउनेक्रम जारी राख्नुप¥यो । ति  दिन सम्झीदा औधि रीस उठ्छ । हामी जस्ताप्रति म्यानपावरका मान्छेको व्यावहार गतिलो भएन । पैसा हात नपरुन्जेल मुुसा र पैसा फुत्काएपछि शेर वन्ने परीपाटीले वेला वेला म्यानपावरहरु सर्वसाधारणको तारो वन्ने गरेका हुन् । विमानस्थलमा २ घन्टा विताउँदा विमानस्थलका सुरक्षाकर्मीको व्यावहार त ठिकै लाग्यो । पहिलो २ महिना त कमाइ पनि भएन तर हाल भने वेसीक ९०० भएपछि १४०० जती तलव थाप्दै छु । सोचे अनुसारकै काम र दाम छ ।

(मलेशीयामा अर्जुन काफ्लेको सहयोगमा)



काममा जानेलाई टिप्स

यदि तपाई वैदेशिक रोजगारीमा हाउसमेड अथवा केयर गिभरका रुपमा जानु हुँदैछ भने नेपाल सरकारले तयार गरेको कार्यविधिको निम्न कुराहरुमा ध्यान दिनुहोस ।

– हाउस मेडका लागि मासिक आधारभूत वेतन संयुक्त अरब इमिरेष्ट् यूएइ ९०० दिरहाम वा सो भन्दा बढी पारिश्रमिकमा मात्र रोजगारीमा जानु पर्दछ ।
– नेपालबाट कामदार जानुअघि कामदारका नाममा रोजगारदाताले बीमा, औषधि उपचार सुविधा र दूतावासले निर्धारण गरेको निश्चित धरौटी रकम पेश गरेपछि दूतावासले
कामदार ल्याउने करारनामा प्रमाणित गरेपछि मात्र रोजगारीमा जानुपर्दछ ।
– रोजगार दाताको न्यनतम आय मासिक घरभाडावाहेक १०,०००।– दिरहाम भएको र सुरक्षण वापत ५,०००।– दिरहाम राजदूतावासमा धरौटी राखे नराखेको बारेमा कामदार आफैंले बुझुनुपर्दछ ।
– दूतावासद्वारा उपलब्ध गराइएको फारममा रोजगारदाताले कामदारको वासस्थानको व्यवस्था स्पष्ट रुपमा उल्लेख गरिएको बारेमा जानकारी लिएरमात्र जानुपर्दछ ।
महिला कामदारको हकमा बासस्थानको लागि छुट्टै कोठा र शौचालयको व्यवस्था गर्नुपर्नेछ
–अविवाहित पुरुषले महिला घरेलु कामदार नियु्क्त गर्न नसक्ने र रोजगारदाताको चरित्रगत कुराको लागि उसको प्रहरी प्रतिवेदन पढेर र बुझेरमात्र जानु उपयुक्त हुन्छ ।
संयुक्त अरब इमिरेष्टको प्रचलित कानुन अनुसार आधिकारिक निकायबाट रोजगारदाताले घरेलु कामदार राख्न पाउने स्वीकृतिपत्र दूतावाससमक्ष पेश गरेको हुनुपर्दछ ।
उल्लिखित कुराहरुका बारेमा राम्रोसँग जानकारी राख्नका लागि वैदेशिक रोजगार विभाग तथा वैदेशिक रोजगार प्रबद्र्धन बोर्डमा सम्पर्क गरी बुझेर जाँनु उपयुक्त हुन्छ ।




No comments:

Post a Comment