Tuesday, September 10, 2013

सन्तान हत्या, शोक र अवमूल्यनकर्ताहरुको झुन्ड

विनोद ढकाल
भर्खरै जन्मिएको बाच्छो मरेपछि मेरो घरको गाइले तीन दिनसम्म केही खाएन । उसको आँखाबाट अविरल आँसुहरू खसिरहे, ऊ शोकमा स्तब्ध पनि थियो । उसको संवेदनासँग हामीलाई त्यति चासो थिएन तर आमाले उसको स्याहार गरेका कारण उसको भावनासँग नजिक हुनुहुन्थ्यो । उहाँले गाइको शोकको कारणलाई खुलेर कुरा गर्नुभयो र हामी गम्भीर भयौँ । सन्तानको मृत्यु कतिसम्म भयानक हुने रहेछ, कतिसम्म शोकमा पर्दोरहेछ भन्ने मेरो घरपालुवा जनावरको स्तब्ध दैनिक देखेर हामी छक्क परेका थियौँ । एउटा जनावर आफ्नो सन्तानको प्राकृतिक मृत्युमा निकै समयसम्म शोकाकुल भएर बस्यो त्यसले के महसुस गरेको थियो रु भन्नेबारे हामी अड्कलबाजी मात्र गरिरहेका थियौँ ।
एउटा जनावरमा सन्तान मृत्युको संवेदनालाई महसुस गर्न सकिन्थ्यो, उसको अवस्थालाई हेरेर । उ आफैँ शोकमा निराहार बसिरहेको थियो, हामी चिन्तित थियौँ । सन्तान हत्याको सवालमा निराहार बस्ने चेतनशील, विवेकशील व्यक्तिको अवस्था कस्तो होला रु हामीले विश्लेषण गरेका छौंँ रु सन्दर्भ कृष्णप्रसाद अधिकारीका बाबुआमा नन्दप्रसाद र गंगामायाकै हो । उनीहरू किन निराहार, अनशनमा बसे होलान् रु स्वभाविक रूपमा सन्तानको मृत्युबाट बाबुआमाको संवेदना निकै गहिरो भएर आउँछ । तर, यहाँ अपहरण र त्यसपछि हत्या भएको थियो, कृष्णप्रसादको । त्यहाँमाथि किटानी जाहेरी दिँदा धम्की र विस्थापित हुनुपरेको व्यथा अर्कोतिर छ । यो पीडा, यो भावनालाई राजनीतिकरण गरेर विरोध र वितण्डा मच्चाउने प्रयत्न गर्नु अस्वभाविक हर्कत मात्र होइन, मानवीय संवेदनाको हुर्मत लिने अभिप्राय पनि हो । 
एकीकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहालले त अझ हत्याको निर्देशन आफैँले दिएको भनेर अभिव्यक्ति दिए र चुनौति पनि दिए, सके कारबाही गर्न । यो खबरले एमाओवादी संवेदनाहिन राजनीतिक दलमात्र होइन, आत्मस्वार्थ केन्द्रित, अपराधीकरणको संरक्षणको धङ्धङीमा चलिरहेको राजनीतिक दलका रूपमा चित्रित भएको छ । प्रचण्ड स्वयंले यस्तो धम्कीपूर्ण अभिव्यक्ति दिनुले पनि प्रष्टिन्छ उनका गालामा परेको थप्पडको मूल्य मान्यता र महत्व । पदम कुँवरले जुन साहस गरेर दाहालको गालामा थप्पड हाने त्यसका पछाडि पनि एमाओवादीको आत्मकेन्द्रित स्वार्थको प्रतिविम्ब थियो । माओवादीमा लागेर मानसिक सन्तुलनसम्म गुमाएका परिवारको दुर्दशामाथि न्याय नगरेका कारण प्रचण्डले थप्पड पाएका थिए । त्यो थप्पडलाई स्मरण नगरी प्रचण्डले जुन प्रकारको अभिव्यक्ति दिएका छन्, यसले एमाओवादी संस्थागत रूपमा नै आपराधीकरणको राजनीतिकरण र राजनीतिलाई अपराधीकरणमा परिमार्जन गर्न उद्यत रहेको प्रष्ट हुन्छ । अब एमाओवादी राजनीतिक दलका रूपमा व्याख्या हुन्छ कि संवेदनाको अवमूल्यनकर्ताहरूको झुन्डका रूपमा परिभाषित हुन्छ रु यसको जवाफ जनताले दिनेछन्, यदि जनता जनार्दन हुन् भने । 
अहिले कृष्णप्रसाद अधिकारी हत्याप्रकरणले तताएको, गर्माएको राजनीतिमा न्यायको घाँटी निमोठ्ने काम हुनु स्वभाविक ठान्ने कार्यकर्ताहरूको मस्तिष्कमा संवेदनाको आगो झोस्नुपर्ने अनिवार्यता छ । आफूलाई काट्दा दुख्छ भन्ने मनस्थितिलाई बिर्सिएर मानवीय संवेदनामाथि तर्कबाजी र बयानबाजी गर्ने माओवादीहरूको मुटु कति दुख्छ रु भन्ने उत्तर खोज्न आवश्यक छ । हुन त दाहालको परिवारमा नै संवेदनाको कुनै हैसियत छैन । यसका उदाहरण उनकी पत्नी सीताले बुहारीलाई गर्ने व्यावहार र प्रकाशले अर्की श्रीमती लिएर भाग्ने प्रकरणले पनि प्रष्ट्याएकै छ । तर, यो परिवारभित्रको मात्र कुरा होइन, यो मानवअधिकार र मानवताको सवाल हो । त्यसकारण यसमाथि चर्चा अनिवार्य हुनुपर्छ, न्यायमाथिको बहसलाई कसैले दबाउने कोसिस गर्न हुँदैन । 
जोसँग भावनाको रस हुँदैन त्योसँग मुलुकभक्तिको आशा गर्न सकिन्न । व्यक्ति हत्याको विषयमा गम्भीर नहुने र गहिरो चोट नबोक्ने राजनीतिक दलका कार्यकर्ताले मुलुकमाथि लागेको चोटको व्यथालाई सहज स्वीकार्न सक्दैनन् । मानवतावादी हुनका लागि मानवीय चरित्र देखिनु पर्दछ । मानवीय चरित्र भनेको संवेदनायुक्त, आँसुको मूल्य, रगत बगेको महसुस हुनु अनिवार्य हुन्छ । तर, यी विषयमा माओवादी मौन छ, प्रतिष्ठा र हैसियतको लडाइँमा अभ्यस्त छन्, संवेदनाको विषयमा निक्कै कमजोर देखिन्छन् । 
व्यक्ति हत्याको संवेदनालाई अवमूल्यन र तर्कबाजी गर्ने र प्रतिकारका कुरा गर्ने तथाकथित माओवादीहरूसँग संवेदनाको पुञ्ज भेटिएन, कृष्णप्रसाद हत्या प्रकरणमा । यहाँ व्यक्ति हत्याको विषयभन्दा पनि मानिसको जीवनमरणको सवालको विषयमा राज्यको गम्भीरता खोजिएको थियो । यदि हत्याको अवमूल्यन, हत्याराको उन्मुक्तिका लागि संगठनात्मक रूपको प्रतिवाद हो भने सडक खुला छ, सडकमा अनेक माओवादीहरू आए हुन्छ जवाफ सडकबाटै हुनेछ । मानवीय संवेदनालाई पार्टी र सिद्धान्त अनि युद्धका नाममा अवमूल्यन गर्नु मानवताविरोधी कदम हो, अमानवीय व्यावहार हो । अन्य १३ हजारको कुरा उठाएर एक जनाको संवेदनामाथि प्रहार गर्ने रु १३ हजारको हत्याको छानबिन गर न १ किन प्रचण्ड, बाबुरामहरूलाई कुर्सीमा बसाउने रु निराकरण खोज न १ संवेदना हराएको राजनीति, मानवताको अवमूल्यन गर्ने दल, अधिकार र न्यायको बर्खिलापमा उत्रने राजनीतिक पार्टीबाट फेरि पनि न्यायको खोजी हामी जनताले कसरी गर्ने रु उठौँ, जुटौँ, न्यायको पक्षपाती भएर उभिऔँ । कसैमाथि दोष होइन, तथ्यका आधारमा कारबाही हुनुपर्छ भन्ने सामूहिक आवाज उठाऔँ । यो माओवादी नामलाई बिगार्ने होइन, माओवादी नाममा भएका अपराधलाई उजागर गर्ने कामको सुरुआत हो । कांग्रेस, एमाले र मधेसवादी नाममा भएका अपराध पनि खुलारूपमा कारबाहीको दायरामा ल्याउने कुरामा एकमत होऔँ । न्यायिक नेपालको खोजी गरौँ । 
सिद्धान्ततः एमाओवादीको जातसँग स्तम्भकारको कुनै पूर्वाग्रह छैन । यो कस्तो वाद नेपालमा स्थापित हुँदैछ जो अपराधलाई राजनीति भन्छ, संवेदनालाई माओवादीविरोधी कदमका रूपमा व्याख्या गर्दछ । समस्याको समाधानका विषयमा गहन हुन नसक्ने, नचाहने, इच्छा शक्तिलाई राज्यमा उतार्न नसक्ने तर पेरिसडाँडातिर पुगेर प्रतिकारको दम्भ देखाउने प्रवृत्ति किन हाबी भयो रु प्रश्न गर्न पाउनुपर्छ, नेपालीजनले । 
दाहालले नौ महिना सरकार चलाए । नौ महिना सरकार चलाउने क्रममा उनले प्रधानसेनापतिको पद चलाउने कोशिस गरे, कार्यकर्ता उचाल्ने र भिडन्तको माहोल बनाउने कोशिस गरे । उनले सत्यनिरुपण तथा मेलमिलाप आयोग गठन गर्ने सामान्य प्रकृयासमेत चलाउन सकेनन्, सरकार गिराउने र बनाउने खेलमा अभ्यस्त हुन पुगे । उनको बलमा, उनको आडमा एमाओवादीले शान्तिप्रक्रिया यता पनि विभिन्न हत्याकाण्ड मच्चाउने कोशिस गरेकै थियो । त्यसपछि माधव नेपाल र झलनाथ खनालका सरकारहरू माओवादीका लागि नकाम भए होलान् । माओवादीविरुद्धको अभियानमा लागेका यी राजनीतिक दलहरूको दम्भले अन्य काम गरेन होला । तर, डा। बाबुराम भट्टराई ३५ औँ प्रधानमन्त्रीका रूपमा आएपछि किन समस्या समाधानको खोजी हुन सकेन रु किन मन्त्रिमण्डल विस्तारका नाममा हिसिला यमीहरू धनी बनाउने क्रम बढे, मुस्ताङम्याक्स चढ्ने र नाममा वाह वाही कमाउने महत्वकांक्षा मात्र जाग्यो रु न्यायका लागि सत्यनिरुपण आयोग गठनमा किन बाबुराम पनि सक्रिय हुन सकेनन् रु विमानस्थल भारतलाई ठेक्का दिनेदेखि बिप्पा सम्झौतासम्म पेलेर गर्ने बाबुरामले पेलेरै किन त्यो आयोग गठन गर्न चाहेनन् रु किन अपराधलाई छानबिनको दायरामा ल्याउने कोशिस गरेनन् रु उत्तर उनीहरूबाट आउनु पर्दैन रु 
न्यायको सवालको उत्तर प्रतिप्रश्न होइन । न्यायको लडाइँको शान्तिपूर्ण दबाबको उत्तर हिंस्रक र भावनाविरोधी आन्दोलन हुनै सक्दैन । यदि एमाओवादीले त्यसलाई निरन्तरता दिने हो भने त्यो मानवताविरोधी काममात्र होइन, संवेदनाहीन जंगली व्यावहारको झझल्कोका रूपमा व्याख्या हुनैपर्दछ । कसैको संवेदना, पीडा र अधिकारको प्रतिकार गर्नेहरू सामाजिक हुनै सक्दैनन्, ती असामाजिक तत्वका रूपमा व्याख्या हुन्छन् । विश्व बजारमा उन्माद भएको उदार लोकतन्त्र र त्यसभित्र व्याख्या गरिएका कानुनका विरोधी हुन्छन् । आततायी शासनका पक्षपोषक हुन्छन्, तिनले न्याय दिन सक्दैनन्, न्याय लिन पनि जान्दैनन् ।
अतः कृष्णप्रसाद हत्या प्रकरणमा अहिले जो पक्राउ परेका छन्, जसमाथि चितवन प्रहरीले छानबिन गरिरहेको छ, त्यो सरकारको सही कदम हो । त्यसको विरोधमा जो सडकमा जाने कोशिस गरिरहेका छन्, तिनलाई कानुनी कठघारामा उभ्याउन राज्य तत्पर होस् । अपराधलाई संरक्षण गर्ने झुन्डको आन्दोलन, आन्दोलन होइन अपराध हो । त्यो अपराधलाई पनि सरकारले नियन्त्रण गर्नुपर्छ । यदि एमाओवादीलाई अन्याय भएको महसुस हुन्छ भने उसैले बनाएको उच्चस्तरीय राजनीतिक समितिमार्फत यो सरकारलाई सत्यनिरुपण तथा मेलमिलाप आयोग गठनको सुझाव दिन सकोस् र घटनाहरूको व्याख्याको आधार बनाउन सकोस् । 
होइन भने न्याय खोज्नेहरूको पीडामाथि धावा बोल्ने काम गर्ने अधिकार उसलाई छैन । यदि यो क्रम निरन्तर चलिरह्यो भने निश्चयभावी छ, एमाओवादी फेरि पनि अन्तर्राष्ट्रिय मानवअधिकार हनन्को सूचीमा दाखिला हुनेछ, मावनताविरोधी अपराधमा सूचीकृत हुनेछ । 

मंगलबार प्रकाशित कमाण्डर पोष्ट दैनिकमा छापिएको मेरो लेख । 

No comments:

Post a Comment