Saturday, September 14, 2013

भावसागरमा प्रियतमसँग

साइबर लभ–६

संवेदनाको परिधिभित्र
एउटा मनसँग अन्तरंग भएर 
कुनै खास भावसागरमा 
पौडी खेल्ने भावना जागेको छ
कसैले जगाएको छ
विचलित नभएको मनसँग 
निरन्तर अविरल सास फेर्न मन छ
नयाँ मुटुसँग रक्तसञ्चारको योगबाट 
सञ्चालित हुने उमंग उम्रिएको छ...
आज किन हो कविता लेख्ने मुड चलिरहेको छ । भित्रबाट शब्दहरूसँग पौडी खेल्न मन लागेको छ । भावनासँग रुमल्लिएर आफ्ना चाहना अभिव्यक्त गर्ने लहड पलाएको छ, चैत वैशाखमा रुखमा पलाएको नयाँ मुनाजस्तो ।
मेरो अघिल्लो पत्र उनीकहाँ पुग्न सकेन । उनी अर्थात् मेरी प्रियतमासँग पुग्न सकेन । आज उनका लागि कविताको हरफहरू बनाउने रहर छ । कसैले मलाई सडकमै भनेको थियो, ‘मानिस जीवनमा एक पटक कम्तिमा कवि बन्नेछ जब ऊ प्रेममा लिप्त हुनेछ ।’ सायद, म उनीसँगको प्रेममा लिप्त भइसकेँ । सम्भवतः प्रेम भनेको पनि त यही होला नि !
यो कस्तो तस्बिर हो ? यो कस्तो काल्पनिक चेहरा हो ? यो कस्तो छटपटाहट हो ? बिछ्यौनामा छु, बिछ्यौना मसँग छैन । माकुराले लगाएको जालो मेरो सिलिङमा झुन्ड्याएको छ, त्यो जालोमा प्रेम देखिरहेको छु, अनि त्यसभित्र म रित्तिएर छिरेको छु । औषधिका पोकाहरू टेबलमा छन््, त्यसले दिने निराकरणसँग म नजिक छु । मेरो प्रणय मसँग छैन, समवेदनाको पुञ्ज मेरै वरिपरि छन्् । महादेवको प्रेमलिलाजस्तो कल्पनामा डुबेको प्रेम, इन्टरनेटमा झुन्डिएको मायाको त्यान्द्रोमा कति धेरै आशा पलाउन थालिसकेछन्् । मलाइ थाहा छ, यी आशा कसैको समय बिताउने माध्यम हुन सक्छ, कसैको समय खर्च गर्ने बहाना हुन सक्छ, ख्याल ठट्टाको मेरो उमंग गहिरो भएर मनभित्र रुमल्लिसकेको छ अनि म हराएको छु त्यसभित्र आफैँबाट छुट्टिएर । 

०००

सारा सहर नेपाली खेलको उमंगसँग रम्न दशरथ रंगशालामा थियो आज । साराको अनुहारमा भारतसँग जीतको प्रसंग उत्तरार्धतिर लागेको रातमा पनि चर्चाको विषय बनेको छ । अनि, मेरो चर्चाको लहडमा उभिएकी उनको पर्खाइमा निरन्तर म डुबिरहेको छु । मेरो खेल उनी, मेरो चर्चा उनी, मेरो फुर्सद उनी अनि मेरो व्यस्तता पनि उनी । उनीविना अब मेरा औँलामा चल्ने क्षमता छैनन्, शब्दहरूका प्रसंगका मार्ग सकिएका छन््, अक्षरहरूका लहड कतै सकिनै लागेका छन्् । 
म निरन्तर आफ्नो संवेदनाको लेखकीयलाई उतार्ने सोचमा मग्न छु । मेरा सबै सोच भताभुंग पार्नेगरी एउटा प्राणी मेरो कोठामा छि¥यो । मेरा भावनालाई क्रमभंग गरेर ऊ मलाई क्रोधको आवेगमा डुबाउने प्रयत्नमा जुटेको छ । मेरो सोचलाई एउटा ‘सामान्य’ साङ्लोले विचलित बनायो । फुत्त झ्यालबाहिरबाट उडेर आएको साङ्लोले आतंकित बनाइरहेको छ । घरी पानीको बोतलमाथि बसिदिन्छ, घरी कागजका चाङमाथि मेरो एकाग्रतालाई भंग गर्ने गरी छटपटाउँछ । घरिघरि मेरो प्रेमलाई धावा बोल्न आएको तालिवानी आतंकवादीजस्तो । यो सेतो रगत बोकेको प्राणी किन रातो रगतको विचारप्रति आतंकित छ ? किन मेरो भावनामाथि तुषारापात गर्ने प्रयत्नमा जुटेको छ ?
म यो साङ्लालाई सामान्य ठानिरहेको छु । तर, मलाई यसले असामान्य क्षति गरिरहेको छ । मेरो विचार र सोच, मेरो कल्पना, मेरो यथार्थमाथिको लेखकीयलाई तीव्र प्रभावमा पारिरहेको छ । घरि भान्सातिर लाग्छ, घरि मेरो बिछ्यौनामा आउँछ । म प्रेमको पुजारीका रूपमा लेखिरहेको मानिस, यसको हत्या गरौँ भन्ने सोचलाई दबाइरहेको छु । म यसलाई मेरो निरन्तरतालाई कायम राख्न गन्तव्यमा जान मनोग्रह गरिरहेको छु । विचरा यो फरक रगतधारी मेरो अपेक्षालाई बुझिरहेको छैन । घरिघरि लाग्छ मेरो संवेदनालाई सामान्यीकरण गर्न नसक्ने समान रगतधारीभन्दा यो पनि फरक छैन । मलाई निरन्तर विचलित बनाइरहेको छ ।
यसका कारण म आफूलाई घरिघरि विद्यालय जान नारायणी, गण्डकीतिर तुइन् चढेर नदी पार गर्नुपर्ने कठिन बाध्यतासँग दाँजिरहेको छु । जोखिममा यात्रा गरेर जीवनमरणको अनुभवलाई कल्पनामा उतारिरहेको छु । ‘जा, अहिले निस्किहाल । मेरो प्रेमिल यात्रामा प्रतिगमनकारी नबन् । तँ, सेता रगतका प्राणी हरेक पटक मेरो विरोधीका रूपमा नआइज ।’ म उसलाई मनमनै फतफताएर कराइरहेको छु ।
केही समयपछि फेरि अर्को साङ्ला मेरो झ्यालबाट फुत्त छिरेको छ, अघिल्लाको साथसँग रमाउनलाई । लपक्क टाँसिएर उसैका छेउमा पुगेको छ । ‘हरे, यी प्रतिगमनकारी साङ्लाहरू अब भेला हुन थाले ।’ कि मैले झ्याल बन्द गर्नुपर्छ, कि यी जोडीको प्रेमलापको हत्या । अब कसो गर्ने ? म विचरणमा छु । साङ्ला जोडी त मख्ख परेर एकै ठाउँ वार्तालाप, प्रेमलापमा नतमस्तक भइसके । म आफ्नो लेखकीयलाई केहीबेर थाँती राखेर उनीहरूको प्रेमलापको दृश्यगमन गरिरहेको छु । अनि, उनीहरूको संवादको परिकल्पना पनि । 
‘के छ डार्लिङ, धेरैपछि भेट भयो ।’
‘ठीक छ, त्यही त, यो प्रेम बडो जटिल’
‘आऊ, अब नतमस्कतक भएर डुबौँ’
‘कहाँ कसरी डुब्ने ?’
‘यसरी, आलिंगनमा, चुम्बनमा, रहरमा, प्रेममा ।’
उफ, यी किरा फट्यांग्राको प्रेम । कति गहिरो होला ? कति संवेदनशील होला ? कति भावनात्मक होला ? कति रहरउन्मुख होला ?’ यिनको प्रेमलापले मेरो कोठाभित्रका हरेक सामानहरू प्रदुषित भइरहेका छन्् । मेरा हरेक सामानमा यिनको रजाइँले प्रदुषणको बिउ रोपिएको छ । उफ्, यिनलाई नखेदाइ भएन । म उनलाई खेदाउने प्रयत्नमा छु, उनीहरू मेरो समवेदनालाई प्रभाव पार्ने लहडमा । यो रात साङ्लाको प्रेम र मेरो यथार्थको युद्धमा अभ्यस्त भयो, व्यस्त भयो । सहर उठ्ने बेला भएको छ, अनि म निदाउने बेला । सहर भुक्ने बेला भएको छ अनि म लुक्ने ।

०००

मेरो बिहान उनको रातसँग सुरु हुन्छ । मेरो उज्यालो उनको अँध्यारोसँग नजिक हुन्छ । मेरो वास्तविकता उनको कल्पनासँग नजिक होला । उनको वास्तविकता, मेरो यथार्थसँग टाढा होला । जेहोस् प्रेममा सबै कुरा जायज हुन्छ रे । एक जना नेता स्वनाम साथीले पनि यस्तै अन्तर्वार्ता दिएका थिए । आफूभन्दा आधा उमेरकी प्रेमिका किरणसँगको वैवाहिक जीवनमा गाँसिने उद्घोष गरेका ती साथी भनिने नेताको भनाइले मेरो बिहान आज अलिक सुखद रूपमा सुरु भयो । उनको रात कसरी गइरहेको छ ? मलाई थाहा छैन । किनभने उनीसँगका संवादका चरणहरू निक्कै छोटा, छरितो र दुरीका रूपमा बढिरहेको छ । भनौँ, संवादका चरणको एउटा अल्पविराम लागेको छ । अनि, म भ्रममा आफ्ना वास्तविकतालाई कल्पनासँग जोडिरहेको छु । 
कति यथार्थ कल्पनाजस्तो लाग्ने, कति कल्पना यथार्थजस्तो देखिने । भ्रम त सबैतिर छ । आफैँ भ्रमको चक्रव्यूहमा फसेको यो सम्भवत पहिलो चोटी हो मेरो, विवेकलाई विश्लेषण गर्न सक्ने भएपछि । म यथार्थ र भ्रमको सीमारेखाबारे क्लियर हुन सकेको छैन । मनोवादमा अल्झिएको छु कि म भ्रममा बाँचिरहेको छु या कल्पनामा हराइरहेको छु । म उनलाई पनि यही प्रश्न गर्छु अब । उनको उत्तर जे आओस्, मेरो प्रश्न यही हुनेछ । जसरी मैले उनलाई हाम्रो नजिकिएको सम्बन्धका बारेमा खुलेर कुरा गरेँ, म खुलेर प्रश्न राख्छु । 

०००

आजको दिन त्यति गतिशील छैन । आजको दैनिकी र मैले तयार पारेको खबर त्यति सुखद छैन । गायक फत्तेमान राजभण्डारीको निधनको समाचार सुनेर आएको छु । आखिर मानिसको जीवन के हो र ? मानिस चुरोटको धुँवासँग जीवनको दिन गनिरहेको हुँदो रहेछ । मानिस प्रेमिल भएर जिन्दगीलाई सामान्य बनाइरहेको हुँदोरहेछ, अनि मृत्यु त्यो भन्दापनि सामान्य । 
आज गलेर कोठामा पसेँ । भोकै, खाना खाएको छैन । बनाउनै पर्ने पनि छ । म जीवनसँग नै रुमल्लिरहेको छु । त्यही पनि बाँच्नुपर्ने बाध्यता हो या निरन्तरता, खाने काम गर्नै प¥यो । चुल्हो बालेर पकाइरहेको छु । र, फेरि रुमल्लिएको छु, उही तर्कसँग । 
मान्छेको जीवन पनि त मेरो कुकरमा उम्लिरहेको दालजस्तो होला नि । चरम तापपछि उम्लिन्छ र बज्छ सारा समाजलाई एकान्त रातमा बिच्काएर । म जीवनबारे प्रिय पात्र अर्थात् उनीसँग केही कुरा गर्ने मुडमा छु । तर, उनी मसँग कुरा गर्ने रहरमा छैनन् सायद । त्यसकारण उनले मलाई आजभोलि केही पनि लेखिरहेकी छैनन् । मैले मेरो डायरीमा कोरेँ उनका लागि । 
‘कोही मृत्यु पचाएर बाँचेका हुन्छन््, कोही जन्मसँग नाचेका हुन्छन्् । सहरको दुनियाँ फरक छ, प्रिय पात्र । यहाँ एउटा कोठामा शोकमा डुबेका मानिसको परवाह कसलाई हुन्छ र ? अर्को कोठामा ब्रोइलर कुखुरा भुटिइरहेको हुन्छ । शोकको नाममा मदिरामा लठ्ठ एउटा जमात सहरमा भड्किलो रातसँग उन्मुक्त छ, ‘मितिनी’ उपनामकी ती महिला जीवन चलाउन रातभर अभ्यस्त छिन्् ।’ 
सहर आफ्नो हिसाबले नतमस्तक छ, म आफ्नो प्रकारले उही दैनिकीको पर्खाइमा छु । मेरो पर्खाइको समयसीमा बढिरहेको छ, उनको प्रत्युत्तर, प्रतिप्रश्न, प्रतिकार, प्रतिवाद केही छैन । पर्खाइमा अभ्यस्त छु, आउने आशमा म कोरिरहेको छु, एकोहोरो रूपमा । यी अनेक भावनासँग म डुबिरहेको छु, प्रियपात्रको भावसागरमा । उनी कत्तिको भावनात्मक भएकी छन्् थाहा छैन । सम्भवत ः मोलीको प्रेमकहानी सुन्न अभ्यस्त भइन् कि ?

No comments:

Post a Comment