Friday, September 13, 2013

मनिषादेखि मनिषासम्म



मनिषा कोइराला कुनैबेलाकी बलिउडकी बहुचर्चितमात्र होइन, महँगी हिराइन पनि हुन् । खामोसीमा सलमान खानसँगको उनको चर्चादेखि लाल बादशाहमा अभिताभ बच्चनसँगको रोमान्सको चर्चाले बलिउड हल्लाएको थियो । मनमा आमिर खान, दिल सेमा शाहरुख खानसँग उनले रोमान्स गरिन् ।
महाराजा भन्ने फिल्ममा गोविन्दाभन्दा दोव्वर पारिश्रमिक लिएर अनुबन्धित भएको भन्ने हल्लाले मनिषाको फिल्मी करिअरलाई सामान्य बनाएको थिएन । त्यसो त उनको बलिउड ब्रेक नै हस्तीहरुसँग भएको थियो । दिलिप कुमार, राजकुमार जस्ता हस्तीहरुसँगा उनले सौदागर भन्ने फिल्मबाट बलिउड करिअर सुरु गरेकी थिइन् ।

पछिल्ला दिनमा मनिषा क्यान्सरको पीडित बनेकी थिइन् । अहिले उनी त्यो पीडाबाट पनि उन्मुक्ति पाइसकेको आफ्नो फेसबुकमा घोषणा गरेकी थिइन् । यो पीडाबाट उन्मुक्त भएपछि उनी नेपालमा यस्तै एउटा कार्यक्रममा आइन् ।
क्यान्सरको जरालाई डढाएर निमिट्यान्न पार्न दिइएको किमोथेरापी र रेडिएसनले अभिनेत्री कोइरालालाई मुडुलो बनाइदिएको थियो । अमेरिकाको न्यूयोर्कमा आठ महिना लामो उपचारका क्रममा सामाजिक सञ्जाल मार्फत् सार्वजनिक गरेको फोटोमा रातो पहिरनले उनी भिक्षुजस्तै देखिएकी थिइन् ।
क्यान्सरले उनको तेजिलो मुहारको चमक पनि धमिलो बनाएको थियो । छाला उस्तै गोरो भए पनि चमक हराएको । क्यान्सर डाक्टरहरुको कार्यक्रममा काठमाडौंको याक एण्ड यती होटलमा प्रमुख अतिथि हुन आएकी मनिषा अहिले पुरै फेरिइसकेकी छिन् ।

उनको मुडुलो टाउको अहिले कालो तर छोटो कपालले ढपक्क ढाकेको छ । अनुहारमा चमक थपिएको छ । पहिला दुव्लाएर छिन्न लागेको घाँटीमा मासु थपिएको मात्र छैन, लुरा हात, पाखुरा पनि मासु भरिएर कसिला भएका छन्।
गोलो आकारको कालो चस्मा लगाएर आएकी मनिषा १०÷१५ वर्र्षअघि उनको करिअरमा जमेका बेलाजस्तै गतिली पोटिली हिस्सी र राम्री देखिएकी छन् । मुसुक्क मुस्काउँदा दाहिने गालाको डिम्पलले चौध वर्र्षअघि जम्बो पेप्सीका विज्ञापन खेल्दा जस्तै हिस्सी देखिइन् ।
मनिषाकै शब्दमा उनी अब ‘क्यान्सरविरुद्धकी जोधाहा योद्धा” हुन् । ‘क्यान्सरपीडित’ भन्ने शब्द उनलाई बिलकुल मन नपर्नेमात्र हैन पटक्कै चित्त बुझ्दैन ।
उनी जसरी देखिएकी थिइन्, सुरुकी मनिषादेखि उनी फेरि मनिषासम्म फर्केको अनुभुति हुन थालेको छ ।

No comments:

Post a Comment