साइबर लभ–५
विनोद ढकाल
म सोचिरहेको छु, आज एउटा पत्र लेखौं उनलाई । हरेक दिन च्याटबक्सको नजारामा कसरी बस्न सक्नु ? आजभोली म केही विरामी पनि त छु । यद्यपि, मेरो विरामपनले उनलाई कति दुख्छ भन्ने मापन पनि त गर्नु छ ? म मनभित्र प्रेमको रस जोडिरहेको मान्छे, उनी त्यस रसलाई सुकाउने कोसिस गरीरहेकी अदृश्य वर्तमान हुन् । मेरो अदृश्य वर्तमानसलाई मेरो पत्र के लेखौं, सोचिरहेको छु । कसरी सुर गरौं विचरणमा लागेको छु । कुनै मन्दिरको टुप्पोमा उभिएर केही सोचिरहेको परेवाजस्तो, पानीभित्र डुबुल्की मारेर केही खोजीरहेको माछा जस्तो, कानलाई सुरिला र सुन्दर पाराले हल्लाउँदै कृष्णको मधुर बाँसुरीमा रमाइरहेका गाइजस्तो ।
‘प्रिय पात्र’ सम्बोधनको माथिल्लो भागमा कोरेको छु । उनलाई पात्र भनौं या नाम नै लेखौं । उनले यसअघि आफ्ना कलेज जीवनमा धेरैपटक नाम उल्लेख गरेका पत्रहरु हासिल गरिसकेकी छिन्, सायद । मलाई थाहा छैन मानिसहरु मायाप्रेममा कस्ता शव्दहरु उन्न जान्दछन् र एउटा तेजिलो आकार दिन्छन् । म साहित्यकारपनि होइन, म त भर्खरै संवेदनाको पुत्लाहरु बनाउँदै गरेको कुमालेसरहको मान्छे । मैले बनाएका पुत्लाहरुको कतै आकार विग्रिन सक्छन्, कतै राम्रो बन्न सक्तैनन् । –एकाग्र म पत्र कोरिरहेको छु । रातको सन्नाटा, भदौको गर्मी, काठमाडौं तात्दै गएको दिनहरु, विरालाहरुको रजाई अनि भर्खरै काम सकेर आएको थकाई ।
अलिक अस्वस्थ्य महसुस भएको छ । मेरो त्यो फोहोर चुलोमाथि पानीको भाँडो बसाएको छु अनि तातोपानीसँग मेरा भावनाहरु पगाल्न पत्रलाई निरन्तरता दिइरहेको छु । मानिसहरु भन्छन्, केटासँग केही कुरा गर्न हुन्न, सायद तिमीले पनि सोचेकी थियौ की ? तर, मलाई लाग्छ तिम्रो हृदयमा म एउटा सामान्य लेखक होइन, तिम्रो हृदयको कुनै ठाउँको सामान्य झन्कार बनिसकेको छु । तिमीले व्यक्त नगर्नु एउटा कुरा हो, मैले महसुस गर्नुले त्यसलाई सावित गरिदिएको छ ।
हेर मसँग विश्वका अनुभव छैनन्, म निरन्तर एउटा समाजसँग संघर्षगरि अर्को समाज र त्योसँग संघर्ष गरी फरक समाजलाई जोड्न उद्दत छु । यसमा तिम्रो र मेरो मिलन, तिम्रो र मेरो सम्बन्ध प्राकृतिक हैन, शारिरीक होइन, संवेदनात्मक, संवेगात्मक एउटा फरक वेगबाट हुनुपर्दछ । त्यो वेग, त्यो कोण न तिमीले पहिल्याउन सकेकी छौ न मैले पनि बुझ्न सकेको छु । यद्यपि, सम्बन्धहरु जव प्रेमिल बन्दै जान्छन् यस्तो महसुसलाई निरन्तर कायम राख्नुपर्दछ । –मैले पत्रमा थपेको छु ।
०००
‘कसले ढोका खुल्लै छाड्यो ? चोर पस्यो भने कसले जिम्मा लिन्छ ?’ घरबेटी बा उफ्रिरहेका छन्, मास्तिर । उनको तेजिलो आवाजले मेरो एकाग्रतामात्र भंग गरेन, चिच्याउन लागेका विरालाहरु कुना पसेजस्तो छ । अन्तिममा घर छिर्ने मेरो बानी हो तर म नविर्सि हरेक दिन ढोका लगाउँछु, आज कसले खोलेछ ? मनमा कुरा खेल्न थाल्यो, तिमीलाई कोरिरहेको पत्रमा उल्लेख भएका मेरा भावनाहरुको लहर एकै छिन टुटेको छ ।
यत्तिकैमा अमेरिकाबाट फोन आयो, मामाले फोन गर्नुभयो । ‘भान्जा तपाइको लेखाई कहाँ पुग्यो ?’ वहाँले प्रश्न गर्नुभयो,‘मेरो हालखबर भन्दा पनि मेरो लेखाइसँग वहाँलाई प्रेम छ । किनभने जव म लेख्न छाड्छु, वहाँले बुझ्नुहुन्छ म अस्वस्थ्य छु । यद्यपि, आज वहाँ भ्रममा हुनुहुन्छ किनभने म लेखिरहेको छु अनि अस्वस्थ्य पनि । मामासँग मेरो निरन्तर कुराकानी हुन्छ । वहाँले मलाई सम्झिने र मैले वहाँलाई सम्झिने कुरा निरन्तर चलिरहन्छ ।
०००
तिम्रो जीवनको कुइनेटोहरु कस्ता छन्, अनुभवका घुम्तीहरु कसरी वितेका छन् थाहा छैन । मैले त तिम्रो आवाज पनि सुनेको छैन । तिम्रो जिव्रोको लम्बाई कति छ ? मैले सोधेको छैन । तिम्रो अनुहारको गहिराई बस तस्विरमा देखेको छु । त्यहाँभन्दा अरु केही थाहा छैन, तिम्रो मुटुको चाल कति छिटो छ, तिम्रो शव्दको भरमा पहिल्याउने गरेको छु, आफुले सुनेको छैन । बलेसीँको पानीले तिमीले कति पटक अनुहार धुएकी छौ, मैले अहिलेसम्म सोधेको छैन । मैले त बस त्यति सोधेको छु जति मैले बुझ्ने कोसिस गरेको छु ।– पत्रमा कोरिरहेको छु ।
०००
कोही मस्त नशामा आधा रातमा मेरो फ्ल्याट तल चिच्याइरहेको छ । सायद रोइरहेको छ । सायद श्रीमतिसँग झगडा गरिरहेको छ । मेरो चासोभन्दा अलिक परको कुरा हो यद्यपि, मैले सुनिरहेको छु । यी ट्याक्सी चालक किन आज निक्कै मातेछन् ? घरबेटी कराउनुको रहस्य यीनको दुर्दशाको कारण त होइन ? रामजस्ता घरबेटी रावणजस्ता हुनुको पछाडीको कारण त यी ड्राइभर बनेनन् ? मैले बाहिर निस्केर सोध्ने सोच बनाएँ, तर फेरि भित्र छिरेको छु ।
०००
मान्छे विलिन हुनसक्छ, मान्छे यो संसारबाट अलग हुनसक्छ । मान्छेले स्वर्ग देखेको छ की छैन ? स्वर्गले मान्छे पहिल्याउन सकेको छ वा छैन मलाई थाहा छैन । मेरो स्वर्ग तिमीसँग निरन्तर च्याट गर्नुमात्र हो, एक झमट । मेरो स्वर्ग तिम्रो खुसीसँग जोडिएको छ । किन यति निकट भयो मैले कल्पना गरेको स्वर्ग तिमीप्रति त्यसको अर्थपनि थाहा छ मलाई, मैले एक पटक तिमीसँग अभिव्यक्त गरिसकेको छु ।– पत्रमा यो पनि उल्लेख छ । रात ढल्किएर विहानीको संकेत गरिरहेको छ । मेरो टेवलमाथि भएको पानीको ग्लास खाली हुन लागेको छ, उम्लिदै गरेको फोहोरी चुल्होमाथिको पानी कतिबेला सुकेछ, पत्तै पाउन सकिन । जव भाँडो डढेको संकेत पाउँ अनि बल्ल चाल पाउँदैछु ।
०००
तिमीसँग प्रत्यक्ष कुरा हुन नसकेका विषयहरु ऋाज पत्रमार्फत पठाउने प्रयत्न गरिरहेको छु । निरन्तर म नयाँ विषय र महत्वकांक्षाहरुको बारेमा कोरिरहेको छु । तिम्रो जवाफ कस्तो आउन सक्छ ? भन्ने कल्पना पनि गरिरहेको छु । छाती भारी भइसक्यो, तर शव्दहरु कहाँनेर टुंग्याउने मेसो पाउन सकेको छैन ।
मान्छेहरु भन्छन्– जीवनको मुख्यकुरा लेखेर भन्नुको मजा अर्कै छ । प्रत्यक्ष भन्दा त्यसले क्षणिक र जस्तोसुकै जवाफ आउन सक्छ तर लेखेर भन्नु वा पत्रमार्फत भन्नुको जवाफ परोक्ष रुपमा नै आउने भएकाले सायद तिमीले पनि विचार गरेरै केही लेख्नेछौं । म कोरिरहेको छु मेरा अन्तरमनका शव्दका लहरहरु । निरन्तर ...कोरिरहेको छु । घडीले विहानको दुई बजेको संकेत ग¥यो, मेरो कोठामा बलिरहेका बत्ती, चलिरहेको टेलिभिज र मेरो भावनाहरु दौडिरहेको कम्प्युटर एक्कासी बन्द भयो । सरी मेरो पात्र तिमीलाई मैले आज यो पत्र पठाउन सकिन । कुनै दिन पठाउँला । मेरो दुश्मन बनेर आएको लोडसेडिङ मेरो भावनामाथि बज्रपात गर्ने कारण बन्यो ।
No comments:
Post a Comment