विनोद ढकाल
राजनीतिक रुपमा मुलुकको राष्ट्रियताको आधार के हो ? मुलुक स्वतन्त्र र मुलुकको हित र जितमा छाती कसरी फुल्छ ? भन्ने विषयलाई राजनीतिले कहिले पनि अनुमोदन गर्न सकेन । हज्जारौं युवाका छातीमा अहिले पनि राष्ट्रियताको विज गहिरो छ भन्ने उदाहरण केही दिनयता देखिएको छ । रंगशालामा उत्रिएको नेपाली फुटवल टिमको जीत, उसले देखाएको खेलसँग जोडिएको नेपाली राष्ट्रियताको व्याख्या थोरै शव्दमा पुरा हुन सक्तैन । नेपाली राजनीतिक कहिलेपनि राष्ट्रियताको पक्षपाती हुन सकेन । विदेशी प्रभुको शरणमा पुगेको राजनीतिमा राष्ट्रियताका आधार भेट्न सकिएन तर अझै पनि युवा मनहरु, युवा विवेक, युवा चाहना राष्ट्रियतामा अडिग छ भन्नेमा दुइमत देखिएन । खेल र राजनीति फरक विषय हुन् तर राष्ट्रियताको विकास, विवेचना दुवैमा उत्तिकै हुुनुपर्छ भन्नेमा दुइमत राख्न सकिन्न ।
नेपाली राष्ट्रिय टिमले देखाएको खेलले अहिले नेपाली युवा मुटुलाई जोडिरहेको छ । त्यतिमात्र होइन यसले राष्ट्रियता र मुलुकप्रतिको प्रेमलाई पनि खुलस्त रुपमा व्याख्यामय बनाइदिएको छ । राजनीतिबाट वाक्क भएका नेपाली युवालाई यस पटक खेलले एकसुत्रमा बाँधिदियो र राष्ट्रियताको सुत्राधारको साझा मञ्चमा उभ्यायो । सफलताले मुलुकको गरिमा बढाउँछ, मुलुकको गरिमाले आम मानिसको परिचयमा बल पु¥याउँछ । तर, नेपाली राजनीतिले अहिलेसम्म यी कुनैपनि काम गर्न नसकेका कारण नै नेपाली खेलप्रति युवाको चासो अभूतपूर्व बढ्यो । यद्यपि, मुलुकको आम परिवर्तनको पाटोमा राजनीति हावी भएका कारणले राजनीतिमा पनि नयाँपन र विकासको आशा राख्नु स्वभाविक हो ।
मानिस अनयास राजनीतिसँग नजिक हुने र त्यसको लाभमा डुव्न थालेपछि राजनीतिको भुत सपनामा पनि आउँछ । हुन पनि प्रधानमन्त्री कार्यालय सिंहदरबार, निवास बालुवाटार र एकदई पटक शितलनिवास टेक्न अवसर पाएकाहरुका लागि राजनीतिको भुत जाग्नु अस्वभाविक होइन ।
निर्दलीय व्यवस्थामा पुगेको मुलुकको संकट कसरी न्युनिकरण हुने हो त्योचाँही थाहा भएन तर मानिसको सपनाभन्दा परको गञ्जागोल राजनीतिको बारेमा घटनाप्रधान चर्चा अव वाक्कलाग्दो भइसकेको छ । यद्यपि, मुलुकको समस्याको समाधानको उत्तम विकल्प राजनीतिक दलको राज्यसत्ता नै हो, त्यसको विकल्प खोज्दा मुलुक संकटमा पर्नसक्ने अनेक खतराहरु आउन सक्छन् भन्ने भनाईहरु पनि व्यर्थ भइसकेका छन् ।
न्यायपालिका र कार्यपालिकामात्र जीवित भएको मुलुकमा दुवै अधिकार एकै व्यक्तिलाई दिँदा ऊ भस्मासुरभन्दा फरक हुन नसक्ला भन्न सकिन्नथियो । त्यो देखियो पनि । आफु विरुद्धका १७ अभियोगलाई सर्वोच्चमार्फत खिलराज रेग्मीले खारेज गराए । यो शक्तिको दुरुपयोगमात्र होइन, शक्तिको विचलित स्वरुप पनि हो ।
। अहिले राजनीतिक दलहरु संकटमा पुग्ने अवस्था छ । निर्दलीय व्यवस्था हावी हुने सम्भावना ज्यादा छ । हिजो निर्दलीय व्यवस्थाबाट पार लगाउनका लागि जुन आन्दोलनको जगमा बहुदलीय व्यवस्थामा हामी आइपुगेका थियौं, त्यसको हत्या गर्नु जनआन्दोलन, जनताको चाहनाको अपमान गर्नु हो । त्यसकारण दलहरु यो अपमानको काममा लागे र अहिले मुलुक राजनीतिक रुपमा नै संकटको अवस्थामा देखिन्छ । राजनीतिको फाहोरी खेल, चाल र षडयन्त्रले मुलुक गैरराजनीतिक ध्रुवमा पुग्यो, जसले गर्दा मानिस राजनीतिक अधिकारको कुरा गर्दछ तर राजनीतिक अधिकार प्राप्त गर्ने ठाउँमा छैन । यसले उदाउँदो नयाँ पुस्ताको चाहनालाई कुल्चिएकोमात्र छैन, अपमान पनि गरेको छ ।
हामी राजनीतिमा पुस्तान्तरणको अवस्थामा नपुगेका कारणले संक्रमणकालिन अवस्थाका नाममा दलगत स्वार्थको कुटील षडयन्त्रको मारमा परेका छौं । जसले लोकतन्त्र सखाप बनाउने ठूलो चाल चलिरहेका छन् । यो चाललाई रोक्न, चुनौति दिन र सत्ताशक्तिलाई हस्तान्तरणका बाध्यकारी बनाउनका लागि युवाशक्तिको सक्रियताविना असम्भव देखिन्छ । त्यसकारण अव युवाशक्ति मुलधारको राजनीतिलाई प्रभाव पार्नेगरी उदाउन आवश्यक देखिएको छ ।
चीन, जापान र अमेरिकाको विकास इतिहाँसमा युवाशक्तिको ठूलो योगदान रहेको छ । जसका कारण आज उनीहरु विश्वका ठूला अर्थतन्त्र भएका बलिया मुलुकका रुपमा गनिएका छन् । नेपालमा पनि नयाँ पुस्ताको राजनीतिक मुलधारको प्रवेशविनाको विकास कल्पना गर्न सकिँदैन । राजनीतिक लाइनबाटमात्रै उक्त समस्याको समाधान खोज्न सकिन्छ । नयाँपुस्ताले आफ्ना असली युवा नेता छान्ने प्रकृयामा कुनै गल्ती गर्न हुँदैन ।
राष्ट्रिय राजनीतिमा आफुलाई विचारको प्रवाह गर्ने घमण्डमा राजनीतिक नेतृत्वले युवाशक्तिको हर्कतलाई जसरी बचाउ गर्ने प्रयत्न गरेको थियो, त्यो इतिहाँस कसैबाट लुकेको छैन ।
हरेक परिवर्तनमा युवाको भुमिका प्राथमिक भएपनि नेपाली युवाशक्तिको अहिलेको अवस्था प्रशंशामय चाँही छैन । प्रत्येक दिन रोजगारीको खोजीमा एक हजार सात सयजना युवा विदेशिएको अवस्थालाई सकारात्मक रुपमा लिन सकिदैन । युवाको सहज व्यवस्थापन हुन नसकेका कारण उक्त संख्या अहिले विदेशिन बाध्य भएको हो । कम्तिमा नेपालका ५० लाख युवाशक्ति अहिले मुुलुकबाहिर रहेको विभिन्न तथ्याङ्कले देखाएको छ ।
आर्थिक, सामाजिक, सांस्कृतिक, राजनीतिक, खेलकुद, साङ्गीतिक, वित्तीय उत्पादन तथा श्रमका क्षेत्रमा युवाहरू नै परिवर्तनका संवाहकका रूपमा देखिएका पनि छन् । आर्थिक उत्पादन तथा श्रमका लागि युवा पाखुरी, सीप तथा मस्तिष्क अपरिहार्य छ । सामाजिक, सांस्कृतिक क्रियाकलापहरू युवाको अनुपस्थितिमा अपूरो होइन असम्भव नै हुन्छ । हरेक आन्दोलनमा युवाको भुमिकालाई परिभाषित गर्दा शान्तिपूर्ण लोकतान्त्रिक आन्दोलन ०६२÷६३ को जनआन्दोलन नियाल्नु अनिवार्य हुन्छ । उक्त जनआन्दोलनमामात्र १८ जना युवाले सहादत प्राप्त गरेका थिए । २१ जना प्रत्यक्ष रुपमा मारिँदा युवाहरु १८ जना मारिएका थिए जुन प्रतिशतकै आधारमा पनि ८६ प्रतिशत देखिन्छ । यो राजनीतिक परिवर्तन बाहेक आर्थिक क्षेत्रमा पनि युवाको भुमिका उत्तिकै बलियो देखिएको छ ।
मुलधारको राजनीति स्थापित गराउनका लागि युवाको भुमिका जुन प्रकारले सक्रिय देखिएको छ, अहिलेको संक्रमणकालिन राजनीतिलाई व्यवस्थापन गर्ने हिम्मत पनि युवा नेताले राख्नेछन् । युवा संघको आसन्न महाधिवेशनले त्यो एजेण्डा बोेकेर मुलुकभरका युवालाई राष्ट्रिय राजनीतिमा हस्तक्षेपकारी नीति अवलम्बन गराउन सक्दछ । त्यसकारण तत्कालै सवै राजनीतिक दलभित्र हस्तक्षेप गर्ने भन्दापनि दलको आन्तरिक नीतिमा प्रभाव पार्न सकिन्छ । जुन शिक्षालाई अन्य दलका युवा संगठनहरुले पनि अवलम्बन गर्दा अलमलमा रहेको मुलधारको राजनीति लोकतान्त्रिक गणतन्त्र, जनताको जनमत र आकांक्षा अनुरुप चल्नसक्ने आधार देखिन्छ ।
सोमबार तरुण साप्ताहिकको नियमित स्तम्भ सरोकारमा प्रकाशित
No comments:
Post a Comment