विनोद ढकाल
यतिवेला युवा राजनीतिक व्यक्तित्वको सम्मान वा उनीहरुको भुमिकालाई राजनीतिक दलहरुले प्रभावकारी बनाउनका लागि आफ्नो ‘सत्ता फरोसी’को त्याग गर्ने बेला आएको छ । पुष्पकमल दाहाल, सुशिल कोइराला र झलनाथ खनाल, विजय गच्छादारहरुको सत्ताफरोसी र शक्तिको दुरुपयोगका कारण मुलुक कहाँ पुगेको छ ? खोज्नेबेला आएको छ । खेलले देखाएको युवा एकतालाई विकासको सुत्रमा बाँध्न आवश्यक छ ।
किनभने, राजनीतिक दलहरु संविधानसभाका लागि हाँकिएका छन् र उमेद्वारको छनौट प्रकृयामा लागेका छन् । मंसिर ४ गते संविधानसाको निर्वाचन होस वा नहोस तर निर्वाचन हुने निश्चित आधार बनीसकेको छ । यस्तो आधार बनेको समयमा युवा नेतालाई अघि सारेर प्रचारात्मक रुपमा आएको ‘पितृ सतात्मक’ राजनीतिक प्रणालीलाई भत्काउने अवसर पनि आएको छ ।
युवा राजनीतिका मेरुदण्ड हुन् र भविष्यका द्रष्टा भन्ने राजनीतिक उक्तिलाई व्यवाहारिक कार्यान्वयनको पक्षलाई बलियो बनाउने बेला चुकेको आधारमा अव पनि नेपाली राजनीतिक व्यवस्था परिवर्तनको बाटोमा जान्छ भनेर हामी युवाका लागि झोली थापेर बस्नसक्ने अवस्थामा हुने छैनौं ।
विश्वका विकासीत मुलुकहरुको राजनीतिक पृष्ठभुमि, विकासको पृष्ठभुमी र आर्थिक क्रान्तिको धरातलको मुख्य जग नै युवाशक्तिको सहज, स्वभाविक र सरल सक्रियता नै देखिन्छ । चीनमा उदाएको युवा शक्तिका कारण उसले आफ्नो आर्थिक यात्रालाई विश्वको उचाइमा पु¥याएको छ । आप्रवासी युवाहरुको सक्रियताका कारण नै अमेरिका अहिलेपनि विश्वको महाशक्तिका रुपमा कहलिएको छ । जापानी युवाहरुकै मेहनतका कारण अर्थतन्त्रमा उसले आफ्नो स्थानलाई कायम राखेको छ । यी विश्वका ज्वलन्त उदाहरणका रुपमा देखा परेका मुलुकहरुको विकासको मुख्य लक्ष्य युवाको सही परिचालन नै थियो । अहिले पनि यी मुलुकहरुले अर्थतन्त्रमा युवाको पारदर्शी भुमिकालाई कमजोर बनाएका छैनन्, बरु बलियो बनाउँदै गएका छन् । एउटा मुलुकको अर्थतन्त्रको विकासको योजना राजनीतिसँग नङमासुको सम्बन्ध रहने भएकैले पनि उनीहरु प्रयोगका आधारमा सफल बन्दै गइरहेका छन् ।
तर, नेपाली युवाको पहुँच, सक्रियता र विकासका लागि आफ्ना दायराहरु बन्न नसकेका कारण हामी कयौं वर्षपछाडी छौं । नेपाली युवा आन्दोलनको इतिहाँस पुरानो छ तर गलत दिशाको यात्राका कारण हामी सफल हुन सकेका छैनौं । नेपाली समाजका ‘युवा’ भन्नसाथ झगडा गर्ने, गुण्डागर्दी गर्ने, हप्ता असुल्ने, प्रदर्शन गर्ने लगायतका अर्थबाट परिभाषित गर्न थालिएको छ । यसलाई आजको सन्दर्भमा स्वभाविक मान्नुपर्दछ । तर, नेपाली युवाआन्दोलनको सही प्रयोग हुन नसकेका कारण हामी समाजमा यसरी परिभाषित भइरहेका छौं भन्ने आत्मसमीक्षा सवैले गर्न आवश्यक छ । ०६२÷०६३ को आन्दोलनसम्म आइपुग्दा नेपाली युवा राजनीतिक स्वतन्त्रताका लागिमात्र लडेको देखिन्छ । राजनीतिक स्वतन्त्रताप्राप्ति पछि युवाको भुमिकालाई कमजोर र प्रयोगरहित बनाइएको÷बनेको देखिएको छ । ००७ सालमा नेपालमा पहिलो पल्ट आएको प्रजातन्त्र प्राप्तिको आन्दोलनको शङ्घोष र सफलता, ०३६ सालको विद्यार्थी आन्दोलन, ०४६ सालको पञ्चायती शासन विरुद्धको प्रजातान्त्रिक आन्दोलन र ०६२÷०६३ को गणतान्त्रिक आन्दोलनको जग नै युवाशक्ति थियो । तर, यी बारम्बारका आन्दोलनको सफलतापछि पनि युवा शक्तिको सहि उपयोग, उपभोग र परिचालन किन हुन सकेन ? यो गम्भिर प्रश्न आमसाधारणसम्मले उठाउने गरेका छन् । ०५६ तत्कालिन नेकपा माओवादीले क्रान्तिका नाममा युवाका हातका विकासको पहरेदारी र आर्थिक क्रान्तिको रुपान्तरणको जग बसाउनुको साटो बन्दुक बोकायो । ०६२÷०६३ यता वाइसीएलका नाममा उनै मण्डले, कुण्डलेहरुको झुण्डलाई संगठित गरी अपराधउन्मुख बनाइयो । यो प्रवित्तिबाट कोही अछुतो भएन, हाम्रै साथीभाईहरु पनि यस्ता कामबाट कँहीकतै प्रभावित भएको पाइयो । यो एउटा गलत संस्कारको निरन्तरता थियो । अहिलेपनि कतिपय ठाउँमा जारी राखिएको छ । यसको अन्त्यलाई रुपान्तरणसहितको राजनीतिक अभियान वा युवा आन्दोलन नै खाँचो छ । जसबारे हामीले केही योजनाहरु ल्याउने प्रयत्न गरेका छौं । त्यसअघि युवाको सवाल हेर्दा सरल र बुझ्दा गहन बनेको दृष्टान्त राख्नु उपयुक्त हुनेछ । सामान्यतया १६ देखि ४० वर्ष उमेर समुहमाथि उठेको यो प्रश्नका सरल जवाफ छैनन् । यो एउटा आन्दोलन हो र यसलाई व्यावसायिक ढंगबाट व्यवस्थापन गर्न सक्नु यसको सहज उत्तर हुनसक्छ । तर, नेपाली राज्यव्यवस्था अहिलेसम्म त्यसप्रति गम्भिर हुन सकेको छैन ।
युवा राजनीतिबाट अलग भएर यी प्रश्नका सहज उत्तरहरु देखा पर्दैनन् । अहिले भइरहेको भोको राजनीतिको रुपान्तरणविना सवालका सही र प्रयोगात्मक उत्तरहरु आउँदैनन् । राज्यबाट युवालाई एउटा सीमामा घेराबन्दि गर्ने प्रयत्न भएको छ ।
हामी यस्तो गैरन्यायिक प्रणालीलाई चिर्न चहान्छौं । राज्यमा पुराना रीतिको उपयोग गर्ने र युवालाई क्षणिक प्रलोभनमा राखेर राज्यसत्ताको पहुँचबाट टाढा राख्ने प्रवित्तिले संगठित हुन सकेका छैनन् । राजनीति फोहोरी होइन, हरेक पेशागत संस्थामा लागेका युवाहरु संगठित हुन चहान्छन् तर जुन चरित्रले जरा गाडेको छ, त्यसको रुपान्तरण सहितको प्रयोग आवश्यक छ । युवा संघमा यस पटकदेखि हरेक पेशासँग आवद्ध भएका आम युवालाई पनि संगठित हुनका लागि अभिप्रेरित गरिनेछ । यो योजनामात्र होइन, कार्यान्वयनको महत्वपूर्ण पाटो हो । २० औं अर्बको मासु आयात गर्ने हाम्रो मुलुक कृषिको प्रचुर सम्भावना बोकेको मुलुक हो । तर, हामी किन गर्न सकिरहेका छैनौं ? हामी व्यावसायीक काममा युवाहरुसँग साक्षात्कार गर्न सकिरहेका छैनौं, हाम्रा नाममा राज्यमा देखिएको बजेटसम्मको पहुँचमा पुगेका छैनौं । कुनै पार्टी विशेषको नाममा एकीकृत कोषजस्तो बनाइएको युवा स्वरोजगार कोष, युवा मन्त्रालय, युवाका नाममा रकम छुट्याउने प्रत्येक निकायसम्म हाम्रो व्यावसायीक सोच, सहज पहुँच छैन । हामी यसको पुल बनेर युवाका लागि नयाँ आयाम ल्याउने अभियानको पक्षमा उभिएका छौं ।
करिव ५० लाख युवा अहिलेपनि भारत लगायत खाडी मुलुकसहित विश्वभर रोजगारीका लागि अलमलिएका छन् । दैनिक एक हजार सात सय भन्दा युवाशक्ति श्रमका लागि मुलुक छाडीरहेको छ । राजनीतिप्रति उसको वितृष्णा बढिरहेको छ । यो सरल देखिन्छ तर यसले निम्त्याउने जोखिमहरु भ्यानक छन् । राज्यका लागि दक्ष शक्ति मुलुक छाडेर जानुले विकासका कामहरुमात्र होइन, हाम्रो सम्बृद्ध मुलुक बनाउने चाहना पनि कमजोर बन्दै जान्छ । लाखौ युवा मुलुकभित्र वेरोजगारीको समस्यामा भौतारिरहेका छन् । भोको पेटमा राजनीतिक दलमा आवद्ध भएर होल टाइमर भएर खटिएका छन् ।
नेपाली युवा आन्दोलन र त्यसमा आधारित मुद्दालाई कार्यान्वयन गर्नका लागि हामीले युवा सरोकारका मुद्दामा आधारित योजना बनाएका छौं । राज्यबाट हाम्रा अधिकारका रुपमा माग्ने, नपाए खोसेरै भएपनि लिनुपर्ने योजनाहरु छन् । काम र मामको लागि युवाहरुलाई न्यनतम रोजगारीको संवैधानिक ब्यवस्थाकालागी संघर्ष गर्ने, १६—१८ वर्ष उमेर समुहका युवाहरुका समस्या को ब्यवस्थापन (सेवा प्रवेश र मताधिकार), युवाहरुल े बैदेशिक रोजगारी वाट प्राप्त गरेको (पुँजी, सिप र आधुनिक प्रबिधी)लाई स्वदेशमा लगानी गर्ने र यसप्रकारका युवा यद्ममीहरुलाई सम्मानगर्नेकार्यक्रम बनाउने, बेरोजगार भत्ता वा बेरोजगार विमाको ब्यवस्थाकालागी पहलगर्ने, युवा वा श्रम योग्य व्यक्तीको परचिय पत्रको ब्यवस्था गर्ने, एक आर्थिक वर्षमा युवा संघको पहलमा १० हजार युवाहरुलाई रोजगारीको अवस्था श्रृजना गर्न पहल गर्ने, एसएलसी उतिर्ण वा १६ वर्ष पुगे पछि अनिवार्य प्राविधीक व्यावसायिक शिक्षा, युवाको सामाजिक सुरक्षाहरु युवा संघका योजनाहरु हुन् ।
उल्लेखित योजना पुरा गर्ने सन्दर्भमा राजनीतिक तहतप्का, राज्य र नीतिगत तहमा पनि हाम्रो पहुँचलाई बलियो बनाउनुपर्ने आवश्यकता छ । नीति नभई हामी सफल हुन सक्तैनौं । त्यसकारण नीतिगत तहमा पनि आजका युवाले विभिन्न मुद्दाहरु उठाउन आवश्यक छ ।
युवाको एकतर्फी योजनालेमात्र हामी सफल हुँदैनौं । युवाले जारी राखेका कार्यक्रममा परिवर्तनको खाँचो पनि छ । सम्बृद्ध र स्वरोजगार हुनका लागि हामीले युवा आन्दोलनका नयाँ कार्यक्रम प्रस्ताव गरेका छौं । युवालाई राजनीतिबाट टाढा राखेर मुलुकको कुनैपनि पक्षको विकास हुँदैन । मुलुकमा युवाको सर्वाङ्गीण विकासका लागि शिक्षा, स्वास्थ्य र रोजगार युवा संघको पहिलो सरोकार, अनिवार्य प्राविधीक शिक्षाको थालनी, व्यावसायिक युवा र स्वरोजगार अभियान, राज्यद्धारा सहुलियत प्रदान, राष्ट्रियताको सुरक्षा तथा सामाजिक सदभावको पहरेदारी, भ्रष्टाचारीका विरुद्ध युवा संघको खवरदारी, अराजकता र विकृतीका विरुद्ध युवा संघको पहिलो प्रहार, ‘इच वन, टिच वन’ साथी शिक्षाको योजना पनि हाम्रो नारा बनेको छ ।
यसर्थ नेपाली युवाको भविष्य निर्धारण, युवा आन्दोलनको सहि प्रयोग र समुन्नत नेपालको कल्पनाका लागि युवा अभियानलाई तिव्रता दिनु आवश्यक छ । युवा अव आन्दोलनमा मात्र सीमित नभएर व्यवाहारिक क्षेत्र र आउने युवापिढीका लागि गतिलो नजिर बन्नसक्नुपर्ने योजना तर्जुमा सहित कार्यान्वयनको पाटो बलियो हुनुपर्छ ।
यतिवेला निर्वाचनको चर्चा चलिरहँदा कतिपय राजनीतिक दलहरुले युवा नेतृत्वलाई अगाडी सार्ने प्रयत्न गरेका छन् । यो सुखद खबर हुनसक्छ । तर, हामीलाई सिफारिस हैन, नेतृत्व चाहिएको छ । शिर्ष नेताहरुलाई तालमेलका आधारमा जिताउने दलहरुको भुमिका चलिरहेको छ, यो भुमिका युवाहरुका लागि हुनुपर्छ । राजनीतिक दलको दर्शन एकातिर हुनसक्छ तर विकासको लक्ष्यमा सवै दर्शनको साझा एजेण्डा बनाउन सक्ने शक्ति युवा नै हुन् । युवाले जवसम्म नेतृत्वको पाउन सक्तैनन्, तवसम्म राजनीति सफल हुन्छ भन्नेमा विश्वास राख्नु फेरि पनि भुलमात्र हुनेछ ।
No comments:
Post a Comment