Sunday, January 13, 2013

नैतिकता सकिको राजनीति

विनोद ढकाल

–खानेपानी आयोजनाको रकम कति हिनामिना गरिस् ? खानेपानीको नेता भएर किन आइस् ? हामीले रेडियो नेपालमा प्रतिक्रयावादी राज्यसत्ताको पक्षमा किन लेख्छस् जस्ता प्रश्नहरु सोधेका थियौं । डेकेन्द्र भन्थे–‘आमा किन मलाई जन्म दियौ ? मलाई यो पृथ्वीमा किन ल्यायौ ? मैले के गल्ती गरेको थिएँ र ?’ बारम्बार डाँको छोडेर रुन्थे । मिलिसिया कमान्डर बमबहादुरले उनलाई माओवादी हुन्छस् कि मारौं भनी बारम्बार पिट्दा मलाई माओवादी हुनु पनि छैन, खानेपानीको एक पैसा खाएको पनि छैन । जनताले खानेपानी पाउनुपर्छ भनी आएको हुँ भनेर जवाफ दिन्थे ।
२०६१ साउन २७ गते नेपाल राष्ट्रिय निम्न माध्यमिक विद्यालयको कोठाको तेस्रो बिममा झुन्ड्याएर दुई दिनसम्म सिस्नुपानी र लौरीले हिर्काइयो । त्यसपछि उभ्याएर छानबिन गर्ने क्रममा छिउडीपुसाकोटका अरुण भन्ने कमरेडले अण्डकोषमा लात्तीले हिर्काएपछि उनी ढले र बेहोस भए । यातना दिँदा शरीर पूरै शिथिल भइसकेको थियो । स्कुल छेवैको मेरो घरमा लगेर पेटीमा राख्यौं । पानी... पानी... भनी कराएपछि श्रीमती अमृताले पानी खुवाइदिइन् । नाडी सुस्त चलेका थिए । दुईजना साथीले नाडी छामेर म¥यो भने ।
सास फुत्केको थिएन जस्तो लाग्छ । त्यसपछि नजिकै रहेको जंगलतर्फ लग्यौं । मकैबारीसम्म घिसारेर लग्यौं । मकैबारी आइसकेपछि ४ हातखुट्टा समातेर उचालेर भीरतर्फ लग्यौं । मेरो घरदेखि २ सय मिटर पर खाल्डो खनेर नौ जनाले गाडेर फकिर्यौं ।  त्यो रात मलाई निद्रै परेन । घर नजिकै गाडिएकाले निकै डर लाग्यो । पछि घर छाडेर माथिको गोठमा बस्न थालें । तल घर बस्दा डेकेन्द्रको छायाँ याद आउथ्यो । हत्याको पश्चातापले अझै पिरोलिरहेको छ । त्यसैले यो सबै घटना विवरण सुनाउन म आतुर थिएँ ।

उल्लिखित अंश पत्रकार डेकेन्द्र थापाको हत्यामा संलग्न रहेका माओवादी कार्यकर्ता लक्ष्मीराम घर्तीले पत्रकारलाई हिरासतमा दिएको बयानको एक अंश थियो । उनको पुरै बयान सुन्दा एक कलमजीवि हुनुका नाताले आँखा रसाउनु स्वभाविक हुन्छ । पत्रकारिता पेसामा लागेर आफ्नो धर्मलाई निरन्तर निभाइरहँदा बयानमा उल्लेख गरेजसरी हत्या गर्ने तथाकथित जनयुद्धले दिएको नयाँ नेपाल भनेको अहिलेको अस्रेल्ल राजनीति हो ? उनका हत्यारालाई जोगाउन प्रधानमन्त्री डा. बाबुराम भट्टराइले गरेको अकर्मण्यता नै हो ? यो एक कलमजीविको प्रताडना थियो । स्कूलका हेडमास्टर मुक्तिनाथ अधिकारीको हत्याका अभियुक्तहरु कहाँ छन् ? ती १४ हजार प्रत्यक्ष ज्यान गुमाउने र त्यसबाट प्रभावित परिवारको अवस्थिति के छ ? खोज्ने बेला यहि हो ।
राजनीतिक अपराधका नाममा अपराधीहरुलाई उन्मुक्ति दिने, कानुनी राज्यको उपहास गर्ने र दण्डहीनतालाई बढावा दिने नियतलाई संस्थागत गर्न एमाओवादी उद्दत छ । आक्रोशको ज्वालामुखि कहिले थप्पडका रुपमा त कहिले विरोधका रुपमा आइरहेका वखत अभियुृक्तहरुसम्मको बचाउ प्रधानमन्त्रीको कुर्सीबाटै खुलमखुल्ला हुन थालेपछि मुलुकमा दण्डहीनताको पराकाष्ट कहाँसम्म छ भन्ने कुराको अन्य प्रमाण चाँहिँदैन ।
पत्रकार डेकेन्द्र थापा हत्याका अभियुक्तहरुले हत्याबारे स्वीकारोक्ति गरिहँदा प्रधानमन्त्रीबाटै त्यसको खण्डन हुनुले पत्रकारिता जगत जोखिमको पेसाभन्दा अरु केही नभएको पुष्टि भएको छ । राज्यबाट पत्रकारहरु कुनैपनि समयमा सुरक्षित थिएनन्, छैनन् र हुने सम्भावना पनि कम रहेको निश्चित देखिन्छ ।

दुनियाँमा कहीँ नभएको ‘माओवाद’ नेपालमा देखिन थालेको छ । यो उत्तरी कम्युनिजम भन्दा उदार हो अथवा पश्चिमी कम्युनिजम भन्दा संकुचित हो ? यसको यथेष्ट परिभाषालाई मुल्याङ्कन गर्ने अवस्था आइसकेको छैन । तर, माओवादका नाममा भइरहेको विग्रहको राजनीतिले मुलुकको आर्थिक हैसियतको नेतृत्व गर्न सकेको छैन । न त राजनीतिक परिवर्तनको खास मुद्दालाई संस्थागत गरी अघि बढ्न सकेको छ । राज्यसत्ता कव्जाको नियत बोकेको उग्र कम्युनिजमको लक्ष्य के हो ? र कहाँसम्म राजनीतिक यात्रा हुने भन्ने सैद्धान्तिक र वैचारिक लाइनपनि अहिले स्पष्ट छैन । राज्यसत्ताको नेतृत्व गरेर देशलाई अस्तव्यस्ततामा राख्ने एमाओवादीको लक्ष्य न सहमतीय राजनीतिको दिशामा देखिन्छ न त बहुदलीय व्यवस्थालाई स्वीकार गरी कानुनी राज्यको सम्मानको पक्षमा देखिन्छ । एकलौटी सत्ताकव्जाको नीति हुन सक्छ तर त्यो प्रयोग हुनसक्ने अवस्थामा पनि देखिदैन । ‘बाल हठ् र लिडेढिपीको आकारमा अहिले सत्ताको नेतृत्वमा रमाएको एमओवादी हिंसा, हत्या र अपराधको संरक्षणकेन्द्रितमात्र देखिने उल्लिखित बयानमा संलग्न अभियुक्तहरुको बचाउ प्रकरण लगायतका घटनाले पुष्टि गरेको छ ।
एकीकृत नेकपा माओवादीले स्थापित गरेको हिंसात्मक आन्दोलन र त्यसले निम्त्याएका परिस्थिति र चलिरहेको राष्ट्रिय मुद्दाको सारलाई कुन कम्युनिजमको प्रभाव हो भन्नेबारेमा व्याख्या गर्न अलि असहज भएको छ । तर, राष्ट्रिय राजनीतिसमेतलाई प्रभाव पार्नेगरी देखिएका दण्डहीनतालाई बढावा दिने एमाओवादी अनि राज्यसत्ताको नियत र त्यसले निम्त्याएको नियतीलाई भने सरल विश्लेषण गर्न सकिन्छ । की, माओवादी कुनैपनि मुल्यमा दलण्डहिनतालाई कायम राखेर अस्रेल्ल राजनीतिलाई हावी बनाउन चहान्छ । यो माओवादी विरोधी लाइनको व्याख्या होइन । यो सतहमा देखिएका सप्रमाण आरोप हो । पुष्टि गर्नका लागि देखिएका, चरम उत्कर्षमा विरोध भएका र प्रमाणसहित आएका घटना काफी प्रमाण हुन् । यसबाहेक राजनीतिक दवावका आधारमा माओवादीले मच्चाएको अन्य उदण्डताहरु त छँदै छन् ।

बेलायतमा नेपाली कर्णेल पक्राउ परेपछि नेपाली राज्यसत्ता एक पटक हल्लियो । त्यसको उग्र विरोधमा उत्रियो सत्ता नेतृत्व गरिरहेको एकीकृत नेकपा माओवादी । उसले आफ्ना विरोधलाई संस्थागत रुपमा पनि राख्यो । युद्धबन्दीलाई यातनाको अभियोगमा नेपाली सेनाका बहालवाला कर्णेल कुमार लामालाई बेलायतको प्रहरीले १८ गते पूर्वी ससेक्सबाट पक्राउ गरेको थियो । राष्ट्रसंघीय शान्ति मिसन अन्तर्गत दक्षिणी सुडानमा सैनिक पर्यवेक्षकका रुपमा खटिएका अधिकृत दुई बेलायत पुगेको दुई सातामा पक्राउ परेका थिए । लामालाई बेलायती महानगरीय प्रहरीको ‘काउन्टर टेरोरिजम कमान्ड (सीटीसी) ले पक्राउ गरेको थियो । यो विशेष तहको प्रहरीले युद्ध अपराध र मानव अधिकार हननविरुद्धका मुद्दाका अनुसन्धान गर्छ । यो घटनामा माओवादीको विरोध स्वभाविक थियो अथवा यस विरोधभित्र अरु केही स्वार्थ लुकेका छन् ? यो विश्लेषण अनिवार्य हुनुपर्छ । नेपाली सेनालाई चलाएर सत्ताकव्जाको नियत राख्ने एमाओवादी नैतिकताले नै सेनाका कर्णेल पक्राउको विरोध गर्ला ? तर, यसभित्र लुकेको सारचाँही माओवादीका नेताहरु आफुलाई अपराधी हुनबाट जोगाउने खेलमा लागेका छन् । नेता अग्नी सापकोटा, बालकृष्ण ढुंगेल हुन् अथवा युद्ध अपराधीको नाममा सुचीत भएका अन्य नेताहरु हुन् । उनीहरुका लागि कर्णेल पक्राउ प्रकरण पश्चिमा मुलुकले बन्द गराएको भिसा सो–सरह हो । त्यसकारण उनीहरु यसको उग्र विरोधमा लागेका हुन् । यद्यपि कर्णेल लामालाई बचाउने खेलपनि युद्धअपराधीलाई जोगाउने नियत हो । कर्णेल अपराधी हुन् अथवा नहुन् ? यो मुलुकभित्र सत्य निरुपण आयोग गठन गरी छानविन गर्ने विषय थियो । त्यो समयमा नगराउने माओवादीले यत्तिवेला विरोध गर्नुको अर्थ आफ्नो बचाउभन्दा अरु केही होइन । किनभने राजनीतिक अपराधको नाममा प्रधानमन्त्री डा. बाबुराम भट्टराइले चार सय अभियुक्तहरुलाई आममाफी दिइसकेका छन् ।
परिवर्तनका नाममा अपराधीको संरक्षण गरी जनसाधारणलाई धमिलो पानीको माछा बनाउने प्रयत्नले ग्रसित राजनीतिलाई स्वीकार गरेर नीरिह हुनु जनसाधारणको पनि कमजोरी हो । त्यसलाई स्वीकार गरी प्रतिवादन नगर्ने र सहरीया र भ्रष्ट राजनीतिमा रमाउने अन्य राजनीतिक दलको कमजोरी पनि लुकाउनु स्वभाविक हुँदैन । हत्याका अभियुक्तहरु जेगाउने राजनीति, त्यसका नेताहरु अथवा संलग्नहरु मनवता र मानव अधिकारका पक्षधर हुन सक्तैनन् । त्यसकारण नैतिकता सकिएको राजनीतिमा उनीहरु लामो समय हावी हुँदा अनेक डेकेन्द्र थापाहरुको हविगत नआउला भन्न सक्ने आधार छैन । बाराका पत्रकार बीरेन्द्र साह त्यसका पछिल्ला उदाहरण हुन् भने यहि गैरनैतिक राजनीतिको उपज हुन् ३३ जना मारिएका पत्रकारहरु पनि । त्यसकारण राजनीतिमा नैतिकतालाई प्राथमिक बनाउन दवाव दिने कि नदिने ? उत्तर खोजेर विट मारौं ।
सोमबार तरुण  साप्ताहिकको नियमित स्तम्भर सरोकारमा प्रकाशित

No comments:

Post a Comment