Wednesday, January 16, 2013

ओमानतिर उर्लिंदा नेपाली

डी. विनोद
पछिल्ला समयमा खाडीका विभिन्न मुलुक नेपाली श्रमशक्तिका लागि रोजागरीको गतिलो गन्तव्य बनेका छन् । कतार, साउदी अरब, कुवेत, युएइसँगै बहराइन र ओमानमा पनि नेपाली कामदार जाने क्रम बढ्न थालेको छ । दुतावास नभएपनि ओमान पछिल्ला चरणमा गतिलो गन्तव्य भएको हो । कम लगानी र राम्रो आम्दानी भएकै कारणले पनि नेपाली युवा तथा युवतीहरु ओमानयात्राका लागि तयार हुने गरेका छन् ।
साउदी अरब र मलेशिया पुगेर आएपनि एक पटक ओमान जाने रहरमा अहिले श्रम स्वीकृतिका लागि विभाग धाउने काममा व्यस्त छन्, जनकपुरका राविलास महतो । उनी भन्छन्,‘मलेशियामा र साउदी अरबमा काम गरेर आइयो अव ओमान जाने तयारीमा छु । सुनेको छु, त्यहाँ राम्रो आम्दानी हुन्छ ।’ वैदेशिक रोजगारमै नयाँ मुलुकमा गरिने श्रमको स्वाद लिनका लागि उनी ओमान जान लागेका हुन् । भन्छन्,‘दुईटा देशमा काम गरेर फर्किएँ, अव ओमानमा काम गरेर फर्किने रहरमा जान लागेको हुँ ।’
अन्य खाडी मुलुकको तुलनामा ओमान खुकुलो भएकाले पनि नेपाली श्रमशक्तिको आकर्षण बढेको हो । त्यहाँ रहेका भित्रि कम्पनीहरुमा अवैधानिक रुपमा काम गर्ने नेपालीहरु पनि कम छैनन् । तर, अवैधानिक प्रकृयाबाट जाने कामदार जुनसुकैबेला पनि त्यहाँको कानुनी दायरामा आउनसक्ने भएकाले अहिले श्रम स्वीकृतिमार्फत जानेको संख्या बढेको छ । यद्यपि, अवैधानिक नेपाली कामदारको संख्या पनि कम छैन । निर्माण कम्पनीमा काम गर्नका लागि ओमान जान तयार अर्का व्यक्ति हुन्, काभ्रेका दिपक लामा । भन्छन्,‘ओमान जाने तयारीमा छु । विदेशको अनुभवमात्र होइन, पैसा पनि कमाएर आउने आशा छ ।’ अन्य मुलुकमा कम तलव र ज्यादा काम गर्नुपर्ने तथा कानुन पनि कडा भएको सुनेपछि अलि खुकुलो मुलुक ओमान जान उनी तयार भएका हुन् । लामा थप्छन्–‘रोजगारीमा जानु परेपछि राम्रैसँग आम्दानी गरौं भन्ने रहर पनि हो ।’
पछिल्ला दिनहरुमा ओमान गतिलो गन्तव्य बन्ने गरेको वैदेशिकब रोजगार विभागमा रहेको तथ्याङ्कले पनि देखाएको छ । विभागका अनुसार साउन महिनादेखि मंसिरसम्ममात्र ओमानका लागि श्रम स्वीकृति लिएर जानेको संख्या दुई हजार छ सय २१ पुगेको छ । यो पाँच महिनामामात्र दुई हजार चार सय ३९ पुरुष र एक सय ८२ जना महिला श्रम गर्नका लागि त्यहाँ पुगिसकेका छन् । कतार लगायतका मुलुकमा पुगेका नेपाली कामदारको संख्याको तुलनामा कम भएपनि ओमानजस्तो मुलुकमा भएको मागको आधारमा यो संख्या उच्च रहेको विभागको ठहर छ ।
त्यसो त त्यहाँ पुग्ने महिलाहरुको संख्या पनि उच्च हो । त्यस्तै अहिले महिलाहरु पनि ओमान जाने प्रकृयामा खट्ने कमी देखिएको छैन । उनीहरु लेवर कामको लागि नभई घरेलु कामदारका रुपमा त्यहाँ जाने तयारीमा छन् । सरकारले तयार गरेको न्युनतम आधारको सुविधा ग्यारेण्टि भएपछि खाडीमा पनि समस्या नहुने देखेपछि मोरङ्की सर्मिला राई ओमान जान तयार भएकी हुन् । उनी भन्छिन्,‘कतारको लागि तयारी गरेको थिएँ । तर, ओमानमा पनि राम्रो आम्दानी देखेपछि त्यहाँ जान लागेकी हुँ ।’
ओमानका लागि सरकारले आधिकारीक रुपमा कामदार पठाउनका लागि वैधानिकता दिएको लामो समय भएको छैन । ०६६ सालयतामात्र आधिकारिक रुपमा नेपाली कामदार ओमान जाने बढेको देखिन्छ । तर, त्यसअघि नै अवैधानिक रुपमा पनि उक्त मुलुकमा नेपाली कामदारको संख्या उल्लेख्य थियो ।
हुन त खाडी मुलुकको ओमानमा कार्यरत गैरकानुनी कामदारहरुलाई घर फिर्न दिएको मौका (एमनेस्टी) मा निकै कम नेपाली सहभागी पनि भएकै हुन् । त्यसयता आधिकारीक रुपमा त्यहाँ पुग्नेको संख्या पनि कम नभएको विभागको तथ्याङ्कले देखाउँछ ।

आर्थिक वर्ष ०६५÷६६ को तथ्याङ्कअनुसार चार हजार एक सय पाँच जना पुरुष र एक सय ४२ जना महिला आधिकारिक रुपमा त्यहाँ पुगेका थिए । पछिल्ला आर्थिक वर्षहरुमै उच्च संख्या थियो । ०६६÷६७ मा दुई हजार ६ सय ७८ पुरुष र ६ सय सात जना महिला त्यहाँ पुगेका थिए । यस आर्थिक वर्षमाचाँही महिलाको संख्या अहिलेसम्मकै उच्च रहेको विभागले जनाएको छ । ०६७÷६८ को तथ्याङ्कअनुसार दुई हजार तीन सय ८५ जना पुरुष र ५७ जना महिला श्रमको खोजीमा ओमान पुगेका थिए भने ०६८÷६९ मा दुई हजार आठ सय ६८ पुरुष र दुई सय ९५ महिला ओमान पुगेका थिए ।
यो आधिकारिक तथ्याङ्क भएपनि भारत तथा अन्य मुलुकको बाटो हुँदै निक्कै नेपाली श्रमशक्ति ओमानमा कार्यरत रहेका छन् । जसको अध्ययनका लागि सरकारले चासो देखाएको छैन ।
हालसम्म ओमानमा झण्डै २० हजार नेपाली कामदार रहेको अनुमान गरिएको छ ।


रहर पुग्यो कतारको

खोटाङ दिक्तेलका रमेश हिङमाङ अहिले काठमाडौं अनामनगरमा फेसन टेलरिङ सञ्चालन गरेर बसेका छन् । कपडा सीलाइसम्बन्धि सीप भएका उनी धेरै कमाउने लालसामा ०५७ सालमा कतार पुगेका थिए । न उनले भनेजस्तो काम गर्न पाए, न त भनेजति तलव नै पाए ।
०५७ साल असारमा व्यक्तिगत भिसामा म कतार पुगेको थिएँ । आफुसँग सिलाइसम्बन्धि ज्ञान र सीप भएपनि म धेरै पैसा कमाउने रहरमा फर्निचरको कामका लागि कतार पुगेको थिएँ । न्युनतम आठ सय रियल तलव र आठघन्टा काममात्र भनिएपनि मैले १६ घन्टासम्मपनि काम गर्ने बाध्यतामा परें । मलाई दोहाको नाज्मा भन्ने ठाउँमा सो काममा निक्कै खटाइयो । बंगाली नागरिकको कम्पनीमा मैले त्यो काम गरिरहेको थिएँ । मैले चार सय भन्दा बढि तलव पाउन सकिन र कामपनि लामो समय गर्नुपर्ने भएपछि मैले उक्त कम्पनी छाडे ।
कतार जानका लागि मेरो त्यसबेला नै ६० हजार खर्च भएको थियो । निक्कै चापमा काम गर्नुपर्ने र चारसयमात्र आम्दानी हुने भएकाले मलाई खाने रकम पनि पुग्दैन थियो । घर पठाउने र लगानी उठाउने कुरा त अलग्गै भयो । त्यसपछि मैले कम्पनी छाडेको थिए । आफुले जानेको सिलाई पेसा थियो । त्यो खोज्दै जाँदा भारतको केरला राज्यका एक व्यक्तिको टेलरिङमा मैले काम पाएँ । दोहाकै नेशनल भन्ने ठाउँमा उक्त टेलरिङमा एउटा कोट अथवा अन्य सिलाई वापत सय रियल दिन्थ्यो । मैले त्यो काम सुरु गरें । कम्तिमा चार महिनाजति त्यहाँ काम गरें । टेलरिङमा काम गर्दा कम्तिमा ५०÷६० हजार रुपैंया मेरो मासिक आम्दानी हुने गर्दथ्यो । तर, त्यो मेरो सम्झौता अनुसार काम गर्ने कम्पनी थिएन । त्यहि भएपनि आफ्नो सीपको आम्दानीले नै त्यहाँ बसुन्जेल धान्यो, सम्झौता भएको कम्पनीको पैसाले केही पनि हुँदैनथ्यो ।
सम्झौता गरी गएको कम्पनीमा भनेजस्तो नभएपछि म भागेर काम गरेको थिएँ । पछि मैले टेलरिङको कामपनि छाडें र पुरानै फर्निचर कम्पनीमा तलव बढाउने लगायत सुविधाको माग गर्दै धाउन थालें । बाँकी रहेको नौ महिनाजति म आफ्ना आफन्तकहाँ बसेर कम्पनीसँग बार्गेनिङ् गर्न थालें ।  केही सीप नचलेपछि मैले विदेश नजाने निर्णय गरी मुलुक फर्किएको हुँ । ०५९ सालमा नेपाल फर्किएपछि मैले आफ्नो व्यावसाय थालें । अहिले राम्रै छ ।
आफुसँग सीप भएरपनि विदेश जाने रहरले जुन दुख मैले भोगें त्यस्तो दुख अरुले भोग्न नपरोस । हातमा सीप भए आफैंपनि केही गर्न सकिन्छजस्तो लाग्छ । अर्काको मुलुकमा नेपालीहरुले मरेर काम गर्नुपरेको छ । भनेजस्तो तलव पनि पाइँदैन र दुखमात्र भोगेको मेरो अनुभवले विदेश जानुभन्दा नेपालमै केही गर्नु उचित देखेको छु ।
-आजको शुक्रबारमा प्रकाशित

No comments:

Post a Comment