Saturday, March 17, 2012

गजेन्द्रनारायणको सपना कता हरायो ?


राई-मधेसका नाममा गजेन्द्रनारायण िसंहले थालेको क्षेत्रीय राजनीति त्यहाँको विकास चेतना र शिक्षाको विषयमा केन्द्रिकृत थियो । उनको विचार मधेसका नाममा राजनीति गर्दा आयातित वा त्यहाँ रहेका व्यक्ति परिवार र समाजलाई शिक्षित बनाएर ुनेपालुसँग रहेको विविधताको परिचय गराउनु नै थियो । यस हिसावले उठेको क्षेत्रीय राजनीतिको अर्थ सद्भाव कायम गर्नु थियो र उनले आफ्नो पार्टीको नाम पनि सद्भावना जुराएका थिए । एक हदसम्म असहज हुनसक्ने आयातित व्यक्तिहरु र हिमाल र पहाडबाट झरेका व्यक्तिबीचको सद्भावना कायम गर्ने सामाजिक बाटो पनि राजनीति नै हुनसक्ने अनुमानमा स्थापित सद्भावना पार्टीले एक हदसम्मको सहयोग सद्भाव र समर्थन मधेसका नाममा पाएको थियो । जसले गर्दा उसको स्थापित कार्यकाललाई असफल भन्न मिल्दैन । तर अर्धचेतनाका अन्य सदस्यहरुका कारण सद्भावना बारम्बार फुट्यो । योसँगै गजेन्द्र नारायण िसंहको सद्भाव बढाउने राजनीतिक सपनाहरु फुट्दै गए र आज मधेसमा सद्भावनाका नामका अनेकन पार्टीहरु छन् । उनको मृत्युमा गहिरो शोकमा डुवेन मधेस न त त्यस्तो हिम्मत तत्कालिन राज्यसत्ताले गरेको थियो । मृत्युपर्यन्त राजनीतिक हवालाका लागि आनन्दीदेवी िसंहलाई उचाल्ने र पछार्ने मधेसी राजनीति कायम रह्यो । आफूलाई केहीहदसम्मको टाठोबाठो मान्ने नेताहरुले अहिले पनि उनको नामको राजनीति गरेका छन् । तर उनको मृत्युपनि अति सामान्य व्यक्ति सरह भयो । मृत्युमा रुनेहरु कम थिए तर त्यसवापत राजनीतिक मुनाफाको जोड घटाउ गर्नेहरु अहिले सत्ताका वरीपरि घुमिरहेका छन् सभासद् मन्त्री र नेता बनेर ।

नेपाली राजनीति असामाजिक जगमा उभिएको झुण्डहरुको महासभामात्र हो । त्यसको खास झुण्ड मधेसी दलका नामका कथित राजनीतिज्ञहरुको संगठन पनि हो । असामाजिक मान्छे भन्नु नै आत्मरतीमा रमाउने र स्वाँठ प्रवित्तिको घमण्डी हो । न उसले कुनै राम्रो काम गर्न सक्छ न गरेको रुचाउँछ । यस्तै आत्मरतीमा रमाउनेहरुको एउटा झुण्ड मधेसी मोर्चाका नाममा संगठित त भएका छन् । तर त्यो त्यति सामाजिक भएको सावित भएको छैन जसले मधेसमात्रका लागि पनि कुनै खास काम गरेर देखाओस । वा अर्का गजेन्द्रनारायणको सपना बोकेर उन्मुक्त राजनीति गर्ने चेष्टा गरोस । मधेसको चेतना विकास र राष्ट्रिय साझेदारीको आवश्यकता छुट्टै मधेसीहरु भेला भएको राजनीतिक दल निर्माण गर्नु वा त्यसको एउटा संगठित अनुहारहरुको वैठक गर्नुमात्र होइन भन्ने बारम्बारका गठित मोर्चाहरु र त्यसबाट बाहिरिएर सत्तामा टाँसिने हर्कतले सावित गरेको छ । संविधानसभामा भेला भएर खैनी लट्याउने र मधेस जलाउने धम्कीपूर्ण भाषाको राजनीतिमा रुमलिएका मधेसी जनताको खातिर भएका सहमतिका प्रश्नहरु सत्ताको बहिर्गमन वा सत्ता साझेदारीका वेलामात्र उठाउने संस्कारको राजनीतिमात्र देखिएको छ । के यहि रहेछ त गजेन्द्रनारायणको सपना यो प्रश्न आम जनताले मधेसी भन्न रुचाउने दलका नेताहरुलाई सोध्न जरुरी छ । र खासगरी सपनाको बाढी वगाएका भरमा मत दिएका मधेसक्षेत्रका जनताले तेस्र्याउनै पर्ने पनि हो । मधेसी जनताले कहिल्यैपनि इन्धनको उचित प्रयोग गर्न पाएनन् । बारम्बार उनले जिताएका नेता आपूर्तिमन्त्री बनेका छन् । मधेसले विकासको मुल फुटाएर भित्रि बजारसम्म राम्रो पुल र यातायातको सेवा पाउन सकेको छैन । बारम्बार उनले जिताएका नेता नै भौतिक निर्माणमन्त्री भए । मधेसी जनता अहिले पनि उचित मुल्यको खाद्य मल रसायनिक मलको आन्दोलनमा छन् । बारम्बार कृषिमन्त्री आफूले जिताएको नेता पाए । स्वच्छ र उचित वातावरणको जिल्लाका रुपमा अहिलेसम्म पनि घोषणा गर्न पाउन सकेका छैनन् बारम्बार वातावारणमन्त्री आफूले जिताएकै व्यक्ति बनेका छन् ।

स्वभाविक हो राजनीति गर्ने व्यक्तिविशेषको पनि महत्वकांक्षा हुन्छ । उसका व्यक्तिगत स्वार्थहरु पनि रहन्छन् । यस अर्थमा मधेसका नेताहरुले व्यक्तिगत स्वार्थको उपयोग गरे र अरुले गरेनन भन्ने सवाल पनि होइन । नेपाली राजनीतिका सवै दल र तिनका नेताहरु डम्बरु बजाएर भालु नचाउने संस्कारका पछ्यौटे हुन् । र नेपाली जनता उनका डम्बरु र डम्फुका तालमा सडक सदन र सहरमा भोका नाङ्गा हुँदै न्यायको आशा बोक्ने कमजोर नाचका पात्रहरु पनि हुन् । जसरी राष्ट्रिय राजनीतिमा कर्णाली विकासका फुस्रा सान्त्वना मेलम्ची काठमाडौं झारिदिने काल्पनिक अठोट भएका छन् । त्यस्तै मधेसको वेग्लै पहिचान सहितको विकासलक्षित भावनात्मक स्वार्थमा मधेस राजनीतिकेन्द्रित व्यक्तिहरुको चरित्र पनि फरक छैन । ढाँट्नु वा छल्नुको पनि सामान्य रुप हुन्छ तर यहाँ मधेसी जनताहरु बारम्बार ठगिएका छन् । र ठगीमा परिरहँदा पनि उनीहरु चुपचाप राजनीतिलाई सहयोग गरिरहेका छन् । भर परेका छैनन् तरपनि आश गरेका छन् त्यहाँका नागरिकहरुको वडोप्पन नै मान्नुपर्छ । स्रोत साधन कृषि उद्योग कलकारखाना सवैको उचित व्यवस्था हुँदापनि आज मधेसका जनताहरु भारतको पन्जाव विहार वा अन्यत्र रोजगारीका लागि जान बाध्य छन् । १५ वर्ष लगातार मधेसको नाममा ुस्पेशिफिकु राजनीतिक दल र राजनीति भइरहेको छ । तर खै त जनताले राहत पाएको त्यहि राजनीतिका कारण नेताहरुको एउटा महासभा राष्ट्रिय राजनीतिलाई हल्लाउनसक्ने भएको छ । तर खै त मधेसले न्याय पाएको समग्र नेपालमा मधेसले धेरै नेता जन्मायो । धेरैलाई नेता बनायो । तर ती सवै आत्मरतीका अनुहार रहेको कहिल्यै बुझ्न सकेन ।

नेता भन्ने शव्द निकै महत्वपूर्ण र जिम्मेवारीपूर्ण पद हो । नेता आफ्ना लागिभन्दा पनि अरुका लागि महत्वको सवाल बन्दछ । सारा मधेसक्षेत्रमा मतले जिताइएको एउटै उद्देश्य हो सम्बृद्ध मधेसको खोजी । गएको चार वर्षमा मधेसले कुन हैसियतमा आफ्नो विकासलाई मुल्याङ्कन गरेको छ त्यहाँका जनताले कुन हैसियतमा आफु र आफ्नो मताधिकारको उपभोग गर्न पाए यस्ता कुनै प्रश्नको जवाफ अहिलेपनि मधेसी नेताहरुले दिने हिम्मत गर्दैनन् । एकप्रकारले सत्ताका सवै निकायहरुमा मधेसी जनताको पहुँच राजनीतिक संक्रमण होस वा अन्य समय धेरै पटक पुगेकै छ । तर राजनीतिको माकुरी जालमा वेरिएका मधेसी जनताको चेतनाको स्तर उठ्न नसक्दा वा उनीहरुले नचाहेर वा उनीहरुले नगरेर हो सम्बृद्ध मधेसका लागि एउटा सिङ्को भाँच्ने कामपनि हुन सकेको छैन । मधेस निरन्तर एउटा राजनीति मुद्दामा सीमित राखेर सत्ताको मुख्य विषय बनाउने विकल्पमा मात्र राखिएको छ । जसको निरन्तरता पछिल्लो पटक बसेको मधेसी मोर्चाको वैठकले फेरि दियो सरकार छाड्ने वा ढाल्ने धम्कीपूर्ण निर्णय गरेर । सोमबार मधेसी मोर्चाका नेताहरुको वैठक एउटा निचोडमा पुग्यो । उनीहरुसँग गएको चार महिना अघि गरेको चारबुँदे सहमति सरकारले कार्यान्वयन नगरेको र सरकारको भ्रष्ट चरित्रको दोष आफुलाई थोपरेको विश्लेषण गर्दै सरकार छाड्ने चेतावनीसम्म आइपुगे । अव सरकार ढल्ने संकेत पाइसकेका मधेसी नेताहरुको आत्मरतीमा पुरै देशका सम्भावनाका ढोकाहरु बन्द भएका छन् र उनीहरु मधेसी जनताको उन्नती भन्दा पनि आफ्नो आत्मरतीमा रमाउने संकिर्ण राजनीति गरिरहेका छन् । जसलाई दक्षिणीद्वारहरुले पहिले अहिले र भोलीपनि चलाइरहेका हुनेछन् । यहि निरन्तरतामा चल्ने मधेस राजनीति नेपालको इतिहाँसको एउटा खास मुद्दामात्र सावित हुनेछ ।


- written by विनोद ढकाल published in RAJDHANI daily.

No comments:

Post a Comment